कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लसिथ मलिङ्गा : योर्कर किङ

हिमेश

आधुनिक क्रिकेट खेलाडी कस्ता हुनेछन् ? लसिथ मलिङ्गाजस्ता हुनेछन्  । पछिल्ला केही वर्षमा क्रिकेट खेलमै ठूल्ठूला परिवर्तन आएका छन्  । अहिले क्रिकेट त्यस्तो रहेन, जस्तो सन् सत्तरी अगाडिसम्म हुने गर्थ्यो । अब त्यस्तो पनि रहेन, जस्तो सन् २००० सम्म हुने गर्थ्यो ।

लसिथ मलिङ्गा : योर्कर किङ

अब क्रिकेट त्यस्तो भएको छ, जस्तो मलिङ्गाका खेलेका छन् । यिनै श्रीलंकाली खेलाडीले हालै वान–डे क्रिकेटबाट संन्यास लिए । टेस्ट क्रिकेटबाट उनले कुन जमानामै संन्यास लिइसकेका थिए ।


भनेपछि अब यी खेलाडीले अझै केही वर्ष व्यावसायिक क्रिकेट खेल्नेछन्, तर यो खालि ट्वान्टी ट्वान्टी क्रिकेट मात्र हुनेछ । अब आधुनिक क्रिकेट भनेकै ट्वान्टी ट्वान्टी क्रिकेट न रह्यो । यही ‘फास्ट क्रिकेट’ खेलेर अब खेलाडीले नाम पनि कमाउनेछन्, दाम पनि कमाउनेछन् । भन्ने छन्, धन्यवाद, मलिङ्गा । धन्यवाद किन भन्दा उनले नै यस्तो क्रिकेट खेलाडी जीवनको स्वरूप तयार पारे, जहाँ खेलाडीले आफूलाई सीमित ओभरको क्रिकेटमा विशेषज्ञका रूपमा स्थापित गर्दा केही पनि फरक पर्दैन ।


सन् २०१९ को इन्डियन प्रिमियर लिग (आईपीएल) फाइनल । आईपीएल इतिहासकै सबैभन्दा सफल दुई टिम आमने–सामने भएका थिए, मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्स । त्यो खेल अन्तिम ओभरको अन्तिम बलमा आएर टुंगिएको थियो र यसैले च्याम्पियन टिमको पनि टुंगो लगायो । चेन्नाईलाई अन्तिम बलमा खेल जित्न दुई रन चाहिएको थियो, स्ट्राइकमा थिए— शार्दूल ठाकुर । अनि बलर थिए, यिनै मलिङ्गा । यसअघिका ओभरमा उनी खासै खर्चिला सावित भए । त्यसैले कप्तान रोहित शर्माले अन्तिम ओभरमा यिनै मलिङ्गालाई रोजेकोमा धेरैले तत्कालै प्रश्न पनि उठाए । र, यसको उत्तर पनि तत्काल नै आयो । मुम्बईलाई अन्तिम ओभरमा नौ रन चाहिएको थियो, जुन सबै दृष्टिकोणले सम्भव थियो । तर, मलिङ्गाले त्यस ओभरमा ७ रन दिए, उल्टै दुई विकेट पनि लिए । अन्तिम बल मलिङ्गाले फुल लेन्थ फ्याले, लेग स्टम्पतिर । शार्दूल प्लम्प एलबीडब्लू भए र मुम्बईले जित्यो, चौथो पल्ट आईपीएल उपाधि ।


यस क्रममा आईपीएल इतिहासमै मुम्बई सबैभन्दा सफल टिम बन्यो । खेल के जित्यो, मुम्बईका केही खेलाडीले मलिङ्गालाई काँधमा बोले र हैदरावादको क्रिकेट मैदानमा चक्कर लगाए । त्यो अन्तिम ओभर अगाडि चेन्नाईले फाइनल जित्ने लगभग तयजस्तै देखिएको थियो, टिमका केही समर्थकले त खुसियाली पनि मनाउन थालिसकेका थिए । अहिले यिनै मलिङ्गाले वान–डे क्रिकेटबाट संन्यास लिँदा सबैभन्दा पहिले प्रतिक्रिया दिनमा रोहित पनि रहे, आखिरमा उनी मलिङ्गाका कप्तान पनि न हुन् । रोहितको भनाइ थियो, ‘पछिल्लो एक दशकमा खेल जिताउने केही खेलाडीमाझ मलिङ्गा पक्कै पनि शीर्ष स्थानमै रहनेछन् । तनावपूर्ण स्थितिमा कप्तानलाई राहत दिने भनेकै यिनीजस्ता खेलाडी हुन् । मैले जतिपल्ट उनीबाट केही आस गरें, उनले मलाई निराश पारेनन् । टिममा उनको स्थिति यति दमदार हुन्थ्यो ।’ यस्तो अन्तिम ओभरको तनावपूर्ण र सनसनीपूर्ण खेल टेस्ट क्रिकेटमा विरलै हुन्छ । यस्तो सीमित ओभरको क्रिकेटमा बढी हुन्छ भने त्यसका नायक मलिङ्गा नै हुन् । उनको अन्तिम वान–डे बंगालदेशविरुद्ध थियो । त्यस खेलमा उनले तीन विकेट लिए । यसक्रममा उनले श्रीलंकाका लागि २ सय २६ वान–डे खेले र लिए, ३ सय ३८ विकेट । उनीभन्दा बढी विकेट लिने श्रीलंकाली बलरमा मुथैया मुरलीधरण र चामिन्दा भास मात्र रहे । समग्र वान–डे क्रिकेटमै उनी सबैभन्दा बढी विकेट लिने नवौं बलर पनि रहे । उनले यस क्रममा भारतका अनिल कुम्बलेलाई उछिने । बंगलादेशविरुद्धको त्यस खेलयता उनी केही भावुक पनि देखिए ।


