कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'दाइ' हरूको दाइँ

सावित्री गौतम

राष्ट्रिय’ भनिने अखबारमा लेखेर सार्वजनिक वृत्तमा प्रवेश गरेको छ पुगेर सातौं वर्ष चल्दै छ  । लेखनकै कारण सार्वजनिक वृत्तमा क्रियाशील पुराना, नयाँ, प्रजातान्त्रिक–प्रगतिशील भनिनेहरूसँग चिनजान भयो  ।

'दाइ' हरूको दाइँ

सुरुमा केही ‘दाइ’ हरूका अरू ‘कारनामा’ बारे पटक्कै थाहा थिएन । त्यसैले उनीहरूले मेरो लेखनलाई लिएर गरेका टिप्पणी वा सल्लाहलाई स्वाभाविक रूपमा लिएँ । सार्वजनिक ठाउँ वा व्यक्तिगत रूपमा हुने भेटघाटलाई सहज नै ठानें । बिस्तारै यो क्षेत्रका अलि धेरै व्यक्तिसँग चिनजान भयो ।

अनौपचारिक गफहरूमा स्थापित भइसकेका बयोवृद्ध, अधबैंसे र समकालीनहरूबारे अनौठा गफ सुन्दा सुरुमा त ‘होइन होला’ नै भन्ने लाग्यो । तीन वर्षअगाडि एउटा साहित्यिक कार्यक्रममा थिएँ । अनौपचारिक गफमै मभन्दा पहिल्यै सार्वजनिक जीवनमा आइसकेकी एक जना साथीसँग ‘कन्फर्म’ गर्ने उद्देश्यले सोधें, ‘फलाना फलाना ‘दाइ’ हरूको कुरा के हो ?’ उनले भनिन्, ‘राति नौ बजेपछि म यिनीहरू कसैको पनि फोन उठाउदिनँ ।’ ‘फलानी त फलानो ठाउँमा फलानो ‘दाइ’ को कारण शौचालयमा लुक्नसमेत बाध्य भएकी थिइन रे’ आदि ।

अर्को सार्वजनिक कार्यक्रममा एक वयोवृद्ध ‘प्रगतिशील’ को दुर्व्यवहारबाट आहत एक साथीले भनेकी थिइन्, ‘त्यही भएर मलाई यस्ता कार्यक्रममा हिँड्नै मन लाग्दैन, घरमै बस्यो लेख्यो, भइहाल्यो नि !’ राजनीति, लेखन, प्राध्यापन, पत्रकारिता आदि सार्वजनिक वृत्तमा सक्रिय महिलाहरूका केही वर्षयताका प्रत्येकजसो भेटमा यही वृत्तमा हालीमुहाली गरिरहेका ‘दाइ’ हरूका केही किस्सा नबिराईकन उल्लेख गरिन्छन् ।

जस्तै– एक जना ‘दाइ’ ले कति जना महिलालाई सार्वजनिक कार्यक्रम वा व्यक्तिगत भेटघाटमा कान नजिकै मुख ल्याएर कति पटक ‘आई लभ यू’ भनिसकेका छन् ! कसरी सधैंजसो ‘टिल्ल’ पर्नासाथै रातिमा एकभन्दा बढी महिलालाई फोन गरेर अन्टसन्ट बक्छन् ! यस्ता महिला जम्मा भएको बेला एउटै व्यक्तिको बारेमा सबैको मुखबाट यही वाक्य निस्कन्छ, ‘मलाई पनि यस्तै भनेको–गरेको थियो ।’ र, त्यस्ता ‘एउटै व्यक्ति’ एकभन्दा धेरै हुन्छन् । यस्ता ‘आई लभ यू’ लगायतका हरकत पत्याउने, साँच्चिकै ‘ममा मात्रै केही विशेष देखेर यसो भनेको हो’ भन्ने भ्रमबाट सार्वजनिक वृत्तको अनुभव भइसकेका धेरैजसो महिला आजको दिनमा मुक्त छन् भन्ने लाग्छ ।

