किताब : कथाजस्तै जीवन !

नारायणी देवकोटा

गत असार एक गते एक जना लेखकले फोन गरेर भन्नुभयो, ‘हेटौंडामा बसेर कविता लेखिरहनुभएकी अप्सरा तिम्सिनाले कथासंग्रह निकाल्नुभएको छ, हेटौंँडा बसे पनि नेपाली साहित्यमा बल्लियो प्रभाव पार्ने गरी लेखनमा लाग्नुभएको छ  । उहाँको किताबमा तपाईँले समीक्षा गरिदिनु न  ।

मलाई किताबको नाम र लेखकको नाम भन्नु न’ भन्दा ‘केही बेरमा उहाँले नै फोन गर्नुहुन्छ, किताब पनि दिनुहुन्छ’ भन्नुभयो ।


त्यसपछि अप्सरा तिम्सिनाले मलाई फोन गर्नुभयो र बानेश्वरमा किताब लिएर आउनुभयो । उहाँलाई पर्खिंदासम्म म चिया खाइरहेकी थिएँ, उहाँ निकै हतारमा हुनुहुन्थ्यो । चिया खाऊँ भन्दा, समय छैन, अर्को पल्ट आउँदा भेटौँला भन्दै किताब दिएर जानुभयो । पाँच मिनेटको समयमा हामीले परिचय गर्‍यौं । ‘साउन लागेपछि मात्रै पढेर किताबको बारेमा भन्छु है दिदी’ भनेँ । घरमा आएर उहाँको नाम फेसबुकमा खोजेँ, पेसाले शिक्षक हुनुहुँदो रहेछ । मकवानपुर जिल्लामा बसेर कविता, कथा लेखिरहने र साहित्यिक क्रियाकलापमा सक्रिय हुनुहुँदो रहेछ (सक्रिय किन भनेको भने, धेरै महिला लेखकहरू लेखिरहेका भए पनि साहित्यिक कार्यक्रममा सक्रिय हुन गाह्रो भइरहेको छ) । ‘आँचल’ नामक साहित्यिक संस्थासँग आबद्ध हुनुहुँदो रहेछ ।


फेसबुक पछि किताब खोलेँ, कुनै पनि किताबभन्दा अगाडि म लेखकले उक्त किताबका बारेमा भनेको भनाइ पढ्छु । उहाँले ‘किताबमा कथाबाहिरका कुरा’ भनेर कथाहरू भात भान्छामा काम गर्दा गर्दै लेखिएका कथाहरू हुन् भन्नुभएको रहेछ भूमिकामा । कथालाई कसरी हेर्ने भन्ने कुरामा म लक्ष्मीप्रसाद देवकोटाको, ‘सानो किस्सा एउटा सानो झ्याल हो जहाँबाट सानो सन्सार चियाइन्छ’ भन्ने भनाइलाई पछ्याउँछु । पछि समाजशास्त्र पढेपछि कुन मान्छेले कुन झ्यालमा बसेर कस्तो संसार चियाउँछ भन्ने कुरामा बुझ्ने बुझाउने काम गर्छु । अप्सारा तिम्सिनाका कथाहरू पढेर सकेपछि लाग्यो एउटी शिक्षकले हेर्ने संसार मैले हेर्ने संसारभन्दा भिन्न हुँदो रहेछ ।


१६ वटा कथाको संकलन ‘अभ्यन्तर’ मा गरिबी, प्रेम, यौन, समाजमा रहेको छोरा र छोरीबीचको विभेद, लागूऔषधको कुलत, किशोर अवस्थामा आउने परिवर्तनहरू, मानव बेचबिखनजस्ता विषयलाई केन्द्रमा राखिएको छ । ‘धरा’ कथामा सानैमा प्रेम विवाह गरेकी युवतीमाथि जब छोरा पाउनैपर्ने समाजको माग थोपरिन्छ, पाँचौं पटक पनि छोरी जन्माएपछि चेतनाशून्य (सहरको भाषामा डिप्रेसन) अवस्थामा पुगेको कथा छ । ‘प्रतीक्षा’ नामक कथामा अभिभावकले गर्ने गालीले बालबालिकामा पर्ने मानसिक असर र उनीहरूले चाल्ने गलत कदमलाई उतारिएको छ । ‘पुनर्जन्म’ नामक कथामा अन्तरजातीय प्रेम सम्बन्धलाई परिवारले वैधता नदिएपछि आत्महत्या गरेका युवा र मानसिक सन्तुलन गुमाएकी युवतीको कथा छ, जो मानसिक सन्तुलन गुमाएपछि कैयौं पटक बलात्कारको सिकार हुन्छिन् ।


