'लक्खी मेये'

पर्वत पाेर्तेल

२०७३ भदौ २० मा दान खालिङ बिते  । खालिङ बितेको करिब डेढ वर्षपछि इन्द्रबहादुर राई बिते  । यो वर्षमात्रै तीन सर्जक गुमायो दार्जिलिङले । गत चैत १५ मा खर्साङका असित राईको निधन भयो । असार ३० मा शताब्दी पुरुष, अग्रज सर्जक हायमानदास राई किराँतको चोला उड्यो ।

उनी बितेको महिना दिन बित्न पाएको थिएन, अर्की स्रष्टा डा. लक्खीदेवी सुन्दासको निधन भयो । ८५ वर्षको उमेरमा गत बिहीबार उनले सिलिगुडीको एउटा सरकारी अस्पतालमा अन्तिम सास फेरिन् ।


सिलिगुडी प्रधान नगरको शताब्दी अपार्टमेन्टमा यिनी बस्थिन्, सहयोगीसँग । लामो समयदेखि बाथ रोगले ग्रसित थिइन् । अन्त्यमा घुँडा र हड्डीका जोर्नी दुख्ने (अर्थराइटिस) कै समस्या यिनको निधनको कारण बन्यो । सन् १९६० मा मेडिकल डाक्टर बीबी सुन्दाससँग यिनको बिहे भयो । यिनका दुई छोरा भारतीय सरकारी सेवामा कार्यरत छन् । सन् २००९ मा पतिको निधनपछि उनी लगभग एक्लो जीवन बिताउँदै आएकी थिइन् । ५ वर्षअघिसम्म पनि यिनको दिनचर्या लेखपढमै बित्थ्यो । ३ वर्षअघि पंक्तिकारसँगको भेटमा भनेकी थिइन्, ‘अब पहिलाजस्तो लेखपढ गर्न नसक्ने भइयो ।’ त्यो बेला हिँडडुल गर्न पनि सहयोगी चाहिन्थ्यो । भन्थिन्, ‘सकीनसकी पनि लेखपढचैं गर्छु, यसैले मलाई अहिलेसम्म बाँच्न सघाएको छ ।’ छोरा, बुहारी जागिरमा व्यस्त । उनको सहारा भनेकै लेखन र अध्ययन मात्रै थियो ।


लक्खीदेवी जन्मिँदा भारतमा ब्रिटिस साम्राज्य कायमै थियो । तत्कालीन इस्ट इन्डिया कम्पनीको राजधानी कोलकातामा २७ मार्च, १९३४ मा जन्मिएकी थिइन् । लक्खीदेवीका बुबा चन्द्रबहादुर सिंह सेवा वर्द्धमान राजाका सेवक थिए । त्यही भएर दार्जिलिङबाट यिनलाई कोलकाता लगेका थिए राजाले । ७ महिनामै जन्मेकी उनको न्वारन उडिया पुरोहितले गरिदिए । नाम जुर्‍यो, लक्खी अर्थात् लक्ष्मी । बंगाली समाजमा जन्मिएकी उनलाई रैथानेहरूले प्रेमले ‘लक्खी मेये’ अर्थात् लच्छिनकी छोरी भन्थे ।


लक्खीदेवीको प्रारम्भिक शिक्षा कोलकातामै भयो । यिनले हिन्दी र बंगाली भाषा पढिन् । नेपाली त पछि दार्जिलिङ फर्किएपछि मात्रै पढ्न पाइन् । दार्जिलिङको राजवारी क्षेत्रमा यिनीहरूको बसोबास थियो । लक्खीदेवी केही वर्ष अंग्रेजी स्कुलमा पढिन् । पछि नेपाली कन्या उच्च विद्यालयमा यिनलाई भर्ना गरियो । त्यहींबाट यिनले नेपाली भाषा अध्ययन गर्न पाइन् । स्कुल पढ्दादेखि नै उनी कविता, गीत लेख्थिन् । सन् १९५० ताका हस्तलिखित पत्रिका साहित्यिक पत्रिका ‘दीपक’ निस्किन्थ्यो । त्यही पत्रिकामा यिनले साहित्यिक सिर्जनाहरू छाप्न थालिन् । उनले साहित्य लेखन सुरु गर्दा ‘नौ लाख तारा उदाए’ गीतका सर्जक अगमसिंह गिरीहरूले आफ्नो पहिचान बनाइसकेका थिए । सुरुमा उनले राष्ट्रवादी कविताहरू लेख्थिन् । खरसाङका सर्जक चन्द्र शर्माले लक्खीदेवी अभिनन्दन ग्रन्थमा लेखेका छन्, अगमसिंह गिरी, अच्छा राई रसिक, बेनुकुमारी सिंह, गोपीनारायण प्रधानलगायत उनका समकालीन थिए ।’
लक्खीदेवी कवितासँगै कथा विधातिर पनि आकर्षित भइन् । ‘तेस्रो घर’ र ‘खै रिपोर्ट आएन’ उनका चर्चित कथा हुन् । सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा) देखि तेस्रो आयामका प्रवर्तकहरू इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभसँग पनि लक्खीदेवीको सम्बन्ध राम्रो थियो ।


