कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नि उना मेनस : कसैलाई यस्तो नहोस्

युवराज भट्टराई

१. मे ११, २०१५ । १४ वर्षीय किशोरी सियारा पाजको शव उनको ब्वाइफ्रेन्डको घरमुनिबाट निकालियो । केही हप्ताको गर्भवती रहेकी उनको साथी भनाउँदोले पासविक ढंगले हत्या गरेको थियो । घटनालगत्तै ‘नि उना मेनस’ भन्ने ह्यासट्याग सिंगो अर्जेन्टिनाभरि भाइरल बन्यो । स्पेनी भाषाको ‘नि उना मेनस’ को खास अर्थ थियो– ‘कसै (कुनै महिला) लाई यस्तो नहोस् !’

नि उना मेनस : कसैलाई यस्तो नहोस्

‘नि उना मेनस’ लाई मुख्य नारा बनाउँदै ‘प्यालेस अफ द अर्जेन्टाइन नेसनल कंग्रेस’ मा जुन ३ मा एउटा विशाल प्रदर्शन गरियो । राजधानी ब्युनर्स आयर्समा मात्र दुई लाखभन्दा बढी अर्जेन्टिनीहरूले यो प्रदर्शनमा प्रत्यक्ष संलग्नता देखाएका थिए । त्यसै दिन अर्को पनि ह्यासट्याग ‘भिभासनोस क्यारेमस’ अर्थात् ‘हामी जिउँदै रहन चाहन्छौं’ भन्ने मुख्य नारा लिएर सिङ्गो अर्जेन्टिनाभरि व्यापक प्रदर्शन गरियो । अर्जेन्टिनामा सुरु भएको यो नारीवादी आन्दोलन सायद शताब्दीकै सबैभन्दा ठूलो आन्दोलन थियो जसले प्रत्यक्ष रूपमा लैंगिक हिंसासँग सरोकार राखेको थियो । यसलाई तल्लो स्तरबाट गरिएको ‘फोर्थ वेभ’ नारीवादी आन्दोलनको रूपमा पनि हेरिन्छ । पुरुषत्वले गर्ने लैंगिक हिंसाविरुद्धको यो आन्दोलनमा महिला–पुरुष, अधिकारकर्मी, लेखक–कलाकार र बौद्धिक तप्काको जोडदार समर्थन थियो । यो अभियान अर्जेन्टिनाबाट उरुग्वे, पेरू र चिलीतिर पनि पुग्यो ।

२०१६ को अक्टोबरमा ‘नि उना मेनस’ अर्को स्तरमा पुग्यो । मारडेल पार्टा सहरमा १६ वर्षीया किशोरी लुसिया पेरेजको बलात्कारपछि हत्या गरियो । यसको विरोधमा ‘नि उना मेनस’ का अभियन्ता र समर्थकहरूले आम हडताल र विरोध जनाए । सबैले कार्यालय तथा कक्षाकोठाहरूबाट एक घण्टाअगाडि नै निस्केर विरोधलाई सर्वव्यापी बनाए । अर्जेन्टिनाबाट सुरु भएको ‘नि उना मेनस’ ढडेलो सल्किएजस्तो दक्षिण अमेरिकाभरि सल्कियो । उरुग्वे, ग्वाटेमाला, एल साल्भाडोर, मेक्सिको, पाराग्वे, पेरु, बोलिभिया, चिलीजस्ता स्पेनिस भाषा बोलिने मुलुक हुँदै यो युरोपको स्पेनसम्म आइपुग्यो । यसको एक हप्तापछि पोर्चुगिज भाषा बोलिने ब्राजिलको राजधानी रियो द जेनेरियोमा समेत व्यापक प्रदर्शन भयो ।

वास्तवमा लैंगिक हिंसाविरुद्ध इतिहासकै सबभन्दा ठूलो आन्दोलन हो ‘नि उना मेनस’ । आठ मार्च २०१७ मा ‘नि उना मेनस’ ले युरोप र अमेरिका सबैतिर हड्ताल गरेको थियो । अमेरिकामा भएको प्रदर्शनका अगुवाहरूले पनि प्रस्ट खुलाएका थिए कि उनीहरू पनि ‘नि उना मेनस’ बाट प्रभावित भएका थिए । यो अभियान कतिसम्म लोकप्रिय भयो भने २०१६ मा पत्ता लागेको ‘घामकिरी’ को एउटा प्रजातिको नाम नै अर्जेन्टिनी वैज्ञानिकहरूले ‘टुपासाला निउनामेनस’ राखिदिए ।

