कालिन काल

राजु घिसिङ

अखिल नेपाल फुटबल संघ (एन्फा) को भ्रष्टाचार काण्ड र अन्तर्राष्ट्रिय खेलमा खेलाडीको मिलेमतो प्रकरणले नेपाली फुटबल बदनाम भएलगत्तैको वर्ष हो, सन् २०१६  । मैदानभित्र र बाहिरको संकटका बाबजुद पनि यो वर्ष नेपाली फुटबलका लागि स्वर्णिम बनेको थियो ।

कालिन काल

ढाकामा बंगबन्धु गोल्डकपको उपाधि जित्यो, जुन राष्ट्रिय टिमले २३ वर्षयता हात पारेको पहिलो उपाधि बन्यो । यू–२३ टिमले गुवहाटीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णपदक जित्यो । र, राष्ट्रिय टिमले कुचिङ (मलेसिया) मा एएफसी सोलिडारिटी कप । एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता सोलिडारिटी कप नेपाली फुटबल इतिहासकै सबभन्दा ठूलो उपलब्धि हो ।


बंगबन्धु र १२ औं सागमा नेपाली टिमको कप्तान थिए, विराज महर्जन । नेपालका १५ औं कप्तान अनिल गुरुङ पहिलो रोजाइमा नपरेपछि सोलिडारिटी कपमा पनि विराजले नै ‘आर्मब्यान्ड’ लगाउने अवसर पाएका थिए । महत्त्वाकांक्षी परियोजना एन्फा एकेडेमीको दोस्रो ब्याचका विराजको सफल कप्तानको रूपमा सर्वत्र प्रशंसा र सम्मान भइरह्यो । मैदानमा भने उनको प्रदर्शन खस्किँदै गइहरेको थियो । त्यसबारे उनी आफैं पनि सचेत थिए । एक दशक लेफ्ट–ब्याकमा खेलेपछि आवश्यकताअनुसार राइट–ब्याकमा खेलिरहेका उनले आफ्नो गल्तीमा अरू डिफेन्सले बेहोरेको तनावबारे राम्ररी बुझेका थिए । उनले पुनः उत्कृष्ट लयमा फर्किने वाचा पनि गरे । तर, उनले लय समात्न सकेनन् । परिणामतः टिमबाटै बाहिरिनुपर्‍यो ।


पासपोर्टअनुसार विराज भर्खर २९ वर्षमा छन् । यो उमेर व्यावसायिक फुटबलमा करिअरकै उत्कृष्ट लयमा रहनुपर्ने अवस्था हो । विश्वव्यापी यो चलन विराजको हकमा देखिएन । बंगबन्धु र सोलिडारिटी कपको उपाधि यात्रामा पनि उनको गल्तीमा नेपाली टिमले गोल बेहोर्नुपरेको थियो । कुचिङको सफलतापछि नसोचिएको रूपमा पाएको एसियन कप छनोटका खेलहरूमा पनि विराजको स्तर देखिएन । उनी सहजै ‘बिट’ भइरहेका थिए र उनकै कारण विपक्षीले थुप्रै पेनाल्टी पनि पाए । तीन वर्षयता नियमित रूपमा प्रदर्शन ओरालो लागे पनि प्रशिक्षकरू बालगोपाल महर्जन र ग्योतोकु कोजीले टिममा त के ‘बेन्च’ मा पनि विराजको विकल्प देखेनन् ।


कर्माछिरिङ शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले फुटबल राजनीतिको सत्तामा पुगेको दस महिनापछि (फागुन २०७५) मा स्विडिस योहान कालिनलाई दुई वर्षका लागि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरियो । त्यसयता उनले चार खेलमा नेपाली टिमलाई मैदानमा उतारेका छन् । पहिलो खेलमै हामीभन्दा बलियो मानिएको कुवेतलाई उसैको मैदानमा गोलरहित रोक्यो । वास्तवमा त्यो मैत्रीपूर्ण खेलको बारबरी नतिजा नेपालका लागि जितजस्तै थियो । कुवेत सिटीमै भएको दोस्रो खेल भने पेनाल्टी गोलको सहयोगमा कुवेतले १–० ले जित्यो । त्यस खेलमा कालिनले विराजलाई ८७ औं मिनेटमा निकाल्दै रवि सिलवाललाई खेलाएका थिए । वास्तवमा त्यो परिवर्तन विराजका लागि लय समात्नलाई दिइएको चेतावनीजस्तै थियो । कालिनले बुकित जलिलमा मलेसियाविरुद्ध २–० ले हारेको खेलमा विराजलाई पूरा समय खेलाए । त्यसको चार दिनभित्रै काओस्युङमा चाइनिज ताइपेईविरुद्ध १–१ भएको खेलमा विराज बेन्चमै सीमित भए । उनको स्थानमा अजित भण्डारीलाई पूरा समय खेलाइएको थियो ।


