१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अनुभूति : मैले हजुर किन भन्ने ?

स्वीकृति बराल

त्योदिनभन्दा अगाडि म कहिल्यै झिसमिसेमा उठेकी थिइनँ  । अचम्मै भयो एकाबिहानै आँखा खुले  । मन डराएजस्तो भयो– उठ्न ढिलो भयो कि भनेर । त्यो घरमा मेरो पहिलो दिन थियो । विवाहका काम सबै झन्झटिला हुन्छन् । थकित थिएँ । उठ्न मन पटक्कै थिएन । न त उठिहालौँ भन्ने उत्सुकता नै थियो मनमा तर जुरुक्क उठेँ ।

अनुभूति : मैले हजुर किन भन्ने ?

मलाई कसैले उठ भनेका पनि थिएनन् तर म जर्‍याकजुरुक उठेँ मानौँ मलाई उठाउनका लागि मेरो दिमागमा नै अलार्म फिट भएक थियो । उठेँ र नित्यकर्ममा लागेँ । त्यहीत्यही गरेँ जेजे गर भनेर अह्राए ।


घर नयाँ, परिवार नयाँ, चलनचल्ती नयाँ, बोलिचाली नयाँ, सबै नयाँ । परिवारका सदस्य जो आइपुग्थे अगाडि म मुसुक्क हाँस्थेँ । नहाँसे कति अँध्यारी भन्लान् भन्ने पिर । मज्जाले हाँसौं, कस्तो लाजै नभाकी भन्लान् भन्ने पीर ! हुन त उनीहरूले भन्दैमा म उनीहरूले भनेजस्ती हुने त थिइनँ तर पनि म आफैँलाई नयाँनयाँ कुरा सिकाउँदै थिएँ । ठिक्क हाँस्नू, मीठो बोल्नू, रिस उठे पनि रिस नदेखाउनू । घरकाले गलत कुरै भने पनि जवाफ नफर्काउनू । भोक लागे पनि आफैं झिकेर नखानू, दिएपछि मात्र खानू आदि इत्यादि । हिजोसम्म यी सारा कुरा दिमागमा आउँदैन थिए । यस्ता कुरा दिमागको कुनै कुनामा रहेछन् क्यारे, म आफैं नयाँ कुरा सिक्दै थिएँ । हिजोसम्म बिहानै उठ्न मन नभए उठ्नु पर्दैनथियो । हिजोसम्म रिस लुकाउन पर्दैनथियो । जे मन छ जसरी गर्न मन छ त्यही गर्न पाउँथें म । हिजो र आजमा धेरै फरक भएको थियो । म सोचमग्न भएकी थिएँ । म त्यही हिजोकै मान्छे हुँ या अरू कोही । आफैँ छक्क पर्दै थिएँ । म हिजोकै मान्छे हुँ भने म हिजोजस्ती थिइनँ र हैन भने म को हुँ त ?

गाह्रो हुँदो रहेछ नयाँ घरमा जे गर्न पनि । आफूलाई केही थाहा नभएकाले गर्दा जे गर्न पनि सोध्नु पर्ने । जसलाई सोध्यो ऊ पनि अपरिचित । त्यो दिन पनि अरूकै सहयोगमा अँध्यारैमा नुहाइधुवाइ गरेर भान्सामा गएँ । एक जना महिला चिया पकाउँदै हुनुहँदो रहेछ । चिया म पकाउँछु भनेर पकाउन थाल्नुपर्ने हो कि, उभिएर हेरिरहनुपर्ने हो कि, कुरा गर्न थाल्नुपर्ने हो कि, थपक्क आफ्नै कोठामा गएर बस्नुपर्ने हो ? मलाई केही थाहा भएन । यस्तै कुरा सोच्दै थिएँ ‘बस न किन ठिङ्ग उभिएकी’ भन्ने आवाजले झस्किएँ । उहाँले चियाको कप दिँदै ‘ल खाऊ’ भन्नुभयो । समातेर खाइहाल्नुपर्ने हो कि, लजाएर नखाने भन्नुपर्ने हो ? के हो के ? मैले मन नलागी नलागी– ‘हैन म खान्न भनेँ ।’ उनी पनि ‘ए हो र ? नखाने बानी पो रै’छ’ भन्दै अरूलाई चिया दिन गइन् । वास्तवमा मलाई चिया खान मन नलागेको कहाँ हो र ? अप्ठ्यारो पो लागेको थियो ! नत्र बानीकै कुरा गर्ने हो भने त ओछ्यानमै ‘ममी चिया खै ?’ भनेर कराउने बानी हो मेरो । चिया नदिएसम्म निद्राले छोडे पनि आँखा चिम्लिएर बस्ने अनि चिया हातमा आएपछि बल्ल उठ्ने बानी थियो हिजोसम्म । तर, आज मैले त्यसो गरिनँ । नानीदेखि लागेको बानी छुट्न निकै गाह्रो हुन्छ भन्थे मेरो त बानी छुट्न एक दिन पनि लागेन ।


