१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माओवादको विश्व–यात्रा

सोभियत संघको नेताको रूपमा ख्रुस्चेव आफूलाई कम्युनिस्टको सर्वमान्य ठान्थे । स्टालिनको मृत्युपछि माओ आफूलाई कम्युनिस्टहरूको एकमात्र नेता मान्न थालेका थिए । माओलाई भियतनामका हो ची मिन्हसँग पनि भय थियो ।
राम लोहनी

नेपालको वामवृत्तमा माओ–त्से–तुङले चीनमा अपनाएको पद्धति ‘माओवाद’ हो वा ‘माओ विचारधारा’ हो भन्ने विवाद अझै कायम छ  ।

माओवादको विश्व–यात्रा

माओवादको नाममा भएको हिंसात्मक विद्रोहले नेपालको राजनीतिक कलेवर नै फेरिदिएको यथार्थ पनि हाम्रोसामु छ । माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले दीर्घकालीन जनयुद्धलाई साम्यवादी क्रान्तिको रणनीतिको रूपमा अपनाएको थियो । माओवाद भने पनि, माओ विचारधारा भने पनि, औद्योगीकरण नभइसकेको समाजमा कसरी समाजवाद लागू गर्ने भन्ने चिनियाँ क्रान्तिको नमुनाले बीसौँ शताब्दीको उत्तरार्द्धको विश्वलाई राम्रै गरी प्रभावित भने पारेको थियो ।


माओ शस्त्रास्त्रमा मात्र होइन, शस्त्रास्त्र समात्ने हातमा अझ बढी भर गर्थे । प्रतिरोधका लागि ‘मानव बाढी’ माओको चर्चित रणनीति नै थियो । विशाल जनसंख्या भएको मुलुकमा ‘केही’ मानिसको हताहत सम्भवतः सामान्य नै हुन्थ्यो होला । तर, माओको ‘मानव बाढी’ को रणनीतिले कोरिया युद्ध र भियतनाम युद्ध हताहत हुनेको संख्या तुलनात्मक रूपले बढ्न पनि पुग्यो । माओ नेतृत्वको चीनले विश्वका विभिन्न मुलुकमा निर्यात गर्ने प्रयास गरेको ‘माओवाद’ यस्तै रणनीतिसहितको थियो । माओको देहावसान भएपछि भने माओवाद र क्रान्ति निर्यात गर्ने चिनियाँ विदेश नीतिमा अंकुश लाग्यो । चीनको सहयोग नरहँदा पनि विभिन्न मुलुकमा माओवादको नाममा विद्रोह हुन भने छाडेन । जुलिया लोभेलको ‘माओइज्म ः अ ग्लोबल हिस्ट्री’ विश्वका विभिन्न मुलुकहरूमा चीनको अनुभवलाई दोहोर्‍याउन अभ्यास गरिएका प्रयासहरूको दस्तावेज हो ।


माओ ल्याटिन अमेरिका, अफ्रिका र दक्षिण पूर्वी एसियाका मुलुकहरूमा सोभियत संघमा अभ्यास गरिएको युरोपेली मोडेलको साम्यवाद उपयोगी हुँदैन भन्ने तर्क गर्थे । चिनियाँ कम्युनिस्ट पार्टीको माओवाद मूलतः राष्ट्रवादी चरित्रको थियो । सोभियत संघले स्थापना गरेको कम्युनिस्ट इन्टरनेसनलसँग यसको सहमति थिएन । कम्युनिस्ट चीनको राष्ट्रिय मुक्तिको नाराले उत्तरऔपनिवेशिक राष्ट्रका साम्यवाद समर्थकलाई अतिरिक्त आकर्षण गर्‍यो । क्रान्तिपछि माओले चीनमा ‘क्रान्ति विश्वविद्यालय’ सञ्चालन गरेका थिए । ‘विश्वविद्यालय’ मा चिनियाँ नेताहरू विश्वका विभिन्न मुलुकबाट आएका प्रशिक्षार्थीहरूलाई चीनको अनुभव बाँड्थे । चीनले गुरिल्ला युद्धको तालिमका लागि अनुभवी प्रशिक्षकहरू गोप्य रूपमा विभिन्न मुलुकमा पठायो पनि । आर्थिक र विभिन्न प्राविधिक सहयोगमार्फत क्रान्ति निर्यात गर्ने रणनीति पनि चीनले अपनायो ।