सन् १९४९ सालतिर दार्जिलिङ पुगेका थिए, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समलगायत । लक्खीदेवीले त्यही समय देवकोटा र समसँग बलियो सम्बन्ध स्थापित गरेकी थिइन् । देवकोटाले उनलाई भनेका रहेछन्, ‘निरन्तर लेखिरहनू, तपाईंको भविष्य उज्ज्वल देख्छु म ।’ नेपाल र दार्जिलिङकै अग्रज सर्जकहरूको छत्रछायामा हुर्किएकी उनले साहित्य सिर्जना कहिल्यै छाडिनन् । निरन्तर साधन गरिरहिन् । निधन अघिसम्म पनि उनी लेखन र अध्ययनकै विषयमा घोत्लिरहन्थिन् । कथा संगालो ‘आहत अनुभूति’ (१९९८) र कविता कृति ‘सम्भावित अर्थ समर्पित एकान्त’ (२०००) उनका प्रिय कृति हुन् । आहत अनुभूतिले सन् २००१ मा साहित्य एकाडेमी पुरस्कार जितेको थियो ।


लक्खीले कानुनमा स्नातक, नेपालीमा एमएसँगै पछि सन् १९८८ मा ‘भारतीय नेपाली साहित्यको विकासमा दार्जिलिङको नेपाली कविता’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी थिइन् । सन् १९७० ताका सिद्धार्थ शंकर राय पश्चिम बंगलाका मुख्यमन्त्री बने । उनकै कार्यकालमा दार्जिलिङमा हिल अफेयर्स कमिटी बन्यो । अफेयर्सको एउटा अलग्गै सचिवालय पनि बन्यो, त्यसको जिम्मेवारी लक्खीदेवीको काँधमा आइलाग्यो ।


दार्जिलिङको सरकारी कलेजकी अध्यापिका लक्खीदेवी कुनै दल निकट थिइनन् । ‘थिंक ट्यांक’ को रूपमा नियुक्त गरिएको थियो । सन् ८० मा साहित्यकार शिवकुमार राई, पनि हिल अफेयर्सको सदस्य बनेका थिए । सन् ८० पछि सुवास घिसिङले गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नामको पार्टी गठन गरेर अलग प्रान्त गोर्खाल्यान्डको माग अघि सारेका थिए । सन् ८६ मा अलग राज्यको माग उत्कर्षमा पुग्यो । १२ सय नागरिकले ज्यान गुमाए । तर, गोर्खाल्यान्ड भने आएन । बरु, पुरानै प्रवृृत्तिको दार्जिलिङ गोर्खा पार्वत्य परिषद् नामको निकाय खडा भयो । लक्खीदेवी भन्ने गर्थिन्, ‘गोर्खाल्यान्ड हाम्रो संवैधानिक अधिकार त हो तर पाउन अझै धेरै समय लाग्न सक्छ ।’

प्रकाशित : भाद्र ७, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

तीन हजार वर्षदेखि...

संस्कृति
हिमेश

ह्याङगिङ कफिन्स ? ओहो, के हो यो ? सुन्दै आश्चर्य लाग्छ । धेरैले यसबारे सुनेका पनि होलान् । तर, कमैले देखेका होलान् । जसले त्यसलाई देख्न पायो, त्यो त भाग्यमानी पो हो, हाम्रा टुर गाइडले हामीलाई यस्तै सुनाए । सायद हो पनि । मान्छेका मृत्युका संस्कार पनि गज्जब गज्जबका हुने गर्छन् ।

यत्ति गज्जब विरलै होला, मान्छे मरेपछि त्यसको शरीरलाई काठको बाकसमा राखेर पहाडमा झुन्ड्याउने । अचेल यस्तो चलन त रहेन नै ।


