कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सर र याद

जाडो बढिसकेको थियो । एक दिन एलबी सरले बिहानै अँगालो मारेर धारा लग्नुभयो र च्यातिएको खाकीको हापेन्ट र कात्ती परेको हरियो सर्टमाथिबाट नै अचानक पानी खन्याइदिनुभयो ।
मनोज बोगटी

'बी' नपढी 'वान'म दलगाउँ प्राथमिक पाठशाला पढ्थें  । भुइँक्लासदेखि एक खुड्किलोमाथिको श्रेणी ‘बी’ मा  ।

सर र याद

ट्युसन पढ्थें, गैरीबास ४६ धुरा प्राथमिक पाठशालाका हेडमास्टर एलबी सरकोमा । हप्ता दिन भइसकेको थियो, बिहान मकै बोक्न नाम्लो अड्याएको टाउको मुसार्दै आइतबार बेलुकी सरले भन्नुभो, ‘भोलिदेखि तँ मसित स्कुल हिन् ।’
सोमबार बिहान म दलगाउँ प्राथमिक पाठशालाको ड्रेस लगाएर सरको पछिपछि गैरीबास ४६ धुरा प्राथमिक पाठशाला पुगें ।


दलगाउँको विद्यार्थी ४६ धुरामा ?
ड्रेस नमिलेर स्कुलका विद्यार्थीहरू छक्क परे । म आफैं पनि छक्क परें । तर एलबी सर छक्क पर्नुभएन । ‘आजदेखि तेरो स्कुल यै हो,’ भन्नुभो र खाताकिताब सर आफैंले दिनुभो । म ‘बी’ पूरा नपढी ‘वान’ मा उक्लिएँ ।


मकै बोक्ने ट्युसन
एलबी सरकोमा फ्रीमा ट्युसन पढ्थें । फ्रीमा किनभने आमाले ट्युसन फी दिन सक्थिनन् । फी दिन नसक्ने आमाहरूबाट पैसा पनि थाप्थेनन् एलबी सर । दिलीप, धनबहादुर, काबेरी, आशिषहरू पनि पढ्थे । सबै साथीहरू पनि मलाईजस्तै एलबी सरले अर्को स्कुलबाटै तानेका । ट्युसन आएन भने घरैमा लिन आउनुहुन्थ्यो सर । डिबगोली खेलिरहेको ठाउँमा च्याप्प समात्नुहुन्थ्यो । कानमा समातेर बिरालोलाई जस्तै उचाल्नुहुन्थ्यो । आँखामा पिरो पस्थ्यो । पिल्पिलाउँथ्यो । तरक्क आँसु चुहुन्थ्यो । बाख्रालाई डोरीले तानेर मैदानमा खुट्टी गाडेर बान्थ्यौं हामी । एलबी सरचाहिँ कानैमा तानेर हामीलाई ट्युसन पुर्‍याउनुहुन्थ्यो ।


ट्युसन जानु पनि साह्रो नजानु पनि साह्रो । होमवर्क दिनुहुन्थ्यो । याद गरेर सुनाउनुपर्ने । खातामा पनि लेख्नुपर्ने । त्यतिबेला मकै पाकेको थियो । सरको घरमुन्तिर सातवटा गह्रा थियो । बारीमा पाकेको मकै । कोकोले र भ्याकुराले घोंगा ठुङेर भुर्कुट पारिसकेको थियो । बिहानै ट्युसन पुग्दा आँगनमा पाँचवटा डोको थियो । साथीहरू पनि जम्मा भए । सिकुवामा खाताकिताब फिंजाउन पनि पाएनौं, सरले भन्नुभो, ‘आजु बारीमा पढ्नुपर्छ है केट्केटी हो ।’सर डोको बोकेर बारीतिर निस्किनुभो । ‘एक–एकवटा डोको बोकेर हिँड मेरो पछिपछि,’ सरले भन्नुभो । हामीले चाल पाइहाल्यौं । आज पढ्नु पर्दैन । ताकिताब सिकुवामै फ्याँकेर डोको टिप्न झुत्तियौं । पढ्न नपर्दाको हर्ष डोको बोकाइमा थियो । त्यसैले डोको टिप्न सबै झम्टियौं ।अघिल्लो दिन हिसाब सिकाउनुभएको थियो । १० सम्मको गुणा याद गर्नु, जोड्नु, घटाउनु, भाग गर्नु, गुणा गर्नु । मलाई १० सम्मकै गुणा थाहा थियो, यसकारण मलाई समस्या थिएन । तर साथीहरू ७ को गुणासम्म पनि पुग्न सकेका थिएनन्, साह्रो उनीहरूलाई थियो ।


