कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

व्यक्ति : एउटा डोपिङ एक प्रशिक्षक

विनोद पाण्डे

१९८२ को एसियाली खेलकुदको छनोट पहिलो पटक खेलेका सुशीलनरसिंह राणा २०४३ मा म्याराथनको राष्ट्रिय च्याम्पियन भए  । यो विजयलाई उनी काकताली भन्न रुचाउँछन्  । कारण ? ‘त्यसबेला म्याराथनका दुई शीर्ष खेलाडी वैकुण्ड मानन्धर र मुकुन्दहरि जोशी दुवै जना त्यस प्रतियोगितामा सहभागी थिएनन् । मानन्धर जापान र जोशी थाइल्यान्ड गएका थिए ।’ मौकाको फाइदा राणालाई भएको थियो ।

व्यक्ति : एउटा डोपिङ एक प्रशिक्षक

एसएलसी पास गरेपछि मात्रै दौडिन थालेका राणा औसत खेलाडीका रूपमा जीवन बिताउन चाहन्थेनन् । सानैदेखि दौडिन थालेका वैकुण्ठलगायतलाई हराउने कुरा असम्भव लाग्न लागेपछि उनले आफ्नो ट्र्याक चेन्ज गरे । १९९०–१९९१ मा प्रशिक्षकको कोर्स गर्न भारतको पटियाला गए । २ वर्षे कोर्स सकेर आएपछि उनको प्रशिक्षक जीवन सुरु भयो । त्यस बेला पटियाला डिप्लोमा सकाएर आउनेबित्तिकै राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षकको जागिर दिन्थ्यो ।


४६ को प्रजातान्त्रिक आन्दोलनले जागिर पाउने समय केही सर्‍यो, ५० सालदेखि उनी परिषद्को प्रशिक्षक भए । प्रशिक्षक राणा हरेक दिन घरबाट ५ बजे निस्किन्थे फिल्डमा । भक्तपुर, नलिन चोकसम्म दौडिन पर्ने दिन उनी ४ बजे नै निस्किन्थे । प्रशिक्षणमा पूरै रमाए, कामको हिसाबमा कहिल्यै लिएनन् यसलाई । लामो दूरीमा सुशीलनरसिंह राणाले टिम हेरेको छ भने अरूले जित्दैन भन्ने छाप बनेको थियो । टीका बोगटी लामो समयसम्म प्रशिक्षण लिएका थिए राणासँग । उनले १९९५ को मद्रास सागमा स्वर्ण जितेका थिए म्याराथनमा । सागमा रजत जितेका अर्जुन बस्नेत ओलम्पियन बने । गणेश राईले १९९९ को सागमा म्याराथनमा कांस्य पदक जिते ।


राजेन्द्र भण्डारीको स्वर्णको किस्सा
राणाले करिब करिब ४० वर्ष हाराहारी खेलकुदमा बिताए । ‘खेलाडी हुँदा ममा जति उत्सुकता थियो, प्रशिक्षक भएपछि त्यो लगाव अझ बढ्यो । अहिले आइपुग्दा यो समय कसरी गयो भन्नेजस्तो लाग्छ । यसको कारण आफ्नै विषयवस्तुसँग खेलेरै बसिरहियो,’ खेल्दा खेल्दै बिनाकुनै दबाब जीवन गएको जस्तो लाग्छ उनलाई । रमाइलो गर्दै बिताएको यो चार दशक यात्रामा पीडा पनि उत्तिकै छन् । नेपाली खेलकुदको सबभन्दा ठूलो विवाद र त्यससँग सम्बन्धित पात्र हुन् उनी । खेलमा भएको झेलमा उनी पनि परे । राजेन्द्र भण्डारीले २००६ को श्रीलंका दक्षिण एसियाली खेलकुदमा ५ हजार र स्टिपल चेसमा स्वर्ण जित्दै सनसनी मचाए । उनै राजेन्द्रका प्रशिक्षक थिए राणा । राजेन्द्र डोपिङ परीक्षणमा असफल भएपछि उनको दुवै स्वर्ण पदक खोसियो । त्यसले पर्दापछाडिका नायक राणालाई एकाएक खलनायक बनाइदियो ।