अनिल गुरुङले संन्यास लिएपछि राष्ट्रिय टिमका सबभन्दा सिनियर खेलाडी विराज नै हुन् । २५ मार्च, २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल मार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका विराज सबभन्दा बढी ७७ क्याप जित्ने नेपाली खेलाडी पनि हुन् । यिनै कप्तान विश्वकप २०२२ छनोटको तयारीमा मलेसियन सुपरलिग च्याम्पिन जोहर दारुल ता’ जिमविरुद्ध हुने खेलका लागि २३ सदस्यीय नेपाल टिममा परेनन् । ‘फुटबलमा प्रतिस्पर्धा कडा छ । त्यसमा विराज पछाडि पर्नु ठूलो कुरा होइन,’ प्रशिक्षक कालिनले प्रस्ट्याए, ‘फिटनेस एउटा पक्ष हो । तर, प्रशिक्षणमा विराजभन्दा अरू खेलाडीहरू उत्कृष्ट र मिहिनेती देखिए ।’


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा राष्ट्रिय टिमको प्रशिक्षण भइरहेको बेला विराज अमेरिका भ्रमणमा थिए । त्यसले पनि छनोटमा उनलाई समस्या पारेको हुन सक्छ । उनी १९ भदौमा कुवेतविरुद्ध हुने विश्वकप छनोटको खेलमा फर्कन नसक्ने भन्ने छैन । तर, अभ्यासमा गरिएको प्रदर्शनको आधारमा प्रशिक्षक कालिनले राइट–ब्याकमा उत्कृष्ट तीन विकल्प अजित भण्डारी, दिनेश राजवंशी र सरोज दाहाल भएको बताइसकेका छन् । जोहर दारुलविरुद्ध सोमबार पहिलो रोजाइमा कसले खेल्छन् भन्ने कालिनले प्रस्ट भनेका छैनन् । उनले स्टार स्ट्राइकर विमल घर्तीमगरलाई पनि दुई महिनाअघि मलेसिया र ताइपेई यात्रामा समावेश गरेका थिएनन् ।


मिहिनेतीलाई मौका
माल्दिभ्सको क्लब टीसी स्पोर्ट्समा खेलिरहेका विमल र विराजबारे कालिनले गरेको निर्णयले के प्रस्ट पार्छ भने एकपल्ट चम्किएको नामले मात्रै राष्ट्रिय टिममा स्थान पाउन सकिँदैन । उनले इन्डोनेसियन लिग वान क्लब पर्सिजा जकार्तामा रहेका मिडफिल्डर रोहित चन्द र जापानी तेस्रो डिभिजनको टिममा ट्रायल दिन गएका गोलकिपर किरण चेम्जोङलाई भने यसपालिको मलेसिया यात्रामा समावेश गरेनन् । राष्ट्रिय टिमको पहिलो रोजाइमै यी दुईको स्थान लिन सक्ने स्तरका अरू खेलाडी पनि छैनन् । त्यसैले कालिनले रोहित र किरणलाई कुवेत यात्रामा बोलाउने निश्चित छ । उनीहरूको स्थानमा जोहर दारुलविरुद्ध दुई खेलाडीले अवसर पाउँदै छन्, जुन राम्रो एक्सपोजर हुन सक्छ । विराज बेन्चमा छँदा ताइपेईविरुद्ध किरणले ‘आर्मब्यान्ड’ लगाएका थिए । त्यसैले सोमबारको खेल कप्तान खोजीको परीक्षण पनि हुन सक्छ ।


