१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

फुटबल : नेयमार दुविधा

हिमेश

नेयमार भनेपछि नाटक त्यसै जोडिन्छ  । पछिल्लो विश्वकपमा नेयमार भन्नुपर्छ, सबैले सम्झने भनेको त्यही नाटक न हो– कसैले छोयो कि लडिहाल्ने  ।

फुटबल : नेयमार दुविधा

त्यति मात्र होइन, लडेर पल्टिँदै पल्टिँदै जाने । केहीलाई नेयमारका यस्तै नाटक पनि मन पर्छ । नेयमार रोएको भने विरलैले देखेका होलान् । ब्राजिलबाट समाचार के आएको छ भने नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर बार्सिलोना जाने सम्भावना टुटेपछि उनले आफूलाई रोक्नै सकेनन् । रोइहाले ।


यति बेला उनी रुनु भने नाटक होइन, यी ब्राजिली खेलाडीको साँच्चै मन दुखेको हुनुपर्छ । उनी अहिले आफ्नो खेल जीवनको सबैभन्दा उर्बर समयमा छन् । तर, त्यही बेला उनले केही गरेर देखाउन सकिरहेका छैनन् । पूरा विश्व फुटबलले भने कहिले नेयमार फेरि बार्सिलोना फर्किनेछन् भनेर पर्खिरहेका थिए । समाचार आयो— नेयमार पीएसजीमै रहनेछन् । नेयमारका नाटक मन नपराउनेलाई लाग्यो, उनी जान पाएको भए हुन्थ्यो ।


सन् २०१७ मा उनी पीएसजी गएका थिए । उनको त्यति बेला सपना थियो, विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी बन्ने । उनलाई लागेको थियो, बार्सिलोनामा छँदा यो सम्भव छैन, किनभने त्यहाँ त लियोनल मेसी पनि छन् । फेरि उनलाई बेलन डे अर पनि जित्नु थियो । मेसीलाई उछिनेर बार्सिलोनामै आफूलाई उत्कृष्ट सावित गर्नु सम्भव थिएन पनि । यत्ति नगरी बेलन डे अर जित्न सकिन्थ्यो । उनको फ्रान्सेली राजधानी पेरिस बसाइ भने अहिलेसम्म पनि कुनै पनि दृष्टिकोणबाट राम्रो हुन सकेको छैन । अझ भनौं, उनको उर्बर समय खेर गइरहेको छ । यसै साता विश्व फुटबलको ‘ट्रान्सफर विन्डो’ सकियो । अन्तिम दिनसम्म पनि समाचार आइरहेको थियो, बार्सिलोनाका केही पदाधिकारी पेरिसमा छन्, वार्ता चलिरहेको छ । वार्ता पनि सकारात्मक छ तर सुल्झाउनुपर्ने विषय भने अनेक छन् । आखिरमा यी अनेक विषय नै नेयमार बार्सिलोना फर्कनु नसक्नुका कारण बने । बार्सिलोना यी २७ वर्षीय विश्वकै सबैभन्दा महँगा खेलाडीलाई फेरि नुक्याम्प फिर्ता ल्याउन असफल नै रह्यो ।


नेयमार साँच्चै कति धेरै बार्सिलोना फर्कन चाहन्थे भने केही गरेर खेलाडी किनबेचको रकममा गाँठो परेको छ भने त्यसलाई फुत्काउन आफ्नै खल्तीबाट दुई करोड २० लाख डलर तिर्न तयार थिए । यति त युरोपमै पनि वर्षभरि सानोतिनो ठिक्कको क्लब चलाउन पुग्ने रकम हो । यत्ति गर्दा पनि कुरा नमिलेपछि नेयमारको मन नरोए, कसको रुन्छ त ?


पीएसजीले नेयमार किन्दा २६ करोड ४० लाख डलर तिरेको थियो । उनको वर्षको तलब नै चार करोड डलरको हाराहरीमा थियो । दुई सिजन पेरिसमा बिताउँदा पनि नेयमारले केही ठूलो गर्न सकेनन्, बरु लगातार चोटसँग संघर्ष गरिरहे । अझ मैदानबाहिरका घटनाका कारण उनी सधैं विवादमा फसिरहे । पीएसजीका कतारी लगानीकर्ताले नेयमारमा यति धेरै रकम किन खन्याएको थियो भने उनीहरू चाहन्थे, टिमले युरोपेली च्याम्पियन्स लिग जितोस् । फ्रान्सेली लिग वान मात्र जितिरहेर उनीहरूको मन भरेको थिएन । यही च्याम्पियन्स लिगमा प्रत्येक सिजन पीएसजीको प्रदर्शन कमजोर रहेको छ । जति बेला पीएसजीले नेयमारलाई किनेको थियो, त्यति बेला नै उनलाई लिएर क्लबका अध्यक्ष नासिर अल खलिफी भन्थे, अबको दुई वर्षमा नेयमारको मूल्य
दोब्बर हुनेछ ।


त्यसो त नेयमारको प्रदर्शन फ्रान्समा झुर नै थियो भन्ने पनि होइन । उनले ५८ खेल खेले, ५१ गोल गरे । दुवै सिजन पीएसजी लिग च्याम्पियन भयो । त्यसमध्ये एक सिजन त नेयमार आफैं पनि लिगकै उत्कृष्ट खेलाडी पनि भए । तर नेयमार भनेपछि यत्तिले पनि पुग्ने भने रहेनछ । चोटकै कारण नेयमारले च्याम्पियन्स लिगका खासखास खेल गुमाए । अनि पीएसजी एक सिजन रियल म्याड्रिड र अर्को सिजन म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरियो । दुवै अवसरमा पीएसजी अन्तिम १६ मै रोकियो । यसबीच कुनै पनि समय नेयमारले फ्रान्सेली भाषा सिक्ने प्रयास गरेनन् । बरु उनलाई खुबै मन पर्ने नेटफिलक्सका केही सिरिजमा सानोनिता भूमिका खेले ।


