२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'लक्खी मेये'

पर्वत पाेर्तेल

२०७३ भदौ २० मा दान खालिङ बिते  । खालिङ बितेको करिब डेढ वर्षपछि इन्द्रबहादुर राई बिते  । यो वर्षमात्रै तीन सर्जक गुमायो दार्जिलिङले । गत चैत १५ मा खर्साङका असित राईको निधन भयो । असार ३० मा शताब्दी पुरुष, अग्रज सर्जक हायमानदास राई किराँतको चोला उड्यो ।

'लक्खी मेये'

उनी बितेको महिना दिन बित्न पाएको थिएन, अर्की स्रष्टा डा. लक्खीदेवी सुन्दासको निधन भयो । ८५ वर्षको उमेरमा गत बिहीबार उनले सिलिगुडीको एउटा सरकारी अस्पतालमा अन्तिम सास फेरिन् ।


सिलिगुडी प्रधान नगरको शताब्दी अपार्टमेन्टमा यिनी बस्थिन्, सहयोगीसँग । लामो समयदेखि बाथ रोगले ग्रसित थिइन् । अन्त्यमा घुँडा र हड्डीका जोर्नी दुख्ने (अर्थराइटिस) कै समस्या यिनको निधनको कारण बन्यो । सन् १९६० मा मेडिकल डाक्टर बीबी सुन्दाससँग यिनको बिहे भयो । यिनका दुई छोरा भारतीय सरकारी सेवामा कार्यरत छन् । सन् २००९ मा पतिको निधनपछि उनी लगभग एक्लो जीवन बिताउँदै आएकी थिइन् । ५ वर्षअघिसम्म पनि यिनको दिनचर्या लेखपढमै बित्थ्यो । ३ वर्षअघि पंक्तिकारसँगको भेटमा भनेकी थिइन्, ‘अब पहिलाजस्तो लेखपढ गर्न नसक्ने भइयो ।’ त्यो बेला हिँडडुल गर्न पनि सहयोगी चाहिन्थ्यो । भन्थिन्, ‘सकीनसकी पनि लेखपढचैं गर्छु, यसैले मलाई अहिलेसम्म बाँच्न सघाएको छ ।’ छोरा, बुहारी जागिरमा व्यस्त । उनको सहारा भनेकै लेखन र अध्ययन मात्रै थियो ।


लक्खीदेवी जन्मिँदा भारतमा ब्रिटिस साम्राज्य कायमै थियो । तत्कालीन इस्ट इन्डिया कम्पनीको राजधानी कोलकातामा २७ मार्च, १९३४ मा जन्मिएकी थिइन् । लक्खीदेवीका बुबा चन्द्रबहादुर सिंह सेवा वर्द्धमान राजाका सेवक थिए । त्यही भएर दार्जिलिङबाट यिनलाई कोलकाता लगेका थिए राजाले । ७ महिनामै जन्मेकी उनको न्वारन उडिया पुरोहितले गरिदिए । नाम जुर्‍यो, लक्खी अर्थात् लक्ष्मी । बंगाली समाजमा जन्मिएकी उनलाई रैथानेहरूले प्रेमले ‘लक्खी मेये’ अर्थात् लच्छिनकी छोरी भन्थे ।


