‘सिम्बा’ हरूको कथा

फिल्मी बाबुहरूले सानैदेखि जीवनको संघर्ष र स्वरूपसँग परिचय गराए । आफ्नो जीवनमा देख्न भोग्न नपाएका बाबुका आयामहरू सिनेमाले सिकाए । चाहे त्यो एनिमेसन ‘दि लायन किङ’ होस् वा ७० वर्षअघि इटलीमा बनेको ‘बाइसाइकल थिफ्स’ ।
यज्ञश

चार्ली च्याप्लिन भन्छन्, ‘मलाई झरीमा रुझ्दै हिँड्न मन पर्छ, किनभने त्यतिखेर कसैले मेरो आँसु देख्दैन  । ’ मलाई फिल्म हल पनि त्यस्तै लाग्छ  ।

अँध्यारो हलमा मानिस बेस्कन हाँसेको त सुनिन्छ तर सुस्तरी रोएको देखिँदैन । रारा र फेवाजस्ता टिलपिल आँखा कसैले देख्दैन । मनका खाली कोठाहरूलाई फिल्मका पात्र र तिनका संवेदनाले सुटुक्क भरिदिएको कसैले देख्दै देख्दैन ।
...
‘मलाई यसरी थुनेर राखेको छस्...’ सासले बोले पनि हजुरबाको आवाज कडा थियो, ‘मलाई निस्किन त दे, सीडीओलाई नभनी कहाँ छोड्छु तँलाई !’

हजुरबाको स्वास्थ्यस्थिति बिग्रिइरहेको थियो। घाँटीको क्यान्सरको अपरेसनका लागि घाँटीमा पारिएको प्वालबाट हावा निस्किन्थ्यो । त्यसैले आवाज रालोबिनाको घन्टी बजेजस्तो हुन्थ्यो । नजिकै बस्नेले त सासैले बोलेको पनि सुन्ने, अरूले भेउ–पत्तो नपाउने ।

हजुरबाको शरीरमा बल कम हुँदै गइरहेको थियो । औषधि र रोगले दुवैतिरबाट च्याप्दै गएपछि उहाँ निरीह हुनुभएको थियो । दिउसोको एउटा समय भने त्यो बूढो शरीरमा अचम्मसँग बल आउँथ्यो । अनि, सम्हाल्न हुन्थ्यो गाह्रो । खासमा हजुरबालाई दमौली बजार मन परेको थिएन । कतिखेर साँगेको घर जाऊँ भन्ने हुटहुटी थियो । १५–२० मिनेटजति मलाई गाली गरेपछि त्यो हुटहुटी त्यस दिनका लागि सेलाउँथ्यो । अनि सबै सामान्य ।

हजुरबालाई क्यान्सर हुनुअघि बुवाको मिर्गौलामा समस्या आएको थियो । त्यसपछि दमौलीको बोर्डिङ स्कुलको पढाइ ‘हल्ट’ मा परेको थियो । हामी दमौलीबाट गाउँ फर्किएका थियौं । कहिले नारायणगढको जागिर, कहिले काठमाडौंमा उपचार भन्दाभन्दै बुवाका दिन छोटिँदै गएका थिए । समय घर्किएर घाम डाँडाको टुप्पैमा पुगिसकेपछि मात्रै हामीले थाहा पाएका थियौं । आखिर ३० वर्षको उमेरमा बुवाको घाम डुब्यो, मिर्गौलाले काम नगरेर । २०४६ सालको आन्दोलन उत्कर्षमा थियो ।

देशमा प्रजातन्त्रको दियो बल्यो, वीर अस्पतालमा हाम्रो घरको चाहिँ निभ्यो । ‘छापाजस्ता अक्षर’ ले भरिएको बुवाको डायरी भने कसो बाँकी छ— घरको वार्षिक बजेट लेखिएको । त्यसमा चामल तरकारीको भाउदेखि ‘छोरालाई लुगा’ शीर्षकमा पनि बजेट छुट्याइएको छ ।

त्यसको झन्डै १६ वर्षपछि हजुरबाले मलाई सीडीओलाई बुझाउने भनेर तर्साउनुभएको थियो । करिब एक महिना यो क्रम चलेपछि बाको जीउबाट बल निस्केर कतै हिँड्यो । जवान छोराको वियोगको पहाड अन्ततः छातीबाट हट्यो । र, हजुरबा हलुंगो भएर माथिमाथि उड्दै जानुभयो ।