‘प्रोत्साहन’ कथामा अतिरिक्त क्रियाकलापमा खेलाडीले राम्रो नगरेका कारण शिक्षकले दिने सजायका कारण विद्यालय जान नचाहने विद्यार्थीको कथा छ भने ‘रूपान्तरण’ कथामा प्रेम विवाह गरेकी श्रीमतीलाई आफ्नो श्रीमान्ले घरबाट बाहिर निकन नदिने, अरूसँग गरिने सामान्य व्यवहारमा पनि शंका गर्ने कुरालाई पनि पचाइरहेकी युवती राजनीतिक कार्यकर्तामा रूपान्तरण भएको कथा छ । द्वन्द्वकालमा सन्तान बेपत्ता भएका बाबुआमा, क्याम्पसको गेटमा पालेको काम गर्ने व्यक्ति, किशोरवयमा प्रेममा पर्न लागेकी नातिनी र बालविवाह गरेकी हजुरआमाका कथा पनि यस संग्रहमा छन् ।


‘अन्तरकथा’ मा वैदेशिक रोजगारीमा गएको बुवाको कतारमा मृत्यु भएको, बुवाको मृत्युपछि आमा पनि घर छोडेर हिँडेको बालकको अवस्था वर्णित छ । ‘दिदी डिपो लगाइदिनोस्न’ कथामा श्रीमती बिरामी भएपछि घरबाहिर पार्टनर बनाएर घरमा कहिलेकाहीँ मात्र आउने श्रीमान्को कथा छ भने ‘अपहरण’ मा मानव तस्करीको कथा छ । अर्को कथा छ, ‘अस्मिता’ । यो त्यस्तो बाबुको कथा हो, जो केही पैसाको लोभमा आफ्नी छोरीको बलात्कारीविरुद्धको मुद्दा फिर्ता लिन तयार हुन्छ ।


संग्रहमा एउटा कथा छ, ‘संयोग’ । भाइलाई पढाउनका लागि आफ्नो पढाइ छोडेर काम गरिरहेकी दिदी कामको सिलसिलामा यौन दुर्व्यवहारमा पर्छे । परिवारले चार सन्तानको बाबुसँग विवाह गराइदिन्छ । लगत्तै श्रीमान्को मृत्यु हुन्छ । अनि, उनका छोराछोरी पढाउन युवतीले यौनकर्मी बन्नुपर्ने अवस्था आउँछ । उता, दिदीको मिहिनेतमा भाइ धेरै पढेर ठूलो मान्छे हुन्छ । यदि यौनकर्मीको खोजीमा हिँडेको भाइले आफ्नै दिदीलाई यौनकर्मीका रूपमा भेट्यो भने के होला ? ‘संयोग’ त्यही संयोगको कथा हो । समग्रमा भन्दा अप्सराका कथा मध्यमवर्गीय मानिसहरू वरपर घुमेका छन् । एउटा शिक्षकको स्थानमा बसेर हेर्दा देखिने समाज, प्रेम र यौनमा आएको स्वतन्त्रता, भत्किँदै गरेका घरहरूका कारणप्रतिका चिन्ता, किशोर मनोविज्ञानलाई समेटिएको छ । महिला अधिकारको पक्षमा वकालत गर्दागर्दै पनि वैचारिक रूपमा केही ठाउँमा अस्पष्टता छन् । तैपनि, कथा उन्ने कलाले पाठकलाई तानिरहन्छ ।

