समीक्षाले कति बिगार्‍यो ?

रोशन शेरचन

साहित्यिक क्षेत्रमा राम्रा र अब्बल पुस्तकहरू आइरहेको छैन भन्ने चर्चा चुलिँदै गर्दा, स्टिभ जब्सको अन्तर्वार्ताको एउटा अंश सम्झनामा आयो  । जब्सको मत छ– जबसम्म दर्शकहरू सरदर वा निम्नस्तरका टीभी कार्यक्रमहरू हेरिरहन्छन्, त्यस्ता स्तरका धारावाहिकहरू बनिरहन्छन् ।

समीक्षाले कति बिगार्‍यो ?

संकेत स्पष्ट छ, अब्बल कोटीका कार्यक्रमहरू सिर्जना नहुनमा आमदर्शकको सरदरस्तरको चेतना जिम्मेवार छ । अब्बल चेतना भए, सिर्जना अब्बल । चेतना कमजोर भए, सिर्जना कमजोर । बजार अर्थतन्त्रको वर्चस्व रहेको समयमा उक्त जवाफ सत्यको धेरै नजिक लाग्छ । बजार भनेकै माग र आपूर्तिको अन्तरक्रिया हो । अद्वितीय आविष्कारक जब्सको उक्त विचार अर्थपूर्ण छ ।


टीभी सिरियलको स्थानमा हामी पुस्तक राख्न सक्छौं । दर्शकको स्थानमा पाठक । त्यस वाक्यलाई परिमार्जित गरी भन्न सकिन्छ, जबसम्म अधिंकाश पाठकले सरदर स्तरको पुस्तक खोज्छन्, त्यही कोटीका पुस्तकहरू प्रकाशन भइरहन्छन् । यसमा अचम्भ भइरहनु पर्दैन । प्रकाशनगृहको ध्येय नै आफ्ना उत्पादन बढीभन्दा बढी बिक्रिी गर्नु हो । अपवादका लेखकहरू बजार र औसत पाठकको चेतनाबाट निरपेक्ष बस्छन् तर बजारमा जुन स्तरको माग छ, त्यसै माफिकको आपूर्ति भइछाड्छ । लेखकले गम्भीर भएर लेख्नुपर्छ । धेरै गुना अध्ययन गर्नुपर्छ । वरपरका समाज निरीक्षण गरी, त्यसबाट प्राप्त ज्ञान र अन्तरदृष्टि मिसाई लेखनलाई बलियो बनाउनुपर्छ । यस्ता सुझावहरू बारम्बार सुन्नमा आउँछ । निसन्देह यी राम्रा र उपयोगी सुझावहरू हुन् । यसमा शंका छैन । व्यक्तिगत तहमा लेखकले गर्न सक्ने र गर्नुपर्ने नै यही हो । त्यो अपरिहार्य छ तर पर्याप्त छैन । व्यक्तिगत तहको प्रयासलाई सामाजिक संरचनाले बल नदिँदासम्म त्यो दिगो हुँदैन । तसर्थ सामाजिक स्तरमै समीक्षक र समालोचकले कृतिको गुण दोष निरुपण नगरेसम्म, प्रस्ट भाषामा त्यसलाई नलेखेसम्म, पाठकको रुचिको स्तरलाई उन्नत बनाउन बल पुग्दैन । कमसल सिर्जनालाई सार्वजनिक रूपमा अस्वीकृत नगरेसम्म लेखकको सजिलो रचना सिर्जना गर्ने लालसामा दबाब पर्दैन । फलस्वरूप राम्रा र उत्कृष्ट पुस्तकहरू आउने सम्भावना क्षीण हुन्छ ।