लोभेलको पुस्तक माओवादको परिभाषाबाट उठान भएको छ । उनका अनुसार ‘माओवाद’ सिद्धान्तभन्दा पनि रणनीति हो । विभिन्न सामाजिक तथा वैचारिक पहलुहरू र रणनीतिक सवालहरूमा माओको चिन्तन सूत्रात्मक पाइन्छन् । शक्ति बन्दुकको नालबाट निस्किन्छ, क्रान्ति कुनै भोजभतेर होइन, सत्यको एकमात्र कसी व्यवहार हो, महिलाहरूले आधा आकाश ढाकेका हुन्छन्, त्रुटिलाई नलुकाऊ तर कमजोरीको आलोचना गर, साम्राज्यवाद कागजी बाघ मात्र हो, विद्रोह कहिल्यै गलत हुँदैनजस्ता व्यावहारिक सूत्रको सहायताद्वारा लोभेलले माओवादको सार खिच्न खोजेकी छन् । यस्ता सूत्रहरू खास गरेर सामान्य मानिसहरूलाई प्रभावित गर्न बढी नै उपयोगी हुन्थे । वास्तवमा माओको बल भनेकै सर्वसाधारण जनता थिए । माओका कतिपय उक्तिहरू परम्परागत सैद्धान्तिक चिन्तनलाई चुनौती दिने खालका पनि हुन्थे । उदाहरणका लागि, शास्त्रीय मार्क्सवादले साम्राज्यवादलाई पुँजीवादको अनिवार्य परिणति मान्छ । तर माओ साम्राज्यवाद हौवा मात्र हो, यसलाई सजिलै परास्त गर्न सकिन्छ भन्ने ठान्थे । माओको यस्तै उक्ति नै माओप्रतिको विश्वासको आधार थियो ।


दोस्रो पाठमा माओलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने पुस्तक ‘रेड स्टार ओभर चाइना’ को चर्चा छ । १९३८ मा अमेरिकी पत्रकार एड्गर स्नोको अंग्रेजीमा छापिएको उक्त पुस्तक तुरुन्तै चिनियाँ र विश्वका विभिन्न भाषामा अनुवाद पनि भयो । लोभेलका अनुसार स्नोले माओलाई चीनको आकाशमा उदाएको चम्किलो तारा उपमा दिएर लेखेको उक्त पुस्तकले दुईवटा लक्ष्य प्राप्त गर्‍यो । पहिलो, पश्चिमी जगत्लाई माओ त्से तुङको परिचय दियो । दोस्रो, तेस्रो विश्वका शोषित–पीडितलाई माओले नै मुक्ति दिलाउन सक्छन् भन्ने सन्देशको प्रचार गर्‍यो । त्यसताक माओ ‘लङ मार्च’ पछि चीनको उत्तरपश्चिमी इलाका येनानमा थिए । कम्युनिस्टहरूको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा तीन महिना जति बस्दा माओसँग स्नोले लिएको अन्तर्वार्ता र अवोलकन नै पुस्तकको रूपमा प्रकाशित भएको थियो । स्नोको उक्त किताब प्रकाशित नभएको भए माओको घरेलु तथा अन्तर्राष्ट्रिय दुवै व्यक्तित्वको कल्पना गर्नु कठिन हुन सक्थ्यो (पृ. ६२) ।


