सिकोफाइभ

बिना थिङ

सिरमान बूढाको हत्या भयो !’ कोइराल्नी दिदीले दबेको आवाजमा भनिन् । रामशरण थापाको हल्लिरहेको खुट्टा स्थिर भयो । ऊ खाटमा बसेको थियो । दुई खुट्टा तर्लंग झुन्ड्याएर । दुई हात ओछ्यानमा टेकेर ।

‘हो र !’ रामशरणका आँखा पक्लक्कै बाहिर निस्किएलाजस्तो देखियो । कोइराल्नी दिदीले रामशरणको हल्लिरहेको खुट्टा हेरिन् । त्यो अघिको भन्दा छिटोछिटो हल्लिरहेको थियो । त्योभन्दा जोडले उसको मुटु हल्लिरहेको थियो । बिस्तारै झ्याल छेउ पुगिन् । आफ्ना दुवै हातले झ्यालका दुवै खापा तानिन् । घरप्प । उज्यालो ठिंग उभियो । झ्यालबाहिर । कोइराल्नी दिदी थचक्क बसिन् । सुकुलमाथि ।


यो खबर पशुपतिनगरमा फैलियो । सबेरै । डढेलो जसरी । सबैभन्दा पहिले यो खबर सुन्ने कोइराल्नी दिदी थिइन् । कोइराल्नी दिदीको कानमा जगतमान थिङले यो खबर भरिदिएको थियो । जगतमान सिरमान बूढाका छिमेकी थिए ।
लासको मुचुल्का उठाइयो ।


नाम : सिरमान थिङ
उमेर : ६८ वर्ष
ठेगाना : पशुपतिनगर ३
हत्या भएको स्थान : मृतकको घर ।
हत्याको प्रकृति : कचियाले पेटमा पटकत्त्पटक वार गरिएको ।

हत्याअघि
रामशरण कोइराल्नी दिदीको भट्टीमा पुगिरहन्थ्यो, रक्सी पिउन । नेपालीको औसत आयु साठी वर्ष । यदि यो साँचो हो भने हिसाब मिलाउँदा रामशरणले आधा आयु बाँचिसकेको थियो । ऊ एक्लो छोरो थियो । अविवाहित । उज्यालोमा कहिल्यै घर पुग्दैनथियो । अध्याँरोमा आमा भेटिँदैनथियो । ‘आवारा नै हुने भो यो । बासै त्यही भट्टीमा छ । त्यो बाहुनीले क्षत्रीको छोरो बिगारी,’ आमा फलाक्थिन् । सबेरै । रामशरण एक खेप आमालाई हेर्थ्यो । अर्को खेप घरबाट निस्कन्थ्यो । आमाले जसरी रामशरणका बाउले फलाक्नै परेन । उसको बाउको खरानी पनि बाँकी थिएन । बाँकी त याद मात्र थियो । त्यो पनि छिपछिपे । त्यतिखेर ऊ मुस्किलले सात वर्षको थियो । जब राप्तीको बगरमा उसको बाउको हाड जलिरहेको थियो ।


रामशरणको अनुहारमा बाक्ला धब्बाहरू थिए । डन्डिफोरको । उसको नाक पनि बाक्लो थियो । आँखीभौं धारिलो । चक्कुजस्तो । शरीरको रङ मधुरो । अग्लो काया । ऊ मजदुरी गर्थ्यो । टेक्स्टायलमा । दिनभर । हप्ताभर । महिनाभर । वर्षभर । नत्र मुखमा माड कसले पार्छ ? ऊसँग साइकल थियो । कामबाट छुटी हुनेबित्तिकै साइकलको पाङ्ग्रा सोझ्याउँथ्यो । कोइराल्नी दिदीको भट्टीतिर । यसरी प्रत्येक दिन रामशरण साइकल चढेर दूरी नापिरहन्थ्यो । त्रिकोणात्मक । घरदेखि फ्याक्ट्रीसम्म । फ्याक्ट्रीदेखि भट्टीसम्म । भट्टीदेखि घरसम्म ।


सिरमान बूढाको हत्याअघिको एक साँझ ।
फ्याक्ट्रीमा छुट्टीको साइरन बज्यो । रामशरणले साइकल सोझ्यायो । कोइराल्नी दिदीको भट्टीतिर ।
‘सिरमान बूढाको घडी हराएछ । तर यो कसैलाई नभन है ।’


कोइराल्नी दिदीले रामशरणलाई कसम खुवाइन् । रामशरणले आफ्नो किलकिले समायो । मिथुन चक्रवर्ती स्टाइलमा ।
‘ओ माँ बूढाको त्यस्तो महँगो घडी हरायो ? तर तिमीलाई कसले सुनायो दिदी ?’ रामशरणले कानैमा सोध्यो ।
‘सिरिमती बूढीले,’ कोइराल्नी दिदीले एकै सासमा भनिन् ।

सिरिमती बूढी
सिरमान वाइबा । यो सिरमान बूढाको पूरा नाम थियो । जुन दिन बाउले राखेको नाममै नागरिकता बन्यो त्यस दिनदेखि उसले नाममाथि गुनासो गर्न छोडेको थियो । गुनासो लालमाया स्याङबोले पनि गरिनँ । लालमाया स्याङबो । सिरमान बूढाको श्रीमती । गाउँलेको सिरिमती । उनीहरूको बिहे भएको एकचालीस वर्ष भइसकेको थियो । बिहे हुँदा सिरिमती बूढी सोह्र वर्षकी थिई । सिरमान बूढा सत्ताईस वर्षका । यो अनमेल विवाहको एउटै कारण थियो । सिरमान बूढाको आठ कठ्ठा जमिन । जमिन पशुपतिनगरको मेन रोडमा पर्थ्यो । मेन रोडमा जग्गा हुने मानिस अरूभन्दा हुनेखाने मानिन्थ्यो । त्यो विवाह सिरिमती बूढीको पहिलो थियो । सिरमान बूढाको तेस्रो । सिरमान बूढाको त्यसअगाडिको दुईवटा बिहे भत्किसकेका थिए ।


