३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यात्रा : पेरिसका पत्र–पत्र

रमेश भुसाल

तेस्रो पटक फ्रान्सको राजधानी पेरिस सहरको यात्रा अनि जानेका तीनवटा शब्द– बोजों (शुभदिन), मेसी (धन्यवाद) अनि मेसिबोकु (धेरै–धेरै धन्यवाद)  । १२ हात्ती बुझाएर काठमाडौंबाट दिल्ली पठाएको पासपोर्टले १५ दिनको भारत भ्रमण गरी फ्रान्स छिर्न पाउने स्टिकटमा आफूलाई सजाएर फर्केपछि बल्ल पेरिसयात्रा पक्का भएको थियो ।

यात्रा : पेरिसका पत्र–पत्र

गरिब मुलुकको नागरिक त्यसै पनि शंकाको घेरमा परिहाल्छ । कहाँ बस्छस्, के खान्छस्, तेरा साखासन्तानको नालीबेली देखा, बैंक खाताको फेहरिस्त बुझा, तँलाई केरकार गर्न हामीले खर्च गरेको समयको पारिश्रमिक बुझा । कति हो कति झन्झट । यति गरेपछि पनि जान पाउने कति नै हुन्छन् र ? पाएकोमा खुसी नै मान्नुपर्ने !

पश्चिम उडेपछि जहाजको पहिलो चौपारी उराठलाग्दो दोहा सहर । हाम्रा हज्जारौं मानिस पालिरहेको त्यो गर्मीमा पुग्दा बिहानको एक बजेको थियो । ढिलो गरी उडेको जहाजले समयमा पुर्‍याउने कुरा भएन । ढिलाइ काठमाडौं एयरपोर्टको अर्को नाम हो । दोहाबाट पेरिस उड्ने जहाजले पखेटा चलाउन तोकिएको समयका लागि ३० मिनेट बाँकी नै थियो । चढ्न पाइएला कि भनेर हस्याङफस्याङ गर्दै जहाजबाट निस्कँदै थिएँ अगाडि एक जना मानिस काठमाडौं लेखेको प्लाकार्ड बोकेर काठमाडौं भनेर चिच्याउँदै रहेछन् । ‘तपाईंको जहाज छुट्यो अब भोलि बिहान पेरिस उड्ने जहाजको बोर्डिङ लिनुस् । लगेज अर्को जहाजमा सार्न भ्याइएन,’ उनले भने । खानाको कुपन लिनु र रातभरि यतै हल्लिनु भन्ने सन्देशसहित ८ घण्टापछिको बोर्डिंङ पास दिए ।


दुईतले ए ३८० जहाज बिहानको घाम ताप्दै पर्खिरहेको थियो । व्यावसायिक उडान भर्ने यो विश्वकै सबैभन्दा ठूलो जहाज हो तर खासै बजार लिन सकेन । त्यसैले यसको निर्माण सन् २०२१ मा बन्द गर्ने घोषणा फ्रान्समै रहेको एयरबस कम्पनीले गरिसकेको छ । १८ औ शताब्दीका चर्चित शासक नेपोलियन बोनापार्टको सहरमा पुग्न म हतारिन्छु । होटल पुगें तर ठगिएर । विमानस्थलबाहिरका ट्याक्सी नसोधी चढें । कहिलेकाहीं विश्वास धेरै गर्नाले पनि धोका पाइन्छ । झर्ने बेला मलाई अधबैंसे चालकले ५० युरो माग्यो । मिटरमा आएको भए ३० पर्थ्यो । भाषा बुझ्दैन वा नबुझेजस्तो गर्छ, म प्रतिवाद गर्छु उसले बुझ्दैन । एयरपोर्ट नो मिटर भन्ने मात्रै उत्तर दिन्छ । पैसा तिरें ।


