पहिले म्याजिक बस अहिले एम्बेसडर

सुरेशराज न्यौपाने

करिब साढे छ फिट उचाइ । पोनी टेल । झट्ट हेर्दा हलिउडतिरका कुनै कलाकारजस्ता ! बाहिरी आवरण हेर्दा कसैले पनि भारतका लागि जर्मनीका राजदूत वाल्टर जे लिन्डनर कूटनीतिज्ञ ठान्दैन । उनको पहिरन र आवरणले मात्रै होइन, चिन्नेहरू भन्छन् वल्टर धेरै हिसाबले फरक छन् ।

पहिले म्याजिक बस अहिले एम्बेसडर

त्यसैले त दिल्ली आएको पाँच महिना मात्र भए पनि उनको चर्चा कूटनीतिक वृत्तमा मात्र सीमित छैन । सामाजिक सञ्जाल, गीत–संगीत क्षेत्रमा पनि उनले आफ्नो दह्रो उपस्थिति देखाइसकेका छन् ।


एम्बेसडरको रातो एम्बेसडर
वल्टर दिल्ली ओर्लेको केही महिनामा सामाजिक सञ्जालदेखि मिडिया सेलिब्रेटी बनेका छन् । सँगै उनले चढ्ने गरेको रातो एम्बेसडर कार पनि । भारतका लागि जर्मनीका राजदूत त्यो पनि भारतमै समेत लोप प्रायः भइसकेको एम्बेसडरमा ! झट्ट सुन्दा पत्याउन गाह्रो हुन्छ । यसको पनि रमाइलो कथा छ । उनी दिल्ली आएको केही दिन मात्र भएको थियो । दूतावास ग्यारेज पुग्दा उनले त्यहाँको एउटा कुनामा छोपेर राखेको एम्बेसडर देखे । त्यसका बारेमा कर्मचारीलाई सोधे । त्यसपछि उनको मनमा उक्त कारप्रतिको चासो बढ्दै गयो । सँगै चिल्ला र नयाँ बीएमडब्लु र मर्सिडिज पनि थिए । तर, उनले त्यही पुरानो एम्बेसडरलाई चलाउने निष्कर्षमा पुगे । अनि पहिलेको फुस्रो त्यो कार एकाएक रातो रङमा चम्कियो । कारले रङ मात्र नयाँ पाएन नयाँ नाम पनि पायो— अन्टी एमबी ।


कुनै बेला भारतमा यही एम्बेसडरकारको बेग्लै शान थियो । धनाढ्यदेखि उच्चपदस्थसम्मले सवारी यसैमा चल्थ्यो । तर, समयले यसरी कोल्टे फेर्‍यो कि अहिले यो कार भारतका सडकमा विरलै भेटिन्छन् । दिल्लीका सडकमा त झन् भेट्न मुस्किलै पर्छ । एउटा होटलको कार्यक्रममा गएका बेला त्यही गाडीमा निवास फर्किपछि वाल्टरलाई यसैमा आनन्द आयो । सडकमा पानी जमेको बेला त झन् यो गाडीले उनलाई बेग्लै मज्जा दिएछ । त्यस्तै अलि खराब बाटोमा कुदाउँदा पनि पृथक् अनुभव गरे ।


एउटा चुनौती भने थियो । गाडीमा झन्डा लगाउने । किनकि उनी भारतीय राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन यही गाडी प्रयोग गर्ने निर्णयमा पुगेका थिए । जेनतेन गाडीमा झन्डा फहरायो । राष्ट्रपति कार्यालय पुग्दा सबैको आँखा उनको गाडीमा थियो । त्यो स्वाभाविक पनि थियो । किनकि प्रायः सबैजसो राजदूतहरू चिल्ला मर्सिडिज र बीएमडब्लुमा थिए ।