‘सिरमान बूढा ज्याद्रा छन् ।’
‘मुर्दारलाई दिउँसै स्वास्नी चाहिन्छ ।’
‘पहिलो स्वास्नी घर छोडेर जाँदा जीउभरि टोकेको डाम थियो ।’
‘दोस्रो स्वास्नी त एक हप्ता नि टिकिन ।’
‘सिरिमती बूढी आजसम्म कसरी थेगिई ?’
गाउँलेहरू जिब्रो टोक्थे । आश्चर्यले । ओठ टोक्थे । कुतूहलले ।


सिरमान बूढा ६८ वर्षका भइसकेका थिए । शरीर जीर्ण हुँदै गएको थियो । हात काँप्थ्यो । थर्रर । उपचारमा एक ग्लास ठर्रा घुट्क्याउँथ्यो । कपालको रङ हिउँजस्तो भएर गएको थियो । उसको हातको नङ्ग्रा बढिरहेको थियो । लगातार । बूढो शरीरबाट अनौठो बास आउँथ्यो । पाकेको रूख कटहरको जस्तो । बिग्रेको जाँडको बाबजस्तो । उसको देब्रे हातको नाडीमा बाँधिएको हुन्थ्यो । सिकोफाइभ घडी । केही वर्षअघि उसले मेन रोडको पन्ध्र धुर जग्गा बिक्री गरेको थियो । जग्गा बिक्रीबाट आएको पैसाले किनेको थियो त्यो सिकोफाइभ घडी ।


त्यस्तै घडी पशुपतिनगरमा अरू दुई जनासँग मात्र थियो । एउटा थियो पञ्चे रामभक्त दुलाल । अर्को भूतपूर्व इन्डियन लाहुरे वीरबहादुर गुरुङ । सिकोफाइब घडीको मूल्य चर्को थियो । चर्को घडी किन्ने मान्छे पनि चर्को हुनुपर्थ्यो । अर्थले । पहुँचले । सामाजिक स्तरले । सिरमान बूढाको त्यही सिकोफाइभ घडी हराएको थियो । त्यसैले यो चर्चाको विषय बन्न पुगेको थियो । घडी हराएको कुरा पशुपतिनगरमा फैलिएको थियो । भुसको आगो जसरीे । गाउँलेलाई लागेको थियो अब सिरमान बूढाले चौकीमा गएर रिपोर्ट गर्नेछ । त्यसपछि सबैको घरघरमा पुलिस आउनेछ । खानतलासी गर्नेछ । दुःख दिनेछ । हैरानी खेप्नुपर्नेछ । तर सोचेजस्तो त्यस्तो केही भएन । सिरमान बूढाले चौकीमा गएर रिपोर्ट दिएको गाउँलेले थाहा पाएनन् ।

कोइराल्नी दिदी
पशुपतिनगरको मेन रोड उत्तर दक्षिण भएर बगेको थियो । पूर्व पश्चिम भएर कच्ची रोड बगेको थियो । त्यही कच्ची रोडमा थियो । कोइराल्नी दिदीको भट्टी । भट्टीमा रक्सीको आयतन छचल्किन थालेको चार वर्ष बितिसकेको थियो ।


भट्टीको नियमित ग्राहक थियो । रामशरण थापा । अनियमित ग्राहक थिए । सिरमान बूढा । जगतमान थिङ । बाबुराम सेढाई । रामभक्त दुलाल । वीरबहादुर गुरुङ । श्याम नगरकोटी । ‘यी लोग्नेमान्छेहरू कि राजनीतिका कुरा गर्छन् कि आइमाईका कुरा गर्छन् । नकचराहरू !’


कोइराल्नी दिदी लामो संवाद टुंग्याउँथिन् । अनि रक्सीको ग्लास थचार्थिन् । टेबलमा । खिरिला औंलाहरूले नाङ्लो पट्काउँथिन् । पट्याँस् । पट्याँस् । भट्मासको सितन बनाउँथिन् । लसुन साँध्थिन् ।


‘हे हे हे,’ सिरमान बूढा असजिलोसँग हाँस्थ्यो । घाँटीमा खकार पोको पारेर । सिरमान बूढाको त्यो असजिलो हाँसोसँग अरू अरू सजिलो हाँसो मिसिन्थ्यो । जगतमान थिङ, बाबुराम सेढाई, रामभक्त दुलाल, वीरबहादुर गुरुङ, श्याम नगरकोटीको । खाक्खाक् । खिक्खिक् । त्यसपछि भट्टीमा गञ्जागोल हुन्थ्यो । त्यो हाँसो भट्टीको ढोकाबाट हिँडेर सडकसम्म पुग्थ्यो । सडकमा आइमाईहरू हिँड्थे । फटाफट् । फटाफट् । तिनीहरू भट्टीपट्टि एक पटक पनि हेर्दैनथिए ।


‘कोइराल्नी दिदी पैंतीसकी त भइहोलिन् ।’
‘होइन होला है । तरुनी नै देखिन्छिन् । तीसकी होलिन् ।’
लोग्ने मानिसहरू तात्तातो अड्कल लगाउँथे । कोइराल्नी दिदीको उमेर । अनि शीतल थाप्थे । बडेमाको बरको रूखमुनि ।
‘त्यतिबिघ्न लाली किन धस्नुपरेको होला !’