डेढ सय डलर पर्ने कोठामा अलि राम्रोसँग तन्किन पनि मिल्दैन । खाटको वरिपरि हिँड्न मिल्ने बाटो छ अनि एट्याच बाथरुम । भित्तामा टाँसिएको टेबल र पलङबाट दुई बित्ता फरकमा बस्ने कुर्सी । महँगो पेरिसमा यो कोठा चानेचुने कहाँ हो र ? १८ हजार तिरेको भए त हाम्रा होटलमा उस्तैपरे बोकेर कोठामा पुर्‍याइदिन्थे तर त्यहाँ न त लगेज भित्र लगिदिने सहयोगी न त जानेबित्तिकै सलाम । हाम्रामा जस्तो सस्ता मजदुर पेलाउन साहुहरूले कहाँ पाउँछन् र युरोपमा ! सबै काम रिसेप्सनमा बसेका एक जनाले गरेका छन् । एटीएम कार्डजस्तो चाबीले ढोका खुलेन । म तल झरें । कार्ड हाल्दा रातो बल्यो कि हरियो ? उसले सोध्यो । ‘कुनै पनि बलेन,’ मैले भनें । अहो ब्याट्री सकिएछ भन्दै ऊ भित्र छिर्‍यो, पेच खोल्ने औजार र एकजोर ब्याट्री लिएर आफैं कोठामा पुगेर ब्याट्री फेर्‍यो । यता भए त साहुजी गमक्क परेर काउन्टरमा बस्ने साहुनी छेउमा टीभी हेर्ने अनि कामदारलाई अह्राउने । एउटाले ब्याट्री पुर्‍याइदिन्थ्यो अनि अर्काले फेर्थ्यो होला । लगेज उठाइदिने छुट्टै, अनि गेटमा सलाम गर्ने बेग्लै ।


डउफिन विश्वविद्यालयको ठूलो हलमा विश्वभरका मानिस भेला भएर पत्रकारिताबारे छलफल गर्दै छन् । प्राध्यापकहरू कसरी राम्रो पढाउन सकिन्छ भनेर नयाँ नयाँ तरिका प्रस्तुत गर्दै छन् । प्रविधिमा काम गर्नेहरू कसरी समाचार धेरै मानिससम्म पुर्‍याउने र झूटा समाचारबाट बच्ने भनेर सिकाउँदै छन् । प्रविधिको दुनियँमा झूटको खेती गर्न सजिलो भएको छ अनि सत्यको पक्षमा उभिन झन् झन् कठिन । एक जना अमेरिकी प्राध्यापकले एउटा सेसनमा उद्घोष गर्छन्, ‘अबको विश्व भर्चुयल रियालिटी अनि आर्टिफिसियल इन्टेलिजेन्सको हो । जसले यो प्रविधिमा फड्को मार्छ त्यो नै अबको नयाँ अर्बपति हो ।’ के थाहा अर्को मार्क जुकरबर्ग यसै कोठामा पो छ कि ? त्यो पत्रकार पनि हुन सक्छ,’ उनले थपे ।


कुनै घटना उस्तै परिस्थितिमा देखाउने वा कुनै स्थानमा भइरहेको घटनालाई त्यही पुगेर हेरेजस्तो भान पार्ने गरी देखाउन सक्ने प्रविधिलाई भर्चुयल रियालिटी भनिन्छ । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् प्राप्त तथ्यांकलाई केलाएर वा पहिला गरिएका क्रियाकलापलाई आधार मानेर कम्प्युटरले स्वनिर्णय गर्ने प्रविधि । दिमाग भएको कम्प्युटरको प्रयोग र विकास । ‘यी प्रविधिको विकास कसरी हुन्छ त्यसले समाचारकक्षहरूलाई पनि धेरै असर पार्नेछ,’ प्राध्यापक थप्छन् ।


म पनि बोल्न निम्त्याइएको थिएँ । यो शताब्दीको सबैभन्दा ठूलो समस्या भनिएको जलवायु परिवर्तन र पृथ्वीको बिग्रँदो अवस्थाबारे । प्यानलमा थिए युगान्डा, फ्रान्स, नेपाल र इथियोपियाका ४ जना पत्रकार र प्राध्यापक । छलफल राम्रै भयो । उता बोल्दै गर्दा देशमा भने चुरे र महाभारत पहाड काटेर बेचौं अनि मालामाल भइन्छ भनेर बंगलादेशका लागि राजदूत सिफारिस वंशीधर मिश्रले सांसदहरूलाई खर्बौं डलरको योजना सुनाए भनेर समाचार छापिएको छ । महामहिमको महाभारत वाणी सुनेर मुर्मुरिँदै पेरिसका फराकिला सडकपेटीमा खुट्टा बजारें । हरेक दिनजसो प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले उट्पट्याङ कुरा गर्ने मुलुकमा यो के नौलो कुरा भो र !


