खेलाडी : भान डाइकको वर्ष

डच डिफेन्डर भर्जिल भान डाइकले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई युरोपेली च्याम्पियन बनाउन सहयोग गरेका थिए । प्रिमियर लिगमा पनि उत्कृष्ट खेलेका उनले अहिले धमाधम अवार्ड जितिरहेका छन् ।
राजु घिसिङ

 भर्जिल भान डाइक इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आएको भर्खर तीन महिना मात्रै हुँदै थियो  । उनले न्युकासल युनाइटेडका मिकेल मेरिनोले बल ड्रिबल गर्दै गर्दै उछिने  ।

मार्च २०१८ को त्यो खेलपछि प्रिमियर लिगमा लगातार ५० खेलसम्म भान डाइकलाई कसैले उछिन्न सकेका थिएनन् । उनको त्यो कीर्तिमानलाई आर्सनलका नयाँ फरवार्ड निकोलस पेपेले अघिल्लो साता पूर्णविराम लगाइदिए । भलै, आर्सनलमाथि लिभरपुलले ३–१ को जित निकालेको थियो । प्रिमियर लिगकै अर्को खेलमा लिभरपुलले बर्नलीलाई ३–१ ले हरायो । तर, त्यसमा योर्गेन क्लोपको टिमले हात पारेको जितभन्दा बढी भान डाइकलाई जे रोडरिग्वेजले ड्रिबल गर्दै उछिनेको क्षणको बढी चर्चा भयो ।


भान डाइकले सोमबार मात्रै युनियन अफ युरोपियन फुटबल एसोसिएसन्स (यूईएफए) को वर्ष खेलाडीको अवार्ड जिते । उनले बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछाडि पार्दै सन् २०१९ को युरोपकै सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड हात पारेका हुन् । उनी यो अवार्डको हकदार भएको धेरैले बताए । इंग्ल्यान्डका पूर्वडिफेन्डर रियो फर्डिनान्डले भने त्यो अवार्डका लागि भान डाइक सही खेलाडी नभएको दाबी गरे । ‘भान डाइक विश्वकै उत्कृष्ट डिफेन्डर हुन् । त्यो सिजन ५० गोल गर्ने पनि छन्, जुन सधैं हुन्न र त्यस्तै खेलाडीले अवार्ड पाउनुपर्छ,’ उनले भनेका छन् । लियोनल मेसीले गएको सिजन ५१ गोल गरेका थिए । तर, उनको टिम (बार्सिलोना) ले स्पेनी ला लिगाको उपाधि मात्रै जित्यो । कोपा डेल रे र च्याम्पियन्स लिगमा सफलता हात पार्न सकेन । उनको नेतृत्वमा रहेको अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पनि पुग्न सकेन । दशकयता अवार्डहरूमा मेसीका प्रतिस्पर्धी रहेका क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सबाट इटालियन सिरी ‘ए’ को उपाधि जिते । आफ्नो कप्तानीमा पोर्चुगललाई यूईएफए नेसन्स लिगको उपाधि पनि दिलाए । तर, उनको व्यक्तिगत प्रदर्शन पहिलाजस्तो रहेन । उनले २०१८–१९ को क्लब फुटबलमा २८ गोल मात्रै गरे । त्यसैले उनको बढ्दो उमेरलाई अवार्डको प्रतिस्पर्धामा छुट दिन मिल्दैन ।


डच सेन्टर–ब्याक भान डाइकले ३०५ अंक हासिल गर्दै ‘यूईएफए प्लेयर अफ द इयर २०१९’ को अवार्ड जितेका हुन् । उनका नजिकका प्रतिस्पर्धीहरू मेसीले २०७ र रोनाल्डोले ७४ अंक पाए । गत वर्ष यो अवार्ड विश्वकपमा सनसनी मच्चाउँदै क्रोएसियालाई फाइनल पुर्‍याएका मिडफिल्डर ल्युका मोडरिचले जितेका थिए । उनले रियल मड्रिडलाई कीर्तिमान १३ औं पल्ट युरोपेली च्याम्पियन बनाउन पनि योगदान गरेका थिए । सन् २०११ मा सुरु भएको ‘यूईएफए प्लेयर अफ द इयर’ अवार्ड मोडरिचअघि रोनाल्डो (३ पल्ट), लियोनल मेसी (२), फ्रांक रिबेरी (१) र आन्द्रेस इनिस्टा (१) ले हात पारेका थिए । युरोपेली वर्ष खेलाडी घोषित हुने पहिलो डिफेन्डर हुन्, भान डाइक । गत सिजन लिभरपुल ९७ अंक जोडेर पनि प्रिमियर लिगको उपाधि नजित्ने पहिलो टिम भएको थियो । उसलाई पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले ट्रफी छुनै दिएन । लिग कप र एफए कप पनि जितेन । च्याम्पियन्स लिगमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै योर्गेन क्लोपको टिम छैटौंपल्ट युरोपेली च्याम्पियन भयो । त्यस क्रममा भान डाइकको प्रदर्शन वास्तवमै उत्कृष्ट रह्यो ।


च्याम्पियन्स लिगको अन्तिम १६ मा जर्मन महारथी बायर्न म्युनिखविरुद्ध हात पारेको ३–१ को जितमा भान डाइकले एक गोल गर्दै अर्को गोलमा अन्तिम पास दिएका थिए । सेमिफाइनलको पहिलो लेगमा लिभरपुललाई बार्साले ३–० ले पछाडि पारेको थियो । दोस्रो लेगमा स्टारहरू मोहमद सलाह र रोबर्टो फिरमिनो चोटको कारण खेल्न नसक्ने भए । तर, एन्फिल्डमा चकित पार्दै लिभरपुलले ४–० को जित रच्यो । डिभोक ओरिगी र जजिर्नियो विजनाल्डम २–२ गोल गर्दै हिरो भए । त्यसमा मेसी र लुइस स्वारेजलाई रोक्ने काम गरेका थिए, भान डाइकले । उनी बार्साविरुद्ध प्रतिघण्टा ३४.५ किम दौडिएको तथ्यांक यूईएफएले सार्वजनिक गरेको छ । मड्रिडमा लन्डन क्लब टोटेनमविरुद्ध २–० को जित निकाल्दै ‘रेड डेभिल्स’ ले ट्रफी उचाल्दा उनी ‘म्यान अफ द फाइनल’ चुनिएका थिए ।