१९४९ को डिसेम्बरमा च्याङ काई सेक भागेर ताइवान पुगेपछि माओले चीनलाई कम्युनिस्ट मुलुक घोषणा गरेका थिए । चीनमा कम्युनिस्टहरूको उदयले शीतयुद्धको प्रारम्भमै अमेरिकालाई ठूलो झट्का लाग्यो । उता भियतनाममा फ्रान्सविरुद्ध हो ची मिन्हको नेतृत्वमा स्वतन्त्रता युद्ध चलिरहेको थियो । इन्डोनेसियामा सुकार्नोको उदय भएको थियो र सुकार्नोले सोभियत संघबाट समर्थन पाएका थिए । कोरियामा पनि युद्ध भड्कियो । यो पृष्ठभूमिमा अमेरिकी प्रशासन पूरै आतंकित भयो र एसिया पूरै कम्युनिस्टहरूको नियन्त्रणमा आउन लागेको ठहर गर्‍यो । अमेरिकालाई दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्नु थियो । अमेरिका आफ्नो सरकारको नीतिको विपक्षमा भए गरेका सबै कुरालाई स्वतन्त्रताविरोधी ठान्थ्यो । अमेरिकी सरकार तथा प्रेस अमेरिका र स्वतन्त्रताको विरोधमा चीनको कम्युनिस्ट सरकारले मनोवैज्ञानिक युद्ध सुरु गरेको निष्कर्षमा पुग्यो । अमेरिकी प्रोपगन्डाअनुसार माओ नेतृत्वको चीनले सर्वसाधारण जनताको ‘ब्रेनवास’ गर्थ्यो । मानिसहरूको दिमागलाई नियन्त्रण गर्ने कम्युनिस्ट प्रविधिको अनुसन्धान गर्न अमेरिकाले करोडौँ डलर लगानी गर्‍यो र आफ्नै प्रकारको प्रतिरोध कार्यक्रमहरूको प्रचार–प्रसार पनि गर्न थाल्यो । प्रस्तुत पुस्तकको तेस्रो पाठ चिनियाँ ब्रेनवास र अमेरिकी प्रतिरोधी कार्यक्रमको चर्चामा केन्द्रित छ ।


यसैबीच चिनियाँ गुरिल्ला युद्ध कोरियन प्रायद्वीप र मलायामा विस्तारित भैसकेको थियो । उत्तरकोरियामा किम इल सुङको उदय भयो भने मलायामा चिन पेङको नेतृत्वमा बेलायती उपनिवेशविरुद्ध युद्ध सुरु भयो । यस प्रकार प्रशान्त महासागरको यो किनारा कम्युनिस्टहरूको रातो रङले आच्छादित बन्न पुग्यो । कम्युनिस्टहरूको रातो रङभित्र भने पारस्परिक प्रतिस्पर्धाको कीटाणु संक्रमित भैसकेको थियो । सोभियत संघको नेताको रूपमा ख्रुस्चेव आफूलाई कम्युनिस्टहरूको सर्वमान्य नै ठान्थे । स्टालिनको मृत्युपछि माओ आफूलाई कम्युनिस्टहरूको एक मात्र नेता मान्न थालेका थिए । कोरियाका किमले छुट्टै जुछे विचारको प्रादुर्भाव गरेका थिए । माओलाई भियतनामका हो ची मिन्हसँग पनि भय थियो । पचासको दशकमा कोरिया, मलायालगायतका फ्रन्टहरूमा चीन र पश्चिमा मुलुक आमने–सामने हुँदाका परिदृश्यलाई पनि पुस्तकको तेस्रो च्याप्टरले समेटेको छ ।


