कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

१५ सालका बीपी

 
मेरो घरपरिवारमा ठूलाबाट सुन्ने गरेको नाम— विश्वेश्वरबाबु  । उहाँको परिवारमा— सान्दाजु  ।

सात सालको क्रान्तिचर्चामा— वीर विश्वेश्वर । राजनीतिक क्षेत्रको चर्चित नाम— बीपी । प्रजातान्त्रिक समाजवादका एक मात्र नेपाली दार्शनिक अभियन्ता— बीपी । साहित्यमा सग्लो नाम—विश्वेश्वरप्रसाद कोइराला । मैले बीपीलाई साँच्चै नजिकबाट देखेको १५ सालको चुनावताका हो । वीराटनगर मालअड्डाको बाटो सहिद मैदानवारिपट्टि । दुब्लो, पातलो, उज्यालो मुहार, कोरेर दाहिनेतिर फर्केको केही घुम्रेको ठूलो निधार देखिने कपाल । खद्दरको कुर्ता पाइजामा र छालाको चप्पलमा एक्लै उभिनुभएको । एउटा हातमा ह्यान्डब्याग झुन्डेको । त्यतिखेरका वकिल, लेखन्दासहरू यस्तो छालाको ब्याग लिने गर्थे । म १५ वर्षकै थिएँ । कहाँ म फुच्चे, कहाँ उहाँ अग्लो । प्रसन्न चित्तमा उहाँका अनुहारले बोकेको थियो चुनावी लक्ष्य । यसैको चहलपहलमा उहाँले कसैलाई पर्खिराखेको भन्ने स्पष्ट थियो । मैले आँटेको भए उभिएर कुरा गर्न सक्थेँ । म कक्षा नौ–दसको छात्र, आँट थिएन । मैले बीपीको नाम सुन्दै आएको थिएँ । यसका प्रमुख कारणीमा मेरा दाजु (दिवंगत) मनोहरि हुनुहुन्थ्यो जोपछि जीवनपर्यन्त गिरिजाप्रसाद कोइरालाका घनिष्ठतम रहनुभयो ।


सम्झन्छु सात वर्षको थिएँ हुँला । विराटनगरमा देवकोटा चोक अहिलेको पानीटङ्कीछेउ हाम्रो बसोबास थियो । हाम्रो परिवार फुसे छाप्रोमा थियो । मनोहरि दाजु पढ्दापढ्दैको आदर्श विद्यालय छाडेर सात सालको ‘वार’ मा होमिनुभयो । सत्प्रेरक क्रान्तिकारी बीपी र कोइराला परिवार थियो । हाम्रो घरबाट कोइरालानिवास पुग्न सात–आठ मिनेट लाग्थ्यो । मोरङ अस्पताल पश्चिम उहाँहरू, दक्खिनतिर हामी । मनोहरि दाजुको धेरैजसो दिनको उज्यालो कोइराला निवासमा बित्थ्यो । खानपिनसमेत उहीँ चल्थ्यो । एक पटक साँझमा फर्किंदा उहाँले मलाई ‘हुला हुप’ खेल्नेजस्तो ठूलो पाङ्ग्रा गुडाउँदै ल्याइदिनुभएको थियो । ‘हेर् त, मैले तँलाई के ल्याएको छु ?’ यसको साथमा ल्याएको अर्को कोसेलीमा यस्तो गीत थियो— ‘लड्दा लड्दै मरे मरौँला यो एउटा नै नारा भो…’
कहिले यस्तो गीत गाउँदै आउनुहुन्थ्यो,
‘देश प्रेम डोरीले बाटिएको पिङ यो, आऊ तयार भै झुल्नमा विलम्ब भो, जाग जाग भोर भो विश्वमा सोर भो, मस्त निद त्याग लौ, क्रान्तिको जोड भो… ।’
यी गीतका रचनाकार हुन् तारिणी, बीपीका भाइ । त्यतिखेर रानी सिक्याही मोरङ कटन मिलमा सुरु गरिएको ‘प्रजातन्त्र रेडियो’ बाट यी गीत चर्चित भएको थियो । पछि यही काठमाडौं सारियो र रेडियो नेपाल भयो । अरू पनि गीत थिए, ‘रवि मुस्कुराए, नयाँ प्रातः ल्याए, नयाँ भावना ली प्रकृति रमाए… ।’ सात सालताका यी सबै क्रान्ति गीत थिए । हिन्दुस्थान भर्खरै स्वतन्त्र भएको थियो । त्यसैले दाजु यस्तो गीत पनि गुनगुन गर्दै साँझ घर फर्किनुहुन्थ्यो,
‘उद्घम सिंह ने उधम मचाया, डायर को मारा गोली,
ल्यान्ड खतम, पोल्यान्ड खतम, इंगल्यान्ड की फट गई चोली’
यो जलियाँवाला बागको नरसंहारबारे थियो । हिन्दी चलचित्र शहीद (१९४८) को ‘वतन की राह में वतन की नौ जवाँ शहीद हो’ गीतसमेतले भर्खरैको ‘आजाद हिन्दुस्थान’ बाट हामीकहाँ प्रजातन्त्रनिम्ति खैलाबैला मच्चेको थियो । स्कुले कालमा म विरलै कोइरालानिवास पसेँ हुँला । तापनि ‘वार’ का चर्चा कानमा फाट्टफुट्ट पर्थे । प्रजातन्त्र हेतु नवगठित मुक्तिसेनाबाट राणा ‘क्रान्तिको जोड’ ले आच्छुआच्छु भैसकेका थिए ।