२८ वर्षीय भान डाइकले प्रिमियर लिगमा मात्र होइन, युरोपेली च्याम्पियन्स लिगमै पनि स्टार स्ट्राइकरहरूलाई चुप लगाएका छन् । उनले किभमा भएको च्याम्पियन्स लिग २०१८ को फाइनलमा रोनाल्डोलाई खुलेर खेल्ने अवसर नै दिएका थिएनन् । तर, गोलकिपर लोरिस कारियसको गल्तीको फाइदा उठाउँदै रियल च्याम्पियन भएको थियो । त्यो सिजन भान डाइकका लागि लिभलरपुलमा ‘हाफ सिजन’ थियो । किनभने उनी जनवरी २०१८ मा मात्रै एन्फिल्ड सरुवा भएका थिए । ‘फुल सिजन’ खेल्दा उनले लिभपुललाई युरोपेली च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । यूईएफए सुपरकपमा चेल्सीविरुद्धको जित पनि छ । आफ्नो कप्तानीमा नेदरल्यान्ड्सलाई यूईएफए नेसन्स लिगको फाइनल पुर्‍याएका उनी ‘यूईएफए प्लेयर अफ द इयर’ मात्रै चुनिएनन्, प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) को ‘प्लेयर अफ द इयर’ पनि भए । प्रिमियर लिग प्लेयर अफ द सिजन (२०१७–१८) पनि चुनिए र यो अवार्ड जित्ने उनी भिन्सेन्ट कोम्पनी (२०११–१२) यताका पहिलो डिफेन्डर हुन् । भान डाइक अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वर्षका उत्कृष्ट खेलाडीको अवार्ड (द बेस्ट फिफा फुटबल अवार्ड २०१९) मा रोनाल्डो र मेसीसँगै तीन खेलाडीको सूचीमा पनि छन् । विश्व फुटबलकै प्रतिष्ठित अवार्ड बालोन डि’अरको समय पनि नजिकिँदै छ । विश्वकप २००६ विजेता इटालीका डिफेन्डर फावियो कानाभारोले त्यस वर्ष फिफा र बालोन डि’अर जितेका थिए । उनीपछि यी प्रतिष्ठित अवार्ड जित्ने पहिलो डिफेन्डर हुन सक्छन्, भान डाइक । विश्वका उत्कृष्ट खेलाडीको अवार्डमा रोनाल्डो–मेसीको एक दशक चलेको होडलाई मोडरिचले ‘ब्रेक’ गरिदिए । यसपालि अवार्ड जितेर भान डाइकले अर्कोपल्टलाई सबैका लागि खुला गर्न सक्छन् ।


विलेम दोस्रो एकेडेमीबाट हुर्किएका भान डाइक पहिलो श्रेणीको डच क्लब ग्रोनिन्गेन (२०११–१३), स्कटिस प्रिमियर लिगको सेल्टिक (२०१३–१५), इंग्लिस प्रिमियर लिग क्लब साउथ ह्याम्पटन (२०१५–१७) हुँदै लिभरपुल आइपुगेका हुन् । सेल्टिकमा छँदा दुवै सिजन स्कटिस प्रिमियरसिप जितेका उनले साउथ ह्याम्पटनलाई २०१७ मा लिग कपको फाइनल पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका थिए । तर, चोटको कारण उनले म्यानचेस्टरविरुद्धको उपाधि होड गुमाएका थिए । उनलाई त्यसअघि नै लिभरपुलले अनुबन्ध गर्न चाहेको थियो । त्यो प्रयास अवैध भएको आरोप पनि लाग्यो । तर, चर्चा भएको डेढ वर्षपछि लिभरपुलले भान डाइकलाई एन्फिल्डमा स्वागत गर्‍यो ।


६ फिट ४ इन्च अग्ला भान डाइक शारीरिक रूपमा निकै बलिया छन् । डिफेन्समा उनको नेतृत्वको सबैले प्रशंसा गरेका छन् । एरियल बलमा पनि उनको प्रदर्शन उत्कृष्ट हुने गर्छ । सटीक पासका लागि उनी माहिर छन् । इंग्ल्यान्ड आगमनसँगै उनको ट्याक्टिकल पक्षमा सुधार भएको बताइन्छ । आदर्श सेन्टर–ब्याकको रूपमा स्थापित उनी मैदानमा अलराउन्डजस्तै देखिन्छन् । सजिलो मानिएको खेलमा आफ्नो पोजिसन छाडेर अगाडि बढ्नु उनको कमजोरी हो । उनी नियमित गोल गर्ने डिफेन्डर हुन् । त्यसैले उनका लागि लिभरपुलले साउथ ह्याम्पटनलाई ७ करोड ५० लाख पाउन्ड बुझाएको थियो । डिफेन्डर स्थानान्तरणको विश्व कीर्तिमान थियो त्यो । त्यो कीर्तिमानलाई ह्यारी म्यागुएरलाई ८ करोड पाउन्डमा लेस्टरबाट भित्र्याएर म्यानचेस्टर युनाइटेडले तोडिदियो । तर, मैदानमा म्युगुएरको तुलना भान डाइकसँग गर्ने बेला भएको छैन ।
Twitter : @rghising

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्मृति : बरफको स्वाद

एकल सिलवाल

माथिल्लो कक्षाका एक जना दाइ बरफ चुसिरहेका थिए । तिनले मुखमा लैजान अलि ढिला गरेको क्षण बरफबाट एक थोपा पानी तप्प चुहिँदा मेरो मुखबाट स्वचालित स्वर निस्किन पुगेछ– 'चुहियो !'