त्यसो त ‘नि उना मेनस’ भन्ने टर्म पनि त्यसै जन्मिएको होइन । एउटा नारीसंहार (फेमिनोसाइड) को आततायी वर्तमान छ यसभित्र । वास्तवमा मेक्सिकन कवि तथा अभियन्ता सुसाना साभेजका हरफ ‘नि उना मुएर्ता मास !’ अर्थात् ‘अब एक जना (महिला) पनि नमारियोस् !’ लाई नै आधार मानेर ‘नि उना मेनस’ को ह्यासट्याग बनाइएको हो । साभेजको गृहनगर मेक्सिकोको सिउडाड जुवारेज हो । १९७४ मा जन्मिएकी साभेजले आफ्नै गृहनगरमा बारम्बार भएका फेमिनिसाइड (महिलालाई महिला भएकै कारण गरिने आक्रमण र हत्या) देख्न पुगिन् । तल्लो वर्गका, सस्तो ज्यालादारीमा काम गर्ने युवतीहरू र स्कुले छात्राहरूलाई हुल्लडबाजहरूले एक्लै दुक्लै भेट्दा कुट्ने, लुट्ने, बलात्कार गर्ने र मारिदिने गर्न थालेका थिए । सुनसान इलाकामा लासलाई लगेर छाडिदिन्थे ताकी लास आफैं सडोस् ।

सिउडाड जुवारेजको यो नारी संहार (फेमिनोसाइड) को थुप्रै सामाजिक, सांस्कृतिक, आर्थिक र लैंगिक कारणहरू भएको विज्ञहरूले बताएका छन् । पहिलो कुरा त यो लागूऔषध तस्करीको सबैभन्दा ठूलो अखडा हो । अधिकांश ‘फेमिनोसाइड’ ड्रग्सको सुरमा नै हुने गर्छ । नारीवादीका अनुसार पनि ‘पुरुषप्रधान समाजले नारीमाथि नै आफ्नो शक्ति लाद्ने तिनीहरूमाथि दमन, नियन्त्रण र अत्याचार देखाउने गर्छ । आफ्नो ‘पुरुषत्व’ र शक्ति लाद्ने सबैभन्दा सहज प्लेटफर्म भनेकै नारीहरूको देह हो । मेक्सिकोको पुरुषप्रधान समाज यही नै मानसिकताबाट गुज्रेको छ ।’
किन कामकाजी महिलाहरू नै बढी निसानामा परे त ? क्याथ्रिन पान्टालियो भन्छिन्, ‘जब महिलाहरूको सार्वजनिक श्रम शक्तिमा गतिलो उपस्थिति हुन थाल्यो उनीहरू पनि आर्थिक स्रोतका लागि पुरुषसँग प्रतिस्पर्धा गर्न थाले । यसले बेरोजगार पुरुषको संख्या बढाइदियो । यसले पनि ईर्ष्यालु पुरुषहरू नारीहरूप्रति आक्रामक हुन थाले ।’ परम्परागत पुरुष सत्ताले महिला र पुरुषहरूलाई फरक–फरक लैंगिक भूमिका दिएको छ । उनीहरू महिला सार्वजनिक क्षेत्रको श्रम शक्ति भएको हेर्न सक्दैनन् र उनीहरू महिलालाई तर्साउँदै–धम्क्याउँदै, डर देखाउँदै पुरातन घरायसी भूमिकामा फर्काउन चाहन्छन् । यसका लागि ‘मासिस्मो’ (पुरुषत्वलाई इंगित गर्ने स्पेनिस शब्द) हरू दमन, अत्याचार, बलात्कार र हत्याका लागि निहत्था/निरीह नारी देहलाई रोज्छन् ।

