भाषा चोरहरु जब शासक बन्छन्

सरिता तिवारी

भाषा–चोरहरु शासक बनेपछिसबैभन्दा ठूलो संकटमा पर्छन् शब्दहरु

भाषा–चोर शासकहरु
जब घुमाउाछन् शब्द–शब्दभित्र पसेर
ध्वनि यन्त्रको चाबी
शब्दहरु रातभर चोरले खागालेर छोडेको घरजस्तै
खाली र उदास हुन्छन्
शब्दहरु निर्वासित युद्धबन्दीका आाखाजस्तै
आतंकित र हतास हुन्छन् !

गुमाउँछन् शब्दले अर्थको प्राकृतिक सुगन्ध
रित्तिन्छ शब्दहरुबाट भावको गरिमा

हेर्दाहेर्दै
बन्छन् शब्दहरु केवल निरीह कठपुतली
बन्छन् कुरुप तर्कका हतियार
तिनै हतियार लिएर पस्छ शासक
किताबखानामा, अखबारहरुमा
कम्प्युटर र मोबाइलहरुमा,
छर्छ केवल प्रशस्तिको विष
सिकाउाछ अखण्ड प्रदक्षिणाको धुर्त कला !
र जन्माउाछ विवेकसम्पन्न मान्छेको ठाउामा अरिंगाल–दस्ता !

ओर्लिन्छ युद्धपोत विमानबाट खसेका सिपाहीझैं
गाउा, सहर र सभ्यताको आागनमाथि
र गर्छ विचारहरुको सामूहिक संहार !
लुट्छ प्रश्नहरुको ढुकढुकी
सम्मोहित बनाइदिन्छ र निदाइदिन्छ
सिङ्गो जुगको चेतना !

उदाहरणार्थ हेर्नुस् ः
संघीयता,
समावेशी लोकतन्त्र
समानुपातिक प्रतिनिधित्व
सुखी नेपाली– समृद्ध नेपाल !
म भ्रष्टाचार गर्दिना, भ्रष्टाचार हुन दिन्न
स्मार्ट सिटी ––
आदि आदि।

शासकीय मठभित्रै ऐंठन परेर
आत्माहीन,
मुर्दातुल्य बनिसकेका यी शब्दको मुखमा
कसले राखिदेला गङ्गाजल !?
कसले ब्युाताइदेला यिनको आत्मा?

कसले जोगाइदेला
लोकतन्त्र, गणतन्त्रको नाममा बगेका
तमाम रगतहरुको मोल?

प्रकाशित : भाद्र ७, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

तीन हजार वर्षदेखि...

संस्कृति
हिमेश

ह्याङगिङ कफिन्स ? ओहो, के हो यो ? सुन्दै आश्चर्य लाग्छ । धेरैले यसबारे सुनेका पनि होलान् । तर, कमैले देखेका होलान् । जसले त्यसलाई देख्न पायो, त्यो त भाग्यमानी पो हो, हाम्रा टुर गाइडले हामीलाई यस्तै सुनाए । सायद हो पनि । मान्छेका मृत्युका संस्कार पनि गज्जब गज्जबका हुने गर्छन् ।

यत्ति गज्जब विरलै होला, मान्छे मरेपछि त्यसको शरीरलाई काठको बाकसमा राखेर पहाडमा झुन्ड्याउने । अचेल यस्तो चलन त रहेन नै ।


केही सय वर्षअगाडिसम्मको यो मृत्यु संस्कारले मानिसका प्रवृत्ति पनि कस्ता–कस्ता हुन्छन् भनेर सोच्न बाध्य पार्छ । केही दिन अगाडि मात्र चीन भ्रमणको मौका जुरेको थियो । अनि त्यसै क्रममा प्रत्यक्ष देख्न पाइयो, यिनै ह्याङगिङ कफिन्स । भनिन्छ, चीन वास्तवमै के हो त्यो बुझ्नै सकिन्न । बुझ्ने प्रयास गरे, जुनीजुनी पनि कम हुन्छ । त्यसै पनि ठूलो देश त्यसमाथि अथाह आश्चर्यका पोका यस देशसँग जोडिएका छन्, ह्याङ्गिङ कफिन्स त्यसमै पर्छ । सबैभन्दा पहिले पृष्ठभूमि नै ।


