समाज : खुल्दै छन् लुकेका कथा

विगतमा भोगेको यौन दुर्व्यवहारका कारण ॅजेनोफोबिया’ भनिने मानसिक समस्या भएका युवतीहरूको कथा । यस्तो समस्या जसका कारण शारीरिक रूपमा स्वस्थ हुँदाहुँदै पनि यौन जीवन तनावमय हुन पुगेको छ ।
सम्झना वाग्ले भट्टराई

शारिका (नाम परिवर्तन) ३१, को विवाह भएको ६ वर्ष भयो, एक छोरा छ, चार वर्षको  । श्रीमान्‌को आफ्नै व्यवसाय छ  । उनी काठमाडौंकै एक निजी क्याम्पसमा पढाउँछिन् । मागी बिहे गरेकी उनको श्रीमान्सँगको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । सम्बन्ध सुमधुर हुन नसक्नुमा उनी आफ्नै कमजोरी देख्छिन् । उनमा ‘जेनोफोबिया’ को समस्या छ रे ।

यो भनेको यौन सम्बन्धसँग डर लाग्ने एक मनोवैज्ञानिक समस्या हो । डाक्टरहरू उनको समस्यालाई ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ पनि भन्दा रहेछन् । विगत दुई वर्षदेखि निरन्तर मनोचिकित्सकको परामर्शमा रहेकी उनले यो कुरा आफ्नै श्रीमान्सँग भने अझै भन्न सकेकी छैनन् । यसको पारिवारिक मूल्य चर्को पर्न सक्छ भन्ने उनलाई डर छ ।


उनको ६ वर्षे वैवाहिक जीवनका कुनै पनि यौन सम्बन्धहरू सुखदायी हुन सकेनन् । जब यौनसम्बन्धको समय हुन्छ, शरीर कक्रक्क पर्न थाल्छ, ऐंठन होलाजस्तो हुन्छ । डरलाग्दा दृश्यहरू मनमा आउँछन् । बेहोस हुँलाहुँलाजस्तो हुन्छ । यौनसम्बन्धको अवधिभरि चुपचाप सहन्छिन् । उनमा यौन सम्बन्धसँगको रुचि रत्तिभर छैन तर केही भन्न सक्दिनन् । यौनसम्बन्धपछि श्रीमान्को अनुहार हेर्दा पनि घृणा लाग्छ, रिस उठ्छ । ऊबाट टाढा भागौं–भागौं लाग्छ, कहिले उसैलाई चिथोर्न मन लाग्छ । निद्रा कम लाग्छ र निद्रामा पनि डरलाग्दा सपनाहरू देख्छिन् । कतिपय बेला आफैंले जन्माएको बच्चा देख्दा पनि नमीठो महसुस हुन्छ । दिक्क लाग्छ । आफैंसँग घृणा लाग्छ, आत्महत्या गरौं–गरौं हुन्छ । चिकित्सकका अनुसार यी सबको कारण ‘जेनोफोबिया’ भनिने मानसिक समस्या रहेछ । र, यस्तो समस्याको मुख्य कारण विगतमा उनले भोग्नुपरेको यौन दुर्व्यवहार हुन सक्ने चिकित्सक बताउँछन् । यसकै कारण शारीरिक रूपमा स्वस्थ युवती हुँदाहुँदै पनि उनको यौन जीवन तनावमय हुन पुगेको छ । तनावमय यौन जीवनले उनको सारा जीवन नै तहसनहस हुन सक्छ भन्नेमा उनी त्रसित छिन् ।