सेइन नदी छेउको कलात्मक र भव्य टाउन हलमा पेरिस सहरको प्रशासनिक कार्यालय छ । त्यसैमा पेरिसकी मेयरले सहभागीलाई भव्य भोज दिइन् । उपमेयर र मेयर दुवै महिला छन् पेरिसमा । समारोहमा उपमेयर भन्छिन्, ‘यो सहर विद्वान्हरूलाई सधैं स्वागत गर्छ । हामी ज्ञानमा विश्वास गर्छौं । यो भव्य अनि सुन्दर हलको भुइँ मात्र नहेर्नुहोला घरीघरी मास्तिर सिलिङतिर पनि हेर्न नबिर्सनुस् नि,’ उनले भनिन् । सबै मास्तिर हेर्छन् । पूरै सिलिङमा विभिन्न मनमोहक पेन्टिङ छन् । पूरै हल गफिएको छ । ७० मुलुकका मान्छेका आआफ्ना कथा छन् । सुनाउने र सुन्नेहरूलाई बुनेको छ फ्रान्सेली वाइनले । हल्का गर्मी छ तर पंखा वा एसी चलाइएको छैन । त्यो सम्मेलनभरि कतै पनि एसी चलाइएन । गर्मी भयो भने हम्कनु भनेर आयोजकले कागतको हाते पंखा झोलामा हालिदिएका थिए । धेरैले त्यसको प्रयोग गरे सम्मेलनभरि । राम्रै भो ।


जेरेमी कपलान विश्वप्रसिद्ध अमेरिकी पत्रिका ‘टाइम’ म्यागजिनमा काम गर्थे केही वर्षअघिसम्म । अहिले न्युयोर्कमा पत्रकारिता पढाउँछन् । म वाइनको गिलास बोकेर उनीतर्फ हानिएँ । रातको ९ बजिसक्दा पनि यहाँ घाम डुबेको छैन । डुब्न लागेका घामका किरण पोखिएको पेरिस सहर निकै सुन्दर देखिँदै छ ।


‘किन छाड्यौ त टाइम पत्रिकाको जागिर, जेरेमी,’ मैले सोधें ।


‘हामीसँग समय धेरै कम छ रमेश । बाइलाइनको आयु छोटो हुन्छ, आज लेख्यो केही दिनमा हराउँछ । फेरि लेख्यो अरू केही समयपछि उस्तै । म लामो समय प्रभाव पार्ने काम गर्न चाहन्थें । पढाउनु वास्तवमा लामो समय प्रभाव पार्न सक्ने काम होजस्तो लागेर यता लागें,’ उनले भने ।


अर्को दिन बिहान चिनियाँ पूर्वसहकर्मी होङ चाओको मेसेज लिंक्डइनमा झर्‍यो– ‘तिमी पेरिसमा हो र ? म पनि यतै छु । कफी खान भेटौं ।’ अक्सर चिनियाँहरू आफूले यसरी सम्पर्क गर्दैनन् । धेरैजसो त भेटुन्जेलका मात्रै साथी हुन्, छुटेपछि सकियो । ‘म अहिले सेइन नदीको देब्रेपट्टि जुसिउ स्टेसननजिकै छु, मिल्छ भने केहीबेरमा भेटौं,’ मैले उत्तर फर्काएँ । उनी एक घण्टामा आइपुगिन् । हामी हिँड्न निस्कियौं मध्यपेरिसका सडकमा । बाटोमा उनी रोकिइन् । ‘हेर त्यो लेखक अर्नेस्ट हेमिङ्वे बसेको घर हो । उनी आफ्नी प्रथम श्रीमतीसँग यहाँ बस्थे,’ उनले भनिन् ।

होङ चाओ आफ्नो फ्रान्सेली ब्वाईफ्रेन्डसँग पेरिसमा बस्दै आएकी छन् ।


‘अनि चीन किन छाड्यौ त ?’ मैले सोधें ।


‘तिमीलाई थाहा नै छ नि, चीनमा पत्रकार हुन् सजिलो छैन,’ उनले भनिन् ।


‘त्यो त कतै पनि छैन नि, होइन ?’