कुनकुन ‘दाइ’ हरूले कसकसको हुर्मत लिएका थिए र लिन्छन् भनेर गरिने गफका केही अरू उदाहरण यस्ता छन् । कुनै लेखक महिलाले आफ्नो हुर्मत लिएका ‘दाइ’ हरूबारे आख्यान मार्फत संकेत गरिन् । केही दिनपछि एक जना दाइले फोन गरेर भने ‘म त स्थापित मान्छे हुँ, बरु तिमीलाई नै गाह्रो पर्ला ।’ एक जना दाइ कतै जानका लागि हिँडिसकेकी कुनै महिलालाई थाहै नदिई उसको गालासम्म मुख पु‍र्‍याउँछ, मुस्किलले छोइएको मात्रै हुन्छ ।

तर यता दाइले पीपलको बोटमुनि बसेर गफ जोत्छ, ‘मैले फलानीलाई ‘किस’ गरें ।’ सुन्नेहरूलाई यसको ‘भेरिफाई’ गर्नुसँग मतलब छैन, चटपटे खाएजसरी जिब्रो फड्कार्दै सुन्न पाए पुगिहाल्यो । उही दाइ सार्वजनिक वृत्तमै सक्रिय कुनै अर्की महिलालाई रातोदिन अप्रत्यक्ष रूपमा विवाहेत्तर यौनसम्बन्धका लागि राजी गराउने कोसिस गर्छ । महिलाको बारम्बारको इन्कारमा रिसाउँछ र उसलाई हियाएर भन्छ, ‘तिम्रो त हाँसो मात्रै सेक्सी रैछ, मान्छे त डोमेस्टिक पो रैछौ ।’ मानौं महिलाले आफू घरेलु होइन, निकै प्रगतिशील र क्रान्तिकारी हुँ भनेर प्रमाणित गर्न सक्ने एक मात्र मापदण्ड भनेको हजुरबा उमेरको उक्त ‘दाइ’ सँग यौनसम्पर्क गर्नु हो ।

अर्को एक ‘दाइ’ ससानो जमघट हुनेबित्तिकै एकभन्दा बढी महिलालाई फलाना ‘मेरा प्रेमिका हुन्’ भनेर चिनाउँछ र उनीहरूबारे अन्टसन्ट बक्छ । फोनलाई लाउड स्पिकरमा राखेर ती महिलाहरूसँग गफ गर्छ । उनीहरूसँग भएको व्यक्तिगत अनलाइन गफलाई मिनेटभरमै स्क्रिनसट गरेर दुई–चार जना अरू व्यक्तिकहाँ पु‍र्‍याउँछ । सार्वजनिक वृत्तका दाइहरूको जब कुरा हुन्छ, पुराना न नयाँ, सबैजसोको रणनीति दुरुस्तै एउटै देखिएको छ भन्ने पनि कुरा हुन्छ ।

कुनै महिलालाई चिनेको भोलिपल्टदेखि प्रभावमा लिन खोज्ने । भर्खरभर्खर सार्वजनिक क्षेत्रमा पाइला हालेका त खुसी हुन्छन्, झन् आम युवती वा महिलाका लागि त यो अकल्पनीय कुरा नै हुने भयो, ‘यति ठूलो ‘सेलिब्रिटी’ ले मलाई ‘असाधारण ‘देख्यो’ भनेर । त्यसपछि ‘तिमी यस्ती कि तिमीलाई प्रेम गर्नबाट रोक्नै सकिनँ’ भन्ने ।