तर के र, आज ट्युसन पढ्नै नपर्ने भो । मकै बोक्ने ट्युसन जो थियो ।
सरको पछिपछि हल्ला गर्दै लाग्यौँ । सरले पुछार बारीमा पुर्‍याउनुभो । लाइनै राख्नुभो । एक जनाले मकै भाँचेर डोकोमा हाल्नै लागेको थियो, सरले सिर्कुना हान्नुभो । त्यसको छेपारीमा सुम्लै उठ्यो । सरले डोकोमा सिर्कुना बोक्नुभएको रहेछ । त्यो देखेर हामी डरले डोको बोकेर सावधानमा उभ्भिएका थियौं । डोको, कसैको ठूलो थियो, कसैको सानो । सबैभन्दा ठूलो डोको मेरै थियो । साथीहरूले हतारहतार सानो छानेर बोकेपछि छोडिएको जो डोको थियो त्यो ।
सबैभन्दा सानो डोको त्यसकै थियो । धेरै चतुर थियो त्यो । नजानिँदो बदमास पनि । काम देखाउन रिफ्फु । नराम्रो बनाउन रिफ्फु । कुटाइ खुवाउन रिफ्फु ।
‘मैले मकै भाँच भने तँलाई ?’ सरले त्यसलाई सोध्नुभो । प्रश्न मात्र होइन सरले सिर्कुना पनि उठाउनुभएको थियो । बाँसको हाँगाको खिरिलो सिर्कुना । सुकेको । त्यसले पुठ्ठा र पासुँला, छेपारीमा भेट्दा जे देख्थ्यौं त्यो पृथ्वीलोक हुन्थेन नै । त्यसले अहिले त्यस्तै लोक देखिरहेको थियो । झिलिमिली तारा । तिरिमिरी तारा ।


त्यसले आँसु पुछ्दै ‘होइन’ मा टाउको हल्लायो । फेरि सिर्कुना हान्नुभो । ‘अन्त किन बाठो भइस् ?’ सरको आँखामा रिस त उस्तो देखिन्थेन तर यस्तो गर्नुहुन्थ्यो कि लाग्थ्यो, संसारको सबैभन्दा पिटुवा सर एलबी सर नै हुन् । त्यसैकारण सर खोक्दा पनि पिसाब निस्केलाजस्तो हुन्थ्यो ।फेरि सरले सिर्कुना उठाउनुभो । त्यसको होस गायब होलाजस्तो भइसकेकै थियो । एक हातले थाप्लोको नाम्लो थामेर अर्को हात सिर्कुना रोक्न उठाउन थालिसकेको थियो । त्यो हात सिर्कुना जताजता जान्थ्यो उताउतै नाच्थ्यो ।‘६ को गुणा भन्,’ सरले फ्याट्ट त्यसैलाई सोध्नुभो ।यतिखेर त्यो कालो–नीलो भइसकेको थियो । कालो–नीलो मात्रै किन र हरियो–नीलै पनि भइसकेको थियो । त्यसको एउटै कारण थियो— ६ को गुणा । जो त्यसलाई कण्ठस्थ छैन । त्यो भन्दै जान्थ्यो, छछ छत्तीस... पछि अड्किन्थ्यो । पहिलोपल्ट अड्किँदा सरले भन्नुभो, ‘मनोज मकै भाँच, यो जतिपल्ट अड्किन्छ, त्यतिवटै यसको डोकोमा हाल्नू ।’


मैले मकै भाँचेर त्यसको डोकोमा हालिदिएँ । त्यो छछ छत्तीसबाट अघि बढेन । त्यसको डोको भरियो । डोको भरिएपछि सरले एक सिर्कुना फेरि हान्नुभयो । त्यो भारी बोकेर थरर काम्यो । न भारी झार्न सक्थ्यो न सिर्कुना बज्रेको ठाउँमा छाम्न नै सक्थ्यो त्यो । बस्, थररर काम्थ्यो ।‘जा सिकुवामा खनाएर आइज,’ सरले भन्नुभो । त्यो थिरिरि हुँदै गयो । त्यसपछि अर्कोको पालो आयो ।सबैको डोको त्यसरी नै भरियो । मेरो पनि पालो आयो । सवाल–जवाफ भो । सकेर सरले खिस्स हाँसेर सोध्नुभो, ‘के गर्छस् ?’