शारिकाको बाँकी कथा
घर काठमाडौं, परिवारमा आमा, बुवा र दुई जना छोराछोरी । बुवा नेपाल प्रहरीमा जागिरे । बुवाको दुर्गममा सरुवा भयो । त्यतिखेर उनी त्यस्तै एघार/बाह्र वर्षकी थिइन्, दाई चौध/पन्ध्रको । प्रहरीको जागिर, बुबाको पोस्टिङ कहिले कता कहिले कता । बसाइको कुनै ठेगाना नहुने । प्रायशः आमा पनि बुवासँगै बस्ने हुँदा दाइलाई होस्टलमा राखेर पढाउनुभयो । मामाघर नजिकै थियो, त्यसैले उनी मामाघरमा नै बसेर पढिन्, काठमाडौंको नाम चलेको एक निजी विद्यालयमा । मामाघरको हजुरबुवाले विशेष माया देखाउँथे । पढे–लेखेका, मोर्डन सोच भएका लाग्थे । होमवर्क गर्न सहयोग गर्नेदेखि, चक्लेटहरू किनिदिने र घुमाउन पनि लाने गर्थे । उनलाई हजुरबुवा मन पर्थ्यो । बिस्तारै उनी तिनै साठी वर्ष हाराहारीका हजुरबुवाबाट यौन दुर्व्यवहारमा परिन् । त्यसो त सुरुमा यो दुर्व्यवहार हो भन्ने पनि थाहा पाइनन् । तर उनको व्यवहार हजुरबुवाले गर्नेजस्तो थिएन र उनलाई मन पर्थेन पनि । आमाबुवालाई भनौंजस्तो लाग्थ्यो तर उनीहरू टाढा थिए । हप्ता/दस दिनमा एक पटक जति फोनमा कुरा हुन्थ्यो ।

अहिलेजस्तो मान्छेको हातहातमा मोबाइल थिएन । आमा–बुवासँग कुरा गर्न कि त घरको ल्यान्डलाइन फोन, कि त तिनै हजुरबुवाको मोबाइल फोनमा भर पर्नुपर्थ्यो । यस्तो कुरा आमाबुवासँग भन्न हुन्छ कि हुँदैनजस्तो लाग्थ्यो । कुनै बेला भनौं नै जस्तो लागे पनि, त्यतिखेर कोही न कोही नजिकै हुन्थ्यो, भन्नै नसकिने । बिस्तारै हजुरबुबाको हर्कतले सारा सीमा पार गर्न थाले । विरोध जनाउँदा कहिले लोभ त कहिले त्रास देखाउनुहुन्थ्यो । कहिले लुगा चक्लेटहरू किनेर फकाउने तथा कहिलेचाहिँ कसैलाई भनिस् भने मारेर गायब पारिदिन्छु भन्नुहुन्थ्यो । मारेर फाले पनि पुलिसको छोरीलाई माओवादीले मारेर फाले भन्छन्, मलाई कसैले शंका पनि गर्दैनन् भन्दै डर देखाउनुहुन्थ्यो । हुँदाहुँदा पछि त आमाबुवालाई फोन गर्न पनि नदिने । काल जमाना ठीक छैन, द्वन्द्वको समय छ, आमा बुवासँग फोनमा कुरा गर्दा सबै राम्रो छ, ठीक छ भनेर कुरा टुंग्याइहाल्न भन्नुहुन्थ्यो । उनका किशोरावस्थाका दिनहरू यस्ता थिए ।


त्यस्तैमा कुनै दिन, उनै हजुरबुवा र अरू दुई जना दिदीसँग सिनेमा हेर्न हलमा गएकी थिइन् । हजुरबुवाले सँगै बसाउन खोजेका थिए तर कसरी कसरी दिदीहरूलाई बीचमा राखेर उनी अर्को छेउमा बस्न सकिन् । यति हुँदा पनि लडाइँ नै जितेजस्तो लागेको थियो त्यतिखेर उनलाई ।
फिल्म हेरिरहँदा, उनको शरीरमा छेवैको सिटमा बसेको केटाको हात सल्बलायो । विरोध जनाउन पनि सकिनन् । केटाले बिस्तारै उसको हात छातीसम्म नै पुर्‍यायो । नराम्रो त लागेको थियो, तर किन किन यो सबै हजुरबुवाले देखे हुन्थ्योजस्तो लाग्यो । यो भएर होइन कि, हजुरबाले देखेर उसले छोड्छ, बरु यो सब देखेर, त्यो पातकी बूढोको मनमा ईर्ष्या वा पीडा केही त हुन्थ्योजस्तो लाग्थ्यो रे । उनको मानसिक अवस्था त्यस्तोसम्म भएको थियो ।