‘गाजल नि गाजल । त्यति त हाम्ले सुत्केरी हुँदा नि धसेनौ । कहीँ नभकी नक्कली । ?’
‘त्यतिको सिङ्गारिने हो भने हामी पनि कम हुन्थेनौ । तर हामी भट्टीवाली होइनौ । ’
‘त्यसले हाम्रा लोग्नेमान्छेहरू बिगार्ने भई ।’


आइमाईहरू इनारमा कुरा काट्थे । आफ्ना लोग्नेहरू कोइराल्नीको भट्टीमा गइरहेकोमा तिनीहरू ईर्ष्यालु भएका थिए ।
सर्लक्क परेको काया थियो । कोइराल्नी दिदीको । धेरैजसो लुङ्गी लगाउँथिन् । कहिलेकाहीँ सुतीको धोती भिर्थिन् । लुङ्गी र ब्लाउजमा कोइराल्नी दिदी टम्म मिल्थिन् । लाम्चा आँखा । आँखामा घरबुनुवा गाजल । सानो गुलाबी ओठ । निधारमा बडेमाको कालो टीका । कोइराल्नी दिदीको शृंगार यत्ति हुन्थ्यो । चम्किलो । लामो । कालो कपाल ।


उनी हरेक शनिबार रिठ्ठाको गेडाले कपाल धुन्थिन् । भट्टीमा आउनेहरू रक्सी पिउँथे । कोइराल्नी दिदीको गन्ध पिउँथे । यो कुरा कोइराल्नी दिदीलाई पनि थाहा थियो । उनलाई भट्टी कसरी चलाउनुपर्छ ? राम्रो हेक्का थियो । अन्यथा मान्दिनथिई । ग्राहकहरूको सामान्य स्पर्श । मुखको रमाइलो गरिदिन्थी । तर एउटा कुरामा अन्यथा मान्थिन् । ऊ आफू जति नै निकृष्ट हुन सक्थिन् । तर कृष्णाको सम्बन्धमा उनी कठोर थिइन् । ऊ मन पराउँदैनथिई कृष्णालाई कसैले छोएको । जिस्काएको । गिजोलेको ।

कृष्णा
कृष्णा ! कोइराल्नी दिदीकी छोरी । ११ वर्षकी थिई । शरीरको रङ अँध्यारो थियो । महाभारतको कृष्णजस्तै । रङ र नामको तादात्म्यता कसले मिलायो ? कृष्णाको कपाल घाँटीसम्म सोहोरिएको थियो । घुघुँरिएर । नाकमा नत्थी । कानमा रानी सिन्का । आँखा गुच्चाका गेडाजस्ता । एकदम गोल गोल । हरियो रङको । धेरै जसो चुपचाप बस्थी । कहिलेकाहीँ मात्र बोल्थी । ‘यो कम्ताकी घुसघुसे छे ?’ कहिलेकाहीँ कोइराल्नी भुत्भुताउँथिन् । उनी आजित हुन्थिन् । कृष्णाको स्वभाव देखेर ।


कृष्णा प्रायजसो सिसाकलम टोक्थी । सिसाकलम नहुदाँ औंला टोक्थी । उसलाई चित्र कोर्न खुब मन पर्थ्यो । त्यो थाहा पाएर कोइराल्नी दिदीले सादा पन्ना भएको कपी किनिदिएकी थिइन् । कृष्णा पशुपतिनगरको कालिका माध्यमिक विद्यालयमा पढ्थी । कक्षा ५ । रोल नं ७ । ‘राम्रोसँग पढ् कृष्णा । फस्ट भइस् भने ज्यामिती बाकस किनिदिन्छु ।’ कोइराल्नी दिदीले कृष्णालाई फकाउँथिन् ।


‘आमा, मलाई घडी किनिदिनुस् । मलाई घडी हेर्न आउँछ ।’ कृष्णाले एक पटक जाहेर गरेकी थिई आफ्नो इच्छा । बिस्तारै । एकदम बिस्तारै । यो कुरा कोइराल्नी दिदीले सुनिनन् ।


कोइराल्नी दिदीको नाम के हो ? कहाँबाट आएकी हुन् ? कृष्णाको बाबु को हो ? कहाँ छ ? गाउँलेसँग थुप्रै प्रश्न थिए । उत्तर कोइराल्नी दिदीसँग थियो । तर यस विषयमा आमनेसामने कोही भएनन् । न गाउँलले प्रश्न गरे । न कोइराल्नी दिदीले उत्तर दिन पर्‍यो ।
‘कोइराल्नी दिदी कलकत्ताबाट फर्किएकी हुन् ।’

‘तिनी वेश्यावृत्तिमा लागेकी थिइन् ।’
‘के के जाति रोग लागेर नेपाल फर्किएकी हुन् ।’
‘कृष्णा उसको छोरी होइन ।’
‘कृष्णा उसैको छोरी हो ।’

मानिसहरू लख काट्थे । यस्तै यस्तै । के के । के के ।
पशुपतिनगरमा खुब चर्चा थियो । कोइराल्नी दिदीको । उनको भट्टीको । चार वर्ष बितिसकेको थियो । त्यसयता सिरमान बूढा धेरै पटक भट्टीमा पुगेका थिए । रक्सी पिउन । थोरै पटक सिरिमती बूढी पनि पुगेकी थिइन् । सिरमान बूढाका लागि रक्सी किन्न ।

सिकोफाइभ घडी हराएको दिन
त्यस दिन सिरमान बूढाले बिहानको खाना खायो । मुख नमीठो बनाएर । बेस्वादले । उस्तै बेस्वादले ऊ हिँड्यो । कालिका माध्यमिक विद्यालयको प्रांगणमा पुग्यो । प्रांगणको बीचोबीच दुई ठूलाठूला रूख उभिएका थिए । एउटा वरको । अर्को पीपलको । चैत महिना बुर्कुसी मारेर मध्याह्नमा पुगेको थियो । चर्को थियो मौसम । यस बखतको तापक्रम दुईवटा कुराले थेग्थ्यो । कि घरभित्रको पंखाले । कि त चौतारीले ।


