व्यङ्ग्य : कर, कर र करकर

ब्रजेश

तपाईं फाइँफुट्टीराजको पुरानो पाठक हुनुहुन्छ भने थाहै होला, उसलाई सधैं रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुतेपछि मात्र फाइँफुट्टी फुर्छ  । यस पटक भने यहाँहरूलाई चकित पार्नका लागि फाफुराले विनिर्माणको शैलीमा नयाँ तरिका अपनाएको छ । आज उसलाई एउटा चुट्किलाबाट फाफुरा उवाच सुरु गर्ने मुड आएको छ ।

हुन त यो लरतरो आँटको कुरा होइन । किनभने हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूले फाफुराजस्ता हास्यव्यंग्यको भरमा आफ्नो मुखमा माड लगाउने कलमजीवीहरूको पेटमा ब्रुस लीले जसरी ड्रप किक हान्न थाल्नुभएको धेरै भइसकेको छ । हप्तैपिच्छे भनेजसो खतरा–खतरा चुट्किलाहरू सुनाएर उहाँले मनोरञ्जनको मापदण्ड नै यति माथि पुर्‍याइदिनुभएको छ, अब मानिसलाई हँसाउने भनेको फलामको च्युरा चपाए सरी भइसकेको छ । उहाँको ‘लेभल’ छुन सितिमिति सकिन्न । त्यसैको सिको गरेर हुँदाहुँदा उहाँका मन्त्रीहरू, प्रशासक, सल्लाहकार, बोली बचाउ दस्ता, रफु विशेषज्ञ मात्र नभई प्रहरी र अदालत पनि एक से एक चुट्किलाबाज भएर निस्किसकेका छन् । त्यसैले अब लेखनमा हास्य क्षेत्र पनि भरपर्दो पेसाचाहिँ रहेन । तर पनि के गर्नु, फाफुराले जानेको कुरा अरू केही छैन । उसमा भएको यही एउटा दुर्गुण हो । त्यसैले ऊ आज आफ्नो खानदानी पेसा जोगाउने प्रयासमा लागेको छ ।


‘एक पटक कुनै एउटा बारमा केही पहलमानहरू बसेर बियर पिइरहेका थिए । सबै सात फिटभन्दा अल्गा, घरका पर्खालजस्ता छाती, मेलम्चीको पाइपजस्ता मोटा पाखुरा भएका भीमकाय र बलिष्ठ पहलवानहरू । कुरैकुरामा एउटा पहलमानले एउटा कागती लिएर त्यसलाई निचोरेर बियरको ग्लासको आधा जति रस निकालिदियो । अनि उसले अरूलाई चुनौती दिँदै भन्यो— यो खोस्टोबाट निस्कन सक्ने जति रस मैले निचोरिसकें । अब यसबाट अरू कसैले रस निकाल्न सक्दैन ! अर्को पहलमानलाई त्यो हाँक खपिनसक्नु भयो । उसले न्वारानदेखिको बल निकालेर त्यसबाट अर्को दुई थोपा रस निचोरेर देखाइदियो । तेस्रो पहलमान पनि के कम, उसले अझै बल लगाएर अरू दुई थोपा निकालिदियो । चौथो र पाँचौं पहलमानले पनि अझै एकएक थोपा निकालेपछि छैटौं र सबैभन्दा शक्तिशाली पहलमानको पालो आयो । तर उसले जति गरे पनि खोस्टोबाट रस निकाल्न सकेन । काठमाडौंका धाराहरूबाट बरु कहिलेकाहीं एक–दुई थोपा तरल पदार्थ झर्ला, त्यो खोस्टोबाट केही झरेन । त्यही बेला अलि पर बसेर त्यो सब हेरिरहेको एउटा अलि पाको उमेरको दुब्लो पातलो भद्र मानिसले मसिनो स्वरमा सोध्यो— एक पटक म ट्राई गरूँ कि ?