सिउडाड जुवारेजको फेमिनोसाइड शुरु भएसँगै सन् १९९३ देखि नै यसले विश्वको ध्यान केन्द्रित गरायो । सरकार र प्रशासनलाई घटना नियन्त्रणमा लिन र अपराधीहरूलाई कानुनी दायरामा ल्याउन विश्वभरबाट नै दबाब भयो । यद्यपि मेक्सिकन सरकार र प्रशासनले कत्ति पनि संवेदनशीलता देखाएन । बरु, ‘मारिने युवतीहरू पार्ट टाइम कामदार र पार्टटाइम वेश्या र ड्रग्स एडिक्टहरू हुन्’ सम्म भन्न भ्यायो । महिला तथा मानव अधिकारवादी संघ–संस्थाको दबाब, स्थानीयस्तरका प्रदर्शनका कारण प्रशासनले १९९५ र २००४ मा गरेर २–४ जना व्यक्तिहरू समातेर अपराध कवुल त गरायो यद्यपि तिनको अपराधको आधिकारिक प्रमाण भने भेटिएन । यस्तो लाग्छ त्यहाँको सिङ्गो पितृसत्तात्मक संयन्त्र नै ‘फेमिनोसाइड’ मा लागेको छ ।

२००२ मा कवि सुसाना साभेजले ‘नि उना मेनस’ अर्थात् ‘कसैलाई यस्तो नहोस् !’ भन्ने नाराका साथ यो ‘फेमिनोसाइड’ को विरुद्ध व्यापक अभियान चलाएकी थिइन् । विडम्बना उनी आफैं ‘फेमिनोसाइड’ को सिकार भइन् । २०११ जनवरी ६ को बिहान घरबाट साथीको घर हिँडेकी साभेज कहिल्यै फर्किनन् । ड्रग्स र रक्सीले झुल्लिएका तीन किशोरहरूले उनको बीभत्स हत्या गरिदिए । त्यसको चार दिनपछि मात्र साभेजको परिवारले उनको शव पहिचान गरेको थियो । ‘फेमिनोसाइड’ यत्तिकैमा रोकिएन । सन् २०१७ मा आइपुग्दा मारिने र बेपत्ता हुने महिलाको संख्या सिउडाड जुवारेजमा मात्र ३ हजार नाघेको थियो । यसबाट पनि प्रस्ट हुन्छ त्यहाँको ‘फेमिनोसाइड’ लाई निरुत्साहित पार्ने कुनै गतिलो प्रयास गरिएको छैन । योभन्दा दर्दनाक स्थिति त हड्सन र इन्सेनाडाजस्ता अमेरिकी सहरमा रहेको बताइन्छ । कतिपय रिसर्चरहरूको कुरा मान्ने हो भने यी सहरहरूमा सिउडाड जुवारेजको भन्दा पनि अधिक संख्यामा ‘फेमिनोसाइड’ हुने गर्छ । बलात्कार हुने गर्छ । लैंगिक हिंसा हुने गर्छ ।

यसको अर्थ विकसित/अविकसित, शिक्षित/अशिक्षित, धनी/गरिब, जुनसुकै समाज पनि बलात्कारबाट मुक्त छैन । अप्रिल २०१८ सम्मको तथ्यांकले देखाउँछ, प्रति एक लाख जनसंख्यामा यूकेमा ३६.४४, यूएसमा ३५.८५, ब्राजिलमा २४.४४, फ्रान्समा १७.३३, मेक्सिकोमा १३ र भारतमा ५.७ जना महिला बलात्कृत हुन्छन् । भारत, नेपालजस्तो मुलुकमा एकदमै धोरै केस मात्र दर्ता गरिन्छन् । त्यसैले पनि परिणाम कम देखिएको हो । त्यसो त सरोकारहरूको रिसर्चले भन्छ अमेरिकामा पनि लगभग ६८ ! बलात्कारका घटना प्रशासनमा दर्तै हुँदैनन् । त्यसैले पनि अधिकांश बलात्कारीहरूले १ दिन पनि जेल जानुपर्दैन ।