चौथो पाठ माओको विश्व नेता बन्ने प्रयासको वरिपरि केन्द्रित छ । यसका लागि माओले कसरी सोभियत संघ र ख्रुस्चेवसँग द्वन्द्व सिर्जना गरे भन्ने विस्तृत चर्चा छ । माओ आफूलाई कहाँ उभ्याउनुपर्ने हो, सो स्थान पहिचान गरेर त्यहाँ झगडाको बीउ रोप्ने गर्थे भन्ने लोभेलको ठहर छ । साठीको दशकमा चीनको स्थितिको चित्रण र अमेरिकी तथा सोभियत साम्राज्यवादविरुद्ध चीनले तेस्रो विश्वमा आफूलाई विस्तार गर्न खोजेको प्रयास यो च्याप्टरको विषयवस्तु हुन् । माओले आफू तेस्रो विश्वका गरिबहरूको मात्र होइन, अमेरिकालगायतका देशहरूमा गोराहरूको उत्पीडनमा परेका कालाहरूको पनि तारणहार भएको सन्देश दिने प्रयास गरे । यता आफ्नो मुलुकभित्र पनि कोही प्रतिस्पर्धी नरहून् र सम्पूर्ण चीन, चिनियाँ जनता र कम्युनिस्ट पार्टीमा आफ्नो एकछत्र राज रहोस् भन्ने विषयमा माओ अत्यन्त सजग रहने गर्थे । लोभेल ‘महान् फड्को’, ‘सांस्कृतिक क्रान्ति’ आदि नाममा भएका आन्तरिक राजनीतिक तथा सामाजिक उथलपुथल यिनै सजगताका परिणति हुन् भन्ने तर्क गर्छिन् ।


पाँचौँदेखि एघारौँ पाठहरूमा विभिन्न मुलुकमा भएका माओवादप्रेरित क्रान्ति तथा अन्य वैचारिक घटनाहरूको संक्षिप्त चर्चा गरिएका छन् । यिनमा इन्डोनेसिया, भियतनाम, कम्बोडिया, तान्जानिया, कंगो, जिम्बावे, पेरू, भारत, नेपाल, संयुक्त राज्य अमेरिका, फ्रान्स आदि मुलुक पर्छन् । इन्डोनेसियामा प्रत्यक्ष रूपले चिनियाँ मोडेलको सशस्त्र क्रान्ति भएको होइन । इन्डोनेसिया डचहरूको साम्राज्यमा थियो र विश्वयुद्धको समयमा जापानको आक्रमणमा परेको थियो । विश्वयुद्ध समाप्तिको लगत्तै सुकार्नोले शासन हातमा लिएका थिए । सुकार्नो कम्युनिस्ट सिद्धान्तसँग नजिक त थिए तर कम्युनिस्ट थिएनन् । सुकार्नोले इन्डोनेसियामा एकदलीय तानाशाही नै लागू गरेका थिए । कम्युनिस्ट पार्टीको विस्तारप्रति उदार पनि बन्दै गएका थिए । चीनको समर्थनमा दीपा नुसनतारा आइदित नेतृत्वको इन्डोनेसियन कम्युनिस्ट पार्टी बिस्तारै शासन हत्याउने योजनामा थियो । चिनियाँ सल्लाहको बाबजुद आइदितले जनसेना निर्माण गरेका थिएनन् । अन्ततः आफ्नो सेना नहुनु नै आइदितका लागि प्रत्युत्पादक ठहरियो । चीनको प्रभाव, शारीरिक अस्वस्थता र लम्पट चरित्रसमेतको कारण सुकार्नो कम्युनिस्ट पार्टीको नियन्त्रणमा पुगिसकेका थिए । त्यही क्रममा १९६५ मा कम्युनिस्टहरूले सात जनरलहरूको हत्या गरेर सुकार्नोलाई अपदस्त गर्न गरेको प्रयास सफल भएन । त्यही निहुँमा अर्का जनरल सुहार्तोले शासन हातमा लिए र आइदितलगायत कम्युनिस्ट र कम्युनिस्ट समर्थकहरूको ठूलो संख्यामा हत्या गराए । इन्डोनेसिया चिनियाँ मोडेलेको सत्ता स्थापनाको असफल प्रयास सावित भयो ।

