कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

उल्टो समयमा नाङ्गेली चिन्तन

कुमारी लामा

नाङ्गेली, एक दलित महिला जसले आफूहरूमाथिको मुलाक्करम (ब्रेस्ट ट्याक्स) को विरोधमा एक डरलाग्दो प्रतिरोध गरेकी थिइन्  । धेरै सुदूर समय हैन  ।

उल्टो समयमा नाङ्गेली चिन्तन

नाङ्गेली, एक दलित महिला जसले आफूहरूमाथिको मुलाक्करम (ब्रेस्ट ट्याक्स) को विरोधमा एक डरलाग्दो प्रतिरोध गरेकी थिइन् । धेरै सुदूर समय हैन । उन्नाइसौँ शताब्दीको सुरुआती एक यस्तो बर्बर समय थियो त्यो जब दलित महिलाहरूले आफ्नो छाती छोपेबापत पनि राज्यलाई कर बुझाउनुपर्थ्यो भारतमा ।

एकदमै मन्द भएको छ सहरिया गति । टेकु, त्रिपुरेश्वर, सुन्धारालगायतका चोकहरू दिक्दारीपूर्ण आँखा फ्याँकिरहेछन् वरपर । चलायमान सहर मोटरहरूको घ्यारघ्यारमा केवल गाह्रो घिस्राइ प्रयत्नमा छ । साउनको एक बाफिलो साँझ एकाएक सुस्त र शुष्क भएको छ सहरिया रफ्तार । र म एक यायावर उही भीडमा कतै अल्झिँदै सोचिरहेछु– सर्त्यो । सर्त्यो, फ्रेन्च चिन्तक जो सहरबारे मनन गर्छन्, लेख्छन् । उनी गति र बहावलाई जीवनसँग जोडिदिन्छन् । तर यहाँ चलायमान जीवनहरू टोलाइरहेछन् जाममा । सुस्केरा फुस्काइरहेछन् अत्यासिलो गतिहीन समयमा । दिमाग चेम्बरभरि भरिरहेछन् आफ्नै यायावरी सपना, बस् ।


जीवन उल्टिएको छ, ‘मैदारो’का उल्टा पेन्टिङहरूजस्तै । भुपिनका नदिन क्या बिल्ला गर्छन् समाज र समयलाई जो उल्टो हिँडिरहेछ । शरीरहरू उस्तै छन्, एकै समाजमा बस्छन् तर पनि मनले टाढा छन् मानिसहरू । छूत र अछूत भन्दै समाज कोरिदिन्छ निकै लामो विभाजन रेखा । के यस्ता छेकथुन र सीमारेखाहरूले मान्छेको मनलाई थुन्न सक्छ ? भुपिनले त नदिन र कलालाई एकै मन पारिदिए । छेक्न सकेको छैन उनीहरूजस्ता धेरै–धेरै मन तर पनि समाज छेकिराख्ने दम्भ ओकलिबस्छ । उर्दी जारी गर्छ जात, धर्म र संस्कृतिको नाममा । मान्छे मान्छेबीच बार लाउनु उल्टो हिँड्नु हैन ? उल्टो गतिले कतै पुगिन्छ के ? प्रश्न मेरो पनि मनभरि उम्लिएको छ जसरी उर्लिएथ्यो होला आफ्नै स्तन काट्ने निर्णय लिनुअघि नाङ्गेलीको मनभरि । अनि धेरै साहस बटुलेर काटेकी थिइन् होला उनले आफ्नो स्तन र पातमा राखी अघि सारिदिएकी थिइन् विरोधको लप्लपाउँदो ज्वाला ।


नाङ्गेली, ट्राभानकोर (आजको केरला) की एक दलित महिला जसले आफूहरूमाथिको मुलाक्करम (ब्रेस्ट ट्याक्स) को विरोधमा अत्याचारी शासकहरूका विरुद्ध एक डरलाग्दो प्रतिरोध गरेकी थिइन् । धेरै सुदूर समय हैन । उन्नाइसौँ शताब्दीको सुरुआती एक यस्तो बर्बर समय थियो त्यो जब दलित महिलाहरूले आफ्नो छाती छोपेबापत पनि राज्यलाई कर बुझाउनुपर्थ्यो भारतमा । क्या अमानवीय समय । दलित शरीरमाथिको धोर दोहन ।