उसको त्यो धृष्टता देखेर पहलमानहरू मरीमरी हाँसे । त्यसको वास्ता नगरी त्यो मानिस चुपचाप पहलमानहरूतिर गयो । उसले त्यो सुकेको खोस्टो मुठ्ठीमा लियो । पहलमानहरू उसलाई हाँसेर हेर्दै थिए । उसले खासै बल लगाएको पनि देखिएको थिएन तर मुसुमुसु हाँस्दै उसले त्यो खोस्टो निचोर्दा आठ–दस थोपा रस तपतप गरेर निस्के । सुकेको जीउमा लुकेको बल देखेर सारा पहलमानहरू स्तब्ध भए । ऊ मुसुमुसु हाँस्दै फर्केर जान लागेपछि एउटा पहलमानले सोध्यो, ‘तिमी को हौं ? परिचय त दिएर जाऊ ।’


त्यो मानिसले मुसुक्क हाँसेर जेम्सबन्डको स्टाइलमा भन्यो,‘खतिवडा । युवराज खतिवडा । नेपाल भन्ने एउटा देश छ, म त्यहाँको अर्थमन्त्री हुँ भाइ ।’फाफुराजस्ता तपाईं–हामी सर्वसाधारण आजकल थरीथरी करको नाममा कागतीका त्यस्तै खोस्टा बनिसकेका छन् । केही समयअघि फाफुराले यस्तै अव्यावहारिक नियमहरूका सांकेतिक विरोधका रूपमा केही हाउडे करहरूको बारे लेखेको थियो । तर सरकारले त त्यसलाई नै गम्भीरतापूर्वक लिएर त्यही फाफुरापथ समातेको पो हो कि भन्ने लाग्न थालेको छ । साँच्चै त्यसो हो भने त खोस्टा निचोरेर देशलाई समृद्ध बनाउने यस महान् यज्ञमा अरू दुई–चार पित्को घिउ र केही दाना चरु किन नहाल्नु ? सचेत नागरिक हुनुको दायित्व निर्वाह गर्दै आज फाफुरा अरू केही थप करहरूका आइडियाहरू सुझाउन चाहन्छ जुन अहिलेसम्म सरकारले देखेको छैन । उसको पहिलेका लेखजत्तिकै यसलाई पनि गम्भीरतापूर्वक लिइनेछ भन्ने विश्वास पनि फाफुराले लिएको छ । के थाहा त्यसपछि पुर्परोमा फुलौरा फुलेर उसलाई सरकारले अहिले भइरहेका अनगिन्ती सल्लाहकारहरूको हूलमा मिसाइन्छ कि ? अथवा फाफुराले सुझाएका मध्ये कुनै कर लागू गरेर निचोरिएको रसको दुई थोपा मात्र पनि पुरस्कारस्वरूप छर्किदिए पुग्छ । त्यसो भयो भने उसको तीन पुस्ताले रत्नपार्कमा टोपीले मुख छोपेर सुतेर बाँच्न पुग्छ । त्यसैले उसले यी सबै आइडियाहरूको प्रतिलिपि अधिकारचाहिँ कालिकास्थानमा गएर पहिले नै सुरक्षित गरिसकेको छ । यो वैधानिक चेतावनी हो ।

