३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ब्लुज : गुरु फोक्टो

विश्लेषक न्यौपानेका अनुसार सयौं वर्षसम्म गोप्य राखिएको गुरु फोक्टो भर्खरै सार्वजनिक गरिएको छ । लेखक खडानन्द चौलागाई गुरु चन्दननाथले बीउ रोपेपछि लछाल राजालाई दैविक शक्ति प्राप्त भएको विश्वास रहेको सुनाउँछन् ।
रोशन शेरचन

डा. गोविन्द केसीको शृंखलाबद्व आन्दोलनले चिकित्सा क्षेत्रको विकार हटाउन खेलेको योगदान आम नेपालीको सामूहिक स्मृतिमा सुरक्षित छ  । त्यही आन्दोलनको सेरोफेरोमा व्यापारी दुर्गा प्रसाईसँग मार्सीको भात खाइरहेको शीर्ष नेता ओली र प्रचण्डको तस्बिर भाइरल भयो  ।

ब्लुज : गुरु फोक्टो

उक्त तस्बिरले राजनैतिक वृत्तमा प्रशस्त तरंग उत्पन्न गर्‍यो । जुम्ली मार्सीको त्यति प्रभावकारी ब्रान्डिङ हुन्छ भनेर सायद कमैले सोचेको थियो । कर्णालीमा सयौं वर्षदेखि रोपिँदै आएको त्यो रैथाने धानले त्यतिविधि चर्चा पाउनु राम्रो पक्ष थियो । जुम्ली मार्सी केही सम्भ्रान्त परिवारको भान्साबाट उछिट्टिँदै देशको सबैभन्दा चर्चित राजनीतिक विम्व बन्यो ।


मार्सी अत्यधिक चिसो सहन सक्ने धान हो । यही विशेषताले मार्सी छुमज्युलोसम्मको उचाइमा (३,०५० मिटर) फल्छ । यो धान फल्ने संसारकै अग्लो स्थान हो । छुमज्युलो पातारासी गँउँपालिकामा पर्छ । अरू धानको तुलनामा मार्सी धेरै पोषिलो मानिन्छ । गत जेठ महिनामा जुम्ला भ्रमण गर्दा मार्सी विम्ब स्मृतिमा सोहोरिँदै आयो । डायरीमा भ्रमणको खाका कोरें— किसानको खेतमा मार्सी बाली हेर्ने, होमस्टेमा मार्सीको भात खाने र स्थानीय कृषकहरूबाट जानकारी बटुल्ने । यात्रामा जुम्ला निवासी हरिहर न्यौपाने पनि सँगै थिए । गुराँसे वनमा उनले उच्चारण गरेको गुरु फोक्टो शब्दले अनायास मेरो ध्यान खिच्यो । मन्त्रजस्तो ध्वनि । मैले सोधें, ‘के रहेछ गुरु फोक्टो भनेको ?’ जवाफ रोमाञ्चक त थियो नै, उत्तिकै विस्मयकारी पनि लाग्यो । स्थानीय भाषामा खेतको सानो पाटालाई फोक्टो भन्दा रहेछन् । गुरु फोक्टोसँग मार्सी धानको सम्बन्ध गहिरो रहेछ । जनश्रुतिअनुसार, गुरु फोक्टो त्यो स्थान हो जहाँ पहिलो फटक सिद्धगुर चन्दननाथ बाबाले बाह्रौं शताब्दीमा कश्मीरबाट मार्सीको बीउ ल्याई रोपेका थिए । गुरु फोक्टो जुम्ली नाङ्लो (सुपो) आकारको छ । त्यसमा धार्मिक परम्पराअनुसार अनुष्ठान गरी मौलो गाडिन्छ । गुरु फोक्टो तातोपानी गँउँपालिका वडा नं. २ को लाछुज्युलामा पर्छ । बाबाले मार्सीको बीउ राखेउप्रान्त त्यस भेगको जलवायुमा खासै परिवर्तन नभएको र जहिल्यै गुरु फोक्टोमा एक सुपो मात्र मार्सी फल्ने स्थानीय बताउँछन् । त्यो फोक्टोमा फलेको एक सुपो धान बीउको रूपमा चन्दननाथ गुरुले जुम्लाका चार क्षेत्रहरू क्रमशः पाँच सय क्षेत्रमा (हाल गुरुफोक्टो रहेको क्षेत्र) पाथी बीउ, सिंजा क्षेत्रमा माना बीउ, असी क्षेत्रमा (सदरमुकाम) मुठी र चौधबीस क्षेत्रमा (छुमज्युला रहेको स्थान) तोला वितरण गर्ने किंवदन्ती छ । लाम्रा ऐरेनी, हाँकु र लाछुज्युला संसारमै सबभन्दा बढी मार्सी फल्ने फाँटको निम्ति चिनिन्छ ।