उनीहरूको शरीर मान्छेको शरीर नभई कुनै वस्तुजस्तो । उच्च जात र शक्तिशालीहरूको नियम सबै उनीहरूकै शरीरमाथि ।
नाङ्गेलीले आफ्नो अस्तित्वको वकालत गरिन् त्यसै समय । अन्यायको विरोध गर्दै आफ्नै शरीरको अंग छिनाउन पछि परिनन् । उनी केही क्षणमै मरिन् तर उनको विरोधले मुलाक्करम हटाउन बाध्य भए सामन्ती शासकहरू । क्या विसङ्गतिपूर्ण समय । एक सबाल्टर्नले आफ्नो अस्तित्वको आवाज बुलन्द पार्न ज्यानै दिनुपर्ने । नत्र उनीहरूको आवाज कसले सुन्नु । लामो समयदेखि बिलाइरहेथ्यो नाङ्गेलीजस्ता धेरैको आवाज इतिहासको गर्तमा । तर एक सत्य उजागर भएको छ आज, उनीहरू पक्का साहसिला थिए । उही हिम्मत भरिएको थियो नाङ्गेलीमा नत्र कसरी छिनाउनु आफ्नै स्तन ? सीमा हुन्छ नि अत्याचारको पनि । तल्लो जात । उफ् ! एक खेलाँची हो र जीवन ?


निभा शाह उल्टो समयको विरोधमा छिन् निरन्तर । भर्खरै लेखेकी थिइन् ‘काली पातरको शरीर दोहनको कथा ।’ उनले बोकी हिँडेको बाँझो गर्भाशयको व्यथा । बीस वर्ष नपुग्दै कुनै शरीर बूढो हुन्छ ? तर हुने रैछ मुखैमा कानुन कायदा बोकी हिँड्नेहरूका लागि । काली पातर उन्नाइसमै बूढी भईन् किनभने केही वर्ष निरन्तर उनको शरीर भोग गर्नेलाई अब त्यस शरीरप्रतिको मोह हरायो । शरीर दोहनको पराकाष्ठा त्यतिखेर प्रस्ट हुन्छ जब हामीले थाहा पाउँछौं या उनी आफैंलाई पनि भेउ हुन्छ– उनको गर्भाशय त बाँझो पारिदिसकेछ ।
उनले धेरै समय त थाहै पनि पाइनन् आफ्नै बाँझोपनको सत्य । छ त समय सुल्टो ? सुल्टो समयमा त छेकथुन, गुमराह केही नहुनुपर्ने । तर उल्टो बगेको समयमा धेरै कुरा लुकाइन्छ, किन कि थाहा पाउनुसँग जोडिन्छ चेतना । चेतना साथै हिँड्छ प्रतिरोध । र समाज कदापि चाहँदैन त्यो गन्जागोल । त्यसैले काली पातरहरूका शरीरका लागि यही समाजले कोरिदिएको थियो एउटा रेखा र खोलिदिएथ्यो दोहनको मार्ग ।


आज पनि निरन्तर नै त छ महिला शरीरमाथिको शोषण । केवल तरिकाहरू फेरिएका हुन् । नफेरिएको भन्नु फेरि पनि महिला शरीरमाथिको उत्पीडन मात्र । आज शक्तिशाली सामन्तीहरूको महलबाट सरेको छ महिला उत्पीडन केन्द्र धेरै घरहरूमा । त्यस्तै एउटा अमूक घरमा बिलाएको थियो कलिलो जीवन निर्मलाको । सुनील सिग्देलका लागि उनी ‘माई गडेस लस द ब्याटल’ बने । चर्चा भयो व्यापक । अभि सुवेदीका लागि पनि उस्तै विम्ब भइन्, मैनबत्ती लिएकी उनकी आमा र उनले छातीमा च्यापेकी निर्मलाको तस्बिर । त्यसले पनि भव्य चहलपहल ल्यायो बौद्धिक वृत्तमा ।

हुनुपर्ने थियो छिनोफानो तर उनी केवल एक विम्ब भएर रहिन् चित्र, कथा, लेख र कविताहरूमा । कहाँ गए ती पीडकहरू ? खोइ देश ? खोइ कानुन ? कता छ सरकार ? अनि के समय सुल्टै छ भन्नु भ्रम होइन ?