मभित्र डर थियो कतै गल्ती भइहाल्छ कि, मेरै कारण कसैको चित्त दुखिहाल्छ कि भन्ने । मेरै कारण परिवारमा अप्ठ्यारो आइलाग्छ कि भन्ने । म चाहन्नथिएँ घरमा केही नराम्रो होस् भन्ने त्यो पनि मेरो कारण त कहिल्यै केही नहोस् भन्ने थियो मलाई । मैले सबैको मन राख्न सकौँ र सबैले मेरो तारिफ गरून् भन्ने थियो मलाई । आफूमाथि ठूलै जिम्मेवारी थपिएझैँ लागेको थियो । मलाई नयाँ घर, नयाँ परिवारबाट तारिफ चाहिएको थियो । परिवारलाई मबाट के–के चाहिएको थियो मलाई थाहा थिएन र अहिले पनि मलाई थाहा छैन । सुरुसुरुमा त को को हुन् चिन्नै गाह्रो । नाता बुझ्नै गाह्रो भयो । को आफूभन्दा ठूलो र को आफूभन्दा सानो त्यो पनि बुझ्नै गाह्रो । संसार पूरै नयाँ थियो । मेरो नभए नि सबै मेरा आफ्नै थिएँ त्यहाँ । हिजोसम्म जो आफ्ना थिए सारालाई छोडेर गएकी थिएँ अरूलाई आफ्नो बनाउन र प्रयास यही थियो मबाट नराम्रो केही नहोस् ।


मेरो जिन्दगीमा आएको परिवर्तन मैले स्विकारेकी थिएँ । मलाई मेरो कर्तव्य राम्ररी थाहा थियो । थाहा हुनेले नगर्ने कुरै भएन तर मैले जानेभन्दा त्यहाँका नियम कानुनहरू अलि फरक थिए । आफूभन्दा ठूलालाई आदर गर्नुपर्छ र सानालाई माया, यो कुरा विद्यालय पढ्दैदेखि थाहा पाएकी थिएँ । सानालाई पनि आदर गर भनेर कहिल्यै कसैले सिकाएनन् । नयाँ घरमा अलि फरक चलन रहेछ । त्यहाँ त मैले मभन्दा कान्छालाई पनि ‘हजुर’ भन्नुपर्ने रे । किन होला ? मलाई मेरो जन्म घरमा कहिल्यै सिकाएनन् आफूभन्दा सानालाई ‘हजुर’ भन्न । मैले कहिल्यै मेरा भाइ–बहिनीहरूलाई ‘हजुर’ भनेर सम्बोधन गरिनँ तर नयाँ घर अलि फरक थियो मेरा लागि । त्यहाँका नियम कानुन मेरा लागि एक थरी र अरूका लागि अर्कै थरी थियो । मलाई पटक्कै भन्न मन लागेन आफूभन्दा सानालाई हजुर भनेर र भनिनँ पनि । एक मन त सोचेकी पनि हुँ भन्दिँदैमा के जान्छ र ? तर, मलाई त्यसो गर्न आउँदै आएन । सिक्दै नसिकेको कुरा कसरी आओस् ! मलाई प्रयास गर्न पनि मन लागेन । मेरो कमजोरी भनौँ या बहादुरी मैले मेरो मनलाई जित्न सकिनँ । मैले आफूभन्दा कान्छा/कान्छीलाई ‘हजुर’ भन्न सकिनँ ।


