कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संन्यास लहर

विनोद पाण्डे

भारतसँग ३ टेस्टको शृंखला मुखैमा थियो  । मुथैया मुरलीधरनले सन् २०१० मा गलको पहिलो टेस्टपछि पाँच दिने खेलबाट संन्यास लिने अनौठो र साहसिक घोषणा गरे  । अफ स्पिनर मुरलीधरन जुन स्थानमा थिए, त्यो स्थानबाट यो घोषणा हुँदा धेरैलाई उनको निर्णयले आश्चर्यमा पारेको थियो ।

संन्यास लहर

उनले तीनै टेस्ट खेलेर संन्यासको घोषणा गरेको भए यस्तो खाले आश्चर्य नलाग्न सक्थ्यो । क्रिकेटमा कीर्तिमानी तथ्यांकले ठूलो अर्थ राख्ने गरेको छ । अन्तिम टेस्ट खेल्नुअघि मुरलीधरनको ७ सय ९२ विकेट थियो । त्यसै पनि उनी विश्वका सर्वाधिक टेस्ट विकेट लिने बलर थिए । ८ सय विकेट पुर्‍याउँदै संन्यास लियोस् भनेर उनीप्रति सहानुभूति राख्ने धेरै थिए । त्यसैले शृंखलाको पहिलो टेस्टबाट संन्यासको घोषणा गर्ने उनको निर्णयमा ठूलो साहस पनि थियो । उनले पहिलो इनिङ्समा ५ विकेट लिएपछि भारत फलो अनमा पर्‍यो । दोस्रो इनिङ्समा ३ विकेट लिँदै उनले गल टेस्टमा कुल ८ विकेट लिए । आखिर मुरलीधरनको साहसले पनि काम गर्‍यो र ८ सय विकेटको कोसेढुंगाका साथ उनी टेस्टबाट बिदा भए । जे होस् उनको टेस्ट संन्यास निकै भव्य भयो ।


हालै मात्र दक्षिण अफ्रिकाका डेल स्टेयनले टेस्टबाट, हासिम अमलाले सबै खाले अन्तर्राष्ट्रियबाट, इमरान ताहिर र जेपी डुमिनीले एकदिवसीय अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरे । दक्षिण अफ्रिकाले भारतसँग हुने तीन टेस्टको शृंखलाका लागि टोली घोषणा गर्दा तीन नयाँ खेलाडी छानिएका थिए । आउँदा दिनमा पाकिस्तानी टोलीमा पनि नयाँ खेलाडी देखिनेछन् । मोहम्मद आमिरले २७ वर्षमै टेस्ट क्रिकेट अब नखेल्ने निर्णय गरे । शोएब मलिकले एकदिवसीयबाट संन्यासको घोषाण गरिसकेका छन् । मोहम्मद हफिजले २०१८ को अन्त्यसँगै टेस्ट क्रिकेटबाट बिदा भइसकेका छन् । न्युजिल्यान्डलाई पहिलो पटक विश्वकप फाइनलमा पुर्‍याउने कप्तान ब्रेन्डन म्याकलमले पनि ट्वान्टी–२० बाट संन्याससँगै आफ्नो खेल जीवन टुंगाएका छन् । ‘योर्कर किङ’ लासिथ मालिङ्गाले पनि हालै बंगलादेशसँगको पहिलो एकदिवसीय खेलबाट ५० ओभरको आफ्नो यात्रा टुंगाएका थिए । एकदिवसीय विश्वकप सम्पन्न भएको महिना दिन मात्र भएको छ । विश्वकप लगत्तै उमेर पुगेका खेलाडीको संन्यासलाई सामन्य रूपमा लिइन्छ । धेरै खेलाडीको सपना विश्वकपमा खेल्ने हुने गर्छ । यही विशाल माहोलबाट समय आएपछि खेलाडीहरू संन्यासको घोषणा गर्छन् । यस्तोमा विश्वकपमा पाइने सफलताले उनीहरूको बिदाइलाई भव्य बनाउने गर्छ । संयोग नै मान्नुपर्ला दुई महिनाअघि इंग्ल्यान्डमा भएको विश्वकपमा सेमिफाइनल पुगेका टोलीहरू इंग्ल्यान्ड, न्युजिल्यान्ड, भारत र अस्ट्रेलियाका कुनै खेलाडीले संन्यासको घोषणा गरेका छैनन् । अर्को हिसाबमा हेर्ने हो भने यी चार टोलीमा युवा खेलाडीको बाहुल्य थिए, त्यसैले कसैको पनि खेल जीवन टुंगाउने बेला आइसकेको थिएन ।