हजुरबासँगै गयो डोको, नाम्लो, डालो बुन्ने सीप । खेतको आली लगाउने सीप । खुदोलाई पकाएर सक्खर बनाउने सीप !
...
भीरबाट खसेर अचेत भएको मुफासालाई उसको सानो छोरो सिम्बा उठाउने प्रयास गर्छ । जंगलको राजा सिंह र उसको उत्तराधिकारी अबोध सिम्बा । ऊ आफूलाई बाबुले उठाएजसरी नै मृत बाबुलाई उठाउने चेष्टा गर्छ । ऊ सहयोगका लागि गुहार पनि माग्छ । कसैबाट मद्दत नपाएपछि निरीह भएर आफ्नो बाबुको अगाडि आएर रोइरहेको सानो सिंहको बच्चोलाई हेर्दा आँखामा आँसु आउँछ । यो एनिमेसन फिल्म हो । यी पात्र मानिस पनि होइनन् । तैपनि लाग्छ— यो कुनै सिंह होइन । यो फुच्चै मै हुँ र अगाडि लडिरहेको मेरै बुवा !

सिनेमाको शक्ति त्यहीं छ, जब दर्शकले आफैंलाई पात्रका रूपमा देख्छ । पात्रका विचार भावना र यात्रासँग आफैं हिँड्छ । पात्रको यात्रा देखेर दर्शकलाई थकाइ लाग्छ । पात्रका दुःख देखेर दर्शक हतास हुन्छन् । र, उसको खुसीमा पुलकित हुन्छन् ।

जीवनमा आफूले देख्न नपाएका कुरा, भोग्न नपाएको सुख र महसुस गर्न नपाएको आनन्द यदि तपाईंलाई कुनै सिनेमाले दिलाउँछ भने, त्यही हो राम्रो सिनेमा । यसैले फिल्म यस्तो माध्यम हो, जहाँ तपाईं अर्को जीवन बाँच्न सक्नुहुन्छ, त्यसलाई महसुस गर्न पाउनुहुन्छ ।
मेरा लागि फिल्म सम्बन्धको गहिराइ महसुस गराउने माध्यम हो ।

रेलमा दाजुसँग छुट्टिएर कहाँ कहाँ पुगेको ‘लायन’ को फुच्चे शनि होस् वा आफ्नो बाबुसँग छुट्टिएर सागरमा बेपत्ता भएको ‘फाइन्डिङ निमो’ को निमो, सिनेमाले बाबुआमा र परिवारसँग छुट्टिएर बेपत्ता भएकाहरूको जीवन कति अत्यासलाग्दो हुन्छ भन्ने राम्रैसँग बुझायो । संसारका धेरै छेउकुनाका फिल्म हेरिसकेपछि लागेको कुराचाहिँ चाहे जुनसुकै भूगोल र संस्कृतिका हुन्— बाबुआमा र छोराछोरीको सम्बन्ध उस्तै हुँदो रैछ ।

कहिलेकाहीं एनिमल प्लानेट र नेसनल जियोग्राफीले अफ्रिकाका जंगल र घाँसे मैदानतिर पुर्‍याउँछन् । बीबीसी र नेटफिक्सका पृथ्वीमाथि बनेका डकुमेन्ट्रीहरूले पनि धर्तीमा मानिसबाहेक अरूका पनि कथा छन्, भावना छन् भन्ने दर्साइदिन्छन् । सरेङ्गेटी र मसाइमाराका खुला मैदानमा विचरण गर्ने बाघ, सिंह, हात्ती, हाइना, जिब्रा, वाइल्डविस्ट र मृगका बथानहरू टेलिभिजनको पर्दामा देखिन्छन् । यी सबै जनावरमा प्रायः दुइटा कुरा उस्तै देखिन्छ । एक– यी जति बेला पनि खान्कीको खोजीमा हुन्छन् । दुई– बालबच्चा आमासँग मात्रै बस्छन् ।

बाघ र सिंहजस्ता हिंस्रक जनावरका त बाबुले बच्चा भेटे खाइदिन्छन् । त्यसैले आमाको काम बच्चालाई खुवाउनु, परचक्रीबाट तिनको रक्षा गर्नु र तिनकै बाबुबाट पनि जोगाउनुहुन्छ ।

