कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लाङटाङसँग मितेरी

प्रभा बराल

बसम्म हामीले हाम्रो देशको माटोको सुगन्ध र भूगोललाई नजिकबाट साक्षात्कार गर्न सक्दैनौँ तबसम्म हामीले आफूलाई चिन्न सक्दैनौँ भन्ने चेत मैले विदेशमा गएर गरेँ  । यसैले मौसमको प्रतिकूलतामा पनि लाङटाङ पदयात्राको निम्तो पाउनासाथ म जान तयार भइहालें  ।

लाङटाङसँग मितेरी

असार महिनामा प्रशस्त पानी परे पनि जमिन पर्याप्त मात्रामा गलिसकेको हुँदैन । जमिन गले पनि साउन, भदौमा मात्र पहिरोको डर हुन्छ । फेरि हिमाली क्षेत्रमा उतिसारो वर्षा पनि नहोला भन्ने अनुमान गरेर असार २३ गते लाङटाङ जाने टुङ्गो लगायौँ । असार २२ गते काठमाडौँमा लगातार वर्षा भइरहेको थियो । यो वर्षाले मनमा डरको ढ्याङ्ग्रो नठोकेको भने होइन । परिवारका सदस्यबाट मञ्जुरी पाउन पनि त उत्तिकै गाह्रो थियो । तर पनि जान्छु भनेर चुरीफुरी गरिरहेकी मलाई मौसमका कारण नजा भन्न कसैले सकेनन् । नियात्रा समाजको आयोजनामा आठ जनाको टोली असार २३ गते काठमाडौंबाट हिँड्यौं ।

हामी एक हप्ताका लागि काठमाडौँ छाड्दै थियौँ । गल्छी हुँदै नुवाकोट कटेर रसुवाको स्याफ्रुबेंसीमा आज हाम्रो पहिलो बास हुने थियो । त्यसैले नियमित दैनिकीलाई थाँती राख्दै नयाँ शिराबाट हाम्रो यात्रा सुरु भएको थियो । नयाँपनले पक्कै पनि नयाँ खुसी नै प्रदान गर्दोरहेछ, हामी भित्रैदेखि यात्राको सुखानुभूति गर्दै थियौँ । नौबिसेसम्म नै गाडी कतै जाममा परेन ।

रसुवाको स्याफ्रुबेंसी पुग्दा दिनको तीन बजेको थियो । गाडीबाट झर्नेबित्तिकै देखियो गणेश हिमाल होटल । हाम्रा झोलातुम्बा त्यहाँ बिसाएपछि हामी फुक्काफाल भयौँ र लाग्यौँ मनमौजी गफ गर्न । घरको चौरस्ताबाट उम्केर आकाशको पन्छीजस्तै स्वतन्त्र भएका थियौँ, हिमालको फेदीमा पुगेर फर्कंदा हाम्रा गोडा गलेर टेकिन छाड्छन् अहिल्यै नै ‘चिलिमे जलविद्युत्’ हेर्न जाऊँ भनी टोली नेता प्रतीक ढकालले भन्नुभयो । हेलमेट लगाएर चिलिमेको संरचनाभित्र छिर्नुअघि भवनको मास्तिर ‘नेपालीको पौरख, नेपालको गौरव’ लेखिएको नारा देखियो । शिर गर्वले ठाडो भयो । नेपालीकै सीप र लगानीले पहरा खोपेर भित्र यति विशाल संरचना बनाइएको रहेछ कि मैले त यसअघि यसका बारेमा बुझेकै रहेनछु ।

भोलिपल्ट बिहानै रसुवा स्याफ्रुबेंसीबाट लट्ठी टेक्दै उकालो लाग्यौं । स्याफ्रुबेंसी बजारको पुल तरेर पूर्वपट्टि लागेपछि हरियाली वनकुञ्ज भेटियो । तलपट्टि भोटेकोसी स्वाँवा गरेर सुसाइरहेको थियो । एक अर्कामा बोलेको बुझ्न नजिकै गएर कान जोड्नुपर्ने अवस्था थियो । सिजनमा दैनिक साठीदेखि सत्तरी पर्यटकको लर्को लाग्ने यो बाटो अहिले भने खाली–खालीजस्तो थियो । फाट्टफुट्ट स्थानीयहरू हिँडेको देख्न सकिन्थ्यो । ठाउँठाउँमा झोलुंगे पुल रहेछन् र हिमालको फेदीबाट आएको भोटेकोसी नदीको बहाव अत्यन्तै तीव्र थियो, वनै उचाल्ने नदीको आवाज सुनेर हामीले अचम्म मानेका थियौँ ।

आठ जनाको समूह हामी घरी अघि र घरी पछि भइरहेका थियौँ । करिब एक घण्टाको हिँडाइपछि ‘तिवारी’ भन्ने ठाउँमा पुग्यौँ । थर तिवारी हो कि भनेको ठाउँको नाम नै तिवारी रहेछ । एक जना तामाङ दाइले कालो चिया खुवाएबापत एक कपको पचासका दरले पैसा लिए । राजधानीबाट आएका मान्छे भनेर थाहा पाएपछि उनले वाक्य सकिनेबित्तिकै ‘सरकार’ लगाएर बोलिरहेका थिए । ‘सरकार हजुरका खुट्टामा जुकाले खाएछ’ भनेपछि हामी सबै जना एकपल्ट तर्सियौँ र आफ्ना आफ्ना गोडा जाँच गर्न थाल्यौँ । नभन्दै सबै जनालाई जुकाले आक्रमण गरिसकेको रहेछ । डराउनु पर्दैन जुकाले फोहोर रगत खाने हो, अघाएपछि आफैँ झर्छ भन्ने सुने पनि तर्सियौँ सबै जना ।

हाम्रो कछुवा हिँडाइले आजको बास ‘लामा होटल’ पुग्न दस घण्टा पैदल हिँड्नुपर्छ रे । पिँठ्युमा बाह्र–पन्ध्र केजीको झोला । खुइय्य सुस्केरा हाल्दै र लट्ठी टेक्दै हामी हिँडिरह्यौं । ‘सहरिया ज्यानजस्तो छ, मोटो भएर हिँड्न सकेन बहिनीहरू त’ भन्दै स्थानीयले गीता रेग्मी दिदी र मलाई जिस्काउँदै हिँड्थे । हामी पनि हाँसेरै टारिदिन्थ्यौँ, हुन पनि यति सारो दःुख काटेर कहाँ नै हिँडिएको थियो र ?

असिनापसिना हुँदै ‘पहिरो’ भन्ने ठाउँमा पुगेर एक जना दिदीसँग आठ कप तातोपानी माग्यौँ । हामी आफैँले तयारी कफी बोकेर गएका थियौँ । यो बल्ल १८०० मिटरमा थियो । तर, हामीलाई हिमालै आइपुगेजस्तो लाग्दै थियो । तातोपानीको ८ सय रुपैयाँ बुझाएपछि हाम्रा पाइला स्वचालित गतिमा अगाडि बढे । सिमसिम पानीले लफ्रक्कै भिजेका पातहरूमा बडो सर्तकतापूर्वक कुल्चँदै अगाडि बढिरह्यौँ । किसिम किसिमका बाटो झल्किने गरी कहीँ रूख बाङ्गोजस्तै बन्दै बाटो नै गुफाजस्तो बनेको थियो, कहीँ रूख नै ढलेर गेटजस्तो आकार बनेको थियो । घरी उक्लँदै र घरी ओर्लंदै ‘व्याम्बु’ भन्ने ठाउँमा आइपुग्छौँ । नदीको भीमकाय छाल ढुंगामा पछारिँदा सुनिने आवाजले हामी झसंग हुन्छौँ । यस्तो ठाउँमा पनि रेस्टुरेन्ट रहेछ । थाकेर लोत परेकोले आराम गर्‍यौँ एक छिन । चाउचाउको अर्डर गर्‍यौँ ।

यो पसलकी साउनीकी नर्स छोरीको २०७२ सालको भूकम्पमा परी लाङटाङमा ज्यान गएको रहेछ । ‘तपार्इंहरू यो वर्षामास किन आउनुभएको, आफ्नो राम्ररी ख्याल राख्नुहोला है,’ भनेर छोरीको वियोगमा ती दिदी रोइन् । उनको कुराले हामी सबैको छाती भक्कानियो । बिहान छ बजेदेखि हिँडेका हामी दिउसोको तीन बजिसक्यो, गन्तव्यमा कति बेला पुग्ने अझै टुंगो छैन । ठाउँ ठाउँमा झोलुंगे पुल । घरी नदीवारि तर्छौं घरी पारि तर्छौं । हिमालको सिरानमा नदीको मुहान भेट्टाउन हामी हिँडेका हिँड्यै छौँ ।

रिम्चे पुग्नुअगाडि माथिबाट ढुंगाको पहिरो खसेको जस्तो डरलाग्दो खोँच काट्न आधा घण्टा जति लाग्यो । ‘निकै डरलाग्दो बाटो रहेछ यो, फर्कदा त शेर्पा गाउँ भएर फर्कनुपर्छ है,’ टोलीको कोही हामीलाई सुझाउँछ । माथि डाँडाको नाम रिम्चे रहेछ । छिरिङ डोल्माको पसलमा बसेर कालो चिया र कोकोनट बिस्कुट खायौँ । यहाँ त एक कप कालो चियाकै सत्तरी रुपैयाँ पो लिइन् अनि कोकोनट बिस्कुट एउटैको सय रुपैयाँ रे ।

टोलीले आर्थिक कारोबार प्रमुख मलाई बनाएको थियो । मैले चिया र बिस्कुटको पैसा दिँदा पसलकी शेर्पिनी दिदीले भनिन्, ‘तँ यो टोलीको बोस होस् ? पैसा त तैंले दिइस् नि ?’ उनको लवज सुनेर हामी मज्जाले हाँस्यौं । ‘आज तिमीहरू मेरोमै बास बस न, छ बजिसक्यो’ भनेर शेर्पिनी दिदीले जोड गरे पनि पच्चीस मिनेट पर रहेको लामा होटलसम्म पुगेर बाटो छोट्याउनु मनासिब लागेकाले हामी चिप्लेकीरा जसरी घस्रिन थाल्यौं ।

शेर्पा होटलमै बासको निधो गर्छौं । लामा होटल कुनै होटलको नाम होला भनेको यो त स्थानविशेषको नाम पो रहेछ, अघि तिवारी भनेजस्तै । भोलिपल्ट होटलको पैसा तिर्दा शुल्कसम्बन्धी नयाँ ज्ञान प्राप्त भयो– अफ सिजन भएकाले कोठाको प्रतिकोठा सय रुपैयाँ मात्र । तर, मासुरहित खानाको पाँच सय । र, बिहानको खाजाको दुई सय । मिनरल वाटर सबभन्दा महँगो, एक बोटलकै दुई सय । चिया भने पचास रुपैयाँमै दिए, हिजो रिम्चेकी छिरिङले भने सत्तरी रुपैयाँ लिएकी थिइन् ।

लामा होटलबाट लाङटाङका लागि प्रस्थान गर्दा बाटैभरि सामान बोकेका खच्चडहरू भेटिए । बाटोमा मान्छे धेरै भेटिएर होला, देख्नेबित्तिकै बाटो छोड्न जानेका । २७०० मिटरको आसपासमा हामी हिँडिरहेका छौँ । एघार बजेतिर ‘घोडा तबेला’ भन्ने ठाउँमा पुग्छौँ । यो ठाउँ अलि रमणीय रहेछ । लाङटाङ राष्ट्रिय निकुञ्जको सरकारी भवनमा पुग्दा फोनमा नेटवर्क देखियो । दोस्रो दिन बल्ल घरमा कुरा भयो । भूकम्पले ध्वस्त पारेपछि सेनाको ब्यारेक हटेको रहेछ, माथिपट्टि रित्तो भवन मात्रै देख्न सकिन्थ्यो । बाटोको आडैमा थियो, हेलिप्याड ।

मूर्तिकारले कुँदेजस्ता पहाड र आकाशमा निख्खर सेतो बादलको मनमोहक दृश्य देख्दा लाग्थ्यो, प्रकृतिले हामीलाई कति ठूलो वरदान दिएको छ तर पनि हामीले प्रशस्त पर्यटक भित्र्याउन सकेका छैनौं । न पर्यटकमैत्री बाटो छ न होटल छ न प्रशस्त भौतिक सुविधाहरू छन् । युवाजति विदेश धपाएर दायीत्व पूरा गरेझैं गरिरहेछ सरकार । विदेशमा युवाले कति सास्ती बेहोरेका छन्, मैले जापानमा दुई वर्ष बस्दा देखेर आएँ ।

