गाउँ फेरि बौरिएला ?

विमर्श
देशमा युद्धको सन्त्रास बढेपछि, एक घर एक पाखुरी चन्दा भर्ती तीव्र हुन थालेपछि एकएक गरेर गरेर रित्तिन थालेको गाउँ फेरि बौरिन सकेन । हाम्रा गाउँहरूलाई बौराउन आवश्यक छ कि छैन ? त्यसको सम्भावना नै छ कि छैन ?
यादव देवकोटा

टुई दशकअघिसम्म वर्षात्का दिनहरूमा गाउँको दृश्य बेग्लै हुन्थ्यो  । आज दूर पहाडका गाउँहरूले जुन नियति बेहोरिबसेका छन्, ती बेग्लै थिए हिजो  । चलायमान, व्यस्त र गुल्जार । खेतबारीमा सुक्न थालेका मकै काटेर पिंढीभरि चाङ लगाउने हतारो । गैह्रीखेतमा धान रोप्न हली, बाउसे, रोपाहार खोज्ने हतारो ।

काँधमा हलो, जुवा, साहा बोकेर मोला लगाएका गोरु धपाउँदै एकमाथि अर्को गर्दै खप्टिएका छानाजस्ता खेतका गह्राहरू ताकेर लाम लागेका मौरी किसानहरू । बाउसे गरेर सम्याएको रोपो गाड्नुअघिको हिलो छ्यापाछ्याप गरिरहेका तन्नेरीहरूको कोकोहोलो । आफ्नो खेत पहिले रोप्न पानीको मूल एकोहोर्‍याउन घुम ओढेर खेतको डिलमा उभिएर एकअर्कासँग पाखुरा सुर्किरहेका खेतवालाहरू । खडेरी उतर्सिएर गाभो गाड्न नपाएपछि उदासिएका किसानहरू । अविरल वर्षापछि खेतका आली नाघ्दै छङछङ गर्दै निस्किएको पानीको छाँगो ।

बीस वर्षपछि तपाईं फेरि उभिनुभएको छ, उही गाउँमा भने–दृश्य बदलिएको मात्रै छैन, कायापलट भएको छ । जस्तो, अहिले म गोर्खाको पन्द्रुङमा उभिएको छु, यो बयानलाई जोड्न । यो गाउँको नाम तपार्इं पहिलोपल्ट सुन्दै हुनुहुन्छ भने, तपार्इंलाई नमीठो सम्झना दिलाऊँ– केही मानिसको सत्ता र भत्ताको उम्मिदलाई थाक्रो हाल्न देशलाई युद्धको खेलमा होम्दा सबैभन्दा पहिले पोखिएको रगत यही गाउँको थियो । हामीसँगै खेलेर, जुधेर, पढेर हुर्किरहेको दँवाली दिलबहादुर रम्तेललाई स्कुल गएकै दिन ढालेपछि खोलिएको हिंसाको चक्र यो देशका सत्र हजार मानिसको ज्यान लिएर थामियो । हो, यही गाउँको यो दृष्टान्त, तपाईंका तमाम गाउँसँग पनि मिल्यो भने यो संयोग मात्रै हुने छैन, नेपाली समाजको वर्तमान नियतिको साझा चित्र हुनेछ । आज टाढाको सिम्लेखेतको त बेग्लै कुरा, गैह्रीखेतमै गाभो गाड्ने बलिया पाखुराहरू गाउँबाट गायब छन् । ती परदेशका एकान्त कोठा या सहरको रमझममा पनि मनभरि ऐठन रोपेर बसेका छन् । गाउँ बिस्तारै सहर ‘गन्हाउने’ बूढा बाआमाहरूको जिन्दगी अड्याउने एकान्तमा बदलिएको छ । ट्याक्टरहरू सकीनसकी मोटा चामल ‘लोड’ गरेर गाउँ ताकेर बत्तिएका छन् । भकारी र कुन्युबाट धान, मकै गायब भएर कोठामा बेसाहा चामल रित्याएको राता, पहेंला बोराको चाङ लाग्न थालेको छ । गुजारामुखी कृषि कर्मबाट गाउँ परनिर्भर बेसाहाको आडभरोसामा अडिएको छ । अभर पर्दा बल दिने पाखुरा गाउँमा देखियो भने त्यो महाआश्चर्य हुनेछ । किन गाउँमै बसेको भनेर सोध्नुभयो भने, तन्नेरीभन्दा अघि नै उनका अभिभावकले गुनासो पोख्नेछन्— खै त नि सबै विदेश गएका छन्, उन्नति गरेका छन्, यही मात्रै त्यसै पोखिएर यतै हराएको छ ।