पाइला कर
अतिरिक्त करहरूको लिस्टमा पहिलो सुझाव हो पाइला कर । आजकल मानिसहरू अग्रगामी हुन थालेका छन् । त्यसबाट राज्यले उठाउन सक्ने फाइदाबारे अहिलेसम्म कसैले सोचेको छैन । तसर्थ अग्रगामी पाइलाहरूलाई करको दायरामा ल्याउनु आवश्यक भइसकेको छ । अब हरेक खोस्टाले चालेको प्रत्येक पाइलामा रु. पाँचका दरले कर लगाइनुपर्छ । प्रतिगामी पाइलाहरूलाई चाहिँ प्रोत्साहनस्वरूप प्रतिपाइला रु. एकको दरले पुरस्कृत गरिनुपर्छ । अब तपाईं भन्नुहोला कसले कति पाइला हिँड्यो भन्ने कसरी पत्ता लगाउने ? त्यसको पनि उपाय फाफुरासँग छ । आजकल सबैको हातमा फोन हुन्छ । ती फोनहरूमा पाइला गन्ने अनुप्रयोग हुन्छन् । सरकारले सादा पोसाकमा खटाएका गुप्ती कर अधिकृतहरूले कुनै पनि खोस्टालाई कहीं पनि कर्‍यापझ्याप् पारेर त्यो जाँच गर्न सक्नेछन् र ठामका ठाम हिसाब गरेर कर तिराउन सक्नेछन् । गोजीमा रकम नभएको अवस्थामा जायजेथा, तलब, वृद्ध भत्ता इत्यादिबाट असुलउपर गरिनेछ । त्यो नहुन्जेल तिनलाई थुनामा राख्न सकिनेछ ।

साहित्य कर
हुन त पुस्तकमा कर लगाउने महान् प्रथाको सुरुआत भई नै सकेको छ । तर त्यतिले पुग्दैन । कवि, लेखक तथा साहित्यकारहरूले राज्यलाई धेरै ठगिसकेका छन् । राष्ट्रलाई सुक्को कर नतिरी आजसम्म तिनले करोडौं करोड शब्दहरू लेखिसकेका छन् । यो साहित्यिक दोहनलाई नियन्त्रण गर्न सबै लेखकलाई अविलम्ब करको दायरामा नल्याई हुँदैन । किनभने तिनका रचनाहरू बिक्लान् र कर उठाउँला भन्ने कुरा सम्भव छैन । एक त अधिकांशका बिक्दै बिक्दैनन्, बिक्नेले पनि कर तिर्दैनन् । तसर्थ साहित्यमा अग्रिममै कर उठाउनुपर्छ । लेखरचनाका आकारका आधारमा कर निर्धारण गरिनेछ । यसअनुसार प्रतिहाइकु रु. दस, प्रतिमुक्तक रु. पन्ध्र कर लगाइनेछ । छन्द वा इन्टर कविताको हकमा बाह्र लाइनसम्म रु. पाँच र त्योभन्दा बढी प्रत्येक लाइनमा अतिरिक्त रु. दुई कर ठटाइनेछ । खण्डकाव्य, महाकाव्य, उपन्यास, संस्मरण, आत्मकथाजस्ता विधाहरूमा प्रतिशब्द दुई रुपैयाँ पचास पैसाका दरले कर लगाइनेछ । हास्य–व्यंग्य लेख्नेहरूलाई सरकारको विरुद्धमा भए करको अतिरिक्त विद्युतीय कारोबार ऐन लगाएर कैद पनि गर्न सकिनेछ ।
(द्रष्टव्य : यो व्यवस्था ‘अप्रगतिशील’ लेख तथा लेखकहरूका हकमा मात्र लागू हुनेछ ।)

भ्रमण कर
आजकल खोस्टाहरू धेरै भ्रमण गरेर चाहिनेभन्दा बढी बाठा हुन थालेको गम्भीर अवस्था छ । यो खतराको संकेतलाई समयमै बुझेर सम्बोधन गरिएन भने भोलि झनै विकराल हुने पक्कापक्की छ । कुवाको ब्याङ त्यहाँबाट बाहिर निस्क्यो भने त्यसले संसार देख्छ । संसार देख्यो भने बिस्तारै चेत पलाउँछ । चेत पलाएका ब्याङहरू तर्क गर्न थाल्छन् । तर्क गर्न जानेकालाई नियन्त्रण गर्न गाह्रो हुन्छ । तसर्थ अबदेखि आम नागरिकलाई विदेश यात्रा गर्न सकेसम्म दुरुत्साहन गरिनेछ । यसै पनि यो कुरामा केही महत्त्वपूर्ण पहल भई नै सकेको छ । विदेश भ्रमणमा जाँदा बोक्न पाउने विदेशी मुद्राको सीमा पच्चीस सयबाट पन्ध्र सय डलरमा घटाइसकिएकै छ । अझै घटाएर केही सेन्टमा ल्याइनेछ । अत्यन्तै जरुरी प्रयोजनका लागि विदेश भ्रमण गर्दा कर तिर्नुपर्नेछ ।


