१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पैसा ठूलो कि तारिफ ?

दक्षिण भारतीय तेलुगु भाषाका फिल्मका सुपरस्टार प्रभासका लागि यो प्रश्न अहिले तेर्सिएको छ  ।

पैसा ठूलो कि तारिफ ?

एसएस राजामौलीको फिल्म ‘बाहुबली’ का दुई भागबाट संसारभर प्रशंसक कमाएका प्रभास अहिले बक्स अफिस ट्र्यापमा परेको विश्लेषण भइरहेको छ । यो भनेको निकै सफल फिल्मपछि अब के गर्ने भन्ने संकट हो । यस्तो संकटमा परेका कलाकारले प्रायः बजारमा पहिले नै चलेका सूत्रको शरणमा जाने सम्भावना हुन्छ ।


प्रभासले पनि त्यही गरे । बाहुबहीको अपार सफलता र समीक्षकबाट पाएको भारी भरकम प्रशंसापछि उनी गत साता ‘साहो’ नामक फिल्ममा देखिए । ३ सय ५० करोड भारु बजेटको यो एक्सन फिल्म बजारमा चल्ने ‘ग्यारेन्टी’ मानिने थ्रिलर हो । फिल्मले निर्माताको अनुमानअनुसार व्यापार पनि गरिरहेको छ । चार भाषामा रिलिज गरिएको फिल्मको हिन्दी भर्सनले मात्रै पाँच दिनमा सय करोडको
कमाइ गर्‍यो भने सबै भाषाको जोड्दा ३ सय ५० करोड पुग्यो ।


तर, फिल्मले दर्शक र समीक्षकको प्रशंसा भने पाउन सकेन । निकै ठूलो प्रचार, प्रभासजस्ता स्टारको फ्यान फलोइङका कारण सुरुका दिनमा व्यापक कमाइ गरे पनि त्यो घटिरहेको छ । यस्तोमा फिल्मका आलोचकको स्वर झन् ठूलो सुनिएको छ । अनि फेरि कला कि पैसा ? भन्ने पुरानै प्रश्न उब्जिएको छ । ‘बाहुबली’ यी दुईबीचको सन्तुलन थियो । तर, ‘साहो’ मा कलाको मात्रा पावरवाला चस्मै लगाएर खोज्नुपर्ने गरी न्यून छ । फिल्मको निकै धेरै आलोचना भएपछि यसका निर्देशक सुजितले इन्स्टाग्राममा दुःखी हुँदै एउटा पोस्ट गरे । उनले दर्शकलाई फिल्म दोहोर्‍याएर हेर्न अपिल पनि गरे । श्रद्धा कपुर, चंकी पाण्डे, मन्दिरा बेदी र महेश माञ्जेरकरलगायतका बलिउड कलाकारले समेत अभिनय गरेको यो फिल्मलाई कमजोर कथा र पटकथाका लागि समीक्षकहरूले कडा शब्दमा आलोचना गरेका छन् ।


‘बाहुबली’ निर्देशक राजमौलीले पनि फिल्म हेरेर निकै लामो भएकाले केही सिक्वेन्स सम्पादन गर्न सल्लाह दिएको समाचार आएका छन् । निर्देशक सुजित र प्रभासले उनको सल्लाहलाई बेवास्ता गरेको बताइएको छ । राजामौली आफैं भने नयाँ फिल्मको सुटिङमा व्यस्त छन् । बीसौं शताब्दीको सुरुताकाका दुई स्वतन्त्रता सेनानीको कथा रहेको ‘आर आर आर’ नामक फिल्म उनले निर्देशन गरिरहेका छन् । निकै ठूलो बजेटको यो फिल्ममा दक्षिण भारतीय सिनेमाका दुई स्टार रामचरण र जुनिएर एनटीआर मुख्य भूमिकामा छन् । फिल्ममा बलिउड कलाकारहरू अजय देवगन र आलिया भट्ट पनि प्रमुख भूमिकामा देखिँदै छन् ।

कला र पैसाको यो बहसमा राजामौलीको नयाँ फिल्मको पनि परीक्षा हुनेछ । ‘बाहुबली’ ले जस्तै दुवै कुरामा यसले कसरी सन्तुलन मिलाउला भन्ने समीक्षकहरूलाई प्रतीक्षा छ ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?