परीक्षणमा राजेन्द्रले प्रतिबन्धित औषधि नान्ड्रोलिनको डेका डुराबोलिन लिएका थिए । फेरि यो शक्तिबर्द्धक औषधि पनि होइन । यो औषधिको प्रयोगले खेलाडीलाई रिकभर गर्न मद्दत गर्छ । खेलाडीको हिसाबमा राजेन्द्रको अहिले पनि उनी तारिफ गर्छन् । त्यस घटनाले भने राणालाई माथि उठ्न निकै समय लाग्यो । त्यो घटनाले घाँटी नै अठ्याएजस्तो भयो । ‘उसले कसरी त्यो औषधि लियो, कसरी उसको शरीरमा पुग्यो, त्यो उसैले जान्दछ । उसले त्यो नलिएको भए पनि उ च्याम्पियन हुने निश्चित नै थियो,’ राणा अहिले पनि यो ठोकुवा गर्छन् । नेपाल–जर्मन एथ्लेटिक्स परियोजना थियो । त्यहीअन्तर्गत रहेर ६ महिनादेखि राजेन्द्रको प्रशिक्षणको तौरतरिका मिलाएका थिए राणाको टोलीले । त्यो प्रशिक्षणको होल प्रोफाइल अहिले पनि उनीसँग सुरक्षित छ । ‘एथ्लेटिक्स यस्तो खेल हो जुन पहिल्यै कुन स्थान आउने भनेर अनुमान गर्न सकिन्छ । फुटबल र बक्सिङजस्तो अनुमान लगाउन नसकिने होइन । आफूले आफैंलाई जज गर्ने हो एथ्लेटिक्समा,’ नेपाली एथ्लेटिक्समा प्राविधिक रूपमा अब्बल दर्जाको प्रशिक्षक मानिने राणा भन्छन्, ‘त्यसैले हामी दक्षिण एसियामा कहाँ छौं भन्ने स्पष्ट तस्बिर आउँछ । त्यही हेरेर गोल पेस सेट गर्छौं । हामीभन्दा धेरैमाथिको छ भने हामीले त्यसमा गोल पेस बनाउनु पनि बेकार हुन्छ । त्यस्तो बेलामा प्रतिस्पर्धा गर्न गयौं भने हाम्रो भएको स्तर अझ तल जान्छ । एकै स्तरको जस्तो देखिएमा प्रतिद्वन्द्वीलाई कसरी हराउने भन्ने रणनीति बनाउने हो र लामो समय अभ्यास गर्ने हो ।’


राजेन्द्रको सबालमा श्रीलंका साग खेल्न जानुअघि उनको भेलोसिटी क्रिटिकल रेट (भीसीआर) एसियाली स्तरको थियो । उनको भीसीआर ५.३ मिटर प्रतिसेकेन्ड थियो, जुन भनेको धेरै राम्रो हो । उनले मजाले जित्छन् भन्नेमा राणाको टोलीको विश्वास थियो । नभन्दै दुई स्वर्ण आयो । सेनाका राजेन्द्रले ५ हजार र स्टिपल चेजमा स्वर्ण जिते । ‘कहाँ अभ्यास गरेको, युरोपमा हो ?’ भनेर राणालाई श्रीलंकामा प्रश्न सोधिएछ । उनले गर्वका साथ ‘हो’ भनेर उत्तर फर्काए । धेरै हिसाबमा वैज्ञानिक प्रशिक्षण गराएकाले उनले जित्दाखेरि पनि राणा त्यत्ति उत्साहित थिएनन् । कारण उनले जित्छन् भन्ने नै थियो । ‘राजेन्द्रलाई यसरी ‘ग्रुम’ गरिएको थियो, जसले हरेक लक्ष्य भेटाइरहेको थियो । इन्डोरेन्स, गोल पेस, किलोमिटरदेखि ३ हजारको गोल पेस सबै सही ठाउँमा थियो । राजेन्द्रको व्यक्तिगत रेकर्डभन्दा राम्रो भइरहेको थियो’ उनले आफू ढुक्क हुनुको कारण बताए ।