धन्न मानिस जनावरबाट थोरै उँभो लाग्यो र बाबुहरूबाट बच्चालाई बचाउनुपरेन । बेलाबेला समाचार पढ्दा लाग्छ— यो विकासक्रममा केही भने छुटेछन् ! त्यसैले त समाचारमा आफ्नै बाबुले छोरीको बलत्कार गरेको, हत्या गरेको आइरहन्छ । आफ्नै बाबुबाट बलात्कृत भएका छोरीहरूका लागि यी बाबु के होलान् ? प्राणीशास्त्रीहरू भन्छन्— जनावरले बलात्कार गर्दैनन् ।
....
बाबुको इच्छा छ, बनारस जाने । घुम्न होइन, मृत्युको तयारी गर्न । जागिरे छोरो र बिहे गर्ने उमेरकी नातिनीलाई यो संसार जिम्मा लगाएर भजन गाउँदै मृत्युको प्रतीक्षा गर्ने इच्छा छ । आखिर मृत्यु आउँछ कसरी ? गंगाको छालसँगै तैरिएर ? डुंगाको बहनासँग खिइिँदै ? ‘मुक्ति भवन’का यी बाबुछोराको सम्बन्ध देख्दा बूढा बा र व्यस्त छोराको अहिलेको सहरी–सम्बन्ध छर्लंगै भयो ।

सबै बाबु यस्तै छैनन् । कोही त पेरिसमा किडन्याप भएकी आफ्नी छोरी खोज्न अमेरिकादेखि पुग्छन् । ठूलो माफियाको जञ्जालसँग एक्लै भिड्छन् । ‘टेकन’ को लियाम नेसन वास्तवमै उम्दा बाबु थिए ।

जातिकै समूल नष्ट भएर दुई छोरा र बाबु मात्रै बाँकी रहेका ‘लास्ट अफ दिन मोहिकन्स’ हुन् वा स्वतन्त्रताको खोजी गर्दा अनाहक थुनिएका आइरिसको ‘इन द नेम अफ माइ फादर’ होस्, बाबुहरूको उदात्त सोचले सिनेमालाई सधैं रोचक बनाइरहेका छन् । प्रेमीप्रेमिकापछि सबभन्दा धेरै फिल्म सायद बाबु र सन्तानकै सम्बन्धमै बनेका होलान् ! केही फिल्म दुःखी बाबुहरूका छन् । बच्चाका विषयमा फिल्म बनाउन उस्ताद इरानी माजिद माजिदीको ‘सङ अफ द स्प्यारो’ को दुःखी बाबु सम्झिनुहुन्छ ?

आफ्नो परिवारको पेट पाल्नका लागि उसले अस्ट्रिच फर्ममा काम गरिरहेको बाबु छ । पुराना झ्यालाका खापादेखि ढोकासम्म बाटोमा भेटेजति निःशुल्क सामान ऊ उठाएरै घरमा ल्याउँछ । के थाहा, कतिखेर कुन सामान चाहिने हो ? उसको फर्मबाट एक दिन एउटा उग्र अस्ट्रिच निस्किन्छ र हराउँछ । यसको खोजीमा अस्ट्रिचको खोल लगाएर चराजसरी नै यत्रतत्र दौडिइरहेको बाबु !

इटलीमा ५० को दशकमा थियो एउटा निरीह बाबु– ‘बाइसाइकल थिफ’ । रोजगारीका लागि अति आवश्यक मानेर ऋणमा किनेको साइकल हराएपछिको विवश बाबु । रोमका सडकमा साइकल खोज्न सानो छोरो लिएर लुखुरलुखुर हिँडिरहेको निरीह बाबु । आफूलाई हिउँमा पुरेर हिँडेको छोराको हत्यारासँग बदला लिन उठेर आउने ‘द रेभेनान्ट’ को बाबु । र, सानो छोरा लिएर खुसीको खोजीमा हिँडेको ‘द परस्युट अफ ह्याप्पिनेस’ को बाबु । यो फिल्म हेर्नेले सायदै सार्वजनिक शौचालयवाला दृश्य बिर्सिन्छ होला । विल स्मिथका बाबुछोराको यो फिल्म तपाईंले हेर्नुभएको छैन भने हेरिहाल्नुस् ।