लक्खीदेवीको प्रारम्भिक शिक्षा कोलकातामै भयो । यिनले हिन्दी र बंगाली भाषा पढिन् । नेपाली त पछि दार्जिलिङ फर्किएपछि मात्रै पढ्न पाइन् । दार्जिलिङको राजवारी क्षेत्रमा यिनीहरूको बसोबास थियो । लक्खीदेवी केही वर्ष अंग्रेजी स्कुलमा पढिन् । पछि नेपाली कन्या उच्च विद्यालयमा यिनलाई भर्ना गरियो । त्यहींबाट यिनले नेपाली भाषा अध्ययन गर्न पाइन् । स्कुल पढ्दादेखि नै उनी कविता, गीत लेख्थिन् । सन् १९५० ताका हस्तलिखित पत्रिका साहित्यिक पत्रिका ‘दीपक’ निस्किन्थ्यो । त्यही पत्रिकामा यिनले साहित्यिक सिर्जनाहरू छाप्न थालिन् । उनले साहित्य लेखन सुरु गर्दा ‘नौ लाख तारा उदाए’ गीतका सर्जक अगमसिंह गिरीहरूले आफ्नो पहिचान बनाइसकेका थिए । सुरुमा उनले राष्ट्रवादी कविताहरू लेख्थिन् । खरसाङका सर्जक चन्द्र शर्माले लक्खीदेवी अभिनन्दन ग्रन्थमा लेखेका छन्, अगमसिंह गिरी, अच्छा राई रसिक, बेनुकुमारी सिंह, गोपीनारायण प्रधानलगायत उनका समकालीन थिए ।’
लक्खीदेवी कवितासँगै कथा विधातिर पनि आकर्षित भइन् । ‘तेस्रो घर’ र ‘खै रिपोर्ट आएन’ उनका चर्चित कथा हुन् । सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) देखि तेस्रो आयामका प्रवर्तकहरू इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभसँग पनि लक्खीदेवीको सम्बन्ध राम्रो थियो ।


सन् १९४९ सालतिर दार्जिलिङ पुगेका थिए, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समलगायत । लक्खीदेवीले त्यही समय देवकोटा र समसँग बलियो सम्बन्ध स्थापित गरेकी थिइन् । देवकोटाले उनलाई भनेका रहेछन्, ‘निरन्तर लेखिरहनू, तपाईंको भविष्य उज्ज्वल देख्छु म ।’ नेपाल र दार्जिलिङकै अग्रज सर्जकहरूको छत्रछायामा हुर्किएकी उनले साहित्य सिर्जना कहिल्यै छाडिनन् । निरन्तर साधन गरिरहिन् । निधन अघिसम्म पनि उनी लेखन र अध्ययनकै विषयमा घोत्लिरहन्थिन् । कथा संगालो ‘आहत अनुभूति’ (१९९८) र कविता कृति ‘सम्भावित अर्थ समर्पित एकान्त’ (२०००) उनका प्रिय कृति हुन् । आहत अनुभूतिले सन् २००१ मा साहित्य एकाडेमी पुरस्कार जितेको थियो ।


लक्खीले कानुनमा स्नातक, नेपालीमा एमएसँगै पछि सन् १९८८ मा ‘भारतीय नेपाली साहित्यको विकासमा दार्जिलिङको नेपाली कविता’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी थिइन् । सन् १९७० ताका सिद्धार्थ शंकर राय पश्चिम बंगलाका मुख्यमन्त्री बने । उनकै कार्यकालमा दार्जिलिङमा हिल अफेयर्स कमिटी बन्यो । अफेयर्सको एउटा अलग्गै सचिवालय पनि बन्यो, त्यसको जिम्मेवारी लक्खीदेवीको काँधमा आइलाग्यो ।


दार्जिलिङको सरकारी कलेजकी अध्यापिका लक्खीदेवी कुनै दल निकट थिइनन् । ‘थिंक ट्यांक’ को रूपमा नियुक्त गरिएको थियो । सन् ८० मा साहित्यकार शिवकुमार राई, पनि हिल अफेयर्सको सदस्य बनेका थिए । सन् ८० पछि सुवास घिसिङले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नामको पार्टी गठन गरेर अलग प्रान्त गोर्खाल्यान्डको माग अघि सारेका थिए । सन् ८६ मा अलग राज्यको माग उत्कर्षमा पुग्यो । १२ सय नागरिकले ज्यान गुमाए । तर, गोर्खाल्यान्ड भने आएन । बरु, पुरानै प्रवृृत्तिको दार्जिलिङ गोर्खा पार्वत्य परिषद् नामको निकाय खडा भयो । लक्खीदेवी भन्ने गर्थिन्, ‘गोर्खाल्यान्ड हाम्रो संवैधानिक अधिकार त हो तर पाउन अझै धेरै समय लाग्न सक्छ ।’

प्रकाशित : भाद्र ७, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?