यो क्रम उनको एसएलसी नसकिएसम्म झन्डै चार वर्ष चल्यो । क्याम्पस पढ्न सुरु भएपछि उनी यो समस्याबाट टाढा भइन् । बाबाको पनि काठमाडौंमा नै सरुवा भयो र उनी आमा–बुवासँग आफ्नै घरमा बस्न थालेकी थिइन् । दाइ भने अध्ययनका लागि अमेरिका गैसकेको थियो ।


हजुरबुवाबाट टाढा भए पनि उनलाई समस्याले छोडेको रहेनछ । क्याम्पसमा साथीहरू प्रेमका कुरा गर्थे, रोमान्सका कुरा गर्थे । तर उनलाई यी सब कुरा सुन्दा दिक्क लाग्थ्यो । कुनै पनि केटा मान्छेको नजिक नै पर्न नपरे हुन्थ्योजस्तो लाग्थ्यो । यौनसम्बन्धको कुरा सम्झँदा त, त्यसै दिगमिग लागेर बान्ता होलाजस्तो हुन्थ्यो, अझै हुन्छ ।


जीवनमा कहिल्यै बिहे गर्दिन भन्ने लागेको थियो, तर आमा–बुवाको आग्रह टार्न सकिनन् । त्यही घिनलाग्दो अतीतकै कारण त होला बिहे भैसकेको ६ वर्ष भैसक्दा पनि उनका हरेक यौनसम्बन्ध पीडादायी हुन्छन् । । त्यसो त यौनसँग रुचि बढ्ला भनेर रोमान्टिक किताबहरू पढ्ने, फिल्महरू हेर्ने र कतिपय एडल्ट फिल्महरू पनि हेर्ने गरिन् । तर यी कुनैले पनि केही फरक पारेन । उनले यो विगतबारे अहिलेसम्म श्रीमान्सँग पनि भन्न सकेकी छैनन् । आमासँग एक पटक भनेकी थिइन्, त्यो पनि बिहेपछि मात्र । अब यसको बारे कहिल्यै कुरा नगर, जे भयो भयो, अब कोट्याएर केही हुँदैन भन्नुभयो रे आमाले । अहिले त हजुरबुवा धेरै बूढा भैसकेका छन् तर पनि उनलाई देख्नेबित्तिकै अथाह घृणा लागेर आउँछ रे । अहिले डाक्टरसँगको नियमित परामर्शमा छिन् । डाक्टरले बिस्तारै निको हुन्छ त भन्छन् तर उनलाई हरेक रात आत्महत्या गरौँ–गरौं लाग्छ । कहिले होला र खै निको पनि ? उनी लामो सुस्केरा काढ्छिन् ।

परिवारकै कथा
अपराजिता शर्मा (नाम परिवर्तन) अहिले मेडिकल डाक्टर हुन् । उनको कथा उनकै शब्दमा ।
त्यतिखेर आठ कक्षामा पढ्थेँ, उमेर त्यस्तै चौध वर्षजति थियो । त्यो उमेरमा नै झन्डै २७ वर्षको मेरो आफ्नै फुपूको छोरासँग यौनसम्बन्ध भयो । त्यतिखेर ममा यौनबारे उत्सुकता त थियो, तर यौनसम्बन्ध राख्नेबारे कत्ति पनि सोचेकी थिइनँ । कस्तो संयोग थियो भने, दुई दिनपछि उही दाइको बिहे थियो । बिहेको किनमेलमा म पनि गएकी थिएँ । घरमा फर्किएर के–के कुरा गरेर बसिरहेका थियौं, उसले बिहेअघि ‘केही कुरा त थाहा पाउनुपर्छ नि’ भन्यो । मैले खासै बुझ्न पनि सकिनँ, नबुझेकी पनि होइन । हुन्छ पनि भनेकी थिइन, नाइँ पनि भन्न सकिनँ । असमञ्जसमा हामीबीच त्यो सम्बन्ध भयो र त्यतिखेर त्यत्तिकै भयो । बिहे भएको त्यस्तै पन्ध्र दिनपछि ऊ घरमा आयो र उसले फेरि त्यस्तै प्रस्ताव राख्यो । मैले नाइँ भनें । एक त यो राम्रो पनि होइन, अर्को कुरा, अब त तपाईं विवाहित हुनुहुन्छ, भाउजूसँग नै भन्नुस् भनेर मैले स्पष्ट उत्तर दिएँ । उसले साह्रै जिद्दी गर्‍यो । ‘तँ कस्ती केटी होस् भनेर बा, आमालाई भन्दिन्छु’ भन्यो ।


