२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

एल्कसनको ‘चुछेउ’

विश्वकपका लागि केही दिनमै छनोट सुरु हुनेछ । सेप्टेम्बर १० मा चीनको पहिलो खेल माल्दिभ्सविरुद्ध छ र त्यसैका लागि घोषित टिममा परेका छन्, ब्राजिलमा जन्मेका एल्कसन । चिनियाँ मूलका नभएर पनि चीनको राष्ट्रिय टिममा पर्ने उनी पहिलो खेलाडी हुन् ।
हिमेश

‘चुछेउ’ भनेपछि अधिकांस चिनियाँको कान ठाडो भइहाल्छ  । त्यसो भनेको चिनियाँ भाषामा ‘फुटबल’ हो  ।

एल्कसनको ‘चुछेउ’

‘चुछेउ’ भनेपछि अधिकांस चिनियाँको कान ठाडो भइहाल्छ । त्यसो भनेको चिनियाँ भाषामा ‘फुटबल’ हो । चीनको दक्षिण पश्चिमी प्राप्त सिचुवानमा साता दिन बिताउँदा जति पनि चिनियाँ भेटें, धेरैसँग मौका मिल्यो कि फुटबलबारे कुरा गर्न खोजें । त्यही ‘चुछेउ’ शब्द प्रयोग गरेर कुराकानी अगाडि बढायो भने त्यसप्रति उत्सुकता देखाइहाल्छन् । तर सबैको निचोड भने एउटै छ, ‘चीनमा साँच्चै नै फुटबल लोकप्रिय त छ, तर सफलता पाएको भने केही छैन ।’

हुन पनि चीनमा फुटबल खुबै लोकप्रिय छ, फुटबलका नम्बर १ प्रशंसक अरू कोही होइन, राष्ट्रपति सी जिनपिङ नै हुन् । उनकै सोच हो भनिन्छ, चीनले सबथोकमा विकास गर्छ भने फुटबलमा पनि उत्तिकै प्रगति गर्नुपर्छ । उनी आएयता चिनियाँ फुटबलको क्रान्ति नै आएको छ भन्दा हुन्छ । उनकै निर्देशनमा युरोपेली क्लब फुटबलमा चिनियाँ लगानी पनि बढेको छ । अचेल ठूलाठूला युरोपेली क्लबका मालिक पनि चिनियाँ हुन थालेका छन् ।

यी त भए, सबै पुरानै कुरा, केही समयदेखि सुन्नमा आएका । अब यही चिनियाँ फुटबल क्रान्ति अहिले दोस्रो चरणमा पुगेको छ । छेन्दु र यिपिन बसाइमा जति पनि अंग्रेजी पत्रिका देख्न पाइयो, ती सबैमा फुटबलका बाक्लाबाक्ला चर्चा थिए र यसको सार हामीजस्ता बाहिरका लागि अनौठो नै छ । नभन्दै काठमाडौं फर्केयता अन्तर्राष्ट्रिय मिडियाले एउटा समाचार ‘ब्रेक’ गरेको सुन्न पाइयो, चिनियाँ राष्ट्रिय टिममा ब्राजिली खेलाडी । हो र ?

के यस्तो पनि हुन सक्छ र ? अबको विश्वकपका लागि केही दिनमै छनोट सुरु हुनेछ । सेप्टेम्बर १० मा चीनको पहिलो खेल माल्दिभ्सविरुद्ध छ र त्यसैका लागि घोषित टिममा परेका छन्, ब्राजिलमा जन्मेका एल्कसन । चिनियाँ मूलका नभएर पनि चीनको राष्ट्रिय टिममा पर्ने उनी पहिलो खेलाडी हुन् । अब प्रश्न हुन सक्छ, यो एल्कसन भन्ने खेलाडी को हुन् त ? उनी एकपल्ट ब्राजिली राष्ट्रिय टिममा पनि परे, तर खेल्न भने पाएनन् ।

चीनमा भने उनी निकै ठूला नाम हुन्, लगभग सबैले सुनेको र चिनेको । उनको चिनियाँ पासपोर्ट पनि तयार छ र त्यसमा चिनियाँ नाम रहेको छ, ‘आई केसन’ । त्यसको अर्थ उनले ब्राजिली नागरिकता पनि छाडिसकेका छन् । चिनियाँ फुटबलमा सबैभन्दा लोकप्रिय र सफल क्लबमा पर्छ, ग्वान्जाउ एभरग्रान्ड । त्यसकै प्रमुख खेलाडी हुन्, उनी । सन् २०१३ मा उनी पहिलोपल्ट चीन आएका थिए र त्यसयता उनी लगातार चीनमै खेलिरहेका छन् ।

उनले चीनको सुपर लिगमा सयभन्दा बढी गोल गरिसकेका छन् । उनकै निर्णायक भूमिका कारण एभरग्रान्डले एसियाली च्याम्पियन्स लिग पनि जितिसकेको छ । फेरि एल्कसनको चीनबाट खेल्ने निर्णय व्यक्तिगत रूपमा ठीक पनि देखिन्छ, किनभने सबैको सपना विश्वकप खेल्ने हुन्छ, तर उनले यो सपना आखिरमा ब्राजिलबाट त पूरा गर्न सक्दैनन् । चिनियाँ राष्ट्रिय टिममा प्रशिक्षक हुन्, मार्सेलो लिप्पी । उनले नै ३० वर्षीय एल्कसनलाई टिममा भित्र्याएका हुन् ।