सदरमुकामतिर या तैबिसेक सजिलो खोज्न गाउँको गुजारामुखी कृषिकर्म त्यागेर निस्किएको तन्नेरी सहर पसेर पनि गुजाराको स्तरबाट माथि उठ्न सकेको छैन । या गुजारमुखी कृषिबाट जिन्दगी उज्यालिन नसकेको विकासे निष्कर्षको पछि लागेर अरब भासिएको तन्नेरीले सिंगै जिन्दगी उतै बालुवा चाल्न लगाएपछिको निष्कर्ष पनि गुजारामै निख्रिएको अवस्थाबाट माथि उठ्न सकेको छैन । गाउँ रित्याएर निस्किएको त्यो सलहको हूलजस्तो पदचाप आज पनि जिन्दगीको गुजारामै रल्लिएको छ । फरक त्यति मात्रै हो, गाउँको गुजारा भने आफ्नै रस निचोरेर चल्न छोडेको छ । भयानक युद्धको त्रासदीपछि सन्नाटामा बदलिएको वस्तीजस्तो धिपधिपे श्वास अड्याएर जेनतेन चलिरहेको छ यसको गति । देशमा युद्धको सन्त्रास बढेपछि, एक घर एक पाखुरी चन्दा भर्ती तीव्र हुन थालेपछि एकएक गरेर गरेर रित्तिन थालेको गाउँ फेरि बौरिन सकेन । अलिकति जमिन भएका र साहुले ऋण पत्याउनेहरूले बेलैमा अरबको बाटो तताए । नेपाली समाजमा मुठीभर मानिसहरू छाडेर अधिकांशमा परिवारको गुजारा चल्नेभन्दा बाहेकको जमिन लोकहितका लागि परोपकारी कर्ममा खर्च गर्ने, गुठी राखेर लौकिक कर्ममा लगाउने परिपाटी निकै लामो समयदेखि रहिआएकाले त्यही गुजाराको जमिनको आकारका आधारमा ऋण पाउने तय हुन्थ्यो । अधिकांश परिवारसँग गुजारा चल्ने जमिन पनि नहुने अवस्था आयो महेन्द्रकालीन जग्गा दर्ता ऐनको अभियान अघि बढेपछि । ऋण लिन नसक्नेहरू कालापारमा पाखुरा बजार्न पुगे । त्यही पनि नसक्ने र कुनै उपाय नहुनेहरू जेनतेन पहाडमै रोकिए । कालान्तरमा ती पनि एकपछि अर्को गर्दै अरबमा पाखुरा बजार्न पुगे । जमिनको अलिक ठूलो हिस्सा ओगटेर गरेर बसेकाहरूका सन्तान पहिलो विश्व भनिने खासमा पुँजीवादी विकासको अखडाका रूपमा चिनिने देशहरूमा पुगे । त्यसरी अमेरिका, युरोपजस्ता देशहरूमा जानेमा धेरैजस्तो सहरमा घर भएका या गाउँमै पनि तुलनात्मक तवरले अलिक सजिलोसँग बाँच्न पुग्ने आयस्था भएका परिवारका मानिसहरू भए ।


फर्किएर गम्भीरतापूर्वक हेरियो भने माओवादी दसवर्षे युद्धले नेपाली समाजको संरचना तहसनहस बनाइदिएको छ । त्यसले खराब मात्रै गरेको छैन । परम्परागत संरचनाको उलटफेरपछि विकसित हुन गएको पलायन, बसाइसराइ, विस्थापनको परिणाममा छुवाछूत, भेदभावको संकथनहरू बदलिएको छ । ग्रामीण जमिनमा आधारित जमिनदारी हैसियत विघटन भएको छ र पैसामा आधारित नयाँ हैकमको संरचना र त्यसैमा आधारित शोषण र विभेदको नयाँ शृंखला तीव्र भएको छ । न्यायपूर्ण समाज र समानताको नारा भट्याएर मानिसलाई मृत्युको ‘म्यारथन’ मा दौडाएका नेताहरू आज आफूसँग जम्मा भएको पैसाको तागतमा आफू तलको विशाल पंक्तिलाई कज्याएर बसिरहेको छ ।
पैसा नै प्रमुख सवाल भएर आइदिएपछि त्यसैको जोहोका लागि अरब गएको तन्नेरी उतैबाट सहरको लती भयो । पहाडका गाउँ रित्तिएपछि मैदानी भेगका धान फल्ने गह्राहरू मासिए । अटेसमटेस गरेर कक्षाकोठा भरिभराउ हुने विद्यालयहरू विद्यार्थी नै नपाएपछि ग्राहक नपाएर मर्जरमा गएको बैंकजस्तै गाभिन थालेका छन् । मेरै गाउँको विद्यालय चारबाट झरेर एकमा आइपुगेको छ । त्यही विद्यालय पनि विद्यार्थी नपाएर बन्द हुने हालतमा छ । र, गाउँको यो दुर्दशा हरबखत सहरमा बसेर फलाकिरहेको हुन्छु । हामी सबैलाई सहर, सुविधा, सहज चाहिएको छ । गाउँ भने अरू कोही बसिदिएर गुल्जार बनाइराखिदिए हुन्थ्यो भन्ने लालसा छ । सबै गडबड यहींनेर भएको छ । तर, योभन्दा पनि ठूलो गडबड भने हाम्रो केन्द्रीकृत चेतना निर्माणको लामो कसरतमा भएको छ ।