थालनी प्रकरण

त्यसबेला म दुई कक्षामा पढ्थें । तीजको दिन  । आमासँगै मामाघरमा थिएँ । आमाको व्रत । मैलेचाहिँ बिहानैदेखि दुई पटक मावलको मेजमानी खाइसकेको थिएँ । आमा र दुई ठूलीआमा कानेखुसी गर्दै हुनुहुन्थ्यो । उहाँहरू मलाई छाडेर बाहिर कतै निस्कन लाग्नुभएको संकेत थियो त्यो ।

कतै जाँदा छोराछोरीलाई सँगै नलैजानु छ भने मेरा समकालीन प्रायः सबैका आमाहरूको व्यवहार त्यस्तै हुन्थ्यो । जसै आमा आँगनमा निस्कनुभयो, म पनि उफ्रिँदै उहाँको गुन्युको फेर समात्न पुगिहालें ।

‘तँ पिराहालाई कल्ले लान्छ र ?’ आमाको प्रश्न ।
‘हुँहुँहुँहुँ....’ मेरो जवाफ ।

आमाले मामा गुहार्नुभो । मामाले मलाई कुखुराको चल्लो छोपेझैं छोपेर च्याप्प समात्नुभो । म अझ जोडले रोएँ । अलि पर पुगिसकेकी आमाले मेरो रुवाइ देख्न नसकेर होला मामालाई भन्नुभो, ‘भो बाबु छाड्दे । पिरेर सतायो भनेचैं अबदेखि मामाघरै ल्याउन्नँ, अहिलेलाई आओस् ।’ मामाले छाडिदिएपछि खुट्टा भुइँमा टेकिए । आँसु आँखामै बिलायो । सुँक्कसुँक्क गर्दै तीन बित्ता उफ्रेर फेरि आमाको गुन्युको फेर समात्न पुगिहालें ।

ठूलीआमाहरू अघिअघि, आमा र म पछिपछि । जाने कता हो थाहा छैन । तर आमामाथि सम्पूर्ण भरोसा बिसाएर निस्फिक्री हुनुको मज्जा बेग्लै । एकै छिनको हिँडाइपछि हामी जताततै मान्छेले टमाटम भरिएको मलेखु बजारमा पुग्यौं । अहिलेको होइन, उबेलाको मलेखु । सदाबहार बजारको अनुहार गुलजार थियो । चारैतिरबाट आएका मानिसले सामान किनमेल गर्ने त्यस बेलाका पसलहरू सबका सब इतिहास भइसकेका छन् । पुरानो मलेखु पूरै अस्ताएर त्यही आसपासमा उदाएको नयाँ मलेखु मात्र अहिले देख्न पाइन्छ ।

बजारमा जता हेरे पनि आमाजस्तै रातो गुन्युचोलो लगाएका महिलाले बजारको खाली ठाउँ जति पूरै ढाकेका थिए । सडकमा पनि गाडी समेत नछिर्ने गरी मानिसको मेला लागेको थियो । भीड छिचोल्दै आमाहरू मलेखु खोलाको पुरानो बजार पुग्नुभयो । त्यहाँको भीडमा भने मैले रमाइला दृश्यहरू पनि देखें । भदौको गर्मी भए पनि राति पानी परेको र दिनमा बादल लागेकाले शीतल थियो । पसलहरू केही खुला थिए, केही बन्द । तिनका आँगनमा झुरुप्प जम्मा भएका महिला अनेक समूह बनाएर तीजका गीत घन्काइरहेका थिए । गाउनेहरू एकै तालमा थपडी मारिरहेका । कोही गीत र थपडीको तालमा छमछम नाचिरहेका ।

सडक (पृथ्वी राजमार्ग) मा चाहिँ उसरी नै समूह समूहमा भेला भएका पुरुषको लाखे नाच । आमाले बजार नपुग्दै बाटोमा भन्नुभएको थियो– ‘लाखे देखेर डराउलास् नि !’ लाखेको रूप नदेखे पनि मैले फुर्ती गर्दै जवाफ फर्काएको थिएँ— त्यस्तो जाबो लाखेसँग नि को डराउँछ ?

तर लामो कपाल र डरलाग्दो दाह्रा देखिने मुकुन्डो लगाएका दुई–तीनवटा लाखे एकैसाथ देख्दा मेरो सातो उड्यो । लाखेका आकृतिमा आँखा पर्नेबित्तिकै म डरले लुगलुग काम्दै आमाको उही गुन्युमा गुटमुटिन पुगें । ‘देखिस् नि ? यसरी डराउलास् भनेर नल्याउन खोजेको,’ आमाले भन्नुभयो । मैले आमाको गोडाले छेलिएर लाखेनाच हेरें ।

घुम्दाघुम्दै एउटा पसलअगाडि आमाहरू थकाइ लाग्यो भनेर थचक्क बस्नुभो । म यताउति नियाल्न थालें । नजिकै सडकछेउको सिमेन्टको ढिस्को (प्यारापिट) वरपर मेरै उमेरका केटाकेटी झुम्मिएको देखें । उनीहरू तँछाडमछाड गर्दै सुका र मोहोरका सिक्काहरू लिएका हात बीचमा उभिएका एक जना मानिसतर्फ लम्काउँदै थिए । मधेसी मूलका ती मानिसले टाउकोमा कपडाको पगरी बाँधेका थिए र उनको अगाडि अग्लो प्यारापिटमाथि काठको एउटा बाकस थियो । म त्यो प्यारापिटभन्दा पनि अग्लो उचाइमा थिएँ । हेर्दाहेर्दै बाकस लिएका व्यक्तिले ती केटाकेटीका हातबाट सिक्का लिँदै सबैभन्दा माथि कपडा र त्यसभित्र पहेंलो रङको प्लास्टिकले छोपेको बाकसभित्रबाट केही चीज निकालेर दिन थाले । मेरो हात आमाले समातिरहनुभएको थियो । फुत्काएर ती केटाकेटीको नजिक जान खोजें । तर आमाले हकार्दै भन्नुभो, ‘तँलाई यत्रो भीडमा हराउन मन छ ?’ आमाबाट फुत्किएर जाने अनुमति नपाएपछि मैले जे देखिरहेको थिएँ त्यसतर्फ आँखा मात्र लम्काएँ ।