अहिले त्यही रातो अन्टी एम्बीले उनलाई दिल्लीमा बेग्लै पहिचान दिएको छ । टाढाबाट गाडी देख्नेबित्तिकै जर्मनीको राजदूत भनेर फर्कीफर्की हेर्न थाले । सडकमा गुडेका बेला मानिसहरूले रोकेर भए पनि फोटो खिचाउन चाहन्थे । कतै रोकेको ठाउँमा भेट्यो कि सेल्फी खिच्नेहरूको भीड लाग्न थाल्यो । त्यसैले उनको दिमागमा नयाँ विचार खेल्यो । आन्टी एम्बीको सानो कार खेलौना (बेबी एमबी) बनाउने र त्यसलाई उपहार दिने । ‘यो त मेरो पहिचान बन्न पुग्यो । त्यसैले यदि सबै यो गाडीसँग फोटो खिचाउन चाहन्छन् भने केही नयाँ कुरा गर्न रहर लाग्यो,’ उनले भने ।


त्यसको घोषणा उनले नै सामाजिक सञ्जाल ट्विटर मार्फत गरे, ‘गुडिरहेको एमबीसँगको सेल्फी लिन सफल हुने पहिलो दस जनालाई त्यो सानो कार भेटेरै उपहार दिने ।’ बेबी एमबीको क्याम्पेनले वाल्टनरलाई थप चर्चित बनायो । सामाजिक सञ्जालमा मात्र नभएर मूलधारका सञ्चारमाध्यमले समेत त्यसलाई समाचारको विषय बनाए । आन्टी एमबीसँग खिचेका सेल्फीहरू धमाधम आउन थाले । केही दिनमै बेबी एमबीहरू सकिए । त्यसपछि पनि उनी जहाँ जहाँ पुग्थे, उनको त्यो अभियान र आन्टी एमबीकै चर्चा चल्थ्यो ।


चालीस वर्ष पुरानो साइनो
उनी चार दशकअघि नै भारत आइपुगेका थिए । ‘यहाँको भूगोल, संरचनाहरू र विभिन्न भाषा, आध्यात्मिकता (स्पिरिच्युयालिटी) र दर्शन सबैप्रति म लोभिएको थिएँ । त्यसैले नै म सधैं भारत आउन चाहन्थे,’ उनले चार दशकअघिका क्षणहरूलाई ताजा बनाउँदै भने । ‘मेरो खोजी त सधैं नै आत्मिक शान्ति अर्थात् आध्यात्मिकताको हो,’ उनले भने । त्यही खोजीले नै आफू फेरि एक पटक भारत आइपुगेको उनको भनाइ छ ।


वाल्टर आफूलाई संगीत र कानुनको विद्यार्थी भन्न रुचाउँछन् । ‘मैले यो क्षेत्रमा आउनुअघि नै संगीत र कानुन पढेको हुँ,’ उनले भने । केही वर्ष त वकालतसमेत गरेछन् । आफ्नो मनमा भने संगीत रहेको उनी बताउँछन् । ‘मेरा लागि संगीत भनेको सास फेर्ने हावाजस्तो हो,’ उनले भने । संगीतले नै आफूलाई कूटनीतिक क्षेत्रमा तीन दशकभन्दा बढी समय टिकाएको उनको भनाइ छ । संगीतप्रतिको लगाव र कूटनीतिलाई सँगै लैजान कम्ती गाह्रो थिएन । कूटनीति भन्नासाथ एउटा मर्यादाभित्र बस्नुपर्ने । संगीत भने स्वच्छन्द र स्वतन्त्र । जर्मनीमा त उनी ब्यान्डको सदस्य पनि रहेछन् ।
विदेशमा कसरी संगीतलाई अगाडि बढाउने भन्ने चुनौती थियो उनका सामु । तर, उनले उपाय निकाले । विदेशमा रहँदा त्यहीका संगीतकारहरूसँग मिलेर काम गर्ने । टर्की, दक्षिण अफ्रिका र दक्षिण अमेरिकाका विभिन्न मुलुकहरूमा रहँदा उनले त्यही गरे । दिल्ली आएपछि पनि उनले त्यही गरिरहेका छन् । स्थानीय ब्यान्ड र कलाकारहरूसँग नियमितजसो भेटिरहन्छन् । अवसर पाउनासाथ संगीतसम्बन्धी कार्यक्रममा उपस्थित हुने मात्र होइन, आफ्नो प्रस्तुति दिनसमेत पछि पर्दैनन् । एक महिनाअघि दिल्लीमा भएको ग्रामी पुरस्कार विजेता रिक्की केजको एउटा कन्सर्टमा उनले बाँसुरी बजाएका थिए । त्यसो त उनी भारतीय क्लासिकल, सुफी र अन्य दक्षिण भारतीय संगीतहरूसँग भलिभाँती परिचित छन् ।