तराईको ठाउँ । चर्को घाम । टिनका छाना । छानो भुग्रो हुन्थ्यो । कक्षाकोठामा केटाकेटीहरूको उकुसमुकुस बढ्थ्यो । विद्यालयले विकल्प निकालेको थियो । कक्षा बिहानै चलाउने । दिउँसो छुट्टी गर्ने । त्यसैले मध्याह्नमा स्कुल परिसर खाली हुन्थ्यो । खाली ठाउँ भर्न वरिपरिका केटाकेटीहरू आउँथे । गाउँले आउँथे । थोरबहुत चहलपहल हुन्थ्यो । पीपलको पात हल्लिन्थ्यो । सिर्रसिर्र । बरको हाँगा लच्किन्थ्यो । लचक्क । वातावरण अन्तभन्दा शीतल थियो । विद्यालय निर्माणको धमाधम चलिरहेको थियो । बालुवा र गिट्टी थुपारिएको थियो । त्यहाँ हरकोही मस्त थिए । केटाकेटी बालुवाको घर बनाउनमा । बुज्रुकहरू गफगाफमा ।


‘ओइ, केटाकेटीहरू चक्लेट खान्छौ ?’
सिरमान बूढाले रातो खोल बेरिएको चक्लेट झिक्यो । स्टकोटको खल्तीबाट । एक मुठी । चक्लेटले केटाकेटीको एकाग्रता भंग गर्‍यो ।
‘खाने नि ।’


राधेश्याम प्वाक्क बोल्यो । सञ्जयको मुख खुलै रह्यो । तर कृष्णा केही बोलिन । केटाकेटी सिरमान बूढाको वरिपरि झुरुप्प भए । यसरी समयसमयमा सिरमान बूढा धावा बोल्थे । केटाकेटीको एकान्तमाथि । लालचको । त्यस दिन पनि उसले चकलेट बाँड्यो । सबैको हातमा चकलेट पर्‍यो । कृष्णाको हातमा पनि । चक्लेट पाइसकेपछि केटाकेटी पुनः खेल्न मस्त भए । केही बेरपछि बूढापाकाको हूलबाट सिरमान बूढा हराए । केटाकेटीको हूलबाट कृष्णा हराई । त्यस दिन निकै बेरपछि सिरमान बूढा घर फर्किएका थिए । विद्यालयको बाटो हुँदै । एक्लै ।

विष्णु मिश्र र घडेरी
पशुपतिनगर भर्खरै बस्दा बखतको कुरा । औलको आतंक सकिएको थिएन । जग्गा एकदम सस्तोमा पाइन्थ्यो । सिरमान बूढाका बाबुले खतरा मोल्यो । उनले आठ कठ्ठा बारी किने । पछि त्यही बारीलाई छोएर मेनरोड बग्यो । त्यसपछि त्यो जमिन चीज भयो । जमिनको मूल्य चर्को हुँदै गयो । चाख्दै थप्दै गरेको तिहुनको नुनजस्तो ।


विष्णु मिश्र नुवाकोटबाट झरेका थिए । सिरमान बूढाको जमिनको चारकुनाले ऊ लोभिएको थियो । त्यहाँ एउटा घडेरी किन्ने । मेनरोड फर्काएर घर बनाउने । दोकान थाप्ने । यस्तै सोच बनाएको थियो । तर उसले कसैलाई यो कुरा बताएन ।


एक दिन विष्णु मिश्र सिरमान बूढाको घर गयो । उसले घडेरी खरिद गर्ने मनसाय व्यक्त गर्‍यो । सिरमान बूढाका दुई भाइ छोरा थिए । छोराहरूका लागि राखिदिनुपनर्छ भनेर सिरमान बूढाले जमिन बिक्री नगर्ने कुरा व्यक्त गरे । विष्णु मिश्रले निकै कर गरे । सिरमान बूढा अडिग भए । बूढाको अटेरीपनले विष्णु मिश्र खुब रिसाए ।


‘सित्तैमा मागेको होइन सिरमान बूढा । खनखनी पैसा गन्छु भनेको छु ।’
विष्णु मिश्रले अन्तिम अस्त्र प्रयोग गर्‍यो । सिरमान बूढा गलेनन् । विष्णु मिश्र भुत्भुताउँदै गयो । त्यत्तिकैमा सिरिमती बूढी आइपुगिन् । उनको हातमा नाइलनको झोला थियो । झोलामा रक्सीको बोत्तल थियो । सिरमान बूढाले स्टिलको गिलास उत्तानो पार्‍यो । त्यसमा रक्सी भर्‍यो । एकै खेपमा घुट्कायो । त्यसपछि खटियामा पल्टिए । घाम, गाछीको ठीक माथि उभिएको कुरा सिरमान बूढाका मातेका आँखाहरूले ठम्याए ।

पशुपतिनगरमा दंगाफसाद
सिरमान बूढाको सिकोफाइभ घडी हराएको अघिल्लो हप्ता । पशुपतिनगर हाइवेमा दंगाफसाद भएको थियो । बिहानदेखि नै प्रदर्शनकारी र पुलिसबीच झडप भएको थियो । निर्दलीय पञ्चायती व्यवस्था खारेजी गर । बहुदलीय व्यवस्था कायम गर । जनता तातो नारा लाउँदै सडकमा ओर्लिएका थिए । चिसो राजाका विरुद्ध । २०४६ फागुन ७ गतेदेखि सुरु भएको त्यो आन्दोलन ।

आन्दोलनको पक्षमा पशुपतिनगरबाट उभिएका थिए, रामशरण थापा, जगतमान थिङ, मास्टर कमल पोखरेललगायतका मानिसहरू । त्यो आन्दोलन नेपालभर भएको कुरा गर्थ्यो रामशरण । ऊ आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले गरेको कुरा ठोकुवा गर्थ्यो । तर अब आफूचैं पियोर कम्युनिस्ट भएको जिकिर गर्थ्यो । गिलासको ठर्रा स्वाँट पार्थ्यो । यस्तो ठोकुवा रात छिप्पिँदै जाँदा निस्तेज हुँदै जान्थ्यो । रामशरणको शरीर जसरी । रामशरण बर्बराउँथ्यो ‘हाम्रो आन्दोलनको तुहाउन खोज्ने यी पञ्चेहरू हुन् । यो पाजी सिरमान बूढा पनि एक नम्बरको पञ्चे हो । त्यो राजाको मान्छे हो । त्यसले चुक्ली लाउँछ चौकीमा । हाम्रोविरुद्धमा ।’