राम्रा सिर्जनालाई प्रोत्साहन गर्न साहित्यले सिनेमा जगत्बाट सिक्न सक्ने यौटा पक्ष हो— क्रिटिक च्वाइस अवार्ड । साहित्यमा त्यस्तो अवार्ड वा सम्मान छैन । जहाँ समीक्षकहरूले स्वतन्त्रापूर्वक उत्कृष्ट कृतिको छनोट गरोस् । साहित्यिक क्षेत्रका अधिकांश छनोट प्रक्रिया पारदर्शी छैन । सम्मान गरिएको कारण पनि प्रस्ट सार्वजनिक गर्ने ल्याकत राख्दैनन् । पारदर्शी हुने साहसै जुटाउन सकेका छैनन् । त्यस्तै पुस्तक विमोचनमा निम्त्याइने अधिकांश वक्ताहरू लेखक वा प्रकाशकले चिनेका उही धारका व्यक्ति हुन्छन् । सिर्जनाको क्षेत्र जहाँ नवीनता सधैं महत्त्वपूर्ण मानिन्छ, त्यही नवीनतालाई स्थान हुँदैन । साहित्यलाई नजिकबाट नियाल्नेहरूलाई अघि नै थाहा हुन्छ, वक्ताले कुन लाइनमा बोल्छ । विस्मयलाई स्थान छैन । कुन मार्काको समीक्षा आउँछ, थाहा पाएपछि हताहत हुने सौन्दर्य नै हो । रूपपक्षमा हुरुक्क हुने लेखकहरूको त के कुरा, कला जोखिम हो भन्नेहरू प्रगतिशील लेखकहरू पनि फरक धारका वक्तालाई सुन्ने जोखिम मल्दैनन् ।


परिचित वक्ताले लेखकबारे बोल्दा वस्तुनिष्ठताको निर्वाह कठिन हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरूमा, लेखकलाई समीक्षक को हो ? जानकारी दिइँदैन । समीक्षकलाई पनि लेखकबारे थाहा दिइँदैन । अज्ञात राखिन्छ । एकअर्कामा जानकारी गराउँदा अवचेतनको तहमा भए पनि आग्रह पूर्वाग्रहले काम गर्ला र निष्पक्ष नहोला भन्ने आशंकामा दोहोरो अन्धो समीक्षा (डबल ब्लाइन्ड रिभ्यु) पद्वति अपनाइन्छ । समीक्षा जति वस्तुगत हुन्छ, उति निष्पक्षताको नजिक बस्छ । स्वार्थ बाझिने स्थिति उत्पन्न हुने अवस्थालाई सकभर रोकिन्छ ।


तर दुभार्ग्यवश हामीकहाँ मनोगत पक्षधरता क्यान्सरजस्तै फैलिरहेको छ । फरकमत सुन्न नचाहने चेतना जुनसुकै विचार समूहको होस्, संगठित रूपमा फैलिँदै छ । विद्रोही पक्ष पनि सत्तासीन भएपछि संस्थापन बन्दै त्यस प्रवृत्तिलाई संस्थागत गर्दै छ । व्यक्तिगत तहमै पनि, लेखकले प्रकाशनगृहलाई किन भन्दैन, फरक धारका समीक्षकलाई निम्त्याऊ ? सामान्यतया विमोचनमा तीन जना वक्ता बोलाइन्छ । कम्तीमा एक जना त फरकमतका वक्तालाई सुन्ने साहस गरौं । क्लोनकै लस्कर लगाइदिने ? प्रकाशनगृह र लेखकको स्वार्थ वस्तुतः फरक हुन्छ । प्रकाशनगृह स्वभावतः फरकमतको जोखिम लिन हच्किन्छन् । कारण फरकमतले पुस्तक बिक्रीमा असर पार्छ । तर, इमानदार लेखक सुदूर भविष्यको तयारीमा सुझाव र टिप्पणी पनि खोज्छ । तसर्थ वक्ता छान्ने कुरामा लेखकले सप्पै जिम्मा प्रकाशनगृहलाई दिन हुँदैन ।


यो सन्दर्भमा पोखराको र्‍यान्डम रिडर्स क्लबको प्रयास अनुकरणीय छ । उक्त क्लबले आयोजना गर्ने पुस्तक चर्चामा टिप्पणीकर्ता क्लबले नै छान्छ । त्यस्ता अन्य संस्था पनि होलान् । यो पद्वतिले लेखक र श्रोतामा खुल्दुली बाँकी जगाइराख्छ । अनपेक्षित र उपयोगी सुझाव आउने सम्भावना जिउँदो हुन्छ । र, सबभन्दा महत्त्वपूर्ण भिन्न दृष्टिकोणबाट आफ्नो रचना कस्तो देखिन्छ, बुझ्ने मौका मिल्छ । र्‍यान्डम रिडर्स क्लबले जहिलेसम्म त्यो पद्वतिलाई निरन्तरता दिन्छ, त्यसको भविष्य छ । अन्यथा हाम्रा वरपर दर्जनौं डायनोसर कोटीका संस्थाहरू छन् । आत्मा मरिसकेका । रुटिन कार्यक्रममात्र गर्ने । त्यस्ता संस्थाका गतिविधिहरू कर्मकाण्डभन्दा फरक छैन । अझै पनि मञ्चमा दस जनाले पुस्तक देखाएर लोकापर्ण गर्ने कार्यक्रमहरू चलिरहेकै छ ।


