चित्लाङमा पेरूको अल्पाका

पेरूका पहाडमा हुने अल्पाका चित्लाङमा आफ्नो संख्या बढाइरहेका छन् । एक जर्मन नागरिकले जिरीमा ल्याएका अल्पाका नै चित्लाङ पुर्‍याइएको हो ।

पृथ्वीराजमार्गको नौबिसेदेखि बाइरोडको बाटो हुँदै ३५ किलोमिटरमा टिस्टुङ पुगिन्छ  । त्यसपछि पालुङ जाने मूल सडक छोडेर कुलेखानीतर्फ जाने ग्रामीण सडक हुँदै ५ किलोमिटरमै महाभारत लेकको ठूलो उपत्यका रमणीय चित्लाङ बस्ती आउँछ  ।

चित्लाङमा पेरूको अल्पाका

परम्परागत मौलिक घरहरू र सुन्दर हरियाली फाँटको शीतल वातावरण यसको मौलिकता हो । चन्द्रगिरीको दक्षिण मोहडाको फेदमा रहेको चित्लाङ १७ मिटरभन्दा बढी उचाइ रहेकाले बाह्रै महिना चिसो वातावरण हुन्छ ।


मकवानपुरको थाहा नगरपालिकास्थित पर्यटकीय गन्तव्य चित्लाङ चिसो हावापानी र होमस्टेका लागि प्रसिद्ध छ । कुलेखानी जलाशय, दामन, पालुङ र चन्द्रागिरी पनि नजिकै भएकाले बाह्रै महिना आन्तरिक पर्यटकहरू आउने गरेका छन् । अब चित्लाङलाई होमस्टेले मात्रै चिनाउँदैन । अब पेरूको अनौठो जनावर अल्पाकाले पनि आन्तरिक पर्यटक आकर्षण गर्न थालेको छ ।


विसं २०५० मा जर्मन नागरिक हडमुन वाउडरले दोलखाको जिरी र मकवानपुरको चित्लाङमा सयौं रोपनी जग्गा खरिद गरी हिमालयन प्लान्टेसन प्रालि दर्ता गरे । उक्त कम्पनीले जिरी र चित्लाङमा २/२ हजार जैतुनका बिरुवा रोपे । यो नै नेपालका पहिलो व्यावसायिक जैतुन खेतीको सुरुआत हो । भारतको कालिम्पोङ दुवैतर्फ नागरिकता लिएकी महिलालाई विवाह गरेका जर्मन नागरिक हडमुनले पेरुबाट २ जोडा अल्पाका ल्याएर जिरीमै पालेका थिए । उक्त २ जोडा अल्पाकाको हेरचाह गर्न गंगा जिरेललाई नियुक्त गरेका थिए । हडमुन भने हाल कालिम्पोङमै छन् ।

जिरीमा एक दशकसम्म पालुन्जेल २ जोडा अल्पाकाले ४ वटा मात्रै बच्चा जन्माए । २ जोडा पुराना माउ र अन्य बच्चासहित १० वटा अल्पाकालाई हडमुनले ललितपुरको गोदावरीस्थित ठैवमा १२ वर्ष राखेर पाले । ठैवमा १२ वर्ष पाल्दा जम्मा ४ वटा मात्रै थपिए पनि अल्पाकाहरू दुब्लाउँदै गएपछि हडमुनले चित्लाङको पूरै जैतुन फर्म र आधुनिक घरसहित अल्पाका प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनलाई १० करोडमा बेचे । भट्टचनले फर्म खरिद गरेसँगै अल्पाकालाई १७ सय मिटरको उचाइ रहेको चित्लाङस्थित जैतुन फर्ममा सारिएको थियो । चित्लाङ सारिएको ४ वर्षमा एउटा पोथी मर्‍यो । अर्कोले भने भाले जन्माएर १५ महिनापछि पुनः गर्भवती भएको छ । हाल उक्त फर्ममा १५ महिनादेखि २२ वर्षसम्मका १५ वटा अल्पाका छन् ।


शान्त स्वभावको यो जनावरका केही रोचक पक्ष छन् । बिहान ८ बजेदेखि साँझ ५ बजेबीचको समयमा मात्रै सुत्केरी हुने यसको अचम्मको पक्ष हो । पोथीभन्दा भाले नै बढी जन्मने भएकाले यस्को विस्तार गर्ने कठिनाइ भएको २२ वर्षदेखि यसको हेरचाहमा लागेका गंगा जिरेल बताउँछन् । सिङ नभएको यो जनावरलाई बिरालो, मलसाप्रोजस्ता साना जनावरले पनि मार्न सक्छन् । अल्पाका रिसाएपछि चपाएको घाँससहित थुकेर जनाउ दिन्छ । माइनस १० डिग्रीसम्ममा बस्ने यो जन्तु फैलाउन पोथी मगाउन खोजे पनि स्वीकृति दिने सरकारी प्रक्रिया झन्झटिलो भएकाले नसकिएको जैतुन फर्मका व्यवस्थापक पदमसिंह खड्का बताउँछन् ।


अल्पाकाको भाले र पोथीलाई छुट्टाछुट्टै राख्नुपर्ने हुन्छ । केही गरी सँगै भए भने झगडा गरेर हैरान पार्छन् । जिरेलले अल्पाकाले मान्छेलाई गर्ने व्यवहारदेखि दिसा–पिसाब गर्ने स्वभावसम्मका कुराहरू सुनाए । यो जनावरले दिसा–पिसाब सधैं एउटै ठाउँमा मात्र गर्छ । यो आफ्नो बथान छोडेर कतै भाग्दैन । गर्मी ठाउँमा बाँच्न नसक्ने अल्पाकाले मान्छेलाई भने आक्रमण गर्दैन ।


ऊँट परिवारकै भए पनि यो ऊँट पनि नभएको र लामा पनि नभएको जिरेल बताउँछन् । मकवानपुरमा लामा पालिएको भए पनि यो अल्पाकाभन्दा फरक हुने उनी बताउँछन् । दक्षिण अमेरिकी पहाडका एक मात्र सफल खच्चड लामाजस्तै लोडर र मासु तथा बस्त्र टोपी जुत्ता पन्जा ज्याकेट बनाउनका लागि पालिन्छ । यो प्रजाति दक्षिण अमेरिकाका रैथाने हो तर उत्तर अमेरिकामा भने हुँदैन । यसको रौंलाई भेडाको भन्दा ५ गुणा न्यानो मानिन्छ । एउटा अल्पाकाको मूल्य ७ लाखदेखि १० लाख रुपैयाँसम्म पर्छ ।

प्रकाशित : भाद्र १४, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?