केही सय वर्षअगाडिसम्मको यो मृत्यु संस्कारले मानिसका प्रवृत्ति पनि कस्ता–कस्ता हुन्छन् भनेर सोच्न बाध्य पार्छ । केही दिन अगाडि मात्र चीन भ्रमणको मौका जुरेको थियो । अनि त्यसै क्रममा प्रत्यक्ष देख्न पाइयो, यिनै ह्याङगिङ कफिन्स । भनिन्छ, चीन वास्तवमै के हो त्यो बुझ्नै सकिन्न । बुझ्ने प्रयास गरे, जुनीजुनी पनि कम हुन्छ । त्यसै पनि ठूलो देश त्यसमाथि अथाह आश्चर्यका पोका यस देशसँग जोडिएका छन्, ह्याङ्गिङ कफिन्स त्यसमै पर्छ । सबैभन्दा पहिले पृष्ठभूमि नै ।


लिपिन सहरको चौकाचौध हेरिनक्सनु छ । चिनियाँ सहर एकाएक कसरी विकसित हुन्छ र त्यसले कसरी आफ्नो वैभव प्रदर्शन गर्छ, त्यसको राम्रो उदाहरण हो, सिचुवान प्रान्तको यो सहर । भन्न त भनियो, यो सिचुवानको चौथो ठूलो सहर हो । यस्तोमा स्वाभाविक प्रश्न हुन्छ, सिचुवान नै यस्तो छ भने योभन्दा ठूला सहर कस्ता पो होलान् ? चीनको दक्षिण पश्चिमी प्रान्तको राजधानी हो, छेन्दु । यतै भएर लिपिन पुग्नुपर्छ ।


यी दुई सहरबीच दुई सय किलोमिटरभन्दा केही बढीको दूरी छ । बुलेट ट्रेनले एकै क्षणमा छेन्दुबाट लिपिन पुग्ने सकिने अनुभव पनि दिन्छ । दुवैतिर हेरेपछि अनुभव हुन्छ, सायद छेन्दु नै कम आकर्षक छ, बरु त्योभन्दा लिपिन कति राम्रो कति राम्रो । भलै यो सहरको इतिहास केही हजार वर्ष पुरानो छ, तर भर्खरै बसेको सहर भन्दा हुन्छ । चीनले पछिल्लो समय केही सय सहर यस्ता विकास गरेको छ, जसको पर्याय नै हुन्छ, अत्यन्त व्यवस्थित । लिपिन यसमै पर्छ ।

लिपिनको विशेषता यति मात्र पक्कै होइन । लिपिन सहर मात्र होइन, यो जिल्ला पनि हो । निकै ठूलो छ । सहरलाई झन्–झन् विस्तार गर्ने प्रयास भइरहेको छ । हामी एक दर्जन जति नेपाली पत्रकार त्यहाँ पुगेका थियौं । हामीलाई भनियो, औपचारिक कार्यक्रममा लिपिन पुग्ने हामी नै पहिलो जत्थाका पत्रकार हौं र हामीलाई लिपिन के हो, यहाँ के के मात्र छैन, धेरै थोक सुनाइयो । अन्त्यमा हामीलाई के पनि भनियो भने ह्याङ्गिङ कफिन्स हेरिएन भने के पो लिपिन आएको दाबी गर्ने र ?


आखिरमा हामी त्यहाँ पुग्यौं पनि । ह्याङ्गिङ कफिन्सको चलन चीनमा मात्र छैन, अन्यत्र पनि छिटफुट पाइन्छ, विशेषतः फिलिपिन्स र इन्डोनेसियामा । तर यो चलन चीनमा बढी छ । चीनमा पनि केही प्रान्तमा मात्र । चीनमै पनि ह्याङ्गिङ कफिन्स छन् भन्ने थाहा भएको धेरै भएको छैन, केही सय वर्षअगाडि मात्र । जति बेलादेखि थाहा भयो, यससँग जोडिएका रहस्य सबै रहस्य नै छन् । सम्भवतः यी रहस्यको उत्तर कहिले पनि पाइने छैन । हामीले देख्न पाएका ह्याङ्गिङ कफिन्स भने गोङ नामको स्थानका पहाडका हुन् । लिपिन सहरबाट लगभग तीन घण्टाको बस यात्रापछि चट्टानै चट्टानको पहाडमा पुगिन्छ । चट्टानको पनि महासागर हो रे यो । केही सय वर्षअगाडिसम्म यहाँ बो जातिको बसोबास थियो । यिनीहरू त्यति बेला अहिलेको सिचुवान र युनान प्रान्तको सीमामा बसोबास गर्थे ।