यस विषयमा एक पटक सिरमान बूढासँग रामशरणको घम्साघम्सी नै परिसकेको थियो । कोइराल्नी दिदीको भट्टीमा । ‘राजा भनेको राजा नै हो । साक्षात विष्णु भागवान्को औतार हुन् । जो कोही राजा हुने भए तिमी किन राजा भएनौ ? रैतीका दुःख राजाले बुझ्छ । हाम्रो बाउ भनेकै राजा हो ।’ यति भनेर सिरमान बूढाले रामशरणसँग लाप्पा खेलुँलाझैं गर्‍यो ।


‘पञ्चे बूढा, तिमीलाई के थाहा ? बहुदल आउनु भनेको हामी भुइँमान्छेको दिन आउनु हो । हामीले निडर भएर बाँच्न पाउनु हो । मौलिक हक प्राप्त गर्नु हो । अहिले पो पुलिस प्रशासनदेखि गाउँका पञ्चे सबसँग तिम्रो मिलोमतो छ । छिट्टै यो पञ्चायती व्यवस्थाको अन्त्य हुँदै छ । त्यसपछि तिमी कसको गोडा मोल्न जाँदो रहेछौ हेरौला । पख न बूढा ।’ रामशरण चोर औंला ठड्यायो । त्यस दिन अबेरसम्मै सिरमान बूढा र रामशरण बाझिरहे ।


रामशरणलाई पटक्कै मन पर्दैनथ्यो । सिरमान बूढा । उसलाई राजाको पक्षमा बोल्ने कोही पनि मन पर्दैनथियो । ऊ प्रजातन्त्रको पक्षमा उभिएको थियो । जोस जाँगरले भरिएको युवा थियो । ऊ जोड दिन्थ्यो । बहुदलीय व्यवस्थाको पक्षमा । सिरमान बूढा उभिन्थ्यो । राजतन्त्र र निर्दलीय व्यवस्थाको पक्षमा । देशमा सल्किँदै गएको जनआन्दोलनको प्रभाव परेको थियो । जसले गर्दा रामशरण तटस्थ रहन सकेन । त्यसमाथि जनता रुष्ट भएका थिए । गएको वर्ष भारतले नाकाबन्दी गरेको थियो । त्यसको विरुद्ध राज्यको पक्षबाट कुनै पहल नभएको ज्ञात थियो । यस्तैमा नेपाली कांग्रेस र संयुक्त वाम मोर्चाले संयुक्त रूपमा आह्वान गरेको थियो । आन्दोलन । जनता स्वतः स्फूर्त रूपमा जनता घरघरबाट निस्कन थालेका थिए । समय कस्तो रह्यो भने चियापसलमा भनाभन चल्थ्यो । पञ्चयती व्यवस्थाका पक्षधर र प्रजातन्त्र पक्षधरबीच । उस्तै परे हात हालाहाल हुन्थ्यो ।


कोइराल्नी दिदीले भट्टीलाई भिनिस्टाले बारेकी थिइन् । अलग्गै सानो खोली बनाएकी थिइन् । यस कामका लागि रामशरणको सहायता लिएकी थिइन् । त्यही सानो खोलीमा कृष्णा विद्यालयको गृहकार्य गर्न बसेकी हुन्थिन् । तर बार पातलो थियो । भट्टीमा आउनेको आवाज बाक्लो हुन्थ्यो । त्यहाँको हल्लाखल्ला कृष्णाको कर्णले श्रवण गर्न पर्थ्यो । जतिजति रक्सीको मात्रा बढ्थ्यो । उतिउति ग्राहकको आवाजको मात्रा पनि बढ्दै जान्थ्यो । ती रक्सी निल्थे । निम्नकोटीका शब्दहरू ओकल्थे ।


एक पटक फर्निचर साहु नारायण झा, रामशरण, जगतमान, बाबुराम सेढाई भट्टीमा रक्सी पिउँदै थिए । अँध्यारोले खर्लप्पै निलेको थियो । पशुपतिनगरलाई । केही बेरमा नारायण झा पिसाब लाग्यो भनेर उठेर गयो ।


‘साले नाराने । कुकुर । मु... । छोई हेर त फेरि कृष्णालाई ।’ अचानक कोइराल्नी दिदीको तिखो आवाज सुनियो । आवाजसँगै नारायण झा खुरमुरिँदै आइपुग्यो । झन्डै टेबलमा ठोक्किने गरी । कोइराल्नी दिदी चण्डीजस्ती देखिइन् ।
‘के भो के भो ? कोइराल्नी दिदी ?’ सबै हतप्रभ भए । ती एकसुरमा रक्सी पिइरहेका थिए । यो अचानक भएको थियो ।
रामशरण हत्तपत्त बेञ्चबाट उठ्यो ।


‘यो साला ...बान, भित्र गएर कृष्णालाई पो जबरजस्ती गर्दै रहेछ । थुक्क पाजी ! के देखिस् ए यो सानो नानीमा । मुर्दार ! मार्दिन्छु यसलाई म आज ।’


कोइराल्नी दिदीले सुकुटी काट्ने चुलेसी उचाली ।
‘साले । के तैंले यसो गरिस् ?’ रामशरणले नारायण झाको ढाडमा एक लात ठोक्यो । भुकुरेर भट्टी बाहिर हुर्‍याइदियो ।


