२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कथा : बुझ्यौ ? के बुझ्थ्यौ !

आन्विका गिरी

त्यो दिन अरू दिनजस्तै थियो  । म बिहान ५ बजे नै वाकमा गइसकेको थिएँ  । धुम्बाराहीबाट भत्केको पुल, कालो पुल हुँदै म सिफलको चौर कटेर भण्डारखाल पर्व बगैंचा पुगेको थिएँ । बगैंचाको मुख्य गेट गौशालामा भए पनि म अरू थुप्रैझैं पर्खाल भत्केको ठाउँबाट सुत्त छिरेँ । वा, भनूँ मझैं अरू धेरै छिर्छन् । भित्र नछिरुन्जेलसम्म पनि मलाई दिन उस्तै लागिरहेको थियो । भित्र छिर्दा भने दृश्य अर्कै थियो ।

कथा : बुझ्यौ ? के बुझ्थ्यौ !

हूलका हूल आइमाई हिँडिरहेका छन् । अब भन्नुहोला, सहरमा आजभोलि महिलाहरू वाकमा आउनु के अचम्म भो र ! ती आइमाईहरू अरू बेलाजस्तो तौल कम गर्न, सुगर घटाउन हिँडिरहेका थिएनन् । तिनीहरूलाई हतार पनि थिएन । कसैले घडी हेरिरहेका थिएनन् । रेडियोको स्पिकर खोलेर समाचार सुन्दै थिए । एउटी भन्दै थिइन्, ‘तपाईंले त्यो आणविक विधयेकका बारेमा पढ्नुभयो ?’ अर्कीले थपिन्, ‘के हामी चाइनाको डेब्ट ट्र््यापमा पर्छौं ? पत्रिकामा कोही के लेख्छ, कोही के लेख्छ ।’


मेरो कानलाई विश्वास नै लागेन । यस्ता कुरा आइमाईहरू गर्दैनन् । तरकारीको भाउ बढ्यो भनेर गुनासो गरिरहेका आइमाईहरूलाई यस्ता विषयमा के रुचि ! तर कुराकानी चलिरह्यो । ट्रम्पलाई गधा भन्नेदेखि लिएर मोदीको विजयले नेपालमा पर्ने असरसम्मका कुरा भइरहेको थियो । मलाई अचम्म लाग्यो, आज तिनीहरू किन आफ्ना छिमेकीको, आफ्ना सासूको, आफ्ना बुहारीको कुरा गरिरहेका छैनन् । ‘ज्वाइँको पाराले म वाक्क भइसकेँ,’ पछाडिबाट यस्तो आवाज सुनेर म थोरै सम्हालिएँ तर त्यो आवाज आइमाइको थिएन । पुरुष स्वर थियो । मैले पछाडि फर्केर हेरिनँ । कैयौं पुरुषको आवाज मधुरो हुनेगर्छ । यस्तो कुरा आइमाईबाहेक कसले गर्छ र ! ‘चियासमेत सोधेनन् ।’ दुई जना पुरुषले कुरा गर्दै मलाई उछिने । म हरेको हेर्‍यैँ भएँ । यी लोग्नेमान्छेहरूलाई के भयो हँ आज ? के थाङ्ने गफ गर्दै हिँडेका ! रिस उठ्यो ।


‘तपाईंले सरकारको नाकामीलाई खतरा डोज दिनुभयो,’ फेरि आइमाईकै बोली सुनिन्छ । फर्केर हेर्छु, खगेन्द्र संग्रौला पो आए कि वाकमा भनेर । एउटी आइमाई अर्की आइमाईलाई राष्ट्रिय दैनिकमा आएको उसको लेखको प्रतिक्रिया दिँदैथी । त्यो अँधबैंसे आइमाई चिनेजस्तो लागेन । आइमाईलाई चिन्नु मलाई कहिल्यै आवश्यक नै परेन । आइमाईका अघिपछि केही तरुण उमेरका केटीहरू छन् । आइमाई भनिरहेकी छे, ‘अब तिमीहरू डोज देओ, मेरो पुगिसक्यो ।’


‘हो, दिदी, हो दिदी,’ भने केटीहरूले एकै स्वरमा । ‘दिदीले त्यो सुविन्द्रको लेख प्रमोट गर्न नहुने,’ एउटी केटीले गुनासो गरी, ‘के लेख्छ त्यसले । त्यसमा वैचारिक प्रस्टता नै छैन ।’‘मिलाउनुपर्छ के कहिलेकाहीँ,’ लेखक आइमाई हाँसी, ‘यो दुनियाँमा देखाउनु पनि जरुरी छ ।’सडकमा आक्कल–झुक्कल कारमा केटामान्छे देखिए । हर्न बजाउँदै, हल्ला गर्दै, किँचुला मारुँला गरेर आइमाईहरू कार हाँकेर हुइँकिइरहेका छन् । तिनलाई कहाँ पुग्नु हतार थियो । यो के भइरहेको हो भनेर मलाई मेसो पाउन मुस्किल भइरहेकै बेला कार्की दाइको चियापसलमा देखिएको दृश्यले म ठाउँको ठाउँ जमेँ । कार्की दाइले मुस्कुराएर स्वागत गरे । जसै भित्र पसेँ, उसै मेरा कान र आँखा बिझाए । सबै टेबल कुर्सीमा आइमाईहरूको झुन्ड छ । यसो आँखा डुलाउँछु । एउटा टेबलमा एउटी मात्र युवावय केटी बसेकी छ ।
‘बसौं,’ म सोध्छु ।
‘हुन्छ,’ ऊ भन्छे ।
‘शर्मिला म्याडम निकै तनावमा हुनुहुन्छ नि ?’ टेबलमा आइमाईहरूको गफ जारी थियो ।
‘म त्यो लोग्नेमान्छेको अन्डरमा काम गर्छु भन्ने ठानेको छ त्यसले,’ शर्मिला म्याडमले टेबल ठोकिन्, ‘के सोचेको छ त्यसले ? हाकिम बनेर आयो भन्दैमा कज्याउन खोज्ने । एउटा फाइल पनि अघि सार्दिनँ अनि देख्छ, त्यसले तोरीको फूल !’
हाहाहाहा... हासेँ आइमाईहरू पसल थर्कने गरी ।
‘त्यो यसै हाकिम भाको हो,’ शर्मिला म्याडम अझै कड्किइन्, ‘के जानेको छ ? कति जनालाई खुसी पारेर त्यसले प्रमोसन पाको छ । मलाई एक–एक रेकर्ड थाहा छ ।’
‘त्यही त,’ अर्कीले थपी, ‘लोग्नेमान्छे कसरी माथि पुग्छन्, हामीलाई थाहा छैन ?’
‘मन्त्रीज्यूले कति राम्रो कोट भन्दिनु भाको,’ शर्मिला म्याडम बोलिन्, ‘मस्किँदै थियो ।’
‘मन्त्रीकै फेवर छ भन्छन्,’ अर्कीले भनी ।
‘नकराउनुस् तपाईं,’ शर्मिला म्याडम रिसाइन्, ‘तपाईं पनि मस्केको देख्या छु मैले ।’
‘अब आइमाई नै आइमाई भाको ठाउँमा बिचरालाई गाह्रो भो होला भनेर मैले थोरै कम्पनी दिन खोजेको नि,’ ती आइमाईले ङिच्च गरिन् ।
‘दिनुस्, दिनुस् कम्पनी,’ अरू आइमाईले हाँसो गरे, ‘मोज गर्नुस् ।’ हैट सकस भो ।
घाँटीको परवाह नगरी तातो चिया सटासट पारेँ । पैसा दिएर काउन्टरबाट निस्कँदै गर्दा ‘म्याडमलाई मेरो छोरीको स्कलरसिपको कुरा के भयो, एकफेर सम्झाइदिनुस् न है’ भनेर कार्की दाइले हात मोलेँ ।
‘भनिहेर्छु,’ मैले भनेँ, ‘मेरो कुरा कहाँ सुन्छिन् र !’ आफूले के बोलेँ भनेर आफैंलाई होस भएन । घर पुग्दा आमा आँगनमा पत्रिका पढ्दै थिइन् ।
‘के रैछ त समाचार ?’ मैले सोधेँ । विचार पृष्ठबाट सर्लक्क पेज पल्टाएर मनोरञ्जनमा पुर्‍याइन् । ‘दीपिकाले फिल्म खेल्ने, रणवीरले बच्चा हेर्ने कुरा रैछ’, उनले मुस्कुराएर जवाफ दिइन् । मलाई के मतलब ! म हतारहतार भित्र छिरेँ । श्रीमतीजी हातमा ब्याग लिएर किचनमा आइन् ।
‘मिटिङ छ,’ उनले मतिर नहेरी भनिन्, ‘खाना कुर्नु पर्दैन खाए हुन्छ ।’
‘कतिखेर आउँछौ ?’ मैले सोधेँ ।
‘अब मिटिङको के भर !’
‘किन यस्तो अपर्झट मिटिङ डाक्यो त पार्टीले ?’
‘तिमीलाई पनि के–के कुरामा चासो हुन्छु, मेरो गालामा प्याट्ट हानेर हाँस्दै श्रीमतीजी जिस्किइन् ।
‘मेरो पनि आज संगठनको मिटिङ थ्यो,’ म सुनाउँछु ।
‘तिमीहरू प्नि कति गन्थन गर्छौ,’ उनले पनि सुनाइन्, ‘लछारपाटो केही लाउने होइन ।’ थप केही भन्न नपाउँदै मलाई आहत पारेर उनी गइन् । बाहिर लुगा टाङ्दै थिए, छिमेकी दिदी फोनमा कुरा गर्दै बरन्डामा आइन् ।
‘हामीजस्तो इमानदार पार्टीलाई कहाँ चाहिएको हो ?’ उनी भन्दै थिइन्, ‘राधाजस्तो गुन्डा चाहियो उनीहरूलाई त । पैसा उठाएर दिन सक्ने । प्रधानमन्त्रीले खल्ती नै खल्ती भाको कोट त्यसै सिलाउनुभएको होइन भन्ने बुझ्नुस् ।’
उताबाट को के बोल्दै थियो कुन्नि, यताबाट ‘हँ, हुँ गरेर मुन्टो पनि हल्लाइरहेकी थिइन् । हिजोसम्म उनका लोग्ने बरन्डामा डुलेको देखिन्थ्यो । आज ऊ दृश्यबाट गायब छ ।
‘सेटिङ नै मिलाउनुपर्‍यो भने म पनि सक्छु, उनले भनिन्, ‘कस्ता कस्तालाई तह लगाएकी छु । तर म निष्ठाको राजनीति गर्छु ।’
ओहो ! कति जन्ड आइमाई । म हतारहतार भित्र छिरेँ ।
दिउसो काम सकेर टीभी खोलेँ । चल्तीका टक सोहरूको रिपिट टेलिकास्ट आइरहेका थिए । सबैको बहसको कुरो उही, देश किन यस्तो भो ? राजनीतिले किन बाटो बिरायो ? देशलाई रेल चाहिएको छ कि पानीजहाज ! फरक यत्ति थियो कि, सबै सोहरू आइमाईहरूले चलाइरहेका थिए । आइमाईहरूलाई नै डाकेका थिए । हिजोसम्म त त्यस्तो थिएन । आश्चर्यले मेरो आँखाहरू तनक्क तन्किए । अर्थशास्त्री आइमाई, समाजशास्त्री आइमाई, विश्लेषक आइमाई । के यो देशमा पुरुषहरू छैनन् ? मैले आफैंलाई सोधेँ ।
‘रेल भए उत्तम ! म विकासविरोधी हैन,’ एउटी आइमाई भन्दै थिइन्, ‘तर रेल प्राथमिकता हो त ? कहाँ छ पैसा रेल बनाउने ? अरूको भरमा गफ दिने ?’
‘आजको संसारमा सबै कुरा आफैंसँग पैसा भएपछि मात्र आँट्ने होइन,’ अर्की विशेषज्ञ आइमाई भन्दै थिइन्, ‘रेल भएपछि हामी यहाँको के मात्र बेच्न सक्दैनौं ? पानी बेच्छौं ।’
‘यो प्रधानमन्त्रीको डाइलग हो,’ प्रस्तोताले हाँस्दै भनिन्, ‘पार्टी फरक भए पनि यो कुरामा तपार्इंले प्रधानमन्त्रीको बोली ट्याप्पै टिप्नुभाको छ नि !’
‘उहाँले पानी बेच्ने भन्नुभो,’ रेलविरोधी विशेषज्ञले भनिन्, ‘खोला त यसै बेचिसकिएको छ ।’
रननन भएर अर्को च्यानल लगाउँछु । त्यहाँ एक जना पुरुष पनि बोलाइएको रहेछ । राहत भो । तर राहत एकै छिनमा बाफ बनेर उड्यो । पुरुषले बोल्ने पालो पाउने भनेको ‘यसमा पुरुषको के भूमिका हुन्छ ?’ जस्ता प्रश्नमा मात्र थिए । त्यही पनि उसलाई पूरै बोल्नै दिंदैनन् । घरीघरी प्रस्तोता महिलालाई नै सोध्छे । अर्को च्यानलमा पुग्छु, सरकारकी पार्टीकी नेता अर्थतन्त्र मजबुत भाको गफ दिंदै थिइन् । प्रतिपक्षकी नेता उनको कुरा काट्तै थिइन् । चर्काचर्की गरिरहेका छन् । ए हौ, यो के प्रलय हुन लाग्यो । चकित पर्छु । आइमाईहरू कसरी सबैतिर छाउन पुगेँ ?
हलुकासँगै थिचे हुने रिमोट जोडले थिचेर टीभी बन्द गर्छु । ‘आइमाईका कुरा कति सुन्नु !’ आफैंसँग भुत्भुताउँछु । फोन बज्छ । उठाउँछु ।
‘म्याडम हुनुहुन्छ घरमा ?’ फोन गर्ने सिधै सोध्छे ।
‘यो म्याडमको फोन होइन,’ म झर्कन्छु ।
‘आजको मिटिङको स्कुप लिऊँ भनेको,’ ऊ बताउँछे, ‘म्याडमले फोन नै उठाउनुहुन्न ।’
‘म के गरूँ त !’ म फोन गर्नेलाई सुनाउँदिनँ, आफैंलाई भन्छु ।
‘मलाई त फोन नै गर्नु हुँदैन,’ म उसलाई चिनेपछि भन्छु, ‘हाम्रा कुरा पनि राख्दा हुन्छ होला ।’
‘लिउँला नि तपाईंहरूका कुरा पनि तपाईंहरुको मुद्दा हुँदा !’ ऊ हाँस्छे ।
‘के हो हाम्रो मुद्दा ?’ म सोध्छु ।
‘हिंसा, अधिकार,’ उताबाट झन् ठूलो हाँस्छे, ‘तपार्इंहरूको दिवस पनि त छ । त्यतिखेर त जताततै तपाईंहरू मात्रै !’
के भ्रष्टाचारका बारेमा पुरुषका कुनै कुरै छैनन् ? के पार्टीको गुटका सिकार पुरुष भएका छैनन् ? टाउको समात्छु । आफैंलाई बिचरा पाउँछु । अर्को आफूले चिनेको पत्रकारलाई फोन गर्छु । ऊ दुःखी छ । चिया खान बोलाउँछ । लाजै नमानी सिधै भन्छ, ‘मूलतः यो निम्तो भडास पोख्नका लागि हो ।’ म सहर्ष स्विकार्छु । मलाई नि पोख्नु छ भँडास । उसको सुनेपछि आफ्नो पनि सुनाउने सुर गरेर म बानेश्वर पुग्छु ।
‘सम्पादकले हैरान पारेकी छिन्,’ ऊ सिधै सुरु गर्छ, ‘राजनीति, अर्थ, सुरक्षाको रिपोर्ट गर्न पुरुषलाई गाह्रो पर्छ भन्छिन् ।’
‘के ?’ मलाई पत्यार लाग्दैन ।
‘मेरोबारेमा हल्ला चलाएका छन् महिला पत्रकारले,’ ऊ रुन्चे सुनिन्छ, ‘सम्पादकसँग म मस्किन्छु । मेरो समाचार समाचार सम्पादकसँग चिया खाएकाले छापिन्छ । अरू के–के हो के–के म भन्न सक्दिनँ ।’
‘के अत्याचार हो यो ?’ म कड्किन्छु, ‘सँगै काम गर्नेसँग चिया खान नहुने ?’
‘सिकाउनुस् सिक्छु भन्छु, ऊ दुःखी नै छ, ‘नेताको अन्तर्वार्ता गर्नुपर्‍यो भने आफ्ना बहिनीहरू च्यापेर हिँड्छिन् । कतै साँझ पार्टीमा ठूला मान्छे भेट्नु छ, कुनै न कुनै बहिनी लिएर जान्छिन् ।’
‘सम्पादकदेखि अरू टाउकेनीहरूसमेत कति राम्रो सर्ट, कति राम्रो जुत्ता, कति चम्किलो छाला !’ ऊ माथितिर चिया पसलको सिलिङमा हेर्छ, ‘मैले लेखेको समाचारको त केही प्रतिक्रिया दिन्नन् ।’
‘हैट,’ म यति मात्र बोल्न सक्छु । माथा घुम्छ । भनन रिँगटा लाग्छ । पसलमा अन्य आइमाईहरू हामीले चुरोट खाएको घुरेर हेरिराखेका छन् । अप्ठ्यारो लाग्छ । पसलबाट निस्कन्छु । आफ्नो भँडास मनमै राखेर ऊसँग बिदा भएर न्युरोड हानिन्छु । माइतीघरमा जुलुस छ भनेर गाडीहरू रोकिएका छन् । हिँड्न थाल्छु ।
‘बाउको नामबाट नागरिकता दे !’ नारा घन्काएर ब्यानर बोकेर सारा पुरुषहरू पारितिरबाट जुलुस लगाएर हिँडेका छन् । अनुहारमा रिस छ । आवाजमा आक्रोश छ । बिजुलीबजारको पुलनेर छु । मैले चिनेका पुरुषहरू पनि छन् । वारिबाट पारि आउन हातले इसारा गरिरहेका छन् । केही महिला पनि छन् ताँतीमा । धेरै महिला सडक छेउमा बसेर जुलुस हेर्दै हाँसिरहेका छन् ।
‘बाउको नाम चाहियो रे यी नकचराहरूलाई !’ एउटी आइमाई मेरो छेउबाट रिसाउँदै गई, ‘समाज भाँड्ने भए । राष्ट्रियतालाई नै खतरा पारेर यिनीहरूलाई अधिकार चाहियो रे !’ मतिर पुलुक्क हेरी । मैले टाउको निहुर्‍याएँ । के भयो यो ? आमाको नाम गायब पारेका थियौं त हामीले । कसरी एक दिनमा यत्रो उलटपुलट भयो । म थचक्क बसेँ । जुलुस अघि बढिसकेछ ।
‘के भाइ ?’ एउटी आइमाईले काँधमा हलुकासँग थप्थपाई ।
‘यस्तो अन्याय गर्न मिल्छ ?’ मैले रिसाएर भनेँ, ‘के बाउहरू यति खतरनाक हुन्छन् । नागरिकतामा नाम राख्दा राष्ट्रियतामा असर पुग्छ ?’
‘बहुला हो कि के हो ?’ ती आइमाई आफ्नो बाटो लागिन् । मन भारी हुन्छ । दुखेजस्तो हुन्छ । कुनै समयमा फाट्टफुट्ट कविता लेख्ने भएकाले लेखकको अड्डामा जाने विचार गर्छु । धेरै भएको थियो नगएको । अड्डामा दिदीहरू आइसकेका रैछन् । केही बहिनीहरू पनि थिए ।
‘हेन्डस भएछौ,’ परैबाट एउटी दिदीले उडाइन् । नमस्कार गर्छु । बसुम् कि नबसुम् भनेर सोच्छु । अप्ठेरो लाग्छ । फेरि पनि बस्छु । मलाई उडाउने दिदीलाई अर्की बहिनीले भन्छिन्, ‘तपाईं त नगरकोट जानुभाको थियो रे !’
‘अँ,’ दिदी यताउता पसल वरपरका मान्छेलाई हेर्छिन् । मानौ थप श्रोताको आवश्यकता थियो ।
‘मोज भयो होला !’
‘ऊर्जा आयो भाइ, ऊर्जा !’ दिदीले मेरो तिघ्रामा प्याट्ट हानिन् । म रातो भएँ । सबै गललल हाँस्छन् ।
‘दिदीहरूका कुरा कति डेन्जर बुढेसकालमा पनि !’ म पनि हल्का उडाउन खोज्छु । ‘भाइ, तन बूढो भए पनि मन जवान छ नि !’ दिदी के उड्थिन् ! कसले कसको हात समात्यो, को पुरुष लेखकको किताब कसले लेखिदिएर हिट भाको, कोकोसँग घुमिरहेको छजस्ता कुरा गरेर दिदीहरू हाँसिरहे । बहिनीहरू मेसेन्जर खोलेरै च्याट देखाउँदै थिए ।
‘तिमी मान्छे राम्रो तर कविता त झनै राम्रो !’ एउटी बहिनीले भनी, ‘त्यति लेखेर के पठाइदिएको थिएँ, मोरो पछि लागिसको । जहाँ बोलाए नि आउँछ ।’
‘त्यो केशवको कथा यति झुर थियो पढेर बान्ता आयो,’ अर्की बहिनीले भनी ।
‘फेसबुकमा त खुब प्रशंसा गरिरहेकी थियौ त,’ अर्की दिदीले मुख बटारिन् ।
‘अब त्यो त गर्नैपर्‍यो नि,’ बहिनीले आँखा झिम्क्याई ।
‘भो भो यहाँ नबस्,’ मेरो मनले मलाई गाली गर्‍यो ।
म डराएँ । के हालत हो यो देशमा पुरुषको ! के पुरुष आफैं लेख्न सक्दैनन् ः सबै चल्तीका पुरुष लेखक कुनै महिलालाई नै रिझाएर छापिएका हुन् त ? आफू सत्तामा छु भनेर यिनीहरू किन यति तल झेरेर बोलेका ? के भोलि हाम्रो दिन आउँदैन ?
बल्लतल्ल माइक्रो चढेँ । साँझको समय सबैलाई हतार छ । त्यसमाथि धुम्बाराहीको माइक्रो चढ्न सानोतिनो लडाइँ लड्नुपर्छ । दुई महिलाको बीचमा चेपिएको छु । यता ढेसिन्छन् । उता धकेल्छन् ।
‘के सारो हो यो ?’ अति भएपछि म जंगिन्छु ।
‘के भो ?’ उनीहरूका स्वर झन् के साना हुन्थे ।
‘कति ढेपासिनुभाको ?’
‘भीडमा यस्तै त हो ।’ खलासी बैनी पनि पो मलाई नै कराउँछिन्, ‘यस्ताले ट्याक्सी चढ्नु ।’ म अरू यात्रुतिर हेर्छु । निरीह छु । कोही बोल्दैनन् । म नागपोखरीमा ओर्लन्छु । आँखाबाट तुरुक्क आँसु झर्छन् । यस्तो निरीह पहिले भएको थिइनँ । घर पुग्दा आमा टीभी हेरिरहेकी थिइन् । म पनि सोफामा थ्याच्च बस्छु । टीभीमा गृहमन्त्री आइरहेकी छन्, ‘यो देशमा पुरुष हिंसा हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’
‘थुक्क, थुक्क, थुक्कु, म तीनचोटि मनमनै थुक्छु । मलाई भाउन्न हुन्छ । बान्ता आउलाजस्तो दिगमिग लाग्छ । श्रीमतीजीको कुनै टुंगो छैन । फोन गर्छु । ‘एक छिन टाइम लाग्छ’ भन्छिन् । फेरि गर्छु । तीनचोटि गरेपछि रिसाउँछिन्, ‘आज नआउन पनि सक्छु । साथीहरूसँग जमघटमा छु ।’ फेरि फोन गर्न डराउँछु । एक्लै खान्छु ।
धन्दा सकेर समाचार हेर्छु । प्रधानमन्त्री हप्काउँदै छिन्, ‘पुरुषहरूले बुझ्नुपर्‍यो कि पार्टीलाई बाध्यता पर्‍यो । धेरै उफ्रनुभएन । धेरै ट्याउँ ट्याउँ गरेर कहीँ पुगिँदैन ।’ सास रोकिएजस्तो हुन्छ । यो के हुन लाग्यो ? सारा आइमाईहरू मिलेर हामीलाई के गर्न खोजेका ? किन हाम्रो यो हाल भयो ? के अब हामीले बोल्न पनि सोध्न पर्ने ? कसरी आइमाईहरू ती ठाउँमा पुगे ? हिजोसम्म हाम्रो इसारामा चलिरहेका आइमाईहरू कसरी हामीलाई चलाउने भए । के यी आइमाईहरू संगीत श्रोताको कविता ‘कहाँ छन् महिलाहरू ?’ बाट निस्किएका हुन् । ‘लु हेर, यहाँ छौं हामी’ भन्दै !
मलाई ऐठनजस्तो भयो । मैले हात–खुट्टा फालेँ । पसिना पसिना भएको छु । मर्छुजस्तो निस्सासिएको छु । कमजोर भएको छु ।
‘उठ्नु न, उठ्नु, कसैले बारबार बोलाइरहेझैं लाग्यो । सुस्त आँखा खोलेँ । अगाडि श्रीमती चिया लिएर उभिएकी छन् । म उनलाई आश्चर्यले हेर्छु । मेरो हेराइले उनी पनि आश्चर्यमा पर्छिन् । म उनलाई पन्साएर खाटबाट हामफालेर बैठककोठा पुग्छु । आमा दाहिनेतिर डाइनिङमा साग केलाउँदै छिन् । टीभी खोल्छु । सबै पुरुष नै बोलिरहेका छन् । चिच्याइरहेका छन् । प्रधानमन्त्री महिलालाई धेरै नउफ्रन सुझाव दिइरहेका छन् । म बाहिर आउँछु । कुर्सीमाथिको पत्रिकामा मेरो मित्रको समाचार फ्रन्ट पेजमा छ । छिमेकीका श्रीमान् बरन्डामा फोनमा कुरा गर्दै छन् । सरकार फेरेर देखाइदिने चेतावनी लेख्नुस् भनेर पत्रकारलाई सुनाइरहेका छन् ।
कुर्सीमा बसेँ । लामो सास फेरें ।
‘धन्न सपना रहेछ,’ आफैंलाई सुनाएँ ।
श्रीमतीजी पछिपछि चिया लिएर आएकी रहिछन् । उनको काँधमा हात राखेर फेरि आफैंलाई विश्वस्त तुल्याएँ, ‘सपना रहेछ । बुझ्यौ, सपना रहेछ ।’
उनी ट्वाल्ल परिरहिन् । मैले उनको गालामा प्याट्ट हानेर हाँसेँ, ‘के बुझ्थ्यौ !’

प्रकाशित : श्रावण १८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?