क्रिकेट : पीडादायी हार

ट्वान्टी–२० विश्वकप ४–४ वर्षको अन्तरमा हुँदै आएको छ । अस्ट्रेलियामा २०२० को विश्वकप हुने तालिका छ । सिंगापुरमा हारपछि नेपालले यो बाटो बिराइसकेको छ 
विनोद पाण्डे

अगस्ट १, २०१८  । गत वर्ष नेपाल ठीक यो समयमा आफ्नो एतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो  । एमस्ट्राडाममा नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औं राष्ट्र बनेको थियो । गत वर्षकै मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटबाट हासिल गरेको यो ‘स्टाटस’ नेपाली क्रिकेटका लागि मात्र नभई एसोसिएट क्रिकेटमै गर्व गर्ने क्षण थियो । तत्कालीन अवस्थामा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने १६ इलिट राष्ट्रमा समावेश हुनु नेपाली क्रिकेटकै सान थियो ।

क्रिकेट : पीडादायी हार

सिंगापुरमा अघिल्लो साता भएको विश्व ट्वान्टी–२० एसिया छनोटको विजेता बनेको भए नेपाल ग्लोबल क्वालिफायर्समा पुग्थ्यो । ग्लोबल छनोट ट्वान्टी–२० विश्वकपको अन्तिम खुड्किलो हो । अर्थात् नेपाल ट्वान्टी–२० विश्वकपको बाटोमा थियो । ६ वर्षपछि नेपाल पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्ने आशामा थियो । विश्व वरीयता, नेपालको होस् वा प्रतिद्वन्द्वीको स्तर, विश्व ट्वान्टी–२० एसिया छनोट नेपालले सजिलै पार गर्ने अनुमान गरिएको थियो । नगरोस् पनि कसरी कतार, मलेसिया, कुवेत, सिंगापुरजस्ता राष्ट्रसँग नेपालको खासै तुलनै हुँदैन ।


नेपालको विश्वकप छनोट, पहिलो एकदिवसीय यात्रा र विश्व ट्वान्टी–२० एसिया छनोटको एउटा सहयात्री हुन् उमेश पटवाल । नेपालले विश्वकप छनोटको ठीकअगाडि उनलाई ब्याटिङ परामर्शदाताको रूपमा ल्याएको थियो । त्यसयता उनी निरन्तर नेपाली क्रिकेटसँग जोडिएका छन् । दुई महिनाअघि उनी नेपालको मुख्य प्रशिक्षक नै भए र उनकै प्रशिक्षणमा नेपालले सिंगापुरमा विश्व ट्वान्टी–२० एसिया छनोट खेलेको थियो । त्यसैमा नेपाल मात खाएपछि उनी अहिले चर्चाको घेरामा छन् । पराजयमा विशेषगरी प्रशिक्षक, कप्तान र प्रमुख खेलाडी तारोमा पर्छन् । भयो पनि यस्तै । नेपाल पहिलो खेलमै कतारजस्तो राष्ट्रसँग पराजित भएपछि उपकप्तान ज्ञानेन्द्र मल्लमाथि समर्थकहरू खनिए । उनले अर्को खेलमा कुवेतविरुद्व २० बलमै अर्धशतक बनाएपछि आफूले समर्थकहरूका लागि कहिल्यै नखेलेको बताए ।

कुवेत र मलेसियामाथि विजय हात पारे पनि निर्णायक खेलमा सिंगापुरसँग चुकेपछि पूरै नेपाली टोलीमाथि प्रश्न उठ्यो । पारस खड्काले हारको जिम्मेवारी कप्तानको रूपमा आफूले लिने बताए । भारतीय प्रशिक्षक पटवालको भनाइ ठ्याक्कै उल्टो आयो । ‘हामी ग्लोबलमा खेल्नलायक टोली होइनौं । यहीं सफल हुन सकेनौं, त्यसैले ग्लोबलमा नपुगेकै ठीक भयो । यो हामीले स्वीकार गर्नुपर्छ । हामीसँग योजनाहरू थिए तर मैदानमा सफल हुन सकेनन्,’ सिंगापुरसँग हारेर ग्लोबल नपुगेपछिको तत्कालको प्रतिक्रिया थियो यो उनको । यसले नेपाली क्रिकेटमा हल्ली–खल्ली ल्यायो । उनको यो भनाइमा सबैभन्दा पहिला आपत्ति जनाउने जगत टमाटा निस्के । टमाटाको स्थानमै पटवाललाई लिइएको थियो । पछिल्लो एक वर्ष नेपालले विश्वकप छनोट, एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेको छ, पछिल्लो तीन संस्करण ग्लोबल छनोट खेलिरहेको छ । आखिर किन नेपाल ग्लोबल छनोट खेल्नयोग्य छैन ?