उसको त्यो ‘प्रेम’ लाई नपत्याउनेहरूको बारेमा, ‘फलानी मानिन यार’ भनेर गिलास ठोक्दै ठहाका मार्ने । पत्याएर उसको प्रेमजालमा परेका, उसलाई विश्वास गरेका महिलाको पनि मर्यादा र गोपनीयता कायम नराख्ने । आफूसँग ‘निसर्त’ प्रेममा छु भन्ने भ्रममा रहेकी कुनै महिलासँग ‘यसरी यसोयसो गरें’ भनेर चिया र रक्सीका गिलास ठोक्दै उनीहरूको विश्वास र सिंगो व्यक्तित्वमा हिलो छ्याप्ने । सार्वजनिक ठाउँमा बसेर आफू कति ठूलो ‘खेलाडी’ हुँ र आफ्नो जालमा परेकी सबैभन्दा ‘ताजा माछी’ कुन हो भनेर धाक दिने । कतिपय महिलालाई आफूले गरेको एकोहोरो यौन दुर्व्यवहारलाई पनि दोहोरो हो भनेर गफ जोत्ने । ‘मर्द मिलन’ का यी दृश्यका किस्सा सार्वजनिक वृत्तमा सक्रिय लगभग सबैजसोको कानमा परेकै छ ।

चुपचाप चार आना, बोले आठ आना
शक्तिको आडमा गरिने यौन दुर्व्यवहारबारे, नाम उल्लेख नगरीकन पोहोर साल पत्रकारहरू मीना कैनी र सुबिना श्रेष्ठले ट्विट गरेका थिए । लेखक शिवानीसिंह थारूले पनि नेपाल टेलिभिजनमा काम गर्दाताका भोगेको दुर्व्यवहारबारे ट्विट गरेकी थिइन् । हालै उनले लेख पनि लेखिन् । दुई हप्ताअगडि पत्रकार बिनु सुवेदीले ‘दाइहरूको डर’ शीर्षकको लेख लेखेपछि एउटा तरंग उठेको छ । उनले नाम उल्लेख नगरीकन आफूमाथि बारम्बार भएको यौन दुर्व्यवहार बारेमा लेखेको कुरा पत्याउने र शंका गर्ने व्यक्तिको संख्या बराबरीजस्तो छ । कतिपयले चुनौती दिएका छन्, ‘नाम तोकेर लेख, सबैलाई एउटै डोकोमा नहाल ।’

बिनुले ट्विट पनि गरेकी छन्, ‘केही बोल्न खोज्यो, थिलोथिलो पार्छन् ।’ केही वर्षअघि कुनै ठूलो मिडिया हाउसमा भएको गोप्य मिटिङमा आफूमाथि भएको यौन हिंसाको बारेमा बोलेकी महिलालाई पनि भोलिपल्टैदेखि यसैगरी ‘नाम उल्लेख गर्न’ भनेर हुर्मत लिइएको थियो भनेर समाचार आएको थियो । सबैलाई एउटै डोकोमा हाल्न नपाइने, तुरुन्तै नाम तोक्नुपर्ने भनेर केही ‘साधुसन्त’ पुरुषहरूले दिएको तनावको अनुभव मसँग पनि छ ।

रेडियोमा पार्ट टाइम काम गर्थें । एक पटक रेडियोलाई कसरी सकेसम्म महिलामैत्री बनाउन सकिन्छ भन्नेबारे महिला स्टाफहरूसँग स्टेसन इन्चार्ज र प्रबन्ध निर्देशकको विशेष र गोप्य मिटिङ राखियो । मैले भनेका तीनवटा कुरामध्येको एउटा थियो ‘साझमा न्युज रुममा काम गर्ने केही साथीहरू एकआपसमा बारम्बार ‘म’ बाट आउने शब्द प्रयोग गरेर बोल्नुहुन्छ । हामीलाई असहज बनाउँछु भनेर होइन, उहाँहरू स्वाभाविक रूपमै साथीसाथीमा त्यस्तो गफ गर्दा असहज महसुस हुन्छ । प्रत्यक्ष विरोध गर्न नसकेर मैले संकेत गरेर ‘तपाईंहरूको बोलीको कारण ध्वनि प्रदूषणको सिकायत गर्नुपर्ने भो भनें । उहाँमध्येको एक जनाले ‘त्यसो भए तपाईं न्युज रुममा नबस्न पनि सक्नुहुन्छ’ भन्नुभो ।’

