१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सम्झना : मौनमा मोरिसन

ईश्वर बुढाथोकी

बाटो बिराएर सबभन्दा धेरै गल्ती सायद मृत्युले नै गर्छ  । नत्र त अगस्ट ५ को रात विश्वको साहित्यिक अकाशबाट टोनी मोरिसन नामको एउटा प्रकाशपुञ्ज सधैँका लागि अस्ताउने नै थिएन  ।

सम्झना : मौनमा मोरिसन

मोरिसनको मृत्यु ‘मृत्यु’ स्वयम्ले पनि सच्याउन नसक्ने गरी गरेको ‘गल्ती’ थियो । बाराक ओबामाको कार्यकालमा उनलाई स्वतन्त्रताको राष्ट्रपतीय मेडलद्वारा सम्मान गरिएको थियो । उनको मृत्युलगत्तै ओबामाले त्यही २०१२ को सम्मान कार्यक्रममा सँगै खिचिएको तस्बिर राख्दै गहिरो श्रद्धाञ्जली दिए । उनले ट्विटरमा लेखे, ‘मोरिसन एक राष्ट्रिय गहना थिइन् । उनी पृष्ठहरूमा जतिकै व्यक्तिगत रूपमा पनि मनमुग्ध पार्ने उत्तम कथाकार थिइन् । उनका लेखहरू सुन्दर र अर्थपूर्ण चुनौती थिए । हाम्रो विवेक तथा नैतिक कल्पनाका लागि एक छिन भए पनि उनले र मैले एउटै हावामा श्वास लिन पाउनु मेरो लागि ठूलो उपहार थियो ।’


अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको विषयमा भने अनलाइन सामाचारहरूमा व्यंग्यवाण सुरु भइसकेको छ— के ट्रम्पलाई टोनी मोरिसनको बारेमा थाहा छैन ? हुन पनि ट्रम्पको निर्वाचनको लगतै २०१६ मा ‘न्युयोर्कर’ मा प्रकाशित मोरिसनको एक निबन्धमा उनले धेरैले जस्तै राष्ट्रपति ट्रम्पले पनि हिंसात्मक तथा जातीय धारणाहरूलाई सुरक्षित किनारा लगाउने भविष्यवाणी गरेकी थिइन् । यो लेख तयार पार्दासम्म ट्रम्पको कुनै आधिकारिक धारणा सार्वजनिक भैसकेको छैन ।भावनालाई पनि आफ्नो भाषाको नियन्त्रणमा राख्न सक्ने बेग्लै शक्ति र सामर्थ भएकी मोरिसनले उज्यालोको मसीमा आफ्नो कलमलाई चोपेर अँध्यारोमा यसरी पोखेकी थिइन् मानौँ उनले पोखेको मसी तेलका ती चम्किला थोपाहरूजस्तै हुन् जो संसारलाई डुबाउने समुद्रमाथि पनि तैरिरहेका छन् । तिनलाई डुबाउने तागत समुद्रसँग त के कुनै सुनामीसित पनि छैन ।


आफ्नो अभिव्यक्तिलाई कलात्मक रूप दिने मामिलामा धेरै नै कहलिएकी यी अश्वेत लेखिकाको जन्म सन् १९१८ को फेब्रुअरी १८ मा अमेरिकाको ओहायो राज्यमा भएको थियो । यिनको वास्तविक नाम कोल अर्डेलिया उफर्ड थियो । आफ्नो समयकी अत्यत्तै प्रभावशाली लेखिका मोरिसनको प्रभाव पछिल्लो समयमा पनि उत्तिकै थियो । पुरस्कारको सन्दर्भमा पनि मोरिसन निकै भाग्यमानी लेखिका मानिन्थिन् । त्यो किनभने सन् १९९३ मा उनलाई नोबेल पुरस्कार दिँदा पुरस्कारका लागि मनोनीत हुनेको सूचीमा उनको नाम अटाएकै थिएन । तैपनि उनलाई अश्वेतहरूका जीवानुभवमाथि लेखेको भन्दै नोबेल पुरस्कार दिइएको थियो । त्यतिबेला उनको लेखनस्तरलाई ‘आश्चर्यजनक रूपमा श्रेष्ठ’ भनिएको थियो । तत्कालीन पुरस्कार समितिका सचिव स्टिभ एलनले भनेका थिए, ‘विश्वास नै हुँदैन एउटा लेखकका ६ वटा उपन्यास के कारणले समान रूपमा श्रेष्ठ हुन सक्छ ?’