खोस्टाहरूलाई समूहमा विदेश घुम्न जाने तथा पढ्न जानेजस्ता कुलत लागिरहेको हुनाले त्यसलाई निर्ममतापूर्वक नियन्त्रण गर्नु आजको प्रमुख आवश्यकता हो । तसर्थ विदेश घुम्न जानेहरूले दिनको रु. एक हजारका दरले सरकारलाई कर तिर्नुपर्नेछ । आन्तरिक भ्रमणमा भने रु. पाँच सय दर तोकिनेछ । पढ्न जानेहरूलाई नो अब्जेक्सन पत्र दिइने छैन । मजदुरी गर्न जानेहरूसँग पनि वैदेशिक रोजगार कर भनेर पहिले नै कर लिइनेछ । भोलि उता गएपछि रेमिट्यान्स पठाएनन् भने के गर्ने ?

सामाजिक सञ्जाल कर
अभिव्यक्तिको स्वतन्त्रताको नाममा सामाजिक सञ्जाल उच्छृंखल हुँदै गएको जगजाहेर छ । राज्य र सरकारले सुन्न नचाहेका कुराहरू धेरै बोलिन थालेको छ । त्यसैले यस्ता सञ्जाल प्रयोग गर्दा पनि इन्टरनेटका लागि तिरिने शुल्कमा लागिरहेको करबाहेक अतिरिक्त कर तिर्नुपर्नेछ । फेसबुकमा प्रतिस्टाटस वा एउटा ट्विट गरेको रु. पच्चीसका दरले कर लाग्नेछ । त्यसमा फोटो पनि टाँसेमा रु. तीस र भिडियोसमेत भएमा रु. पचास कर निर्धारण गरिनेछ । इन्स्टाग्राममा पनि रु. पचास प्रतिफोटो कर लाग्नेछ । प्रचलनमा रहेका यीबाहेक अरू ह्वाट्सएप, भाइवर, इमो, वीच्याटमा प्रतिसन्देश रु. दुई कर लाग्नेछ । इमेल पठाएको वा पढेको, गुगल र युट्युब हेरेको पनि अतिरिक्त कर तिर्नुपर्नेछ ।


यीबाहेक पनि अरू धेरै कुरामा कर लगाइनेछ । खोस्टाहरूले चाहिनेभन्दा बढी देख्नु पनि राज्यको लागि खतरा हुने भएकाले अबउप्रान्त चस्मा तथा कन्ट्याक्ट लेन्समा पावरको अनुसार वार्षिक कर लगाइनेछ । काठमाडौंलाई धूलो धूवाँ र प्रदूषणमुक्त बनाइसक्दा पनि कुत्सित मनशाय राखेर व्यक्तिविशेषलाई बदनाम गर्न मास्क लगाएर हिँड्नेहरूलाई दुरुत्साहन गर्न मास्क कर लगाइनेछ । अपान वायु त्यागमा पनि कर लगाइनेछ । निर्गन्धी वायु त्याग गर्दा प्रतिनिकास रु एक सय, दुर्गन्धी निकासको रु. दुई सय कर लाग्नेछ । ठूला नेता तथा मन्त्रीहरूको सुगन्धी निकासलाई भने कर मिनाहा गरिनेछ ।