लिपिन सहरको चौकाचौध हेरिनक्सनु छ । चिनियाँ सहर एकाएक कसरी विकसित हुन्छ र त्यसले कसरी आफ्नो वैभव प्रदर्शन गर्छ, त्यसको राम्रो उदाहरण हो, सिचुवान प्रान्तको यो सहर । भन्न त भनियो, यो सिचुवानको चौथो ठूलो सहर हो । यस्तोमा स्वाभाविक प्रश्न हुन्छ, सिचुवान नै यस्तो छ भने योभन्दा ठूला सहर कस्ता पो होलान् ? चीनको दक्षिण पश्चिमी प्रान्तको राजधानी हो, छेन्दु । यतै भएर लिपिन पुग्नुपर्छ ।


यी दुई सहरबीच दुई सय किलोमिटरभन्दा केही बढीको दूरी छ । बुलेट ट्रेनले एकै क्षणमा छेन्दुबाट लिपिन पुग्ने सकिने अनुभव पनि दिन्छ । दुवैतिर हेरेपछि अनुभव हुन्छ, सायद छेन्दु नै कम आकर्षक छ, बरु त्योभन्दा लिपिन कति राम्रो कति राम्रो । भलै यो सहरको इतिहास केही हजार वर्ष पुरानो छ, तर भर्खरै बसेको सहर भन्दा हुन्छ । चीनले पछिल्लो समय केही सय सहर यस्ता विकास गरेको छ, जसको पर्याय नै हुन्छ, अत्यन्त व्यवस्थित । लिपिन यसमै पर्छ ।

लिपिनको विशेषता यति मात्र पक्कै होइन । लिपिन सहर मात्र होइन, यो जिल्ला पनि हो । निकै ठूलो छ । सहरलाई झन्–झन् विस्तार गर्ने प्रयास भइरहेको छ । हामी एक दर्जन जति नेपाली पत्रकार त्यहाँ पुगेका थियौं । हामीलाई भनियो, औपचारिक कार्यक्रममा लिपिन पुग्ने हामी नै पहिलो जत्थाका पत्रकार हौं र हामीलाई लिपिन के हो, यहाँ के के मात्र छैन, धेरै थोक सुनाइयो । अन्त्यमा हामीलाई के पनि भनियो भने ह्याङ्गिङ कफिन्स हेरिएन भने के पो लिपिन आएको दाबी गर्ने र ?


आखिरमा हामी त्यहाँ पुग्यौं पनि । ह्याङ्गिङ कफिन्सको चलन चीनमा मात्र छैन, अन्यत्र पनि छिटफुट पाइन्छ, विशेषतः फिलिपिन्स र इन्डोनेसियामा । तर यो चलन चीनमा बढी छ । चीनमा पनि केही प्रान्तमा मात्र । चीनमै पनि ह्याङ्गिङ कफिन्स छन् भन्ने थाहा भएको धेरै भएको छैन, केही सय वर्षअगाडि मात्र । जति बेलादेखि थाहा भयो, यससँग जोडिएका रहस्य सबै रहस्य नै छन् । सम्भवतः यी रहस्यको उत्तर कहिले पनि पाइने छैन । हामीले देख्न पाएका ह्याङ्गिङ कफिन्स भने गोङ नामको स्थानका पहाडका हुन् । लिपिन सहरबाट लगभग तीन घण्टाको बस यात्रापछि चट्टानै चट्टानको पहाडमा पुगिन्छ । चट्टानको पनि महासागर हो रे यो । केही सय वर्षअगाडिसम्म यहाँ बो जातिको बसोबास थियो । यिनीहरू त्यति बेला अहिलेको सिचुवान र युनान प्रान्तको सीमामा बसोबास गर्थे ।


यिनीहरूबारे प्रारम्भिक जानकारी इसापूर्व हजार वर्ष अगाडिसम्मको छ । त्यसो भनेको तीन हजार वर्षअगाडिसम्मको कुरा भयो । यो जाति अरूभन्दा धेरै फरक थिए र यसमा पनि सबैभन्दा फरक त मृत्यु संस्कार नै थियो । यिनीहरू मृतकको शरीरलाई काठको बाकसमा राखेर पहाडमा झुन्ड्याउँथे । यही संस्कारका कारण यी बो जाति प्रख्यात रहे । यी मृतकको शरीर राखिएका काठका बाकस साढे दुई हजार वर्ष पुरानासम्म भेटिएका छन् । नयाँमा चार सय वर्षसम्मका । अहिले बो जातिलाई यही संस्कारका लागि सम्झिने गरिन्छ ।