म्याकलमले न्युजिल्यान्डलाई २०१५ को विश्वकप फाइनल पुर्‍याएपछि नै अन्तर्राष्ट्रिय क्रिकेट टुंगाएका थिए । अहिले उनले ट्वान्टी–२० पनि नखेल्ने घोषणा गरेका हुन् । अर्थात् उनी व्यावसायिक खेलाडीको रूपमा फेरि मैदानमा देखिने छैनन् । स्टेयन, अमला, ताहिरलाई बुढ्यौलीले छोइसकेको थियो, त्यसैले उनीहरूका संन्यासलाई स्वाभाविक रूपमा लिन सकिन्छ । पाकिस्तानी अलराउन्ड हफिज पनि यही सूचीमा पर्छन् । स्टेयनले ट्वान्टी–२० खेलिरहने बताए पनि उनलाई भारतसँग हुने ट्वान्टी–२० शृंखलाका लागि दक्षिण अफ्रिकाको टोलीमा राखिएको छैन । ३८ वर्षे हफिज अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने भए पनि ग्लोबल फ्रेन्चाइज लिगमा व्यस्त रहिरहेका छन् । ग्लोबल ट्वान्टी–२० क्यानडा लिगमा इडमोन्टन रोयल्सबाट खेलेका उनी क्यारेबियन प्रिमियर लिगमा पनि देखिने छन् । ३५ वर्षे डुमिनीले पनि क्यानडामा फ्रेन्चाइज क्रिकेट खेलेका थिए र उनी अन्य लिगमा निरन्तर रहनेछन् ।


आमिरको संन्यास भने निकै आश्चर्यपूर्ण छ । यो यही उमेर हो, जहाँ क्रिकेटरले परिपक्व प्रदर्शन गर्छन् । खेलाडी आफैं पनि आफ्नो कुन स्थानमा छ भनेर बुझिरहेका हुन्छन् । त्यसैले आमिरको संन्यास धेरै आश्चार्यजनक छ । वस्तुस्थिति बुझ्ने हो भने यो कुनै नौलो नहुन सक्छ । आमिरलाई पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले वार्षिक सेन्ट्रल कन्ट्र्याक्टको ‘ए’ समूहमा राखेको थियो । टेस्ट यात्रा टुंगाएपछि उनी सेन्ट्रल कन्ट्र्याक्टको ‘सी’ समूहमा झरेका छन् । ‘ए’ समूहमा रहँदा ११ लाख पाकिस्तान रुपैयाँ पाउने आमिरले ‘सी’ समूहमा झरेपछि ५ लाख ५० हजार वार्षिकी मात्र पाउनेछन् । यसले आर्थिक रूपमा उनलाई कुनै असर गर्ने छैन । टेस्ट क्रिकेट नखेल्ने भएपछि उनले राष्ट्रिय टोलीलाई धेरै समय दिन पर्दैन । यही फाइदा उठाएर आमिर ठूलो धनराशिका अन्य लिग खेल्न फुर्सदिला हुनेछन् । स्पट फिक्सिङमा परेपछि ५ वर्ष निलम्बनमा बिताएका आमिर ४ वर्षअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । टेस्ट क्रिकेट नखेल्ने निर्णयसँगैं उनी अहिले काउन्टी क्रिकेट र त्यहाँको ट्वान्टी–२० क्रिकेटमा व्यस्त छन् । अनुबन्धित खेलाडीको रूपमा पीसीबीले वार्षिक रूपमा प्रदान गर्ने पारिश्रमिकभन्दा उनले इंग्ल्यान्डमा खेल्दा पाउने रकम धेरै माथि छ । अझ उनले ग्लोबल फ्रेन्चाइज लिगहरू पनि खेल्नेछन् र उनको कमाइ अझ बढ्नेछ । टेस्ट खेलिरहेको भए उनलाई यो सबै खेल्न समय निकाल्न गाह्रो पर्ने थियो ।