अघिल्लो वर्षको तथ्यांकअनुसार प्रत्येक १ लाख जना जनसंख्याको आधारमा देशैपिच्छेको बलात्कारका घटना हेर्दा दक्षिण अफ्रिका एक नम्बरमा आउँछ भने स्विडेन चौथो, अस्ट्रेलिया सातौं, बेल्जियम दसौं र अमेरिका एघारौं नम्बरमा पर्छन् । केही वर्षपहिला बेलायत, क्यानडा र जर्मनी पनि प्रमुख दस मुलुकभित्र पर्ने गर्थे ।


नेपालमा यो वर्ष बलात्कार र नारी हिंसाविरुद्ध विशाल प्रदर्शनहरू भए । ‘जस्टिस फर निर्मला’ को ह्यासट्याग ‘नि उना मेनस’ भन्दा कम शक्तिशाली थिएन । तर विडम्बना, एक वर्षसम्म निर्मलाले न्याय पाउन नसक्दा सबैलाई लागेको छ– जब सत्ता नै संरक्षणमा लाग्छ, न्यायका लागि हारगुहार र याचनाका स्वरहरू स्वतःस्फूर्त सेलाउँदै जान्छन् । मूलधारका मिडियामा थुप्रै लेखक टिप्पणीकारहरूले लैंगिक हिंसाविरुद्ध प्रशस्त लेखेको देखियो । कम्तीमा प्रबुद्ध वर्गले बलात्कारका विषयमा बोल्न र लेख्न थाल्नु सकारात्मक छ । बलत्कारीलाई मृत्युदण्ड दिनेसम्मका कुरा आए । जघन्य अपराधमा कडाभन्दा कडा कारबाही हुनुपर्छ । तर के कानुनी कारबाहीले मात्र बलात्कार निर्मूल पार्छ त ?


पार्दैन । एक वर्षअघि भारतमा १२ वर्षमुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको विधेयक ल्याइयो । यद्यपि अहिले पनि बलात्कारमा कमी आएको छैन । यस्तै हो भने मृत्युदण्डकै कानुन बने पनि ‘कहाँ बलात्कार हुन्छ र बलात्कारीलाई कसरी मारिन्छ’ भन्ने रमिता कुर्नुभन्दा समाजको अर्को काम नै रहँदैन ।

नेपाल, भारतजस्तो जातीय, वर्गीय विभेदपूर्ण समाजमा प्रायः बलात्कारको सिकार पनि जातीय र वर्गीय हिसाबले सीमान्तकृत वर्गका किशोरी र महिलाहरू हुने गर्छन् । १३ प्रतिशत हाराहारीमा दलित समुदाय रहेको नेपालमा बलात्कृत हुने महिलाहरूमा भने १६ प्रतिशतभन्दा बढी दलित समुदायका पर्छन् । त्यसैले पनि सीमान्तकृत वर्ग र समुदायका महिलाहरू स्वावलम्बी बनाउँदै सशक्तीकरण लगियो भने बलात्कार कम हुन सक्छ भन्ने एउटा तर्क सान्दर्भिक छ । अवश्य यिनलाई सशक्तीकरणतिर लानुपर्छ । तर महिला सशक्तीकरण हुँदैमा बलात्कार नहुने हो भने ‘स्विडेन’ अत्यधिक बलात्कार हुने देशको सूचीमा चौथो नम्बरमा पर्ने थिएन । आधा मन्त्रिमण्डल महिलाले भरिएको क्यानडामा बलात्कार हुँदै नहुनुपर्ने हो । जर्मनी, यूके, फ्रान्स र यूएसएमा यो स्तरमा बलात्कार नहुनुपर्ने हो ।

आजको पितृसत्ताले आफ्नो पुरुषत्व प्रदर्शन गर्ने सबैभन्दा सहज प्लेटफर्म सीमान्तकृत वर्ग/समुदायका महिलालाई देखेको छ । युरोप र अमेरिकाको अनुभवले भन्छ— सम्पूर्ण महिला सशक्तीकृत भइसकेपछि पनि उनीहरू यो पाशविक उत्पीडनबाट मुक्त हुन सक्दैनन् । किन त ? सम्भवतः बलात्कारका बहुपक्षीय आयामहरूको सूक्ष्म अध्ययन गर्न जति पनि सैद्धान्तिक दृष्टिकोणहरू आएका छन्, बलात्काररहित समाज सिर्जना गर्न अपर्याप्त छन् । बलात्कारका बहुपक्षीय आयामहरू हेर्ने केही दृष्टिकोणहरू यस्ता छन् ः

