२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

काव्यिक राजनीति

राजन सारा 'गाउँ रिचार्ज गर्न बजार गएको' बेला आगोका कथा गन्दै छन् । आगोलाई जिस्काउन हुन्न भन्दै छन् ।
तारालाल श्रेष्ठ

 
मान्छे अन्ततः पहिचानप्रेमी प्राणी हो, पहिचानविहीन बन्न कोही चाहन्नन्  । सबैलाई आफ्नो मौलिक पहिचान प्यारो हुन्छ, यद्यपि अधिकांश मान्छे आफूलाई पहिचानवादी भन्न चाहन्नन्  ।

काव्यिक राजनीति

उत्पीडित होस् या उत्पीडक, आफ्नो पहिचानप्रति मानिस बफादार बन्छन् । आफूलाई पहिचान विरोधी भन्नेहरू पनि भित्रभित्रै कट्टर पहिचानप्रेमी देखिन्छन् । अन्तर्यमा यसर्थ पहिचान राजनीतिक प्रायः विवादको विषय बन्छ । पहिचानको वकालत गर्ने स्रष्टा राजनीतिक अभियन्ताझैँ देखिने भइहाले, राजन मुकारुङजस्तै ।


सुँगुरको मासु र लोकल रक्सीका साथ मण्डला थिएटरमा हाटै सिर्जना गरी विमोचित कवितासङ्ग्रह ‘हाटा जाने अघिल्लो रात’ मार्फत राजन मुकारुङ पुनः पहिचानवादी राजनीतिको बहुल विम्ब बोकेर सार्वजनिक राजनीतिक वृत्तमा उभिने चेस्टा गरेका छन् । कतिलाई उनको कविता नारा लाग्न सक्ला । उनकै ‘आफन्त कवि’ लाई उनको कविता ‘अकविता’ लाग्न सक्ला । उनको कवितासङ्ग्रह छाप्ने प्रकाशक नभेटिन सक्छ । उनलाई आफ्नै अराजक पाराजक पारामा बोल्नु छ । कुरा चपाएर होइन सोझैँ मनको कुरा खोल्नु छ । जस्तो लाग्छ उनको कविता पढ्दा, आफ्नै वैचारिक गुरुहरू सिराउन कि खुसाउन् । ‘समाजवादी गणतन्त्र नेपाल’ मा स्वाधीन स्रष्टालाई बाँच्न सहज छैन । आलोचक चेतमाथि अनेक स्वरूपका अङ्कुश लगाउन खोज्ने असफल प्रयास जारी छ । ‘क्रिटिकल मास’ को ह्रास भइरहेको समयमा आलोचक चेतविम्ब बोकेर राजन उभिएका छन् । पुस्तकको पहिलो पृष्ठमै उनी वर्तमान व्यवस्था विरोधी विचार घन्काउँछन्, ‘हिउँमा खेल्नेहरू, असिनासित रमाउनेहरू जो थिए’ ती अहिले बाढीसँग सेल्फी खिचेर फेसबुक, इन्स्ट्राग्राम र ट्विटरमा मस्त देख्दा उनको पारो छुटछ । र भन्छन्, ‘जे होस, सरकारजस्तै छ यो बाढी... ।’ किनाराकै मानिसलाई डुबाउने, बगाउने बाढी विम्बबीच उद्घोष गर्छन्, ‘सबैलाई सुरक्षित रहन अनुरोध छ ! हेक्का रहोस् ! बाढीसित होइन, सरकारसित ।’