सिक्का दिएका प्रत्येक केटाकेटीले रातो रङको, टिलिक्क टल्किने र ढुंगाजस्तै चिल्लो देखिने चप्लेटी समातेर चुस्न थाले । त्यो चीज मलाई त्यसबेला अझै अनौठो लाग्यो, जति बेला उनीहरूले चुसिरहेको त्यो ढुंगोबाट त्वाप्पत्वाप्प पानी चुहिएको देखें । सबैले चुसेर खाइरहँदा सिन्कामा उनेर समात्ने ठाउँ बनाएको त्यो अनौठो चप्लेटीबाट जति पटक पानी चुहियो त्यति नै पटक मेरो ओठबाट र्‍याल बग्न थाल्यो । सँगसँगै बढेको मेरो बेचैनीले आमाको हात फुत्काउन खोजिरहेको थियो ।

मेरो छटपटीबाट आमाले के अनुमान लगाउनुभएछ कुन्नि, ठूलीआमाहरूसँग एक्कासि भन्नुभयो— जाऊँ अब, नत्र यसले सताउँछ । मैले हत्त न पत्त आमाले बाँधेको पटुकाका पत्रहरू कोट्याएँ र अनौठो जिनिस खाइरहेका केटाकेटीतर्फ देखाउँदै भनें, ‘मलाई पनि ऊऽऽऽ त्यस्तो किनिदिनुस् न ।’

अक्सर आमाले आफ्नो पैसा राख्ने सुर्केथैली त्यही पटुकाको कुनै पत्रमा लुकाउने गर्नुहुन्थ्यो । मेरो चकचक आमालाई मन परेनछ । एउटा हातले पटुका छामिरहेका मेरा दुवै हात पन्छाएर अर्को हात मेरै गालातिर ताक्दै भन्नुभो, ‘धत्, त्यस्तो चिसो बरफ नि खान्छन् ? कीरा लागेर दाँत जति सबै झर्छ अनि थाहा पाउँछ ।’

‘बरफ ? के हो यो बरफ भन्या ?’ मेरो भण्डारमा थपिएको नितान्त नयाँ शब्दबारे एक छिनसम्म सोचमग्न भएँ । बरफ खानेहरूतिर फर्केर हेरें । उनीहरू यति मीठोसँग खाइरहेका थिए कि मानौं त्यति मीठो स्वाद संसारमा अरू कुनै चीजसँग पनि छैन । मैले मन थाम्न सकिनँ र आमाको ध्यान तान्न जोडले चिच्याएँ, ‘नाइँ आमा, म पनि बरफ खाने !’

आमा चुपचाप लाग्नुभो । त्यो मौका गुमाएँ भने बरफ खाने साइत दोहोर्‍याएर कहिल्यै नआउलाझैं लागेपछि फेरि आमालाई कोट्याएर जिद्दी गरें, ‘बरफ किन्दिनैपर्छ ।’

‘दाँत झर्छ भनेपछि अझै पिर्छस् ?’
‘तिनीहरूले किन खाएका त ?’
‘चुप लाग्, नत्र यहीं मुड्की च्युरा खालास् ।’

सकुन्जेलको प्रयत्नबाट पनि केही नलागेपछि आमासँग हारेर म चुप लागें । मनमा भारी खिन्नता छायो । मेरो मन जति सबै बरफमै थियो । तर ज्यान भने पूरै आमाको अधीनमा । उहाँले लतार्दै त्यहाँबाट हिँडाउनुभयो । त्यसपछि न नाचगानको रमाइलो याद भयो, न त लाखे देखेर डराउन भ्याएँ । तनमन, ध्यान जति सबै बरफमै गएर बाँधियो ।

मामाघर फर्केपछि मुखले खाजा खायो तर मनले उही खाने मौका गुमेको बरफ नै चुसिरह्यो । बरफबाट तप्पतप्प चुहिएको पानी सम्झेर मुख रसाइरह्यो । मीठास जति सबै बरफमा गएर बसेकाले मेरो त्यो वर्षको पूरै तीज खल्लो भयो ।

आमासँग घर फर्किएपछिका केही दिनसम्म त्यस्तो रहेन जहिले बरफ नसम्झेको होस् । धेरै पछिसम्म हरेक छाक सबैभन्दा पहिले मलेखु खोला बजारमा खान नपाएको बरफ पेटभरि चुसेको कल्पना गर्थें अनि मात्र खाली रहेको वास्तविक पेट भर्न खाजा या खाना खान्थें । बेलाबेलामा कसैले माया गरेर दिएका मिठाई चुस्दा पनि बरफ नै सम्झिन्थें ।

त्यसपछिका तीन वर्षसम्म बेलाबेलामा सिक्का पैसा हात पर्दा र स्कुलमा केही साथीले यदाकदा लुकाएर बेच्न ल्याउँदा मोहोरवाला बबलगम, पाँच पैसावाला केराउगेडी, १० पैसावाला मालागेडी र पिपलमिठाई वा सुकावाला ललिपप किनेर खाइयो । यद्यपि बरफको प्यासले ती कुनैमा पनि मीठास भेटिनँ । मीठो थियो त केबल त्यही दिनको रातो बरफ ।

मध्य प्रकरण
पाँच कक्षासम्म पुग्दा पनि बरफ खाने मेरो धोको पूरा भएन । सोचेर पूरा नहुने भएपछि मैले बरफ सम्झिइरहन छाडेको थिएँ तर चटक्कै बिर्सिएको चाहिँ होइन । २०४६ सालको पुसमा मैले पाँच कक्षा पार गरेसँगै गाउँको प्राथमिक विद्यालयबाट बिदा पाएँ । त्यसपछि जानुपर्ने सबैभन्दा नजिकको हाइस्कुल मेरो मामाघरसँगै थियो । स्कुल टाढा भएर वा बाआमाले घरका कामकाजको लोभ गरेर मेरा कतिपय साथीको पढाइ ६ कक्षा प्रवेशअघि नै तुहियो । मलाई भने त्यसरी रोकिनुपरेन । दिनभर स्कुलमा बिताउने र साँझबिहान घरायसी काम सघाउने मोडेलमा मेरो पढाइ अघि बढ्यो ।