उनी कूटनीतिले जुराएको विदेश सयरको अवसरलाई बढीभन्दा बढी सदुपयोग गर्नुपर्छ भन्ने ठान्छन् । ‘यो त समाज, संस्कृति, संगीत, कलालाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हो,’ उनले भने । संगीतप्रतिको लगावकै कारण विगत दुई दशकदेखि उनलाई सरकारले जहाँ खटाउँछ, त्यहाँ आफूसँगै स्टुडियो पनि लिएर जाने गरेका छन् । अहिले उनको प्रिय स्टुडियो दिल्ली आइपुगेको छ । जहाँ उनी हरेक दिन केही घण्टा बिताउँछन् । संगीतमा मग्न हुन्छन् । यसले पनि संगीतप्रतिको उनको भोक प्रस्ट हुन्छ ।


प्रत्येक दुई–तीन वर्षको अन्तरालमा आफ्नै अल्बम निकाल्ने गरेकाले हाल आफू त्यसको तयारीमा रहेको उनले बताए । अबको नयाँ अल्बम पश्चिमा र भारतीय संगीतको फ्युजनमा काम गरिरहेका छन् । त्यसका लागि उनले थुप्रै भारतीय कलाकारलाई समेत भेटिसकेका रहेछन् । ‘प्रत्येक दुई–तीन वर्षमा एउटा सीडी निकाल्ने गरेको छु । अहिले एउटामा काम भइरहेको छ । सायद भारतको कार्यकाल सकिने बेलासम्म बाहिर आउला । तर, त्यो भारतीय संगीतमै आधारित हुनेछ,’ उनले भने ।

म्याजिक बसमा काठमाडौं
नेपालसँग पनि साइनो भारतसँगको जत्तिकै पुरानो रहेछ । सन् ७० को दशक । जर्मनीलगायतका युरोपका अधिकांश मुलुक दोस्रो विश्वयुद्धको चोटबाट तंग्रिने कोसिस गर्दै थिए । भौतिक पूर्वाधार र समृद्धिपछिको पुँजीवादी कदमहरू चालिँदै थियो । पश्चिमा मुलुकहरूमा आर्थिक विकास र समृद्धि केन्द्रमा थियो । सबैको ध्यान भौतिक समृद्धि र सुखसुविधामा थियो । तर, त्यसले नजानिनो तरिकाले त्यहाँका युवाहरूमा छटपटी बढाउँदै लगेको थियो । उनीहरू बिस्तारै शान्ति र अध्यात्मको खोजीतर्फ उन्मुख हुँदै गएका थिए । वाल्टनर पनि कसरी अछूतो रहन सक्थे रे । ‘पश्चिममा ६० र ७० को आर्थिक विकास र समृद्धिले हामीहरूभित्र बेग्लै किसिमको बेचैनी पैदा भएको थियो । हरमन हेस्सेको ‘सिद्धार्थ’ र अन्य लेखकका त्यस्तै किसिमका पुस्तकहरूले हामीहरूलाई केही नयाँ कुरा खोज्न, जुन भौतिक उपलब्धिभन्दा पर थियो, त्यसको खोजीमा लाग्न प्रेरित गर्‍यो,’ उनी सम्झन्छन् ।


त्यही खोजीको क्रममा केहीले लागूपदार्थ सेवन थाले । उनीहरू आफ्नो दुनियाँको क्षितिज फराकिलो पार्न त्यस्तो सेवन गरेको दाबी गर्थे । केही त गुरुहरूको शरणमा गए । जस्तै बिटल्स्हरू महर्षीको शरणमा पुगेका थिए । तर, वाल्टनर त्यतातर्फ लागेनन् । उनमा पनि शान्ति र आध्यात्मिकताको खोजी गर्ने भूत सवार थियो । त्यही शान्ति र आध्यात्मिकताको खोजीमा उनी पनि २० वर्षको उमेरमा घर छाडेर भारत भ्रमणमा निस्केका थिए । ठ्याक्कै हिप्पी नभए पनि उनको लबाइ भने हिप्पीकै जस्तो थियो । रक म्युजिकको फ्यान । अमेरिकाले भियतनाममा गरेको आक्रमणका विरुद्ध भएको विरोध प्रदर्शन उनी पनि सहभागी भए ।