अफ्रिका र ल्याटिन अमेरिका युरोपेली बजारका लागि कामदार निर्यात गर्ने थलो थियो । युरोपको उपनिवेश रंगभेदी नीतिले कालाहरू आक्रान्त थिए । चीनले आफूहरू पहेँलो वर्णका भएकाले कालाहरूसँग नजिक रहेको बताउँदै यही मितेरी साइनोमार्फत क्रान्ति निर्यात गर्ने प्रयास गर्‍यो । लामो समयदेखि प्रताडित अफ्रिकीहरू चिनियाँ मोडेलको मुक्तिकथाबाट प्रभावित नहुने कुरै थिएन । अफ्रिकी स्तन्त्रताका नेता नेल्सन मन्डेला पनि माओबाट प्रभावित भएका थिए । ठूलाठूला योजनामा चिनियाँ लगानीको बाढी नै आयो । अफ्रिकी टोलीलाई चीनमा निमन्त्रणा गरेर भ्रमण तथा तालिम दिने, अफ्रिकी विद्यार्थीहरूलाई छात्रवृत्ति दिने आदि योजनाहरू लागू भए । यस क्रममा जन्जिबारका कम्युनिस्ट नेता मोहम्मद बाबु, घानाका क्वामे न्क्रुमाह्, तान्जानियाका जुलियस न्येरेरेलगायत क्यामरुन, जिम्बावे, कंगो, जाम्बियाजस्ता मध्यअफ्रिकी मुलुकका नेताहरू चिनियाँ क्रान्ति मोडेलबाट प्रत्यक्ष प्रभावित थिए ।


चीनको अफ्रिकामा लगानी गर्ने नीति यथार्थमा सोभियत संघसँगको प्रतिस्पर्धाबाट बढी प्रेरित रहेको लोभेलको निष्कर्ष छ । वास्तवमा चीन अफ्रिकामा क्षमताभन्दा ठूलो लगानी गरिरहको थियो । माओको मृत्युसँगै चीनको लगानीमा भारी कटौती हुन थाल्यो । अफ्रिकीहरू पनि अपेक्षित रूपले चीनसँग नजिक रहिरहन सकेनन् । भौगोलिक दूरी र चीनकै आन्तरिक स्थिति पनि अफ्रिकामा क्रान्ति सफल नहुनुका कारण देखिन्छन् । स्वतन्त्र विश्लेषकहरूका अनुसार अफ्रिकामा चीनको रणनीति अन्य साम्राज्यवादी मुलुकहरूको भन्दा खासै भिन्न हुन सकेको पनि थिएन । एकपछि अर्को गर्दै रुस, चीन, कोरिया र भियतनामका घटनाहरूले अमेरिकाको ‘डोमिनो थिअरी’ को पुष्टि हुँदै थियो । डोमिनो थिअरीअनुसार कुनै मुलुकमा कम्युनिस्टको सत्ता स्थापना भयो भने छिमेकी मुलुकहरूमा त्यसको प्रभाव स्वाभाविक रूपले विस्तार हुन्छ । विश्वयुद्धपछि भियतनामलाई स्वतन्त्र घोषणा गर्दा हो ची मिन्हले अमेरिकी स्वतन्त्रताको घोषणाका हरफहरू दोहोर्‍याएका थिए । तर अमेरिकाले त्यस क्षेत्रबाट फ्रान्सलाई हटाइहाल्न चाहेन । चीन र सोभियत संघमा लामो समय बिताएका हो स्टालिन र माओप्रति नतमस्तक थिए । अमेरिकी सहयोगको अपेक्षा गरिरहेकाले उनी खुलेर आफूलाई कम्युनिस्ट भन्न पनि तयार थिएनन् । भियतनामी प्रतिरोधबाट पराजित भएपछि फ्रान्स इन्डोचाइना छाड्न बाध्य भयो । भियतनामलाई विभाजन गर्ने पश्चिमाहरूको योजनामा चीनले सुँढेनीको काम गर्‍यो । ताइवानलाई विशाल चीनमा एकीकरण नगर्दै कोरियामा विद्रोह सुरु गरेकोमा किमसँग असन्तुष्ट माओ कोरिया एकीकरणमा जसरी उदासीन भएका थिए, त्यसैगरी भियतनामी जनताको एकीकृत भियतनामको चाहनाप्रति पनि उदासीन नै रहे ।