अहिले केही लेखक लोगो किन्ने प्रक्रियामा व्यस्त छन् । प्रकाशनगृह मागबमोजिम लोगो बेच्दै छन् । गुणवत्तामा ध्यान नपुगेका कैयन् यस्ता पुस्तकले पनि पाठकलाई निराशा बनाएको बुझ्न कठिन छैन । बजार खस्कनुमा यो एक प्रमुख कारण हो । पैसा दिएर भूमिका लेखाउने, पैसा लिँदै भूमिका लेख्ने, लोगो किन्ने र बेच्ने प्रवृत्तिहरू साहित्यक्षेत्रका भयंकर विषादी हुन् । लेखक, पाठक, समीक्षक र पत्रकारले यस्ता विषयमा खुलस्त आफ्ना धारणा सार्वजनिक नगरेसम्म व्यक्तिगत स्तरमा केही लेखक साधनारत् भए पनि संरचनागत तहमा खासै परिवर्तन आउँदैन ।


अधिकांश साहित्यिक संस्था लेखकप्रति यति प्रेमिल छन् कि, लेखकलाई प्रोत्साहन पो गर्ने हो भन्दै अप्ठ्यारो नै लाग्ने गरी प्रशंसा गरेको गरै गर्छन् । तारिफको गुच्छामात्र होइन, फेटा नै गुथाइदिन्छन् र उदीयमान लेखकलाई भ्रमित बनाइदिन्छन् । प्रोत्साहन भनेको सबल पक्षको प्रशंसा जति हो, त्योभन्दा बढी कमीकमजोरी र सीमा औल्याइदिनु पनि हो । जहिल्यै प्रशंसा मात्र गर्ने, सबलता मात्र देख्ने प्रवृत्तिले पनि साहित्यको गुणवत्तालाई अगाडि बढ्न अवरोध गरको सत्य हो । पाँच, दस वर्षको अन्तरालमा प्रशंसाको फूलपाती चढाएका लेखकहरूलाई हेर्न पर्छ, अधिकांश आधार शिविरमै लेक लागेर स्या स्या.. गरिरहेका हुन्छन् । त्यस्ता प्रवृत्तिहरूलाई नजिकबाट नियाल्नुपर्छ, विसंगति बोध हुन्छ । टाढाबाट हेर्दा साहित्यलाई सबल बनाउन सघाउने भनिएर बुझिएको आफ्नै धारणा खल्बलिन्छ । तर समीक्षात्मक लेखन मेरो विषय होइन भनी, सिर्जनात्मक लेखनमै सीमित रहने लेखकको हकमा मैले त्यसो भनेको हैन ।


के स्टिभ जब्सले भनेजस्तो हुन सम्भव छ त ? प्रश्न उभिन्छ । सायद सबभन्दा सही उत्तर होला— पक्कै सजिलो छैन तर असम्भव पनि छैन । लेखक, समीक्षक र गम्भीर पाठकले बढीभन्दा बढी वस्तुपरक भएर, आफूलाई लागेको कुरा प्रस्ट भन्नुपर्छ । यसले छलफल र संवाद गर्न विषयहरू उपलब्ध गराउँछ । सबैले आफूलाई लागेका कुराहरू प्रस्ट राखेपछि नै हो, आम धारणा बन्ने । वाद, प्रतिवाद र संवादको मार्ग स्थापित पद्वति नै हो । अन्तरक्रिया, संवाद र घर्षणबाट बन्ने धारणा नै बलियो र सही हुन्छ भन्ने दार्शनिक अवधारणामा वजन छ । प्रश्न कसको कुरा सही, कसको गलत भन्नेभन्दा पनि प्रस्टसँग आफ्ना धारणा राख्ने वातावरणलाई व्यावहारिक र स्वाभाविक बनाउँदै लग्ने कि नलग्ने भन्ने हो ।