त्यसताका लन्डनबाट म्याजिक बस चल्थ्यो । कतिपय हिप्पीहरू त्यही बसेबाट भारत र नेपाल पुगे भने केही आफ्नै गाडीमा आए । पाउलो कोयलोले पछिल्लो पुस्तक ‘हिप्पी’ मा त्यसको राम्रो वर्णन गरेको वाल्टनरले बताए । त्यही बसबाट करिब छ महिना लगाएर इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारत आइपुगे । उनको सुरुको गन्तव्यचाहिँ भारत थियो । ‘किनकि त्यतिबेला पश्चिमाहरूमा पूर्वीय ज्ञान भनेको सबै भारतकै हो भन्ने बुझाइ थियो । त्यो बुझाइ साँघुरो रहेछ भन्ने पछि बल्ल थाहा भयो,’ उनले भने । भारत उनले कल्पना गरेजस्तो थिएन । सुरुमा त उनी निराश भए । ‘म निराश भएँ । मैले कल्पना गरेको भारत बेग्लै थियो । मैले त भारतमा जहाँतहीँ मानिसहरू बोधीवृक्षको मुनि बसेर ध्यान गरिरहेको होलान् भन्ने कल्पना गरेको थिएँ,’ उनले भने ।


यहाँ भने ठीक उल्टो थियो । जताततै हल्लाखल्ला । कोही ध्यानमा लीन थिएनन् । भारतबारे बनाएको धारणा पूरै गलत लाग्यो, उनलाई । त्यसपछि उनी दिल्ली छाडेर केरला र कश्मीरतिर लागे । त्यहाँ केही शान्ति भेटे । त्यतिबेलै उनलाई लाग्यो, भारतलाई बुझ्न सहज छैन । उनी यहाँ छ महिनाभन्दा बढी बस्न सकेनन् । उनीभित्र बेग्लै छटपटी थियो । ‘म यहाँको कोलाहलबाट चाँडोभन्दा चाँडो बाहिर निस्कनुपर्छ’ सम्झन्छन् । त्यसपछि कहाँ जाने त ? भारतभन्दा शान्त ठाउँ । त्यत्तिकैमा केहीले उनलाई खोजेको जस्तो शान्ति र आध्यात्मिकता नेपालमा पाउन सक्छौ भने । नेपालका बारेमा उनलाई केही जानकारी थिएन ।


जब कि त्यसताका भारतमा आउने विदेशीहरूमध्ये प्रायः सबैजसो दिल्ली, मुम्बई, आगरा, कोलकाताजस्ता सहरमा जाने गर्थे । किनकि गाउँ जान सहज थिएन । बिजुली, पानी र सडकलगायतका पूर्वाधारहरू थिएनन् । खर्चका हिसाबले पनि त्यस्ता ठाउँहरू खोज्न सहज थिएन । त्योभन्दा उनलाई नेपाल जान सहज भयो । दिल्लीलगायतका सहरको चर्को गर्मीबाट केही राहत खोजिरहेका बेला काठमाडौं बिल्कुल फरक थियो । विगततिर फर्किँदै उनले भने, ‘ताजा हावा र बिल्कुलै शान्त र सुन्दर ठाउँ । सबैभन्दा आकर्षक थियो त्यहाँको भूगोल नै । अति सुन्दर डाँडाकाँडा, हिमाल ।’ नेपाली समाज भारतीयजस्तो खुला नभए पनि उनलाई त्यहाँका मानिसहरू भने मिलनसार लागेछन् । विशेषगरी हिमालमा बस्नेहरू अरूभन्दा भिन्न स्वभावको लागेछन् एकदम शान्त, कम बोल्ने । खालि अरूलाई नियाल्ने मात्र र निकै सरल ।