म सानैदेखि पढ्नमा राम्रो थिएँ । सबैले ज्ञानी पनि भन्थे । आमा, बाले पनि खुब माया गर्नुहुन्थ्यो र विश्वास पनि । अब त्यस्तो कुरा उहाँहरूलाई नै भन्दिन्छु भनेपछि, मैले केही बोल्नै सकिनँ । त्यसपछि पनि यसैलाई हतियार बनाएर ऊ पटकपटक मेरोमा आइरह्यो, मैले चुपचाप सहिरहेँ ।


आमा, बुवाले सधैं मलाई डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो । मलाई पनि त्यही लाग्थ्यो । ऊसँगको त्यस्तो सम्बन्धपछि आफूलाई अलि डिस्टर्व महसुस हुन्थ्यो । मनमा जतिसुकै उकुसमुकुस भए पनि पढाइमा भने खुबै ध्यान दिएँ । एसएलसी राम्रै भयो, ‘प्लस टु’ मा साइन्स पढेँ । नाताको मान्छे ऊ घरमा आइरहन्थ्यो, नआऊ भन्न पनि नमिल्ने । घरको अरू कसैलाई यो कुरा रत्तिभर थाहा थिएन । त्यसो त घरमा आमा, बुवा र म मात्र हो । तर पनि आई.ओ.एम. (इन्स्टिच्युट अभ मेडिसिन) प्रवेश परीक्षाको तयारीका लागि होस्टल बसेर पढ्ने निर्णय गरेँ । आमा, बुवाले अनौठो मान्नुभयो । ‘हामी दुवै दिनभर पसलमा हुन्छौं । घरमा कोही हुँदैन, के डिस्टर्व हुन्छ र तँलाई (?)’ भन्नुभयो । म केले विचलित थिएँ भन्ने कुरा भन्न सकिनँ । तर पनि घरमा बसेपछि पढाइमा ध्यान केन्द्रित नै हुँदैन भनेर होस्टलमा बस्न आमा बुवालाई मनाएँ । खासमा मलाई ऊबाट मुक्ति पाउनु थियो ।


नभन्दै पहिलो वर्ष नै आई.ओ.एम. मा नाम निस्क्यो । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा पढ्न थालेँ । अब ऊसँगको भेट पातलो हुन थाल्यो । मैले एमबीबीएस सकेर दुई वर्ष काम पनि गरेँ । यो बीचमा कहिलेकाहीँ हुने भेटहरूमा पनि इज्जतको हतियार देखाएर उसले मलाई लुटिरह्यो । बेइज्जत हुने डरले मैले चुपचाप सहिरहेँ । यी सब झेलेर अब मलाई नेपाल बस्नु थिएन । ‘फर्दर स्टडी’ का लागि अमेरिका जाने तयारी गरेकी थिएँ । स्वास्थ्य केन्द्रमा कामसँगै यूएसएमएलई (युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन) को तयारी पनि गरिरहेकी थिएँ । यूएसएमएलईको पहिलो र दोस्रो परीक्षामा ‘स्कोर’ राम्रो आयो । तेस्रो परीक्षाका लागि अमेरिका जानुपर्थ्यो, एप्लाई गरेँ र भिसा पनि आयो । अब भने ऊसँग मुक्ति पाउने भएँ भनेर म ढुक्क भएँ । पाठकहरू, तपाईंलाई लाग्यो होला अब यो कथाको अन्त्य हुनेछ । मलाई पनि त्यस्तै लागेको थियो । तर अपराजिताले लामो सुस्केरा हालेर भनिन्, ‘सायद कोही मान्छे पीडा भोग्नकै लागि जन्मेका हुन्छन् भने कोही पीडा दिनकै लागि ।’