‘हो, तर चीनमा साँच्चै गाह्रो छ । म अब यतै बस्छु, चीन फर्किन्नँ होला ।’


‘बा–आमाले चिन्ता गर्दैनन् ?’


‘गर्छन्, तर म फर्कन चाहन्नँ । म त्यहाँ पत्रकारिता गर्न सक्दिनँ,’ उनले भनिन् ।


हामी अगाडि बढ्यौं । केही बेरमा उनी फेरि रोकिइन्, ‘तिमी म्यारी किउरीलाई चिन्छौ ?’ होंगचाउले सोधिन् ।


‘चिन्न त चिन्दिनँ तर धेरै पढे सुनेको छु,’


मैले भनें ।


रेडियोधर्मी विकिरणबारे अध्ययन गरेकी एक होनाहार महिला वैज्ञानिक । पछि त्यसैका कारण क्यान्सर भएर मरिन् । नोबेल पुरस्कार पाएकी थिइन् । त्यो पनि दुई पटक ।


‘यही हो उनले काम गरेको प्रयोगशाला । यहाँ उनको नाममा म्यारी क्युरी इन्स्टिटिउट खोलिएको छ,’ होंगचाओले भनिन् ।
होङ चाओसँग छुटेपछि गुगलको पछि लागेर म सेइन नदी किनारमा रहेको नोट्रे डाम पुगें । केही महिनाअघि जलेको ८ सय वर्ष पुरानो नोट्रे डाम चर्चले बिस्तारै मल्हमपट्टी लगाउँदै छ । मानिसहरू जलेर बाँकी रहेको नोट्रेडाम हेर्दै टोलाइरहेका थिए । कोही सेल्फी हान्दै । नदीको डिलमा परैसम्म मानिसहरू बसेर खाँदै अनि गफ गर्दै थिए । सेइन नदी फ्रान्सको दोस्रो लामी नदी हो जसको लम्बाइ झन्डै ८ सय किलोमिटर छ । बेलायत र फ्रान्स छुट्याउने इंग्लिस च्यानलमा पोखिने सेइन नदी पेरिस सहरबीचबाट नागबेली घुमेर बग्छ ।


म पनि सेइन नदी र मानिसहरूका क्रियाकलाप हेरर दुई घण्टा नदी किनारमै बसें । अगाडिपट्टि एक जोडी गोरा थिए । वाइनको बोतल सकाएपछि उनीहरूले विभिन्न रङ राख्न मिल्ने खोपे थाल निकाले र भुइँमा दुई इँटाबीचको सानो खाल्टोमा केही थोपा पानी पोखे । त्यसपछि दुइटा ब्रस निकाले अनि विभिन्न रङले बिस्तारै एकअर्काको अनुहार पोत्न पो थाले । सेइन नदी किनारमा डुब्दै गरेको घाम, पारिपट्टिको नोट्रेडाम अनि परसम्म देखिएको सुन्दर पेरिस सहरमा तिनीहरूले अनुहारमा पोतेको रङ कस्तो सुहाएको ! प्रेमको सहरमा रंगीन अनुहार !


सम्मलेनपछिका केही दिन पेरिस घुम्न छुट्याएको थिएँ । म मनभरि सेइन र आसपासको दृश्य लिएर मेरा स्कुले सहपाठीको कोठमा गएँ । ४–५ जना नेपाली सँगै बस्दा रहेछन् । भोलिपल्ट साथीसँगै बसेका म्याग्दीका एक जना दाइले भने, ‘जाम भाइ आज नेपालीहरू भेट्न ।’ टन्टलापुर घाममा पेरिसको उत्तरपूर्वमा पर्ने औवरभिल्स् आसपासमा हामी हिँड्यौं ।