‘थाङ्सेप’ धेरै पर्यटकको विश्रामस्थल रहेछ । यहाँ आधुनिक तरकारी खेतीका प्लट पनि रहेछन् । बारीभरि लहरै बन्दा थिए, देख्दै आनन्द आयो । ग्रिन हाउस बनाएर पनि तरकारी रोपेका थिए । यहाँ भएका आठ–दसवटा घर सबै लज, होटल र रेस्टुराँ थिए । थाङसेपबाट लाङटाङ पुग्न अझै चार घण्टा बाँकी थियो । बाटो सम्झिँदा दिक्क लागे पनि प्रकृतिको हरियाली थुम्काहरूले थकाइलाई बिर्साइदिएको थियो । वर्षायाम भएकाले होला डाँडाका टुप्पाहरू बादलले छोपिएका थिए तर त्यो छोपिँदाको सौन्दर्य पनि मनमोहक थियो ।

स्थानीयहरू देख्नेबित्तिकै अब लाङटाङ आउन कति बाँकी छ भनेर सोध्न बिर्सदैन्थ्यौँ । समान दूरीलाई कसैले दुई घण्टा, कसैले तीन घण्टा र कसैले चार घण्टा भनेपछि हामीले त्यस्तो प्रश्न सोध्न छाड्को थियौं । ‘गुम्बागाउँ’ भन्ने ठाउँमा केही सोभेनियर सप देखे पनि वर्षा सिजनले होला पसलमा ताला लागेका थिए । यही ठाउँमा एकपटक अमेरिकी युवती हराएकी र फेला पार्नेलाई बीस लाख पुरस्कार दिने कुरा कतै पढेको याद आयो । उनी फेला परिन् कि परिनन् त्यो भने थाहा पाउन सकिएन ।

लाङटाङ आइपुग्न लाग्दा २०७२ सालको भूकम्प ताण्डव देखाएको ठाउको छेउमा आइपुगियो । लगभग पाँच सय जनाको ज्यान यहाँ गएको थियो । यसमा विदेशी पर्यटकसमेत परेका थिए । यति धेरै मानिस एउटै चिहान परेको यो ठाउँ देख्दै डरलाग्दो थियो । हिमाल फुटेर डाँडै खस्दा यत्रो क्षति भएको रहेछ । गाउँमा स्थानीय पर्व ‘घेवा’ मा धेरै मानिसको जमघट थियो रे यसैबेला भूकम्प आउँदा सारा गाउँ नै सोत्तर परेको रहेछ । भाँडा माझ्दामाझ्दैको जाली र केही चप्पलहरू यत्रतत्र देखिए । हे भगवान् ! कति ठूलो पीडामा परेछन् लाङटाङवासी भन्दै भावुक बनेर बगरलाई हेरिरह्यौँ ।

अलिकति पर केही घरहरू देखिए, पछिल्लो लाङटाङ त त्यही हो रे । डरलाग्दो बगर काटेर नयाँ बस्तीमा पुग्दा बेलुकाको सात बज्नै लागेको थियो । एउटा तिब्बतियन गेस्टहाउसमा बासको निधो गर्‍यौं । त्यहाँ भित्तामा पुरानो लाङटाङ बस्तीको चित्र झुन्डाइएको थियो, कति आकर्षक रहेछ पहिला यो गाउँ । गाउँको सिरानमा सेतो हिमाल । हामी काठमाडौँवासीले भूकम्पको गम्भीर असर बेहोर्‍यौं भनेको त यहाँ यति भयानक अवस्था सिर्जना भएको रहेछ । हिमालको काखमुनि आएका थियौँ हामी, भोलिपल्ट बिहान हिमाल हेर्नु छ । हिमाली जनजीवन बुझ्नु छ र यहाँबाट फेरि तीन घण्टा पैदल हिँडेर केन्जिन गुम्बा पुग्नु छ ।

प्रकाशित : श्रावण ११, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?