आमिर एउटा पात्र मात्र हुन् । समय आउनुअघि नै राष्ट्रिय टोलीबाट बाहिरिन खोज्ने लहर अहिले विश्व क्रिकेटको प्रमुख समस्या हो । यसको प्रमुख कारण उनीहरू आफ्नो देशबाट भन्दा पनि विश्वका अन्य लिगमा खेल्ने चाहना राख्नु हो, जसले खेलाडीहरूलाई आर्थिक रूपमा बलियो बनाउनेछ । टेस्ट क्रिकेटमा राम्रो प्रभाव रहेका खेलाडीहरूलाई त्यो देशको बोर्डले आफ्नो सेन्ट्रल कन्ट्र्याक्टमा माथिल्लो श्रेणीमा राख्ने गरेको छ । त्यही पनि खेलाडीलाई ग्लोबल क्रिकेट लिगहरूलाई आकर्षण थपिरहेको छ । फ्रेन्चाइज बेस रहने ग्लोबल क्रिकेट लिगहरू ट्वान्टी–२० क्रिकेटका स्वरूपका हुन्छन् । १५ दिन, १ महिनादेखि ३ महिनासम्म चल्ने यी प्रतियोगिताहरूमा खेलाडीको कमाइ निकै माथि छ । टेस्ट नखेल्ने राष्ट्र नेपालका सन्दीप लामिछानेले हालै क्यानडा लिगमा खेल्दा ६० हजार डलर पाएका थिए । यसैबाट टेस्ट राष्ट्रका ठूला खेलाडीको पारिश्रमिक अनुमान लगाउन सकिन्छ । श्रीलंकाका स्टार ब्याट्सम्यान तिलकरत्ने दिलसानले एक पटक यस्तै गरेका थिए । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आशामा उनले टेस्ट क्रिकेटबाट संन्यास लिए । उनीसँग फ्रेन्चाइज लिगहरू खेल्ने प्रशस्त समय भयो । उनको दुर्भाग्य, आईपीएलले उनलाई त्यस समयमा लिँदै लिएन ।


ट्वान्टी–२० बाट अहिले टी–१० आइसकेको छ । अर्थात् दुवै टोलीले १०–१० ओभर खेलेपछि नतिजा आउने । छोटो समयमै नतिजा आउने भएकाले यो संरचनाहरू लोकप्रिय भइरहेका छन् । तर धेरैले यसलाई वास्तविक क्रिकेट मान्दैनन् र उनीहरू यस्तालाई ‘कस्मेटिक’ क्रिकेटको संज्ञा दिन्छन् । टेस्ट क्रिकेट जीवित रहन अहिले यसको प्रमुख लडाइँ यही ‘कस्मेटिक’ क्रिकेटसँग छ । पाँच दिनसम्म टेस्ट क्रिकेट हेर्न धेरै ठूलो धैर्य चाहिन्छ । छोटो संरचनाको क्रिकेटले दर्शकहरूमा त्यो धैर्य गर्ने शक्ति हटाइदिइरहेको छ । त्यसैमा टेस्ट क्रिकेटका स्थापित नामहरू आर्थिक हैसियत बनाउने मोहमा चाँडै संन्यासको घोषणा गरेर ट्वान्टी–२० र टी–१० तर्फ आकर्षित भइरहेका छन् । वेस्ट इन्डिजका महान् क्रिस गेलले भारतविरुद्वको शृंखलापछि एकदिवसीय फेरि नखेल्ने निर्णय गर्ने अनुमान गरिएको थियो । तर उनले यो निर्णयलाई केही पछाडि धकेली अर्को निर्णय नआउन्जेलसम्म कायम राख्ने बताएका छन् । उनले वेस्ट इन्डिजबाट सीमित ओभरमा र फ्रेन्चाइज क्रिकेटबाट ग्लोबल क्रिकेटमा खेलिरहनेछन् ।


अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पाँच दिने क्रिकेटलाई अझै लोकप्रिय बनाउन ९ देशबीचको विश्व टेस्ट च्याम्पियनसिप लिएर आएको छ । निलम्बनमा रहेको जिम्बावेसहित नवआगन्तुक टेस्ट राष्ट्र आयरल्यान्ड र अफगानिस्तान भने च्याम्पियनसिपमा छैनन् । अगस्टबाट सुरु भइसकेको टेस्ट च्याम्पियनसिप २ वर्ष चल्नेछ । २०२१ को जुनमा यसको फाइनल खेल हुनेछ । यस बीचमा यी टोलीले एकआपसमा दुईपक्षीय शृंखला खेल्नेछन् । यसअघि टेस्ट क्रिकेट एउटा शृंखलाको हिसाबमा मात्र थियो । अब एउटा प्रतियोगिताजस्तै हुनेछ । अर्थात् हरेक टेस्टपछि अंक जोडिनेछ । यसले टेस्ट क्रिकेटमा कस्तो प्रभाव हेर्न बाँकी नै छ । यो प्रभावविहीन भएमा आफ्नो जीवनको उत्कृष्ट समयमा खेलाडी टेस्ट संन्यास लिन बाध्य हुनेछन् ।
Twitter : @dearbinod

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?