‘हाम्रो फुटबल गिराउन्ड हो यो भाइ,’ केही बेर हिँडेपछि उनले देखाए । हामी भित्र छिर्‍यौं । ‘लंकेहरू पनि यतै रैछ,’ उनले थपे । श्रीलंकाबाट आउनेलाई नेपालीहरू ‘लंके’ भन्दा रहेछन् । लंकेहरूको एक हूल छहारीमा बसेर तास खेल्दै थिए । त्यसैको छेउमा ४ जना नेपाली केटा चाकल माडेर बसेका । निन्याउरा अनुहार । सबै गैरकानुनी रूपमा युरोपमा बसिरहेका । युरोपको सपनालाई पेरिसका सडकमा घोटाइरहँदा उनीहरूको अनुहारबाट मुस्कान हराइसकेको छ । बियर किन्ने पैसा उठाउँदै रहेछन् । चाहिने १० युरो जसमध्ये सात युरो बियरलाई अनि तीन युरो चुरोटलाई । सबैको गोजी टक्टक्याउँदा जम्मा ६ युरो पुग्यो । एउटाले त सुको छैन भन्यो । १० युरो कसैगरी पुगेन । मैले ४ युरो थपिदिएँ । लिन जाने को त भनेर एक छिन भनाभन गरे । एउटाले तँ जा भन्छ अर्कोले तँ । केही बेरको गलफत्तीपछि दुई जना जाने सहमति गरे । बियर र चुरोट लिएर फर्के ।


सहरमा बाँच्न संघर्ष गरिरहेका निम्न मध्यम वर्गीय मानिसहरूसँग हिँड्दा र संगत गर्दा बल्ल वास्तविक सहर देखिन्छ । अघिल्लो दिनको सेइन नदी किनार कस्तो सुकिलो थियो । कस्तो प्रेमिलो थियो । कस्तो शान्त थियो अनि कति मनोरम ! तर जब यहाँ बाँच्न संघर्षरतहरूको कथा सुनें त्यसपछि मलाई त्यो शान्त सेइन नदी एकाएक उर्लेजस्तो लाग्यो । कस्तो अशान्त । कस्तो डरलाग्दो !
‘दाइ कसरी आइपुग्नुभो त पेरिस ?’ मैले सोधें ।


‘हिँडेको त अमेरिका हो । कतिवटा देश हुँदै फ्रान्स आइयो कुरा नगरम् ।’


पेरिस आउने बेला भएपछि जहाजको ट्वाइलेटमा गएर पासपोर्ट च्यात्नु र फ्लस गरिदिनु भनेर दलालले भनेका थिए रे । उनले सुनाए, ‘ल्यान्ड हुन आधा घण्टाअघि जहाजको ट्वाइलेटमा पसें र भरत्तै पासपोर्ट च्यातें । लुलो कागत कच्याक कुचुक पार्दा डल्लो पर्‍यो । फ्लस गर्दा हावाले ह्वास्स पारेर लग्यो तर पासपोर्टको बाहिरको कडा कागत छिरेन । मुखले चबाएर कच्याकुचुक पारेर बल्ल बल्ल पासपोर्ट सबै फ्लस गरेपछि मन हल्का भयो,’ उनले सुनाए । छ महिना काम र खाना खोज्दै सडकमै सुतेछन् । १० वर्षमा बल्ल अस्थायी बस्ने कार्ड पाइयो । त्यसपछि पोहोर साल घर पुगेर आएका रहेछन् । भोलिपल्ट अर्का एक जना भाइ भेटिए म्याग्दीतिरकै । ‘बिहे गरेर हिँडेको । छोरो जन्मेर चार वर्षको भइसक्यो तर देख्न पाएको छैन । यता कागत बन्ने कहिले हो कहिले । फर्कौं आइसकियो । लाखौं खर्च भइसक्यो । बसौं २४ सै घण्टा मन–पेट पोल्छ, के गर्नु दाइ ?’ उनी सुसाए ।


अर्को दिन म फेरि एक्लै सेइन नदी किनार जाँदै थिएँ । १७ औं शताब्दीमा स्थापना गरिएको ओपेरा संगीत एकादमी छ त्यहाँनिर मेट्रोबाट झरें । बाहिर एक जनाले गीतार बजाएर गीत गाउँदै थिए भने अरू सयौं सुनेर बसेका थिए । बाटो काट्न लागेकी एक महिलालाई अलि पेलेर एउटा गाडी आयो तर जेब्राक्रसमै पुगेर रोकियो । उनले रिसाएर त्यो गाडीमा हात बजारिन् र बाटो काटिन् ।