मैले भने, ‘हाल्दिनुस् सर ।’ सरले मेरो टाउको मुसार्नुभो र तीनवटा मकै भाँचेर हाल्दिनुभो । म बोकेर फिलिलि कुदें । मैले सबै प्रश्नको जवाफ दिएको थिएँ । त्यसै कारण ‘के गर्छस् ?’ भनेर सोध्नुभएको थियो । सिकुवामा पुग्दा मकै डंगुर थुप्रिएको थियो । साथीहरू पाँसुलाको सुम्लामा फुफु गरेर फुकिरहेका थिए ।
यसरी पढाउनुहुन्थ्यो एलबी सरले ।हो, त्यसैको भोलिपल्ट त हो, सरले दलगाउँको प्राथमिक पाठशाला जाँदै गरेको मलाई ४६ प्राथमिक पाठशाला सार्नुभएको ।


जमिनहीनको बिरुवा
एलबी सरले हामीलाई रूखलाई माया गर्न सिकाउनुभयो । जहाँजहाँ पैह्रो जान्थ्यो, ट्युसन पढ्ने हाम्रो ग्रुपलाई बिरुवा बोकाएर काँटा काँधमा हालेर निस्कन्थे सर । स्कुल छुट्टी भएर घर फर्किंदा मेरो मुठीमा बिरुवा हुन्थ्यो । सडक किनारकिनार उम्रिएका लिची, अम्बक र रूख कटहरको बिरुवा पुरुक्क उखेलेर बोक्थेँ । हाम्रो बारी त थिएन । भएको दुई फोक्टा बारीमा रूख रोप्न मनाही थियो । साग रोप्ने बारीमा रूख रोप्नु अपराध नै थियो । पश्चिम बंगाल सरकारको कुलैन बगानमा घरका कोही कर्मचारी थिएनन् । बेरोजगार थियौं । अहिले पनि छैन । तर जन्में त्यहीँ । हुर्किएँ त्यहीँ । त्यहीँ बिहें गरें । अहिले पनि म सरकारको जमिनमा बस्छु, जुन जमिन मेरो नाममा छैन । भारतवर्षमा जमिन नै नभएको लेखक हुँ म । सायद मजस्ता धेरै होलान् नै । तर हामीलाई बारी कमाउनैपर्थ्यो । सायद तारा थापा दाजुहरूको बारी हुनुपर्छ । घरदेखि केही पर थियो । स्कुल छुट्टीपछि आमासित म त्यहीँ हुन्थेँ बाँझो खन्न । कमाउँदैथ्यौं हामी त्यो बारी ।


म बिरुवाहरू उखेल्दै ल्याउँथेँ र बारीको डिलडिल रोप्थेँ । आमाले फलको रूख रोप्, अरू नरोप् भन्नुहुन्थ्यो । रोपेको बिरुवामा बिहानै मगमा पानी बोकेर हाल्न जान्थेँ । स्कुलबाट फर्किंदा एक दिन मैले रोपेका अम्बकका बिरुवाहरू कुनै पनि थिएनन् । बारीको डिलमा बसेर बेलुकीसम्म म रोइरहेँ । सुत्दाखेरी मलाई याद आयो, हिजो मैले रोपेका बिरुवा दिलीप र धनबहादुरलाई देखाएको थिएँ । दिलीप राई र धनबहादुर सुब्बा मेरो क्लासमेट । एउटै गाउँको । पक्कै पनि उनीहरूले नै उखेलेर लगे । मैले हार खाइनँ । फेरि रोपेँ । अघिल्लो वर्ष धनबहादुर साथी मेरोमा पहुना आए । धेरै वर्षपछि भेटेका हामीले सँगै ब्रान्डी पियौं । अलिअलि मात चढेको धनले भन्यो, ‘ओउ बोगटी, त्यो अम्बकको रूखले साह्रै मीठो फल्छ यार । तिमीलाई थाहा छ ? तिमीले रोपेको अम्बकको बिरुवा मैले चोरेको थिएँ । कुनै दिन आएको बेला टिपेर खानू है अम्बक ।’


कति मज्जा आएको थियो यो सुन्दा मलाई । साँच्चि नै त्यो अम्बकको बोट हराएको छोराजस्तो लाग्यो । एक दिन गाउँ गएको बेला म त्यो अम्बकको रूखमा चढ्छु र धेरैबेर बस्नेछु र त्यहीँबाट हेर्नेछु पुरिसकेका सानाका दिनहरूलाई पनि । एलबी सरले रूख रोप्न नसिकाएको भए कसरी टिपेर खानु र अम्बकको रूखमा फलेको याद ?