विश्लेषक न्यौपानेका अनुसार सयौं वर्षसम्म गोप्य राखिएको गुरु फोक्टो भर्खरै सार्वजनिक गरिएको छ । स्थानीय निवासी एवम् लेखक खडानन्द चौलागाईका अनुसार गुरु चन्दननाथले बीउ रोपेपछि लछाल राजालाई दैविक शक्ति प्राप्त भएको रहेछ । गुरुले राजालाई भनेछन्, ‘तिम्रो राज्यमा विषम परिस्थितिवश सबै धान नष्ट भएको खण्डमा पनि मैले लगाएको फोक्टोमा धान उत्पादन रोकिँदैन । त्यही फोक्टोको उत्पादनलाई बीउ मानी पुनः खेती थाल्नु तर फोक्टो कसैलाई नचिनाउनु । संकटको बेलाबाहेक अन्य समय घटस्थापनाका दिन पुजारीघरका व्यक्तिले धानबाट चिउरा बनाई न्वागीस्वरूप मन्दिरमा चढाउनु । यसको शक्तिबारे पुजारीघरबाहेक कसैलाई थाहाँ नदिनु । यसो गरे यस भेगमा कहिल्यै अनिकाल पर्ने छैन ।’ गुरुको कृपा भएकाले त्यो खेतको पाटाको नाम गुरु फोक्टो रहन गएको स्थानीय गुरु चौलागाई बताउँछन् । नेपालभरि रैथाने धानका प्रजातिहरू क्रमशः लोप हुँदै छन् । पोखरा उपत्यका, पाल्पाको कमलपोखरी, सुर्खेतको बुलबुल क्षेत्र, कपिलवस्तु, नेपालगन्ज, चितवनको लोथार वन, झापाको कन्काई क्षेत्र, निजगढ र कञ्चनपुररको सुन्दरपुर फार्म क्षेत्र धेरै रैथाने वा जंगली जातका धान भएका क्षेत्र मानिन्छन् । सिमसार क्षेत्रमा बढी पाइने यी प्रजातिहरू सिमसार सुक्दै जाँदा वा अतिक्रमणमा पर्दा संकटमा परेका छन् । हाई ब्रिड धानहरूले पनि रैथाने जातलाई विस्थापित गर्दै छ । मार्सी धान खाद्य संस्कृति भएकाले अझसम्म जोगिएको रहेछ ।


जुम्लावासीको जनजीवनमा मार्सी कति गाँसिएको छ भने, परदेसिएको सदस्य १२ चैतसम्म घर नफर्के अनिष्ट भयो भनेर सोच्दा रहेछन् । बीउ राख्ने यो दिनसम्म घर फर्कनैपर्ने परम्परा रहेछ । यो दिन बीउलाई जुटको बोरामा भिजाई चार दिनसम्म नजिकैको खोलामा सामूहिक रूपमा तर बोरा चिनिने गरी राखिन्छ । चैत १६ मा सो स्थानबाट झिकी भुसपात (भोजपत्रको पात) मा फैलाई भुसपात र सल्लाका पात माथिबाट खापी त्यसलाई कपडाले छोपेर अँगेनाछेउ राखिन्छ । हरेक दिन बीउलाई चोखो पानी दिइन्छ । अँगेनाको तातो र भुसपातभित्र गुम्सन गई बीउ अंकुराएपछि चैत २० मा बीउब्याडमा छर्ने स्थानीय कृषक कृष्ण न्यौपाने बताउँछन् । त्यसैले चैत २० लाई विसुम पर्वको रूपमा मनाइन्छ । वैशाख १ गते भने बीउ ब्याडमा उवा पूजा गरिन्छ । पूजाले चरा र जनावरबाट बीउ नोक्सानी हुन रोक्छ भन्ने जनविश्वास छ । रोचक कुरा, हरेक गाउँले एकै समय मार्सी भित्र्याउँछ । गाउँका प्रतिनिधि बसेर मार्सी भित्र्याउने शुभसाइत हेरिन्छ र तोकिएको दिनदेखि पाँच दिनभित्र धान भित्र्याइसक्नुपर्छ । एकै दिन बीउ राख्ने र एकै समय बाली भित्र्याउने परम्परा यहाँको मौलिकता हो । चिसो हावापानीमा फल्ने मार्सी मधुमेह र प्रेसरका रोगीलाई सिफारिस नै गरिन्छ । परापूर्वकालदेखि राज खान्की र राणा खान्कीको रूपमा मार्सी प्रयोग हुने गरेको विश्लेषक हरिहर न्यौपाने बताउँछन् ।