(क) सामाजिक सिकाइको सिद्धान्त
यो सिद्धान्तले विशेषतः पुरुषहरूकै कारणले बलात्कारी अभिप्रेरित हुन्छन् भन्ने कुरालाई अध्ययन गर्छ । कतिपय अवस्थामा समाजमा व्यक्त लैंगिक विभेदकारी धारणा, बलात्कारका उदाहरण, धर्मशास्त्र, पोर्नोग्राफी र अरूको उदाहरण देखेर पनि पुरुषहरू व्यभिचारतर्फ उन्मुख हुने तर्क राख्छ । ‘केटीले कहाँ सजिलै हुन्छ भन्छन् त जबरजस्ती गर्नुपर्छ !’ भन्ने जस्ता लैंगिक विभेदकारी सिकाइले पनि पुरुषलाई बलात्कारतिर उन्मुख गराइरहेको हुन्छ भन्ने यसको तर्क छ । ‘समाज’ र ‘संस्कृति’ आफैंले बलात्कारी उत्पादन गर्छ भन्ने सिद्धान्त हो यो ।

(ख) बलात्कारप्रति नारीवादी धारणा
यो विषयमा नारीवादी अवधारणा केही प्रभावकारी देखिन्छ । उदारवादी नारीवादले नारीहरूलाई पुरुषले वस्तुको रूपमा लिने भएकाले लैंगिक दमन र विभेद भएको स्विकार्छ । जहाँसम्म बलात्कारको विषय छ यसमा र्‍याडिकल नारीवाद सशक्त देखिन्छ । यिनका अनुसार, नारीको देहमाथि हिंसा र अत्याचार गर्दै पुरुषप्रधान सोचले नारीलाई दमन, नियन्त्रण र शक्ति प्रदर्शन गर्ने गर्छ । बलात्कार यसैको एउटा स्वरूप हो भन्नेमा यिनीहरू प्रस्ट देखिन्छन् । त्यसैगरी अर्को नारीवादी समूह समाजवादी नारीवाद हो । महिलामाथिको दमन मुख्यतः वर्गीय विभेदले गर्दा भएको हो भन्ने यिनको धारणा छ । यिनको अनुसार पुरुषले त पहिला स्रोत र साधनामाथि कब्जा गर्छ । त्यसपछि त्यही स्रोत र साधनका माध्यमबाट महिलामाथि कब्जा जमाउँछ । पुरुषले महिलामाथि कब्जा जमाउनुको पछाडि यौनिक स्वार्थ मात्र जोडिएको हुन्छ । यसरी उसले महिलालाई एउटा वस्तुको रूपमा लिन्छ र नारी शरीरमाथि मनोमानी ढंगबाट आफ्नो पुरुषत्व लाद्ने गर्छ । यसकारण बलात्कारको एउटा प्रमुख कारण भनेको महिला–पुरुषबीचको स्रोत र साधनको असमान वितरण पनि हो ।

(ग) फिजियोलोजिक अवधारणा
यो अवधारणाले शरीर विज्ञानका आधारमा बलात्कारलाई अध्ययन गर्छ । यसले कस्तो किसिमको जैविक संयन्त्र र मानसिक अवस्थाले गर्दा पुरुषहरू बलात्कारप्रति अभिप्रेरित हुन्छन् भन्ने मानसिक प्रवृत्ति अध्ययन गर्छ । कतिपय शोधकर्ताले यस अवधारणालाई सामाजिक शिक्षणका अवधारणासँग मिलाएर एउटा ‘सिन्थेसाइज्ड’ अवधारणाको विकास गरेका छन् ।