मोरङका बडाहाकिम उत्तमविक्रमको एउटा छोरो ‘नभाग ! नभाग !!’ भनेर रोक्ता–रोक्तै बडाहाकिमको कम्पाउन्डको पर्खाल हाम फालेर भाग्न खोज्दा गोलीको सिकार भइसकेको थियो । अर्कातिर क्रान्ति झन्झन् चर्केपछि हामी केटाकेटीलाई बैलगाडीमा राखेर हाम्रो बा र मनोहरि दाजुकी कान्छी फुपूले विराटनगर बजारबाट भगाएर तीन कोस उत्तर कामतघर सुरक्षानिम्ति लैजाँदै हुनुहुन्थ्यो । हिउँद महिना, दिउसो उज्यालोको चहकमा हामी धूले बाटोमा थियौँ । गाडामा जोतिएका गोरु आफ्नो मेगर पैल्याउँंदै सकेसम्म लामा–लामा फड्का मार्दै उत्तरतिर लम्किँदै थिए । ठीक पश्चिम अलि पर समानान्तर धरानको मोटर बाटोमा बखत–बखत बुङ्बुङ्ती धूलो उडेको देखिन्थ्यो । धूलो मत्थर भएपछि कहिले लकडीका उरुङ चाङ बोक्ने लहरी ट्रक, कहिले बस देखिन्थे । यिनैबीच त्यो मोटरबाटोमा एकाएक एउटा खुला जिप काङ्ग्रेसको चारतारे झन्डा हावामा फर्फर गर्दै उत्तरतर्फ घुइँकिँदै गरेको देखियो । त्यो दिन नै सात साल क्रान्तिको समाप्ति थियो रे ! राणाले थेग्न सकेनन् !