हाई ब्रिड धान भित्रिनुअघि जुम्लामा काली मार्सी मात्र रोप्ने गरिन्थ्यो । विगतमा गुरु फोक्टाको बीउ विस्थापनको संघारमै पुगेको रहेछ तर केही बूढापाखालाई हाई ब्रिड धानले बिसन्चो गरेपछि फेरि लाछुज्युलाको धानको बीउ लगाएको स्थानीय कृषक भानुभक्त न्यौपाने बताउँछन् । हाम्रो कृषि नीतिले रैथाने बालीको संरक्षण र प्रवर्द्घन गर्नुपर्छ । जलवायु परिवर्तनले निम्त्याउने नकारात्मक असरसँग लड्न अनुकूलनको कार्यक्रम ल्याउनुपर्छ । मार्सीसँग परम्परागत ज्ञान र सीप पनि पछिल्लो पुस्तामा हस्तान्तरण भएको छ । प्रदेश र स्थानीय सरकारले कृषकहरूलाई सेवा, सुविधा र अनुदान दिनुपर्छ । यो कर्णाली प्रदेशले लिएको अर्गानिक प्रदेशको नीतिसँग पनि मेल खान्छ । डा. केसीको आन्दोलनले मार्सीको राम्रो ब्रान्डिङ गर्‍यो । त्यसले समग्र रैथाने धानको महत्त्वलाई बढाएको छ । धान भनेकै मधेस तराईको बाली हो भन्ने विचार व्याप्त रहेको बेला प्रतीकात्मक दृष्टिले मार्सीलाई बागी धान मान्न सकिएला । चिसो सहेरै पनि फल्छु भनेर एक्लै त्यो उचाइमा चढेजस्तो । शीर्ष भूभागमा फल्ने त्यो धान प्रसाईले अकारण शीर्ष नेताहरूलाई खुवाएका होइनन् । केन्द्रीकृत राजनैतिक संरचना भत्काउन नेतृत्व गर्ने विगतका प्रचण्डलाई बागी धानको खाना खुवाउनु कदाचित संयोग मात्र होइन । चन्दननाथ बाबाले मार्सीको बीउ ल्याएर गुरु फोक्टोमा जमाउँदैनथे भने प्रसाईले शीर्ष नेताहरूलाई के खुवाउँथे होला ?


तातोपानी पुग्दा झमक्क रात परिसकेको थियो । खोला किनारको एउटा होटलमा बास बस्यौं । झोला बिसाई खोलातर्फ उघ्रने झ्याल खोले । खोलाको चर्को सुसाई कोठाभित्र पस्यो । तिला खोला रहेछ । कस्तो श्रुतिमधुर नाम ! भुइँ तलाको बल्बको प्रकाश परावर्तन भई खोलाको लहरमा हल्लिइरहेको देखिन्थ्यो तर पूर्ण दृश्य अन्धकारले निलेको थियो । मनमा सोचें— पक्कै खोला निर्मल हुनुपर्छ । प्राकृत स्वरूप नगुमाइसकेको । मान्छेका लोभी कृत्यले काठमाडौं उपत्यका, सिन्धुपाल्चोक र धादिङका धेरै खोलालाई विरूप वनाइसके । न तिनका निर्बन्ध बगरहरू छन्, न गडगडाउँदै ती स्वतन्त्र बग्न पाउँछन् । न आफ्ना बाटामा आउने अजंगका ढुंगाहरूलाई धकेल्न पाउँछन्, न जलचरसँग संसर्ग गर्न पाउँछन् । जलचर नहुँदा खोलाको सौन्दर्य अपूर्ण हुन्छ । कस्तो खोलाको दृश्य मेरो नजरमा पर्ने होला बिहान ? कल्पनाले रोमाञ्चित भएँ । खाना तैयार भएको खबर आयो । मार्सी चामलको खाना र असला माछाको झोल । यात्रा र भोकले थलिएको मन तृप्त बन्यो ।