(घ) इभोलोसनरीको अवधारणा
यो अवधारणाको खास उद्देश्य भनेको बलात्कार भनेको पुरुषप्रधान समाजको नारीमाथि दमन गर्ने एउटा रणनीति हो कि अन्य बाह्य सामाजिक र सांस्कृतिक संरचनाहरूको, संयन्त्रको ‘बाई–प्रोडक्ट’ हो भन्ने विषयमा बहस गराउनु हो । तर यो बहसले कुनै खास निचोड भने दिँदैन ।
यिनका अलावा हाइड्रोलिक, जैविक, लैंगिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेक कोणहरूबाट अध्ययन गरिएको छ । १९७० को दशकपछि त यसलाई अनगिन्ती कोणबाट अध्ययन गरिएको छ । संसारभर त्यत्तिकै विरोध पनि गरिएको छ । कडा कानुनीको प्रावधान पनि गरिएको छ । अर्कोतिर महिलाहरू दिन–प्रतिदिन सशक्तीकृत पनि भैरहेका छन् । यद्यपि बलात्कार भने दिन–प्रतिदिन बढ्दो छ । कतिपय समाजले पोलियो, औलो, अशिक्षा, बेरोजगारजस्ता सबै कुराको उन्मूलन गरिसकेको छ तर बलात्कार उन्मूलन गर्न सकेको छैन । किन त ? किनकि बलात्कार अध्ययनमा जति पनि अवधारणा आएका छन्– ती सब गलत त छैनन् तर अपर्याप्त छन् ।


प्राणीहरूको संख्या र अस्तित्व पनि प्राकृतिक छनोटका आधारमा हुने गर्छ भनिन्छ । अथवा भनौं कुनै पनि जातिको संख्या नियन्त्रण गर्नुपर्‍यो या त्यसको संख्या वृद्धि गर्नुपर्‍यो भने प्रकृति आफैंले यसलाई निर्धारण गरिदिन्छ । पर्यावरणमा निहित प्राकृतिक छनोटको एउटा प्रभावकारी माध्यम भनेको लिंगको छनोट पनि हो । कुनै पनि जातिको संख्या वृद्धि गर्नु या घटाउनु छ भने पर्यावरणले सबैभन्दा पहिला त जन्मिने भ्रूणहरूको भाले/पोथी रेसियोमा हेरफेर गर्ने गर्छ । यदि निश्चित जाति संकटमा छ भने पोथीको जन्मदर उच्च हुने गर्छ । यदि जनसंख्या नियन्त्रण गर्नु छ भने भालेको जन्मदर उच्च हुने गर्छ । यो विशेषतः स्तनधारीमा गरिएको अनुसन्धान हो । मनुष्यको सन् २०१७ को जन्मदरमा १०२ बालक जन्मिँदा १०० बालिका छ । सन् २०१४ को जन्मदरमा बालकको संख्या १०७ थियो । (यो पनि प्राकृतिक जन्मदर भने होइन किनकि लिंग पहिचान र भ्रूण हत्याका कारण बालिकाको स्वाभाविक जन्मदरमा ठूलो गिरावट आएको छ ।)

अर्को स्मरणीय कुरा के छ भने सिङ्गो स्तनधारी जातिमध्ये मनुष्यको पुरुष जन्मदर अत्यधिक छ । पुरुष बाल मृत्युदर न्यून छ । यसको एउटै कारण भनेको मनुष्यको अत्यधिक जनसंख्या वृद्धि हो र पर्यावरणले नै यसको जनसंख्यामा नियन्त्रण राख्न चाहन्छ र स्वाभाविक रूपमा पुरुषहरूको जन्म अत्यधिक गराउँछ । विश्वको अहिलेको पुरुष जनसंख्या पर्यावरणीय दृष्टिकोणबाट सन्तुलित होइनन । युनभिर्सिटी अफ बाथका इभोलोसनरी बायोलोजिस्ट टमस जेकेली लेख्छन्, ‘जब मानिसको जनसंख्यामा महिला/पुरुषबीच सन्तुलित सेक्स रेसियो रहँदैन यसैले हिंसा, बलात्कार र बाँझोपना निम्त्याउँछ ।’