उनको साहित्यिक हैसियतको उचाइको अघिल्तिर पुरस्कारको कद होचो थियो । त्यसैले पनि कसैले उनको विरोध गरेनन् । स्विडिस एकेडेमीको यो निर्णयलाई साहित्यिक दुनियाले पनि अनुमोदन गर्‍यो । सन् १९७७ मा प्रकाशित ‘सङ्ग अफ सोलोमन’ को प्रकाशन पछि उनी अत्यधिक पाठकको आँखामा परेकी थिइन् । श्वेत र अश्वेत दुवैथरीका पाठकले उनलाई खुब रुचाउन थालेका थिए । त्यसको एक दशकपछि उनको अर्को उपन्यास ‘बिलोभेड’ प्रकाशित भएको थियो । यो उपन्यास कतिसम्म लोकप्रिय भयो भने यस किताबलाई कुनै राष्ट्रिय पुरस्कार नदिएको भनेर खेद व्यक्त गर्दै ‘न्युयोर्क टाइम्स बुक रिभ्यु’ मा हज्जारौँ पाठकका पत्रको लस्कर नै लाग्यो । एउटा इमानदार लेखकका लागि योभन्दा ठूलो पुरस्कार अरू के हुन सक्ला ? यसपछि उनले पुलित्जर पुरस्कार पनि पाइन् । पाठकीय दबाब त थियो नै तर पुरस्कार समितिले सफाइ दिँदै भनेको थियो ‘उनलाई प्रचारको दबाबले होइन, रचनात्मक श्रेष्ठताको कारणले पुरस्कार दिइएको हो ।’


कुनै बेला मोरिसनलाई पनि गरिबी र कष्टले खलपात्रले झैँ खेद्नुसम्म खेदेको थियो । तर उनले दृढता, मिहिनेत र इच्छा शक्तिले तिनलाई पराजित गरेकी थिइन् । जीवन निर्वाहका लागि भेटेसम्मका काम गर्दै लेखनमा होमिएकी थिइन् । वासिङ्टनको हावर्ड विश्वविद्यालय हुँदै कोर्नेल विश्वविद्यालयबाट उनले आफ्नो औपचारिक अध्ययन पूरा गरिन् । स्नातकोत्तर अध्ययनका क्रममा उनले बिलियम फाक्नर र भर्जिनिया उल्फका सिर्जनामा आत्महत्या गर्ने पात्रहरूमाथि शोधपत्र लेखेकी थिइन् । त्यसपछि टेक्सास र हावर्ड विश्वविद्यालयमा नै अंग्रेजी पढाउन थालेकी उनले हावर्डमै पढाउने क्रममा हेराल्ड मोरिसन नाम गरेका एक आर्किटेक इन्जिनियरसित विवाह गरिन् । दुई छोरा जन्मिएपछि उनीहरूको दाम्पत्य जीवन टुङ्गियो । उनले हावर्ड छोडिन् र न्युयोर्क आएर एक प्रकाशन गृहमा पाठ्यपुस्तकको सम्पादनको कार्य गर्न थालिन् । एकातिर जागिर अर्कोतिर लेखन र बालबच्चा । उनको व्यस्तता बढ्यो । उनी बिहान सबेरै उठ्थिन् र छोराहरू उठ्नुअघि नै लेख्न बस्थिन् । उनी आफ्नो सिर्जनालाई सकुन्जेल परिमार्जन गर्थिन् । सुन्दा अचम्म लाग्न सक्छ आफ्ना सिर्जनालाई ६ देखि १३ पटकसम्म परिमार्जन गर्न पनि उनी अल्छी मान्थिनन् ।