‘मलाई उनको डोपिङ पक्ष बारेमा केही थाहा छैन,’ राणा अहिले पनि यही दोहर्‍याउँछन् । उनी डोपिङ परीक्षणमा असफल भएको समाचारमा राणालाई विश्वास नै लागेन । कसरी यो घटना हुन्छजस्तो लाग्यो । ‘समाचार आएपछि उसैले फोन गरेको थियो, मैले नै सोधेको थिएँ केही त लिएको छैनौं ?’ डोपिङको परीक्षण आइरहँदा राणाले स्वर्ण जितेपछिको तुरुन्तैको क्षण स्मरण गरे, ‘स्वर्ण जितेपछि उनको डोपिङ परीक्षण भएको थियो । उसको व्यहवार अलिक फरक देखिएको थियो । पछि मात्र मैले यो अनुभूति गरे । शान्ति सेनामा अफ्रिकी राष्ट्र गएको थिएँ । त्यहाँ मलाई मलेरियाहरूको सुई लगाएको थियो, त्यो पिसाबमा त देखिँदैन भनेर सोधेको थियो । मलेरियाको डोपिङमा कहाँ आउछ भने । करिब साढे दुई घण्टा लगाएको थियो पिसाब परीक्षण गर्न । दौडिएर आएकाले पानि ४–५ बोटल पानी पिइसकेकाले त्यसलाई मैले सामन्य रूपमा लिएँ ।’


खेलाडीहरूको बीचमा डोपिङको हल्लाखल्ला पहिलादेखि नै रहेछ । त्रिपुरेश्वरको औषधिपसलमा खुल्लमखुला पाउने रहेछ । राणा योबारे आफू अनभिज्ञ रहेको बताउँछन् । डोपिङ प्रकरण हुँदा राणा नै एथ्लेटिक्स संघका महासचिव थिए । आफूलाई विश्वास नै नभएकाले उनी यो घटनाबाट नडगमाएको बताउँछन् । यो जालझेल कसले गरिरहेछ भन्ने मात्र उनको दिमागमा आयो । उनलाई आफ्नो नतिजासँग मात्र विश्वास थियो । ‘जब मान्छेले सबै बिर्सेर आफूलाई मात्र बचाउन लाग्छ अनि समस्या सिर्जना हुन्छ, त्यसपछि ऊप्रति मेरो विश्वास घट्दै गयो । मलाई परियोजनामा औषधिहरू र भिटामिन दिन्थ्यो, त्यसैले डोपिङमा परेको हुन सक्छ भनेर उसले उल्लेख गर्‍यो । जबकि प्रोजेक्टमा दिने औषधि भनेको परिषद्ले खरिद गर्न नसकेपछि डाक्टर अजय राणाले सिफारिस गरेको औषधि किनेर दिने गरेको थियो । डाक्टरको प्रेसक्रिप्सन अहिले पनि राखेको छु । औषधि पसलको बिल पनि छ । त्यसमा बी कम्प्लेक्स, न्युरोबिन, क्यालसियम, जीवनजल हुन्थ्यो । यो सबै खेलाडीले राम्रोसँग पढ्न सक्ने औषधि हुन् ।’ उनी यस्ता १ सय प्रमाणहरू रहेको दाबी गर्छन् । यसपछि बल्ल राजेन्द्रसँग राणाको चित्त दुखाइ सुरु भयो ।


‘उसले प्रतिबन्धित औषधि सेवन गरेकै हो, नत्र भने ऊ त्यसरी आउँदैनथ्यो । तर उसले गरेको डोपिङलाई अरूले मौका हाने । हामीलाई निलम्बन गरेपछि फाइदा ककसले लिए त्यो हेर्न जरुरी छ । पहिलो फाइदा एथ्लेटिक्स संघले लियो,’ राणा भन्छन्, ‘राजेन्द्र धेरै चलाख खेलाडी हो, ऊ चलाखीले गर्दा नै बिग्रिएको हो । राजेन्द्रले दुई स्वर्ण जितेर आएपछि मैले २००६ को एसियाली खेलकुदमा कुन रङको पदक लिने भनेर मात्र निर्क्योल हुन बाँकी हो, एउटा पदक निश्चित छ भनेको थिएँ । १३.५० देखि १३.५५ मा दौडाएर पदक दिलाउँछु भन्ने थियो । त्यो भनेको कम्तीमा कांस्य पदक हो । ममा त्यति आत्मविश्वास थियो । त्यसैले यो धेरै ठूलो धोका हो । मैले उसलाई श्रीमतीलाई भन्दा बढी विश्वास गरेको थिएँ । ऊ मेरो त्यत्ति विश्वास पात्र हो । उसको दिसा कति पातलो छ भनेर पनि मैले हिसाब गरेर बसेको थिएँ । जबकि छोराहरूलाई झाडा लाग्यो भने पनि मैले घरको विषय मतलब राखेको थिइनँ । घरमा अल्झिएँ भने मेरो बिहानको प्रशिक्षण बिग्रिन्थ्यो । मलाई बिहानको सेसन बिगार्नु छैन । थोपा थोपा मिलाएपछि मात्र एउटा प्रदर्शन आउने हो । आजको भोलि प्रदर्शन आउने होइन ।’