प्रजातन्त्र आयो ! मुक्तिसेनाले स्याबासी पायो । नारा घन्कियो, ‘वीर विश्वेश्वर ! जिन्दावाद !!’ त्यो जिपमा बीपी पनि हुनुहुन्थ्यो रे ! तुरुन्तै एक कान, दुई कान गर्दै हाम्रा कानमा पनि पर्‍यो । आकाशवाणी न टेलिफोन । त्यति बेलाका मुख कति छिटा ! कान कति तिखा ! अनि बैलगाडी कामत होइन, तत्कालै बजारकै घर फर्कियो । हामी केटाकेटीनिम्ति बजार अब सुरक्षित थियो ।प्रजातन्त्र आएलगत्तै केही दिनमा एउटा हावाइजहाज विराटनगरमा ओर्लियो । हामी ससाना केटाकेटीको उत्कण्ठा भयो यो हेर्ने । जहाज ओर्लेको थलो हवाई मैदान थिएन, एउटा लामो, फराकिलो घाँसे चौर थियो— बडाहाकिम बंगलाको उत्तर, खद्राहापारि । त्यसै छेउछाउका खाल्डाखुल्डीमा स्कुलबाट भागेर हामी कहिलेकाहीँ माछा मार्न जान्थ्यौँ । यसको पूर्वी छेउमा बगी राखेकी सिङ्गाई नदी । बर्खामा खद्राहाको भेल चुलिएर यसै नदीमा मिसिन्थ्यो । हामी दगुर्दै त्यहाँ पुगेका थियौँ । पुग्नुपर्ने दुई कारण थिए— प्रजातन्त्र सेनानी बीपी र हवाइजहाज हेर्न । बीपीलाई देख्न भ्याएनौँ । उहाँलाई जीपमा कोइरालानिवास हुइँक्याइसकेछन् । चौरमा चिटिक्क सानो दुई–चार जना अट्ने हवाइजहाजसम्म हामीले परैबाट देख्न पायौँ । पहिलोपल्ट हवाइजहाज मैले यहीँ देखेँ । भोलिपल्ट फेरि त्यो जहाज हेर्न पुगेका थियौँ । बीपीलाई बोकेर चौरमा त्यसका पाङ्ग्रा खुरुर्र गुडेजस्तै लाग्यो । अर्को निमेषमा आकाशमा पुगीसकेको थियो । आकाशमा पनि हामीले एकटक त्यसलाई पछ्याइराख्यौँ, पर क्षितिजसम्म आँखाले देखुन्ज्याल । अनि साथीमाझ कुरा गर्दो रह्यौँ— कसका आँखा तिखा !


जहाज नेपाल फर्क्यो । त्यसपछिका दिनमा बीपी गृहमन्त्री बन्नुभयो । क्यालेन्डरमा छापिएको उहाँ मन्त्री भएको तस्बिर मैले धेरैपछिसम्म भित्तामा झुन्ड्याएर राखेको थिएँ ।यसपछि एकै पटक मैले उहाँलाई माथि भनेजस्तो पन्ध्र सालको आम चुनावताका मात्र नजिकबाट देखेँ । दोस्रोमा प्रधानमन्त्री हुँदा विराटनगरमा तीनटोलिया दक्खिन पुरानो जहाजेचौरमा जहाजबाट ओर्लेको देख्न पाएँ । दौरा, सुरुवाल, कोट, टोपी अनि कालो जुत्तामा । अपार जनसमुदाय स्वागतमा उर्लेको थियो । कतारबद्घ विशिष्ट व्यक्तिले उहाँलाई फूलगुच्छा चढाएका थिए । मनोहरि दाजु यस भीडमा असिनपसिन भएर यताउति गरेको सम्झन्छु । दोहोरो जीउडाल, अग्लो र गठिलो शरीरको उहाँ बीपीको अंगरक्षक हुनुहुन्थ्यो ।पछिल्ला दिनमा न प्रजातन्त्र न बीपी, कसैले समयको साथ पाएनन् । बीपी सुन्दरीजल कारागारमा थन्किनुभयो । यो उहाँको साहित्य सेवाको अर्को अवसर बन्यो । यी घडीपश्चात् उहाँ काशीवासलगायत हिन्दुस्थान प्रवास लिन पुग्नुभयो । विराटनगरबाट राष्ट्र बैंकको तीस लाख भारु अपहरणकाण्ड यसै बेलाको घटना हो । फारबिसगन्जको घाँसेचौरमा जहाजको पङ्खा फन्फनी घुमिरहेको अवस्थामा मनोहरि दाजुले नगदका ट्याङ्का जहाजभित्रबाट तल घिसार्दा एउटा खट्टाको बुढीऔंलामा नराम्रो दख्खल परेको उहाँले मलाई पछि सुनाउनुभएको थियो । अपहरणमध्येको केही पैसा भर्खर–भर्खरै जन्मेको मुलुक बंगलादेशबाट केही हातहतियार किनियो । प्रयोगको उद्देश्यमा पञ्चायती सत्ताविरुद्ध थियो । तर ल्याउँदा–ल्याउँदै बंगलादेश सिमाना ‘दलखोला’ मा हिन्दुस्थान सरकारले हातहतियारको त्यो ट्रक जफत गरेको कुरा पनि मैले दाजुबाट सुन्न पाएँ ।कालक्रममा राष्ट्रिय मेलमिलापले मन फर्किएर अब बीपी दलबलसहित त्रिभुवन विमानस्थल ओर्लंदा म पनि एकछेउमा स्वागत निम्ति उभिएको थिएँ । यसमा मनोहरि दाजु पनि हुनुहुन्थ्यो । पटनामा बिदाइ गर्दै बीपीका अनन्य मित्र जयप्रकाश नारायणले भनेका थिए, ‘खुसी छु घर फर्किंदै हुनुहुन्छ । दुःखी छु सिंहको खोरमा फर्किंदै हुनुहुन्छ ।’


