बलिउडको धर्म के ?

भारतमा केही वर्षअघिसम्म बलिउडलाई सबभन्दा सेक्युलर क्षेत्र मानिन्थ्यो  । सन् १९४७ मा बेलायतको अधीनबाट स्वतन्त्र भएर एउटा नयाँ राष्ट्रका रूपमा जमेदेखि नै भारतले आफ्नो राजनीतिक व्यवहारमा धर्मलाई मुख्य स्थान नदिने नीति लिएको थियो ।

बलिउडको धर्म के ?

जवाहरलाल नेहरूले पहिलो प्रधानमन्त्रीका रूपमा सेक्युलरिज्मलाई नयाँ देशका निर्देशक सिद्धान्तहरूमा सामेल गरेका थिए । यसैलाई आधार बनाएर करिब ५ सय ६५ वटा राज्य रजौटा (जो विभिन्न धर्मका राजा वा नबाबहरूको नेतृत्वमा थिए) लाई एउटै संघमा गाभेका थिए । अन्त्यमा आएर हैदरावाद, निजामगढ र कश्मीर तीनवटा राज्य मात्रै मिल्न बाँकी थिए । तीमध्येको कश्मीरमा लामो समयदेखि विवाद थियो । हालै कश्मीरका लागि व्यवस्था गरिएको संविधानको धारा ३७० खारेज गरेर भाजपा सरकारले यसको विशेष अधिकार समाप्त गर्‍यो । कश्मीरलाई आफ्नो एउटा हिस्सा बनायो ।


यो विषयमाथि फिल्म बनाउन अहिले बलिउडमा ठूलो प्रतिस्पर्धा छ । एक दर्जनजति फिल्म निर्माता कश्मीर–विलयको यस विषयमा राष्ट्रवादी फिल्म बनाउने होडमा उत्रिएका छन् । गत वर्ष कश्मीरकै विषय भएको सानो बजेटको फिल्म ‘राजी’ ले ठूलो व्यापार गरेको थियो । यस वर्षको जनवरीमा आएको यस्तै अर्को कश्मीरकै विषयको फिल्म ‘उरी ः द सर्जिकल स्ट्राइक’ ले पनि बलिउडमा रेकर्ड तोड व्यापार गर्‍यो । गजबको कुरा त के छ भने, हिन्दू धर्मलाई राष्ट्रिय धर्म बनाउनुपर्ने मत बोकेको दल भारतीय जनता पार्टीको सरकार बनेदेखि बलिउडको पनि जग हल्लिएको देखिन्छ । जुन धर्मनिरपेक्षताका लागि बलिउड प्रसिद्ध थियो, अहिले त्यो बलिउडको धर्म सोध्न थालिएको छ । बलिउड तिम्रो धर्म के हो ?


जब राजनीतिमा धर्मले भोट बटुल्ने काम गर्छ, राजनीतिले आफ्नो धर्म छोड्छ । त्यस्तै जब फिल्ममा धर्मले टिकट बिक्री गराउने काम गर्छ, त्यसबेला फिल्मले आफ्नो सौन्दर्य गुमाउँछ । बलिउडचाहिँ अहिले यी दुवैको खेल्ने मैदान बनेको छ । पछिल्ला समयमा बलिउडमा बनिरहेका सरकारी प्रोपोगन्डा फिल्महरूको गतिलो समीक्षा गर्ने हो भने यस्तो लाग्छ, यी फिल्म कुनै स्वतन्त्र निर्माताले होइन, सरकारले नै निर्माण गरेका हुन् । यसमा बलिउडको अर्को पाटो पनि हेर्नु आवश्यक छ । त्यो के भने, आखिर बलिउडमा फिल्म निर्माण कसले गरिरहेको छ ? तिनको निर्देशन कसले गरिरहेको छ ? तिनमा अभिनय गर्नेको पृष्ठभूमि के हो ?


मोटामोटी हिसाब कस्तो छ भने वर्षभरिमा सयौं फिल्म बने पनि बलिउड फिल्मको आधा व्यापार जम्मा ६ जना स्टारका फिल्मले धान्छन् । ती स्टार हुन्— आमीर खान, सलमान खान, शाहरूख खान, अजय देवगन, अक्षय कुमार र ऋत्विक रोशन । फिल्म निर्माणमा पनि मुख्यतः चार–पाँचवटा कर्पोरेट कम्पनीको कब्जा छ । अम्बानीको रिलायन्स, भूषण कुमारको टी सिरिज, सुभाष चन्द्राको जी स्टुडियो, करण जौहरको धर्मा प्रोडक्सन, इरोज र अस्टविनायक सिनेभिजन । यस्तै हलिउडका फक्स, युनिभर्सल र सोनीजस्ता स्टुडियोले पनि बलिउड फिल्म निर्माण र वितरणमा चाख लिइरहेका छन् । रोहित सेट्टी, विधु विनोद चोपडा, बोनी कपुर, आर बाल्की तथा आनन्द एल रोयजस्ता केही निर्माता निर्देशक छन्, जसले ठूला स्टुडियोसँग मिलेर फिल्म बनाइरहेका छन् ।