मोरिसनले आफ्ना कुनै पनि उपन्यासमा निजी जीवनकथालाई प्रतिविम्बित गरेकी छैनन् । बरु अश्वेत नारीहरूका सामाजिक स्थिति र तिनका अनुभव, अनुभूतिलाई उपन्यासमा उतारी रहिन् । उनले आफ्ना लेखनमा समाजका यथार्थ, संघर्ष तथा इच्छा आकांक्षालाई शक्तिशाली रूपमा प्रस्तुत गर्केी छन् । मोरिसनलाई नोबेल पुरस्कार दिने घोषणा भइरहँदा जर्मनीको फ्र्यांकफर्टमा विश्व पुस्तक मेला चलिरहेको थियो । मेलाका कुनै पनि स्टलमा उनका पुस्तकहरू राखिएका थिएनन् । पुरस्कारको घोषणा लगत्तै गोदामतिरै थन्किएका उनका पुस्तकलाई मेलामा लगिएको थियो । त्यसपछि प्रकाशकले थेग्नै नसक्ने गरी उनका किताबहरू बेचका थिए । बजारमा पनि उनका किताबको माग धेरै हुन थाल्यो । उनको तेस्रो पुस्तक ‘सङ्ग अफ सोलोमन’ लेख्नुअघिसम्म लेखन उनको प्राथमिकतामा परेकै थिएन । एउटी महिला त्यसमाथि अश्वेत वर्णको कारण उनी आफूलाई आत्मविश्वासका साथ लेखक हुँ भन्न पनि सक्दिनथिन् । सुरुआतका उनका पुस्तकहरू उनको रङकै कारण छापिएका थिए । किनभने श्वेत पाठकहरूको अलिअलि रुचि अश्वेत लेखकहरूप्रति देखिन थालेको थियो ।


सुरुसुरुमा त प्रकाशकहरूले उनलाई नाम मात्रको पारिश्रमिक दिएका थिए । त्यति बेला निस्किएका उनका किताबहरूमाथि ‘न्युयोर्क टाइम्स’ ले गरेका समीक्षा निरुत्साहित गर्ने खालका मात्र थिए । तर पनि उनले कहिल्यै हिम्मत हारिनन् । उनी प्रायःजसो सानो विचारबाटै अन्तर्मन्थन गर्थिन् र लेखनको पृष्ठभूमि तयार पार्थिन् । त्यो रोचक पनि हुन सक्थ्यो र पट्यारलाग्दो पनि । उनी त्यसको पनि हेक्का राख्थिन् । आफ्ना काल्पनिक पात्रलाई पूर्ण नियन्त्रणमा राख्न रुचाउने यी लेखिकाले एक अन्तर्वार्तामा ‘यौन र यौन सम्बन्धबारे लेख्नु कठिन हुने र यसलाई विस्तारमा लेख्न नहुने’ भन्ने भनाइ राखेकी थिइन् । ‘यौन भनेको यस्तो कुरा जसबारे थोरै मात्र लेखेर पाठकलाई आफैं उत्तेजनामा आउन दिनुपर्छ । कुनै महिलाको शारीरिक अंग वर्णन गर्नका लागि त्यसबारे विस्तारमा लेख्नेबित्तिकै लेखक, लेखक नभएर स्त्री रोग विशेषज्ञजस्तो हुन पुग्छ । कति लेखक अपशब्दको प्रयोग गरेर निकै रमाउँछन् । त्यस्ता लेखनको प्रभाव क्षणिक हुन्छ’ भन्ने उनको मान्यता थियो । आफ्नो लेखाइ त्यस्तो हुँदैन होस् भन्नेमा उनी प्रतिबद्ध थिइन् ।


यसरी अश्वेत नारीहरूको पीडा र मर्मलाई शब्दमा उतार्ने मोरिसन सन् १९८९ देखि प्रिन्सटन विश्वविद्यालयमा प्रोफेसर अफ हुम्यानेटिजका रूपमा कार्यरत थिइन् । पछिल्लो समय आफ्ना परिवारसित न्युयोर्कमा आफ्नो बुढेसकाल बिताइरहेकी उनी मृत्यु हुँदा ८८ वर्षकी थिइन् । खासगरी अश्वेत जिन्दगीका अनेकन विषम भोगाइहरूका जीवन्त अनुभूतिलाई आकार दिएर असंगतिबाट उत्पन्न स्थितिसँगै आफ्ना मौलिक संस्कृतिसँग सम्बन्धित विषयको उठानमा उनको कलम विश्व साहित्यिक फाँटमा दरिलो स्तम्भ भएर उभिरहनेछ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : श्रावण २५, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?