डोपिङ काण्डले ठूलै हल्लीखल्ली ल्यायो । नेपाली खेलकुदमा यो नौलो घटनाजस्तो थियो । त्यसका लागि बनेको छानबिन समितिले राणा र अर्का प्रशिक्षक नारायण प्रधान, नेपाल–जर्मन एथ्लेटिक्स परियोजना र यसका निर्देशक गुन्टर लाङ्गेलाई प्रतिवेदनले दोषी बनायो । राणालाई ७ महिना निलम्बन गरेर तलब रोक्का गरिएको थियो । परिषद् हाजिर गर्न पनि जान रोक लगाइएको थियो उनलाई । आफूले अपराध गरेको छैन भने माथिबाट सबै हेरिराको हुन्छ, त्यो सबै ठीक हुन्छ भनेर यो अवधिमा श्रीमतीले धेरै ढाडस दिएको राणा सुनाउँछन् । ‘बिहान उठ्दा उसको सिरानी भिजिरहेको हुन्थ्यो, मलाई देखाउँदैनथ्यो । पीडा सबै परिवारमा आएको थियो । दसैंको मुखमा नातेदारदेखि सबै पीडामा थियौं । नारायण प्रधानको त यही चोटमा आमा नै बित्नुभयो । आफूलाई पालेर राखेको एक मात्र छोरालाई त्यत्रो असर पर्दा बूढाबूढी आमाबाउलाई त परिहाल्छ नी । बुढेसकालमा स्तब्ध बन्नुपरेपछि के हुन्छ ?’ राणाले भने ।


सीताराम मास्के थिए त्यो छानबिन समितिका संयोजक । उनीसहित अर्का सदस्य विनोद विष्टको मृत्यु भइसकेको छ । सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ अर्का सदस्य थिए । समितिमा उनको सर्टिफिकेट नक्कली हो भन्ने पनि कुरा आयो । ‘मैले सबै सर्टिफिकेट दिएँ । सबैले पल्टाई पल्टाई हेरे, कोही बोलेनन् । पुष्पदासले चाहिँ हेरिसकेपछि कसले नक्कली भनेको भनेर प्रश्न गरे । सबै सक्कली सर्टिफिकेट भन्दै हावामा जानु हुँदैन भनेर उनले भने,’ राणा छानबिन समितिले गरेको व्यवहारलाई भुल्न सक्दैनन्, ‘मलाई जेल हाल्नुपर्छ भनेर समेत भनेका थिए । डोपिङको औषधि हामीले आफ्नो घरमा उत्पादन गर्छौं भनेर समेत भने ।’


राणामाथि ६ महिना प्रतिबन्ध लाग्यो । जब फुकुवा भयो, ५ वर्ष बढुवा रोक्का गरिएको थियो । त्यसको मतलब दोषी नै होस् र बढुवा थप समयका लागि रोकिएको छ भन्ने भाव थियो । जबकि परिषद्ले आफ्नो प्रतिवेदनको आत्मआलोचना गरेर त्यो समयमै मन्त्रालयदेखि जर्मन दूतावास, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा सबैतिर पत्रचार गरिसकेको थियो । त्यही जानकारी राणालाई भने दिइएको थिएन । ‘कर्मचारीलाई सिध्याउने खेल थियो त्यो । यसलाई आउन दिनुहुन्न भनेर अर्को एउटा समूह लागिरहेको थियो । त्यो घटना ल्याएर मलाई जबरजस्ती मुण्डन गर्न खोजिएको थियो, करिब करिब मेरो खेल यात्रालाई समाप्त गर्न खोजिएको थियो । त्यो बेला दशरथ रंगशाला प्रवेश गर्दा मसँग बोल्नुपर्छ भनेर त्यो चोकभरि घाम तापेर बसेका मान्छे गायब हुन्थे । मसँग बोल्दा धरापमा परिन्छ भन्ने सोचाइ थियो उनीहरूको । मलाई खुलेरै समर्थन गर्ने पनि थिए ।’ उनी बक्सिङ प्रशिक्षक प्रचण्ड शर्मा भने आफ्नो समर्थनमा खुलेर आएको बताउँछन् ।