निर्ममतापूर्वक आफ्नो धारणा र विचारहरू राख्ने संस्कृति विकास नभएसम्म र दर्शकले कमसल धारावाहिकको नकारात्मक प्रभाव थाहा नपाएसम्म त्यस्ता सिर्जना हेरिरहन्छ । उत्कृष्ट रचना पढिसकेपछि यस्ता रचना पनि हुँदा रहेछन्, मैले त कमसल रचनामै समय फालिरहेको छु भन्ने बोध भएको धेरैको अनुभव होला । मलाई नै एकताका युधीर थापा, प्रकाश कोविद, गुलशन नन्दा ठूलो उपन्यासकार लाग्थ्यो । अहिले सम्झँदा अचम्म लाग्छ । कहिलेकाहीं म छक्क पर्छु विश्वप्रसिद्व उपन्यास ‘लोलिता’ लेख्ने भ्लादिमिर नाभोकोबले कसरी भन्न सकेका होलान्— धेरै लेखक मेरो निम्ति अस्तित्वगत छैनन् । सन् १९२९ को साहित्यको नोबल सम्मान पाउने जर्मन लेखक थोमस मानउपर नाभोकोबको कडा प्रतिक्रिया छ । मानको नोभेला ‘डेथ इन भेनिस’ लाई उनी महान कृति मान्दैनथे । बरु भन्थे, महान् भन्नेहरू भ्रममा छन् । कामू र इज्रा पाउन्ड पनि गतिलो लेखक नभएको उनी अन्तर्वार्तामा बताउँछन् । भीएस नयपालले सन् १९८३ को नोबल विजेता विलियम गोल्डिङ्सलाई काम नलाग्ने लेखकको उपाधि दिएको हालै कवि अभयको लेखमा पढें । प्रस्ट भन्ने संस्कृतिका यी केही उदाहरण मात्र हुन् । आफ्ना धारणाहरूलाई छलफल, चर्चा र बहसको निम्ति सबैको अगाडि राख्ने पश्चिमी समाजको उक्त संस्कृति विज्ञानसम्मत लेखनको सहयोगी छ । खोज्ने हो भने त्यस्ता प्रसंगहरू अनगिन्ती भेटिन्छन् । सार्वजनिक वृत्तमा प्रस्ट धारणा आएपछि नै हो आम धारणा बन्ने । त्यसले सामूहिक चेतनाको स्वरूप लिने । सार्वजनिक वृत्तमा नआउँदा शंका र उपशंकाको डाइपरमै बेरिएर साहित्य टाक्सिन्छ ।


नेपाली समाजमा थोरै भिन्न मत आए, भुइँचालो नै जान्छ । भुइँचालो जानु भनेको अस्वाभाविक मानेको हो । जति ठूलो भुइँचालो, उति बेसी अस्वाभाविक । भिन्न मत स्वाभाविक हो भनेर बुझ्ने समाज हाम्रो कहिले बन्ने ? फेरि तर्कबाजहरू खराब मतप्रति पनि उदार हुने त ? भन्ने प्रश्न गर्न तम्सिएला । त्यसो पनि भनेको होइन । केही वर्षअघिसम्म नेपाली साहित्यको क्षेत्रमा चल्तीका समालोचक वा समीक्षक थिए, प्राध्यापक डाक्टर गोविन्द भट्टराई र कवि हरि अधिकारी । समालोचनाको आधारभूत सिद्धान्त गुण र दोषको निरुपण गर्ने भन्ने छ तर अग्रज विद्वान् भट्टराई गुणै गुण देख्ने, अधिकारी दोषैदोष । गुणैगुणले सर्वगुण सम्पन्न नेपाली साहित्य यतिविधि कमजोर त नहुनुपर्ने । जहिल्यै म कन्फ्युज्ड । यस्ता अग्रज विद्वान्हरूले समाचोलना सिद्धान्तको आधारभूत नियमको निर्वाह किन गरेनन् ? असंख्य भूमिका पढें । पर्गेल्दा उहाँहरू वस्तुनिष्ठ नरहेको पाउँछु । भाषाशैली र समालोचकीय सिद्धान्तको परिपाक मिलाएर भन्न उहाँहरू निपुण हुनुहुन्छ । तर, प्रश्न यहाँ समयको कसीमा मूल्यांकन कति खरो उत्र्यो वा उत्रेन भन्ने हो । अहिलेको समयको आलोकमै हेर्ने हो भने, उहाँहरूका धेरै मूल्यांकन सही सिद्ध भएका छैनन् । कसैको धारणा वा मूल्यांकन कति सही, जिम्मा त आखिर समयलाई दिने हो । कसी त आखिर समय नै रहेछ । साहित्यमा हामीभन्दा अघि आएका, प्रबुद्व मानिएका अग्रज लेखकहरूले जिम्मेवारपूर्वक वस्तुनिष्ठताको निर्वाह गरिदिएका भए, लोकप्रियतावादी हुनबाट बच्न सकेका भए त्यसले साहित्यलाई बलियो बनाउन मद्दत गर्ने थियो । अहिले समीक्षा र समालोचना जत्ति कमजोर विधा अन्य छैन । यो घनघोर अन्योलमा छ । इतिहासको भुरेटाकुरे राज्यजस्तो आ–आफ्नो स्वार्थ समूहमा अल्झिएको छ ।