प्रश्नको उत्तर पनि नेपालको खेललाई नियाल्ने हो भने केही तथ्य स्पष्ट भेटाउन सकिन्छ । पराजयले धेरै पक्ष उजागर गर्छ । नेपालको कमजोरी पनि सिंगापुरको यात्राले उजागर गरिदिएको थियो । सिंगापुरअघि नेपालले तयारीको क्रममा मलेसियामा दुई खेल खेलेको थियो । त्यहीबाट नेपालको रणनीति रणभुल्लमा देखिन्थ्यो । मलेसियासँगको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले पारसको जोडीको रूपमा क्रमशः प्रदीप ऐरी र पवन सर्राफलाई ओपनिङ ब्याट्सम्यानको रूपमा खेलाइयो । ज्ञानेन्द्र तेस्रो र अर्का अनुभवी शरद भेषावकरले पाँचौं नम्बरमा ब्याटिङ गरे । सिंगापुरमा कतारसँगको पहिलो खेलमा नेपाली ब्याटिङ सबै परिवर्तन भयो । राम्रा र अनुभवी ब्याट्सम्यानले जतिसक्दो चाँडो ब्याटिङ गर्नुपर्छ । ट्वान्टी–२० को फर्म्याटले पनि यही भन्छ । सिंगापुरमा पारस र ज्ञानेन्द्र ओपनर भएर खेले । शरद तेस्रो नम्बरमा । नेपाल ट्वान्टी–२० मा अझै खासै जम्न नसकेको जोडी हो । केही अपवादबाहेक यसअघिका अधिकांश खेल हेर्ने हो भने नेपाली खेलाडीको संघर्ष पावर प्लेबाट सुरु हुन्छ । पहिलो ६ ओभरमा प्रतिओभर ६ रन बनाउन पनि नेपाललाई हम्मे पर्ने गरेको थियो । सिंगापुरमा नेपालले यसमा व्यापक सुधार गर्‍यो । यसको मुख्य कारण प्रमुख ब्याट्सम्यान माथिल्लो क्रममा खेल्नुलाई पनि लिन सकिन्छ । पारस र ज्ञानेन्द्रको जोडीले पावर प्लेमा कतारसँग ४९ रन जोडेका थिए । अन्य खेलमा पनि नेपालले सुरुआत दमदार गरेको थियो ।


यो सँगै नेपालको मध्यपंक्ति भ्वाङ परिसकेको थियो । मलेसियामा शरद पाँच नम्बरमा खेल्दै आएका थिए र विनोद भण्डारीलाई ६ नम्बरमा फिनिसरको जिम्मा दिएको देखिन्थ्यो । शरद तेस्रो नम्बरमा गएपछि पाँचौं नम्बरजस्तो महत्त्वपूर्ण स्थानमा ब्याट्सम्यानविहीनजस्तै थियो नेपाली टोली । युवा रोहित पौडेललाई पाँचौं नम्बरमा खेलाइएको थियो, उनी त्यो स्थानका लागि योग्य देखिएनन् । कतारसँग सोमपाल कामी पाँचौं नम्बरमा ब्याट्सम्यानको रूपमा खेलेका थिए । एक अर्को अवसर पाउँदा पनि विनोदले निराश नै बनाए । मलेसियामा घाइते रहेका दीपेन्द्रसिंह ऐरीले चौथो नम्बरमा ब्याटिङ गरे, त्यो ठीकठाक खाले प्रदर्शन मात्र थियो । विगतमा नेपालका लागि ब्याटिङ सुरुआत जति पीडादायी हुन्थ्यो यस पटक मध्यक्रमले अन्त्य लगभग त्यस्तै थियो । कतारसँगको खेललाई हेर्ने हो भने नेपालले पछिल्लो १४ ओभरमा ७२ रन बनाउँदा ९ विकेट गुमाएको थियो । मुख्य प्रतियोगितामा गरिएको प्रयोगात्मक परीक्षणको प्रभावमा नेपालको मध्यपंक्तिको ब्याटिङ भत्किएको देखिन्थ्यो ।