आफ्नै विभागले उल्टो सोच्दा सबैभन्दा दुःखी थिए उनी, ‘त्यत्ति खेर मेरो संस्था राखेपले मलाई नै विश्वास नगर्नु भनेको खत्तम हुनु हो । छानबिन समितिमा रहेका पार्थसारथी सेन गुप्ता परिषद्मा तालिम तथा निर्देशक विभाग प्रमुख थिए । म त्यहीअन्तर्गतको प्रशिक्षक थिएँ । म कस्तो प्रशिक्षक हो, मेरो आनीबानी, छवि के छ सबैलाई थाहा थियो । भर्खर जागिर खाएर मैले सुरुआत गरेको पनि होइन । जस्तो राजेन्द्रलाई बचाउन उसको विभाग लागेको थियो, हामीलाई पनि परिषद् लाग्नुपर्थ्यो । त्यसै पनि म निर्दोष नै थिएँ ।’


सबैबाट मुक्ति दिएपछि तत्कालीन सदस्य सचिव युवराज लामालाई भनेर रोक्का तलब पाएका थिए उनले । यस काण्डपछि नेपाल–जर्मन एथ्लेटिक्स परियोजनाले हात झिक्यो । नेपाल–जर्मन दौत्य सम्बन्धमै चिसोपना आयो । विश्व एथ्लेटिक्स महासंघ (आईएएएफ) को सिनियर म्यानेजर हुन् जर्मन लाङ्गे । नेपालमा अहिले ट्र्याक नै बनाउनुपर्यो भने पनि उसको सिफारिसमा आउँछ । राणा उनलाई ‘ज्ञानको भण्डार’ नै मान्छन् । ‘उसलाई आजको दिनमा संसारले मान्छ, मेरो देशमा आइदियोस् भन्छ । नेपालले चिनेन, उल्टै अभियोग नै लगायो । पहाडजस्तो मान्छे नेपाल छाडेर जाँदा आँखाबाट आँसु निकालेर गएको छ,’ लाङ्गेका आँसुको मूल्य नेपालले अहिले पनि चुकाइरहेको राणालाई लाग्छ । प्रमुख प्रतियोगिता खेल्न जानु अगाडि नै डोपिङ परीक्षण हुने भन्ने थिएन । सिधै खेल्न जाँदा राजेन्द्र समातिए । ‘म आफैंमा दुःखमा परेको हुनाले गुरुहरूलाई बचाउन सकिन, गुरुहरू निर्दोष छन्,’ भनेर राजेन्द्रले मिडियामा पनि भने ।


‘मैले राजेन्द्रलाई माफी दिएँ । यस्तै सबकबाट मान्छे परिपक्व बन्ने हो । अब त कुनै पनि खेलाडी मसँग आउँदा मैले त्यसको प्रशिक्षणपछिको गतिविधि पनि नियाल्नुपर्ने हुन्छ । अब म हिजोको जस्तो छैन । मैले शिक्षा पाएको छु, जुन मान्छेले धोका दिन्छ, त्यसले शिक्षा पनि दिइरहेको हुन्छ । शिक्षा दिने मान्छेसँग मैले किन वैरभाव राख्ने । अब म सबैलाई विश्वास गर्छु । अवको विश्वास भनेको परिपक्वता हो । विश्वास नै गरिएन भने नतिजा निकाल्न सकिन्दैन्,’ राजेन्द्रको डोपिङ प्रकरणपछि आफू जोडिएको घट्नलाई दुस्वपन मान्दै राणा भन्छन् ।


अहिले प्रमुख प्रतियोगिता खेल्न जानुअगाडि
शंकास्पद खेलाडीको डोपिङ परीक्षण गराइन्छ । अर्थात्अब झेल हुनुपर्ने सम्भावना कमै छ । राजेन्द्रको डोपिङ प्रकरणले दिएको शिक्षा पनि यही हो, राणाले पनि यही सिके । गत साता अवकाश लिएका राणा आफ्नो अवकाशमा पनि सत्यको जित, कर्मको सिद्धान्त लागू भएको मान्छन् ।
Twitter : @dearbinod

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?