थोपा, गरिबी र लुगा
नाकबाट सिंगानको पाप्रा यस्तो बस्थ्यो मानौं चित्रकार अमीर सुन्दासले हुरीले ठेलिरहेको सिक्रा मात्र भएको रूखको चित्र बनाएको हो । खोपिल्टा बस्थ्यो नाकको दुई प्वालबीच । त्यहीँ चलिबस्थ्यो ज्वारभाटा । जाडो बढिसकेको थियो । एक दिन एलबी सरले बिहानै अँगालो मारेर धारा लग्नुभयो र च्यातिएको खाकीको हापेन्ट र कात्ती परेको हरियो सर्टमाथिबाट नै अचानक पानी खन्याइदिनुभयो । जाडोमा चिसो पानी । त्यसपछि मरीमरी हाँसेर भन्नुभयो, ‘बजिया गन्धे । गनाउँदै हिँड्छस् ? ईः, यसरी नुहाउनुपर्छ ।’


हाफपेन्ट र सर्ट खोल्न लगाउनुभयो । मैले लुगा खोलेर ढुंगामाथि राखेँ । सरले साबुन दलेको जालोले बेस्मरी घोटिदिनुभयो । आँखामा धर्धरी आँसु त थियो, हिक्का त थियो तर आवाज थिएन । म थररर काँपिरहेको थिएँ । अहिले सिंगानको पाप्रा थिएन गालामा । नुहाइसकेपछि सरले मलाई नरम तौलियाले बेर्नुभो । ढुंगामाथि राखेको मेरो लुगा एउटा भाटाले उचाल्नुभो र घुरेनमा मिल्काउनुभो । एक छिनपछि म घरमाथिको डाँडाबाट आमालाई कराइरहेको थिएँ, ‘आमा ईः मेरो नयाँ लुगा, सरले ल्याइदेको ।’


त्यो बेला मेरा आँखामा थोपाहरू अल्झिए थिए । जसरी अल्झिन्छन् माकुराका जालोमा पानीका थोपाहरू । ती थोपाहरू झर्नझर्न लागेका थिए तर आमाले देख्नुभएन । एलबी सरले पनि देख्नुभएन ।


सर
अघिल्लो महिना म झोलुङ बुधबारे बजार छिर्न लागेको थिएँ, कसैको आवाज आयो । मैले हेरें, दीपक थियो । ‘नमस्ते सर,’ त्यसले भन्यो । ‘दीपके, तैंले मलाई बिर्सेको छैनस् ?’ त्यो मेरो छेउ आइपुगेको थियो । ‘कसरी बिर्सन सक्छु र सर ! तपाईंले मेरो छेपारीमा यस्तो सिर्कुना हान्नुभएको छ, त्यतिको सिर्कुना अरू कसैले हानेनन् । त्यही याद बनेर बस्यो,’ त्यसले भन्यो । त्यसको ओठमा मुस्कान थियो । तर मेरो ओठको मुस्कान हराएको थियो । ‘सरी दीपक, त्यसबेला त्यस्तै भयो’, भनेर म बजारभित्र पसें । मैले त्यसको जवाफ पर्खिनँ । यो संस्मरण लेख्दा सम्झिरहेको छु, सुरुको त्यो भत्किन लागेको स्कुलमा कुनै बेला म पनि छुच्चो सर थिएँ । हो, सर थिएँ । म मनोज सर थिएँ तर एलबी सर थिइनँ । मैले सिकाउन नसकेको र दीपकले सिक्न नसकेको झोंकमा बजेको त्यो सिर्कुनाको याद दीपकलाई छ । साह्रै नराम्रो लागिरहेको छ, म दीपकहरूका लागि एलबी सरको याद बन्न सकिनँ ।

प्रकाशित : भाद्र २१, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?