अझ रहस्य केमा छ भने त्यसपछि पूराका पूरा बो जाति सधैंका लागि इतिहासमै बिलायो । र, बिलायो उनीहरूको यो अनौठो न अनौठो मृत्यु संस्कार पनि । भनिन्छ, मिङ राजवंशको शासनकालको अन्त्यतिर तिनको सेनाले बो जातिको नरसंहार गरे । त्यसै पनि यो जातिका मान्छे धेरै थिएनन्, त्यसैले सजिलै पूरा जातिकै वंश नास गरियो । जति बाँचे, उनीहरू पनि कालान्तरमा अरू जातिमा बिलाए, उनीहरूले हामी पनि बो हौं भन्न सकेनन् । चीनको प्राचीन इतिहासबारे लेखिएको किताब पल्टाउनुपर्छ, त्यसमा लेखिएको छ, यस्ता ह्याङ्गिङ कफिन्स पहाडमा झुन्ड्याइएका मात्र छैनन्, गुफाभित्र पनि राखिएका छन् । केहीलाई भने चट्टानको बीचमा राखिएको छ । त्यसमध्ये सबैभन्दा बढी रहस्य भने पहाडमा झुन्ड्याइएका नै हुन् ।


गोङमा यस्तै ह्याङ्गिङ कफिन्स बढी देख्न पाइयो । यिनलाई सजिलै पुग्न नसकिने गरेर केही सय मिटरमाथि राखिएका छन् । धेरैलाई काठकै टेको दिएर राखिएको छ । पहिलो प्रश्न, यी कफिनलाई कसरी त्यस्तो जटिल स्थानमा पुर्‍याइयो त ? यसका केही अनुमान छन् । पहिलो, कफिन लिएर तिनका मान्छे सुरुमा पहाडको टुप्पोमा चढे, त्यसपछि डोरीको सहयोगले बाकस झुन्ड्याउने काम गरे । दोस्रो, लामा न लामा झर्‍याङ बनाएर पहाडमा चढे र बाकस राख्ने काम गरे । तेस्रो, बो जातिसँग अरू कुनै जादुयी उपाय पनि थियो कि ? यी सब अनुमान मात्र हुन्, यी उत्तरले सबैलाई चित्त बुझाउन सक्दैन ।


अब दोस्रो प्रश्न । बो जातिले आफ्ना मृतकको शरीरलाई यस्ता बाकसमा राखेर पहाडमा झुन्ड्याउने कामचाहिँ किन पो गरे ? यसका पनि केही अनुमान छन् । पहिलो, यसरी उचाइमा राख्दा मृतक तिनका देउताको नजिक रहन्छन् । दोस्रो, यसरी मृतकको शरीर राख्दा अरू कुनै जनावरले त्यसमा आक्रमण गर्ने सम्भावना हुन्न । र, यस पछाडि पनि बो जातिसँग जोडिएको कुनै जादुयी कारण थियो कि ? यसमा तेस्रो प्रश्नको शृङ्खला पनि जोडिन्छ ।


यति धेरै वर्षपछि पनि यी कसरी सुरक्षित भए ? कसरी अहिलेसम्म पनि झुन्डिएको झुन्ड्यै भए ? यी सबै प्रश्नबारे पनि अनुमान मात्र गर्न सकिन्छ, यसले सबैलाई चित्त बुझाउन पनि सक्दैन । जति रहस्य खोज्ने काम भयो, त्यति प्रश्न थपिने काम हुन्छ । गोङका पहाडबारे फर्केयता हामीसँग पनि उत्तरभन्दा प्रश्न बढी थिए । इतिहासमै लेखिएको छ, बो जाति आफैंमा रहस्यमय छ । यिनका मृत्यु संस्कार झनै रहस्यमय । यसलाई रहस्यमय नै रहन देऊ, यो नै सायद हराइसकेको बो जाति प्रति सम्मान हो ।
twitter : @himeshratna

प्रकाशित : भाद्र ७, २०७६ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्