तीन वर्षयता एन्फाको राजनीतिमा आएको परिवर्तनजस्तै राष्ट्रिय टिममा पनि ठूलै फेरबदल देखिएको छ । गत वर्ष बंगलादेशमा भएको साफ च्याम्पियनसिप २०१८ को टिमका सात खेलाडी बाहिरिएका छन्् । सोलिडारिटी कप २०१६ विजेता टिमका दस खेलाडी अहिलेको टिममा छैनन् । टिम छनोटमा मात्र होइन, कालिनले पहिलो रोजाइका खेलाडी छनोटमा पनि भूकम्प नै ल्याइदिए । उनले स्थापित वा ठूला नामका खेलाडीहरूलाई अभ्यासमा गर्ने प्रदर्शन र मिहिनेतको आधारमा मात्रै प्रतिस्पर्धामा अवसर दिन थले । पहिला सिनियर खेलाडीले सुरुमै खेल्न पाउने चलनलाई उनले फेरिदिए । फिटनेस, मिहिनेत र प्रदर्शनको आधारमा नयाँ–नयाँ खेलाडीहरूले अवसर पाइरहेका छन् ।


युवा फरवार्ड अभिषेक रिजालले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेपछि दोस्रो खेलमै ताइपेईविरुद्ध गोल गरे । त्यसअघि ६ खेलमा नेपाली टिमले गोल गर्न सकेको थिएन । घरेलु प्रतियोगितामा उत्कृष्ट लयमा रहेका देवेन्द्र तामाङले कालिनको आगमनसँगै सेन्टरब्याकमा देवेन्द्र तामाङले नियमित स्थान पाए । रवि सिलवाल, रविशंकर पासवान, सरोज दाहाल, सुमन अर्याल, सन्तोष तामाङ, आशिष लामा, तेज तामाङ, विमल रानाले पनि खेल्ने अवसर पाउन थाले । बंगबन्धु, १२ औं साग र सोलिडारिटी कपको उपाधि यात्राका हिरो नवयुग श्रेष्ठको पनि पहिलो रोजाइमा स्थान अनिश्चित भयो । उनले कुवेत (दोस्रो खेल) र ताइपेईविरुद्ध दोस्रो हाफमा मात्रै खेल्ने मौका पाएका थिए । उनले पहिलो रोजाइमा खेल्न युवा फरवार्डहरू विमल राना, अभिषेक रिजाल र विमल घर्तीमगरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमानुसार फुटबल संघले चाहेमा राष्ट्रिय टिमले चाहेमा क्लबले खेलाडीलाई चार दिनअघिसम्म उपलब्ध गराउनुपर्छ । तर, हाम्रो हाम्रो लिग नियमित छैन । भएको पनि साह्रै छोटो अवधिको । नकआउट प्रतयोगिताको सिजनको पनि कुनै सीमा छैन । क्लबहरू कति व्यस्त हुने भन्ने कुनै क्यालेन्डर छैन । त्यसैले नेपाली खेलाडीहरू राष्ट्रिय टिमले मैदानमा खेल्नुपर्ने बेलासम्म फिटनेसका लागि संघर्ष गरिरहेका हुन्छन् । यसबाट प्रशिक्षक कालिन पनि आजित छन् ।


आफ्नै परीक्षा
५ सेप्टेम्बर, २०१९ देखि जुन २०२० सम्म हुने विश्वकप छनोटमा नेपालले अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेतविरुद्ध खेल्दै छ । फिफा वरीयता र स्तरको आधारमा चारै प्रतिद्वन्द्वी नेपालभन्दा माथिल्लो स्तरका हुन् । यस्तो अवसर नेपालले दुर्लभै पाउने गरेको छ । त्यसैले समूहमा नेपाललाई ‘अन्डरडग’ मान्छन्, कालिन । एसियन कप २०२३ को छनोटको रूपमा पनि रहेको यस विश्वकप छनोटमा उनले अर्को चरणमा पुग्ने महत्त्वाकांक्षा व्यक्त गरेका छैनन् । कुनै पनि खेल जित्ने दाबी गरेका छैनन् । वाचा भने गरेका छन्, हरेक खेलमा सुधार गर्ने । उनका लागि चार मैत्रीपूर्ण खेल अभ्यासको रूपमा थियो र अब वास्तविक परीक्षा विश्वकप छनोटमा हुँदै छ । पाँच टिमको समूहमा कुनै एक देशलाई उछिन्दै एसियन कप छनोटको प्ले–अफ वा अर्को चरणमा पुग्न सक्यो भने पनि त्यो नेपालका लागि ठूलै उपलब्धि हुनेछ ।