मेरो यो निर्णयले मनमा चोट लाग्ने धेरै भए होलान् । मलाई अशिष्ट र केही नजानेकी भन्न पनि बाँकी राखेनन् होला । मेरो कुराले घरका मान्छेको चित्त नबुझ्नुले त मलाई त्यति अचम्म पारेको थिएन तर मेरो माइतीकै कतिलाई मेरो त्यो बोली मन परेन । एक जनाले मुखै फोरेर भन्नुभयो, ‘जेसुकै भन, घरका नन्द, देवर, भान्जाभान्जीलाई ‘हजुर’ भन्नैपर्छ ।’ पढे–लेखेको व्यक्तिले यस्तो कुरा गरेपछि म सोचमग्न भएकी थिएँ । किनभने मलाई पढे–लेखेका मान्छेको कुरामा तर्क हुन्छ र तर्क ठीक छ भने मान्नु पनि पर्छजस्तो लाग्छ । के होला त आफूभन्दा उमेरमा कान्छालाई पनि ‘हजुर’ भन्नैपर्ने कारण । धेरै सोचेँ । पुराना कुराहरूमा म धेरै तर्क भेट्छु । राति नङ काट्नु हुँदैन भन्ने कुरामा तर्क छ । पहिले पहिले बत्ती थिएन, अँध्यारोमा नङ काट्दा नङसँगै मासु काटिने डर हुन्छ । त्यसैले नकाटेकै राम्रो । तर, अचेल त्यो भनाइ मान्नुपर्छजस्तो लाग्दैन मलाई ।


मलाई हाम्रा पूर्वज अति नै विद्वान् थिए होलान्जस्तो लाग्छ जसले समाजलाई सभ्य र भव्य बनाउनका लागि अनेक नियम कानुन बनाए । नत्र हामी मान्छे पनि त जंगली नै थियौँ नि । घरमा बुहारी देखेपछि अरूले सिन्को पनि भाँच्न हुँदैन भन्ने हाम्रो समाजमा पक्कै पनि महिनाबारीको चार दिन भए पनि घरको काम नलगाउनु र शरीरलाई आराम मिलोस् भनेर बार्ने नियम बनाएको हुनुपर्छ तर पछि जो व्याख्या गर्ने पण्डित आए तिनले यसको गलत व्याख्या गरिदिए । र, हामी अहिलेका पुस्ता जो तर्कै नखोजी जे भन्यो त्यही कुराको पछि लाग्छौँ हामी मूर्ख भयौं । हामीसँग कसैले किन भनेर सोध्यो भने जवाफ हुँदैन । बस् ! हामी यति भन्छौँ, चलन हो मान्नुपर्छ ।


गल्ती गरेको भए गल्ती सच्याउनुपर्थ्यो । मैले यसमा गल्ती भेटिनँ । आफ्नै आमाले नजन्माएका कारणले उनीहरूलाई ‘हजुर’ भन्नुपर्ने हो भनौँ भने किन मेरो श्रीमान्ले मेरा भाइ र बहिनीलाई भन्नु नपर्ने ? किन फरक नियम उनका लागि र मेरा लागि ? कसले बनायो यो नियम ? मेरो विचारमा यो मात्र पितृसत्तात्मक समाजले महिलालाई सानो देखाउनका लागि बनाएको नियम हो जुन मेरा लागि पाच्य थिएन । नियम हो भने सबैका लागि एक समान हुनुपर्छ । हैन भने को हो त्यो मेरो बोलीमा आफ्नो लगाम लगाउने ? मेरो जित भनौँ या हार मैले आफूभन्दा कान्छालाई तिमी नै भनें, जसरी आफ्नो भाइ र बहिनीलाई भन्थें । मैले माया पनि त्यति नै दिएँ जति मेरो आफ्नै भाइबहिनीलाई दिन्थें । सम्मान बोलीमा हैन व्यवहारमा हुनुपर्छ, माया पनि व्यवहारमा हुनुपर्छ ।

स्वीकृति बराल

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?