किताबमाथि समीक्षाका लागि नोट लेख्दै गर्दा लेखकका लागि भनेर नोट लेखेकी थिएँ, आगामी लेखनमा काम लाग्ला भनेर । उक्त नोटहरू केही टाइप गरेपछि लाग्यो, ‘समीक्षा प्रकाशित भएपछि दिउँला, त्यहीँ हेटौँडा त बस्नुहुन्छ नि ।’ तर साउन १३ गते बिहान उहाँको मृत्यु भएको जानकारी पाउँदा स्तब्ध भएँ । उहाँको मृत्युपछि उहाँका बारेमा लेखिएका श्रद्धाञ्जलीहरू पढिरहेँ । लाग्यो, नेपाली साहित्यमा केही काम गर्ने, अलिकति महिलाका पक्षमा लेखौँ भनेर लाग्ने एउटा जिन्दगी असमयमा अस्तायो । बानेश्वरमा भेट्न आउँदा, ‘जिन्दगीको के भर छ र, एक कप चियासँगै खाऊँ’ भनेर कर गर्न नसकेकोमा थकथकी लाग्यो ।

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राजनीतिक स्वादको कुरीति !

नारायणी देवकोटा

वर्तमान नेपालमा पचासभन्दा बढी हानिकारक पम्परामा आधारित (कुरीतिजन्य) हिंसा रहेका छन्  । तीमध्ये एक हो— बोक्साबोक्सीको आरोप लगाई गरिने शारीरिक मानसिक हिंसा, यातना र हत्या  ।