प्रेम तथा विछोडमा पनि कर लगाइनेछ । हो यस किसिमका चुहावट भइरहेका दुलाहरू थुनेर कर संकलन गरी राज्यलाई समृद्ध बनाउने महान् योजनामा विरोधहरू हुन सक्छन् । अप्रजातान्त्रिक र अधिनायकवादी रवैयाको दोष पनि लाग्न सक्छ । त्यसैले सरकारको विरोध गर्न खुल्लमखुला छुट प्रदान गरिनेछ । तर, त्यसका लागि कर तिर्नुपर्नेछ । प्रतिविरोध रु. पाँच हजार कर तिरेर जसले जहाँ जसरी र जुनै बेला पनि सरकारको हरेक जायज नाजायज कुराको विरोध गर्न पाउनेछ ।


महापरिनिर्वाण कर
माथि प्रस्तावित करहरूबाहेक सबैभन्दा पहिले र अनिवार्य लगाउनुपर्ने कर हो, मृत्यु कर । अबउप्रान्त कुनै पनि नेपालीले कर नतिरी मर्न पनि पाउने छैन । यसअन्तर्गत स्वाभाविक र कालगतिले हुने मृत्युमा रु. दस हजार, प्राकृतिक प्रकोप तथा दुर्घटनामा परेर मर्नुपर्दा रु. पन्ध्र हजार र आत्महत्या गरेर मर्नुपर्दा रु. बीस हजार कर नतिरी प्राण त्याग गर्न पाइने छैन ।

यी नयाँ करका प्रस्तावहरू लिएर फाफुरा अर्थमन्त्रीज्यूलाई भेट्न गइरहेको बेला अचानक उसको आँखा खुल्यो । सदाझैं ऊ त रत्नपार्कमा टोपीले मुख छोपेर सुतिरहेको रहेछ र उसलाई सपनामै यो दिव्यज्ञान प्राप्त भएको रहेछ फाफुराले आँखा चिम्चिम् गर्दै हेर्‍यो । उसको छेउमै एउटा मान्छे एकोहोरो उसलाई हेरेर मुसुमुसु हाँसिरहेको रहेछ । उसले मीठो स्वरमा भन्यो, ‘के छ फाइँफुट्टीराज ? धेरै पछि पो रत्नपार्कमा देखियौ ।’
फाफुरालाई पनि त्यो मानिस कताकता देखेको जस्तो लाग्यो । उसले सोध्यो, ‘तपाईं को हो रे ? चिनेचिनेजस्तो लाग्यो ।’
त्यो आकृतिले हाँस्दै भन्यो, ‘हो, म सरकार हुँ ।’
फाफुरा दंग पर्‍यो र सरकारलाई प्रणाम गर्‍यो । सरकारले उसलाई सोध्यो,
‘तिमी त निदाइरहेको थियौ क्यारे हैन ?’
‘हो सरकार ।’
‘सपना पनि देख्यौ ?’
‘देखें सरकार ।’
सरकार प्रसन्न भयो र भन्यो,
‘गुड् । अब तिमीले सपना देखेको कर तिर्नुपर्छ ।’
अनि सरकारले कोटको गोजीबाट एउटा प्याड झिकेर फाफुराको नाममा कर तिरेको रसिद काट्न थाल्यो ।

प्रकाशित : श्रावण २५, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्

सम्झना : मौनमा मोरिसन

ईश्वर बुढाथोकी

बाटो बिराएर सबभन्दा धेरै गल्ती सायद मृत्युले नै गर्छ  । नत्र त अगस्ट ५ को रात विश्वको साहित्यिक अकाशबाट टोनी मोरिसन नामको एउटा प्रकाशपुञ्ज सधैँका लागि अस्ताउने नै थिएन  ।