हामीलाई खान लाउन अभाव थिएन । तर निर्वाहमुखी खेतीपातीबाट नगदचाहिं हातमा नपर्ने भएकाले बाआमासँग पनि पैसा हुँदैनथ्यो । भइहाले पनि बरफ किनेर खानका लागि माग्ने कुरा भएन । माग्दैमा पाइने पनि थिएन ।
पुस महिनाको एक दिन । ६ कक्षाको पढाइ भर्खरै सुरु भएको थियो । हाम्रो बारीको एउटा सुर्कामा बर्सेनि उखु लगाइन्थ्यो । बेच्न होइन, वर्षभरलाई चाहिने खुदो बनाउन । यद्यपि यदाकदा हाम्रै घरछेउ भएर गाउँबेंसी ओहोरदोहोर गर्ने बटुवाहरू पानी खान पसेका बेला उखु किन्न खोज्थे । चाहे जति सबैले नपाए पनि तीमध्येका कसैकसैलाई आमा र दाइहरूले एक रुपैयाँ ढाँकका दरले उखु बेच्नुहुन्थ्यो ।

स्कुल छुट्टी भएको एक दिन मसँगै पढेर ५ कक्षापछि छाडेका मुक्ति मगर नामका साथी त्यै बाटो हिँड्दै रहेछन् । मलाई खोज्दै उनी हाम्रो घरमा पसे । संयोगले त्यस दिन म एक्लै थिएँ । उनले पानी मागे । मैले एक अम्खोरा पानी दिएँ । जाडो महिना भएकाले पानीको प्यास खासै थिएन होला ।

अम्खोरा समात्दै उखुबारीतिर हेरेर मुक्तिले भने, ‘उखु किन्न दिन्छौ ?’
‘आफ्नो साथीलाई एक ठुन्का उखु पनि के बेच्नु, काटेर ल्याइदिऊँ ?’

साथी भन्दैमा उखु सित्तैमा दिएको थाहा पाए मैले घरमा गाली खान्छु भन्ने उनलाई थाहा रहेछ । भनिहाले, ‘सित्तैमा बाँड्दा तिम्लाई बाआमाले गाली गर्लान् नि फेरि ? बरु एक रुपैयाँ दिन्छु, त्यसको जति आउँछ देऊ ।’ यति भनेलगत्तै मुक्तिले एक रुपैयाँको सिक्का देखाए । मैले बिर्सिनै लागेको बरफ झल्झली सम्झिएँ । केही नभनी एक्कासि हात लम्काएर सिक्का खल्तीमा हालेछु ।

घरमा कोही आइहाल्लान् कि भन्ने डरले चारैतिर हेर्दै हँसिया लिएर उखुबारीमा पसें । मुटु ढुकढुक गरिरहेको थियो । एउटा रोज्जाको ढाँक र अर्को अलि सानो उखु काटें । ती दुवै ल्याएर मुक्तिलाई दिइपठाएँ । ठूलो उखु पैसामा र सानोचाहिँ साथीलाई सित्तैमा । मेरो सत्कारको शैलीबाट औधी खुसी देखिएका मुक्ति एउटा उखु काँधमा राखेर अर्को चुस्दै बाटो लागेपछि मेरो धड्कनको गति बिस्तारै शान्त अवस्थामा फर्कियो । उनीभन्दा बढी खुसी म थिएँ । किनभने साथीले साँच्चै चपाएको उखुभन्दा मैले वर्षौंदेखि कल्पनामा मात्र खाएको बरफ कैयौं गुणा गुलियो लाग्दै थियो ।

त्यसपछि लामो सास तान्दै मुक्तिले दिएको सिक्का ओल्टाई पल्टाई हेरें । सोचें, यो सिक्का बरफ नपाउन्जेलका लागि जसरी पनि जोगाएर राख्नुपर्छ । मलाई अमूल्य बरफ दिएपछि मात्र त्यो सिक्काले मबाट बिदा पाउँथ्यो । अर्थात् मेरा लागि बरफ किन्न नपाउँदासम्मका लागि सिक्कामा र बरफ पाएपछि उही सिन्कामा उनेको पानीको ढिक्कामा भएभरको मूल्य थियो । त्यस्तै के–के कल्पेर एक छिन टोलाएपछि त्यो सिक्कालाई एउटा टालोमा बाँधेर झुप्रे घरको पाली छाएको खरभित्र सिउरिएँ ।

राखेको ठाउँ नबिर्सिन पालीका डाँडाभाटा बाँधेको बाँसको चोयामा कलमले चिह्न लगाएँ । आफ्नो उचाइले नभेटेपछि खाली डोको घोप्ट्याएर मैले ती सब काम तमाम गरेको थिएँ । भोलिपल्ट स्कुल जाँदा छानामा सिउरेको सिक्का कसैले नदेख्ने गरी पाइन्टको खल्तीमा हालें । झरेर हराउन सक्ने भयले खल्तीभित्र हात हालेर सिक्का समाउँदै स्कुल पुगें । बाटोमा पर्ने त्रिशूली नदी तर्न काठको डुंगामा बस्दा पनि मेरो एउटा हात पाइन्टको खल्तीभित्रै थियो । हामी हिउँदमा डुंगा र वर्षामा तुइनबाट त्रिशूली तर्थ्यौं ।