उनी भन्दै गइन्— जब मेरो यूएस जाने निश्चित भयो, ऊ सोच्नसम्म नसकिने प्रस्ताव लिएर आयो । पढाइमा एसएलसी मात्र पास गरेको, प्लम्बिङको काम गर्ने मेरो आफ्नै फुपूको छोरा ऊ, अमेरिका गएर बिहे गरेर बसौं पो भन्छ । त्यसो त कुनै समुदायमा मामा र फुपूका छोराछोरीबीच बिहे हुने पनि सुनेकी थिएँ । तर हाम्रो सन्दर्भमा यो असम्भव थियो । एक त हाम्रोमा यस्तो सोच्नुलाई पनि पाप मानिन्छ भने, अर्को कुरा ऊ र मबीच जे भएको थियो, त्यो म समाज र परिवारको डरले सहिरहेको थिएँ । कुनै दिन यसको अन्त्य हुन्छ नै भन्ने विश्वासले पनि मलाई भविष्यप्रति भरोसा दिलाएको थियो । ‘यस्तो असम्भव कुरा नगर्नोस् भनेको’ थाहा छ ऊ के भन्छ ? ‘तिमीले नमान्ने हो भने आत्महत्या गर्छु’ भनेर मलाई तर्साउन खोज्छ । ‘जा अहिल्यै गएर मर’ भन्न मन लागेको थियो तर आफूलाई सम्हालेँ ।


त्यसो त मलाई पनि अब उता गएपछि सम्बन्ध छुटिहाल्छ, विगतलाई नमीठो सपना सम्झेर बिर्सन कोसिस गर्छु र नयाँ जीवनको सुरुआत गर्छु लागेको थियो । तर उसको ढिटपना देखेपछि साह्रै दिक्क लाग्यो । सहनुको पनि सीमा हुने रहेछ । म यूएस जाने अघिल्लो दिन ऊलगायतका धेरै नातेदारलाई घरमा खान बोलाएको छ । सबै जना भएको बेला, ऊ कस्तो मान्छे हो र मैले केसम्म भोग्नुपर्‍यो भन्ने सबै सुनाउँछु । त्यसपछि मात्र हलुंगो होला । उनले कथा टुंग्याइन् । र अन्त्यमा, मी–टुको लहरसँगै हाम्रा समाजमा लुकेका धेरै विकृत कथा सतहमा आउन थालेका छन् । यसै क्रममा शारिका र अपराजिता दुवैले उनीहरूको कथा लेखिदिन आग्रह गरे । शारिकाको कुरा सुन्दै गर्दा म साह्रै विक्षिप्त भएँ भने दोस्रो कथा सुन्दै गर्दा, उनको आँट र साहस देखेर यस लेखको प्रयोजनका लागि उनको नाम अपारजिता राख्ने निर्णय लिएँ । यी दुवै त्रासद कथाहरू प्रकाशनका लागि उनीहरूकै अनुमति लिएर लेखेकी हुँ ।

wagle.samjhana@gmail.com

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

कहाँ खेल्नु ? कहाँ कुद्नु ?