धामी र माता बन्ने होडमा कलिला बालबालिकाको बलि दिने घटना पनि सुनिएका, देखिएका छन् । नेपाल प्रहरीले सार्वजानिक रूपमा राख्ने तथ्यांकमा बोक्साबोक्सीका नाममा हुने घटना भनेर गत आर्थिक वर्ष (२०७४–२०७५) मा ४८ वटा थिए भने चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३५ वटा घटना नेपाल प्रहरीले दर्ता गरेको छ ।
समाजमा बोक्साबोक्सीको आरोपका घटना सितिमिति दर्ता हुँदैनन् । प्रहरीमा घटना दर्ता नहुनुका पछाडि समाजमा जरो गाडेर बसेको विश्वास छ । दर्ता भएका घटनाको पनि एउटा चक्र हुन्छ । दोषीले कानुनअनुसारको कारबाही हुन पनि सक्छ, नहुन पनि सक्छ । त्यो कानुन कार्यान्वयनको तहमा बसेका मान्छेमा भर पर्छ । तर जसलाई बोक्साबोक्सीको आरोप लगाइएको हो, जसलाई दुर्व्यवहार गरिएको हो उनीहरूको जीवन उक्त घटनापछि कस्तो हुन्छ ? पछिल्लो दुई वर्षमा बोक्सीको आरोप लगाइएका तीन जनालाई मैले नजिकबाट हेरें, महसुस गरें र नेपाली समाजको सामूहिक कुरूप चित्रलाई अझ बढी देखें जुन विश्वासका आधारमा समाज नै मिलेर मान्छेको ज्यान लिन पनि पछि पर्दैन ।
...
२०७४ साल दसैंको मुखमा वीरगन्जकी मानवअधिकारकर्मी राजकुमारी उपाध्यायलाई बोक्सीको आरोप लगाएर कुटपिट गरियो । यसरी कुटपिट गर्ने क्रममा उनका दुवै आँखा फुटाउन खोजिएका बेला परिवार र प्रहरीले उद्धार गरेको थियो । शारीरिक रूपमा देखिने घाउचोट नलागेको भए पनि आफूमाथि लगाइएको बोक्सीको आरोप र ज्यान लिन तयार भएर गरिएको उक्त कुटपिटपछि उनले आफूलाई पहिलाजस्तो बनाउनै सकिनन् । घटनापछि टोटाउन थालेकी उनका छोराछोरीले उपचार र मनोविमर्श गराए । तैपनि, टोलाउने समस्या हटेन । दुर्व्यवहारको एक वर्षपछि उनको निधन भयो । उनकी छोरीलाई देख्दा म उनकी आमा राजकुमारी उपाध्यायलाई सम्झन्छु र नेपाली समाजको एउटा कुरूप चरित्र देखेर तर्सन्छु ।
यस्तै तर्साउने अर्को घटना छ— सर्लाहीका लालबहादुर योञ्जन दम्पतीमाथि भएको । बेलाबेला लालबहादुर योन्जन फोन गरेर भन्छन्, ‘छोरी अब त हामीलाई मार्छन् होला, हामीलाई मार्ने गाइँगुइँ सुनेको छु ।’ हरेकपल कसैले मार्ला कि भनेर बाँच्नु सबभन्दा डरलाग्दो कुरा हो । गाउँको बीचमा घर छ, छिमेकीहरू कसै न कसैको घरमा बेला बेला पूजाआजा, बिहे—व्रतबन्ध भइरहन्छ । छिमेकीले योञ्जनको घर छोडेर एकले अर्कालाई बोलाउँछन्, बिहे–पूजा सँगै मनाउँछन् । गाउँका मान्छे मर्दा योञ्जन पनि मलामी जान्छन् । तर कुनी मलामी उनीसँग बोल्दैनन् । मान्छे भएर पनि नबोल्न गर्दा त्यसमाथि गाउँ नै नबोल्दा धेरै गाह्रो हुने बताउँछन् उनी ।
दुई–तीनपटक बोक्साबोक्सीको आरोपमा कुटाइ खाएका उनीहरू अहिले कसैले आफूतिर हेर्दै कुरा गरे पनि भरे मार्ने योजना बनाउँदैछन् कि भन्ने सम्झेर डराउँछन् । केही चिनेका मान्छेलाई फोन गर्छन् कोही बचाउन भए पनि आओस् भन्ने आसमा । यस्तै डर मनमा चलेको बेलामा आउँछन् गाउँका एक क्रान्तिकारी र भनिरहन्छन्, ‘दाइ तपाईंलाई यहाँ बस्न गाह्रो भयो, यो जग्गा बेचेर हिँड्नोस् ।’
गत वर्ष लालबहादुर योञ्जनले यो कुरा सुनाउँदा मैले पनि भनेकी थिएँ, ‘ठीकै त हो ! कोही पनि नबोल्ने गाउँमा किन बस्नुहुन्छ ? त्यहाँ बेचबाच पारेर कतै सर्नू न’ । उनले आफू नसर्नुका दुईवटा कारण बताएका थिए । पहिलो– चोकमा उनको घर छ । घरसँगै केही खेत पनि छ, जुन सित्तैमा हत्याउन पनि बेला बेला उनीहरूबारे खासखास खुसखुस गरिरहन्छन्– ‘यिनीहरू त बोक्साबोक्सी हुन् नि’ भनेर ।
