कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पढ्नलाई छेक्दैन उमेरले

किरण पाण्डे

२०५३ तिर प्रभा चालिसे एउटा विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत थिइन्  । समाजसेवाको क्रममा विभिन्न व्यक्ति, कारखाना घुम्दा उनीहरूसँग धेरै अनपढ महिलाहरू ठोक्किन आए  । उनीहरु आफूले पढ्न नपाएको गुनासो गर्थे । अनि उनले पढ्न नपाएका व्यक्तिलाई लक्षित गरेर स्कुल खोल्ने निर्णय गरिन् । उनलाई राधा तिमिल्सेना, जनक चालिसे र प्रमिला शर्माले साथ दिए ।

पढ्नलाई छेक्दैन उमेरले

त्यतिबेला प्रौढ महिलाका लागि अनौपचारिक प्रौढ शिक्षा मात्र थियो । बढी उमेरका लागि औपचारिक शिक्षा लिने ठाउँ थिएन । काठमाडौंको नक्सालको नन्दी रात्रि विद्यालयमा प्रौढ पुरुषले पढ्न पाउँथे । हाल देशभर प्रौढलाई पढाउने आधा दर्जन विद्यालय छन् ।


प्रभाको टोलीले प्रौढ महिलाले पढ्ने औपचारिक स्कुल खोल्ने काम थाले । ‘विकासमा महिला सशक्तीकरण केन्द्र’ नामक एउटा गैरसरकारी संस्था मार्फत स्कुल खोल्ने अनुमति पाए । कक्षा ६ देखि १० सम्म पढाउने अनुमति लिएर उनीहरूले ललितपुरको सातदोबाटोमा २०५५ सालमा प्रेरणा माध्यमिक विद्यालय खोले । त्यो विद्यालयमा १४ वर्षमाथिका ६५ वर्ष ननाघेका विद्यार्थी पढ्न पाउने व्यवस्था बन्यो । पहिलो वर्षमै २७ विद्यार्थी भर्ना भए । ती विद्यार्थी भर्नाका लागि उनीहरू टोलटोल पुगे । शिक्षामा प्रेरणा दिन स्कुल खोलेका उनीहरूलाई एनजीओ खोलेर विदेशीको पैसा खाएको आरोप पनि लाग्यो । मिहिनेत गरेर जम्मा गरेका विद्यार्थी एक वर्षमै घटेर छ जनामा सीमित भए । ‘सबै कामकाजी महिला थिए । कतिपयलाई घरबाट आउन दिएनन् । घरको काम छाडेर कहाँ पढ्न गएको भनेर गाली खाए’ स्कुलकी प्राधानाध्यापक प्रभाले सुनाइन् ।


विद्यार्थी घटे पनि उनको टिमले हिम्मत हारेन । विद्यालय खोलेको तीन वर्षपछि २०५९ मा १० कक्षासम्मै विद्यार्थी भर्ना भए । यत्तिले मात्रे पुग्दैन भनेर उनीहरूले पुनर्ताजगी कक्षा पनि सुरु गरे । प्रौढ महिलाका लागि एकदेखि पाँच कक्षासम्म कक्षा सुरु भयो । त्यसमाथिको कक्षामा विद्यार्थी बढुन् भन्ने यसको उद्देश्य थियो । प्रेरणा स्कुलबाट पढेका विद्यार्थी अहिले बिभिन्न पदमा पुगेका छन् । केही राष्ट्र बैंकका अधिकृत, केही मानवअधिकारको क्षेत्रमा र केही विदेशमा उच्च शिक्षा हासिलसमेत गर्न गएका छन् । ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने स्कुलको मूल नारा हो । यसकै उदाहरण हुन्, विष्णु थापा । बागलुङकी ६३ वर्षीया थापा त्यहाँ पढ्न आउने विद्यार्थीका लागि एक प्रेरणाकी स्रोत हुन् ।


उनको ८ कक्षा पढ्दा पढ्दै विवाह भयो । विवाह भएपछि घर परिवारमा समय बित्यो । छोरा थापाथलीमा सिभिल इन्जिनियरिङ पढ्न थालेपछि उनको पढ्ने ढोका खुल्यो । उनी पढाइ छोडेको २० वर्षपछि कक्षा ८ मा फेरि भर्ना भइन् । उनले २०६३ मा ४९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण भइन् । त्यसपछि पद्मकन्या क्याम्पसमा भर्ना भइन् । ‘मलाई कहिल्यै बढी उमेरको हुँ भनेर लागेन,’ उनले भनिन् । पद्मकन्या कलेजबाट उनले ग्रामीण विकासमा स्नातकोत्तर र एलएलबी सँगसँगै सकिन् । अब उनको चाहना एमफिल र पीएचडी छ । उनले थपिन्, ‘पीएचडी गरेर नामको अघि डाक्टर लेख्न मन छ । यो त मेरो अर्कै जुनी हो ।’

निर्मला खकुरेल (६३ वर्ष) कक्षा १


मेरा एक छोरा कम्प्युटर इन्जिनियर दुई छोरी आईटी र कमर्स पढ्छन् । गाउँमा बस्दा स्कुल नजिकै थिएन साथै घरका व्यावहारिक कामले पढ्न पाइनँ । केही समय पहिले म मधुमेहको बिरामी भएर अस्पताल भर्ना भएपछि पढ्ने सोच आयो । नाति एक वर्षअघिदेखि स्कुल जान थालेपछि अलि फुर्सद मिल्यो । स्कुल जाँदा आउँदा मानसिक तथा शारीरिक अभ्यासले पनि स्वस्थ र शिक्षित दुवै हुने लागेर एक कक्षामा भर्ना भएँ ।

