१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एक कालीचरण, अर्का कालुराम

देवेन्द्र भट्टराई

न्वारानको नाम— कमल राई  । घरेलु नाम— काशीराम  । स्कुले नाम— कालीराम । संशोधित नाम— कालुराम । संक्षेप नाम— केआर खम्बू । पूर्वी नेपालको सीमावर्ती सहर भद्रपुरमा एकान्तिक मुद्रामा बसिरहेका भेटिए— कालुराम खम्बू राई । उझिन्डो भएको सानो झोलामा मोबाइल राखिएको छ ।

एक कालीचरण, अर्का कालुराम

मोबाइलमा ‘सेभ’ गरिएका नामवाला कसैले फोन गरेमा ‘रिङटोन’ आइहाल्छ, जस्तो— शुभलक्ष्मी । सामुमा ‘नन–भिज्युअल डेस्कटप एक्सेस’ भएको ल्यापटप छ । यसमा कहिले आफ्नै जीवन–कहानी टिपोट गर्न मन लाग्छ, कहिले प्राणीशास्त्रका विद्यार्थीलाई पढाउने नोटको ‘स्लाइड’ बनाउनुपर्छ ।


खम्बूको दैनिकी झन्डै ३० वर्षयता उही र उस्तै छ, एकनासे टाइपको । उभयचर (माछा/भ्यागुत्ता) र सरिसृप (सर्प, कछुवा, छेपारो) को जीवनजगत्बारे चासो राख्ने कालुरामले नेपालमा पाइने सरिसृप र उभयचर विषयमै विद्यावारिधि गरे । मेची क्याम्पस, भद्रपुरमा प्राणीशास्त्रका प्राध्यापक रहेका कालुरामको एक दशकयताको जीवनशैली भने बरु केही अकल्पनीय छ, दुःखद पनि । भ्यागुत्ता–कछुवाबारेको अनुसन्धान क्रममा खम्बू जर्मनीको म्युनिक विश्वविद्यालय पनि पुगेका थिए । त्यहाँ जीव विज्ञानका नामूद प्राध्यापक डा.हर्मन स्लाइखसँगको सहकार्यमा उनी खटिएका थिए ।


पूर्वराजदूत डा.नोबेलकिशोर राईले कालुरामका बारे ‘रिफर’ गर्दै डा. हर्मनलाई सुनाएका रहेछन्, ‘खम्बू मिहिनेती र भरपर्दा छन्, तर वामपन्थी कित्ताका मान्छे हुन् ।’डा.हर्मनको जवाफ रहेछ, ‘बिरालो सेतो होस् या कालो, मुसा मारे पुग्छ ।’ यसरी अनुसन्धानको ‘मुसा मार्न’ कालुराम जर्मनी पुगे । त्यहाँको हावापानी, खानपिनले उनको जीवनलाई अर्कै बनाइदियो । नेपाल छँदा प्रेसरको औषधि खाने गर्थे । म्युनिक पुगेर त्यो खान पनि छाडिदिए । अनुसन्धानको एक वर्षपछि उनी फर्केर आए । फेरि उही कोसीटप्पु, केचना, पौवाभञ्ज्याङ, गुफापोखरीको यात्रा सुरु भैहाल्यो— भ्यागुत्ता खोज्दै । एक दिन कोसीटप्पुबाट फर्कंदै गर्दा दाहिने आँखामा केही कीरा ठोक्किएजस्तो भान भयो, आँखा अलिक तिरमिरायो । अचम्म ! आँखाको दृष्टि धूमिल बन्दै गयो । र, केही घण्टामैं उनी दृष्टिहीन भए । उनी कुदेर काठमाडौं तिलगंगा पुगे, भारतको चेन्नईसम्म पुगे । तर, दृष्टि फर्किएन । त्यो आफूले खाँदै आएको ‘प्रेसर’ को औषधि छाडेदेखिकै ‘साइड इफेक्ट’ रहेछ, आँखामा भार (आई–प्रेसर) बढी भएर यस्तो अवस्था आएको रहेछ ।यसरी आफूले नसोचेको र नचाहेको दुई कित्ताको चिनारी कालुरामसँग जोडियो— वामपन्थी र दृष्टिहीन ।