नेपालको प्लेइङ ११ हेर्ने हो भने कतारसँगको हार अप्रत्याशित नलाग्न सक्छ । कतारसँग नेपालले पारसबाहेक ६ नियमित बलरलाई खेलाएको थियो । १ ओभर मात्र बलिङ गरेका सोमपाललाई ब्याटिङ अलराउन्डरको रूपमा खेलाएको तर्क नेपाली टोलीसँग थियो । जबकि बाँकी सबै खेलमा सोमपालले आफ्नो कोटाको पूरैजस्तै बलिङ गरिरहे । मलेसियामा पारसको जोडीको रूपमा प्रदीप र पवनले सिंगापुरमा खासै योगदान दिनुपरेन । पारस कतारसँगको पहिलो खेलमै घाइते हुँदा प्रदीपले अर्को एक खेलमा अवसर पाए । पवन डग आउटमा मात्र व्यस्त भए ।


पारस र ज्ञानेन्द्रलाई ओपनिङ जोडी तथा शरदलाई तेस्रो नम्बरमा खेलाउने नेपाली टोलीको रणनीति पहिल्यै स्पष्ट हुन्थ्यो भने प्रदीप र पवनको स्थानमा मध्यपंक्तिमा एउटा ब्याट्सम्यान थपेर लैजान सक्थ्यो, जसले पाँचौं नम्बरको महत्त्वपूर्ण स्थान होस् या छैटौं नम्बरको फिनिसिङ स्थानमा एउटा विकल्प थपिदिन्थ्यो । एक हिसाबले नेपाली टोली छनोटमा पनि केही चुकेको थियो । नेपाली टोलीमा कोही ‘म्याच विनर’ नभएको पटवालको भनाइसँग सहमत हुन सकिन्छ । पारस जमेको खेलमा नेपालले अधिकांश खेल जित्दै आएको छ । अन्यथा नेपाली ब्याटिङ संघर्ष हेरिनसक्नुको हुन्छ । सिंगापुरमा नेपालले चारमध्येको दुई खेल जित्यो, त्यसमा पारस र ज्ञानेन्द्रले १–१ अर्धशतक बनाएका थिए । त्यसबाहेक शरदको प्रदर्शन केही चित्तबुझ्दो थियो । बाँकीको ब्याटिङ प्रदर्शन हेर्ने हो भने यो स्तरमा नेपाली खेलाडीको प्रदर्शन भन्नलायक सुहाउँदैन ।


विश्व ट्वान्टी–२० एसिया छनोटको इस्टर्न रिजनमा नेपाल पहिलो हुँदै सिंगापुर यात्रामा निस्किएको थियो । सिंगापुर र मलेसिया पनि यही प्रतियोगिताबाट क्रमशः दोस्रो र तेस्रो हुँदै नेपालसँगैं एसिया छनोटमा पुगेका थिए । इस्टर्न रिजनमा नेपालले सिंगापुरलाई ८१ रनमै अलआउट गरेको थियो । नेपालले लक्ष्य पछ्याउँदा वर्षाले खेल रद्द बनाएको थियो । अर्थात् नेपालका लागि सिंगापुर खासै ठूलो चुनौती थिएन । इस्टर्न रिजन खेलेको टोलीबाट सिंगापुरले एसिया छनोट खेल्दा पाँच खेलाडी परिवर्तन गरेको थियो । सिंगापुरसँगैं नेपालले एसिया छनोटमा अन्तिम खेल खेल्दै थियो । कतारसँग पहिलो खेलमै पराजित भए पनि समीकरण नेपालको हातमा आइसकेको थियो । सिंगापुरलाई पराजित गरे नेपाल ग्लोबल छनोटमा पुग्थ्यो । सिंगापुर पनि यही स्थितिमा थियो । नेपालमाथि विजय हात पारे टोली पहिलो पटक ग्लोबल छनोटमा पुग्थ्यो । नेपालको अनुमानविपरीत सानो मैदानमा सिंगापुरको प्रदर्शन आयो । सिंगापुरले पहिला ब्याटिङ गर्दै १ सय ९१ रन बनायो । नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा खर्चेको यो अहिलेसम्मकै सबैभन्दा बढी रन थियो ।