यी उपन्यासकार कविलाई नेपाली सत्ता रोटेपिङझैँ लाग्छ— माथि लान्छ, तल झार्छ । पिङ चलाउने मान्छे सरकारभन्दा बढी शक्तिशाली छन् । पिङबाट उतारेर रिङ्टा छुटाएको, वाकवाकी लगाएको दिन देख्न भने बाँकी छ । व्यवस्था चलाउनेहरूसित भालेगिद्ध (बाल्यकालमा खेलिने एकखुट्टे खेल) खेल खेल्न मन छ । तिनलाई लडाउने चाहना छ, ठेलेरै नभए ‘ट्याक्टिस’ ले ढलाउने अठोट उनको अधुरै छ । आफू पूरै धूलो बनेर पनि तिनको आँखा चिलाउने बनाउने धुनमा छन्, उनी । किनकि त्यहाँ कोही छ, त्यहाँ त्यही छ जो तरुनीको साप्राको मोलतोल गरिरहेछ । त्यहाँ उही छ जो समाजवादको गाथा गाउँदै ‘नाक, आँखा, जात, लिङ्ग र क्षेत्रको कुरा नगरौँ’ भन्दै छ । अब समृद्धितिर मात्रै लागौं भन्दै छ । उनको शब्दमा, संविधानमा आरक्षण भन्ने शब्द लेखिएको छ कि भनेर थर्थराइरहेको, प्रस्तावनामा धर्मनिरपेक्ष शब्दलाई रातो रङले गोलो घेरा लगाइरहेको त्यहाँ उही छ, उही सरकार । राजनले वर्तमान सत्ता (सरकार) लाई उही कालो सत्तासँग दाँजेका छन् जो दमितको अधिकारलाई नजरअन्दाज गर्दै केवल समृद्ध नेपालको सपना बाँड्ने बहानामा आन्दोलनबाट स्थापित अधिकार चेतनालाई आफूअनुकूल ‘कोअप्ट’ गर्दै छ । उनी निर्धक्क लेख्छन्, ‘त्यहाँ... ठीक तपाईंको वरपर कोही छ... हो, त्यहाँ उही छ... यही सरकार, जो तपाईंको कञ्चटमा पेस्तोल ताकिरहेको छ ।’


कवि क्रान्तिकारी छन् । अराजक छन् । व्यवस्थाविरोधी छन् । कुरूप ‘बनियाँ’ सत्ता र यसको ‘सुपरस्टक्चर’ सँगसमेत उसलाई नफरत छ । उसलाई ‘किन्नु छ केवल एक खिल्ली चुरोट’ र तान्दै फ्याल्नु छ धूवाँ निजी अस्पतालको झ्यालतिर । किन्नु छ एक बट्टा सलाइ र सल्काउनु छ त्यो निजी विद्यालयको छानोमा । उसले जस्तै आमवृत्तका मान्छेहरूले त्यसै गर्न थाले भने के गर्ने ? उत्तर सोचिएको छैन । उनका शब्दमा, ‘डर दुवै पक्षलाई छ ।’ ढुङ्गा हानिरहेका, टायर बालिरहेका, नारा लगाइरहेका छन्, एउटा शक्ति । तिनलाई देशद्रोही ठानिरहेको, साम्प्रदायिक भनिरहेको र लाठी–गोली ठोकिरहेको झन् बलियो अर्को शक्ति छन् । दुवै डराइरहेका छन्, एकआपसमा । उनलाई लाग्छ, ‘हिसाबचाहिँ जरुर बराबर छ ।’ उनी भन्छन्, ‘तिमीलाई आफू खोसिने डर छ, उसलाई आफू मेटिने डर छ ।’