यिनीहरूबारे प्रारम्भिक जानकारी इसापूर्व हजार वर्ष अगाडिसम्मको छ । त्यसो भनेको तीन हजार वर्षअगाडिसम्मको कुरा भयो । यो जाति अरूभन्दा धेरै फरक थिए र यसमा पनि सबैभन्दा फरक त मृत्यु संस्कार नै थियो । यिनीहरू मृतकको शरीरलाई काठको बाकसमा राखेर पहाडमा झुन्ड्याउँथे । यही संस्कारका कारण यी बो जाति प्रख्यात रहे । यी मृतकको शरीर राखिएका काठका बाकस साढे दुई हजार वर्ष पुरानासम्म भेटिएका छन् । नयाँमा चार सय वर्षसम्मका । अहिले बो जातिलाई यही संस्कारका लागि सम्झिने गरिन्छ ।


अझ रहस्य केमा छ भने त्यसपछि पूराका पूरा बो जाति सधैंका लागि इतिहासमै बिलायो । र, बिलायो उनीहरूको यो अनौठो न अनौठो मृत्यु संस्कार पनि । भनिन्छ, मिङ राजवंशको शासनकालको अन्त्यतिर तिनको सेनाले बो जातिको नरसंहार गरे । त्यसै पनि यो जातिका मान्छे धेरै थिएनन्, त्यसैले सजिलै पूरा जातिकै वंश नास गरियो । जति बाँचे, उनीहरू पनि कालान्तरमा अरू जातिमा बिलाए, उनीहरूले हामी पनि बो हौं भन्न सकेनन् । चीनको प्राचीन इतिहासबारे लेखिएको किताब पल्टाउनुपर्छ, त्यसमा लेखिएको छ, यस्ता ह्याङ्गिङ कफिन्स पहाडमा झुन्ड्याइएका मात्र छैनन्, गुफाभित्र पनि राखिएका छन् । केहीलाई भने चट्टानको बीचमा राखिएको छ । त्यसमध्ये सबैभन्दा बढी रहस्य भने पहाडमा झुन्ड्याइएका नै हुन् ।


गोङमा यस्तै ह्याङ्गिङ कफिन्स बढी देख्न पाइयो । यिनलाई सजिलै पुग्न नसकिने गरेर केही सय मिटरमाथि राखिएका छन् । धेरैलाई काठकै टेको दिएर राखिएको छ । पहिलो प्रश्न, यी कफिनलाई कसरी त्यस्तो जटिल स्थानमा पुर्‍याइयो त ? यसका केही अनुमान छन् । पहिलो, कफिन लिएर तिनका मान्छे सुरुमा पहाडको टुप्पोमा चढे, त्यसपछि डोरीको सहयोगले बाकस झुन्ड्याउने काम गरे । दोस्रो, लामा न लामा झर्‍याङ बनाएर पहाडमा चढे र बाकस राख्ने काम गरे । तेस्रो, बो जातिसँग अरू कुनै जादुयी उपाय पनि थियो कि ? यी सब अनुमान मात्र हुन्, यी उत्तरले सबैलाई चित्त बुझाउन सक्दैन ।


अब दोस्रो प्रश्न । बो जातिले आफ्ना मृतकको शरीरलाई यस्ता बाकसमा राखेर पहाडमा झुन्ड्याउने कामचाहिँ किन पो गरे ? यसका पनि केही अनुमान छन् । पहिलो, यसरी उचाइमा राख्दा मृतक तिनका देउताको नजिक रहन्छन् । दोस्रो, यसरी मृतकको शरीर राख्दा अरू कुनै जनावरले त्यसमा आक्रमण गर्ने सम्भावना हुन्न । र, यस पछाडि पनि बो जातिसँग जोडिएको कुनै जादुयी कारण थियो कि ? यसमा तेस्रो प्रश्नको शृङ्खला पनि जोडिन्छ ।


यति धेरै वर्षपछि पनि यी कसरी सुरक्षित भए ? कसरी अहिलेसम्म पनि झुन्डिएको झुन्ड्यै भए ? यी सबै प्रश्नबारे पनि अनुमान मात्र गर्न सकिन्छ, यसले सबैलाई चित्त बुझाउन पनि सक्दैन । जति रहस्य खोज्ने काम भयो, त्यति प्रश्न थपिने काम हुन्छ । गोङका पहाडबारे फर्केयता हामीसँग पनि उत्तरभन्दा प्रश्न बढी थिए । इतिहासमै लेखिएको छ, बो जाति आफैंमा रहस्यमय छ । यिनका मृत्यु संस्कार झनै रहस्यमय । यसलाई रहस्यमय नै रहन देऊ, यो नै सायद हराइसकेको बो जाति प्रति सम्मान हो ।
twitter : @himeshratna

प्रकाशित : भाद्र ७, २०७६ ११:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्