फिल्मी बाबुहरूले मलाई सानैदेखि यिनको संघर्ष र स्वरूपसँग परिचय गराए । आफ्नो जीवनमा देख्न भोग्न नपाएका बाबुका आयामहरू सिनेमाले सिकाए । यस्तै भयो गौतम घोषको फिल्म ‘पार’ हेर्दा । घर फर्किनका लागि भाडा चाहिएको छ । कामको अफर आउँछ— पौडिएर सुँगुरको बथानलाई गंगा तार्ने । एउटा सुँगुरको १२ आना, कमिसन घटाएर ३६ वटाको २० रुपैयाँ ! मुसहर दम्पती उत्रिन्छ पानीमा । बडो संघर्षले सुँगुर तारेपछि त्यसरात उनीहरूले धेरै दिनपछि पेटभरिखाना खान्छन् । त्यतिबेला आमाले भन्छिन्— मेरो पेटमा बच्चा चलिरहेको छैन !

यस्तो लाग्छ, पूरै नदीको चिसो उनको पेटभित्र पस्यो । फिल्म हेर्दा मनै चिसो हुने केही दृश्यमा यी हुनेवाला बाबुआमाको दृश्य पनि एक हो ।

यस वर्षको क्यान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको कोरियन फिल्म ‘प्यारासाइट’ भर्खरै हेरियो । दुई परिवार, दुई आर्थिक हैसियत, दुई सामाजिक प्रतिष्ठा । दुवै परिवारमा बाबुआमा छोराछोरी । समस्या भने फरक । बेसमेन्टमा बस्ने एउटा परिवारलाई चाहिएको छ काम । मेनसनमा बस्ने धनाढ्यलाई चाहिएको छ, कामदार । तर, आफ्नै घरको बेसमेन्ट रहस्यसँग यो परिवार छ पूरै अनविज्ञ । दुवै बाबुहरू आफ्ना सन्तानका लागि ज्यान दिन तयार छन् । एउटाचाहिँ लिन पनि तयार छ । गरिबीको ‘गन्ध’ माथि बनेको यो फिल्मले संसारको एउटा अर्को संस्कृतिको बाबुबारे बुझाइदियो ।

‘गडफादर’, ‘साइनिङ’, ‘देअर विल बी ब्लड’, ‘पिता’, ‘मदारी’, ‘तथास्तु’, ‘हिन्दी मिडियम’... यो लिस्ट जति पनि लामो हुन सक्छ । बलिउडमा पछिल्लो समय हेरेकोमा भने ‘दृश्यम’ को पिता स्मृतिमा बसिरहेको छ । आफ्नी छोरीलाई बचाउनका लागि यसले गर्ने जद्दोजेहद साँच्चिकै प्रेरणादायी छ । अर्कातिर ‘दिलवाले दुल्हानिया ले जाएङ्गे’ जस्ता फिल्म पनि छन् । जहाँ एकातिर छोराको हरेक इच्छा पूरा गर्न अघि सर्ने अनुपम खेरजस्ता फुर्के बाबु छन् भने अर्कातिर छोरीको एउटा इच्छा पूरा गर्दा आकाशै खस्लाजस्तो गर्ने अमरिश पुरीजस्ता ढिट बाबु छन् ।

प्रेरणा र पीडा एकै ठाउँमा मिसिएको एउटा अद्भुत फिल्म हो– ‘लाइफ इज ब्युटिफुल’ । यस्तो बाबु मैले फिल्ममा देखेको छैन । हिटलरको कन्सन्ट्रेसन क्याम्पमा पुर्‍याइएका यहुदी बाबु र छोरा छन् । फुच्चे छोरालाई बाबु यो भयंकर यथार्थबाट टाढै राख्न चाहन्छ । पूरै क्याम्पमा एउटा संसार चलिरहेको छ, यी बाबु छोराको भने अर्कै खेल चलिरहेको छ । यो खेलमा छोरालाई अल्झाएर संसारको क्रूरताबाट छोरालाई बचाउने यस्तो बाबु । रोर्बेतो बेनिग्नीको यो फिल्मले अर्कै कालखण्डको यस्तो बाबुसँग भेट गराइदियो, जो सायद अब यो धर्तीमा कहिल्यै आउने छैन ।
...
कहिलेकाहीं लाग्छ, जीवन पनि एउटा फिल्म हो । यो कसैले लेखेको स्क्रिप्टअनुसार पो चलिरहेको छ कि ! वा कसैले निर्देशन पो गरिरहेको छ कि ? एउटा राम्रो सस्पेन्स फिल्मको जस्तै यो जीवनको पनि क्लाइमेक्स हामीलाई थाहा छैन ।