आफ्नाबारेमा यस्ता खासखास खुसखुस सुनेको कैयौँ दिन योञ्जन दम्पती निदाउन नसके पनि गाउँचाहिँ नछोड्ने उनको दोस्रो कारण छ– ‘नेपालमा कुनचाहिँ त्यस्तो ठाउँ छ, जहाँ कसैले कसैलाई बोक्साबोक्सीको आरोप लगाउँदैन ?’ उनको दोस्रो प्रश्नले म डरलाग्दो गरी झस्कन्छु । मलाई पनि थाहा छैन, त्यो सुरक्षित स्थल कुन हो भनेर ! सायद मैले काठमाडौं भन्न पनि सक्थें । तर, सक्दिनँ । भर्खरै भद्रकाली मन्दिरमा आफूलाई धर्तीमाता बताउने विष्णु कुँवरले मन्दिरमा पूजा गर्न गएकी एक किशोरीलाई बोक्सी कबुल गराउन गरेको शारीरिक र मानसिक दुर्व्यवहार सम्झेर ।
योञ्जन दम्पतीको कुरालाई मैले कैयौंपटक आफ्नो फेसबुकमा लेखेँ, कैयौँपटक वर्तमान नेकपाका जिल्ला स्तरीयदेखि पूर्वप्रधानमन्त्रीसम्मलाई ‘एकपटक गएर गाउँमा उनीहरूको पक्षमा बोलिदिनू न, बोक्साबोक्सी हुँदैनन् भनेर भनिदिनू न’ भनेर फोनबाट बिन्ती पनि गरेँ । तर कोही त्यहाँ गएर बोल्न चाहेनन् । विभिन्न बहानामा पन्छाइरहे । पत्रकार र मानवअधिकारकर्मी उनीहरूको कुरा बुझ्न नगएका होइनन् । तर उनीहरू पनि ती वृद्ध दम्पतीलाई भेट्न गाउँसम्मै पुगेनन् । जिल्ला प्रहरी कार्यालय (जहाँ योञ्जन दम्पतीको निवेदन लिन पनि मानिएन) बाट पाएको जानकारीका आधारमा फोन गरेर सोधे, ‘तपाईंको समस्या जाग्गाको हो कि बोक्साबोक्सी आरोपको ?’
यस्तो सोध्नेलाई लालबहादुर आफ्नै पाराले भन्न थाल्छन्– जग्गाको पनि हो र बोक्साबोक्सीको पनि हो । अनि सोध्नेले उनको र पछिको ‘बोक्साबोक्सीको आरोप पनि’ चाहिँ सुन्दै नसुनी रिपोर्ट र समाचार बनाए । नजिकबाट नियमित लालबहादुर दम्पतीका कुरा सुनेपछि उक्त जिल्लाका धेरै मानवअधिकारकर्मी, पत्रकार र राजनीतिज्ञप्रतिको मेरो धारणा बदलियो ।
...
कैलालीकी किशोरी राधा चौधरीलाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटिएको केही महिनापछि धनगढीको एक कार्यक्रममा उनलाई वक्ताको रूपमा बोलाइएको थियो । कार्यक्रममा उनी बोल्न सकिनन् । आफ्नो बोल्ने समय भर रोइरहिन् । उनी १२ कक्षा पढिरहेकी छात्रा । बोक्सीको आरोपमा गरिएको कुटपिटपछि गाउँ जान सकेकी थिइनन् । कुनै संस्थाको सुरक्षाबासमा बसेकी थिइन् । आफैँ हिंसामा पर्नु अनि आफैँ समाज र घर छोडेर हिँड्नुपर्ने समाजमा जन्मनु नै उनको अपराध थियो ।
बोक्साबोक्सीको आरोपमा पटकपटक शारीरिक यातना भोग्ने र उक्त यातनापछि जीवनभर मानसिक यातना बोकेर बाँचिरहेका मानिसहरू यो समाजमा जतासुकै छन् । जसका लागि सरकारले कानुन बनाए पनि त्यसविरुद्ध खासै कदम चलाउन सकेको छैन । संघीयताको टिकट काटेर समाजवादमा जान हिँडेको सरकार चरम केन्द्रीकृत भएको छ । उक्त केन्द्रको धुरीमा बसेर सबै नियालेको दाबी गर्ने प्रधानमन्त्रीका सल्लाहकारले बोक्साबोक्सी प्रथालाई नै बढावा दिने गरी सामाजिक सञ्जालमा पोस्ट गरेपछि सञ्जालमा तरंग आयो । सबैतिरबाट चर्को दबाब हुँदा पनि उनी माथि कारबाही हुने वा उनले माफी माग्ने छाँटकाँट देखिन्न । सरकारको शक्तिशाली स्थानमा भएका व्यक्तिले यस्ता अभिव्यक्ति दिँदा र सरकार चुप लाग्दा बोक्साबोक्सीको आरोप लगाउने माता र धामी बन्ने बहानामा निर्दोशलाई यातना र हत्या गर्नेकै आत्मबल बढाउने देखिन्छ ।

प्रकाशित : असार २८, २०७६ ११:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×