मोरिसनको मृत्यु ‘मृत्यु’ स्वयम्ले पनि सच्याउन नसक्ने गरी गरेको ‘गल्ती’ थियो । बाराक ओबामाको कार्यकालमा उनलाई स्वतन्त्रताको राष्ट्रपतीय मेडलद्वारा सम्मान गरिएको थियो । उनको मृत्युलगत्तै ओबामाले त्यही २०१२ को सम्मान कार्यक्रममा सँगै खिचिएको तस्बिर राख्दै गहिरो श्रद्धाञ्जली दिए । उनले ट्विटरमा लेखे, ‘मोरिसन एक राष्ट्रिय गहना थिइन् । उनी पृष्ठहरूमा जतिकै व्यक्तिगत रूपमा पनि मनमुग्ध पार्ने उत्तम कथाकार थिइन् । उनका लेखहरू सुन्दर र अर्थपूर्ण चुनौती थिए । हाम्रो विवेक तथा नैतिक कल्पनाका लागि एक छिन भए पनि उनले र मैले एउटै हावामा श्वास लिन पाउनु मेरो लागि ठूलो उपहार थियो ।’


अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा भने अनलाइन सामाचारहरूमा व्यंग्यवाण सुरु भइसकेको छ— के ट्रम्पलाई टोनी मोरिसनको बारेमा थाहा छैन ? हुन पनि ट्रम्पको निर्वाचनको लगतै २०१६ मा ‘न्युयोर्कर’ मा प्रकाशित मोरिसनको एक निबन्धमा उनले धेरैले जस्तै राष्ट्रपति ट्रम्पले पनि हिंसात्मक तथा जातीय धारणाहरूलाई सुरक्षित किनारा लगाउने भविष्यवाणी गरेकी थिइन् । यो लेख तयार पार्दासम्म ट्रम्पको कुनै आधिकारिक धारणा सार्वजनिक भैसकेको छैन ।भावनालाई पनि आफ्नो भाषाको नियन्त्रणमा राख्न सक्ने बेग्लै शक्ति र सामर्थ भएकी मोरिसनले उज्यालोको मसीमा आफ्नो कलमलाई चोपेर अँध्यारोमा यसरी पोखेकी थिइन् मानौँ उनले पोखेको मसी तेलका ती चम्किला थोपाहरूजस्तै हुन् जो संसारलाई डुबाउने समुद्रमाथि पनि तैरिरहेका छन् । तिनलाई डुबाउने तागत समुद्रसँग त के कुनै सुनामीसित पनि छैन ।


आफ्नो अभिव्यक्तिलाई कलात्मक रूप दिने मामिलामा धेरै नै कहलिएकी यी अश्वेत लेखिकाको जन्म सन् १९१८ को फेब्रुअरी १८ मा अमेरिकाको ओहायो राज्यमा भएको थियो । यिनको वास्तविक नाम कोल अर्डेलिया उफर्ड थियो । आफ्नो समयकी अत्यत्तै प्रभावशाली लेखिका मोरिसनको प्रभाव पछिल्लो समयमा पनि उत्तिकै थियो । पुरस्कारको सन्दर्भमा पनि मोरिसन निकै भाग्यमानी लेखिका मानिन्थिन् । त्यो किनभने सन् १९९३ मा उनलाई नोबेल पुरस्कार दिँदा पुरस्कारका लागि मनोनीत हुनेको सूचीमा उनको नाम अटाएकै थिएन । तैपनि उनलाई अश्वेतहरूका जीवानुभवमाथि लेखेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । त्यतिबेला उनको लेखनस्तरलाई ‘आश्चर्यजनक रूपमा श्रेष्ठ’ भनिएको थियो । तत्कालीन पुरस्कार समितिका सचिव स्टिभ एलनले भनेका थिए, ‘विश्वास नै हुँदैन एउटा लेखकका ६ वटा उपन्यास के कारणले समान रूपमा श्रेष्ठ हुन सक्छ ?’