माथि उल्लेख गरिएका स्टारबाहेक बलिउडमा नयाँ छिमलका हिरोहरू पनि छन्— रणवीर कपुर, रनवीर सिंह, विक्की कौशल, आयुश्मान खुराना, राजकुमार राव । (हिरोइनबारे यहाँ किन उल्लेख गरिएको छैन भने बलिउडमा हिरोइनकै नाममा फिल्मले व्यापार गर्ने खासै ठानिदैन, कंगना रनावतजस्ता केहीलाई अपवाद मानिन्छ ।) नयाँ लटका यी सबैको एउटा विशेषता छ, यी सबै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पक्षधर हुन् । केही त भक्त नै छन् । करण जौहरजस्ता निर्माता निर्देशकको अगुवाइमा यिनीहरू बेलाबेला मोदीको प्रशस्ती गाउन उनको निवासमा समेत पुग्छन् ।


अम्बानी जसले बलिउडको सबभन्दा ठूलो फिल्म निर्माण कम्पनी रिलायन्स र करिब दुई दर्जन न्युज च्यानल चलाएको छ, यो समूह मोदीको सबभन्दा ठूलो हतियार हो । यो हतियार प्रयोग गरेरै मोदी सरकारले बलिउडलाई आफ्नो कब्जामा लिएको छ । जसरी बाबा रामदेवका माध्यमबाट घरेलु उद्योग र अर्नव गोस्वामीजस्ता पत्रकारका माध्यमबाट ‘न्युजआवर’ लाई कब्जामा लिएको छ । अनुपम खेर, मधुर भण्डारकर, विवेक अग्निहोत्री, अशोक पण्डितजस्ता केही मोदी सरकारका प्रवक्ता छन्, जसले ट्विटरदेखि टीभी सोसम्म मोदीको नाममा कंकलासवत गर्छन् । कुनै तर्क पाएनन् भने यिनीहरू प्रधानमन्त्री नै देशको नाम होसम्म भनिदिन भ्याउँछन् ।


जब धर्मको नाममा मानिसहरूको दिनदहाडै हत्या हुन्छ, गौमांस राखेको आशंकामा मात्र विधर्मीहरू मारिन्छन्, जब मोदीको कुख्यात गुजरात काण्डबारे चर्चा हुन्छ, अनि बलिउडको धर्म फेरि जाग्छ । राष्ट्रवाद र हिन्दू धर्मको मिश्रणबाट अहिले जुन नयाँ बलिउड बनिरहेको छ, त्यसले प्रस्ट देखिने गरी धर्मको जामा परिहिरएको छ । जब गौरी सन्देजस्ता बौद्धिक प्रत्रकारको हत्या हुन्छ, तब प्रकाश राजजस्ता कलाकारको चित्त दुख्छ । उनी मोदी सरकारले प्रगतिशील र खुला विचार राख्नेहरूको रक्षाा गर्न नसकेको भनेर सार्वजनिक मञ्चमा बोल्छन् । त्यसपछि उनलाई फिल्मको अफर आउन बन्द हुन्छ । ‘सिंघम’ देखि ‘दबंग २’ सम्मका बलिउडका सबभन्दा नामी भिलेन एकाएक पर्दाबाट गायब हुन्छ । अरू त अरू, धर्मकै कारण आफूलाई भारतमा असुरक्षा महसुस हुन थालेको भनेर बोलेपछि मुसलमान नसिरुद्धिन शाहलाई नयाँ फिल्मको अफर आउन बन्द हुन्छ । भारतका सर्वश्रेष्ठ अभिनेता भनेर समीक्षकहरूले मानेका शाह ‘मलाई कसैले काम दिँदैन’ भनेर भन्न बाध्य छन् ।