पहिचानको पक्षधरतामा कवि राजन अडिग छन् । संस्कृतिबिनाको जीवन बाँच्नेहरूसँग फूलजस्तो कोमलता, वतासजस्तो तन्मयता, नदीजस्तो वेग केही दैख्दैनन्, उनी । तैपनि ‘ऊ गीत रचिरहेको छ, ऊ कसरी गीत हुन सक्छ ?’ कवि प्रश्न गर्छन् । ‘दम्भले मात्रै जितेको र शासनले मात्रै कज्याएको राज्य’ का पृष्ठपोषकहरू केवल डाह मात्र गर्न सक्छन् (केवल गीत रच्न सक्छन तर गीत हुन सक्दैनन्) भन्ने कविको निष्कर्ष छ । कपोलकल्पित कविता लेख्नु छैन उसलाई । ललित साहित्यिक संसारभित्र बुद्धिविलास होइन । कठोर राजनीतिक वास्तविकता लेख्छन् उनी । ‘अस्तिना भर्खरै चन्द्रगिरि चढेर अर्का भानुभक्तले समृद्धिको वधूशिक्षा लेखेको’ देख्छन् । ‘नगरी खानेहरूको यो कान्तिपुरी नगरीमा’ कामरेड मार्सीको दादागिरीविरुद्ध लेख्छन् । हूलका हूल ‘क्रान्तिकारी लाल’ हरू दलाल बनेको वर्तमान समयमा ‘एक पाइला खाली ठाउँ हुनेछैन काठमाण्डूमा’ भन्ने भविष्यवाणी गर्छन् । माया विकहरूले न्याय सहजै पाउनेवाला छैनन् । कमरेड माइला लामा उही दोबाटोमा अलपत्र छन् । हार्मोनियम बजाएर उही गोरेटाहरूकै गीत गाइरहेका छन् । अगुवाहरू ‘म मूलबाटो हुँ’ भन्दै विचार पूरै त्यागेर माइला लामालाई ‘गलत बाटो’ मा हिँडेको दण्ड दिँदै गरेका ‘कामरेड’ प्रति उनको आक्रोश छ ।


राजन सारा ‘गाउँ रिचार्ज गर्न बजार गएको’ बेला आगोका कथा गन्दै छन् । आगोलाई जिस्काउन हुन्न भन्दै छन् । आगोबारे लेखिएका किताब, मिथक बटुल्दै छन् । आगो धेरै बल्यो, जलेनन् जल्नैपर्नेहरू । ढलेनन् ढल्नैपर्नेहरू । उत्तरवर्ती चित्रगुप्तझैँ लेखाजोखा राख्दै छन्, राजन । बाढीले धेरै कुरा बगायो तर बगाएनन्, ‘विदेशी च्यानलको पावरफुल टावर, गुप्तचरहरूको न्युज रुम, पुराना संविधानका धारा र गुठीका सम्झौताहरू ।’ समय बदलियो, सामन्ती संस्कार बदलिएको छैन । खिकामाछाकी किराँत छोरीले अझैसम्म ‘हाटा जाँदा खुर्पाचाहिँ कम्मरमा भिर्नैपर्ने’ अवस्था औल्याउँछन्, उनी । आधुनिक डिजिटल ल्याबमा बेचिन तयार छैनन् उनी । बरु उत्तरआधुनिक भानुभक्तको खोजीमा छन् । ठाडो उकालो बाटो हिँड्न औल्याउँदै छन्, मान्छेको गीत गाउँदै । पुँजीवादले विश्व बजारमा (उपन्यास र जीवनीलाई चाउचाउझैँ बेचिरहेको समयमा) राजन ‘बिक्री नहुने’ कविता विधाबाट व्यवस्थाको प्रतिरोध गर्न उभिएका छन् । उनको पहिचानवादी विचारलाई वर्तमान समयको आगोले थप भुर्भुराउँदो आगोको ज्वालामा रूपान्तरण गर्ला वा बढी बगाउनुपर्ने रुढीहरू नबगाईकन निमुखाकै इतिहासलाई निमिट्यान्न पार्ने गरी बगाउला ? पक्षधरता आमवृत्तको कतातिर सोझिएला, कहिलेसम्म ? सार्वजनिक बुद्धिजीवीहरू बोलुन् ।


श्रवण मुकारुङका शब्दमा कवितामा ‘असफल राजन’ को सिर्जनशील अराजक अभियानको उपज ‘हाटा’ भित्र समेटिएका काव्यिक राजनीतिक रङले कृतिलाई समसामयिक समयचेतका साथ सङ्ग्रहणीय बनाएको छ । सत्ताको स्वादभन्दा भिन्न संसारलाई समेटेको कृतिले सत्तामा मैमत्ता भएका साँढेहरू र सत्ताका सुगाहरूलाई चिढ्याउन सक्छ । उनको अराजक स्वभावमाथि थप आलोचना बर्सिन सक्छ ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?