उनको साहित्यिक हैसियतको उचाइको अघिल्तिर पुरस्कारको कद होचो थियो । त्यसैले पनि कसैले उनको विरोध गरेनन् । स्विडिस एकेडेमीको यो निर्णयलाई साहित्यिक दुनियाले पनि अनुमोदन गर्‍यो । सन् १९७७ मा प्रकाशित ‘सङ्ग अफ सोलोमन’ को प्रकाशन पछि उनी अत्यधिक पाठकको आँखामा परेकी थिइन् । श्वेत र अश्वेत दुवैथरीका पाठकले उनलाई खुब रुचाउन थालेका थिए । त्यसको एक दशकपछि उनको अर्को उपन्यास ‘बिलोभेड’ प्रकाशित भएको थियो । यो उपन्यास कतिसम्म लोकप्रिय भयो भने यस किताबलाई कुनै राष्ट्रिय पुरस्कार नदिएको भनेर खेद व्यक्त गर्दै ‘न्युयोर्क टाइम्स बुक रिभ्यु’ मा हज्जारौँ पाठकका पत्रको लस्कर नै लाग्यो । एउटा इमानदार लेखकका लागि योभन्दा ठूलो पुरस्कार अरू के हुन सक्ला ? यसपछि उनले पुलित्जर पुरस्कार पनि पाइन् । पाठकीय दबाब त थियो नै तर पुरस्कार समितिले सफाइ दिँदै भनेको थियो ‘उनलाई प्रचारको दबाबले होइन, रचनात्मक श्रेष्ठताको कारणले पुरस्कार दिइएको हो।’


कुनै बेला मोरिसनलाई पनि गरिबी र कष्टले खलपात्रले झैँ खेद्नुसम्म खेदेको थियो । तर उनले दृढता, मिहिनेत र इच्छा शक्तिले तिनलाई पराजित गरेकी थिइन् । जीवन निर्वाहका लागि भेटेसम्मका काम गर्दै लेखनमा होमिएकी थिइन् । वासिङ्टनको हावर्ड विश्वविद्यालय हुँदै कोर्नेल विश्वविद्यालयबाट उनले आफ्नो औपचारिक अध्ययन पूरा गरिन् । स्नातकोत्तर अध्ययनका क्रममा उनले बिलियम फाक्नर र भर्जिनिया उल्फका सिर्जनामा आत्महत्या गर्ने पात्रहरूमाथि शोधपत्र लेखेकी थिइन् । त्यसपछि टेक्सास र हावर्ड विश्वविद्यालयमा नै अंग्रेजी पढाउन थालेकी उनले हावर्डमै पढाउने क्रममा हेराल्ड मोरिसन नाम गरेका एक आर्किटेक इन्जिनियरसित विवाह गरिन् । दुई छोरा जन्मिएपछि उनीहरूको दाम्पत्य जीवन टुङ्गियो । उनले हावर्ड छोडिन् र न्युयोर्क आएर एक प्रकाशन गृहमा पाठ्यपुस्तकको सम्पादनको कार्य गर्न थालिन् । एकातिर जागिर अर्कोतिर लेखन र बालबच्चा । उनको व्यस्तता बढ्यो । उनी बिहान सबेरै उठ्थिन् र छोराहरू उठ्नुअघि नै लेख्न बस्थिन् । उनी आफ्नो सिर्जनालाई सकुन्जेल परिमार्जन गर्थिन् । सुन्दा अचम्म लाग्न सक्छ आफ्ना सिर्जनालाई ६ देखि १३ पटकसम्म परिमार्जन गर्न पनि उनी अल्छी मान्थिनन् ।