होलगायत भियतनामका कम्युनिस्टहरूको ठूलो समूह चीनमा प्रशिक्षित थियो । हो नेतृत्वको उत्तरी भियतनामलाई धेरथोर चिनियाँ सहयोगचाहिँ प्राप्त भइरह्यो । होले चिनियाँ मोडेलको भूमिसुधार पनि लागू गर्ने प्रयास गरे । तर माओ भियतनामी नेता आफूभन्दा अगाडि नबढून् भन्ने चाहन्थे । फ्रान्सले छाडेर गएपछि अमेरिकासँग भियतनामको युद्ध भएरै छाड्यो । अमेरिकाले इन्डोचाइना छोड्दासम्म चीन र भियतनामको द्वन्द्व उत्कर्षमा पुगिसकेको थियो । भियतनाम चीनको नीतिलाई साम्राज्यवादी नीति ठान्थ्यो । कम्बोडिया भियतनामलाई साम्राज्यवादी ठान्थ्यो । चीन पोल पोट र इएङ सारी नेतृत्वको कम्बोडियाली क्रान्तितर्फ आकर्षित थियो । १९७५ मा कम्बोडियामा विद्रोह सफल भएपछि पहिलो पटक माओवाद निर्यात सफल भएकोमा चीनले खुसी पनि मनायो । पोल पोटको कम्बोडिया भियतनामविरुद्ध आक्रामक थियो । कम्बोडियामा कम्युनिस्ट सत्ता स्थापना भएको तीन वर्षपछि भियतनामले नोम पेनमा आक्रमण गरेर पोल पोटलाई अपदस्त गर्‍यो । माओ स्वयंले खुसी मनाएको चीनबाहिरको पहिलो माओवाद चार वर्षमै समाप्त भयो ।


माओ नेतृत्वको सांस्कृतिक क्रान्तिको ज्वरोले पश्चिमा मुलुकका पढे–लेखेका जमातलाई पनि प्रभावित गर्न सुरु गर्‍यो । अमेरिकामा रोबर्ट विलियम, माल्कोम एक्सजस्ता अश्वेत नेताहरू माओवादी क्रान्तिले काला जातिलाई गोराहरूको भेद्भावबाट मुक्त तुल्याउने सपना देख्न थाले । सांस्कृतिक क्रान्तिले परम्परागत मूल्य मान्यतामाथि प्रश्न मात्र उठाएको थिएन, त्यसलाई पूर्ण रूपले विस्थापित गर्ने प्रयास गरेको थियो । सांस्कृतिक क्रान्तिको यो आदर्श पश्चिममा लोकप्रिय भयो । तर युरोप, अमेरिकाका युवाहरू चालीस, पचासको दशकका चिनियाँ जनताजस्ता थिएनन् । भियतनाम युद्धले निम्त्याएको चरम निराशालाई माओवादले आकर्षण त गर्‍यो तर सांस्कृतिक क्रान्तिको मूल्यविरोधी चिन्तनले युवाहरूलाई व्यक्तिगत स्वच्छन्दता र निस्पृह जीवनतर्फ प्रेरित गर्न थाल्यो । फ्रान्स, जर्मनीजस्ता मुलुकमा खडा भएका माओवादी संगठनहरू मध्यमवर्गीय पढे–लेखेका जमातको असन्तुष्टि पोख्ने माध्यममा सीमित भए । तत्कालीन पश्चिम जर्मनी र अमेरिकामा माओवादको नाममा केही आतंकवादी समूहहरू पनि जन्मिए । सांस्कृतिक क्रान्तिको नाममा हुने हिंसात्मक राजनीतिको झिल्काले लगाएको डढेलोको अवशेष अझै पनि छिटपुट देख्न पाइन्छ (पृ. ३०४) ।