धर्मका नाममा देशमा अराजकता बढेको र सरकारले यसलाई नियन्त्रण गर्न कुनै चासो नदिएको भनेर चिन्ता व्यक्त गर्ने अनुराग कश्यप सामाजिक सञ्जालमा आफ्नी आमा र छोरीलाई मार्ने धम्की आएको भन्दै सञ्जालबाटै टाढा रहने बताउँछन् । अर्पणा सेनजस्ती विख्यात फिल्ममेकरलाई न्युज एंकरहरू अराष्ट्रिय र पाकिस्तानसँग मिलेकी भनेर आरोप लगाउँछन् । अनि क्यानडाको नागरिकता खल्तीमा हालेका मोदी भारतका झन्डाबाहक अक्षयकुमारको ‘सबभन्दा पहिला मंगलमा भारत पुगेको’ दाबी गर्ने फिल्मको अन्त्यमा ठूलो पर्दामा मोदीकै भाषण आइपुग्छ । उनी भन्छन्, ‘हलिउडको एउटा फिल्मको बजेटभन्दा कम बजेटमा हामी मंगलमा पुग्यौं ।’ जबकि वास्तविकतामा २०१३ मा पठाइएको भारतको यान अहिलेसम्म पनि मंगलको बाटोमै घुमिरहेको छ । यस्तो यान अमेरिकाले १९६४ र रुसले १९७१ मै पठाइसकेका थिए ।


आत्मरति र अति उत्साह मसला बलिउड फिल्मका मुख्य दुई सूत्र हुन् । यी दुई सूत्रलाई कसरी आफ्नो राजनीतिका लागि प्रयोग गर्ने भन्ने कुरा भाजपा सरकारलाई राम्ररी थाहा छ । त्यसैले त राष्ट्रियताको बखान, सिपाहीको वीरगाथाको वर्णन गरिएका फिल्ममा कतै न कतै मोदी जोडिन पुग्छन् । यस्ता फिल्ममा धेरै देखिएका अक्षय कुमारलाई अहिलेसम्म भाजपाले क्यानडाको नागरिक भनेर खेदेको छैन । जबकि आमीर खान र शाहरूख खानले भारतमा धार्मिक अहिष्णुता बढेको भन्दा उनीहरूलाई पाकिस्तान जाने टिकट काट्न यसका कार्यकर्ता उद्यत थिए । उल्टै अक्षय कुमारले त चुनावको मुखमा मोदीको अन्तर्वार्ता लिनसमेत पाए । यस्तो मौका अघिल्लो पटक अर्को राष्ट्रवादी झन्डा बोकेका अजय देवगनले पाएका थिए ।


अहिलेको बलिउड हेर्दा यहाँ जम्मा दुई किसिमका फिल्म बनिरहेजस्तो लाग्छ— कि त मसला कमेडी कि त मसला राष्ट्रवादी । दुवैको उद्देश्य एउटै सकेसम्म पैसा कमाउने । अनि सिनेमाको सौन्दर्य नि ? कथा वाचनमा नयाँ शैली नि ? मानिसहरूको मनोविज्ञान र बदलिँदो समयमा उनीहरूको जीवनमा आएको परिवर्तनको झलक खोइ नि ? त्यो काम जापान, चीन र कोरियाका फिल्मले गरिहाल्छन् नि भनेजसरी बलिउड तामझाममा व्यस्त त । त्यसै त पर्दामा कि त वार–हिरो देखिन्छन्, कि कुनै समयमा भारतलाई ठूलो सफलता दिलाएको ठानिएका मानिसहरूको इतिहास देखिन्छ । सहरी पुँजीवादले आक्रान्त भारत र आमआदमी भनिने सर्वसाधारण बलिउडबाट गायबै भए । यी गायब भएको चिन्ता जनाउने जावेद अख्तर–शबाना आजमीजस्ता कलाकारहरू पनि टक–सोमा मात्रै देखिने हुँदै छन् । रोचक त के छ भने अन्तिम पटक बलिउडमा यस्ता मानिसको कथा जोडदार ढंगले भनेको फिल्म ‘गली बोय’ को निर्माण यिनै अख्तरका छोरा फरहान र निर्देशन छोरी जोयाले गरेकी थिइन् । ‘उठ जा अपनी राख से...’ भन्दै जावेदले नै यसको गीत लेखेका थिए ।


यसैसँग जोडिने अरू प्रश्न पनि छन्— के बलिउड सरकारको ‘माउथपिस’ बनिरहेको हो ? देशलाई बलियो बनाउने नाममा कुनै पार्टी, विचारधारा वा एउटा नेताको गुणगानमा आफ्नो व्यापार र सुरक्षा देखेर बलिउड सन्तुष्ट भएको हो ? के कुनै एउटा नेताको भक्त हुनु भनेको देशभक्त हुनु हो ? के बलिउडले आफ्नो धर्म बताउन थालेको हो ?
एजेन्सी

प्रकाशित : भाद्र ७, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?