आजको दिनमा आमालाई यौनसँग जोडेर गाली गरिएकाबाहेक अरू गाली मिसाएर ‘मर्द’ हरूले गर्ने गफसुन्दा भित्रभित्र खुम्चिएर बाहिरबाहिर अर्को कुरामा व्यस्त भएजस्तो गर्दिनँ । ममा त्यति आत्मविश्वास छ । त्यतिबेला भने अप्ठ्यारो लागेकै हो । साँझमा नेपाल भाषाको समाचार पढ्ने अर्की एक जना साथीले भनिन्, ‘केटैकेटा मात्र थिए, साँझमा स्टुडियो भएको फ्लोरको भ‍र्‍याङ उक्लँदा पनि मुटु ढक्क फुल्थ्यो, उहाँ आउनुभएपछि (मलाई देखाउँदै) सहज भएको छ ।’ हामीलाई हाम्रा पुरुष सहकर्मीहरूले प्रत्यक्ष यौनहिंसा गरेका थिएनन् । हामीले त्यसो भनेका पनि थिएनौं । उनले पुरुषमात्रै भएको कक्षमा काम गर्ने एकमात्र महिलाको रूपमा महसुस गर्ने दकसबारे बताएकी थिइन् । मैले पुरुष भएबापत शब्द र अभिव्यक्तिमा पाएको छुट स्वाभाविक रूपमा प्रयोग गरिरहेका उनीहरू हाम्रो उपस्थितिप्रति सचेत नभएको मात्रै भनेकी थिएँ ।

त्यहाँ भएको कुरा कसैले कसैलाई नभन्ने सर्तमा सम्पन्न भएको थियो मिटिङ । तर, पर्सिपल्ट बिहान रेडियो पुगुन्जेलसम्म यो कुरा भुसको आगोसरी सल्किएको थियो । समाचार कक्षका सम्पूर्ण पुरुष सहकर्मीले ‘हामी त चुप लाग्नेवाला छैनौं, कसले भनेको हो नाम तोकेर भन्नुपर्छ, सबैलाई एउटै डोकोमा हाल्न पाइँदैन’ भन्दै उफ्रेका छन् भनेर मलाई सुनाइसकिएको थियो । आफ्नो कार्यक्रमको पालो पर्खेर बसिरहेकी थिएँ, दुई जना सहकर्मीले मलाई ‘प्रमाणित गर्न’ अप्रत्यक्ष दबाब दिए ।

तीमध्ये एक जना अलि ‘अराजक’ भनेर चिनिएकाले मलाई ‘अतिरिक्त डर’ देखाए जसरी अनुहारमा गहिरोसँग हेर्दै भने, ‘मलाई त कसले भनेको भन्ने स्पष्ट थाहा छ, किनकि सुनाउनेले उसको ‘टोन’ सहित मलाई सुनाएको छ ।’ मैले भनें, ‘गोप्य मिटिङ भनिएको थियो, त्यसैले मिटिङमा के–के कुरा भए भनेर बताउँदै हिँड्ने अनैतिक काम म गर्दिनँ । अब कसकसले के–के भनेको थियो, सार्वजनिक रूपमै बताउनुपर्छ भनेर अर्को ‘नगोप्य’ मिटिङ भयो भने मात्रै मैले मिटिङमा आफूले भनेको कुरा दोहोर्‍याउँला ।’