सिक्का लगेको दिन मध्यान्तरको छुट्टीमा तुफानको बेगले कुँदेर बाटो खोज्दै स्कुलबाट मलेखु खोला बजार ओर्लिएँ । सामान्य हिँडाइमा १५ मिनेटको ओरालो बाटो ५–७ मिनेटमै पार गरें । त्यस बेला दुई कक्षा पढ्दा तीजको दिन आमालाई पछ्याएर बजार झरेको याद पाइलापाइलामा आइरह्यो । बजार पुगेर चार वर्षअघि बरफ देखेको ठाउँ ठम्याउने कोसिस गरें । धमिलो धमिलो सम्झना आयो । त्यही आसपासको एउटा सानो घुम्तीमा फलफूल पसल रहेछ । त्यहाँ गएर पसलेलाई सोधें, ‘दाइ यता बरफ कहाँ पाइन्छ ?’ ‘ए बाबु, तँ कसरी यहाँ आइपुगिस् हँ ?’ यस्तो अनपेक्षित जवाफले मेरो सातो गयो ।

यसो अनुहारमा हेरेको त ती पसले मेरै भान्दाइ पो रहेछन् । लाज र डरले केही नबोली घोसे मुन्टो लगाएर उभिइरहें । उनले फकाउँदै दुईवटा ससाना सुन्तला दिएर भने, ‘पुसको ठन्डीमा बरफ कसले खान्छ र पाइनु लाटा ? चैत–वैशाखतिर बेच्छन् ।’ भान्दाइको यो घोषणाले म स्तब्ध भएँ । बरफको स्वाद लिने मेरो सपनामाथि फेरि पनि तुषारापात भयो । यस पटकको धोखा समयले दिएको थियो । भान्दाइले दिएका सुन्तलाको ‘फिका’ स्वादमा चित्त बुझाउँदै स्कुल फर्किएँ । बरफको पर्खाइमा अर्को तीन–चार महिना त्यो सिक्का जोगाएर राख्नु सम्भव पनि थिएन ।

स्कुल नजिकै दुईवटा खाजा पसल थिए । मेरो कक्षाका एकाध साथीले मात्र ती पसलमा नियमित खाजा खान्थे । त्यहाँ भुजा र आलुप्याजको झोल तरकारी खान दुई रुपैयाँ लाग्थ्यो । त्यसका लागि मसँग जगेडा रहेको एक रुपैयाँको सिक्काले पुग्दैनथ्यो र मलाई खाजा किनेर खाने रुचि पनि थिएन । अलिपछि एक दिन प्लास्टिकमा प्याक गरेको आँपको पाउँ जसलाई हामी ‘झप्पा’ भन्थ्यौं, त्यही किनेर त्यो सिक्का सस्तैमा तह लगाएँ । अनि बरफ खान चैत–वैशाखको गर्मी मौसम आउने दिन गन्दै बसें ।

अन्त्य प्रकरण
त्यो वर्ष पुसबाट चैत आउन लागेको तीन महिना मलाई तीन वर्ष जत्तिकै लामो लाग्यो । त्यस अवधिमा साथीहरूसँग सोधखोज गरेर बरफज्ञान बटुलिरहेको थिएँ । उनीहरूले बताएअनुसार गर्मी महिना लागेपछि बरफ बेच्नेहरू स्कुलसम्मै आइपुग्थे । पर्खंदापर्खंदै चैत आयो तर बरफ आएन । बरफ आइहालेको भए पनि मसँग त्यो खरिद गर्ने खर्च थिएन । बरफ आए/नआएको बुझ्न भने म स्कुलनजिकै हाम्रो खुला सार्वजनिक शौचस्थल बनेको बाँसघारी वरपर मध्यान्तरमा दिनमा एक पटक नियाल्न पुगेकै हुन्थें ।

चैत सकिनै लाग्दाको एक दिन । त्यही बाँसघारी छेउको बारीको कान्लामुनि मधेसी मूलका एक व्यापारीले बाकसभरि बरफ लिएर बेच्न बसेको देखें । मेरो गोजीमा सुको दाम थिएन । तैपनि नजिक गएर हेरें । मभन्दा साना, मसँगैका र मभन्दा ठूला थुप्रै विद्यार्थीले मेरै आँखाअगाडि बरफ किनेर कपाकप खाए । किन्ने बेलाको दृश्य मैले पहिलो पटक बरफ देखेर नाम थाहा पाएको क्षणजस्तै ठेलमठेलमय थियो । त्यसबेला फेरि सोचें— मीठो नहुने चीज भए यसरी हारालुछ गरेर पक्कै किन्दैनथे होला ! मेरो मस्तिष्कमा बरफको स्वादले क्रमशः रहस्यको विशाल तलाउ बनाउँदै गएको थियो ।

सँगै पढ्ने र कहिलेकाहीं बेन्चमा सँगै बस्ने ‘सम्पन्न’ साथी श्यामले पनि बरफ लिएर मुखमा पुर्‍याउन मात्र भ्याएका रहेछन् । मलाई देखेपछि उनीचाहिं तर्किएनन् र बरफ पनि लुकाएनन् । बरु चासो राख्दै सोधे, ‘तिमी नि किन्छौ बरफ ?’

श्यामको हातमा तप्पतप्प पानी चुहिइरहेको बरफ देख्दा गालाका भित्ताहरूबाट बगेको र्‍यालले मेरो मुख भरिभराउ भइसकेको थियो । मुख खोलेर बोल्न मिल्ने अवस्था थिएन । मुन्टो मात्र दायाँबायाँ घुमाएर ‘होइन होइन’ भनी अर्थ दिने संकेत गरें । श्यामले मायालु भावमा भने, ‘मसँग पैसा बाँकी छैन, नत्र तिम्लाई नि किन्दिन्थें । यही दिऊँ भने जुठो लगाइसकें ।’ त्यस बेला जतिसुकै मिल्ने साथी भए पनि एकअर्काको जुठो खाने चलन थिएन ।