‘रक्सीले मातेको छ दिदी । छोडिदिनुस् यो सालेलाई ।’
रामशरणले कोइराल्नी दिदीको हातबाट चुलेसी खोस्यो । त्यहाँ हुनेहरू जिल्लिए । तिनीहरूले कोइराल्नी दिदीको यस्तो रूप पहिलो पटक देखेका थिए ।


स्याँक्क गरेर रोई, कोइराल्नी दिदी । बिस्तारै अरू पनि निस्किए ।
‘रामशरण मलाई यो कृष्णाको बडो पिर लाग्छ । लाटीजस्तो छे । जसले जे भने नि मान्छे । मजस्तो परिवेश भोगेर आइपुगें त्यस्तो भविष्य म कृष्णालाई दिन चाहन्नँ । कसैले ऊमाथि गिद्धे नजर नलगाओस् । जसले त्यस्तो मनसाय राख्छ, त्यसको काँचो मासु खाऊँ लाग्छ । कसरी जोगाउने होला यो बालखलाई ? मैले यो रक्सी बेच्न काम गर्नै हुन्नथ्यो ।’


कोइराल्नी दिदीले रामशरणसँग दुखेसो पोखी । कृष्णाको बारेमा चिन्ता व्यक्त गरी । बाहुनकी छोरी भएर भट्टी चलाउनुपरेकोमा पीडाबोध गरी । रामशरणले देख्यो, कोइराल्नी दिदीको निधारमा टीकाभन्दा बडेमानको पीडा टाँसिएको छ ।
‘रक्सी बेचेकी हौ दिदी । देश होइन । इमानको कमाई खाछौ । सरम नमान । नआत्तिऊ दिदी । कृष्णा राम्रै पढ्छे । मैले उनको मास्टरसँग कुरा गरेको छु ।’


रामशरणले कोइराल्नी दिदीको उच्छवासमा मल्हम लगायो । आशाको । ऊ कोइराल्नी दिदीको खुब ख्याल गर्थ्यो । फुर्सदमा कृष्णालाई ट्युसन पढाउँथ्यो ।


केही दिनदेखि कृष्णाको मन पढाइमा थिएन । यो कुरा रामशरणले ट्युसन पढाउँदा हेक्का पाएको थियो । यसै पनि एकदम कम बोल्थी कृष्णा । अहिले ठप्पै नबोल्ने भएर गएकी थिई । कोइराल्नी दिदीले पनि हेक्का पाएकी थिई । खानामा अरुचि । खेल्नमा अरुचि । बोल्नमा अरुचि । यस्तो देखिन्थ्यो कि कृष्णामा जीवनप्रति नै अरुचि छ । कृष्णाले अचेल दिउसो स्कुल प्रांगणमा खेल्न जान छोडेकी थिई । ऊ दिन प्रतिदिन बिरामीजस्तो भएर गएकी थिई । उसको अनुहारको रङ गाढा नीलो भएर गएको थियो । कोइराल्नी दिदी हैरान भएकी थिई । उसलाई आफ्नो शरीरको आधा मासु मरेजस्तो लाग्न थालेको थियो ।


‘नानी, तँलाई के भएको छ ? सन्चो भएन कि ? कहाँ दुखेको छ ? के भएको छ ? भन न ।’ कोइराल्नी दिदीले कृष्णालाई पटक–पटक सोधी । उसको टाउको आफ्नो छातीमा टपक्क टाँसी । कृष्णाको अनुहार पहेँलो देखियो । ऊ बर्बराई । वातावरण बोझिल भयो । सन्नाटा छायो । भारी सन्नाटा ।

हत्यापछि
सिरमान बूढाको हत्या हुँदा देशमा संक्रमणकालीन समय चलिरहेको थियो । जनता र राज्यबीचको अन्तरद्वन्द्व बढेर उच्च विन्दुमा पुगेको थियो । प्रहरी प्रशासन राज्यको निर्देशनमा जनताको दोहोलो काढ्न उद्यत थियो । पसलहरू बन्द थियो । सडक तातिँदै गएको थियो । लाठी, गोली, अश्रुग्यास प्रहारले । जनता प्रजातन्त्र प्राप्तिका खातिर ज्यान दिन तयार थिए । यही संक्रमणकालीन अवस्थामा सिरमान बूढाको हत्या भएको थियो । सिरमान बूढाको हत्या हुनु भनेको प्रहरीको काम कारबाहीमा आगोमाथि घ्यू थपेसरह भएको थियो । प्रहरीले शंकास्पद भनेर दुई जनालाई नियन्त्रणमा लियो । विष्णु मिश्र र रामशरण थापा ।


हत्या भएको दिन सिरमान बूढाको घरमा विष्णु मिश्र आएको कुरा सिरिमती बूढीले चौकीमा बयान दिएकी थिइन् । जमिन नबेचेको रिस साँध्न सिरमान बूढाको हत्या गरेको आशंकामा विष्णु मिश्रलाई चौकीमा राम धुलाइ गरियो । जमिन किनबेचमा खटपट परेको तर आफूले सिरमान बूढाको हत्या नगरेको कुरा विष्णु मिश्रले पटकर्‍पटक दोहोर्‍याइरह्यो ।


रामशरण थापा त प्रहरीको तारो नै थियो । प्रहरी प्रशासनको आँखामा पञ्चेहरूको विरुद्धमा बकबक गरिहिँड्थ्यो । सिरमान बूढालाई पनि उसले मार्छु भन्ने धम्की दिएको थियो । विष्णु मिश्रको भन्दा दोब्बर धुलाइ रामशरणको हुनु नै थियो । तर रामशरणले पनि आफूले सिरमान बूढाको हत्या नगरेको कुरा दोहोर्‍याइरह्यो ।