अग्रज लेखक अभि सुवेदी वक्ता भई निम्त्याइएका करिब आधा दर्जन गोष्ठी, विमोचन कार्यक्रममा पनि पुगेको छु । उहाँले पनि सप्पैजस्तो सकारात्मक, प्रशंसायुक्त र सबल पक्ष मात्र भेटें भनेको सुन्छु । त्यस्तो परफेक्ट लेखक त कोही पनि हुँदैन होला भन्ने सोच्छु । हरेक लेखकको कमीकमजोरी, दुर्बलता पक्कै हुन्छन् । लाटो हिसाबले पनि मनै मान्दैन । परफेक्सन त अवधारणा मात्र हो । अपवादबाहेक, संघर्षरत लेखकहरूको पहिलो रचना र पुस्तकलाई प्रोत्साहनको खाँचो पर्छ । तर, अधिकांश लेखकको हकमा त्यस्तो नहुनुपर्ने । सायद २०७१ सालमा, कवि मुनाराज शेर्माको कवितासंग्रह ‘शब्दहरूको याक्सा’ को विमोचनमा पुगेको थिएँ । सुवेदीले भन्नुभयो, ‘लामो समयदेखि कविता विधा संकटमा थियो । कुनै कविको पर्खाइमा थियो कविता । कवितासंग्रह पढेपछि लाग्यो अब प्रतीक्षाको घडी सकियो । यस संग्रहका कविताहरूले कविता विधाले सामना गरिरहेको संकटबाट कवितालाई मुक्त गर्ने आशा लिएको छु ।’ कवि मसिहाजस्तो भएर कविता जनराकै उद्धार गर्न आएजस्तो भाव थियो । शब्द दुरुस्तै यस्तो थिएन, तर आशय लगभग यही थियो । शेर्माको कविताप्रति त्यो उच्च मूल्यांकन थियो । शेर्मा निःसन्देह कला र विचारको संयोजन गर्ने राम्रा कवि हुन् तर लगभग पाँच वर्षपछि समयको यो विन्दुमा त्यस संग्रहले उहाँले भनेजस्तै गर्‍यो त भने प्रश्न गर्ने हो भने जवाफ प्रस्ट आइहाल्छ । सिर्जनात्मक लेखनमा आफ्नै इतिहास निर्माण भएको र स्वतन्त्र छवि भएको माथ्लो लेखकले समीक्षा लेखनमा नचुकेको भए कति सुन्दर हुन्थ्यो । लेखक अभि सुवेदी के बोल्छन्, के लेख्छन् भनेर घोत्लने लेखक र पाठकहरू अझ ठूलै संख्यामा छन् । यसै सन्दर्भमा लेखक कुमार नगरकोटीको भनाइ सम्झें । हाम्रा अधिकांश समीक्षक र समालोचकहरू समीक्षा होइन, सदीक्षा लेख्छन् । त्यो त्यस्तै एक सदीक्षा थियो ।