थुप्रै अनुसन्धानहरूले देखाएको छ कि जब वयस्कहरूको सन्तुलित अनुपात हुँदैन, त्यसले त्यस जातिको मनोविज्ञान र बानी–व्यवहारमै असर पुर्‍याइदिन्छ । यसले विशृङ्खलतातिर उन्मुख गराउँछ । पर्यावरण र पुरुष/महिला जनसंख्या दरमा सीधा सम्बन्ध छ । एउटा अनुसन्धानले देखाएको छ कि प्रतिवर्ष १ डिग्री तापक्रम वृद्धि हुँदा प्रत्येक १ हजार बालिका जन्मिँदा प्राकृतिक रूपमै १ बढी बालकको जन्म हुन्छ । प्रकृतिको मानक जनसंख्या नियन्त्रणको स्वाभाविक प्रक्रिया, अल्पविकसित मुलुकमा छोराको चाहना र अस्वाभाविक बालिकाहरूको भ्रूण हत्याजस्ता कुराहरूले देखाउँछ, पुरुको जनसंख्या अझै उग्र रूपले बढ्दै जानेछ ।

पहिला–पहिला फौजी युद्ध हुन्थ्यो– परम्परागत लैंगिक भूमिकाका कारण पुरुषहरू मात्र युद्धमा सामेल हुन्थे र कुनै पनि मुलुकलाई उल्लेख्य पुरुष जनशक्ति चाहिन्थ्यो । यही संयन्त्रको घीनलाग्दो ‘वाइ प्रोडक्ट’ का रूपमा बलात्कारलाई पनि एउटा युद्ध रणनीतिकै रूपमा लिइन्थ्यो । अरूको त के कुरा बर्लिन विजयपश्चात् स्टालिनका ‘रेड आर्मी’ ले पनि अनगिन्ती जर्मन महिलालाई बलात्कार गरेका थिए । बलात्कृत हुने ८ वर्षीया बालिकादेखि ८० वर्षीया वृद्धाहरू पनि थिए । बोस्निया र सर्वियाको युद्धमा त दुवैतिरका सैनिकहरूको प्रमुख भूमिका भनेको नै विपक्षी समुदायका धेरैभन्दा धेरै नारीलाई बलात्कार गर्नु थियो ।

एक त आजकल फौजीभन्दा पनि प्राविधिक युद्ध हुन्छ । त्यसो त युद्ध लड्न पुरुष चाहिन्छ भन्ने पनि छैन, महिला पनि युद्धमा होमिन सक्छन् । त्यसैले अब कुनै पनि स्तनधारी प्राणीमा नभएको असन्तुलित लैंगिक अनुपात मानव जातिमा हुनुहुन्न । कम्तीमा तत्कालै पुरुष जनसंख्या नियन्त्रण गर्न नसकिए पनि ‘फेमिनोसाइड’ (नारी हत्या) का सबै स्वरूपहरू तत्कालै रोकिनुपर्छ ।

सुरुमै सिउडाड जुवारेजको ‘फेमिनोसाइड’ कुरा गरिएको थियो । त्योभन्दा भयावह ‘फेमिनोसाइड’ नेपालमा बढ्दो छ । यो ‘फेमिनोसाइड’ भनेको बालिका भ्रूण हत्या हो । हुन त कानुनले भ्रूण पहिचान गरेर गर्भपतन गर्न त दिँदैन तर एक ठाउँमा लिंग पहिचान गरेर अर्को ठाउँमा गएर गर्भपतन गर्ने जमात छँदै छ । निश्चय नै यसले भावी पुस्ताभरि नारी–पुरुषको अस्वाभाविक जनसंख्या दर निर्धारण गरिदिन्छ । इभोलोसनरी बायलोजीको दृष्टिकोणबाट पनि मानव जातिलाई असन्तुलित पारिदिन्छ । त्यस्तो स्थितिमा विशृङ्खलता, हिंसा र बलात्कारमुक्त समाजको कल्पना गर्न सकिँदैन । त्यसैले सबैभन्दा पहिला त नारी हत्या (फेमिनोसाइड) का सम्पूर्ण स्वरूपहरू बन्द गर्नुपर्छ । नि उना मेनस ः अब कुनै नारी बलात्कृत नहोऊन्, नमारिऊन् ।

प्रकाशित : श्रावण ११, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?