यो सन् १९७० को दशक थियो । कालुराम झापाको गौरीगन्जमा माध्यमिक तहका विद्यार्थी थिए । एक दिन झापाली कम्युनिस्ट भनेर चिनिएका केपी ओली, सीपी मैनालीहरू गौरीगन्ज आइपुगे । सन्दर्भ रहेछ— भारतले नूनतेल आदिको आयातमा समेत रोक लगाएको अवस्था । ‘केपी घैलाडुब्बामा पढ्ने, म गौरीगन्जमा । म ८ कक्षाको विद्यार्थी थिएँ, केपीहरू १० कक्षामा थिए । भारतले नुनतेलसमेत रोक्ने गरी नाकाबन्दी लगाएको थियो । त्यो पारवहन असुविधाको विरोधमा केपी, सीपीहरू उत्रिएका रहेछन् । उनीहरू संगठन गर्दै आएका रहेछन् । अनि म पनि मिसिएको थिएँ । यसरी राजनीति सिकियो,’ खम्बूको सम्झना छ ।उहिलेको कुरा गर्ने हो भने साथीभाइमाझ सबैभन्दा बढी ‘क्रेज’ सीपी कमरेड (मैनाली) को रहेछ । ‘अलिक सम्पन्न भनेको हाम्रा सीपी कामरेड मात्रै हुन् । केपी भनेको एकदमै दुःखी हो । आन्दोलन गर्दै हिँडेका बेला त ऊ बिचरोलाई कसैले बास पनि दिंदैनथ्यो, केपीलाई कसैले पुछ्दैनथे । सीपीलाई भने परैदेखि घेरा हालेर, लुकाएर राख्थे,’ खम्बू सम्झन्छन्, ‘झापा विद्रोह हुँदा म विराटनगरमा एसएलसी दिंदै थिएँ । गौरीगन्जबाट रंगेली हुँदै साइकलमा विराटनगर जान्थें । कहींकतै फोटो खिच्न पनि उही रिजाल स्टुडियो जानुपर्थ्यो ।’ केपी कमरेडसँग राम्रै दोस्ती भएपछि २०३० सालतिर उही रिजाल स्टुडियोमा गएर ओली र खम्बूले ‘ये दोस्ती’ टाइपमा फोटो खिचाएका रहेछन् । यो फोटोलाई खम्बूले अहिले पनि आफ्नो बैठककोठामा राखेका छन् ।


खम्बूको राजनीतिमा उति रुचि थिएन, आस्था भने थियो नै । काठमाडौंमा क्याम्पस पढ्न गएपछिको कुरा भने अर्कै थियो । अखिल विद्यार्थी प्रतिनिधिका रूपमा उनी २०३७ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा छिरेका थिए । युनियन सभापति भीम न्यौपाने, सचिव बलराम बास्कोटा, उपाध्यक्ष कृष्ण बेलबासे पनि जेलमा पुगिसकेका थिए । युनियन सदस्य सानुराजा महर्जन र खम्बू मिलेर स्ववियु हाँकेका रहेछन् । ‘बेकारमा नेताको लेभल लगाइदिए,’ उनी सम्झन्छन्— ‘यो खम्बू त वामे हो भन्दा रहेछन्, नचाहेको उपाधि ।’
२०३० सालमा केपी जेल परेपछि आफ्नो राजनीतिको ‘बाटो फेरिएको’ खम्बू सुनाउँछन् । ‘उहाँ जेलबाट निस्कनुहुन्छ भन्ने मलाई लागेकै पनि थिएन । तर, १४ वर्षपछि निस्कनुभयो,’ उनी सम्झन्छन्, ‘म युनिभर्सिर्टी पढ्दा केपीलाई भेट्न सेन्ट्रल जेल नख्खु गएको थिएँ, ३९ सालतिर होला । म एमएस्सी विद्यार्थी थिएँ । त्यहाँ हामीबीच गाउँले कुरा भए, साथीभाइ को कता होलान् भनेर कुरा भयो । तर, राजनीतिबारे खासै केही बोलिएन ।’