वीर अस्पतालको बाटो हिँड्दा भने आज पनि लाग्छ— पुरानो फ्यान घडघड घुमिरहेको हल छ । हलमा लहरै बिरामीका बेड छन् । झ्यालमा हल्लिइरहेको मैलो पर्दानेरको बेडमा बसेर आज पनि कसैका बिरामी बुबा डायरीमा केही लेखिरहेका होलान् । परिवारको खर्च विवरण ! श्रीमती, छोरा–छोरीलाई चिठ्ठी ! र, पछि यही त्यो परिवारको इतिहास हुनेछ ।

अस्पतालको यो बाटोमा हर्न निषेध गरिए पनि धेरैले यसको पालना गर्दैनन् । मलाई भने यी हर्नले लेख्न बसेको मानिसलाई झस्काउला र अक्षर बिग्रेलान् भन्ने कुराले बिथोल्छ। यदि बिग्रिए भने अक्षर, यी अक्षरसँगै कसैको इतिहासै बिग्रिन सक्छ ।

प्रकाशित : भाद्र १४, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

बढ्दो लोकप्रियता

कुशल तिमल्सिना

सात वर्ष अघि स्कुल पढ्दै गरेकी रमिला तण्डुकार स्पोर्टस अवार्डमा लोकप्रिय खेलाडी बनिन्  । उनी स्कुलकै न्यू डायमन्ड एकेडेमीबाट भलिबल खेल्दै थिइन्  ।

राष्ट्रिय टोलीमा पनि छिर्न भ्याएकी थिइनन् । उनले फुटबलको स्थापित नाम स्ट्राइकर भरत खवासलाई पछि पार्दै खेलकुद पत्रकारले प्रदान गर्ने प्रतिष्ठित अवार्डमा लोकप्रिय विधा जित्न सफल भइन् ।

स्पोर्टस अवार्डको इतिहास हेर्ने हो भने भलिबल खेलकै वर्चस्व रहँदै आएको छ । अवार्डको १६ औं संस्करणसम्म आउँदा लोकप्रिय खेलाडीको विधामा अधिकांश भलिबलकै खेलाडीले जित हासिल गरेका छन् । मञ्जु, सिपोरा, रमिला, सरस्वती चौधरी, प्रतिभा मालीदेखि यस संस्करणमा रेश्मा भण्डारी पनि लोकप्रियताकै आधारमा अवार्ड विजेता बनेका छन् । भलिबलको खेलाडी मनोनयनमा परेमा उसले नै यो अवार्ड जित्ने निश्चितजस्तै भएको छ ।

नेपाल भलिबल संघले हालै एसियाली सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना गर्‍यो । यसलाई सफल आयोजनाको रूपमा हेरियो । एसियालीस्तरको प्रतियोगिता नेपालमा आयोजना भएको यो पहिलो पटक थियो । २ वर्षअघि राष्ट्रिय खेलको रूपमा मान्यता पाएको भलिबलले पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउनुमा नेपालमा यसको लोकप्रियताले धेरै हदसम्म भूमिका थियो । नेपाली सेनाको शारीरिक सुगठन तथा तालिम केन्द्रको कभर्डहलमा दर्शकको चाप नेपालको खेल भएको दिन मात्र होइन प्रतियोगिताभर उस्तै रह्यो ।