बरफ नै नदेख्दा त्यसको यादमा तरंगिनु जति छटपटीपूर्ण थियो, बरफकै अगाडि बरफ मिस गरीगरी उभिनु त्यसको कैयौं गुणा बढी पीडादायी हुँदोरहेछ । म अवाक् थिएँ । साथी श्याम पनि त्यहाँ बसेनन् । तर म मध्यान्तर सकिने घण्टीको आवाज नसुनिंदासम्म अरूहरूले बरफ किनेर खाएको हेर्दै उभिइरहें ।

माथिल्लो कक्षाका एक जना दाइ बरफ चुसिरहेका थिए । मेरा दुवै आँखा एकतमासले उनको हातको बरफमा गडेका थिए । उनले बरफ हातमा लिंदा हातमै र मुखमा लाँदा मुखमै ओहोरदोहोर गर्दै त्यही बरफको तालमा मेरा आँखा नाचिहेका रहेछन् । तिनले मुखमा लैजान अलि ढिला गरेको क्षण बरफबाट एक थोपा पानी तप्प चुहिँदा मेरो मुखबाट स्वचालित स्वर निस्किन पुगेछ, ‘चुहियो !’

त्यस बेला मेरो स्वर मात्र निस्केन । त्योसँगै ओठ चल्दा मुखमा टिलपिल भएको र्‍यालरस पनि सम्हाल्न खोज्दाखोज्दै पोखिन पुग्यो । आफू के गरिरहेको छु भन्नेमा त्यस बेला मात्र होस पाउँदा लाजले पानीपानी भएँ । बरफ खाइरहेका दाइ मेरो अनुहारतिर सहानुभूतिका आँखा फिंजाएर बरफ मुखमा च्याप्दै बाटो लागे । त्यति नै बेला टिनिनिनि घण्टी बज्यो । म कक्षाकोठामा पुगें, मनचाहिँ भर्खरै बरफबाट चुहिएको पानीमा नुहाइरह्यो ।

भोलिपल्ट जसरी पनि बरफ खाने योजना कक्षाकोठामै बनाउन थालें । साँझ घर पुगेदेखिको ध्याउन्न एक रुपैयाँको जोहो कसरी गर्ने भन्ने सोचाइमै केन्द्रित थियो । तर बासँग नजिक पर्नै डर लाग्थ्यो । दाइहरू घरमा थिएनन् । दिदीसँग पैसा हुँदैनथ्यो ।

आमा त्यसबेला बिरामी हुनुहुन्थ्यो । उहाँको राखनधरन गर्ने एउटा पुरानो बाक्सा थियो जसको साँचो उहाँले लुकाएर राख्नुहुन्थ्यो । त्यो बाक्सा खोल्न पाए एकाध रुपैयाँ त कसो फेला नपर्ला र भन्ने सोचें । पैसा चोर्ने मतिले पहिले एक–दुई पटक बाक्साको साँचो खोजेर पनि फेला पार्न सकेको थिइनँ । तर त्यस पटक आमाकै धनबाट बरफ मिसन सफल पार्ने योजना बनाएर नयाँ जुक्ति रचें । साँझ खाना खाएर अरू सबै सुतेपछि सिसाकलम र सादा कापी लिएर टुकीको उज्यालोमा आमाको ओछ्यान नजिकै बसें । कलम टोक्दै ठूलै समस्या परेझैं गरी आमालाई भनें, ‘आमा, भोलि स्कुलमा पैसाको चित्र छापेर लैजानुपर्नेछ । तपाईंसँग ढ्याक पैसा (सिक्का) छ भने दिनुस् न ।’

आमासँग त्यस्तो ट्रिक कहिल्यै गरेको थिइनँ । तैपनि उहाँले पत्याउनुभो र साँचो लुकाएको ठाउँसमेत खोल्दै भन्नुभो, ‘जा बाक्सा खोलेर हेर । त्यसको ढकनीमा खल्तीजस्तै खोपी छ । त्यहींबाट ढ्याक पैसा निकालेर चित्र बना अनि उहीं लागेर राखिदे । अरू चीज केही नखोतल् ।’ आमाले बताएअनुसार घरको बीच तलामा चिन्नका लागि काँटी ठोकेको र धूवाँले कालो भएको एउटा दलिनको चेपबाट साँचो निकालें । बाक्सा खोलें । आमाले भनेअनुसारकै ठेगानामा सिक्काहरू भेटें । तर दुर्भाग्य, त्यहाँ त तामाका पुराना सिक्का मात्र थिए जसले बरफ आउँदैनथ्यो । आमाले चल्तीको पैसा राख्ने गरेको सुर्केथैली खोज्न छामछुम गरें । तर फेला परेन । मलाई आमाको अगाडि इमान पनि गुमाउनु थिएन । तामाको एउटा सिक्का निकालेर आमा नजिक गएँ ।

कापीको एउटा पानामा एक थोप्पा मट्टीतेल चुहाएर तलको सिक्का माथिबाट देखिने गरी पारदर्शी बनाएँ । मुनितिर सिक्का राखेर माथिबाट सिसाकलमले कोरेपछि जस्ताको तस्तै छापियो । सिक्काको दुवै पाटो छापेर आमालाई देखाई विश्वास दिलाएँ । त्यसपछि त्यो सिक्का राख्न गएँ । मलाई भोलि जसरी पनि बरफ खानका लागि आज जोखिम मोलेर त्यही बाक्साबाट एक रुपैयाँको सिक्का निकाल्नु नै थियो । त्यसका लागि आमाको थैली नखोजी हुँदैनथ्यो । बदमासी गर्न लागेकाले होला त्यतिबेला मेरो मुटुको धड्कन बेस्मारी बढ्यो । हातहरू लुगलुग काम्न थाले । खुट्टा पनि कमजोर भएर लुलोझैं लाग्यो । तर बरफ सम्झेर आत्मबल फर्काएँ ।