बिहान उठ्नासाथ झ्यालको पर्दा हटाइ हेरे । कल्पनाअनुसार खोला सुन्दर थियो । प्रवाहमय । समथर भेगको कारण फराकिलो बगर च्यापेर तिला सौम्य बगेको थियो । गहिरो लाग्दैनथ्यो । खोलापारि परपरसम्म धान खेत फैलिएको देखिन्थ्यो । कतै रोपाइँ सकिइसकेको । कतै बाँकी रहेको । एकाध पाटोमा बीउ जमाएकाले हरियो । धानखेत पर्तिर गाउँ र त्यसभन्दा पर्तिर देवदारको घना जंगल । त्यसमाथि बादल छुने अग्ला डाँडाहरू । निर्बिघ्न बगिरहेको तिला भाग्यमानी खोला लाग्यो । कम्तीमा पनि यसले अझैसम्म स्वतन्त्रतापूर्वक बग्न पाएको छ । पारि किनारमा एक जोर जंगली हाँस खेलिरहेको थियो । सुस्त लहरमा उचालिँदै जोडीको मुखको चुच्चो र पुच्चरको चुच्चो तलमाथि तलमाथि लयबद्व हल्लिरहेको दृश्य मनोरम देखिन्थ्यो । कर्णाली साँच्चै भर्जिन लाग्यो । तर कहिलेसम्म तिलाले आफूखुसी बग्न पाउला ? मान्छेको कुत्सित स्वार्थको आहालमा अरू जिल्लाका अधिंकाश खोलाहरू डुबिसके । मान्छेले गिजल्नु गिजोलेर बगिरहेका खोला नै सुकाइदियो । तिलाको नियति कालान्तरमा त्यस्तै नहोला भन्ने के ग्यारेन्टी छ ? दुःखको भाव अन्तरमा पनन्दै गयो ।


होटल साहुजीको खोला पारि खेतमा केही फोक्टाहरू रहेछन् । रोपाइँ हेर्ने अवसर पायौं । साहु राजु केसीजीले हामीलाई निम्ता दिए, ‘आज पाँच बजेतिर मेरो खेतमा रोपाइँ छ, फुर्सद निकालेर हेर्न आउनुस्, म खेतमै हुन्छु ।’ ती सबै फाँटमा काली मार्सी नै रोप्दा रहेछन् । गुरु फोक्टोमा जमाएको बीउ राम्ररी हुर्किएपछि कृषकका खेतखेतमा त्यो विस्तार भएको थियो । मार्सी–विम्ब मभित्र अंकुराउँदै गयो । आर्टिटेक्ट दीपिन पन्त र मैलेचाहिँ रोपाइँमा जाने मन बनायौं । राजुजीलाई खबर गर्ने बताउँदै मोबाइलको नम्बर टिप्यौं । आखिर मानिस नौलो कुराको पछि कुद्ने प्राणी त हो ।


एक बजे तिलामाथि हालिएको झोलुंगेपुल हुँदै पारि गाउँ पुग्यौं । हावाबाट चल्ने टर्वाइनले त्यो गाउँका प्रत्येक घरमा बिजुली पुर्‍याइएको रहेछ । पारिवाट तातोपानी गाउँ अत्यन्त आकर्षक देखिन्थ्यो । मध्यम भिरालोमा बनेका माटाका घरहरू, तल्तिर रातो र माथि सेतो रङ लगाइएकाले । अद्भुत सुन्दर । घरको समथतल छतमा एकैनासले जौंको छ्वाली राखिएको । कहिलेसम्म स्थानीय बासिन्दाले पुर्खाले बनाएको सदियौंदेखि त्यहाँको जलवायुलाई सहने क्षमता भएको परम्परागत घरको विशिष्ट ढाँचा जोगाइराख्लान् ? केही पैसा जम्मा भयो कि कर्कटपाता वा कंक्रिट भवन बनाउने लालसाबाट के त्यहाँका बासिन्दा मुक्त होलान् ? प्रश्नहरू उभियो । देवदारको घना वन घुमेर गाउँ हुँदै खेततिर झर्‍यौं । कृषकहरू हलो जोतिरहेका थिए । कुलोबाट पानी लगाउँदै थिए । पाँच छ जना खेतकै एउटा पाटोमा बसेर दमाहा बाजा बजाइराखेका थिए । महिला, पुरुषहरू परबाट फोक्टोतर्फ आउँदै गरेका देखिन्थे । शीतल हावा चलेको साँझ । खुला परिवेश । वातावरणमा बेग्लै महक थियो । स्वच्छन्द भावको । उत्तिकै मन्द चलेको थियो बतास । तिला किनारको त्यो परिदृश्य कमनीय थियो । वातावरणमा बाजाको धुन परपरसम्म फैलिएको थियो । प्रौढ पुरुषहरू र युवाहरू खेतको आलीमा टुक्रुक्क बसेर हाँसठट्टा गरिरहका थिए । बूढाहरू सुल्पा खाँदै थिए । दीपिन र म रोपाइँ हेर्न व्यग्र भएर एउटा आलीमा टुक्रुक्क बसेका थियौं । दीपिन स्थानीयहरूसँग गफिन थाले । उनको उन्मुक्त चर्को हाँसो बेलाबेला तिलाको फाँटमा मज्जैले गुन्जन्थ्यो ।