लामो अवधि चल्ने व्यवस्थित लिग नभएको अवस्थामा नेपाली फुटबलको जग बलियो नभएको पक्कै हो । प्रशिक्षक कालिन आफैं पनि त्यस्तो प्रख्यात प्रशिक्षक होइनन्, न त अनुभवी नै । खेलाडीको रूपमा पनि उनलाई नियाल्न मिल्दैन । ४१ वर्षीय उनलाई विप्लव गौतमले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० मा मछिन्द्र क्लबको प्रशिक्षकको रूपमा ल्याएका थिए । मछिन्द्रको औसत टिमलाई पनि मिहिनेत र रणनीतिक खेल मार्फत लिगको उपविजेता बनाए । त्यसपछि उनी स्विडेन फर्केर अरू काममै लागे । मछिन्द्र हेर्दा नेपाली संस्कृतिलाई नजिकबाट नियालेको आधारमै उनलाई एन्फाले राष्ट्रिय टिम सम्हाल्ने अवसर दिएको हो । त्यसअघि उनले स्विडिस फुटबलको पाँचौं तहका एमेच्योर क्लब बर्गनासेट्स एआईके र नोटभिकेन्स आईकेको प्रशिक्षकको रूपमा काम गरेका थिए ।


कालिनले मछिन्द्रमा छँदा अनुशासनलाई कडाइसाथ लागू गरेका थिए । उनले स्टार खेलाडीलाई पनि अनुशासन उल्लंघन गरेको अर्को खेलमा मैदानबाहिरै राखेका थिए । पाँच वर्षपछि नेपाल फर्किंदा पनि उनको काम गर्ने शैली उस्तै छ । त्यसैले उनीसँग राष्ट्रिय टिमका खेलाडीहरू ‘डराउने’ गर्छन् । उनी परम्परागत स्कान्डेनेभियन प्रशिक्षक हुन् । खेलाडीसँग सम्बन्ध विस्तार गर्ने नेतृत्वमा विश्वास गर्छन् । सञ्चार, उत्साह र सम्मानलाई आधार बनाएर उनी नेतृत्वको काम गर्छन् । खेलाडीको अधिकतम क्षमलाई मैदानमा देखाउने खुबी आफूमा रहेको दाबी गर्ने उनी टिमलाई संगठित राख्न चाहन्छन् ।


डिफेन्सलाई बलियो बनाउने किनकि गोल गर्न दिइएन भने हारिदैन भन्ने उनको खेल शैली हो । त्यसैले उनी डिफेन्सलाई जतिसक्दो चुस्त राख्न चाहन्छन् । एक्लो फरवार्डलाई मैदानमा राख्दै काउन्टर अट्याकमा अगाडि बढ्ने रणनीति स्कान्डनेभियन फुटबलको विशेषता हो । यसमा विपक्षीलाई खेल्ने समय र स्थान नदिने रणनीति त विश्व फुटबलमा सर्वमान्य सिद्धान्त नै हो । कालिनको स्कान्डेनेभियन सिद्धान्तमा नेपाली टिमले लोभलाग्दो खेल देखाउन नसक्ला । आक्रमक खेल नखेल्ला । तर, ठूला प्रतिद्वन्द्वीलाई कम गोलमा रोक्न भने सक्नेछ । प्रतिबन्ध (सन् २०१५ देखि २०१७ सम्म) खुलेपछि जोर्डन, क्यामरुन, इजिप्ट, इराक, अस्ट्रेलिया, साउदी अरेबिया, बहराइनजस्ता स्तरीय टिमविरुद्ध नियमित खेलेको कुवेतविरुद्ध उसैको भूमिमा बराबरी नतिजा (मैत्रीपूर्ण खेल) त्यसैको संकेत हो । एसियन कप च्याम्पियन भइसकेका अस्ट्रेलिया, कुवेत, एसियाली खेलकुदमा दुई स्वर्ण जितेका चाइनिज ताइपेई र महादेशीय शक्ति बन्ने दौडमा रहेको जोर्डनविरुद्धको खेलले कालिन काललाई प्रस्ट पार्नेछ ।
Twitter: @rghising

प्रकाशित : भाद्र ७, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?