सडक पार गर्नै लागिसकेकी ती महिलालाई गाडीका चालकले दौडिँदै आएर एक्कासि कपाल लुछेर भुइँमा लडाउन पो खोजे । कोट पाइन्टमा सजिएका भलाद्मीजस्ता देखिने अधबैंसे थिए ती चालक । महिलाले प्रतिवाद गरेर झापड हानिन् । सयौं मानिस हेरिरहेका छन् । दोस्रो पटक पनि कपाल लुछ्दासम्म ती महिलाले एक्लै प्रतिवाद गर्दै थिइन् । उनी भुइँमा लड्नै लागेको देखेपछि भने दुई जना केटा गएर त्यो मानिसलाई पकापक हाने र सडकमा लडाए । उसको चस्मा उडेर अलि पर बजारियो । अरू एक–दुई लात हाने ती केटाहरूले । एकै छिनमा एक हूल प्रहरी आइपुगे । महिलाको अधिकार अधिक भएको विकसित मुलुकको राजधानी सहरमा त्यसरी महिला पिटिएको देख्नुपर्‍यो । यो प्रेमको सहरमा कस्तो घृणा । अनि कस्तो आँट ! त्यसपछि ४ घण्टा कतैकतै केही बेर थकाइ मार्दै हिँडी मात्रै रहें । मेरो मस्तिष्क नै बिथोलियो । छेउको विश्वप्रसिद्ध लुभ्र संग्रहालयले पनि आकर्षित गरेन न त हिजो सेइन किनारमा देखेको जोडीले अनुहारमा दलेका रङले मेरो मन शान्त पार्न सक्यो । म हिँडी मात्र रहें ।


पेरिसमा अन्तिम साँझ । एन्भर्स स्टेसननेरको प्रसिद्ध साक्रे कुर चर्चनजिकै मेट्रोबाट झर्नै लाग्दा सँगै गएका भाइले हाम्रा अगाडिका दुई जना युवालाई देखाउँदे भने, ‘दाइ यी दुई जना चोर हुन् है बचेर हिँड्नुस् ।’ ‘कसरी थाहा पायौ ?’ मैले सोधें । ‘चोर त चिनिहालिन्छ, सधैं यहीं हिँड्नुपर्छ,’ उनले थपे । ती दुई जना युवा हाम्रो अगाडि थिए अनि उनीहरूको अगाडि एक वृद्ध गोरा दम्पती भर्‍याङ चढ्दै थिए । बूढाले पछाडिपट्टि झोला बोकेका थिए भने एक हातले महिलाको हात समातेर बिस्तारै उकालो लाग्दै थिए । भीड थियो । दुईमध्येको एक जनाले धकेलिएजस्तो गरेर ती वृद्धको झोलाको चेन खोल्यो । स्वाट्ट के झिक्यो र अर्कोलाई पास गर्‍यो । फेरि अर्को चेन खोल्यो र त्यसैगरी अर्को सामान पास गर्‍यो । सबैका अगाडि तिनीहरूले वृद्धलाई लुटे तर कसैले बोलेन । ‘भन्दिऊँ न हुन्न,’ मैले भाइलाई सोधें ।


‘हुँदैन दाइ हुँदैन । भाषा बुझिँदैन हामीले । बुझे पनि यहाँ कसैले बोल्दैन । चोर समात्ने काम पुलिसको हो भन्छन् यहाँ । यस्तै हो छाड्नुस्,’ उनले भने ।


हामी चर्चमा पस्न उकालो लाग्यौं । सयौं मानिस त्यो ढिस्कोबाट पेरिस हेर्दै थिए, मैले भने ती वृद्धलाई सम्झिरहें । हामी झिलिमिली पेरिसको फोटो खिचौंला भनेर चर्चअगाडिको खुट्किलामा बस्यौं । भाइले फेरि भने, ‘दाइ, ऊ त्यो पनि चोर हो ।’ हामी दुई घण्टा तलमाथि गर्दा मलाई उनले कम्तीमा दस जना सम्भावित चोर देखाए । यस्तो लाग्न थाल्यो पेरिसमा चोर मात्रै बस्छन् । बेलुकी कोठामा बसेका अर्का दाइलाई चोरको घटना सुनाउँदै थिएँ उनले थप चोरीका घटनाहरू सुनाए, ‘मेरो आइफोन पनि अघिल्लो महिना चोरी भयो । पल्लो अपार्टमेन्टमा पनि नेपाली परिवार बस्छन् । केही महिनाअघि सुन, पैसा सब चोरेछ, कोही नभएको बेला पारेर । चोरको बिगबिगी छ पेरिसमा । बचेर हिँड्नुपर्छ है ।’

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?