हतारहतार बाक्साको चारै कुनामा छाम्दा एकातर्फ आमाको थैली भेटियो । खोलेर हेरेको, सिक्का होइन, दुई/दुई रुपैयाँका नौवटा नोट रहेछन् । सुरुमा निकाल्न डराएँ । किनभने मलाई चाहिएको भन्दा दोब्बर रुपैयाँ चोर्नुपर्ने भयो । तर हिम्मत गरेरै एउटा नोट निकाली बाँकी नोट थैलीमा जस्ताको तस्तै बनाएर राखिदिएँ । त्यो नोट साँचो सँगैको अर्को दलिनको चेपमा सिउरिएर आमाको अगाडि गएँ । आमाले मेरो त्यत्रो योजनाबद्ध उपद्रोबारे कुनै शंका गर्नुभएन । मलाई मनमनै दोषानुभूति महसुस भयो । तर मेरो बाध्यता त्यस्तै थियो । त्यो रात त्यही रु. २ को नोटले बरफ किनेर खाएको सपना देखें । सपनामा खाएको बरफको स्वाद त्यसअघि कल्पनामा खाएको भन्दा कैयौं गुणा मीठो थियो जसलाई मैले थाहा पाएका कुनै पनि खाद्य परिकारको स्वादसँग तुलना गर्नै मिल्दैनथ्यो । तर सपनामा खाएको बरफले अघाउनुको सट्टा त्यसको प्यास अझ खरो भएर आयो ।

भोलिपल्ट अर्थात् मैले विपनामै बरफ खाने दिन । बिहान सबेरै निद्रा खुल्यो । तर स्कुल जाने बेलासम्म पर्खंदा साविकका दुई बिहान बितेझैं लाग्यो । घरदेखि स्कुलसम्म जाने बाटोमा त्यस दिन कोहीलाई र केहीलाई पनि याद गरिनँ । जति पाइला हिंड्दा पनि मनभरि बरफको प्यास र मुखभरि बरफ सम्झाउने रस मात्र आइरह्यो । म नपुग्दै बरफ खाने सपना स्कुल पुगिसकेको थियो । बरफ खरिदको त्यो सपना साकार हुने मध्यान्तरसम्मको पर्खाइ बेचैनीपूर्वक बित्यो । जब मध्यान्तरको घण्टी बज्यो तब मेरो म्याराथन बारीको पाटामा बाकस लिएर बसेका बरफवाला दाइतिर सोझियो । त्यो म्याराथनमा एक छिनपछि म विश्वकप नै जित्नेवाला थिएँ ।

बरफ र त्यसका वित्रेता हिजोकै ठाउँमा थिए । त्यो टुंगो छुने दौडमा म पहिलो नै भएँ । दौडँदा पाइन्टको दायाँ खल्तीभित्र हात हालेर रु. दुईको नोट समात्न बिर्सेको थिइनँ । परैबाट त्यो नोट निकालेर बरफवाला दाइतिर तेर्स्याउँदै भनें, ‘रातो बरफ दिनुस् न ।’ उनले एक हातले नोट समाते, अर्को हातले बरफ दिए । फिर्ता पैसा रु. १ समात्नुअघि नै मैले बाँसको सिन्कोमा बरफ समात्दा किन हो कुन्नि हात काम्न थाल्यो । मुखमा भरिएको रसले ओठको डिल नाघ्यो ।

त्यसपछि चार वर्ष पुरानो सपनाको युग अन्त्य गर्दै बरफ मुखमा लगें । त्यो बरफको चप्लेटीलाई जन्मनेबित्तिकैको बच्चाले आमाको स्तनपान गरेझैं दुवै ओठले निचोरेर चुस्ने प्रयास के गरेको थिएँ, आगोको अगुल्टो मुखमा कोचेझैं पो भयो ! ओठ र जिब्रोमा एकैसाथ यसरी झड्का महसुस भयो कि त्यो बरफले पनि मलाई चार वर्षदेखि पर्खंदाको बदला लिने गरी डस्दै थियो ।

ओठमा चिऽऽऽसो, तिऽऽऽखो र पिरोपिरो झमझमाइ । पोलेको हो कि टोकेको हो, घोचेको हो कि थिचेको हो जस्तो । खपिनसक्नु भएर बरफ निकालें । आँखा चिम्लिएँ । तिरीमिरी देख्न पुगें । मुखको झमझमाहट फाल्न थुथु गरें । चिसा छिटाहरूसँगै बरफको महान् मीठास माटोमा गएर मिल्यो । बरफको स्वादले मलाई तर्साउनुसम्म तर्सायो । बरफ चिसो हुन्छ भन्ने थाहा थियो तर त्यति साह्रै चिसो होला भन्ने सपनामा पनि सोचेको थिइनँ ।आफ्नै हंस सरेको र पैसा परेको भएर त्यत्तिकै फाल्नचाहिं सकिनँ । डराईडराई बिस्तारै बरफ चुस्न थालें । हरेक पटक मुखमा लाँदा आगोको कोइला चाट्दै छु कि जस्तो भान हुन्थ्यो ।

तर्सिएर झसंग झसंग हुँदै ओठको स्पर्शबाट जोगाईजोगाई त्यसलाई तुरें । समय लगाएर सक्नुपर्दा मैले खाएभन्दा बढी बरफको रस चुहिएर खेर गयो । त्यो रातो बरफ न मैले सोचे जति गुलियो थियो, न त खान सजिलो नै भयो । नखाँदै मीठो बरफलाई मैले खाएर नमीठो बनाएँ । आफैंले स्वाद मेटेपछि सम्झीसम्झी पछुताएँ । त्यसपछिका दिनमा पनि बरफ त खाएँ तर नखाँदैको बरफमा जति मीठास खाएकोमा कहिल्यै पाइनँ । जतिजति बरफको स्वादलाई दोहोर्‍याएँ त्यतित्यति लाग्यो— मैले बरफ नखाएको भए हुन्थ्यो । स्पर्शबिहीन बरफको अलौकिक स्वादलाई चाखेर समाप्त पारेपछिको मेरो निष्कर्ष— कल्पनाको उत्कर्ष जति स्वादिलो हुँदैन स्पर्श । किनभने स्पर्श गर्नु स्वाद बिगार्नु हो।

प्रकाशित : भाद्र २१, २०७६ १०:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT