कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कुमारजी उवाच : बेग्लै, अलग !

कुमार नगरकोटी

गनेस ‘पैताला’ पौडेलले न्युरोडको एउटा एटीएम मेसिनमा कार्ड घुसार्‍यो  । यो केही वर्षअघिको कुरा हो  । बदलामा मेसिनले आफ्नो धर्म निर्वाह गर्दै श्री नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको हजारका पचास नोटहरू फ्याँकिदियो । कागजका ती मूल्यवान खोस्टाहरू सोहोरीवरी ऊ नजिकैको एउटा इलेक्ट्रोनिक पसलमा छिर्‍यो ।

कुमारजी उवाच : बेग्लै, अलग !

काउन्टरमा पसलकी स्वामिनी बसेकी थिई । हँसमुख तथा निकै मिजासिलो स्वभावकी । निजलाई नेरु पचास हजार दिँदै गनेसले भन्यो, ‘साहुनीजी ! एउटा दामी ल्यापटप दिनुस् । तपाईंजस्तै सेक्सी र आकर्षक !’


त्यो दिन कुनै पनि तोर्पेठिस ग्राहकले साहुनीजीको रूप एवं व्यक्तित्वको प्रशंसा नगरेको हुँदो हो । गनेसको ‘सेक्सी र आकर्षक’ जस्ता लेडी–किलिङ–कम्प्लिमेन्ट पाएर ऊ गदगदिएर मुस्कुराई । गनेसलाई एउटा दामी ल्यापटप हस्ते गरी ।
गनेसले त्यो ल्यापटप मलाई हस्ते गर्‍यो । आफ्नो जीवनको पहिलो ल्यापटप पाएर म खुसीले गदगदिएँ । गनेसले साहुनी र म दुवैलाई मख्ख पार्‍यो । खुसी पार्‍यो । पत्रपत्रिकाहरूमा तान्त्रिक लेख–कथाहरू लेखिबस्ने यो जोगी मनुवा वास्तवमा खुसीको डिस्ट्रिब्युटर रहेछ । अ डिस्ट्रिब्युटर अफ् जोयज् एन्ड ह्याप्पिनेस, यु सी !
डिस्ट्रिब्युटरले मसित प्रफुल्लिँदै भन्यो, ‘दाइ, तपाईंलाई ल्यापटप मुवारक ! यो ल्यापटपमा भक्कु फिल्महरू हेर्नोस् । र, मलाई पनि फिल्महरू सिफारिस गर्नुस् ।’
मैले भेटेका सांसारिक जोगीहरूमध्ये गनेस अनौठो जोगी हो । बेग्लै, अलग ! निकै आत्मीय । असलमा ऊ मेरो अभिभावक हो । मेरो गार्जियन एन्जल हो । मेरो चिन्ता गरिबस्छ । भन्छ, ‘दाइ, सिग्रेट नखानुस् । तपाईंको स्वास्थ्य खराब गर्छ । सिगार खानुस् । तपाईंलाई सुहाउँछ ।’


खैर ! गनेस ‘पैताला’ पौडेल उर्फ खुसीको डिस्ट्रिब्युटर उर्फ गार्जियन एन्जल उर्फ जोगीलाई अब यतैकतै थान्को लगाऔं । आउनुस्, ल्यापटपकै कुरा गरौं ।
ल्यापटपमा मैले जोगीले भन्याझैं भक्कु फिल्महरू हेरें । वास्तवमा भन्नुपर्दा आफ्नो जीवनमा मैले तीनवटा काम ‘भक्कु’ गरेको छु । ती निम्नलिखित छन् ः
१) भक्कु किताब पढ्ने ।
२) भक्कु फिल्म हेर्ने ।
३) भक्कु रौसी पिउने ।
किताब, फिल्म र रौसी । पढ्ने, हेर्ने र पिउने । तसर्थ भरपूर आनन्दका साथ जिउने । कसैले तेरो जिउने कलाको टिप्स के हो भनी सोध्दा म फ्याट्ट भन्थें ः पढ्ने, हेर्ने र पिउने । यीमध्ये तेस्रो नम्बरको भक्कु रौसी पिउने परम आनन्द मैले किन हो कुन्नि त्यागिसकेको छु ।
बाँकी दुई आदत भने मनमा अझैसम्म अल्झिबसेका छन् । मानौं ती आदत कुनै स्वप्निल मयजुले उपहार दिएका मफलर हुन्, जो हृदयको बयरझाडीमा अल्झिएका छन् ।

अचेल सिनेमाहलतिर बरालिएर हिँड्ने बानी छुट्यो । मैले हेर्ने खालका चलचित्रहरू हलमा चल्दैनन् । चलमाउँदैनन् । झुल्किँदैनन् । त्यसो भए मजस्ता सिने अनुरागीहरूले रुचाउने, माया गर्ने फिल्महरू कहाँ झुल्किन्छन् ? यस विषयमा हाम्रा भुइँया–मानव यज्ञश– अ फिल्म क्रिटिक–ले भनेका छन्, लेखेका छन् बकाइदाका साथ, ‘खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं, राम्रो फिल्म हेर्न खोज्ने (नगरकोटीजस्ता) दर्शकलाई पनि हलले छेक्दैन । इन्टरनेटको सञ्जालमा जेलिएको यो दुनियाँमा थुप्रै यस्ता छिद्र छन्, जहाँबाट घामको प्रकाश धर्तीमा आइपुगे जसरी राम्रा फिल्महरू हाम्रा ल्यापटप, ट्याब र मोबाइलमा आइपुग्छन् ।’ फिल्म हेर्ने अनुष्ठान मेरा निम्ति नितान्त निजी अनुभूति–अनुभवमा खुम्चिएको छ । हेडफोन लगाउँछु र प्रत्येक दिनजसो फिल्म हेर्छु । गनेस ‘पैताला’ पौडेल, घिमिरे युवराज, बसन्त बस्नेत जस्ता साथीहरूलाई आफूले मन पराएका फिल्महरू सिफारिस गर्छु । अनुप बराल, मीन भाम, यज्ञश, मनोजबाबु पन्त, मनोज पण्डित, अनुप सुवेदीजस्ता सिनेपारखीलगायत ओस्कर फिल्म कलेजका गुरु र विद्यार्थीहरूसित विश्व सिनेमामा भित्रिएका नयाँ–नयाँ प्रयोगहरूबारे चर्चा गर्छु ।


छिरिङ रितार शेर्पा (मुकुण्डो), नवीन सुब्बा (नुमाफुङ), जोयस पाण्डे (साँघुरो), मीन भाम (कालो पोथी), दीपक रौनियार (ह्वाइट सन), सुवर्ण थापा (सुनगाभा), मनोज पण्डित (वधशाला), विनोद पौडेल (बुलबुल), दीपेन्द्र के खनाल (पशुपतिप्रसाद), गणेशदेव पाण्डे (गाँजाबाजा), नरेशकुमार केसी (डाइङ क्यान्डल) जस्ता निर्देशकहरूले आफ्नै रुचिका अरू फिल्महरू बनाउन् भन्ने कामना, प्रार्थना गर्छु ।
आफ्नो ब्वाइफ्रेन्ड भेट्न पुतलीसडकको फुटपाथमा लखरलखर हिँडिरहेकी नगरकोटीकी क्रेजी फ्यानलाई बाटो छेकी भन्छु, ‘टु हेल विथ् ब्वाइफ्रेन्ड ! ब्वाइफ्रेन्ड मुलाहरू त आउँछन्, जान्छन् । तर ‘हरि’ जस्तो नेपाली चलचित्र एक युगमा एक पटक आउँछ । कम, लेट्स गो एन्ड वाच ‘हरि’ । लेट्स सेलिब्रेट नेपाली चलचित्र ।’ मेरो साथ पाएर युवती आफ्नो हरिस्वाँठ ब्वाइफ्रेन्ड बिर्सन्छे । र, मसितै ‘हरि’ हेर्छे ।
हलमा जाने भनेको यस्तै –वान्स इन अ ब्लू मुन– हो ।


डीभीडी पसलहरू पनि अब त एकादेशको कथा हुन गयो । फुटपाथमा बेचिइने सीडी, डीभीडीहरू लोप भए । मैले किलो–का– किलो फिल्महरू उठाउने लगनखेल, बानेश्वर, न्युरोड र ठमेलका डीभीडी पसलहरू धर्तीबाट रामापिथेकस बिलाएझैं राम नाम सत्य भइगए ।
मेरा अधिकांश लेखक–साथीहरू ल्यापटपमा साहित्य सिर्जना गर्छन् । कथा, निबन्ध, संस्मरण लेख्छन् । मै छु एउटा गोब्रेस्वाँठ जो उनीहरूको मुखबाट ‘ल्यापटपमा कविता लेखेको’ कुरा सुन्दा आश्चर्यचकित पर्छु । ल्यापटपमै सिङ्गो उपन्यासको पाण्डुलिपि तयार पार्ने मित्रहरू देख्दा तीनछक् पर्दै जिब्रो काढ्छु ।
‘ल्यापटपमा तँ के गर्छस् ?’ उनीहरू मलाई सोध्छन् ।
‘फिल्म हेर्छु,’ म भन्छु ।
‘फिल्म हेरिसकेपछि चैं के गर्छस् ?’
‘अर्को फिल्म हेर्छु ।’
वास्तवमा ल्यापटप मेरा लागि विश्व सिनेमा चियाउने आँखीझ्याल भएको छ । त्यो आँखीझ्यालबाट म ग्यास्पर नोयले ‘एन्टर द भोयड्’ क्रियट गरेको साइकिडेलिक जगत् चियाउँछु । लार्स भान ट्रायरले ‘मेलाङकोलिया’, ‘डगभिल’, ‘निम्फोमेनियाक’ जस्ता फिल्ममा रचेको विचित्रको संसार नियाल्छु । जोनाथन ग्लेजरले ‘अन्डर द स्किन’ मा निर्माण गरेको साई–फाई– वर्ल्ड पहिल्याउँछु ।
केही दिनअघि गनेसले मध्यरातमा फोन गरी भन्यो, ‘दाइ, निद्रा लागेन । मीठो निद्रा लाग्ने फिल्महरूको एउटा लिस्ट बनाएर पठाइदिनुस् । फिल्महरू यस्ता होऊन् ः बेग्लै, अलग ! जरा हट के टाइपको ।’


मैले उसका लागि एउटा लिस्ट बनाएर पठाइदिएँ । उसैले भनेझैं ः बेग्लै, अलग । लिस्टमा उल्लेख गरिएका फिल्महरू हेरेर उसलाई मीठो निद्रा लाग्यो कि लागेन, थाहा छैन । फोन गरेको छैन । मलाई लाग्छ, ऊ अझै निदाइरहेको होला । सर्ररियल एवं स्वप्निल जगत्मा भौंतारिरहेको होला ।
मलाई पक्का छ, ऊ निदाइरहेको छ । अहिलेसम्म सपनामै छ । एक महिनाअघि ऊ से फोक्सुन्डो, रारा फुगेको खबर आएको थियो । वास्तवमा ऊ त्यहाँ निद्रामै पुगेको हो । दुई साताअघि कोसेलीमा उसको ‘बोन्पो थलोको यादमा’ नामक लेख छापिएको थियो । त्यो लेख उसले सपनामा लेखेको हो ।
मलाई लाग्छ, मैले हेर्न सुझाएका फिल्महरू हेरेर नै ऊ यसरी लामो शीतनिद्रामा गएको हो ।
अनि तपाईं नि ! तपाईंलाई पनि निद्रा लागेको छैन ? त्यसो भए ढुक्क भई यी फिल्महरू हेर्नुस् । निद्रा लागेको छ ? त्यसो भए पनि यी फिल्महरू हेर्नुस् । शीतनिद्रामा जाने ग्यारेन्टी मेरो भयो ।

होली मोटर्स
निर्देशक ः लियोस केर्‍याक्स
देश ः फ्रान्स
यो फ्रेन्च फ्यान्टासी ड्रामामा फिल्मभरि एउटा सेतो लिमोजिन गुडिरहन्छ । पेरिसका सडकमा, अनेक ठाउँमा । त्यो गाडीभित्र एउटा मायावी पात्र बसेको छ । उसको नाम ओस्कर हो । चौबीस घण्टामा उसले अनेक रूप धारण गर्छ । कहिले ऊ भिखारी बन्छ, कहिले कम्पनीको चेयरम्यान । कहिले ऊ म्युजिसियन बन्छ, कहिले विक्षिप्त प्रेमी । कहिले ऊ कसैको हत्या गर्छ । कहिले उसैको हत्या हुन्छ ।
एउटा पर्सोनाबाट अर्को पर्सोनामा रूपान्तरित भई विभिन्न खालका अब्सर्ड एवं बिजायर घटनाहरूमा फस्ने ओस्कर तपाईंलाई आफ्नै अवचेतन मनको प्रतिविम्बजस्तो लाग्न सक्छ । यो एक अविश्वसनीय फिल्म हो ।
सर्रियलिस्ट फिल्म मेकर्स डेभिड लिन्चको ‘इरेजरहेड’ र अलेहान्द्रो हादोरोब्स्कीको ‘द डान्स अफ रियालिटी’ लाई जोडिदिनुस्, त्यसको योगफल ‘होली मोटर्स’ हुन आउँछ । तपाईंको ल्यापटप स्क्रिनमा ओस्कर देखा पर्छ ।
आफ्नो अवचेतन मनका दमित इच्छाहरूसित साक्षात्कार गर्न मन छ भने दोमन नगर्नुस् । उसको लिमो तपाईंको मन–गल्लीतिर आउँदा त्यसलाई हात दिएर रोक्नुस् ।
तपाईंजस्तो भलाद्मीलाई उसले आफ्नो गाडीमा लिफ्ट नदिने त सवालै छैन । उसको छेवैको सिटमा बसिसकेपछि कुनै बियाँलो नगरी सोधिहाल्नुस्, ‘मस्यु ओस्कर ! के म तपाईंको गर्लफ्रेन्डलाई डेटिङमा लैजाऊँ ?’
उसले इन्कार गर्न सक्छ । त्यसो भएको खण्डमा सिटमुन्तिरबाट रिेभोल्भर निकाल्नुस् । र, बुलेटले उसको खप्पर उडाइदिनुस् । त्यसपछि लेडी ड्राइभरलाई आदेश दिनुस्, ‘मिस सेलिन ! टेक मी टु द ग्रेभयार्ड अफ् माई अनकन्सस माइन्ड । ओस्करको लास ठेगान लगाउनु छ ।’

ले क्वात्रो भोल्ते
निर्देशक ः माइकलेन्जलो फ्रामर्टिनो
देश ः इटाली
सबटाइटल नखोज्नुहोला । यो फिल्ममा कुनै डाइलग छैन ।
अंग्रेजी शीर्षक ‘द फोर टाइम्स’ रहेको यो एक मेडिटेटिभ फिल्म हो ः शान्त एवं मौन । शब्दहरू त छन् तर तपाईंलाई बेलाबेला निःशब्द पारिदिन्छ । सन्नाटाको गहिरो इनारमा पुर्‍याइदिन्छ ।
फिल्मलाई भिजुअल लिट्रेचर भनिन्छ । यो एक भिजुअल पोयट्री हो ।
फिल्ममा देखिने एक निद्रालु गाउँको विस्तीर्ण मौनतालाई आँखाले स्पर्श गर्नुस् । दृश्य आँखाबाट मनमा झर्नेछ । मनको दर्पणमा सर्नेछ ।
बजारु फिल्महरू हेरेर आँखा प्रदूषित भएको बेला तपाईंलाई यो फिल्मको धेरै याद आउनेछ । तपाईं आफ्नो मनभित्र झर्नुहुनेछ र दर्पणमा लागेको धूलोलाई प्रेयसीको रुमालले पुछ्नुहुनेछ । र, फिल्मको गोठालोसितै बाख्रा चराउन गएको कल्पना गर्न थाल्नुहुनेछ ।
वृक्ष र कोइलाका लामालामा दृश्य–कथामा तपाईं आफ्नो अस्तित्व, जगत् एवं जीवनचक्रबारे मौन आत्मचिन्तन गर्न थाल्नुहुनेछ । मन त भनिहाल्दिनँ, दिमागमा जमेका कलुषित विचार, तर्कवितर्कको पत्रे धूलोलाई प्रेयसीको रुमालले पुछ्न थाल्नुहुनेछ । तसर्थ, प्रेयसीको रुमाल साथैमा राखी ‘ले क्वात्रो भोल्ते’ हेर्नुस् । आँखाको आँसु होइन, आत्माको धूलो पुछ्न काम लाग्नेछ ।

टाइमक्राइम्स
निर्देशक ः नाचो भिगालोदो
देश ः स्पेन
प्रि–डेस्टिनेसन । देजा’भु । सोर्स कोड । ब्याक टु द फ्युचर । लुपर । यी फिल्महरू त अवश्य हेर्नुभएकै होला । अनि ‘टाइम ट्राभलर्स वाइफ’ नि ! यी सबै काल यात्रा अर्थात् ‘टाइम ट्राभल’ माथि बनेका चर्चित फिल्म हुन् ।
काल यात्रा साइन्स फिक्सनका निम्ति निकै आकर्षक विषय हो जसले विश्वका सिनेसर्जकहरूलाई घोत्लिन बाध्य पार्छ । यो विधाले ब्रिटिस लेखक एच. जी वेल्सलाई ‘स्ट्यान्डिङ ओभेसन’ अर्पण गर्नुपर्छ जसले उन्नीसौं शताब्दीको अन्त्यतिर ‘द टाइम मेसिन’ नामक उपन्यास लेखेर दुनियाँलाई चकित पारेका थिए । यो उपन्यास मैले सानो छँदा पुलिस स्कुलको लाइब्रेरीमा पढेको थिएँ । र, चमत्कृत भएको थिएँ ।
बेलाबेला मलाई चमत्कृत हुन मन लाग्छ । यस्तो बखत काल रहस्यमाथि बनेका रोचक फिल्महरू हेर्छु ः प्राइमर । ग्राउन्डहग डे । इन्टरस्टेलर । समह्वेर इन टाइम । आदि इत्यादि ।
बूढो जन्मेर जवान हुँदै बच्चा बन्ने ‘क्युरियस केस अफ बेन्जामिन बटन’ को पात्रको कथा होस् या समयको मल्टिपल डाइमेन्सनल रियालिटी कथा हाल्ने ‘अ बटरफ्लाई एफेक्ट’, यी फिल्मले आफ्नो काल चेतनामाथि तपाईंलाई पुनर्विचार गर्न प्रेरित गर्छन् ।
कुरा गरौं स्पेनिस थ्रिलरको । बेग्लै, अलग फिल्मको । ‘टाइमक्राइम्स’ को ।
यो एक अल्छीलाग्दो अपराह्नमा घटित हुने हेक्टर नामक पात्रको कथा हो । उसले आफ्नो बाइनाकुलरबाट एउटा यस्तो दृश्य देख्छ जसले उसको शान्त जीवनलाई तहसनहस पारिदिन्छ । मल्टिपल टाइमको दलदलमा ऊ यसरी भास्सिँदै जान्छ जसरी

रसियन आर्क
निर्देशक ः अलेकजेन्डर सोकुरोभ
देश ः रसिया
कस्तो होला यदि तपाईं बिनानिम्तो ‘रसियन स्टेट हर्मिताज म्युजियम’ मा छिर्नुहोला ? कस्तो होला यदि त्यो म्युजियममा रसियाको इतिहास, सभ्यता र कलाबारे तपाईंले इन्भेस्टिगेसन गर्नुहोला ? कस्तो होला यदि अनुसन्धानको क्रममा तपाईंले त्यहाँ रसियाका दिवंगत ऐतिहासिक महापुरुषहरू भेट्नुहोला ?
कस्तो होला नि अब ?
अद्भुत होला ।
अद्भुत अनुभव आर्जन गर्न ‘रसियन आर्क’ हेर्दाहेर्दै ल्यापटपको स्क्रिनबाट फुत्त हाम फाली हर्मिताज म्युजियमभित्र छिर्नुहोला । त्यहाँ एउटा गाइड भेटिनेछ, जसले तपाईंलाई रसियन इतिहासको इनलाइटेनमेन्ट पिरियडको टाइमलाइनमा पुर्‍याइदिनेछ । उसलाई पछ्याउनुहोला । इतिहासमा एक पटक घटिसकेका घटनाहरूलाई नजिकबाट पुनः प्रत्यक्ष हेर्नुहोला ।
यो डेढ घण्टाको फिल्म एक लामो सिक्वेन्स हो, जसलाई सिंगल सटमा खिचिएको छ । एक हजारभन्दा बढी कलाकार र एक्स्ट्राजलाई कसरी कोरियाग्राफ गरियो होला ? त्यो पनि अहिले होइन, सन् २००२ मा ? ताज्जुब लाग्छ । भनिन्छ, सोकुरोभले यसलाई तेस्रो प्रयासमा सफलतापूर्वक खिचेका हुन् । यो कुरा मनन गरी फिल्म हेर्दा तपाईंको आनन्द दोब्बर होला । सोकुरोभलाई सलाम या लालसलाम ठोक्ने रहर होला ।
यो फिल्म मन परे सिंगल टेकमा खिचिएका ‘भिक्टोरिया’, ‘लस्ट इन लन्डन’ र ‘बर्डम्यान’ जस्ता प्रयोगात्मक फिल्महरू पनि हेर्नुहोला ।
‘टाइमक्राइम्स’ को चर्चा गर्दा अन्तिम प्याराग्राफको अन्तिम हरफ अधुरो छाडिएकोमा मलाई क्षमा बक्सिस दिनुहोला । उक्त फिल्म हेरिसकेपछि उक्त हरफ तपाईं स्वयंले पूरा गर्नुहोला ।

टेन क्यानोज
निर्देशक ः रोल्फ डे हिर, पिटर जिगिर
देश ः अष्ट्रेलिया
लोककथा । जीवन । आदिवासी प्रेम । वन्डरफुल–ओ–वन्डरफुल । खोला । जंगल । प्राकृतिक जीवन । वन्डरफुल–ओ–वन्डरफुल ।

वाइल्ड टेल्स
निर्देशक ः दामियान सिफों
देश ः अर्जेन्टिना
यो एक एन्थोलजी फिल्म हो । र, यो जनराको म प्रशंसक हुँ । ‘कफी एन्ड सिग्रेट्स’, ‘पेरिस, आई लभ यु’, ‘सर्ट कट्स’, अनि हिन्दी ‘दस कहानियाँ’, ‘बम्बे टाकिज’, ‘डरना मना/जरुरी है’ जस्ता एन्थोलजी फिल्महरू मैले रुचाएको छु ।
तर, यीमध्ये ‘वाइल्ड टेल्स’ को कुनै जवाफ छैन ।
यो म्याक्सिमम क्रेजी एन्ड वाइल्ड फिल्ममा जम्मा छवटा कथा छन् । यो कथासङ्ग्रहका अविश्वसनीय तथा अकल्पनीय सिचुवेसनले तपाईंलाई यस्तो सम्मोहनको हिरासतमा न्याकेर राखिदिन्छ, जसबाट मुक्ति असम्भवप्रायः छ ।
पिसाबले च्यापेर युरिन ब्लाडर फुटोस् या सर्पै आएर डसोस् । बालै भएन । ल्यापटपको स्क्रिनबाट एक सेकेन्डका लागि आँखा हटे त मरिजाऊँ !
अर्जेन्टिनी निर्देशक मिस्टर सिफोंलाई दर्शकको दिमाग प्लेग्राउन्ड लाग्दो हो । जहाँ यिनी निस्फिक्री उछलकुद गर्छन् । यिनलाई बाँध्ने कुनै नियम कानुन छैन । यिनले हाम्रो दिमाग भद्रगोल पार्छन् । तहसनहस पार्छन् । र, हामी यिनलाई हाम्रो दिमाग नष्ट पार्न छुट दिन्छौं ।

विङ्स अफ डिजायर
निर्देशक ः विम वेन्डर्स
देश ः जर्मनी
विम वेन्डर्सले जर्मन पराधुनिक नृत्याङ्गना एवं कोरियोग्राफर पिना बाउसमाथि बनाएको डकुमेन्ट्री ‘पिना’ हेरेपश्चात् मलाई यी निर्देशक प्रेमिल लागेको हो । लगत्तै ‘विङ्स अफ डिजायर’ हेरेको हुँ ।
यो फिल्मले दुई देवदूत दानियल र क्यासियलको कथा भन्छ जो बर्लिनका सडकहरू चहार्छन् । मनुष्यका क्रियाकलाप, आनीबानी नियाल्छन् । मोर्टल मनुष्यका इमोर्टल आकांक्षा, आशा, खुशी, पीडा, राग, तृष्णा महसुस गर्छन् ।
एउटी युवतीको प्रेममा परेपछि दानियल देवदूतबाट मनुष्य बन्न चाहन्छ । पूरै ब्ल्याक एन्ड ह्वाइट फिल्म देवदूतले मनुष्यको आँखाबाट हेर्न थालेपछि, प्रेमको पवित्रता ग्रहण गरेपछि रंगीन बन्छ ।
यो फिल्म जीवन, प्रेम, फिल्म मेकिङ, बर्लिन, देवदूत र राइनर मारिया रिल्केका कवितालाई समर्पित गरिएको लभ लेटर हो जसलाई विम वेन्डर्सले लेखेर, खामबन्दी गरी हुलाक मार्फत तपाईंको ठेगानामा पठाइदिएका थिए । सन् १९८७ मा ।
खाम खोल्नुस् । लभलेटर ल्यापटपमा डाउनलोड गर्नुस् । स्क्रिनमा ‘विङ्स अफ डिजाइर’ हेर्नुस् ।

नोर्टे ः द इन्ड अफ हिस्ट्री
निर्देशक ः लाभ दियाज्
देश ः फिलिपिन्स
यो केवल ४ घण्टा ११ मिनेटको निकै छोटो फिल्म हो ।
दोस्तोयब्स्की र नित्सेको जीवन दर्शनबाट निकै प्रभावित फिलिपिनो निर्देशक लाभ दियाज स्लो सिनेमा मुभमेन्टका उस्ताद नै हुन् भन्दा हुन्छ । आफ्ना फिल्महरू यिनी एपिक स्टाइलमा खिच्न रुचाउँछन् । समय भर्सेलामा जाओस्, हु केयर्स टाइम– भन्छन् । एक पटक यिनका फिल्महरूको लम्बाइ हेरौं ।
फ्रम ह्वाट इज विफोर ः ५ घण्टा ३८ मिनेट
सेन्चुरी अफ बर्थिङ ः ६ घण्टा
मेलाङकोलिया ः ८ घण्टा
डेथ इन द ल्यान्ड अफ इन्कान्टोस ः ९ घण्टा
इभोलुसन अफ अ फिलिपिनो फ्यामिली ः १० घण्टा ३० मिनेट
त्यसैले भनिएको हो ‘नोर्टे ः द इन्ड अफ हिस्ट्री’ छोटो फिल्म हो । यो दोस्तोयब्स्कीको पात्र रास्कोल्निकोभको कथा हो जसको फिलिपिनो नाम छ ः फाबियन । ‘क्राइम एन्ड पनिसमेन्ट’ मा जसरी पैसाको खातिर रास्कोल्निकोभले एउटी महिलाको हत्या गर्छ, फाबियनले पनि त्यसै गर्छ । तर हत्याको अभियोगमा फस्छ एक निर्दोष मानिस । यो फिल्म हत्यारा र निर्दोष मानिसको मोडर्न ‘इतिहास’ हो जसको ग्रान्ड डिजाइनर लाभ दियाज हुन् ।

प्यान्स ल्याब्रिन्थ
निर्देशक ः गुएलेर्मो डेल टोरो
देश ः मेक्सिको
ओफेलिया ! कति सुन्दर नाम ! यो फिल्म त्यही सुन्दर बच्चीको परीकथा हो । यस्तो परीकथा जसको दृश्य निर्माण गरिएको छ स्पेनिस गृहयुद्धको डार्क ल्यान्डस्केपमा ।
साहित्यमा चलनचल्तीमा रहेको –म्याजिक रियलिज्म– लाई फिल्ममा यति अनुपम ढंगबाट चित्रण गरिइनु गज्जब–ओ–गज्जब लाग्छ । गुएलेर्मों डेल टोरोलाई जति सलाम ठोके पनि कम हुन्छ । यिनी दृश्य भाषाका जादुगरजस्ता लाग्छन् । यथार्थ र स्वैरकल्पनालाई यिनले जादुको सियो–धागोले सिलाएका छन् ।
एकातिर किलिङ फिल्ड छ जसलाई डिक्टेट गरेको छ तानाशाह जेनरल फ्र्याङ्कोका क्याप्टेन भिदालले । उसको क्रूरता एवं हिंसाको कुनै सीमा छैन । अर्कातिर उसैकी झट्केली छोरी ओफेलियाको म्याजिकल फिल्ड छ, जसको स्वैरकाल्पनिक ‘यथार्थ’ को कुनै सीमा छैन ।
क्याप्टेन भिदालले रक्तरञ्जित संसार र ओफेलियाको स्वैरकाल्पनिक संसारमा क्रान्तिकारी लडाकुहरूले ट्रेसपास गरे भने के हुन्छ ? हत्या, षड्यन्त्र र रहस्यको तेस्रो आयाम खुल्छ जो म्याजिकल ल्याब्रिन्थ (भँवरजाल) द्वारा सिर्जित छ ।
यो अद्भुत फिल्म एक वयस्क परीकथा हो, जसलाई नहेर्न, नजरअन्दाज गर्न कम्तीमा तपाईंजस्तो सिने चेत भएको सिनेफाइललाई शोभा दिँदैन । गुएलोर्मों डेल टोरोको ‘सेप अफ वाटर’ हेर्नुभएको छैन भने अवश्य पनि ‘छुट’ दिन सकिन्छ तर ‘प्यान्स ल्याब्रिन्थ’ को सन्दर्भमा भने तपाईंलाई कुनै पनि हालतमा माफ गर्न सकिन्न । आगे तपाईंको मर्जी ।

सिप अफ थिसियस
निर्देशक ः आनन्द गान्धी
देश ः इन्डिया
फिल्मको अन्त्यपश्चात् स्क्रिनमा क्रेडिट्स ननिख्रिउन्जेल आँखाबाट बर्बर्ती आँसु झरिरहे । आँसुलाई पुछिनँ । तिनलाई मन लागियुन्जेल झर्न दिएँ ।
यस्तैमा सावित्री चिया लिएर आइपुगी । आफ्नो लेखक–लोग्ने ल्यापटप सामु रोइरहेको देखेर ऊ निकै विचलित भई । यसरी म रोएको उसले कहिल्यै देखेकी थिइन । उसलाई लाग्थ्यो सायद ः ‘मेरो लोग्ने बलियो मान्छे हो । उसलाई कुनै दुःख/पीडाले छुँदैन । ऊ रुँदैन । लोग्नेमान्छेले आँसु झार्दैन ।’ तर त्यो दिन मेरो आँखा आँसुले भिजेको थियो ।
उसले सोधी, ‘के भयो ? किन रोएको ?’ म अझै स्तब्ध थिएँ । केही बोल्न सकिनँ ।
कहिलेकाहीं सावित्री त्यो दिन सम्झन्छे । अचेल पनि बेला –न– कुबेला ‘मेरो रुन्चे लोग्ने’ भनी मलाई माया जताउँछे । पत्रपत्रिकामा मेरो फोटो छापिएको बेला छोरालाई देखाउँदै भन्छे, ‘हेर त ग्रिस्मिल ! अखबारमा तिम्रो रुन्चे पापाको फोटो आएको छ ।’
यस्तो बखत म ‘सिप अफ थिसियस’ सम्झन्छु ।
फिल्मले तीन पात्र मार्फत मनुष्यको आत्म पहिचान, जीवन र मृत्युबोधका विविध आयाम एक्सप्लोर गर्छ । न्याय, मानवीय, दया–करुणा र सौन्दर्यको कथा हाल्छ । पात्रहरू छन् ः लेडी फोटोग्राफर, स्टक ब्रोकर र संन्यासी ।
तीन पात्रलाई एउटा सूत्रले बाँधेको छ ः अंग प्रत्यारोपण ।
अंगदाताबाट फोटोग्राफरले आँखा पाएकी छे, स्टक ब्रोकरले किड्नी र संन्यासीले कलेजो । त्यो मानिस को थियो जसका अंगहरू यी तीन जनाको शरीरभित्र चलमलाइरहेका छन् ? फिल्मको क्लाइमेक्स दृश्यले तपाईं भावविह्वल बनाउँछ ।
एकअर्कादेखि अपरिचित यिनीहरूलाई नियतिले जोडिदिएको छ । एक ठाउँमा ल्याइपुर्‍याएको छ । यो फिल्म यिनै पात्रहरूको जीवनमाथि लेखिएको सुन्दर निबन्ध हो । जसलाई आनन्द गान्धी स्वयंले लेखेका हुन् ।
त्यस दिन ल्यापटप सामु झरेका मेरा आँसुहरू यिनै गान्धीप्रति थियो । मेरो आँसु यो फिल्मको निर्माणमा जुट्ने सम्पूर्ण ‘पात्र’ हरूप्रति थियो । संसारमा यस्तो फिल्म बनाउने मानिसहरू अझै ज्युँदा छन् भनेर मेरा आँखा अश्रुपूर्ण भएका थिए । ती प्रेम र श्रद्धाका आँसु थिए ।

क्लोज–अप
निर्देशक ः अब्बास किरोस्तामी
देश ः इरान
‘फ्रेन्च न्यू वेभ’ फिल्म आन्दोलनका पायोनियर एवं लेजेन्डरी फिल्म मेकर ज्याँ लक गोदार्डले एक प्रसंगमा भनेका छन् ‘सिनेमा बिगिन्स विथ डेभिड वार्क ग्रिफिथ एन्ड इन्ड्स विथ अब्बास किरोस्तामी ।’
‘द बर्थ अफ अ नेसन’ बनाउने मिस्टर ग्रिफिथ फिचर लेन्थ फिल्मका जनक हुन् । फिल्ममा क्लोज–अप–सट्स भित्र्याउने श्रेय पनि यिनैलाई जान्छ । र, अब्बास त किरोस्तामी भइहाले । निर्देशक, निर्माता, स्क्रिनराइटर, कवि, फोटोग्राफर ।
वर्ल्ड सिनेमाका सुरुचिसम्पन्न दर्शकहरू किरोस्तामीका– टेस्ट अफ चेरी, टेन, सिरिन, सर्टिफाइड कपी, द विन्ड विल क्यारी अस, लाइक समवान इन लभ, थ्रु द ओलिभ ट्रिज– जस्ता सुन्दर सिर्जनाद्वारा सुखद आश्चर्यले वशीभूत भइहाल्छन् । तर, तपाईंजस्तो सिनेफाइलको सन्दर्भमा भने ‘क्लोज–अप’ चिरस्मरणीय फिल्म साबित हुन जान्छ । किनभने यो किरोस्तामीको अरू ‘बेग्लै, अलग’ फिल्मभन्दा विशेष रूपले बेग्लै, अलग छ ।
‘क्लोज–अप’ फिक्सन र डकुमेन्ट्रीको वर्णशंकर हो ः डकुफिक्सन । यो हाइब्रिड क्रियसनमा पात्र, सुपात्र र कुपात्र छन् ।
हुसैन (कुपात्र) तेहरानको एउटा परिवार (पात्र) भित्र आफू प्रसिद्ध फिल्म मेकर मोहसिन मखमलबाख (सुपात्र) भएको विश्वास दिलाउँदै प्रवेश गर्छ र भन्छ, ‘म नयाँ फिल्म बनाउँछु । तपाईंहरूले सहयोग गर्नुपर्‍यो ।’
मखमलबाखका सिर्जनाहरू मन पराउने परिवारले हुसैनको कुरा पत्याइदिन्छ । घरमा उसलाई आतिथ्य प्रदान गर्दै सहयोग गर्छन् । तर, निजको वास्तविकता खुलेपछि घटानाले यु–टर्न लिन्छ । मुद्दा अदालतमा पुग्छ ।
अब्बास किरोस्तामी त्यस बेला अर्कै फिल्म बनाउनमा व्यस्त थिए । यो घटना चाल पाएपछि प्रोंजेक्टलाई थाँती राखे । र ‘क्लोज–अप’ बनाए । वास्तविक घटनालाई वास्तविक पात्रहरूले वास्तविक अभिनय गरे । चियर्स फर अब्बास किरोस्तामी ! चियर्स फर ‘क्लोज–अप’ ।

अन बडी एन्ड सोल
निर्देशक ः इदिको एन्यादी
देश ः हंगेरी
स्लटर हाउसकी अजिब–ओ–गरिब प्रेम कहानी ! कभी सुना न था । कभी देखा न था । कभी सोचा न था । प्यार और मोहब्बत तो बागों और बगिचों मे होती थी । बरसात और रेल्वे प्लेटफर्म की खयालात मे होती थी ।
लेकिन स्लटर हाउस ?
जी हाँ, जनाब ! यूँ कहें की कभी–कभी स्लटर हाउस मे भी प्यारका इजहार होता है । वधशाला मे भी प्यारका बहार आता है । स्लटर हाउस मै भी दिल बेकरार होता है ।
स्लटर हाउस, द मोस्ट अनयुजुअल प्लेस टु फल इन लभ ! इजन्ट इट ? बट दे फल इन लभ माई फ्रेन्ड ! दे लभ इचअदर । इन्साइड द ड्रिम । आउटसाइड द ड्रिम । इन्साइड द बडी । आउट साइट द बडी ।
बुडापेस्टको अत्याधुनिक वधशाामा दुई कर्मचारी छन् । आन्द्रे र क्लारा । यी दुईले एउटै सपना बारम्बार देख्छन् । सपनामा यिनीहरू मृग हुन्छन् । मृगहरू कहिले जंगलमा देखिइन्छन् । कहिले हिउँमा । कहिले नदी किनारमा ।
विश्व सिनेमालाई यति स्वप्निल प्रेमकथा उपहार दिने हंगेरीका चलचित्र–चेली इदिको एन्यादीलाई हामी संसारभर छरिएर बसेका प्रेमपुजारीले लामो स्ट्यान्डिङ ओभेसन दिनुपर्छ । उनको फिल्म–यात्रालाई असीम शुभकामना टक्राउनुपर्छ ।
यो फिल्म हेरेपछि तपाईंलाई सम्भवतः निदाउन मन लाग्नेछ । मीठो सपना देख्न मन लाग्नेछ । सपनामा मृग बनी नदी किनार, हिमाली प्रदेश र जंगलमा विचरण गर्न मन लाग्नेछ । र, विपनामा फेरि एकपल्ट कसैलाई प्रेम गर्न मन लाग्नेछ ।
तो, क्या बोल्ते हो ? हो जाए एक बार किसी और से प्यार !

हरि
निर्देशक ः प्रतीक गुरुङ, सफल केसी
देश ः नेपाल
‘हरि’ नेपाली चलचित्र इतिहासको एक क्राउनिङ अचिभमेन्ट हो ।
युगौंदेखि रहिआएको परम्परागत कथ्य संरचना (साम्राज्य) लाई पूरै भत्काएर यो फिल्मले आफ्नै प्रकारको विशिष्ट दृश्यभाषा निर्माण गरेको छ । जो काबिल–ए–तारिफ छ । यस्तो सर्रियल ढाँचाको फिल्म हामीकहाँ न कहिल्यै बनेको थियो न आगामी केही वर्ष बन्ने नै सम्भावना छ ।
यद्यपि सिने साक्षरता न्यून भएको मुलुकमा यस्तो सिर्जनाको जे हविगत हुनु थियो, भयो । असामयिक फिल्मको असामयिक निधन हुनु थियो, भयो ।
दर्शक, फिल्म समारोह तथा तथाकथित राष्ट्रिय अवार्डबाट अपमानित, तिरस्कृत भएको यो फिल्मले हाम्रो हैसियत देखाइदिएको छ । हाम्रो सिनेमा–चेतनाको पर्दाफास गरिदिएको छ ।
‘हरि !’
आई एम सो सरी !
‘हरि’ एक हरिस्वाँठ मनुवाको जीवनमा एक–पछि–अर्को आइपर्ने विसंगत घटनाहरूको कथालाई सर्रियल स्वरूपमा प्रस्तुत गर्ने रोचक फिल्म हो । मूल पात्रलाई कलाकार विपिन कार्कीले निकै स्वाभाविकताका साथ कथाको लयमा ढालेका छन् । यिनले अभिनय गरेका छैनन्, चरित्रलाई बाँचेका छन् ।
यो प्रयोगात्मक चलचित्र नेपाली दृश्यभाषाको, दृश्यसाहित्यको अनुपम नमुना हो । यद्यपि पचास वर्षभन्दा बढीको गौरवशाली इतिहास बोकेको नेपाली चलचित्रले यसलाई अछूतको व्यवहार गर्दै जसरी छिःछिः, दुरदुर गर्‍यो– त्यो निकै विडम्बनापूर्ण छ ।
फिल्म हेरेर फर्केको साँझ विपिन कार्कीले मसित फोनमा लामो कुराकानी गरेका थिए । उनले भनेका थिए, ‘कुमार दाइ ! लगानी नै नउठाउने यस्तो फिल्म बनाएर म घाटामा जाउँला । फुटपाथमा झरौंला । ‘हरि’ ले मलाई हरितन्नम बनाउला । मेरो हरिविजोग होला । तर यस्ता फिल्महरू म बनाइरहुँला । कसैले प्रस्ताव ल्याए एक पैसा नलिई मुफ्तमा अभिनय गरुँला । मलाई तपाईंको प्रेम भए पुग्छ । शुभकामना भए पुग्छ ।’
प्यारो विपिन !
तिमीलाई मेरो प्रेम छ । शुभकामना छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?