यसबाट भलिबल संघ के निष्कर्षमा पुगेको छ भने व्यवस्थापनको हिसाबमा एसियाली स्तरको जुनसुकै प्रतियोगिता आयोजना गर्न सक्षम छ । करिब ३ हजार दर्शक क्षमता रहेको आर्मीको कभर्डहलमा नेपालको खेल भएका दिन गेट बाहिरैबाट फर्कनुपरेका समर्थकको संख्या पनि उत्तिकै थियो । उल्लेखनीय के रह्यो भने किर्गिस्तान र उज्वेकिस्तानबीचको फाइनलको दिन पनि कभर्डहलमा बस्ने ठाउँ थिएन। यो माहोल र उत्साहलाई कायम राख्न सकेको खण्डमा नेपालमा फुटबल र क्रिकेटपछि भलिबल नै लोकप्रिय खेलको क्रममा आउनेछ ।

सामान्यतः लोकप्रियताको आधार उसको समर्थकको लगाव नै हो । नेपालका सबै जिल्ला क्षेत्रमा खेलिने भलिबलको लोकप्रियताको आधार पनि यही हो । देशभर महिला र पुरुषको गरी दुई दर्जनजति राष्ट्रियस्तरका प्रतियोगिता हुन्छन्। दसैं, तीज, नयाँ वर्षलगायतका चाडपर्वमा खेलकुद गतिविधिको आयोजना गर्दा भलिबल पहिलो प्राथमिकतामा पर्छ ।

अन्य खेलका धेरै खेलाडी सुगम क्षेत्रका हुन्छन् । भलिबलका खेलाडी ठीक त्यसको उल्टो छ । सबैजसो खेलाडी पहाडी भेगका छन् । गाउँगाउँबाट भलिबल सिकेर करिअर विकास गरेका छन् । अहिले पुरुष राष्ट्रिय टोलीका ओखलढुंगा, दार्चुला, डडेल्धुरा, बझाङ, गोरखा, कास्की, गुल्मी, तनहुँ, खोटाङ र रामेछापका खेलाडी छन् । यसले पनि भलिबलको लोकप्रियतालाई मापन गर्छ । महिला राष्ट्रिय खेलाडीहरू पनि अधिकांश ग्रामीण क्षेत्रका छन् ।

सन् १९७८ को एसियाली खेलकुदमा नेपालको भलिबलले पहिलोपल्ट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो । ४ दशकको इतिहासमा यसले धेरै उतारचढाव बेहोर्‍यो । अन्तर्राष्ट्रियस्तरका ठूला प्रतियोगिताको आयोजना तथा राष्ट्रिय खेलको माहोलसँगै उसले आफ्नो गुमेको विरासत फिर्ता पाउँदै छ ।

सन् १९७८ को एसियाली खेलकुदमा नेपालको भलिबल मार्फत प्रतिनिधित्व गर्नेमध्येका एक हुन् कपिलकिशोर श्रेष्ठ । घरेलु भलिबलका सफल प्रशिक्षकमध्येका एक श्रेष्ठको अनुभवमा पनि नेपालमा भलिबलको लोकप्रियता सुरुदेखि नै उस्तै ग्राफमा देखिन्छ । ‘त्यति बेला पनि भलिबललाई माया गर्नेहरूको कमी थिएन । २०४४ सालमा रुस, चीन, थाइल्यान्डलाई बोलाएर गरिएको प्रतियोगितामा पनि समर्थकको सहभागिता त्यस्तै थियोजस्तो हालै सेन्ट्रल जोनमा थियो,’ उनले थपे, ‘अहिले प्रतियोगिता धेरै भयो । सञ्चारमाध्यमको प्रभावकारिताले पनि मानिसहरूलाई भलिबलको अपडेटका लागि सहज बन्यो ।

सशस्त्र युद्धका क्रममा तत्कालीन माओवादी विद्रोहीहरूले भलिबल प्रतियोगिता आयोजना गर्थे । ‘कतिपय समयमा हाम्रा रेफ्रीहरूलाई अपहरणको शैलीमा लगेर प्रतियोगितापछि ससम्मान बिदाइ गरेको उदाहरण पनि छ,’ श्रेष्ठले भने। सम्भवतः लामो इतिहास बोकेको भलिबल अहिले लोकप्रियताको चरम अवस्थामा छ । पुरुषको तुलनामा महिला भलिबलको माहोल बढेको देखिन्छ । महिलाका दर्जनभन्दा बढी राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुने गरेका छन् ।