एक पटक उहाँलाई राजा वीरेन्द्रबाट दिवाभोजको निम्तो आयो । पुग्नु त भयो, उहाँले दौरा सुरुवाल नलाएको दिन परेछ । दरबार प्रवेश गराइएन । योभन्दा ठूलो अपमान के हुन सक्थ्यो र ? अर्कातिर उहाँलाई विमान अपहरण, टिम्बुरबोटे र ठगी दाहाल ज्यानकाण्डजस्ता राजद्रोहको मुद्दा लाग्यो । उहाँ धेरै पटक अदालत धाउनुभयो । तर कहिल्यै अरू कसैमाथि दोष थोपर्नुभएन । ‘सबै मैले नै गराएको’ भन्ने जिम्मेवारीमा कायम रहनुभयो । त्यतिखेर बीपीको आवास चाबेलमा भाइ तारिणीकहाँ थियो । म त्यहाँ गइराख्थेँ । जनमतपछि त्यहाँ बिहान धेरै समर्थक र शुभेच्छुहरू पुग्ने गर्थे । यहाँ म उहाँलाई ग्रीसेली दार्शनिक सुकरातझैँ देख्थेँ । उहाँ राजनीतिको अभ्यासभन्दा पृथक् राजनीतिमा दर्शन, विश्लेषण र अन्तक्रिया गर्ने गर्नुहुन्थ्यो । २०३६ सालको जनमतमा मनमोहन अधिकारीको एउटा प्रस्ताव थियो— सँगै मिलेर पञ्चायतविरुद्घ लड्ने । यसमा बीपीले भनेको म सम्झन्छु— ‘हुँदैन मनमोहन ! तिमी आफूले सकेको गर । म आफ्नो गर्छु ।’ वामपन्थीले उहाँको मन जित्न सकेका थिएनन् ।


जनमतको पराजयपछि बीपीलाई धेरैतर्फबाट दबाब आयो— विद्रोह गर्नुपर्छ । तर उहाँले परिणामलाई सहज स्वीकार गर्दै भन्नुभयो, ‘जनमत अस्विकार्नु जनादेशको अवहेलना हो । नमानेर के म रक्तपात मच्चाऊँ ?’
उहाँलाई आखिर क्यान्सरले लग्यो । उपचार गर्दागर्दै उहाँको आधा सास थाइल्यान्डमा गइसकेको थियो । उहाँको पार्थिव शरीरलाई ट्रकमा राखेर आर्यघाट पुर्‍याउँदा काठमाडौँका मूल सडकमा मलामी र सडकका दुवै छेउमा मूक, असीमित, अपार जनसमुदाय अन्तिम दर्शनका लागि शोकसन्तप्त भएर उर्लेका थिए । मृत्युबारे महाकवि देवकोटाले कतै भनेका छन्— एउटा बचेरा भर्खर आयो, अर्को बचेरा भर्खर निदायो । राजनीतिमा नयाँ बचेरा आए, पुराना बचेरा निदाए ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?