मैदानी भेगबाट पराजय, असुविधासहित पहाडी भेगतिर बत्तिएका हाम्रा अग्रजहरूले अग्ला पहाडका सोतो परेका पाखाहरूलाई आफ्नो मुकाम बनाएको देखिन्छ । पानीको मुहानलाई केन्द्र बनाएर बसाइएका त्यस्ता बस्तीहरू स्वाभाविक तवरले त्यसरी बस्न गएकाहरूको परिवार वृद्धिसँगै गुल्जार हुन गयो । मैदानी भेगमा लामो समयसम्म विद्यमान औलोजस्ता अनेकन सरुवा र ज्यानमारा रोगको त्रासका कारण मानिसको रोजाइ पहाडी पाखाहरू भए । युद्ध र सम्पत्ति हडप्न गरिने लडाइँका कारण अग्ला पहाडहरू सुरक्षित थलोका रूपमा रोजिए । त्यहीँ टाठाबाठाहरूले विशाल पाखापखेरा कज्याए । तिनै जमिनदारहरूले निश्चित शिल्पी समुदायलाई आफ्नो भरोसामा बाँच्ने मानिसका रूपमा आफ्नो बस्तीको छेउमा अड्याए । नेपाली पहाडी बस्तीको सन्दर्भमा खस राज्यको फैलावट र विघटनको क्रम तीव्र भएसँगै सिञ्जा उपत्यकालाई केन्द्र मानेर थातथलो जोडेका बासिन्दाहरूको त्यहाँबाट फैलावट र पलायनको क्रम तीव्रत्तर रूपमा अघि बढ्यो । आज सिञ्जा पूर्वका पहाडी बस्तीका अधिकांश ब्राह्मण, क्षत्री, ‘दलित’ हरूसँग (जनजातिबाहेक) को साक्षात्कारमा उनीहरूको पुर्ख्यौली थलो सोधियो भने त्यसको निष्कर्ष तत्कालीन खस साम्राज्यका पहाडी भित्ताहरूमा गएर ठोकिन्छ । पृथ्वीनारायणको नेतृत्वमा सञ्चालित गोर्खा राज्य विस्तार अभियानमा त्यस्ता पश्चिमेली पहाडी बासिन्दाहरूको तीव्रत्तर फैलावट गोर्खाको सीमा नाघेर पूर्वी पहाडी इलाकाहरूसम्म पुग्यो । यद्यपि त्यसअघि नै पनि पूर्वी पहाडमा पश्चिमेली खसानका बासिन्दाहरू खस राज्यको विस्तारका क्रममै पुगिसकेका थिए । त्यसलाई गोर्खा राज्यको आक्रामक फैलावटको क्रमले गतिशील बनाइदिएको थियो । खस र गोर्खा राज्यको विस्तारको क्रम अघि पहाडी भेगका भिराला पाखाहरूमा थकाली, तमू (गुरुङ), तामाङ, मगर, चेपाङ, राउटे, राई, लिम्बूजस्ता किराँत (?) जाति/भाषा सम्बद्ध समुदायले आवाद गुल्जार गराएका थिए । (ती जातिहरू कहिले, कहाँबाट नेपाली पहाडी भेगमा पाखा आवाद गराउन आइपुगे भन्ने बयान गर्न अर्को बेग्लै शीर्षकको लेख आवश्यक पर्ने भएकाले अहिले त्यता नलागौं ।) निश्चित भूगोलमा एउटा सजातीय परिवारको किलो गाडिएपछि र त्यसको विस्तार हुन थालेपछि सामाजिक अगुवाका रूपमा थकु, नायकहरू थापिन थाले । सामाजिक संरचनामा अन्य जातीय प्रवेशसँगै त्यसले रैथाने सामन्तको रूप लिँदै क्रमशः राज्य र राज्यप्रमुखको नाम पाउन थाल्यो । टुहुरे स्तरका भए पनि त्यस्ता राज्य प्रमुखहरू कालान्तरमा राजा भनिए ।


अरूभन्दा फरक र विशेष देखिन शासकहरूले सर्वसाधारणको भन्दा विशेष ठाउँमा जनश्रमदान गराएर विशेष भवन बनाउने काम गरे । तिनी बस्ने भवन राजदरबार भनियो । दरबार रहेको ठाउँ राजधानी । स्वाभाविक तवरले शासकको दरबार या मुकाम रहेको स्थानलाई केन्द्र बनाएर उपलब्ध हुन सक्ने तमाम सुविधाहरू संकेन्द्रित गरिए । त्यसरी सुविधाहरू संकेन्द्रित गरिएपछि त्यस्ता स्थानहरू स्वतः तलका मानिसहरूको आकर्षण र स्वप्न स्थलको रूपमा परिणत भए । हरेकले तिनै मुकामहरूको वरिपरि आफ्नो थलो, किलो गाड्न सक्नुलाई जीवनको, सफलताको ध्येय बनाउन थाले । यो केन्द्रीकृत चेतना निर्माणको लामो सिलसिलाले डामिएर आएको समाजलाई पछिल्ला दिनहरूमा आँधीको गतिमा विस्तारित पुँजीवादको फैलावटले उत्पादकबाट तानेर उपभोक्ताको एकाइमा मात्रै सोच्न, बाँच्न सक्ने गरी विद्रूपीकरण गरिदियो । पाखुरा बजारेर उत्पादन गरिएको जैविक खाद्यान्नको मूल्यले विषादी प्रयोग गरेर उत्पादित आयातित खाद्यान्नसँग प्रतिस्पर्धा गर्नै सकेन । करेसामा तरकारी लगाउनुभन्दा दोबाटोको खाद्यान्न पसलबाट ‘बेसाहा’ ओसार्नु सस्तो भयो । उसै पनि तागतदार पाखुरीहरूको पलायनपछि उत्पादनको गति वेगवान गतिमा दौडिरहेको सवारीमा लगाएको ‘ब्रेक’ पछिको अवस्थाजस्तै हुन गयो ।