साँझ ढल्दै थियो । पुरुष, महिलाहरू आलीबाट हिलाम्य खेतमा ओर्लिए । त्यसपछि हातमा मार्सीको बेर्ना समाएर बाजाको ध्वनिमा भाका हाल्दै नाच्न थाले । त्यसरी नाच्दा उनीहरू वर्तुलमा लय मिलाई घुम्थे । स्थानीय रोपार गीतको आशय बुझ्ने कुरै भएन । तर सधैं एकैनासको गीत सुनिरहेको मलाई त्यसको नौलोपनाले मनग्य तान्यो । गीत गाउँदा कृषकहरूको अनुहार र चालमा देखिने तन्मयभावले सबैभन्दा आकर्षित गर्‍यो । न त्यसमा सहरिया गीतमा जस्तो आत्मप्रदर्शन देखिन्थ्यो, न दोहोरीेगीतमा जस्तो देहिक गन्ध । बाबा चन्दननाथले मार्सीको बीउ जमाएउप्रान्त हरेक वर्ष कतिऔं पुस्ताले अहिलेको समयसम्म यसरी वर्तुलमा नाच्दै अनुष्ठान सम्पन्न गरेका होलान् ? कल्पना गर्दै पनि रोमाञ्चित भए । लाग्थ्यो, त्यो अनुष्ठान शताब्दीयौंदेखि तिला किनारको फोक्टोमा काली मार्सीलाई आफ्ना धन्सारमा बोलाउन गरिएको आदिम आह्वान थियो । सामूहिक आह्वान थियो ।

नाच सकिएपछि हिलो खेल्ने काम सुरु भयो । एकले अर्कालाई हिलोमा लखेटेछन्, हिलो दलिदिएका छन्, हिलोमै चोपलिदिएका छन् । हेर्नेहरू गलल्ल हाँसेका छन् । प्राकृत हाँसो । सिरसिर बतास चलिरहेको ल्यान्डस्केप छ । हिलोसँगको त्यो भावनात्मक शृंखला अबेरसम्म चल्ने देखिएकाले हामी होटल फर्क्यौं । केही समय बसेको भए अझ समीपबाट रोपाइँ अनुभूत गर्न पाइन्थ्यो तर समय घर्किंदै गएकाले बिदा माग्यौं । झोलुङे पुलबाट पनि दमाहाको ध्वनि प्रस्ट सुनिन्थ्यो । तिलाको सुसाइमा दमाहा बाजाबाट आएको ध्वनि मिस्सिँदै तिला उपत्यकालाई रहस्यमयी ढंगले ढाकेको थियो । कर्णाली राजमार्ग छेउबाटै जाने भए पनि पातलो ट्राफिकको कारण वातावरण पर्याप्त शुद्ध र स्वच्छ थियो । काठमाडौं उपत्यकामा बस्दै आएका हामीलाई तिला उपत्यका भूस्वर्ग नै थियो ।


सुर्खेत झरेपछि तिला खोलाको तस्बिर फेसबुकमा अपलोड गरे । र, स्ट्याटस लेखे–तिला खोला, जुम्ला । केही बेरमै सुदूरपश्चिमेली मित्र लक्ष्मी भट्टको कमेन्ट आयो— तिला खोला होइन, तिला सभ्यता । सहमति जनाउँदै जवाफ लेखे— तिला सभ्यता । गुरु फोक्टो, काली मार्सी, गुरु चन्दननाथ, रोपाइँ पर्व आदिले तिला खोला मात्र कहाँ हो र ?

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?