मोरिसनले आफ्ना कुनै पनि उपन्यासमा निजी जीवनकथालाई प्रतिविम्बित गरेकी छैनन् । बरु अश्वेत नारीहरूका सामाजिक स्थिति र तिनका अनुभव, अनुभूतिलाई उपन्यासमा उतारी रहिन् । उनले आफ्ना लेखनमा समाजका यथार्थ, संघर्ष तथा इच्छा आकांक्षालाई शक्तिशाली रूपमा प्रस्तुत गर्केी छन् । मोरिसनलाई नोबेल पुरस्कार दिने घोषणा भइरहँदा जर्मनीको फ्र्यांकफर्टमा विश्व पुस्तक मेला चलिरहेको थियो । मेलाका कुनै पनि स्टलमा उनका पुस्तकहरू राखिएका थिएनन् । पुरस्कारको घोषणा लगत्तै गोदामतिरै थन्किएका उनका पुस्तकलाई मेलामा लगिएको थियो । त्यसपछि प्रकाशकले थेग्नै नसक्ने गरी उनका किताबहरू बेचका थिए । बजारमा पनि उनका किताबको माग धेरै हुन थाल्यो । उनको तेस्रो पुस्तक ‘सङ्ग अफ सोलोमन’ लेख्नुअघिसम्म लेखन उनको प्राथमिकतामा परेकै थिएन । एउटी महिला त्यसमाथि अश्वेत वर्णको कारण उनी आफूलाई आत्मविश्वासका साथ लेखक हुँ भन्न पनि सक्दिनथिन् । सुरुआतका उनका पुस्तकहरू उनको रङकै कारण छापिएका थिए । किनभने श्वेत पाठकहरूको अलिअलि रुचि अश्वेत लेखकहरूप्रति देखिन थालेको थियो ।


सुरुसुरुमा त प्रकाशकहरूले उनलाई नाम मात्रको पारिश्रमिक दिएका थिए । त्यति बेला निस्किएका उनका किताबहरूमाथि ‘न्युयोर्क टाइम्स’ ले गरेका समीक्षा निरुत्साहित गर्ने खालका मात्र थिए । तर पनि उनले कहिल्यै हिम्मत हारिनन् । उनी प्रायःजसो सानो विचारबाटै अन्तर्मन्थन गर्थिन् र लेखनको पृष्ठभूमि तयार पार्थिन् । त्यो रोचक पनि हुन सक्थ्यो र पट्यारलाग्दो पनि । उनी त्यसको पनि हेक्का राख्थिन् । आफ्ना काल्पनिक पात्रलाई पूर्ण नियन्त्रणमा राख्न रुचाउने यी लेखिकाले एक अन्तर्वार्तामा ‘यौन र यौन सम्बन्धबारे लेख्नु कठिन हुने र यसलाई विस्तारमा लेख्न नहुने’ भन्ने भनाइ राखेकी थिइन् । ‘यौन भनेको यस्तो कुरा जसबारे थोरै मात्र लेखेर पाठकलाई आफैं उत्तेजनामा आउन दिनुपर्छ । कुनै महिलाको शारीरिक अंग वर्णन गर्नका लागि त्यसबारे विस्तारमा लेख्नेबित्तिकै लेखक, लेखक नभएर स्त्री रोग विशेषज्ञजस्तो हुन पुग्छ । कति लेखक अपशब्दको प्रयोग गरेर निकै रमाउँछन् । त्यस्ता लेखनको प्रभाव क्षणिक हुन्छ’ भन्ने उनको मान्यता थियो । आफ्नो लेखाइ त्यस्तो हुँदैन होस् भन्नेमा उनी प्रतिबद्ध थिइन् ।


यसरी अश्वेत नारीहरूको पीडा र मर्मलाई शब्दमा उतार्ने मोरिसन सन् १९८९ देखि प्रिन्सटन विश्वविद्यालयमा प्रोफेसर अफ हुम्यानेटिजका रूपमा कार्यरत थिइन् । पछिल्लो समय आफ्ना परिवारसित न्युयोर्कमा आफ्नो बुढेसकाल बिताइरहेकी उनी मृत्यु हुँदा ८८ वर्षकी थिइन् । खासगरी अश्वेत जिन्दगीका अनेकन विषम भोगाइहरूका जीवन्त अनुभूतिलाई आकार दिएर असंगतिबाट उत्पन्न स्थितिसँगै आफ्ना मौलिक संस्कृतिसँग सम्बन्धित विषयको उठानमा उनको कलम विश्व साहित्यिक फाँटमा दरिलो स्तम्भ भएर उभिरहनेछ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : श्रावण २५, २०७६ ११:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्