स्वास्थ्य र बजार निर्भर जिन्दगीमा अभ्यस्त हुन गएको जनजीविकाले मानिसलाई घना सहरी बस्तीतिर आकर्षित गरिदिएको छ । गाउँमा सम्भवतः कुनै अकल्पनीय उलटफेर नभएमा आखिरी पुस्ता मात्रै अडिएको छ । त्यो पनि पुर्खाको थलो नछोड्ने, सहर गन्हाउने, सहरको पानी नमीठो हुने अनेक बहानाको च्यादर ओढेर गाउँमा अडिएको छ । नत्र, अवसर, सुविधाको खोजीमा आफू जन्मिएको ठाउँभन्दा अलिक फराकिलो परिवेशमा पुगेको अनुभूत गरेको मानिस फर्किएर फेरि खुम्चन जाने सम्भावना देखिंदैन । हाम्रो पुस्ता भने ग्रामीण लयको एउटा अनुभूति र सहरिया जीवनको आकर्षणको बीचमा फँसेर बेलाबखत गाउँ सम्झेर भावुक निबन्ध लेखिबस्ने स्तरमा विघटित भएको छ । उसै पनि जुन ठाउँमा मानिस बस्दैन, खेल्दैन, बसे पनि मुहारबाट हाँसो गायब छ, त्यो ठाउँ जतिसुकै सुन्दर भए पनि अर्थहीन बनिदिएको छ, मानिसका आवश्यकता, सुविधा, लालसाले ।

पृथ्वीनारायण शाहले गोर्खा राज्य विस्तारको क्रममा अनेकन रैथाने केन्द्रका रूपमा क्रियाशील राज्य, रजौटाहरूलाई विस्तारित गोर्खा राज्यको केन्द्रमा लपेटेपछि नेपाली समाजमा एकल केन्द्रीय सत्ता चेतनाको विकास भएर आयो । मानिसहरूसँग केन्द्रीकृत हुनका लागि देशको राजधानी काठमाडौं सबैभन्दा प्रमुख आकर्षणको अड्डाका रूपमा रहन गयो । पृथ्वीनारायणले नै काठमाडौंमा गोर्खाली विजयको झन्डा गाडेपछि यहाँको जमिन गोर्खाली भारदारहरूलाई बाँड्ने काम सुरु गरे । पछिका दिनमा त्यसको देखासिकीको मात्रा तीव्रत्तर हुन गयो । काठमाडौंमा आउनु र यहाँको जमिनको स्वामित्वमा आफ्नो नाम लेखाउनु मानिसहरूको सामर्थ्य, अहंको प्रदर्शनजस्तो हुन गयो । त्यसको गति विसं २००७ साल यता र अझ खासमा विसं २०२० पछि यति तीव्र भयो कि काठमाडौंको उब्जाउ जमिनमा जमिनभित्र पानी समेत छिर्ने ठाउँ बाँकी नराखी कंक्रिटका भवनहरू रोपिए । काठमाडौं वरपरका डाँडाकाँडाहरूमा समेत सामर्थ्य लगाउन नसक्नेहरू मैदानी भेगका मलिला खेतीयोग्य जमिनलाई आफ्नो गन्तव्य बनाउनेमा दरिए । झापादेखि कञ्चनपुरसम्मका पूर्व–पश्चिम राजमार्गलाई आधार बनाएर उभिएका बस्तीहरूले बितेको पच्चीस वर्षभित्र भीमकाय सहरको स्वरूप ग्रहण गर्दै जानु र त्यही अनुपातमा भिराला पहाडी भेगका गाउँहरू रित्तिने मात्रै होइन मैदानी भेगकै भित्री गाउँहरू उपेक्षित हुँदै जानु हाम्रो समाजमा कमसेकम २ सय ५० वर्ष लामो केन्द्रीकृत सत्ता अभ्यासले निर्माण गरेको चेतनाको प्रतिविम्ब हो । तर, यति मात्रै भनेर हाम्रो एकीकृत या केन्द्रीकृत खालको चेतना निमार्णका सन्दर्भहरू निम्टिँदैनन् ।