टिमोथी डेबिड अस्ट्रेलियाबाट उमेर समूहमा खेलिसकेका खेलाडी हुन् । विश्व ट्वान्टी–२० एसिया छनोटका लागि उनी आफ्ना अभिभावकको राष्ट्र सिंगापुर फर्किएका थिए । सिंगापुरले परिवर्तन गरेको पाँच खेलाडीमा उनी पनि एक थिए । अस्ट्रेलियाको बिग बासमा पर्थ स्क्रोचर्सबाट खेल्ने डेबिडले ४३ बलमा ७७ रन बनाएपछि सिंगापुर बलियो हुँदै गयो र विशाल लक्ष्य पछ्याउनुअघि नै नेपालको सम्भावना कमजोर देखिँदै गयो । ट्वान्टी–२० मा एउटै राम्रो खेलाडीले कति फरक पार्छ भन्ने राम्रो उदाहरण थियो यो । त्यसको मतलब नेपालसँग उनी जतिका खेलाडी नै थिएनन् ? सन्दीप लामिछाने पनि गत वर्ष बिग बास खेलेर तहल्का मचाएका खेलाडी हुन् । खै नेपालले त्यसको फाइदा उठाउन सकेन । ‘सुपर स्टार’ सन्दीपले पछिल्लो दुई सिजन इन्डियन प्रिमियर लिगसहित लगभग सबैजस्तो ग्लोबल फ्रेन्चाइज प्रतियोगिता खेल्दै आएका छन् । सिंगापुरमा एउटा टिमको रूपमा जति डेबिड रहे, सन्दीप त्यसको ठीक उल्टो रहे । मैदानभित्रको उनको हाउभाउ र व्यवहारले नै त्यही देखाउँथ्यो । एउटा फिल्डरको रूपमा उनलाई फाइन लेग र थर्डम्यानजस्तो स्थानमा लुकाउनुपर्ने अवस्था छ भने बलिङमा पनि उनी निर्णायक खेलपछि होसमा आएका थिए । उनको ३ ओभरमा सिंगापुरका ब्याट्सम्यानले ३४ रन प्रहार गरेका थिए । भेट्रान वसन्त रेग्मी पहिलो ३ खेलमा निकै प्रभावकारी रहे । सिंगापुरसँग उनले ४ ओभरमा ५४ रन खर्चेर नेपाली बलरको नचाहेको कीर्तिमान बनाए ।


यसअघि कुनै पनि नेपाली बलरले ट्वान्टी–२० मा ५० रन खर्चेका थिएनन् । नेपालको अस्त्र बलिङ नै हो । त्यसमा पनि स्पिनर नेपालका लागि महत्त्वपूर्ण सावित हुँदै आएका छन् । सिंगापुरसँग प्रमुख स्पिनर वसन्त र सन्दीप निर्दयी रूपमा चुटिँदा नेपालसँग ‘प्लान बी’ देखिँदैन्थ्यो । सधैं पारसले खेलेर मात्र नेपालले कहिलेसम्म जित्ने ? नेपालले विगतमा पनि यसको समाधन निकाल्न सकेको थिएन, पटवालले दुई महिनामै के सक्थे र ! पारस र सन्दीप नचल्दा ‘म्याच विनर’ नभएकाले सिंगापुरसँगको हार्नुका कारण पटवाल दिँदै थिए । विश्व ट्वान्टी–२० अर्थात् ट्वान्टी–२० विश्वकप ४–४ वर्षको अन्तरमा हुँदै आएको छ । अस्ट्रेलियामा २०२० को विश्वकप हुने तालिका छ । सिंगापुरमा हारपछि नेपालले यो बाटो बिराइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई लिएर यसै भन्न सकिन्न । जस्तो विश्व क्रिकेटको सर्वोच्च संस्थाले २०२१ मै ट्वान्टी–२० विश्वकपको अर्को संस्करण आयोजना गर्न सकिने जनाएको छ । २०२१ मा ट्वान्टी–२० को अर्को विश्वकप नभएमा यसको आयोजनाको पालो २०२४ मा आउँछ । धेरैले मानेका छन् नेपाली क्रिकेट अहिले स्वर्णिम पुस्ताको हातमा छ । चार वर्षपछि मात्र ट्वान्टी–२० विश्वकप आयोजनाको अर्को पालो आएमा धेरैको विश्वास यो पनि छ कि नेपालको स्वर्णिम पुस्ताको अन्त्य भएको छ ।

Twitter: @dearbinod

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?