पेरूका माओवादीहरू देङ सियाओ पिङलाई संशोधनवादी भनेर तिरस्कार गर्थे । क्युबामार्फत हुँदै गरेको सोभियत प्रभावलाई तटस्थीकरण गर्न माओ ल्याटिन अमेरिकी मुलुकहरूमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा थिए । तर माओको जीवनकालमा ल्याटिन अमेरिकी क्षेत्रमा कुनै त्यस्तो उल्लेखनीय विद्रोह जन्मिन सकेन । नब्बेको दशकमा पुगेर मात्र पेरूमा विद्रोहले उत्कर्ष लियो । साइनिङ पाथका नाममा पेरूका कम्युनिस्ट सशस्त्र आन्दोलनमा होमिए । विद्रोहको नेतृत्व आबिमेल गुज्म्यान गोन्जालोले लिएका थिए । जसरी माओ पूर्वको चम्किलो तारा भनेर प्रचारित थिए, आबिमेल पश्चिमी आकाशको चम्किलो तारा बन्ने दौडमा थिए । संसारका अन्य कम्युनिस्ट नेताहरूले जस्तै आबिमेलले पनि चीनको भ्रमण गरेका थिए । सायद चीनलाई आबिमेलसँग धेरै अपेक्षा थिएन । त्यसैले उनलाई माओले भेट दिएनन्, टाढाबाट एक झल्को मात्र देखे । ‘डढेलोका लागि एक झिल्का आगो नै काफी हुन्छ’ भन्ने माओको भनाइजस्तै माओको एक झलक नै गोन्जालोका लागि प्रेरक थियो । स्थानीय आदिवासी क्वेचुआभाषीहरूलाई गोलबन्द गर्दै गाउँबाट सहर घेराउ गर्ने रणनीतिअनुरूप विद्रोह उत्तरोत्तर हिंसात्मक बन्दै थियो । अल्बर्टो फुजिमोरीको सरकारले आबिमेललाई पक्राउ गरेपछि राजधानी लिमासम्मै आइपुगेको विद्रोह एकाएक सेलायो ।


चीन र भारतको परिस्थिति लगभग उस्तै थियो । धर्म तथा जातिको बहुलता र विभेद भारतमा अझ चर्को छ । तर भारतमा माओवाद अपेक्षाकृत ढिलो आइपुग्यो । माओवादको पहिलो विद्रोह पश्चिम बंगालको नक्सलबाडीलाई केन्द्र बनाएर चारु मजुमदारको नेतृत्वमा भयो । तेलांगाना, झारखण्ड र छत्तीसगढ तीन नयाँ राज्यको स्थापनाको पछाडि माओवादी विद्रोह नै थियो । बेलाबेलामा हुने गरेको भारतीय कम्युनिस्ट पार्टीको विभाजनले माओवादी आन्दोलनलाई पनि प्रभावित पार्‍यो । भारत–चीनको सीमा द्वन्द्वको बाबजुद भारतीय माओवादीहरू माओलाई आफ्नो पनि अध्यक्ष मान्थे । माओको राष्ट्रिय स्वतन्त्रताको नाराले भारतमा क्षेत्रीय र जातीय स्वायत्तताको रूप लिएको थियो । नेपाली माओवादी पार्टीको उभारको राजनीतिक आधार पनि जातीय उत्पीडन र भेद्भाव नै बनेको थियो । राजनीतिक कारण देखाई चीनले बंगलादेशको स्वतन्त्रताविरुद्ध पाकिस्तानको समर्थन गरेपछि भारतीय माओवादी आन्दोलन दिग्भ्रमित हुन थाल्यो । माओको माओवादको वास्तविक उद्देश्यलाई लिएर भारतीय कम्युनिस्ट पार्टीमा विवाद पैदा हुन थाल्यो । चारु मजुमदारसँग विवाद भई अलग्गिएका कानु सन्यालले २०१० मा आत्महत्या गरेपछि माओवादी आन्दोलनको इतिहास र औचित्यमाथि नै प्रश्न उठेको छ । दिल्लीले विद्रोहलाई विभिन्न हथकण्डा अपनाएर दबाउने प्रयास गरिरहकै छ । अहिले माओवादी पार्टीहरू विशेषगरेर झारखण्ड र छत्तीसगढको आदिवासी क्षेत्रमा ज्यादा केन्द्रित छन् ।