फर्केर मानव सभ्यता विकासको निकै लामो इतिहास मिहिन तवरले निफन्ने हो भने, मानव समुदाय एउटा निश्चित ठाउँलाई केन्द्र बनाएर त्यसैको वरिपरि झुम्मिने सामूहिक चेतनाबाट अभिसारित भएको पाइन्छ । मानिस मात्रै नभई अन्य जनावरहरूमा समेत सामूहिकता र केन्द्रीकरणको अभ्यास रहेको देख्न सकिन्छ । एउटा भूगोललाई केन्द्र बनाएर अडिने र त्यसभन्दा उन्नत विकल्पका लागि प्रयत्नहरू क्रियाशील गराइराख्ने अभ्यासबाट मानव समाज अघि बढ्यो । त्यही क्रममा एक ठाउँबाट अर्को ठाउँ, एउटा भूगोलबाट अर्को भूगोलमा मानिसहरूको बसाइसराइ र फैलावट जारी रह्यो । आजको दिनमा समेत पैदल पार गर्न अकल्पनीय मानिएका विशाल समुद्री फेरोहरू हिउँदमा पानी जमेर बरफ बनेको समयमा पैदलै नापेर नाघिभ्याउने मानव समाजको प्राचीन प्रयास त्यही सहजता र सुविधाको खोजीका लागि प्रयत्नहरू क्रियाशील गराउने कर्मकै हिस्सा थियो । जिन्दगी र आफ्ना सन्ततिको सहजताका लागि अधिकतम मिहिनेत गर्ने र त्यसबाट पनि कठिनाइको मात्रा नघट्ने देखिएपछि पुस्तौंपुस्ताको जिन्दगी र समय लगानी गरेर सिर्जित र विकसित थातथलो छाडेर नयाँ विकल्पको बाटोमा अगाडि बढिरहने मानव समाजको अभ्यासको चिन्तनस्वरूप आज पनि मानिसहरू एक ठाउँमा जमेर नबस्ने र विकल्पहरूका लागि भौंतारिइरहने प्रयास अकण्टक जारी छ । मेरै गाउँमा मेरा पितामह रविलाल देवकाटाले जग बसाएको सय वर्ष हाराहारीमा त्यहाँबाट उहाँका सन्ततिहरू तितरबितर भैसकेको अवस्था छ । यस्तै सन्दर्भहरू तपाईं अनेकका परिवारहरूको अन्तर्यसँग पनि मिल्ला । कसैको केही लामो होला, कसैको छोटो । कसैको जरोकिलोको इतिहास तीन सय वर्ष नाघ्ला, कसैको इतिहास आजको थलोभन्दा पारिको भित्तामा पुगे थप डेढ सय वर्ष जोडिएला । यसले पनि हाम्रा पुर्खाहरू निरन्तर सहज र तैबिसेक सुविधाजनक स्थानको खेजीमा निरन्तर सर्दै, चर्दै हिँडिरहेका थिए र हामीले पुर्खाहरूको त्यही चरित्रलाई अनुसरण मात्रै गरिरहेको देखिन्छ । एक्लो बसाइबाट सामूहिक बसाइमा जाने, सानो समूह अलिक ठूलो समूहमा मिसिने र एउटा विशाल समूहमा फैलने र कालान्तरमा फेरि विभाजित भएर तितरबितर हुने मानव समाज विकासको चरित्रगत निरन्तरता आज पनि जारी छ । स्वाभाविक तवरले आज पनि मानिस सहजता र सुविधाको खोजीमा सानो गाउँबाट अलिक सहरोन्मुख बस्तीमा बसाइ सरिरहेको छ ।


सहरोन्मुख बस्तीबाट फस्टाउँदो सहरमा, त्यहाँबाट अझै ठूला र स्थापित सहरमा जान र त्यहाँ स्थापित हुन प्रयास गर्ने क्रमकै परिणाममा आज स्वास्थ्य, शिक्षा, रोजगारी, बजार, अवसर, सुविधाका हिसाबले सीमान्त गाउँहरूबाट हैसियतअनुसारका सहर या मैदानी भूगोलमा बसाइसराइको क्रम तीव्रत्तर भएको छ । त्यसैको उत्कर्षमा गाउँहरू खाली भैरहेको छ । यो स्वाभाविक पनि छ, मानव इतिहासको क्रमिक विकासको परम्पराको चिन्तन हस्तान्तरण र अनुकरणको हिसाबले । तर, राष्ट्रिय अर्थतन्त्र, आत्मनिर्भर कृषि उत्पादनजस्ता सूत्रहरूको हिसाबले भने यही ग्रामीण भेगमा विकसित भइरहेको रित्तोपना र उर्वर जमिनमा तीव्रत्तर हुँदै गएको कंक्रिटका भवन उमार्ने होडले नेपाली समाजलाई पूर्णतः परनिर्भरताको हिरासतमा कैदी बनाइदिएको छ । यो क्रम अझैं बढेर जानेछ । सरकारी तथ्यांकलाई नै मान्ने हो भने पनि गएको वर्ष मात्रै हामीले ५२ अर्ब रकमको खाद्यान्न आयात गर्‍यौं ।


पहाडी भेगको विशाल जमिन बाँझिंँदै जाने र मैदानी भेगको विशाल खेतीयोग्य जमिन सहजताको खोजीमा बसाइसराइमा लागेका मानिसहरूको ओत बन्ने क्रममा खण्डीकरण भएर बस्तीमा परिणत हुने दिनानुदिन बढिरहेको छ । यसको विकल्पमा पहाडका विभिन्न स्थानहरूमा व्यवस्थित बस्ती बसाउने र उक्त बस्तीका लागि चाहिने स्वास्थ्य, शिक्षा, यातायात, रोजगारी, उत्पादन–वितरण–बजार, मनोरञ्जन, मौलिकताको व्यवस्था गर्ने र वरपरका जमिनमा सहज कृषि उत्पादन गर्न सकिने प्रविधि उपलब्ध गराउने दीर्घकालीन योजना नबनाउने हो भने न गाउँ नै गुल्जार हुन्छ न त देशले निश्चित सहरी क्षेत्रमा उर्लंदो केन्द्रीकरणलाई नै थेग्न सक्छ । तर, शासकहरूलाई भने सस्ता टुक्का, हिन्द महासागरमा नेपाली झन्डासहितको पानीजहाज दौडाउने बेतुकको गफबाट नेपाली समाजले झेलिरहेको समस्यामा केन्द्रित हुने फुर्सद नै छैन । कर्मचारीतन्त्रले आफ्नै बुतामा तयार गरेको प्रक्रियागत विकासे योजना नेपाली समाजले पालेको लालसाको लप्कोलाई बुझाउन सक्ने हैसियतमै देखिन्न ।