सम्झना वाग्ले भट्टराई

मुस्किलैले चार आनामा बनेको घरमा बस्छु म । यस क्षेत्रका सबैजसो घर यस्तै छन् । साँघुरो सडक, तर असीमित गतिमा कुद्ने मोटरसाइकल र गाडीहरू । सवारी साधनको गति तथा ध्वनि नियन्त्रणका कुनै मापदण्ड छैन । बस्तीभित्रको सडक भएकाले ट्राफिक प्रहरी हुँदैनन् । पैदल यात्रुका लागि पेटीधरि छैन ।

मेरो नौ वर्षको छोरो खेल्न खोज्छ, दौडन चाहन्छ, नत्र ‘साइकल चलाउँछु’ भन्छ । आसपास खुला ठाउँ छैन । सडक न दौडनका लागि उपयुक्त छ, न साइकल चलाउन । टोलमै दुर्घटना भएका खबरहरू सुनिरहिएको हुन्छ । छोरालाई हात समाएर हिँडाउँदा त डर लाग्छ भने एक्लै खेल्न छोड्नु कसरी ?

बालाजु चोकबाट झन्डै तीन किमिपश्चिम तारकेश्वर नगरपालिकाको एउटा बस्तीको वास्तविकता हो यो । पछिल्लो समय काठमाडौं उपत्यकामा नयाँ बनेका बस्तीहरूको साझा कथा हो यो ।

हाम्रो सन्दर्भमा विकास के हो ? बढ्दो सहरीकरण वा बस्ती विस्तार ! अधिकांश क्षेत्रमा सरकारी योजना अनुसार होइन, जग्गा व्यवसायीले नाफा अनुकूल हुने गरी खेतीयोग्य समथर क्षेत्रमा घरघडेरी विस्तार गरेका छन् । सर्वसाधारणले वैदेशिक रोजगारी लगायतका स्रोतबाट जम्मा भएको आयको ठूलो हिस्सा त्यस्ता घडेरीमा लगानी गरी घर बनाएका छन् । धेरैले परम्परागत आर्थिक क्रियाकलाप छोडेका छन् र अव्यवस्थित सहरको सदस्य बनेका छन् ।

नेपाली समाजले कुनै पनि व्यक्तिको सफलताको मापदण्ड काठमाडौं वा यस्तै सहरी क्षेत्रमा जोडेको घरघडेरीलाई बनाउने गरेको छ । अनि अधिकांश नेपालीको जीवनभरको सपना सहरी क्षेत्रमा घरघडेरी बनेको छ । यसैले जग्गाको माग उच्च छ र मूल्य अकासिएको छ । जग्गाको मूल्यवृद्धि र यसको उत्पादन वृद्धि वा आर्थिक मुनाफा वृद्धिमा खासै योगदान भने छैन । यस प्रवृत्तिले बालबालिका खुला ठाउँमा खेल्ने अधिकारबाट वञ्चित भएका छन् र साँघुरो घरभित्र खुम्चिन बाध्य छन् ।

युनिसेफ (२०१८) को एउटा प्रतिवेदन भन्छ— विश्वका करिब ९० प्रतिशत बालबालिका र किशोरकिशोरी अफ्रिका र एसियामा छन्, जहाँ तीव्र सहरीकरण छ । पछिल्लो सरकारी तथ्यांक भन्छ— नेपालमा झन्डै ६० प्रतिशत घरपरिवार सहरमा बस्छन् । नेपालमा सहरमा बस्ने बालबालिका १ करोडभन्दा बढी भएको तथ्यांक छ । तर सहरीकरण बालमैत्री हुन नसकेका कारण उनीहरूको शारीरिक–मानसिक विकास सही ढंगले हुन सकेको छैन, भविष्य जोखिमपूर्ण बन्दै गएको छ ।

त्यसो त संविधानमा बालअधिकारलाई मौलिक हकका रूपमा अंगीकार गर्दै बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिक रूपमा ध्यान दिने राज्यको नीति हुने उल्लेख छ । नेपालमा बालबालिकाका शारीरिक, मानसिक तथा बौद्धिक विकास गरी बालअधिकारको प्रवर्धन गर्न सरकारका मन्त्रालय, विभाग तथा कार्यालयहरू क्रियाशील छन् ।