एउटी महिला बहुलाई घोषण गरिन्छे र केही दिनभित्रै भित्र्याइन्छ उसको सट्टामा अर्की महिला । महिलाहरू कति सजिलै ‘सब्स्टिच्युट’ हुन्छन् मानौ कि उनीहरू वस्तु हुन् जो बजारमा सहजै उपलब्ध छन् । मात्र इच्छा हुनुपर्‍यो सम्बन्धितको तब पाइहालिने साट्न, फेर्न, फाल्न या थन्क्याइदिन चिसो छिँडीको अँध्यारो कोठातिर । जसरी बहुलाई करार भएकी ती महिला आफूले भोगचलन गरेको घरको ठूला कोठाहरू, कौसी, बार्दली, भान्सा सबैतिरबाट बाहेक भई थन्किइन् छिँडीको एउटा कोठामा । घटना भएको हो छेउछाउ, आफन्तमै । उनले नपाउने भइन् राख्न आफैंले हुर्काउँदै गरेको कलकलाउँदो छोरा किनकि उनको दिमागी हालत ठीक नभएको मान्छ परिवार ।


घरपरिवार सबै धानेर बसेकै हो उनले दशकौं त्यस घरमा । तर बिस्तारै लोग्नेको मन फेरिएसँगै उनको मन पनि थिर हुन छाडेको थियो । शंका उपशंकाहरू बेस्सरी खेल्न थालेका हुन् उसको मनमा । लोग्ने ढिला घर आउन थालेपछि उनको दिमाग झन् बढी बिथोलिन थाल्यो । तर अस्पताल गइनन् या लगिएन । छोप्ने बेथा, लागुसागु, अनेक अनेक भनिए या मानिए । धामी झाँक्री फुकफाक भए तर जानुपर्ने ठाउँ गइएन । लानुपर्ने ठाउँ लगिएन उनलाई । समय अघि बढ्नुको साटो उल्टोतिर बग्यो उनको जीवनमा । अन्ततः उनी दिमाग ठीक नभएकी ठहरिईन् । र, भईन् लोग्नेका लागि खतरनाक । उनै हुन् ती महिला जसले त्यस परिवारलाई माया मात्रै गरिन्, लोग्नेको लामो जीवनको लागि तीजका व्रतहरू बसिन् । उनै एकाएक खतरनाक ठहरिइन् लोग्नेका लागि आज । आफ्नै छोराका लागि पनि । क्या विसंगति ! कत्रो मजाक गरिदिन्छ परिवार अर्काको जीवनमाथि ।

समाज यसरी नै ठट्टा गरिबस्छ महिलाको अस्तित्वमाथि । ऊ बहुलाई बनाइन्छे, ऊ खतरनाक मानिन्छे, ऊ डरलाग्दो करार हुन्छे अनि बाहेक हुन्छे परिवारभित्रैबाट । ज्यानकै जोखिम भएको हल्ला चुटेपछि सजिलो हुने नै भयो लोग्नेलाई उनीबाट तर्किन, पन्छिन, बेवास्ता गर्न, नबोल्न, नहेर्ने, अनि घृणा गर्न पनि । घृणा यसकारण पनि कि उनको जीवन गुलजार पारिदने अर्को मान्छे अघिदेखि नै तयार बनाइसकेका थिए उनले । परिवारकै सहमतिमा तुरुन्तै भित्र्याइहाले नयाँ मान्छे त्यस घरमा । उसले देख्दादेख्दै नयाँ मान्छेको स्वागत भयो, उनकै कोठामा, उनकै खाटमा... । उनी केवल एक ‘सब्स्टिच्युट’ भएर रहिन् । सुल्टो छ त समय ?


पितृसत्तात्मक समजले गर्ने महिलाको बहिष्करणको फेहरिस्त लामो छ । इतिहास साक्षी छ महिलाको अस्तित्व कसरी नामेट पारिए भन्नेबारे । आफ्नो अस्तित्वका लागि बोल्ने महिलाहरू खतरनाक हुन् परिवारका लागि, समाजका लागि । ती महिलाहरू झन् बढी निसाना बन्छन् जो विद्रोही छन्, जो फरकमत राख्छन् या जो प्रश्न गर्छन् । विश्वभरि नै महिलामाथि लामो समय षड्यन्त्र भयो जो आज पर्यान्त कायम छ । अत्यन्त समृद्ध र अग्रगामी मानिने युरोपियन सभ्यताको इतिहास नियाल्दा प्रतिरोधी महिलाहरू कसरी दबाइए प्रस्ट हुन्छ । समाजका विसंगतिविरुद्ध आवाज उठाउने महिलाहरू अठारौँ शताब्दीतिर ‘सिक’ या ‘बिमार’ मानिन्थे । अर्थात् उनीहरूको आवाज एक अस्वस्थ महिलाको क्यारक्यार मानिन्थ्यो । ज्यान र मन ठीक नभएका मानिएका महिलाको कुरा कसले सुन्ने त्यसबखत ?