राज्यको पुनःसंरचना र संघीयतापछि केन्द्रीकृत राज्य संरचना विघटन हुने र मानिसहरू बिस्तारै सहरमुखी चिन्तनबाट ग्रामीण बस्तीतिर फर्कने अनुमान पनि नवगठित संघीय एकाइहरूको परम्परागत चरित्रका कारण गलत सावित भएको छ । गाउँगाउँमा सिंहदरबार लैजाने भन्नुको अर्थ सुविधाहरूको स्थानीयकरण गर्ने भन्ने हुनुपर्नेमा गाउँगाउँमा नयाँ हैकमी शासकहरूको बिगबिगी बढेको छ । मनोमानी र आर्थिक अनुशासनहीनताले स्थानीय तह नयाँ भ्रष्टहरूको उत्पादन कारखानामा बदलिने खतरा देखिएको छ । संघीयताको मर्म र मान्यताविपरीत कतिपय अधिकारहरू स्थानीय निकाय, जिल्लाबाट खोसेर झन् टाढा पुर्‍याउन थालिएको छ । स्थानीय सरकार ग्रामीण मानिसलाई रोजगारमूलक कामका नाममा सेलरोटी पकाउने तालिम दिएर बसेको छ । यसले मानिसहरूलाई ग्रामीण भेगतर्फ आकर्षित गर्ने कुनै पहल गर्न सकेको छैन । विकासका नाममा भिराला पाखाहरूमा डोजर चलाउनेदेखि डोजर चलाउनेसम्मका कामबाहेक थप प्राथमिकतामा परेकै छैन । अस्पताल, पुस्तकालय, सांस्कृतिक गतिविधि, आवश्यक बजारको प्रबन्ध, रोजगारीको दीर्घकालीन अवसर सिर्जना गर्ने आधार निर्माणमा गरिने लगानी तलदेखि माथिसम्मका शासकहरूलाई अनुत्पादक खर्च लाग्छ ।


यी तमाम कारणहरू विघटित भएको गाउँको गति फेरि बौराउन व्यवस्थित बस्ती बसाल्नेदेखि, आधारभूत सुविधाहरू संकेन्द्रित गरेर ग्रामीण क्षेत्रलाई प्राथमिकता नदिए पूर्व पश्चिमसम्म फैलिएको मध्यपहाडी भेग अबको केही दशकभित्रै मानवरहित पाखाहरूमा परिणत हुनेछ । बदलिँदो समयमा गाउँले विकल्प नदिएपछि सुविधाको खोजीमा गाउँ छोडेर सहर सर्ने मानव समाजको नियमित अभ्यास नै देखिन्छ विश्वभर नै । देहातका गाउँहरू नै पनि खुम्चने र राजमार्ग वरपरका बस्तीहरूमा थामिनसक्नुको चाप बढ्नुको कारण पनि त्यही नै हो । तसर्थ, हाम्रा गाउँहरूलाई फेरि बौराउन आवश्यक छ कि छैन ? त्यसको सम्भावना नै छ कि छैन ? छ भने हामीले गर्नुपर्ने कार्यहरूबारे विमर्श थाल्न ढिला भयो कि !
Twitter : @gaunkomanchhey

प्रकाशित : श्रावण ३२, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्

सम्झना : मौनमा मोरिसन

ईश्वर बुढाथोकी

बाटो बिराएर सबभन्दा धेरै गल्ती सायद मृत्युले नै गर्छ  । नत्र त अगस्ट ५ को रात विश्वको साहित्यिक अकाशबाट टोनी मोरिसन नामको एउटा प्रकाशपुञ्ज सधैँका लागि अस्ताउने नै थिएन  ।

मोरिसनको मृत्यु ‘मृत्यु’ स्वयम्ले पनि सच्याउन नसक्ने गरी गरेको ‘गल्ती’ थियो । बाराक ओबामाको कार्यकालमा उनलाई स्वतन्त्रताको राष्ट्रपतीय मेडलद्वारा सम्मान गरिएको थियो । उनको मृत्युलगत्तै ओबामाले त्यही २०१२ को सम्मान कार्यक्रममा सँगै खिचिएको तस्बिर राख्दै गहिरो श्रद्धाञ्जली दिए । उनले ट्विटरमा लेखे, ‘मोरिसन एक राष्ट्रिय गहना थिइन् । उनी पृष्ठहरूमा जतिकै व्यक्तिगत रूपमा पनि मनमुग्ध पार्ने उत्तम कथाकार थिइन् । उनका लेखहरू सुन्दर र अर्थपूर्ण चुनौती थिए । हाम्रो विवेक तथा नैतिक कल्पनाका लागि एक छिन भए पनि उनले र मैले एउटै हावामा श्वास लिन पाउनु मेरो लागि ठूलो उपहार थियो ।’


अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा भने अनलाइन सामाचारहरूमा व्यंग्यवाण सुरु भइसकेको छ— के ट्रम्पलाई टोनी मोरिसनको बारेमा थाहा छैन ? हुन पनि ट्रम्पको निर्वाचनको लगतै २०१६ मा ‘न्युयोर्कर’ मा प्रकाशित मोरिसनको एक निबन्धमा उनले धेरैले जस्तै राष्ट्रपति ट्रम्पले पनि हिंसात्मक तथा जातीय धारणाहरूलाई सुरक्षित किनारा लगाउने भविष्यवाणी गरेकी थिइन् । यो लेख तयार पार्दासम्म ट्रम्पको कुनै आधिकारिक धारणा सार्वजनिक भैसकेको छैन ।भावनालाई पनि आफ्नो भाषाको नियन्त्रणमा राख्न सक्ने बेग्लै शक्ति र सामर्थ भएकी मोरिसनले उज्यालोको मसीमा आफ्नो कलमलाई चोपेर अँध्यारोमा यसरी पोखेकी थिइन् मानौँ उनले पोखेको मसी तेलका ती चम्किला थोपाहरूजस्तै हुन् जो संसारलाई डुबाउने समुद्रमाथि पनि तैरिरहेका छन् । तिनलाई डुबाउने तागत समुद्रसँग त के कुनै सुनामीसित पनि छैन ।


आफ्नो अभिव्यक्तिलाई कलात्मक रूप दिने मामिलामा धेरै नै कहलिएकी यी अश्वेत लेखिकाको जन्म सन् १९१८ को फेब्रुअरी १८ मा अमेरिकाको ओहायो राज्यमा भएको थियो । यिनको वास्तविक नाम कोल अर्डेलिया उफर्ड थियो । आफ्नो समयकी अत्यत्तै प्रभावशाली लेखिका मोरिसनको प्रभाव पछिल्लो समयमा पनि उत्तिकै थियो । पुरस्कारको सन्दर्भमा पनि मोरिसन निकै भाग्यमानी लेखिका मानिन्थिन् । त्यो किनभने सन् १९९३ मा उनलाई नोबेल पुरस्कार दिँदा पुरस्कारका लागि मनोनीत हुनेको सूचीमा उनको नाम अटाएकै थिएन । तैपनि उनलाई अश्वेतहरूका जीवानुभवमाथि लेखेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । त्यतिबेला उनको लेखनस्तरलाई ‘आश्चर्यजनक रूपमा श्रेष्ठ’ भनिएको थियो । तत्कालीन पुरस्कार समितिका सचिव स्टिभ एलनले भनेका थिए, ‘विश्वास नै हुँदैन एउटा लेखकका ६ वटा उपन्यास के कारणले समान रूपमा श्रेष्ठ हुन सक्छ ?’


उनको साहित्यिक हैसियतको उचाइको अघिल्तिर पुरस्कारको कद होचो थियो । त्यसैले पनि कसैले उनको विरोध गरेनन् । स्विडिस एकेडेमीको यो निर्णयलाई साहित्यिक दुनियाले पनि अनुमोदन गर्‍यो । सन् १९७७ मा प्रकाशित ‘सङ्ग अफ सोलोमन’ को प्रकाशन पछि उनी अत्यधिक पाठकको आँखामा परेकी थिइन् । श्वेत र अश्वेत दुवैथरीका पाठकले उनलाई खुब रुचाउन थालेका थिए । त्यसको एक दशकपछि उनको अर्को उपन्यास ‘बिलोभेड’ प्रकाशित भएको थियो । यो उपन्यास कतिसम्म लोकप्रिय भयो भने यस किताबलाई कुनै राष्ट्रिय पुरस्कार नदिएको भनेर खेद व्यक्त गर्दै ‘न्युयोर्क टाइम्स बुक रिभ्यु’ मा हज्जारौँ पाठकका पत्रको लस्कर नै लाग्यो । एउटा इमानदार लेखकका लागि योभन्दा ठूलो पुरस्कार अरू के हुन सक्ला ? यसपछि उनले पुलित्जर पुरस्कार पनि पाइन् । पाठकीय दबाब त थियो नै तर पुरस्कार समितिले सफाइ दिँदै भनेको थियो ‘उनलाई प्रचारको दबाबले होइन, रचनात्मक श्रेष्ठताको कारणले पुरस्कार दिइएको हो।’


कुनै बेला मोरिसनलाई पनि गरिबी र कष्टले खलपात्रले झैँ खेद्नुसम्म खेदेको थियो । तर उनले दृढता, मिहिनेत र इच्छा शक्तिले तिनलाई पराजित गरेकी थिइन् । जीवन निर्वाहका लागि भेटेसम्मका काम गर्दै लेखनमा होमिएकी थिइन् । वासिङ्टनको हावर्ड विश्वविद्यालय हुँदै कोर्नेल विश्वविद्यालयबाट उनले आफ्नो औपचारिक अध्ययन पूरा गरिन् । स्नातकोत्तर अध्ययनका क्रममा उनले बिलियम फाक्नर र भर्जिनिया उल्फका सिर्जनामा आत्महत्या गर्ने पात्रहरूमाथि शोधपत्र लेखेकी थिइन् । त्यसपछि टेक्सास र हावर्ड विश्वविद्यालयमा नै अंग्रेजी पढाउन थालेकी उनले हावर्डमै पढाउने क्रममा हेराल्ड मोरिसन नाम गरेका एक आर्किटेक इन्जिनियरसित विवाह गरिन् । दुई छोरा जन्मिएपछि उनीहरूको दाम्पत्य जीवन टुङ्गियो । उनले हावर्ड छोडिन् र न्युयोर्क आएर एक प्रकाशन गृहमा पाठ्यपुस्तकको सम्पादनको कार्य गर्न थालिन् । एकातिर जागिर अर्कोतिर लेखन र बालबच्चा । उनको व्यस्तता बढ्यो । उनी बिहान सबेरै उठ्थिन् र छोराहरू उठ्नुअघि नै लेख्न बस्थिन् । उनी आफ्नो सिर्जनालाई सकुन्जेल परिमार्जन गर्थिन् । सुन्दा अचम्म लाग्न सक्छ आफ्ना सिर्जनालाई ६ देखि १३ पटकसम्म परिमार्जन गर्न पनि उनी अल्छी मान्थिनन् ।