पछिल्लो समय नेपालको राजनीतिक परिवर्तनमा माओवादी आन्दोलनको योगदानलाई पनि लोभेलको किताबले समेटेको छ । सशस्त्र क्रान्तिको आडमा सत्ता कब्जा गर्ने रणनीति लिएको माओवादी पार्टी संसदीय पार्टीहरूसँग सम्झौता गरेर सत्तामा पुगेको छ । नेपालमा माओवादी पार्टी शान्तिपूर्ण अवतरणबाट शक्तिमा पुगेको उदाहरणलाई लोभेलले महत्त्वका साथ उल्लेख गरेकी छन् । तर नेपाली माओवादी विद्रोहका गतिविधिको अपेक्षाकृत चर्चा पुस्तकले समेटेको छैन । नक्सलाइट विद्रोहबाट प्रेरित भएर १९७० को दशकमा नेपालको पूर्वी सीमाक्षेत्रमा भएको विद्रोहलाई पनि लोभेलले उल्लेख गरेकी छैनन् । पुस्तक बाह्रौं भागमा फेरि चीनतिरै फर्किएको छ । देङ सियाओ पिङको उदय भएपछि चीनले अपनाएको वि–माओवादीकरण र पछिल्लो समय सी चिनफिङको नेतृत्वमा फस्टाउन लागेको नव–माओवादी प्रवृत्तितर्फ संकेत गर्दै पुस्तक टुंगिएको छ । यो बीचमा माओवादको नाममा भएका विद्रोहहरूमा चीनको समर्थन नरहेकोसम्म स्पष्टीकरण दिनुपर्ने स्थिति आएको थियो । यसप्रकार, प्रस्तुत पुस्तकलाई विश्व राजनीतिक परिवेशमा माओवादको यात्राको संक्षेपीकृत दस्तावेजको रूपमा लिन सकिन्छ । पुस्तकले माओ र माओवादबाट प्रभावित भएका मसिना प्रसंगहरूलाई उठाएको छैन । उदाहरणका लागि माओको चीन र अल्बानियाका एनबर होजाबीचको सम्बन्धको आरोह–अवरोह पुस्तकको सीमाभन्दा बाहिरै परेको छ । लाओस, मंगोलिया, बर्मा, थाइल्यान्ड आदि मुलुकमा भएका कम्युनिस्ट विद्रोह र तिनमा माओवादको प्रभावलाई पनि पुस्तकले छोएको छैन ।


पुस्तक मूलतः वर्णनात्मक छ । समाज र मानव विकासको विश्लेषण गर्ने छुट्टै दार्शनिक आधार विकास गर्न नसकेको ‘माओवाद’ को भविष्य बदलिँदो विश्व परिवेशमा कस्तो होला भन्ने प्रश्न अनुत्तरित नै छ । अर्धऔपनिवेशिक र अर्धसामन्ती रूपमा विश्लेषण गरिएको चालीसको दशकको चीनको जस्तो समाज अहिले पक्कै पनि छैन । पेरू, भारत, नेपालको उदाहरणले फरक मुलुकमा समाजको वर्गीय चरित्र पनि फरक भएको देखिएको थियो । फरक सामाजिक संरचनामा माओको रणनीति जस्ताको तस्तै लागू हुन नसक्नेतर्फ लोभेलको पुस्तकले संकेत गरेको छ । तर, स्वयम् चीनमा कम्युनिज्मको भविष्य कस्तो होला भन्ने प्रश्नको उत्तर दिनुचाहिँ पक्कै पनि सजिलो छैन ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?