‘काठमाडौं त मलाई मन्दिरहरूकै सहरजस्तो लाग्यो । जताततै मन्दिरैमन्दिर । थाहा छैन अहिले कस्तो छ ?’ उनले भने ।
उनलाई नेपालमा शान्ति खोज्न त्यति गाह्रो भएन । भारतमा जस्तो भीडभाडलाई छिचोल्नुपर्ने अवस्था थिएन । त्यतिबेला नेपालमा आफूले खोजेकै जस्तो आध्यात्मिकता र शान्ति अनुभूत गरेको उनी बताउँछन् । उनी काठमाडौं पुग्दा त्यतिबेला हिप्पीहरूको दुनियाँ थियो । हुन त उनी आफैं पनि हिप्पीहरूकै शैलीमा घरबाट हिँडेका थिए । मन्दिरका छेउछाउ सबैतिर हिप्पी । अंग्रेजी बोल्ने, धूवाँ उडाउने र संगीतको धुनमा मस्त । ‘हिप्पीहरूलाई हेर्न आउने नेपालीहरू भने अचम्म मानेर हेर्थे । उनीहरूको अनुहारबाट थाहा हुन्थ्यो, त्यो आश्चर्यपन’ उनले सम्झिए ।


उनीजस्तै शान्ति र आध्यात्मिकताको खोजीमा रहेका ती हिप्पीहरूमध्ये अधिकांश निराश भएर फर्के । कसैले आफूलाई नशामै सिध्याए । कोही गुरुहरूको शरणमा पुगे । उनी न स्वदेश फर्किए न त कसैको शरणमै पुगे । बरु केही दिन काठमाडौंका गल्ली चहारे । त्यसपछि पोखरातिर लागे । पोखरामा फेवातालमा डुंगा सयरदेखि अन्नपूर्ण आधारशिविरसम्म पैदलयात्रा सबै भ्याए । ‘अन्नपूर्ण आधार शिविर पुग्दा आनन्द बेग्लै थियो । त्यतिबेला पोखराबाट जाने ट्रेल थियो । सुरुमा त सकिन्छ भन्ने लाग्ने । तर, जति माथि उक्लँदै गयो त्यसपछि भने हामी पश्चिमाहरूलाई गाह्रो हुने रहेछ । बिस्तारै र बिसाउँदै उक्लिनुपर्ने रहेछ,’ उनी भन्दै थिए ।


हिमालले मात्र होइन, त्यहाँका स्थानीयहरूको आत्मीयताले पनि उनलाई लोभ्यायो । उनी हतारमा थिएनन् । त्यही भएर एउटै गाउँमा महिना दिनसम्म बिताए । त्यसपछि मात्र अर्को गाउँ । ‘त्यहाँको गाउँमा बसेको अहिले पनि सम्झिन्छु । जहाँ घरको बीचमा चुल्हो हुन्थ्यो । चिया पकाइन्थ्यो । त्यसैको छेउमा सुत्थ्यौं । निकै सरल जीवन थियो त्यो । त्यसले पनि मलाई आध्यात्मिकताको नजिक पुर्‍याएको अनुभूति दिन्थ्यो,’ उनले भने ।


हिमाली क्षेत्रको हावापानीसँग अभ्यस्त नभएकाले उनी धेरै हिँड्न भने सक्दैनथे । त्यही भएर पनि धेरै ठाउँमा बस्दै–बस्दै उक्लिए । जसले गर्दा उनको धेरै मानिससँग चिनजान भयो । ‘हिमालको पुछार पुग्नु पनि अचम्म हुँदो रहेछ । छेउमै जस्तै लाग्ने तर जति हिँडे पनि नआउने,’ उनले भने ।


नेपालको कुरा गर्दा उनी रोमाञ्चित देखिन्थे । ‘अहिले पनि सम्झँदा आनन्द आउँछ । नेपालले नै मलाई अरू दुनियाँ पनि हुन सक्छ घुम्नका लागि भन्ने ज्ञान र प्रेरणा दियौं । जसरी भारत आएपछि नेपालका बारेमा थाहा पाउने मौका पाए, त्यसैगरी नेपाल गएपछि मलाई बोध भयो । यसरी नै अरू कति ठाउँ होलान्, जहाँ पनि यस्तै किसिमको आनन्द हुन सक्छ,’ उनले भने ।


‘यस पटक पहिले भारत घुम्छु अनि नेपाल त छँदै छ नि,’ कुराकानी टुंग्याउँदै वाल्टरले भने ‘सी यु सुन इन काठमाडौं ।’

प्रकाशित : भाद्र ७, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?