सुशीला पौडेल (५७ वर्ष) कक्षा २


तनहुँको विकट गाउँमा हुर्किएकी हुँ । मैले सानोमा स्कुल देख्न पाइन् । परिवार ठूलो भएकाले पढ्ने मौका जुरेन । छोराछोरी हुर्किएर हाल कामको सिलसिलामा विदेशमा छन् । मैले धेरै वर्ष नर्वेजियन स्कुलमा काम गरें । स्वेदश र विदेशमा जाँदा कामको सिलसिलामा लेख्न र पढ्ने समस्या झेलें । अनि लेखाइ र पढाइ ठूलो रहेछ भन्ने बोध मात्र भएन, स्कुलमै भर्ना भएँ ।


इन्दिरा थापा (५८) कक्षा ३


मेरो बाल्यकाल अलि फरक छ । स्कुल जान पाएकी हुँ, तर पढेर के हुन्छ भनेर पढिएन । पछि विवाह भयो । मेरो श्रीमान् बित्नुभयो । म सानोतिनो जागिर खान्थें । २०५५ सालमा अवकाश भएपछि समय काट्न गाह्रो हुन थाल्यो । जागिर खादाँदेखि नै पढाइको महफ्व बुझ्दै गएकी थिएँ । पढ्नुअघिको जीवन र पढेपछिको जीवन आकाश–जमिन फरक रहेछ । त्यही बुझेर साथीभाइसँग पढ्न थालें ।

जमुना खड्का (५६) कक्षा ४


बुवा म सानै हुँदा बित्नुभयो । पारिवारिक जिम्मेवारी ममा थपियो । पढ्न चाहना हुँदाहुँदै पनि सकिएन । तीन छोरा अहिले विदेशमा छन् । बच्चाहरू हुर्किएर आफ्नो इलम गर्न थालेपछि आफूलाई पनि फुर्सद भयो र आफ्नो वर्षौंदेखिको अतिरिक्त प्यास मेटाउन पाएकी छु । अहिले अति सन्तुष्टि मिलेको छ । पहिले काम पर्दा पढेको व्यक्तिको सहयोग चाहिन्थ्यो । अहिले आफैं सक्षम भएकी छु ।


कविता पोखरेल (५२) कक्षा ५


हाम्रो गाउँमा छोरीलाई पढाउने चलन थिएन । घरबार बस्तुभाउ हेर्दाहेर्दै पढ्ने चाहना रहरमै सीमित रह्यो । पछि गाउँमा प्रौढ शिक्षा सुरु भएपछि अक्षर चिन्ने मौका मिल्यो । यो स्कुल नभएको भए मेरो पढ्ने चाहना पूरा हुन्थेन होला । अहिले स्वतन्त्र, खुलेर कुरा गर्न सक्ने भएका छौं । मैले सपना पनि ड्रेस लगाएको, कपाल बाटेको बारम्बार देख्ने गर्छु । अब त पढेर समाजसेवी नै बन्छु ।


विमला विश्वास (५८) कक्षा ६


छोरीले पढ्नु हुँदैन भनेर ४ कक्षा पढ्दापढ्दै रोकियो । घरमा ४ भाइ र एक बहिनी थिए । तिनीहरूलाई हुर्काउँदा आफ्नो पढाइ छुट्यो । समाजले के सोच्ला भनेर अगाडि पढ्न लाज लाग्यो । मेरो चाहना ज्वाइँले बुझेर पढ्नलाई केको लाज भन्दै यहाँ ल्याएर भर्ना गरिदिनुभयो । अहिले स्वास्थ्यमा केही समस्या छ । तैपनि, एसईई जसरी पनि दिएरै छोड्छु । एक दिन भए पनि कलेज जाने दृढ इच्छा छ ।


जमुना श्रेष्ठ (५०) कक्षा ९


म ४१ वर्षको उमेरदेखि पढ्न थालेकी हुँ । म ९ कक्षामा पढ्छु, मेरा दुई छोरी स्नातक सकेर विदेशमा छन् । एक छोरा १२ कक्षा सकेर बसेका छन् । अस्पताल, पसल, सामान किन्न जाँदा अक्षर नचिनेर सधैं अर्कोमा भर पर्नुपर्ने कुराले मलाई राम्रो लागेन । त्यसैले स्कुल भर्ना भएँ । स्कुल पढ्न थालेपछि ममा परिवर्तन आएको छ । हिम्मत पनि बढेको छ ।

सरिता गुरुङ (५१) कक्षा ८


मैले ६ कक्षा पढेर पढ्न छाडेकी थिएँ । घरमा छोरा सिभिल इन्जिनियरिङ, छोरी जियोलोजीमा मास्टर्स र अर्की छोरी आर्किटेक्ट इन्जिनियर छन् । घरमा कुरा गर्दा पनि मोबाइल चलाउने, म्यासेज गर्ने र उनीहरूसँग कुरा गर्न पनि आफ्नो स्तर नमिलेको जस्तो लागेर म ७ कक्षामा भर्ना भएँ । अहिले कविता पनि लेख्छु ।

इन्द्रा आले (६६) कक्षा ७


मेरा तीन छोरीको विवाह भइसक्यो । कान्छी डाक्टर छिन् । छोरा विदेशमा छन् । मेरो औधी पढ्ने चाहना बुझेर कान्छी छोरीले २०७३ सालमा यो स्कुलमा भर्ना गरिदिएकी हुन् । मेरो पढाइ पनि राम्रो छ । म एक कक्षामा भर्ना भएपछि राम्रो गरेर ४ वर्षमा फड्को मारेर ७ कक्षामा पढ्दै छु । छोरी पढाएर के हुन्छ भन्थे, आफ्नो छोरीहरूले पढे पछि अहिले थाहा भयो ।

twitter: @pandaykiran

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?