टिममा परेयता उनले त्यहाँको सामाजिक सञ्जाल सिना वाइपोमा भावुक मेसेज छोडका छन्, ‘म चिनियाँ हुँ । म पूरा विश्वलाई भन्न चाहन्छु, मैले जीवनमा नयाँ यात्रा सुरु गरेको छु, चिनियाँका रूपमा । चीनले मलाई धेरै माया र विश्वास दिएको छ । म त्यसको ऋण तिर्न चाहन्छु ।’ एल्कसनलाई के पनि विश्वास छ भने यो काममा चिनियाँको पूरा समर्थन प्राप्त हुनेछ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमअनुसार उनी चीनका लागि खेल्नयोग्य छन् ।

नियमको कुनै छेकबार हुने छैन् । यति समयावधि कुनै देशमा लगातार खेल्दा खेलाडीले त्यही देशबाट खेल्न पाउने हुन्छ । अचेल फिफाको यही नियममा टिकेर अरू धेरै देशले पनि विदेशी खेलाडीलाई खेलाएका छन् । एसियाली च्याम्पियन कतारको लगभग पूरा टिम नै विदेशी खेलाडीले भरिएको छ । फेरि यसको सबैभन्दा राम्रो उदाहरण त, डिएगो कोस्टा नै हुन् । उनी पनि ब्राजिली हुन् । ब्राजिलकै लागि पनि खेले । तर पछि स्पेन रोजे ।

आजभोलि विश्व फुटबलमा यो सामान्यजस्तै हो । चीनको प्रसंगमा कुरा यहीं सकिन्न । चीनमा अहिले त्यस्ता नौ अरू विदेशी खेलाडी छन्, जसले आफ्नो देशको नागरिकता छाडेर चिनियाँ हुन तयार छन् । एल्कसन चीनका लागि खेल्ने पहिलो विदेशी पनि होइनन् । यसअघि नै निको योनारिसले चीनका लागि खेलिसके । उनी लन्डनमा जन्मेका हुन् । उनीसँग भने दोहोरो नागरिकता छ । उनले दुई खेलमा चीनको प्रतिनिधित्व गरिसके ।

अब हुन सक्छ, कुनै दिन यस्तो पनि आउने छ, जति बेला पूरा चिनियाँ टिम त्यस्ता खेलाडीले भरिएको हुनेछ, जसको जन्म चीनमा भएको थिएन, अझ भनौं चिनियाँ मूलका हुने छैनन् । चिनियाँ फुटबल संघका नयाँ अध्यक्ष हुन्, चेन सुयान । उनले सीधा भन्ने गरेका छन्, ‘हामी सन् २०२२ को विश्वकपका लागि कतार जान चाहन्छौं । विदेशी मूलका खेलाडीले हामीलाई यो उद्देश्य प्राप्त गर्न मद्दत गर्नेछ । तर यो हाम्रो छोटो समयको योजना मात्र हो ।’

उनकै शब्दमा केही विदेशी खेलाडी चिनियाँ हुने क्रममा छन्, त्यसलाई लिएर सबै खाले प्रक्रिया अगाडि बढिरहेको छ । त्यसको अर्थ कम्तीमा विश्वकपको छनोटकै क्रममा केही विदेशीले पनि चीनको टिमबाट खेलेको हेर्न पाइनेछ । अहिले चीनमा बढीभन्दा बढी ब्राजिली खेलाडी छन् । सुयानले सिन्ह्वा समाचार संस्थालाई के पनि भनेका छन् भने केही वर्षपछि यसरी विदेशी खेलाडीलाई खेलाउने नीतिमा कडाइ गरिनेछ, अथवा भनौं, विदेशी खेलाडीको संख्यालाई कम गरिनेछ ।

फुटबल संघको यो नीतिलाई लिएर चीनमा दुई प्रकारका मत पाइएका छन्, जुन स्वाभाविक पनि हो । एकथरी मान्छन्, विदेशी खेलाडीलाई खेलाएर चिनियाँ फुटबल माथि जान्छ भने यसमा के पो समस्या ? आखिरमा यो चीनमा विदेशी लगानी भित्रिएजस्तै त हो । अर्कोथरी भने यसमा सहमत छैनन्, यसले उल्टै चिनियाँ फुटबल कमजोर हुने मान्छन् । कतारले यही नीति लिएर एसिया कप जित्यो, कतारको जनसंख्या निकै कम छ । यस्तोमा कतारले धेरै खेलाडी उत्पादन गर्न नसक्ने बाध्यतालाई बहाना बनायो । तर यही बहाना चीनमा भने लागू हुँदैन । एक अरब जनसंख्याबाट एउटा राम्रो फुटबल टिम किन बनाउन सकिन्न भन्ने प्रश्न ठीक पनि देखिन्छ । पछिल्लो समय उमेर समूहको फुटबलमा पनि चीनको प्रदर्शन कमजोर रहेको छ । एसियाली यू–१६ र यू–१९ मै चीनको टिमले समूह चरण पार गर्न सकेन् । चीनले राम्रा युवा खेलाडी उत्पादन नै गर्न सकिरहेको छैन् ।

यसबीच पनि चीनबाट अनौठा अनौठा फुटबलसँग जोडिएका समाचार आउन छाडेका छैनन् । जस्तो, १० हजारको संख्यामा तुरुन्तै अब्बल दर्जाको फुटबल मैदान बनाउने । लिभरपुल र रियल म्याड्रिडजस्ता क्लब सम्हालेका प्रशिक्षक राफेल बेनिटेज चीन पुग्ने । अनि गेराथ बेलले चीनमा क्लब फुटबल खेले, साताकै १० लाख डलर पारिश्रमिक दिने आदि आदि । यस्तै समाचार त हो, एल्कसनले चीनबाट खेल्ने पनि । खासमा यो चिनियाँ फुटबल क्रान्तिको २.० स्वरूप हो ।

प्रकाशित : भाद्र १४, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?