त्यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वडा समितिको काम, कर्तव्य र अधिकारमा बालबालिकालाई लक्षित गरी बालउद्यान तथा खेलकुद पूर्वाधारको निर्माण गर्ने जस्ता विषयउल्लेख छन् ।

सरकारले संयुक्त राष्ट्रसंघीय बालअधिकार सम्बन्धी महासन्धि, १९८९ सहित अन्य अन्तर्राष्ट्रिय सन्धि तथा दिगो विकास लक्ष्यप्राप्तिमा प्रतिबद्धता जनाएको छ । यस अन्तर्गत बालबालिकाको गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, हरित सार्वजनिक स्थलमा पहुँच, बालश्रमको अन्त्य जस्ता विषयलाई सम्बोधन गर्नुपर्ने हुन्छ ।

तर, अझै धेरै बालबालिकाका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सहज पहुँच, बालसहभागिता, बालमैत्री वातावरणको अभावजस्ता समस्या विद्यमान छन् । स्थानीय विकास र आर्थिक समृद्धिसँग जोडिएका बहस तथा विकास प्रक्रियामा बालमैत्री विकासको अवधारणा पर्न सकेको छैन । सडकहरू असुरक्षित छन् । न पिउने पानीको राम्रो व्यवस्था छ, न बर्खाको पानीको उचित निकासको व्यवस्था ।

सार्वजनिक खेल मैदान तथा पार्क त बनेकै छैनन् र भएका पनि अतिक्रमणमा परेका छन् । यसको ठूलो असर सहरी बालबालिका तथा किशोरकिशोरीलाई परेको छ । स्थानीय सरकारका विकास योजनामा बालबालिकाको न्यूनतम आवश्यकताको विषयलाई गम्भीरतापूर्वक लिइएको छैन । ‘स्मार्ट सहर’ बारे छलफल भएका छन्, ‘फ्री वाइफाइ’ प्राथमिकतामा परेका छन्, तर बालबालिका बहिष्करणमा परेका छन् ।

खेल मैदान र खुला सार्वजनिक स्थलको अभावमा धेरैजसो केटाकेटी मोबाइल, कम्प्युटर तथा टीभीमा अत्यधिक समय बिताउन बाध्य छन् । अभिभावकले उनीहरूलाई यसको विकल्प पनि दिन सकेका छैनन् र यो उनीहरूको लत बनिसकेको छ । यो वातावरणमा हुर्किएका बालबालिकाको शारीरिक–मानसिक विकास कस्तो होला ? उनीहरूमा रचनात्मकताको विकास कसरी हुन सक्ला ? समाजमा कसरी घुलमिल हुन सक्लान् ? बालबालिकामा ‘डिप्रेसन’ को समस्या देखिएको छ ।

शिक्षा, स्वास्थ्य यातायात लगायतका पूर्वाधारका आधारमा ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा सुविधा बढी छ । तर विषादीयुक्त खाद्यान्न, प्रदूषित वातावरण आदिका कारण सहरी जीवन कहर बनेको छ ।

विकास सुरक्षित, सहज वर्तमान र समुन्नत भविष्यको आधार हुनुपर्ने हो । हाम्रा भविष्य बालबालिका भएकाले समग्र विकास प्रक्रिया बालकेन्द्रित हुनुपर्छ । विकास प्रक्रियामा बालसहभागिता गराइनुपर्छ । उनीहरूको हितलाई उच्च प्राथमिकतामा राखिनुपर्छ । अब टोलटोलमा उद्यान, खेल मैदान बनाइनुपर्छ ।

सडक हरितीकरणमा ध्यान दिनुपर्छ, सडकपेटीको अनिवार्य व्यवस्था हुनुपर्छ । सहरीकरण र नयाँ बस्ती विस्तारमा बालमैत्री पूर्वाधारको अवधारणा बनाई गम्भीरतापूर्वक लागू गरिनुपर्छ, ताकि हाम्रा छोराछोरीले चाहेका बेला सडकमा साइकल चलाउन सकून् ।

wagle.samjhana@gmail.com

प्रकाशित : असार १०, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्