३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तिलिचोमा एक रात

गोरख विष्ट

म पछिल्लो पटक २०७२ असोज ११ गते ३ बजेर ७ मिनेटमा तिलिचो किनारमा पुगेको थिएँ  । त्यतिबेला तिलिचोमा चर्को घाम लागिरहेको थियो  ।

तिलिचोमा एक रात

बतास पनि जोडले चलिरहेको थियो । दिउसोको घाममा तिलिचो हिमाल टल्केर खुला आँखाले हेरी नसक्नु थियो । तालको अर्कोतिर सुक्खा मरुभूमिजस्तो उजाड भूमि थियो । बीचमा तिलिचो ताल पूरै ‘टर्क्वाइज’ रङमा बताससँग झुमिरहेको थियो ।


तिलिचोमा मेरो टोली अलि ढिलै गरी पुगेका थियौं । मलाई तिलिचोबाट फर्केर हाई क्याम्पमा बस्न आउनु थिएन । प्रायः सबैजसो ट्रेकर बास बस्न हाई क्याम्प नै आउने गर्छन् । त्यसैले उनीहरू जतिसक्दो बिहान जान्छन् । तिलिचोको दृश्यावलोकन गरेर केही तस्बिर खिचेर छिट्टै हाइक्याम्प फर्किन्छन् । त्यो स्वास्थ्यका लागि उत्तम मानिन्छ । मलाई भने तिलिचोमा त्यस दिनको सूर्यास्त र भोलिपल्टको सूर्योदय हेर्न मन थियो ।


म माथिल्लो मुस्ताङको यात्रा सकाएर मुक्तिनाथबाट थोराङला हुँदै केही साथीसँग तिलिचो आइपुगेको थिएँ । तिलिचो किनारमा बास बस्ने मेरो पहिलेदेखिकै धोको थियो । तिलिचो उच्च स्थानमा रहेको एउटा ठूलो ताल हो । यो समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा छ । हामीले तालछेउमै टेन्ट गाड्ने निर्णय गर्‍यौं जुन त्यति सजिलो थिएन । हावाको वेगका कारण एक घण्टा त टेन्ट गाड्न मात्रै लाग्यो । हामी टेन्ट टाँग्ने हावाले उडाइदिने । एक पटक त झन्डै टेन्ट तालको पानीमै पुगेन । बल्लबल्ल ठूला ढुंगाले च्यापेर टेन्ट ‘फिक्स’ गरियो । तालको पानी र त्यसमाथि उडिरहेको बादलको गतिले यहाँ वेगले हावा चलिरहेको छ भन्ने स्पस्ट देख्न सकिन्थ्यो ।
बेलुकीपख र राति यहाँ बस्न कठिन भए पनि दृश्य भने अद्भुत ! हेर्न र फोटो खिच्न कम्ता रमाइलो थिएन । सिनेमाको जस्तो छिन–छिनमा दृश्य परिवर्तन भइरहन्थ्यो । मलाई राम्रोसँग याद छ, त्यस दिन तिलिचोमा ५ बजेर ५५ मिनेटमा सूर्यास्त भएको थियो । फोटोग्राफी गर्न सजिलो होस् भनेर सूर्योदय, सूर्यास्त, चन्द्रोदय र चन्द्रास्त हुने समय थाहा पाउन म प्रायः स्टार ट्य्राकर लाइट भन्ने मोबाइल एप प्रयोग गर्छु । यसले तारापुञ्जको अवस्था मोबाइलमा छर्लंग देखाउँछ । त्यहाँ पनि यही एप प्रयोग गरें । तालमाथिको तिलिचो पिकबाट ‘सनसेट’ हुने भएकाले त्यसप्रति मलाई खासै चासो लागेन । भोलिपल्टको सूर्योदय नै प्रतीक्षाको विषय बन्यो ।तिलिचो नजिकै सामान्य व्यवस्था भएको एउटा ‘टी हाउस’ छ ।


टेन्ट गाडेपछि हामी बेलुकाको खाना खान त्यता लाग्यौं । नजिकै देखिए पनि हाई अल्टिच्युटका कारण त्यहाँ पुग्न करिब आधा घण्टा लाग्यो । त्यहाँ टेन्टभन्दा केही न्यानो थियो । मेरा साथीहरू त्यहीँ सुत्ने निर्णय गरे । म र साथी नीरज चौधरी भने खाना खाएर टेन्टमै सुत्न भनेर हिँड्यौं । त्यति बेला करिब हावा शून्य भएको थियो । आकाशका ताराहरू गन्न मिल्नेजस्तै गरी नजिकै भएको भान हुन्थ्यो । राति तिलिचो हिमाल अनि तारामण्डलको दृश्य अद्भुत थियो । यो दृश्य मेरो आँखामा अहिले पनि घुमिरहन्छ ।


बाहिर चिसोले बरफ जमिसकेको थियो । करिब आधा घण्टामा तारामण्डलको टाइम ल्याप्स फोटो खिच्न क्यामरा सेटअप गरियो । डाउन ज्याकेट लगाई स्लिपिङ ब्यागभित्र बसेर हातमा पञ्जा अनि टाउकोमा टोपी लगाउँदा पनि थुरथुर कमाउने चिसो थियो । हेर्दा हेर्दै चन्द्रमा पनि बिस्तारै झुल्किन थाल्यो । नेपाली पात्रो हेर्दा थाहा भयो, त्यो दिन त इन्द्र दहमा स्नान गर्ने, पूर्णिमा रहेछ । कुनै बेलाको एक दिन यस्तो पनी हुँदो रहेछ । उच्च स्थानको ठूलो तालको किनारमा बास होस्, आकाश छ्यांग खुलेको होस् अनि त्यही दिन पूर्णिमा पनि परोस्— सम्झिँदैन यस्तो दिनलाई । मेरा लागि एक एक जुगमा आएको एक दिन थियो त्यो । यसरी तिलिचो ताल, तिलिचो हिमाल, तारामण्डलले भरिएको आकाशको तस्बिर खिच्दै क्यामरामा हेर्दै गर्दा कति बेला रात बित्यो पत्तै भएन । बिहानपख एकै छिन मात्र सुतिएछ । उठ्दा सूर्योदयको समय हुँदै थियो । जुरुक्क उठेर बाहिर हेर्दा आँखैअगाडिको तिलिचो पिक बिस्तारै बिहानीको घामले रंगिँदै गयो र तालमा रंगीन छाया भरिँदै गयो । त्यही रंगीन समयलाई मेरो मन अघाउने गरी क्यामरामा कैद गरेर म काठमाडौं फर्किएँ ।

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?