यस्तोमा प्रश्न उठ्छ, पीएसजले किन नेयमार बेचेन त ? यसको सबैभन्दा ठूलो कारण त नेयमारको ब्रान्ड भ्यालु नै हो । नेयमार भन्नुपर्छ, उनको नाम जोडिएका खेल हेर्ने जत्ति छन्, त्योभन्दा बढी उनको नाम रहेको जर्सी किन्ने छन् । उनी आएपछि पीएसजीले नाइकसँग ठूलै प्रायोजनको सम्झौता पनि गरेको थियो । उनी विश्व खेलकुदकै सबैभन्दा ठूला सेलेब्रेटीमध्ये एक हुन् । त्यसैले पीएसजले कम्तीमा एक सिजन उनलाई राख्न चाहेको हुनुपर्छ । यही समय हो, नेयमारले आफू विश्वस्तरीय खेलाडी हो भनेर सिद्ध गर्ने । नत्र समय कति चाँडै बित्छ, नेयमारलाई पनि थाहा नहुन सक्छ । आखिरमा नेयमारको पनि चाहना होइन होला, विश्वको धनी खेलाडी मात्र बन्ने । अब सायद नेयमारको पूरा ध्यान यसमै केन्द्रित हुनेछ । अहिले पीएसजीका अरू केही प्रमुख खेलाडी घाइते छन् । त्यसैले पनि नेयमारको उपलब्धता पीएसजीका लागि ठूलै महत्त्व छ । पीएसजीलाई के पनि लागेको हुन सक्छ भने सायद यसपल्ट नेयमारले राम्रो गर्नेछन् र टिमले त्यसमै टिकेर च्याम्पियन्स लिगमा पनि राम्रो गर्न सक्नेछ कि ?


उनी भर्खर २७ वर्षका भए । यही त समय हो, राम्रो गर्ने । मेसी र क्रिस्टियानो रोनाल्डो जत्तिकै खेलाडी हो भनेर सिद्ध गर्ने । यी सबै घटनाक्रमबीच एउटा अर्को महत्त्वपूर्ण प्रश्न बार्सिलोना किन फेरि नेयमारकै किन्न चाहन्छ त ? बार्सिलोनाले यसपल्ट नेयमार किन्न सकेन । किनभने उसले नेयमारको टाउकोमा रहेको चर्को मूल्य जुटाउन सकेन । आफूसँग भएको धेरै बचत त एटलेटिको म्याड्रिडबाट एन्टोन ग्रिजमन किन्दा नै खर्च गरिसकेको थियो । बार्सिलोनाले पनि नेयमारलाई फिर्ता ल्याउन खोजेको एउटै कारण च्याम्पियन्स लिगमा राम्रो गर्नु नै हो । पछिल्लो सिजन लिभरपुलको हातबाट बेहोरेको हारले बार्सिलोनालाई खुबै सताएको छ । तीन गोलको अग्रता लिएर चार गोल खानु भनेको पीडादायी नै हुन्छ । मेसीकै भाषामा यो नतिजाले उनको मन पनि पोलेको छ । लिभरपुलविरुद्धको त्यो खेल गुमाएपछि बार्सिलोनालााई लागेको छ, टिममा अर्को कोही ठूलो स्टार भएन भने गाह्रो छ ।


फेरि मेसी र लुइस स्वारेज दुवै ३२ वर्षका भए, ढिलो चाँडो उनीहरूको ठाउँ लिन खेलाडी पनि त चाहियो । मेसीकै लागि पनि अगाडि नेयमार जत्तिको राम्रो साथी खेलाडी अरू कोही हुन सक्दैन । बार्सिलोनाका अहिलेका प्रशिक्षक अरनेस्टो भाल्भरडे पनि खासै चहलपहल गर्ने खालका छैनन् । जस्तो कुनै समय बार्सिलोनाका लागि यस्तै काम पेप ग्वार्डिओलाले गर्थे । भाल्भरडेको बोली खासै बिक्दैन, विशेषतः मिडियामा । मेसी स्वयं पनि ठूल्ठूला कुरा गर्न रुचाउने खेलाडी होइनन् । नेयमार हुन्थे त, बार्सिलोनाको कलात्मक खेलमा ग्ल्यामर पनि हुन्थ्यो । अहिले तत्कालका लागि नेयमार पक्कै बार्सिलोना जाने छैनन् तर हल्लाको बजार कसरी गरम भइसक्यो भने सन् २०२० मा जति बेला अर्को ‘ट्रान्सफर विन्डो’ खुल्छ, त्यति बेला फेरि बार्सिलोनाले उनलाई किन्ने प्रयास गर्नेछ । त्यसबेला क्लबको खल्ती पनि भरिसकेको हुनुपर्छ । नेयमारको काम भनेको त्यतिबेलासम्म अब्बल दर्जाको खेल प्रदर्शन गर्ने हो । किनभने, नेयमार जत्तिको खेलाडी त्यसै हराउनु हुन्न ।
twitter : @himeshratna

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?