यो सारा प्रकरणपछि मैले महसुस गरेको हतोत्साहको कुनै लेखाजोखा नै छैन । उनीहरूले एकअर्कामा प्रशस्त ‘म’ बाट आउने शब्द बोलेकै हुन्, एक जनाले मलाई न्युज रुममा नबस्न सक्नुहुन्छ पनि भनेकै हुन् । तर मसँग त्यसको कुनै रेकर्ड थिएन, न न्युजरुममा क्यामेरा थियो । अर्थात् मसँग यसको कुनै प्रमाण थिएन । गोप्य मिटिङ र मनमा लागेको कुरा निर्धक्क भन्न पाइन्छ भनेको कुराको विश्वास गर्नु नै मेरो गल्ती थियो भन्ने सोच्नु, बारम्बार आफैंलाई गाली गर्नु र पछुताउनुबाहेक मसँग विकल्प थिएन । यसपछि तुरुन्तै रेडियो छोड्न मन थियो तर झूटा आरोप लगाएकी थिई, त्यसैले डराएर भागी भनेजस्तो हुन्छ भन्ने लाग्यो ।

आफ्नो मानसिक–शारीरिक ऊर्जालाई डबल गर्ने प्रयास गर्दै थप दुई वर्ष काम गरें ।
'प्रमाण' हीन प्रमाणहरू कार्यस्थललाई सबैका लागि सहज बनाऊँ भन्नका लागि गरेको सामान्य गुनासोमा त मलाई ‘प्रमाणित गर्न’ भन्दै त्यसरी त्रसित बनाइएको थियो । ठूलो सामाजिक पुँजी भएका व्यक्तिले एकान्तमा गरेको यौन दुर्व्यवहारको प्रमाण महिलाले कहाँबाट ल्याउने ? कसरी पुष्टि गर्ने ? सार्वजनिक वृत्तमा वर्षौंसम्म हालीमुहाली गरिरहेका, देश खाएर शेष भएका, ठूलो र अभेद्य सामाजिक पुँजी भएका ‘दाइ’ हरु त्यति सजिलै आफ्नो करतुत कदापि स्विकार्दैनन्, गल्दैनन् । होइन नै भन्छन् ।

कुनै महिलाले आफ्नो गालामा अचानक र बिनाअनुमति मुख ल्याएको व्यक्तिको हरकत एकतर्फी थियो भनेर कसरी प्रमाणित गर्ने ? ‘दाइ’ ले गफ जोतिरहेको त्यो ‘किस’ दुवै जनाको ‘कन्सेन्टयुक्त, अंगालो मारेर, ओठ जोडेर र दुईतर्फी आनन्द लिएर गरिएको रतिरागात्मक’ चुम्बन थिएन, जसबारे महिलालाई एक त अन्दाज पनि थिएन दोस्रो प्रतिरोधका लागि समय पनि थिएन भन्दै महिलाले कुनकुन चौतारा र रक्सीभट्टी चहार्ने ? तेस्रो, महिलाले उक्त हरकतलाई कुनै ‘रतिरागात्मक’ गतिविधिको रूपमा नभई पिता वा पितामह उमेरको व्यक्तिको अभिवादन मात्रैको रूपमा लिएर बेवास्ता गरेकी हुन सक्छ, ।

त्यसलाई गफ जोतेर आफ्नो ‘मर्दानगी’ प्रदर्शन गर्नेलाई सरासर गएर ‘यस्तो गफ दिने हिम्मत कसरी गरिस् ?’ भनेर चड्कन नै देओस् भने पनि उसले ‘यस्तो गफ गरेकै थिइनँ’ भन्यो भने महिलासँग प्रमाण के छ ? न गफ सुनाउनेसँग कुनै अडियो रेकर्ड हुन्छ न त उसले महिलालाई साथ दिंदै ‘हो तिमीले मेरै अगाडि यस्तो गफ गरेका थियौ’ भनिदिन्छ भन्ने आस गर्न सकिन्छ । ‘मर्द’ क्लबका नयाँ–पुराना कुनै पनि सदस्यले यस्ता कुरामा महिलाको साथ दिने त आस पनि छैन, कम्तीमा यस्ता ‘विजय गाथा’ सुनाउनेलाई ‘यस्तो नचाहिने गफ नगर’ भनिदिने र मुख मिठ्याउँदै नसुनिदिए मात्रै पनि ठूलो कुरा हुन्थ्यो । यस्तो तुच्छताको विरोध गर्नु त परको कुरा, महिलालाई ‘दिमाग’ को रूपमा नभई मासुको थुप्रो मात्रै देख्ने, ‘विजय गाथा’ सुनाउने काम बहुसंख्यकले आफैं गर्छन् भन्ने सुन्दा दिगमिग लाग्छ ।

सुविना श्रेष्ठले लेखेअनुसार कार्यक्रमको उद्घोषण गरिरहेकी उनलाई कसैले नदेख्ने गरी साप्रामा हात राखेका मन्त्रीबारे उनले कुन प्रमाण पेस गरेर सबैलाई बताउने ? एकान्त गल्लीमा हिँडिरहेकी बिनु सुवेदीलाई पछाडिबाट आएर लपेट्ने ‘दाइ’ ले किन स्विकार्छ आफूले यो सबै गरेको हुँ भनेर ? सडकमा आफूलाई अश्लील शब्द बोल्ने, सिठ्ठी बजाउने केटाहरूलाई गाली गर्दा ‘तँलाई होइन’ भनेर झूटो बोलिदिन्छन् । वरिपरिका मान्छे मुसुमुसु हाँस्छन् र दुर्व्यवहारको प्रतिकार गरेकी महिला उल्टो अप्ठ्यारोमा पर्छे । यस्तो अप्ठ्यारो नभोग्ने सायदै कुनै महिला होलान् । यस्ता हरकत र गफको कुनै अडियो–भिजुअल रेकर्ड नहुने हुनाले ‘दाइ’हरू ढुक्क छन् । त्यसैले उनीहरू निर्धक्क हाँक दिन सक्छन्– ‘प्रमाणित गर ।’ प्रत्येक दिन ‘मर्द’ हरूको मदिरा सम्मेलनमा हुने गफको ‘प्रमाण’ जुटाउँदै हिँड्ने फुर्सद महिलासँग कहाँबाट होस् ? आफ्नोबारे भएको गफलाई नखाएको विष लाग्दैन भनेर सोच्ने, आज फँसिरहेका अरू महिलाले कुनै दिन आफैं चेत्लान् भनेर सोच्ने वा आफूले इज्जत र विश्वास गरिरहेको सम्बन्धलाई सडक कविता बनाएर गाउनेहरूलाई ‘थुक्क’ भनेर खुरुखुरु आफ्नो काम गर्नेबाहेक उनीहरूसँग के विकल्प छ ?
नाममा के छ ?

आजसम्म जति पनि महिलाले आफूमाथि यौन दुर्व्यवहार गरेका व्यक्तिको नाम लिएका छन्, तीमध्ये मण्डला थियटरले एक जना नाट्यकर्मीलाई निलम्बन ग‍र्‍यो । हालै त्रिभुवन विश्वविद्यालयले एकजना लेक्चररमाथि यौन दुर्व्यवहारको उजुरी हालेको छ । त्यसबाहेक अरूमाथि कुनै कारबाही भएको छैन । केशव स्थापितमाथि लगाएको आरोपको पुष्टि गर्नका लागि रश्मिला प्रजापतिले आफू पोलिग्राफ टेस्टका लागि समेत तयार रहेको बताएकी थिइन् । तर स्थापित आबद्ध राजनीतिक दलले यो आरोपबारे कानमा बतास पनि लगाएन । उल्टो स्थापितले एउटा अनलाइनलाई अन्तर्वार्ता दिँदै आफूमाथि आरोप लगाउनेहरू ‘बाख्री’ हुन् भने । उनी प्रदेश तीनको मन्त्री पदबाट बर्खास्त त भए तर त्यसको कारण रश्मिलाको आरोप नभई मुख्यमन्त्रीलाई ‘मुख छाड्नु’ थियो । पत्रकार विम्मी शर्माले पनि आफूमाथि यौन दुर्व्यवहार गर्नेहरूको नामै उल्लेख गरिन् । तर उनले पनि कतैबाट समर्थन पाइनन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक कृष्णबहादुर भट्टचन बारे त्रिविकै पूर्वविद्यार्थीहरूले नामै लिएर उनले गरेको यौन दुर्व्यवहारबारे बोले । भट्टचनलाई कुनै कारबाही हुनुको सट्टा उल्टो जनजाति महासंघका महासचिवले हस्ताक्षर गरेको विज्ञप्ति नै निस्कियो, जसमा ‘यो आरोप सिंगो जनजाति आन्दोलनमाथिकै षड्यन्त्र हो’ भनेर लेखिएको थियो । यसरी नै भोलि कुनै अर्को दाइबारे कुनै महिलाले नामै उल्लेख गरेर बोले भने त्यतिबेला पनि ‘यो सिंगो प्रजातान्त्रिक प्रगतिशील, लेखन, आन्दोलनमाथिको षड्यन्त्र हो’ भनेर विज्ञप्ति नआउला भन्ने के ग्यारेन्टी छ ?