समीक्षामा सबलता, दुर्बलता र सीमा प्रस्ट भन्नुपर्ने हुन्छ । हाम्रो समाजमा सिर्जनात्मक लेखनभन्दा समालोचनात्मक लेखक चुनौतीपूर्ण कर्म हो । कामचलाउ समीक्षा र टिप्पणीले साहित्यलाई वस्तुनिष्ठ बनाउँदैन । वस्तुनिष्ठ नभए साहित्य न अब्बल भएको थाहा लाग्छ, न कमजोर । व्यक्तिगत पाठकले पढेर आफूअनुसारको धारणा बनाउने एउटा कुरा । पठित समाजको पनि समग्र धारणा आवश्यक पर्छ । जब्सको जवाफको संकेत, समग्र दर्शकको स्तरसँग सम्बन्धित छ । जतिसुकै वस्तुनिष्ठताको कुरा गरे पनि अवचेतनतहमा तर मनोगतता बाँकी रहन्छ नै । वस्तु वा पाठजस्तो छ हामी त्यस्तो देख्दैनौं, बरु हामी जस्तो छौं, त्यहीअनुरूप देख्छौं भन्ने सिद्धान्तअनुसार मनोगतता त आई नै हाल्छ तर यही यथार्थलाई बुझ्न नसके, मनोगतताले झन् थिच्दै लग्छ । सचेत रहँदा तर वस्तुनिष्ठतालाई सधैं स्थान रहन्छ । मनोगतता पहिचानमा आउँछ र त्यसलाई सीमा बुझेर कम गर्न सकिन्छ । यसै सन्दर्भमा, साल्भाडोर डालीको भनाइ सम्झन्छु— पागल र ममा के फरक छ भने, म पागल होइन । पागलजस्तै विचित्रको जीवनशैली भएको, माथितिर उचालिएको तिखो लामो जुंगा राख्ने र कला प्रदर्शनीमा जाँदा गाडीमा बन्दागोभीहरू कोचेर जाने उनको अतियथार्थिक कला विस्मयको निम्ति चिनिन्छ । अवचेतन तहमा घटित हुने, स्वप्नजगत्मा भेटिने अमूर्त किरिङमिरिङ दृश्यहरू । डालीको संकेत सायद मेरो पागलपन मेरो नियन्त्रणमा छ भन्ने थियो । पागलको हकमा उसको मनोदशा आफ्नो नियन्त्रणमा रहँदैन ।


राजनीतिक विचारधारा र विभिन्न मुद्दाको कारण संगठित हुने प्रवृत्ति बढिरहेको परिप्रेक्ष्यमा आफ्नोभन्दा फरकमतलाई सुन्ने, गम्भीर भएर संवाद गर्ने र अपरिचित ज्ञान र सौन्दर्यको क्षेत्रतिर चियाउने प्रयास आवश्यक छ । कसैको विचारमा सहमत हुनुपर्छ नै भन्ने होइन तर आफ्नो ज्ञान र दृष्टिको अर्को छेउप्रति जिज्ञासु बन्नु उत्तम । नत्र कट्टरता र जडतालाई प्रतिबद्वता र अडान मान्दै जीवन बित्न बेर लाग्दैन । विचारको सहीपना र गलतपनाप्रति अतिशय आत्मकेन्द्रित नभई विचार प्रस्ट राख्ने रणनीति राम्रो होला । गलत भए, स्विकारेर, फेरि यात्रामा अगाडि बढ्दा भयो । न कि, आवश्यकताभन्दा बढी सही–गलत निर्क्योल गर्नमा समय खर्चने । विचार विश्लेषणको आधिक्यताले विचार जड बन्न जान्छ । मान्छेले केही त बोक्नैपर्छ तर त्यसले सार्थकता बोध गराओस्, न कि किचिराखोस् । आफ्नो विचार र धारणालाई प्रस्ट राख्ने वातावरण र विचार स्वतन्त्रता नै प्रमुख हो । समालोचकहरूले आफ्नो मूल्यांकन प्रस्ट नभनेसम्म, साहित्यको गुणवत्ता छुट्टिँदैन । आवश्यक दबाब नपरुन्जेल अधिकांश लेखक औसत पाठकको निम्ति नै लेख्न उद्यत हुन्छन् । संवादको निम्ति लेखन कर्म गर्छु भन्ने लेखकहरूको पुस्तक प्रकाशनगृहले नछापिदिए त्यो अभीष्ट पूरा हुँदैन । यही बाध्यताको लाभ लिँदै प्रकाशनगृहहरूले मागहरू तेर्स्याउँछन् । यसलाई चिर्न लेखकले बजारको गतिशीलता बुझ्नैपर्छ । जब्सको आशय दोस्रो तर्कतिर पनि हेरौं भन्ने होला । पहिलो तर्कको कुरा त हामीले अनगिन्ती गरिसक्यौं । त्यसले साहित्यलाई सबल बनाउन मद्दत नगरेको तिक्त अनुभव हामीसँग छ ।

प्रकाशित : भाद्र ७, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?