मोरिसनले आफ्ना कुनै पनि उपन्यासमा निजी जीवनकथालाई प्रतिविम्बित गरेकी छैनन् । बरु अश्वेत नारीहरूका सामाजिक स्थिति र तिनका अनुभव, अनुभूतिलाई उपन्यासमा उतारी रहिन् । उनले आफ्ना लेखनमा समाजका यथार्थ, संघर्ष तथा इच्छा आकांक्षालाई शक्तिशाली रूपमा प्रस्तुत गर्केी छन् । मोरिसनलाई नोबेल पुरस्कार दिने घोषणा भइरहँदा जर्मनीको फ्र्यांकफर्टमा विश्व पुस्तक मेला चलिरहेको थियो । मेलाका कुनै पनि स्टलमा उनका पुस्तकहरू राखिएका थिएनन् । पुरस्कारको घोषणा लगत्तै गोदामतिरै थन्किएका उनका पुस्तकलाई मेलामा लगिएको थियो । त्यसपछि प्रकाशकले थेग्नै नसक्ने गरी उनका किताबहरू बेचका थिए । बजारमा पनि उनका किताबको माग धेरै हुन थाल्यो । उनको तेस्रो पुस्तक ‘सङ्ग अफ सोलोमन’ लेख्नुअघिसम्म लेखन उनको प्राथमिकतामा परेकै थिएन । एउटी महिला त्यसमाथि अश्वेत वर्णको कारण उनी आफूलाई आत्मविश्वासका साथ लेखक हुँ भन्न पनि सक्दिनथिन् । सुरुआतका उनका पुस्तकहरू उनको रङकै कारण छापिएका थिए । किनभने श्वेत पाठकहरूको अलिअलि रुचि अश्वेत लेखकहरूप्रति देखिन थालेको थियो ।


सुरुसुरुमा त प्रकाशकहरूले उनलाई नाम मात्रको पारिश्रमिक दिएका थिए । त्यति बेला निस्किएका उनका किताबहरूमाथि ‘न्युयोर्क टाइम्स’ ले गरेका समीक्षा निरुत्साहित गर्ने खालका मात्र थिए । तर पनि उनले कहिल्यै हिम्मत हारिनन् । उनी प्रायःजसो सानो विचारबाटै अन्तर्मन्थन गर्थिन् र लेखनको पृष्ठभूमि तयार पार्थिन् । त्यो रोचक पनि हुन सक्थ्यो र पट्यारलाग्दो पनि । उनी त्यसको पनि हेक्का राख्थिन् । आफ्ना काल्पनिक पात्रलाई पूर्ण नियन्त्रणमा राख्न रुचाउने यी लेखिकाले एक अन्तर्वार्तामा ‘यौन र यौन सम्बन्धबारे लेख्नु कठिन हुने र यसलाई विस्तारमा लेख्न नहुने’ भन्ने भनाइ राखेकी थिइन् । ‘यौन भनेको यस्तो कुरा जसबारे थोरै मात्र लेखेर पाठकलाई आफैं उत्तेजनामा आउन दिनुपर्छ । कुनै महिलाको शारीरिक अंग वर्णन गर्नका लागि त्यसबारे विस्तारमा लेख्नेबित्तिकै लेखक, लेखक नभएर स्त्री रोग विशेषज्ञजस्तो हुन पुग्छ । कति लेखक अपशब्दको प्रयोग गरेर निकै रमाउँछन् । त्यस्ता लेखनको प्रभाव क्षणिक हुन्छ’ भन्ने उनको मान्यता थियो । आफ्नो लेखाइ त्यस्तो हुँदैन होस् भन्नेमा उनी प्रतिबद्ध थिइन् ।


यसरी अश्वेत नारीहरूको पीडा र मर्मलाई शब्दमा उतार्ने मोरिसन सन् १९८९ देखि प्रिन्सटन विश्वविद्यालयमा प्रोफेसर अफ हुम्यानेटिजका रूपमा कार्यरत थिइन् । पछिल्लो समय आफ्ना परिवारसित न्युयोर्कमा आफ्नो बुढेसकाल बिताइरहेकी उनी मृत्यु हुँदा ८८ वर्षकी थिइन् । खासगरी अश्वेत जिन्दगीका अनेकन विषम भोगाइहरूका जीवन्त अनुभूतिलाई आकार दिएर असंगतिबाट उत्पन्न स्थितिसँगै आफ्ना मौलिक संस्कृतिसँग सम्बन्धित विषयको उठानमा उनको कलम विश्व साहित्यिक फाँटमा दरिलो स्तम्भ भएर उभिरहनेछ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : श्रावण २५, २०७६ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्