२०४६ चैत २७ गते बिहान रेडियोले राजाले संविधानबाट निर्दलीय भन्ने शब्द हटाएको घोषणा गरेको समाचार फुक्यो । पुनः प्रजातन्त्र प्राप्तिको खबरले पशुपतिनगरमा मात्र होइन देशैभरि खुसियाली छाएको थियो । बन्द पसलहरू भटाभट खुल्न थाले । बजार नियमित हुन थाल्यो । तर कोइराल्नी दिदीले भट्टी खोलिनन् । बहुदलीय व्यवस्था घोषणा भएको बिहान उसले कृष्णाको किताब, कपी, खेलौना सबै एकएक गरी पोको पारी । कृष्णा र आफ्नो कपडा, भाँडाकुँडा पनि बोरामा हाली । टम्म बाँधी । ठेला बोलाई । टेबल, बेन्च ओसारी । अन्तमा कोइराल्नी दिदी र कृष्णा निस्किए । ढोकाबाट । घाम छड्के परेर पस्यो । झ्यालबाट । तत्क्षण घामको किरण परावर्तित भयो । त्यो गोलाकार भएर बतासमा सम्मिलित भयो ।


झ्याल नजिकै सिकोफाइब घडी टल्किरहेको थियो । यो त्यही घडी थियो जुन कृष्णाको सिरानीमा कोइराल्नी दिदीले भेट्टाएकी थिई । सिरमान बूढाको हत्या हुनु ठीक अघिल्लो दिन । त्यस दिन कृष्णा खुब बर्बराएकी थिई । सिरमान बूढा, चक्लेट, स्कुल, ...गुप्त अंग...।

प्रकाशित : भाद्र ७, २०७६ ११:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

तीन हजार वर्षदेखि...

संस्कृति
हिमेश

ह्याङगिङ कफिन्स ? ओहो, के हो यो ? सुन्दै आश्चर्य लाग्छ । धेरैले यसबारे सुनेका पनि होलान् । तर, कमैले देखेका होलान् । जसले त्यसलाई देख्न पायो, त्यो त भाग्यमानी पो हो, हाम्रा टुर गाइडले हामीलाई यस्तै सुनाए । सायद हो पनि । मान्छेका मृत्युका संस्कार पनि गज्जब गज्जबका हुने गर्छन् ।

यत्ति गज्जब विरलै होला, मान्छे मरेपछि त्यसको शरीरलाई काठको बाकसमा राखेर पहाडमा झुन्ड्याउने । अचेल यस्तो चलन त रहेन नै ।


केही सय वर्षअगाडिसम्मको यो मृत्यु संस्कारले मानिसका प्रवृत्ति पनि कस्ता–कस्ता हुन्छन् भनेर सोच्न बाध्य पार्छ । केही दिन अगाडि मात्र चीन भ्रमणको मौका जुरेको थियो । अनि त्यसै क्रममा प्रत्यक्ष देख्न पाइयो, यिनै ह्याङगिङ कफिन्स । भनिन्छ, चीन वास्तवमै के हो त्यो बुझ्नै सकिन्न । बुझ्ने प्रयास गरे, जुनीजुनी पनि कम हुन्छ । त्यसै पनि ठूलो देश त्यसमाथि अथाह आश्चर्यका पोका यस देशसँग जोडिएका छन्, ह्याङ्गिङ कफिन्स त्यसमै पर्छ । सबैभन्दा पहिले पृष्ठभूमि नै ।


लिपिन सहरको चौकाचौध हेरिनक्सनु छ । चिनियाँ सहर एकाएक कसरी विकसित हुन्छ र त्यसले कसरी आफ्नो वैभव प्रदर्शन गर्छ, त्यसको राम्रो उदाहरण हो, सिचुवान प्रान्तको यो सहर । भन्न त भनियो, यो सिचुवानको चौथो ठूलो सहर हो । यस्तोमा स्वाभाविक प्रश्न हुन्छ, सिचुवान नै यस्तो छ भने योभन्दा ठूला सहर कस्ता पो होलान् ? चीनको दक्षिण पश्चिमी प्रान्तको राजधानी हो, छेन्दु । यतै भएर लिपिन पुग्नुपर्छ ।


यी दुई सहरबीच दुई सय किलोमिटरभन्दा केही बढीको दूरी छ । बुलेट ट्रेनले एकै क्षणमा छेन्दुबाट लिपिन पुग्ने सकिने अनुभव पनि दिन्छ । दुवैतिर हेरेपछि अनुभव हुन्छ, सायद छेन्दु नै कम आकर्षक छ, बरु त्योभन्दा लिपिन कति राम्रो कति राम्रो । भलै यो सहरको इतिहास केही हजार वर्ष पुरानो छ, तर भर्खरै बसेको सहर भन्दा हुन्छ । चीनले पछिल्लो समय केही सय सहर यस्ता विकास गरेको छ, जसको पर्याय नै हुन्छ, अत्यन्त व्यवस्थित । लिपिन यसमै पर्छ ।

लिपिनको विशेषता यति मात्र पक्कै होइन । लिपिन सहर मात्र होइन, यो जिल्ला पनि हो । निकै ठूलो छ । सहरलाई झन्–झन् विस्तार गर्ने प्रयास भइरहेको छ । हामी एक दर्जन जति नेपाली पत्रकार त्यहाँ पुगेका थियौं । हामीलाई भनियो, औपचारिक कार्यक्रममा लिपिन पुग्ने हामी नै पहिलो जत्थाका पत्रकार हौं र हामीलाई लिपिन के हो, यहाँ के के मात्र छैन, धेरै थोक सुनाइयो । अन्त्यमा हामीलाई के पनि भनियो भने ह्याङ्गिङ कफिन्स हेरिएन भने के पो लिपिन आएको दाबी गर्ने र ?


