पोकलीको बैंस

नजिक पुगेर हेर्दा बाक्लो दूध अग्लो छहराबाट पोखिएझैं लाग्छ । फोहराबाट निस्कने पानीका थोपाहरूले एकै छिनमा भिजाइदिन्छन् ।
कुम्भराज राई

लिखु उर्लिएर वारपार छ  । किनारमा हरिया खेतका फाँट एकटकले हेरिरहूँझैँ छन्  ।

पोकलीको बैंस

पारि रामेछापको सैंपू र माथितिर धोबी बजार धमिलो देखिन्छ । लेती र बाच्पु गाउँको चेपमा छ पोकली झरना । साउन र भदौ महिना पोकलीको बैंस भरिने महिना हुन् । निकै परदेखि पोकली झरनाको छङछङ आवाज सुनिन्छ ।

नजिक पुगेर हेर्दा सेतो र बाक्लो दूध अग्लो छहराबाट पोखिएझैं लाग्छ । झरनाको फोहराबाट निस्कने चिसो बतास र पानीका थोपाहरूले एकै छिनमा भिजाइदिन्छन् । क्यामेराको लेन्स कभर खोल्नै नपाई पानीको फोहराले छोपिदिन्छ । दिउसो दुई बजेपछि घामको किरण ठोक्किँदा निस्कने इन्द्रेणीको दृश्य बयान गर्ने शब्द भेटिन्न ।


बैंसले भरिएको पोकली हेर्न यो मौसममा आइपुग्नेलाई एक दिनमा फर्किन मनै लाग्दैन । ‘विदेशीहरू आएर यहाँ झरनाको नजिकै बसेर एक दुई दिन ध्यान (मेडिटेसन) गर्ने गर्छन्,’ स्थानीय केशवहरि ढुंगेलले भने । लिखु गाउँपालिका ९, ओखलढुंगामा पर्छ पोकली । यही झरनाको नामबाट साविकमा गाविसको नाम पोकली राखिएको थियो । पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । यो १ सय ३० मिटर उचाइबाट झरेको छ । यो झरना पर्यटन वर्ष २०२० को सय गन्तव्यको सूचीमा राखिएको छ । प्रकृतिले सुन्दर बनेको पोकलीझैं आसपासका बस्ती, रहनसहन, संस्कृतिसमेत मिश्रित र सुन्दर छन् । झरनाको माथिपट्टि पर्ने लेकाली गाउँ शेर्पा र तामाङ जातिले भरिएका छन् । तलतिर सुनुवार, बाहुन र क्षत्रीको बसोबास छ ।


नौमती बाजा बजाउने दमाई समुदाय अझै गाउँमा भेटिन्छन् । भाषा र संस्कारको विविधताले पोकली धनी छ । पोकली झरनामा हिउँदको बेला क्यानोनिङ गर्न सकिन्छ । पोकलीमा यसअघि क्यानोनिङको सफल अभ्यास भइसकेको छ । सामान्य पूर्वाधार निर्माण भए पनि बन्नुपर्ने थुप्रै काम बाँकी छन् । खुसीको कुरा यहाँका स्थानीय पोकली झरनाको पर्यटकीय विकासका लागि एकजुट छन् । पोकलीको प्रचार २०६५ मा प्रथम पटक महोत्सव गरिएदेखि सुरु भएको हो । नेपाल सरकारले पोकली झरनाको तस्बिर अंकित हुलाक टिकट र खाम प्रकाशनमा ल्याइसकेको छ । स्थानीयको प्रयासमा पोकलीदेखि देम्बाडाँडा हुँदै सोलुखुम्बुको पिकेसम्म पर्यटकीय पदमार्ग विकासका काम भइरहेको छ ।

‘पोकली टु पिके ट्रेल’ निर्माण गर्न सके नेपालका लागि नयाँ पदमार्गको रूपमा चिनाउन सकिने पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले बताए । पर्यटकका लागि यो पदमार्ग राजधानी काठमाडौंदेखि नजिक र सस्तो हुनेछ । रामेछापको मन्थलीदेखि सवारी मार्फत कच्ची सडकबाट चारदेखि पाँच घण्टामै पोकली पुग्न सकिन्छ । तर वर्षाको मौसममा कच्ची बाटो हिलाम्मे भएपछि पैदल हिँड्नुपर्ने बाध्यता हुन सक्छ ।पोकली पुग्ने अधिकांशले भन्ने गरेका छन्, ‘हेभन इज मिथ, पोकली इज रियल’ अर्थात् स्वर्ग एउटा कल्पना मात्र हो पोकली वास्तविकता हो ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?