केपी ओली सत्तारोहण र अवतरणका क्रमहरूमा पनि खम्बू–ओली भेट भैरह्यो । कहिले भद्रपुरमा कहिले बालकोटमैं । तर, भेटघाटमा हाई–हेल्लो मात्रै चल्यो । ‘साथीहरू प्रधानमन्त्री भए, मन्त्री भए । मेरा हाई–हेल्लो यारोंहरू यसरी उच्चपदस्थ बनेको देख्दा गर्व महसूस हुन्छ । यता म आफ्नै स्थान, दुनियाँमा रमाएकै छु । साथीहरू पनि उता आफ्नै ठाउँमा रमाएकै होलान्,’ खम्बू विनयी स्वरमा भन्छन्, ‘केपी प्रधानमन्त्री भएपछि राम्रै गरेका होलान् भन्ने लाग्छ । पहिलाका त उनी साह्रै सिम्पल मान्छे हुन् । अहिले कस्ता भाका छन्, देख्न पाएको छैन । भेट भैगए पनि अब देख्न सक्तिनँ ।’


खम्बूका अनुसार, आजका प्रधानमन्त्री केपी ओलीको लुकेको कुरा छ— उनको छद्म नाम र विशेषता । धेरैलाई पत्तो छैन— केपी कवि पनि थिए । भूमिगत कविको रूपमा उनको नाम ‘कालीचरण’ थियो । ‘कालीचरणले केही विदेशी कविका कविता पनि अनुवाद गरेका थिए,’ खम्बू सम्झन्छन्, ‘अक्षर साह्रै राम्रा थिए, छापाजस्तै । विराटनगरको मोरङ कलेजमा म विद्यार्थी छँदा मेरै डेरामा केपी आइरहन्थे । मैले टेबलमा राखेको डायरीमैं कविता, चिठीपत्र लेख्दा रहेछन् । विराटनगर छाडेर हिँड्ने बेलामा केपीले ‘अब म जाँदै छु’ भन्ने थिममा सायदै अब भेट होला भनेर कविता लेखेर छाडेका रहेछन् । त्यसको केही महिनामै उनी रौतहटबाट पक्राउ परिहाले ।’

कालुराम खम्बू उमेरमा ६३ पुग्नै लागेका छन् । अब केही महिनामा प्राध्यापन सेवाबाट अवकाश पाउनेछन् । घर नजिकैको क्याम्पस पुग्न कहिले श्रीमती शुभलक्ष्मीको स्कुटरको साथ पाउनुपर्छ, कहिले रिक्सामा घुम्दै कक्षामा उनी पुग्छन् । घरको बगैंचामा राखिएको भ्यागुत्ता–सर्पको ‘एक्वारियम’ पनि खालीखाली छ । ‘म माथि केन्द्रमै बसेको भए के हुन्थ्यो ? म हाइपोथेटिकल हुन सक्दिनँ । कि जेलमै सडेर अथवा सडकमै भुटिएर मरिसक्थें कि ? अथवा अर्कै प्राज्ञिक उचाइमा पो पुग्थें कि ?’ स्वान्त सुखाय शैलीमा उनी भन्छन्, ‘मसँग समर्थनको राजनीति मात्रै छ अहिले । लेनदेन केही छैन मेरो ।’ २०३९ सालमा एमएससी गरेपछि धरानको हात्तीसार क्याम्पसबाट खम्बूले प्राध्यापन सुरु गरे । धरानबाट वीरगन्ज पुगे उनी, उनकी श्रीमती बुटवलमा राजनीतिशास्त्र पढाउँथिन् । यो भागदौडमाझ छोरी वीरगन्जमा जन्मिइन्, छोरो बुटवलमा । खम्बूका अनुसार, उसबेलाको ठाकुरराम क्याम्पसका प्रमुख डा.मोहनप्रसाद लाखे साह्रै ‘कडा र खतरा’ थिए । ‘उनै डा.लाखेले मलाई ‘रिकोक्नाइज’ गरेका हुन्, वीरगन्जमा । त्यहाँ बीएस्सी कक्षा चलाउन अनुमति पाएपछि मैले पहिलो ब्याचका २५ जनालाई सफलतापूर्वक पढाएर निकालेको थिएँ,’ खम्बू सम्झन्छन्, ‘कुनै विद्यार्थी साइन्स पढ्न भनेपछि नचाहने (नमान्ने) त्यो जमानामा मेरो कक्षामा विद्यार्थी खचाखच थिए ।’ धेरैपछि प्रजातन्त्र आएपछि तत्कालीन त्रिवि उपकुलपति कमलकृष्ण जोशीले आफूलाई भद्रपुर ल्याइदिएको गुन उनले भुलेका छैनन् ।


