२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सगरमाथाको उचाइ कति ?

कुम्भराज राई

जर्ज एभरेस्टले करिब ६ वर्ष लगाएर सन् १८५५ मा सगरमाथाको उचाइ पत्ता लगाएका थिए  । तत्कालीन ब्रिटिस इन्डिया सरकारले नापेको नेपालका हिमालहरूको उचाइलाई हालसम्म आधिकारिक मानिदै आएको छ  ।

सगरमाथाको उचाइ कति ?

१ सय ६४ वर्ष पहिलेको सर्वेक्षणमा भर पर्दै आएको नेपाल सरकारले २०७२ को भूकम्पपछि आफैंले सगरमाथाको उचाइ नाप्ने काम सुरु गरेको छ ।


२०७२ को भूकम्पपछि चीन सरकारले आफ्नो देशको तर्फबाट सगरमाथाको उचाइ नापेको थियो । त्यतिबेला चीनले चार मिटर उचाइ घटेको दाबी गरेको थियो । सगरमाथाको उचाइ नाप्ने काम त्यति सजिलो छैन । सगरमाथाको उचाइ नाप्ने कामको जिम्मा नापी विभागले लिएको छ । विभागले प्रमुख सर्वेक्षण अधिकृत सुशील डंगोलको नेतृत्वमा छ सदस्यीय समिति गठन गरेर काम सुरु गरेको हो ।सन् २०१८ देखि सुरु भएको सगरमाथा मापनको काम सन् २०१९ भित्र सक्ने लक्ष्य छ । हालसम्म फिल्डमा गर्नुपर्ने ९० प्रतिशत काम सकिएका छन् । ‘सगरमाथा उचाइ मापन समिति’ का संयोजक सुशील डंगोलका अनुसार सगरमाथाको उचाइ नाप्ने विधि, हालसम्म भएका कामका बारेमा यसरी प्रस्ट हुन सकिन्छ ।


जिओड (जीईओआईडी) विधि
जिओड मोडल (विधि) उचाइ मापन गर्ने विश्वसनीय र आधुनिक विधि हो । यही विधिमा सगरमाथाको उचाइ मापन गर्ने काम भइरहेको छ । यो विधिको खास काम समुद्रको आधारभूत सहत पत्ता लगाएर उचाइ नाप्नु हो । पृथ्वीको गुरुत्वाकर्षणले गर्दा समुद्री सतह तलमाथि हुने गर्छ । जहाँ गुरुत्व बढी हुन्छ त्यहाँ समुद्र गहिरिन्छ । जहाँ गुरुत्व कम हुन्छ, त्यहाँ समुद्र सतह केही माथि उठेको हुन्छ ।मापन गरिनुपर्ने उचाइको सीधा मुनि रहेको समुद्रको आधारभूत सतह पत्ता लगाउन यो विधि विश्वसनीय मानिन्छ । यसलाई अंग्रेजीमा जिओड मोडल भनिन्छ । यसमा पृथ्वीको गुरुत्वसँगै पृथ्वी घुम्ने प्रक्रियाको असरसमेत मापन गरिन्छ । सगरमाथाको शिखरदेखि सीधा मुनिको समुद्र सतह नाप्न सकिन्न । त्यसैले यसको आसपासको सतहको गुरुत्व नापेर सगरमाथामुनिको समुद्र सतह पत्ता लगाउने काम गरिन्छ ।


हाल नापी विभागले सगरमाथाको दायाँ र बायाँ ५०–५० किलोमिटर दूरीमा ३ सयवटा नियन्त्रण विन्दु कायम गरेको छ । ती नियन्त्रण विन्दुबाट जीपीएस र ग्राभिटी सर्वेको काम भइरहेका छन् । ती तीन सयवटा विन्दु दोलखा, सोलुखुम्बु, संखुवासभा, रामेछाप, ओखलढुंगा, खोटाङ, भोजपुर, सिन्धुली, उदयपुर, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा छन् । ती नियन्त्रण विन्दुहरू तराईमा २५ किलोमिटरको अन्तरमा राखिएको छ । सिन्धुलीदेखि माथिको पहाडी र हिमाली जिल्लामा १० किलोमिटरको अन्तरमा स्थापित गरिएका छन् । हिमाली क्षेत्रमा सर्भेमा हेलिकप्टर प्रयोग गरिएको थियो । पहाडी जिल्लामा वर्षाको कारण सर्भेको काम रोकिएको छ ।


नापी विभागकै टोलीले ‘जीएनएसएस’ नाम गरेको जीपीएस सगरमाथाको टुप्पोमा पुर्‍याएर फर्किसकेका छन् । टोलीले सगरमाथा शिखरको हिउँ सतह, तापक्रम, वायुमण्डलीय चापलगायत मापन गरेर तथ्यांक संकलन गरेको छ । ती जीपीएसमा देखिएको उचाइ र अन्य तथ्यांक सार्वजनिक गरेको छैन । किनभने जीपीएसमा देखिने उचाइ नै अन्तिम हो भनेर भन्न सकिन्न । त्यसका लागि सबैभन्दा पहिले जिओड विधिको काम पूरा गर्नुपर्ने हुन्छ ।


ट्रिगोनोमेट्रिकल लेभलिङ
त्रिकोणमितीय लेभलिङ भन्नाले एउटा ठाउँबाट अर्को ठाउँको दूरी र उचाइबीचको कोण नाप्नु हो । यसका लागि मुख्यगरी १२ वटा प्रमुख विन्दुहरू तोकिएका छन् । ती विन्दुहरू सगरमाथाको टुप्पो देखिने स्थानमा छन् । सोलुखुम्बु, संखुवासभा, भोजपुर, खोटाङ र सिरहामा यी विन्दुहरू छन् । यसको बेस (आधार) चाहिँ सिरहाको माडरलाई लिइएको छ । भारतको जयनगरको उचाइलाई आधार मानी नजिकै सिरहाको माडरमा त्यसलाई सम्पर्क स्थापित गरेर आधार बनाइएको हो । टुप्पोसँग रिलेट (सम्पर्क) गर्नलाई १२ वटा विन्दु कायम गरिएका हुन् । यी ठाउँहरूबाट सगरमाथासँगको दूरी र उचाइ गरी तीनवटा कोण नापिन्छ । अन्तमा जिओड मोडलको तथ्यांक प्लस (जोड) मा आयो भने सगरमाथाको टुप्पोमा पुर्‍याइएको जीपीएसको तथ्यांकसँग जोडिन्छ । यदि माइनस (घटाउ) मा आयो भने जीपीएसको तथ्यांकसँग घटाइन्छ । त्यसपछि आउने तथ्यांक नै सगरमाथाको उचाइ हुनेछ ।


जनशक्ति र बजेट
समितिका अनुसार सगरमाथा मापनको काम सकिँदासम्म कम्तीमा ८० देखि ८८ जना जनशक्ति लाग्ने अनुमान छ । कुल बजेट २५ करोड अनुमान गरिएको छ । अबको ५ महिनाभित्र अन्तिम उचाइ सार्वजनिक हुनेछ । नेपाल सरकारले सगरमाथा मापन गर्दा यसबाट धेरैवटा फाइदा हुने नापी विभागले जनाएको छ । सगरमाथाको उचाइ मापनका लागि स्थापित गरिएका नियन्त्रण विन्दुहरू अन्य हिमाल र पहाडका उचाइ नाप्नका लागि पनि प्रयोग गर्न सकिन्छ । सोही विन्दुलाई आधार मानेर विकासका अन्य पूर्वाधार निर्माण गर्न सकिने विभागको भनाइ छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?