माथि उल्लेख भएका केहीबाहेक सबै व्यवहार ‘मि–टु’ भित्र नपर्लान् । तर, यी सबै कुनै महिलालाई असहज महसुस गराउने, अपमान, चरित्रहत्या गर्ने र हिम्मत हारेर सार्वजनिक वृत्त छोड्न बाध्य बनाउने गतिविधिमा पक्कै पर्छन् । सार्वजनिक ठाउँमा र धेरै व्यक्तिको अगाडि सीधै यौन प्रस्ताव राखिदिने, सम्बन्धै नभएका महिलाको बारे पनि यौन सम्बन्ध थियो जसरी गफ जोत्ने र प्रेम सम्बन्धमा छु भन्ने सोचिरहेका महिलासँगका प्रत्येक संवाद वा गतिविधिबारे गिलास ठोक्दै गरिने चर्चाका कारण कतिपय महिलाको हौसला पक्कै गिर्छ । यो सबै गरिरहने हिम्मत ‘मर्द’ हरूमा यसकारण आएको छ, किनकि उनीहरूलाई लाग्छ उनीहरूको साम्राज्य अकण्टक र अभेद्य छ । यसलाई कसैले छुन वा हल्लाउन सक्दैन । त्यसैले त उनीहरू सार्वजनिक रूपमा महिलाहरूको चरित्रहत्या गर्नुलाई आफ्नो जित ठान्छन् । मानौं सार्वजनिक वृत्त कुनै एउटा खाँबो हो र त्यसको वरिपरि वर्षौंदेखि एकैथरी स्वभाव भएका व्यक्तिहरूले घुमीघुमी फोहोरको दाइँ गर्ने ठेक्का पाएका छन् ।

यो सबैको बीचमा हामीले के गर्ने त ? सार्वजनिक रूपमा बोलेका महिलाको जस्तै थोरबहुत अनुभव नबोलेहरूसँग पनि छ । व्यक्तिगत गफगाफमा उनीहरूले यस्ता अनुभव बताएका छन् । त्यसैले सार्वजनिक रूपमा बोलेका महिलाहरूलाई कुनै तर–लेकिन–अगर–मगर–किन्तु–परन्तुबिनै विश्वास गर्ने र हिम्मत दिने । सार्वजनिक वृत्तलाई घीनलाग्दो बनाइरहेका ‘मर्द’ हरूलाई मिलेर चुनौती दिने । आफ्नो र साथीहरूको मर्यादाहननको विरोधमा नाम लिएर होस् वा नलिएरै, बोल्न–लेख्न नछोड्ने । ‘प्रमाण’ नभएकोमा हौसिएकाहरूको प्रमाण जुटाउन कोसिस गर्ने । हिम्मत नहार्ने र भोलि बहिनी–छोरीको पुस्तालाई रूप फेरिएको सार्वजनिक वृत्त हस्तान्तरण गर्नका लागि आफ्नोतर्फबाट आज जिम्मेवारी लिने ।

प्रकाशित : श्रावण ११, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?