उनले भने, ‘मैले पछिल्लो १५ वर्षयता श्रीलंकाका लागि खेलिरहेको छु र यो मेरो गर्वको उपलब्धि हो । श्रीलंकाका लागि खेल्न पाउनु जत्तिको खुसी अरू केहीमा छैन । तर त्यस्तो समय पनि आउँछ, जहाँबाट खेलाडी अगाडि बढ्नुपर्छ । त्यो भनेको मेरो लागि वान–डे खेल्ने दिन गए, अब मैले खेल्न छाड्नुपर्छ ।’ उनको जिकिर के पनि थियो भने अब श्रीलंकाली टिम नयाँ खेलाडीमा निर्भर हुनुपर्छ । त्यसको अर्थ के पनि हो भने मलिङ्गासँगै श्रीलंकाली क्रिकेटमा नाम चलेका खेलाडीको एक पुस्ता लगभग सकिएको छ । सन् २००४ मा उनले वान–डे क्रिकेटमा डेब्यु गरेका थिए । अहिले ३५ वर्षका भइसके, भेट्रान भन्दा हुन्छ, उनलाई । उनीसँग केही खास कीर्तिमान पनि जोडिएका छन् । जस्तो, उनी वान–डे क्रिकेटमा तीनपल्ट ह्याट्रिक गर्ने खेलाडी हुन् । अनि त्यस्ता एक मात्र बलर हुन्, जसले चार बलमा चार विकेट लिए । चार बलमा चार विकेट, यसको पनि चर्चा गर्नैपर्छ ।


वेस्ट इन्डिजमा सन् २००७ को विश्वकपमा भिडेका थिए, श्रीलंका र दक्षिण अफ्रिका । पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा २ सय ९ रन मात्र बनायो । जवाफमा दक्षिण अफ्रिका ४४ ओभरसम्म पुग्दा ५ विकेट गुमाएर दुई सय रनको स्थितिमा थियो । अब ३६ बलमा १० रन चाहिएको थियो, हातमा पाँच विकेट थियो । मलिङ्गाले ४५ औं ओभर फाले । पहिलो बल डट, दोस्रो बलमा चौका । तेस्रो बलमा फेरि डट । चौथो बलमा दक्षिण अफ्रिकाले दुई रन जोड्यो । अब दक्षिण अफ्रिकालाई जित्न चार मात्र चाहिएको थियो । पाँचौं बलमा मलिङ्गाले योर्कर फाले र सन पोलक भए, बोल्ड । छैटौं बलमा एन्ड्र्यु हल क्याच आउट भए । भासले अर्को छेउबाट ४६ औं ओभर गरे र एक रन मात्र थिए । अब मलिङ्गा फेरि ४७ औं ओभर लिएर आए । त्यसको पहिलो बलमै ८६ रन बनाएर खेलिरहेका ज्याक कलिसले क्याच दिए । त्यसको अर्थ उनको ह्याट्रिक पूरा भयो । लगत्तै अर्को बलमा मखाया एनटिनी फेरि योर्कर बलमा बोल्ड भए । खेल जित्न त दक्षिण अफ्रिकाले जित्यो तर त्यसलाई कसैले सम्झने छैनन् ।


सम्झनेछन् त खालि, मलिङ्गाको त्यही चार बलमा चार विकेट । खासमा उनी योर्कर किङ हुन् । उनी सीमित ओभरको क्रिकेटमा यति धेरै किन सफल रहे त ? यसको ठोस कारण छ र यो हो, उनको बलिङ गर्ने विशिष्ट शैली । अझ अनौठो शैली भन्दा हुन्छ, परम्परागत बलिङ शैलीभन्दा ठ्याक्कै फरक । उनी अगाडि क्रिकेटमा यस्तै खाले बलिङ शैली चाहिन्छ भन्ने हुन्थ्यो । मलिङ्गाले त्यो क्रम तोडे । उनकै कारणले अचेल अनौठो शैलीमा बलिङ गर्नेहरू धेरै पाइन्छ । उनी राइट आर्म फास्ट बलर हुन् । उनको विशेषता भनेकै डेथ बलरको रूपमा हो, त्यसो भनेको इनिङ्सको अन्त्यतिर कसिकसाउ बलिङ गर्ने, सकेसम्म कम रन दिएर । ‘राउन्ड आर्म एक्सन’ भनिन्छ, उनकौ शैलीलाई । बल फ्याँक्दा उनको हात टाउकोबाट टाढै हुन्छ । अनि उनी त्यस्ता बल फाल्न माहिर छन्, जसले सिधै ब्याट्सम्यानको खुट्टाको औंला ताकेको हुन्छ । यसै कारणले उनी सीमित ओभरको क्रिकेटमा साँच्चै सफल भए, योर्कर किङका रूपमा ।
twitter: @himeshratna

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?