योभन्दा पनि यत्तिका वर्षपछि यसपाला नेपाल सरकारले आफूलाई कदर गरेकामा खम्बू निकै प्रफुल्ल थिए । ‘सरकारले मलाई मूल्यांकन गर्‍यो यसपाला, सुप्रबल जनसेवा पदकबाट,’ खुसीको स्वरमा खम्बूले भने, ‘सम्मानपत्रमा शैक्षिक गुणस्तर वृद्धिमा योगदान गरेबापत भनेर लेखिएको रहेछ, औधी खुशी लाग्यो ।’ यसरी खम्बू झापा, भद्रपुरदेखि लन्डनको ब्रिटिस म्युजियमसम्म पुगे— भ्यागुता बोकेर । युरोपबाट निस्कने साइन्स जर्नलहरूमा खम्बूको नाम प्रचलित छ । धेरैपछि दृष्टिहीन बन्नुपरेपछि अर्का सिभिल इन्जिनियर हेमप्रसाद गौतमबाट ‘नेपाली लेख्ने सफ्टवेयर’ (दृष्टिवाचक) सिके । हेमप्रसाद पनि खम्बूजस्तै ‘आई प्रेसर’ का कारण दृष्टिहीन बनेका थिए । यस्तै मुस्किलको सिकाइ र बुझाइबाट ‘मेरो अनुसन्धान यात्रा’ कृति लेखे । उनको अध्यनअनुसार, नेपालमा उभयचर जीवको प्रजाति ५६ वटा भेटिएको छ भने सरिसृप १ सय ३२ प्रजाति छन् । विश्वमा भने उभयचर ४ हजार र सरिसृप प्रजातिका जीव ७ हजारभन्दा बढी छन् ।


आफूलाई आइपरेपछि मात्रै खम्बूले थाहा पाए— जलविन्दु (ग्लाइकोमा) जसलाई हुन्छ, त्यसले आँखामा इन्द्रेणी मात्रै देख्छ । एकदमैं प्रस्ट इन्द्रेणी मात्रै देखिरहन्छ । इन्द्रेणी जसले घामलाई छेकिदिएको छ । खम्बू अहिले पनि सपना देख्छन् हररात । सपना उस्तै हुन्छ । बरु विपना मात्रै बिग्रेको हो । कालुराम राईका बाबु विष्णुध्वज दोस्रो विश्वयुद्धका लडाकु थिए, ब्रिटिस गोर्खा सैनिक । उनी गाउँ छँदै छोराछोरीलाई भन्ने गर्थे— भ्यागुत्ता भ्यागुत्तै भएर बसिरहन्छ, बरु कुथुर्के हुने प्रयत्न गर्नु । त्यही कुराको घत पर्‍यो, कालुरामलाई । भ्यागुत्ताले अनेक कोसिस गरेपछि (डार्बिन सिद्धान्तअनुसार) ऊ उडुवा भ्यागुत्तो (कुथुर्के) बनेको हो । अन्ततः जीवनमा त्यही नसोचेको सोधखोजको विषय भ्यागुतोमा कालुराम तानिए । ‘थाहा छैन, म भ्यागुतो बनें कि कुथुर्के ? जे भए पनि म अलिक भिन्न बन्न चाहें,’ उनी भन्छन् ।


यो जीवन भन्नु स्मृतिको तरेली हो कि छायाको लस्कर ? एकाएक दृष्टिहीन बनेपछि अनेक खालका छाया बनेर आँखामा आइरहने लस्करहरू सम्झँदा कालुराम खम्बू कहिले उदास बन्छन्, कहिले अलिक एकान्तिक । एक दशकअघि एकाएक आँखाको ज्योति हराएपछि दौडधुप गर्दै उनी भारतको चेन्नई पुगेका थिए । त्यहाँको अस्पतालले पनि अब ‘दृष्टि फर्काउन सकिन्न’ भनेपछि उनी बरालिंदै कसैको सहारा लिएर नजिकै मेरिना बीच पुगेका रहेछन् । ‘मेरो आँखामा छाया पर्‍यो’ भन्ने बोध त थियो नै । अनि, एकाएक कवि उत्रिएका रहेछन्, जीवनमा एक पटक, एक दिन मात्रै ।
...दुई थोपा आँसु जलविन्दु बनी
खसेछ आँखामा
इन्द्रेणीभित्र बिलायो घाम
यो जिन्दगानीमा... !

प्रकाशित : श्रावण ३२, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?