आफ्नो अस्तित्वको वकालत गर्ने महिलाहरू उन्नाइसौँ शताब्दीमा ठाडै ‘पागल’ मानिन थालियो । पितृसत्तात्मक मानसिकताले ओतप्रोत समाज जो महिलालाई आफ्नो अनुकुल कज्याउनमा मस्त थियो तब किन उसको अस्तित्वको गनगन सुन्न मानोस् ? सबैभन्दा सजिलो त बोल्नेलाई बहुलाई भनिदयो कुरा सकिगो । आखिर त्यही त भइरह्यो महिलामाथि । हाम्रो समाज भने आज पनि दुई शताब्दीअघिको वाउटडेटेड युरोपियन समाजको धङधङी बोकी बसेको छ । आफ्नो हक अधिकार र पहिचानको कुरा उप्काउने महिलाहरू पिनास बनिदिन्छ आज पनि हाम्रो समाजका लागि । नाकै झारिदिन सक्ने पिनास किन बोकिबस्नु ? साह्रै सजिलो कुरा भनेको दिमाग ठीक छैन भनिदियो, हल्ला फैल्याइदियो टन्टै साफ । न परिवारलाई कसैले प्रश्न गर्छ न पीडक लोग्नेलाई । बाटो खुला त्यसपछि जे–जे गर्न पनि ।


माथि उल्लिखित महिला नमीठो पिनासे टाउको दुखाइ भएका थिए लोग्नेका लागि । किनकि उनी भविष्यको अर्को योजनामा तमतयार भइसकेका थिए । अन्ततः उही सजिलो उपाय अपनाइयो । उनको पागलपनको हल्ला पिटियो । आज उनी आफ्नैहरूबाट बाहेक छिन् । त्यही घरमा भएर पनि उनी अदृश्य छिन् । उनको अस्तित्व एक धूमिल थोप्ला हो, मात्र छाया हो जो अदृश्यझैं छ । उनको आफ्नो भन्नु निगाहस्वरूप त्यस परिवारबाट पाएको एउटा कोठा छ । र थन्किएको छ उनको अस्तित्व उही चार पर्खालभित्र, पूरै बेखबरीका साथ, बेवास्तापूर्वक । क्या ठट्टा हगि कसैको जीवनको ? यस निस्सासिँदो अवस्थामा कसैको दिमाग के सद्दे रहन सक्छ ? समय सुल्टो कहाँ छ त ?


धेरै जीवन अड्किएको छ सुमधुर बन्न नसकेका सम्बन्धहरूमा आजकल । यो सहरी जाम, गाडीको ट्या टु, घ्यारघ्यारजस्तै छ आजकल हामीले उमारेका, आत्मसात् गरेका कतिपय प्रिय समय । मानौं कि जीवन छैन त्यहाँ र केवल बाँच्नुको एक बहाना जिउँदो छ । जीवन त बग्छ । तर यहाँ सबै प्राणी चुपचाप छन्, रोकिएका छन्, अल्झिएका छन्, अड्किएका छन् । सहरको जाममा पनि र सम्बन्धहरूमा पनि उस्तै विचलन छ, अनिश्चितता छ । हिँडाइ या बहावसँग कुनै ठाउँले अर्थ पाउँछ भन्छन् सर्त्यो । बहाव छैन त जीवन छैन पनि भन्छन् उनी । यार सर्त्यो यत्रो ठट्टा नठोकन । के म मुर्दा हुँ । ठाडै छु त । कुरिबसेको छु जाम खुल्ने आसमा । तिम्रो ‘वाक’ र ‘मुभ’ ले सधैँ काम गर्दैन क्या । यो जाम नखुले फेरि अर्को नाङ््गेली जन्मन्छे र खोल्छे बन्द भएको जीवनको बहाव । के तिमी तयार छौ अर्की नाङ्गेलीलाई झेल्न ?

प्रकाशित : भाद्र १४, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?