२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

उस्तादको अस्त

विशाल भट्टराई

चाहे तबलामा लय समाएर कुदिरहेका रविनलाल सरका औंलाहरू हुन् या सितारको तारमा नाचिरहेका विना म्यामका हातहरू  ।

उस्तादको अस्त

अनवरत साधना चलिरहने संगीतको पवित्र स्थल !


६ वर्षअगाडि गुरुकुलबाट ध्रुपदको तालिम लिएर भर्खर नेपाल आएका हामी दुई ठिटा (म र इनोउवे सो) लाई श्री केसीले रविनलाल सरसँग परिचय गराउनुभयो । उहाँको मुख्य विधा तबलावादन भए पनि ध्रुपदबारे अभिरुचिका कारण पखावज वादनका लागि हाम्रो अनुरोध स्विकार्नुभयो । त्यसपछिका दिनमा सरसँगै पखावजमा ध्रुपदको अभ्यास गर्न थाल्यौं । प्रतिष्ठित अग्रज कलाकारसँग हाम्रो धक अभ्यासको क्रममा बिस्तारै खुल्दै गयो । हाम्रो जोशका पछाडि उहाँको बुलन्द हौसला थियो । उहाँसँग अन्तिम समयसम्म विभिन्न ठाउँमा यात्रा गरेर ध्रुपदको कार्यक्रम गर्न पाउनु, सम्झँदा मात्र पनि आनन्द लाग्छ । शास्त्रीय संगीत जगत्का हस्ती रविनलाल श्रेष्ठलाई दाद दिने धेरै छन् । वाहवाही केवल तबलाका लागि मात्र होइन, उहाँको लोभलाग्दो व्यक्तित्वको पनि हो । एउटा साधकमा हुनुपर्ने गुण भद्र र शालीन, कम बोल्ने धेरै मुस्कुराउने । संगीतको लय र ताल अनुसन्धानमा समर्पित जीवनसँग समाजले के पाउने ? पक्कै पनि रसिक श्रोताहरूले यसको मूल्यांकन गर्नेछन् ।


कसले सोचेको थियो र, इन्द्रचोकको आकाश भैरव मन्दिर, शोभाभगवती मन्दिरको डाफा भजनहरूमा बुबाको हात समाएर गएको एउटा बालक अन्ततः तबलाको प्रखर विद्वान् भएर निस्कन्छ । जसलाई नेपालमा शास्त्रीय संगीत इतिहासको अध्यायले चाहेर पनि भुल्न सक्दैन । २०२६ मंसिर १ गते पकनाजोलमा जन्मिनुभएको रवीनलाल कलिलो उमेरदेखि संगीत प्रवीण नरराज ढकाल, सरोदवादक मोहनसुन्दर श्रेष्ठजस्ता मूर्धन्य कलाकारको सामीप्यमा हुर्किनुभयो । तबलाको श्रीगणेश साधुराम मानन्धर, गणेशराज वन्त हुँदै पण्डित शम्भुप्रसाद मिश्र, पण्डित होमनाथ उपाध्यायसँग निखारिने अवसर पाउनुभयो । रेडियो नेपालको प्रतिष्ठित कलाकार उहाँले राजदरबारको संगीत गुरुदेखि नर्वेको अज्डेर युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर, राजकीय नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला क्याम्पसका उपप्रध्यापक भई शास्त्रीय संगीत प्रवर्द्धनमा योगदान दिनुभएको छ । उहाँले तयार पारेका शिष्यहरूले समेत राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा ख्याति कमाइरहेका छन् ।


२०७२ सालमा पण्डित हरिप्रसाद चौरासियाको बाँसुरीसँग उहाँको तबला जुगलबन्दी आफैँमा ऐतिहासिक थियो । जुन जयश्री म्युजिक सोसाइटीले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको शास्त्रीय संगीतको व्यावसायिक रूपमा सफल कार्यक्रम थियो । उहाँले तालको आविष्कार पनि गर्नुभएको छ । जसको नाम जयश्री ताल (९.५ मात्रा) हो । उहाँले लेख्नुभएको किताब ‘ताल विशेष’ होस् या सीडी एल्बम ‘तबला तरंग’ लगायत थुप्रै इन्स्ट्रुमेन्टल म्युजिक एल्बमहरू सबै लोकप्रिय छन् । डाफा ब्यान्डको सदस्यको रूपमा सुरेशराज बज्राचार्य, प्रभुराज ढकाल, मिलन तन्डुकारलगायत उमा थापा, सन्तोषभक्त श्रेष्ठ, नगेन्द्रविक्रम राईसम्मका कलाकारहरूसँग पनि मञ्चमा खेल्नुभएको छ । इटली, स्विजरल्यान्ड, फ्रान्स, अस्ट्रिया, नर्वेमा प्रस्तुति दिनुभएका उहाँले जापानी कलाकार हिरोसी नाकागावा, टप्पा ठुमरी गायिका शाश्वती मण्डल, चेलोवादक फ्रन्क बेर्नाडे, सारंगीवादक युजी नाकागावालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूसँग पनि काम गर्नुभएको छ । उहाँलाई कलानिधि संगीत महाविद्यालयले ‘श्रुति कलनिधि युवा पुरस्कार–२००४’, पण्डित शम्भुप्रसाद मिश्र स्मृति पुरस्कार–२००५, किरातेश्वर पद्मप्रिया हरिप्रिया रेग्मी युवा पुरस्कार–२००५, संगीत प्रवीण नरराज ढकाल पुरस्कार–२०७६ द्वारा सम्मान गरिएको छ ।


शुभेच्छुकको चिन्ताभावमा उहाँको प्रतिउत्तर थियो ‘मलाई रोगको भन्दा तबलाको आवाज कम हुँदै गएकोमा चिन्ता लागेको छ ।’ संगीतमा समर्पित एउटा सच्चा कलाकारको उद्गार योभन्दा अरू के हुन सक्छ ? विगत ३ वर्षदेखि ब्रेन ट्युमरसँग जुध्दै गर्दा उहाँसँग धेरैपटक कार्यक्रमहरू गर्‍यौं । अन्तिम समयसम्म हामी अभ्यासमा बस्दा उहाँको चमक र उत्साह कहिल्यै कम भएन । उहाँलाई मन पर्ने सहर पोखरामा कार्यक्रम गर्दाको पल होस् या लुम्बिनीको शान्ति स्तूपमा गरेको कार्यक्रम होस् सबै मानसपटलमा रहिरहनेछन् । परिवारले अन्तिम घडीसम्म उपचारको हरसम्भव प्रयास गर्दागर्दै उहाँ ५० वर्षको अल्पायुमै २०७६ भदौ १० गते अनन्त लयमा लीन हुनुभयो । उहाँबाट प्राप्त ज्ञानलाई सम्पूर्ण शिष्यले अनन्तकालसम्म प्रज्वलित गर्नुहुनेछ । उहाँका एक सुपुत्र विजय सितार र तबलाको कुशल वादक हुनुहुन्छ । हामीले शास्त्रीय संगीतका अभिभावकलाई गुमाएका छौँ । हार्दिक श्रद्धाञ्जली रविन सर !

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?