नेपालमा भलिबलको लोकप्रियताको आधार अवलोकन गर्नका लागि हरेक वर्ष जाडो मौसममा नयाँ बसपार्क परिसरमा आयोजना हुने ढोरपाटन कप भलिबल प्रतियोगिता हेरे पुग्छ । यसमा महिलाको १४ औं संस्करणसम्म निरन्तरता पाउनु आफैंमा उल्लेख्य उपलब्धि हो । नेपालकै पहिलो र एक मात्र डबल लिग भलिबलको आकर्षण यतिसम्म थियो कि प्रतियोगिताको दौरान उपत्यकाबाहिरबाट समेत समर्थकहरू आउने गरेका थिए । राष्ट्रिय खेलाडीको छनोटको आधार यही प्रतियोगिताबाट पनि हुने गरेको थियो/छ । सिपोरा गुरुङ, मञ्जु गुरुङ, सरस्वती चौधरी, निमा श्रेष्ठको करिअरको गति बढाउन ढोरपाटनको योगदान उल्लेखनीय थियो ।

गृहजिल्ला बाग्लुङको ढोरपाटन क्षेत्रलाई प्रतिनिधित्व गरी क्लब स्थापना गरेका मनवीर छन्त्यालले देशकै भलिबलको व्यावसायिकतामा कोसेढुंगाको योगदान दिएका छन् । आफू राष्ट्रिय टोलीबाट खेल्न नपाए पनि भलिबलप्रतिको समर्पणकै कारण उनले धेरै राष्ट्रिय खेलाडी जन्माएका छन् । क्षमतावान खेलाडीका लागि अवसर दिएका छन् । १५ वर्षसम्म लगातार प्रतियोगिताको सफलता देखेका उनलाई के लागेको छ भने निरन्तरता दिन सकियो भने सफलता र लोकप्रियता आफैं आउने कुरा हुन् । उनले आफ्नोजस्तो प्रतियोगिता हरेक प्रदेशमा, जिल्लामा र स्थानीय तहमा पनि हुनुपर्ने राय प्रस्तुत गरे । उनी भलिबल संघका सचिवसमेत हुन्।
६ वर्षअघिसम्म नेपालमा भलिबल गतिविधि सीमित थियो । दानबहादुर तामाङ नेतृत्वको कार्यसमितिले वार्षिक क्यालेन्डर बनाएर भलिबलको प्रचारमा जोड दियो। वर्तमान कार्यसमितिले त्यसलाई विस्तार मात्र गरेन राष्ट्रिय खेल घोषणा गर्नदेखि एसियालीस्तरको प्रतियोगिता आयोजना गर्नसम्म अहोरात्र खटियो । भलिबलको यो माहोललाई कायम राख्नका लागि संघले गर्नुपर्ने कामहरू धेरै देखिन्छन् । अहिलेसम्म भलिबल संघको संरचना नै प्रभावकारी देखिन्न । वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता र एउटा क्लबस्तरको प्रतियोगितामा सीमित छ । क्षत्रीय र जिल्लास्तरका प्रतियोगिता नै आयोजना हुँदैनन् । खेलाडी उत्पादनमा भलिबल संघले माखो मारेको छैन । स्थानीयस्तरका प्रतिभावान खेलाडी पहिचान गरी आर्मी, पुलिस र एपीएफले नेपालको भलिबल धानेका छन् भन्दा अत्युक्ति हुँदैन ।
महिला र पुरुष भलिबलका लागि व्यावसायिक क्लबहरू अहिलेसम्म देखिएका छैनन् । महिलामा न्यू डायमन्ड एकेडेमीले खेलाडी उत्पादनमा विशेष योगदान गरिरहेको छ । पुरुषतर्फ विभागमै भर पर्नुपरेको छ । क्लबस्तरीय व्यावसायिक
लिग हुन सकेका छैनन् । ७७ जिल्लामै शाखा भएको खेल संघले स्थानीयस्तरमा धेरै खेलिने भलिबललाई व्यवस्थित पार्न सकेको छैन ।
त्योभन्दा महत्त्वपूर्ण पाटो भनेको विद्यालयस्तरमा भलिबलको संरचनाले काम गर्न सकेको छैन । विद्यालय भलिबल कमिसनको स्थापना भएको थियो । एउटा संस्करणको लिग आयोजना गरेपछि त्यो कमिसन पनि निष्क्रियजस्तै बनेको छ ।

प्रकाशित : भाद्र १४, २०७६ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्