आखिरमा हामी त्यहाँ पुग्यौं पनि । ह्याङ्गिङ कफिन्सको चलन चीनमा मात्र छैन, अन्यत्र पनि छिटफुट पाइन्छ, विशेषतः फिलिपिन्स र इन्डोनेसियामा । तर यो चलन चीनमा बढी छ । चीनमा पनि केही प्रान्तमा मात्र । चीनमै पनि ह्याङ्गिङ कफिन्स छन् भन्ने थाहा भएको धेरै भएको छैन, केही सय वर्षअगाडि मात्र । जति बेलादेखि थाहा भयो, यससँग जोडिएका रहस्य सबै रहस्य नै छन् । सम्भवतः यी रहस्यको उत्तर कहिले पनि पाइने छैन । हामीले देख्न पाएका ह्याङ्गिङ कफिन्स भने गोङ नामको स्थानका पहाडका हुन् । लिपिन सहरबाट लगभग तीन घण्टाको बस यात्रापछि चट्टानै चट्टानको पहाडमा पुगिन्छ । चट्टानको पनि महासागर हो रे यो । केही सय वर्षअगाडिसम्म यहाँ बो जातिको बसोबास थियो । यिनीहरू त्यति बेला अहिलेको सिचुवान र युनान प्रान्तको सीमामा बसोबास गर्थे ।


यिनीहरूबारे प्रारम्भिक जानकारी इसापूर्व हजार वर्ष अगाडिसम्मको छ । त्यसो भनेको तीन हजार वर्षअगाडिसम्मको कुरा भयो । यो जाति अरूभन्दा धेरै फरक थिए र यसमा पनि सबैभन्दा फरक त मृत्यु संस्कार नै थियो । यिनीहरू मृतकको शरीरलाई काठको बाकसमा राखेर पहाडमा झुन्ड्याउँथे । यही संस्कारका कारण यी बो जाति प्रख्यात रहे । यी मृतकको शरीर राखिएका काठका बाकस साढे दुई हजार वर्ष पुरानासम्म भेटिएका छन् । नयाँमा चार सय वर्षसम्मका । अहिले बो जातिलाई यही संस्कारका लागि सम्झिने गरिन्छ ।


अझ रहस्य केमा छ भने त्यसपछि पूराका पूरा बो जाति सधैंका लागि इतिहासमै बिलायो । र, बिलायो उनीहरूको यो अनौठो न अनौठो मृत्यु संस्कार पनि । भनिन्छ, मिङ राजवंशको शासनकालको अन्त्यतिर तिनको सेनाले बो जातिको नरसंहार गरे । त्यसै पनि यो जातिका मान्छे धेरै थिएनन्, त्यसैले सजिलै पूरा जातिकै वंश नास गरियो । जति बाँचे, उनीहरू पनि कालान्तरमा अरू जातिमा बिलाए, उनीहरूले हामी पनि बो हौं भन्न सकेनन् । चीनको प्राचीन इतिहासबारे लेखिएको किताब पल्टाउनुपर्छ, त्यसमा लेखिएको छ, यस्ता ह्याङ्गिङ कफिन्स पहाडमा झुन्ड्याइएका मात्र छैनन्, गुफाभित्र पनि राखिएका छन् । केहीलाई भने चट्टानको बीचमा राखिएको छ । त्यसमध्ये सबैभन्दा बढी रहस्य भने पहाडमा झुन्ड्याइएका नै हुन् ।


गोङमा यस्तै ह्याङ्गिङ कफिन्स बढी देख्न पाइयो । यिनलाई सजिलै पुग्न नसकिने गरेर केही सय मिटरमाथि राखिएका छन् । धेरैलाई काठकै टेको दिएर राखिएको छ । पहिलो प्रश्न, यी कफिनलाई कसरी त्यस्तो जटिल स्थानमा पुर्‍याइयो त ? यसका केही अनुमान छन् । पहिलो, कफिन लिएर तिनका मान्छे सुरुमा पहाडको टुप्पोमा चढे, त्यसपछि डोरीको सहयोगले बाकस झुन्ड्याउने काम गरे । दोस्रो, लामा न लामा झर्‍याङ बनाएर पहाडमा चढे र बाकस राख्ने काम गरे । तेस्रो, बो जातिसँग अरू कुनै जादुयी उपाय पनि थियो कि ? यी सब अनुमान मात्र हुन्, यी उत्तरले सबैलाई चित्त बुझाउन सक्दैन ।


अब दोस्रो प्रश्न । बो जातिले आफ्ना मृतकको शरीरलाई यस्ता बाकसमा राखेर पहाडमा झुन्ड्याउने कामचाहिँ किन पो गरे ? यसका पनि केही अनुमान छन् । पहिलो, यसरी उचाइमा राख्दा मृतक तिनका देउताको नजिक रहन्छन् । दोस्रो, यसरी मृतकको शरीर राख्दा अरू कुनै जनावरले त्यसमा आक्रमण गर्ने सम्भावना हुन्न । र, यस पछाडि पनि बो जातिसँग जोडिएको कुनै जादुयी कारण थियो कि ? यसमा तेस्रो प्रश्नको शृङ्खला पनि जोडिन्छ ।


यति धेरै वर्षपछि पनि यी कसरी सुरक्षित भए ? कसरी अहिलेसम्म पनि झुन्डिएको झुन्ड्यै भए ? यी सबै प्रश्नबारे पनि अनुमान मात्र गर्न सकिन्छ, यसले सबैलाई चित्त बुझाउन पनि सक्दैन । जति रहस्य खोज्ने काम भयो, त्यति प्रश्न थपिने काम हुन्छ । गोङका पहाडबारे फर्केयता हामीसँग पनि उत्तरभन्दा प्रश्न बढी थिए । इतिहासमै लेखिएको छ, बो जाति आफैंमा रहस्यमय छ । यिनका मृत्यु संस्कार झनै रहस्यमय । यसलाई रहस्यमय नै रहन देऊ, यो नै सायद हराइसकेको बो जाति प्रति सम्मान हो ।
twitter : @himeshratna

प्रकाशित : भाद्र ७, २०७६ ११:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT