झरीमा विरोध

संजोग मानन्धर

लोकसेवा आयोगले खुलाएको स्थानीय तहका कर्मचारीको विज्ञापन सुरूदेखि नै विवादमा पर्‍यो  । मुलुक संघीय संरचनामा गएर प्रदेश सरकार र स्थानीय तहको गठन भएपछि लोकसेवाले स्थानीय तहका लागि कर्मचारी माग गर्दा संविधानले व्यवस्था गरेअनुसारको समावेशिताको सिद्धान्तलाई तोडेको भनेर विरोध भए ।

खासगरी समावेशिताको सिद्धान्तअनुसार आरक्षित समुदायबाट यसको विरोध भयो । संसद्को समितिले विज्ञापन रोक्न पनि निर्देशन दियो । तर, त्यो निर्देशनविरूद्ध अदालतमा मुद्दा पर्‍यो । र, सर्वोच्चले रोक्नु नपर्ने निर्णय सुनाइदिएपछि लोकसेवा अघि बढ्यो ।

शुक्रबार र शनिबारका लागि तोकिएको परीक्षाको विरोधमा मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरियो । साउने झरीमा विरोधसभामा सहभागी प्रायःले आआफ्ना छाता खोल्दा प्रदर्शन नै रंगीविरंगी देखियो ।

पछिल्लो समय राजधानीवासीको विरोधलाई सबभन्दा नजिकबाट हेरेको मण्डलामा देखिएका यी छाता एउटा पूरै फूलबारीका फूलजस्ता थिए, अनेक रङका ।


प्रकाशित : श्रावण ४, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्

मेहेन्दीको रङ

सविता विमली

नेपाल यातायातबाट ओर्लिएर पुतलीसडक हुँदै मैतीदेवीतिर लागिरहेछु  । पानी छिट्याउन लागिसक्यो  । आकाश त्यति मैलो त छैन । पानीको भने मनपरि छ ! अनुमानबेगर परिदिन्छ । उसको मनलाग्दीमा घुर्की लगाउन त भएकै छैन साउन जो सुरु भएको छ ।

गज्जब स्वाद मान्दो हो ऊ यसरी अरूलाई अभर पर्ने गरी परिदिन । यो खाल्डोको पानी पराइसँग भने मलाई अचम्मै लाग्छ ! बागबजार पूरै भिजिरहँदा नयाँ सडक धूलो उडाइरहेको हुन्छ । पुरानो बानेश्वरको झरी मध्यबानेश्वर काटेर नयाँ बानेश्वर आउन मान्दैन !

क्या बात झरी !
यो एकतर्फी बाटो हिँडेर मैतीदेवी चोक आइपुग्न पनि कति लागेको हो समय ! बाक्लिँदै गइरहेछ पानी ! बिस्तारै छाताले थेग्न नसक्ने भइदियो । एपोलो पोलिक्लिनिक रहेको भवनभित्र ओत लाग्छु । यहाँ आइपुग्दा अघिल्लो सालको खुट्टाको पीडा बल्झिन खोज्छ । यो सम्झनाले अहिले पनि खुट्टा दुखिरहेझैं लाग्छ । बिस्तारै ओत लाग्नेहरू थपिइरहेछन् । म खुट्टालाई बिर्सिएर त्यहाँ थपिनेहरूमाथि आँखा डुलाउन थाल्छु, समय जो कटाउनु छ । त्यत्तिकैमा कसैले कानमा फुसफुसाउँछ ।

हेर्छु– सोधा ।
यो साउनमा मेहेन्दी लगाउने फेसनलाई अत्यन्त तन्मयताका साथ अपनाइरहेछ सहर । मेहेन्दी र हरिया चुरा महिलाका हातमा थमाइदिएर गजक्क परिरहेछ समय !

तिउरेका पात सिलौटामा पिँधेर हातमा टिके बुट्टा भर्नभन्दा बढी रमाइलोचाहिँ तिउरेका बियाँ भएका पोका फुटाउँदा लाग्थ्यो । एक झम्को अतीत आँखाअघि सरक्क आएर उभिदिन्छ । तिउरेको पहेंलोलाई मेहेन्दीको गाढापनले कसरी बिर्स्याउन सक्नु र ? साउनले आफ्नो स्वाभाविक रङ परिवर्तन गरिरहेछ । र मेहेन्दीले बुट्टा कुँदिएका हात बडो जतनले जोगाइरहिछे सोधा ।

यो साउनले सहरका घरमा मात्रै मेहेन्दी भित्र्याउँदैन, सडकमा पनि मेहेन्दी लगाउने र लगाइदिनेको भीडलाई राम्रैसँग जम्मा गरिदिन्छ ।
क्या बात साउन !

केही दिनयता घरमै कैद छु । केही अलमल छन् । केही धरमर छन् र छन् अधुरा कामका सूची ! यसरी कैद हुनुमा पनि खुसी मान्नुपर्ने बाध्यता जो छ ।


दुई वर्षअघि सकिएको राजनीतिशास्त्रको शोध बाँकी नै छ । सूचनाको हकसम्बन्धी सामग्री कोठाको कुनामा उभिएर मलाई गिज्याइरहन्छन् । अब नसमात्ने भनिएको विद्यावारिधि शोधका सामग्री त छोपिएका छन् । धन्य, ती देखिँदैनन् नजरमा र म केही सहज अनुभव गर्छु ।


केही काम छोडेरै भए पनि सक्नु छ अब । जससँग म भाग्दै आइरहेको धेरै भइसकेको छ । अनि पनि म स्थिर छैन । अध्ययनले लय समातिसकेको छैन । पुस्तक समात्दै छोड्दै गरिरहेछु । बिहानको उत्साह दिन चढ्दै जाँदा फिका हुन थाल्छ । त कहिले रातको उत्साह उज्यालो हुँदा सेलाइसकेको हुन्छ । आफूले आफैंलाई समेट्नु छ र लगाउनु छ काममा ।


केही आफ्नै खालका कोसिस छन्, गर्छु । केही सुनेका छन्, अपनाउँछु । यस्तै उस्तै प्रयासस्वरूप ल्यापटप अघि उभिएकी छु । धेरै दिनदेखि थन्किएको यसलाई एक पटक सुम्सुम्याउन मन लाग्छ । खोल्नेबित्तिकै मुस्कुराएर देखा परेको इमेल अगाडि छु अहिले । जसले मलाई स्थिर मात्रै होइन जड बनाइदिएको छ ।


‘सवि !’
‘अरूलाई भन्न सक्दिनँ । तँ कम्तीमा सुनिदिन्छेस् । भएन गाली पनि गर्छेस् । तेरो गाली जसले मलाई कहिल्यै बिझाएन (यो पढिरहँदा मेरो मायाले नै बिझाएकाहरूलाई सम्झिन्छु र मुस्कुराउँछु), त्यही गालीकै लागि भए नि तँलाई सुनाउन मन छ । भेटेरै भन्न पनि सक्दिनँ ।’


‘जिन्दगी भोगेर सकिने रहेनछ । यति छोटो जीवनमा के–के मात्रै भोगूँ म ? तैं भन् त !’
‘जीवनमा धेरै कुरा मेरो भागमा रहेनछ । तर मैले प्रयास गर्न छाडिनँ । नछाड्नुको फाइदा यो भयो कि म जिउँदो रहें । बेफाइदा मेरो प्रशस्त ऊर्जा त्यसै बेकार भयो । मलाई जीवन्त बनाउने त्यो ऊर्जा बेकारै पनि के भयो र ? काम लाग्यो पनि भन्न नसक्दाको विरोधाभासले मलाई चुपचाप बनाउँदै लगिरहेछ । यो मौनताकै बीच म सदाका लागि चुपचाप बनिदिएँ भने ? (मेरो शरीरभरि करेन्टको जोडदार झट्का लाग्छ) यही डरले मलाई यो लेखाइरहेछ ।’


‘मेरो जीवनका थुप्रै उतारचढावलाई कहिले पर त कहिले नजिक भएर तैंले पनि हेरेकी छेस् । मसँगै रोएकी र हाँसेकी छेस् । जब म जीवनको भयानक पीडाबाट गुज्रदै थिएँ त्यतिबेला तँ मेरो हात समाउन आइपुगेकी थिइस् । त्यो समय तेरो भरोसाले मलाई कम्ती हौसला मिलेको थिएन ! तैंले केही काम गर भनिस् । केही नगर भनिस् । कतिपय अवस्थामा रोक्न पनि खोजिस् । मैले टेरिनँ । जीवनमा मैले कसैलाई नसोधी केही निर्णय गरें । ती सबको जस अपजसको भागीदार म आफैं हुँ पनि । जसरी त्यो कैशोरवयमा कसैको नसुनेरै मैले पहिलो निर्णय गरेकी थिएँ । मेरो निर्णयमा त मलाई कत्ति पनि पश्चात्ताप छैन । मैले जीवनमा केही थान निर्णय गरें जसले जीवनलाई असाध्यै नाटकीय बनाइदिए । एउटी भोक्ता बनेर म उसै उसै नाटकमा अभ्यस्त बन्दै गएँ । अब त पर्दा उठ्नैपर्छ । र यो निर्णय पनि म आफैं गर्छु ।’


‘त्यो उमेरमा मैले केलाई माया भने हुँला ? कस्तो सपना देखें हुँला ? के सोचेर हठात निस्किएँ नसोचेको सुदूर यात्रामा ? यो सब सम्झँदा छक्क पर्छु आफैं । त्यो प्रस्थानसँगै छुटेकाहरू फेरि कहिल्यै भेटिएनन् बाँकी यात्रामा । गुनासोजस्तो केही हुन छाड्यो बिस्तारै । गुनासो त उनीहरू पनि गर्दा हुन् । बुबाको इज्जतको अगाडि मेरो उपस्थिति सधैं बिझाउने भएर होला आमाले खुलेर माया पनि गर्न सक्नुभएन । दाइ पनि त्यहीं कतै अल्मलियो सायद । सम्झना आउँछ । तर सम्झनाले दुखाउन छोडेको भने धेरै भयो ।’ ‘सोच्छु, इज्जत भनेको के हो ? यो कस्तो हुन्छ ? कसरी यो जान्छ वा बढ्छ ? यसका मानकहरू के–के हुन्छन् ? मैले आफ्ना लागि रोजेको यात्राले बुबाको इज्जतको हुर्मत कसरी लियो ? मेरी छोरीले भोलि बाँच्न चाहेको जिन्दगीले कसरी मेरो इज्जत जान्छ ? म सोच्छु र छक्क पर्छु ।’


‘मावली नदेखेरै छोरी ठूली हुँदै छे । उसले घर देख्न छोडेको पनि धेरै भयो । अब उसलाई मात्र संसार देखाउनु छ ।’


‘मेरी छोरीको बाबु जो मेरो जीवनमा पहिलो प्रेम बनेर आएको थियो । उसले मेरा किशोरी रहर मात्र पूरा गरेन, बाबुको घरको इज्जत लिएर हिँडेकी एउटी अपरिपक्व केटीलाई इज्जतदार जीवन पनि दिएको थियो । ऊसँगको संसार समयको गणनामा दोहोरो अंकमा उक्लनै भ्याएन । म एक्लै भएँ । हो, त्यही समयमा तँसँग भेट भएको थियो । सवि ! म राम्ररी रुन पनि नसकिरहेको समय थियो त्यो । मैले पोखिने ठाउँ पाइरहेकी थिइनँ । म पोखिन चाहन्थें । मलाई सुन्ने अनि सुनिरहने साथी चाहिएको थियो । त्यो तँ बनिदिइस् । मलाई लाग्थ्यो कि तँलाई केही थाहा छैन । परिपक्वताको खुट्किलो चढ्न भ्याएकी छैनस् । सानै छेस् । धेरै बुझ्दिनस् । तँमा बडो प्रतिक्रिया दिइहाल्ने बानी थियो । तर मेराअगाडि मात्र श्रोता बनिस् । जसै मैले मेरो जीवनमा आएको नयाँ मान्छे चिनाएँ अनि तँ गज्जबसँग भड्किस् । तँलाई ऊ मनै परेन । ‘किन ?’ भरपर्दो उत्तर त तँसँग थिएन । तर त्यसपछि तँ मेरै लागि हार्न नसकेर चुपचाप बसिदिइस् ।’


‘लाग्थ्यो कि यी सब भन्ने कुरा मात्र थिएनन् । होइनन् । अब जिन्दगी फेरि फुल्न थालेको थियो । मेरो यो निर्णयसँगै घर पनि छुट्दै गइरहेको थियो । पहिले मेरो जीवनमा माया गर्ने मान्छे आएको थियो । र अहिले माया गर्छु भन्ने मान्छे थियो । माया गर्ने र गर्छु भन्ने बीचको फरक छुट्याउन नसक्नु नै मेरो कमजोरी बनिदियो । र तँ भड्किनुको कारण पनि सायद यही थियो ।’

झ्याप्पै निभेको छ काखे कम्प्युटर र मलाई केही फुर्सद दिएको छ । ऊ अहिले रिस्टार्ट भइरहेछ । सोधाको इमेलले मलाई आश्चर्यमा पारेको छ । जीवनलाई आफ्नै सर्त र मूल्यमा बाँच्न चाहने यो युवती किन यसरी पोखिइरहेकी छे ? किन दुखिरहेकी छे ? ऊ दुख्नुको फेदसम्म म पुग्न सकिरहेकी छैन ।


सामान्य चिनजानकी ऊसँग केही वर्षअघि एक साँझ एउटा थिएटरमा भेट भएको थियो । छोरी लिएर आएकी थिई । सधैँ तीन जना नै भेटिन्थे यस्ता समारोहहरूमा । एक जना अनुपस्थित हुनुको कारण सोधेकी थिएँ । ‘मेरो जीवनमा फेरि नआउने गरी गयल भएको मान्छेलाई म कसरी उपस्थित गराऊँ ?’ उसको जवाफले त्यो दिनको नाटकको स्वादै बिगारिदिएको थियो । छुट्ने बेलामा उसैले कफीको प्रस्ताव गरी । घरमा खाना नपर्खिनु भनेर फोन राखिसकेपछि उसलाई सुनेकी थिएँ मैले ।


केही सपिङ, सिनेमा र नाटक सँगै हेरिन्जेलमा लगभग उसको कथा पनि सकिएको थियो । अब ऊसँग सुनाउनका लागि पुराना कुरा मात्रै थिएनन् । नयाँ पनि थपिँदै थिए । थपिएका चीजहरूमध्ये उसको दोस्रो छनोटलाई मैले मन नपराएकै हो र केही टिप्पणी गरेकै पनि हो । उसलाई खुसी देखेपछि भने मलाई थप केही चाहिएको थिएन ।


ऊ मलाई उसको छनोटप्रति भड्किएको भनिरहेकी छे । मानिस नराम्रो थिएन । ऊ राम्रै थियो । नराम्रै त सायद यो संसारमा कोही छैन । हुँदैन । सबै राम्रा छन् । ती सबै राम्रा मानिसका पनि त आ–आफ्नै सीमा हुँदा हुन् नि । अन्ततः त्यही सीमाले मानिसलाई राम्रो या नराम्रो बनाउँदो हो । त्यसैले सबै राम्रा मानिस जहाँ, जतिखेर, जेजस्तो अवस्थाका लागि पनि उपयुक्त हुन्छन् वा हुनुपर्छ भन्ने मान्यताप्रति मेरो सर्वथा विमति छ । म यसलाई मूर्खतासिवाय अर्को केही ठान्दिनँ । र यही मूर्खता गर्नबाट उसलाई रोक्न खोजेकी थिएँ । सकिनँ । त्यसबेला मेरो यही अनुभूतिले बोली पाएपछि उसलाई लाग्यो कि म भड्किएँ । तर आज ऊ स्वयम् यसलाई कमजोरी भनिरहेकी छे । म आश्चर्यमा पर्छु ।


यतिन्जेल कम्प्युटर मुस्कुराउन थालिसकेको छ । फेरि उसलाई पढ्न सुरु गर्छु—
‘सवि ! तँलाई ऊ किन जँचेन भन्ने कुरा अहिले आएर बुझ्दै छु । कतिपय व्यक्ति वा विषयप्रति तेरो छुच्चो टिप्पणी हुन्थ्यो । अनि फेरि कतिपयप्रति अतिशय नरम र प्रेमिल । सायद मैले तँलाई नपत्याउनुको एउटा कारण यो पनि हो । कि तेरो यो स्वभावले मलाई तँ सानै छेस् भन्ने बोध गराउँथ्यो । र यसरी केटाकेटी ठानिएकी तैंले भनेका केही कुरा यसरी मेरो घाँटीमा अड्किएका छन् कि म न तिनीहरूलाई निल्न सकिरहेकी छु न छाद्न !’


‘यो श्रावण सुरुतिरै तँसँ भेट भएको हो । यसबीचमा जे–जे भयो । म तेराअघि पर्न सकिरहेकी छैन । प्राकृतिक विपद्भन्दा पर यो असाध्य सुन्दर महिना । यो मादक झरी ! यो सुरम्य शीतल हरियाली ! न गर्मी न जाडोको यो याम असाध्य मोहक लाग्छ । रातो, हरियो, पहेंलो रङले छोपिएका महिला । शिवको प्रिय महिना । मेहेन्दीको महिना । मैले पनि मेहेन्दी लगाएकी थिएँ । तेरो अनुहार अलिअलि नै सही म पढ्न सक्ने भएकी छु आजकल । मेरो हातको मेहेन्दी तँलाई मन परेको थिएन सवि । असाध्य प्रेमले लगाएको मेहेन्दी श्रावणको अन्तिमसम्म आइपुग्दा मेरा लागि विषाक्त बनिसकेको छ ।’


उसका कुनै पनि कुरा मेरो दिमागमा चढ्न सकिरहेका छैनन् कि ऊ के भनिरहेकी छे ! म उसको हातको मेहेन्दी सम्झने कोसिस गर्छु । त्यसमा त्यस्तो उल्लेखनीय त केही थिएन । म अझै सम्झन खोज्छु । अन्ततः उसले हातमा लेखेको उसको दोस्रो छनोटको नाम सम्झना हुन्छ । उसबेलाको मेरो भंगिमा सम्झने कोसिस गर्छु । लाग्छ म सामान्य नै थिएँ । सम्झनामा त्यस्तो कुनै असजिला दृश्य आउँदैनन् । उसले भनेझैं म मेरो अचेतन मनको अनुभूतिलाई लुकाउन सफल भइनछु कि जस्तो लाग्यो ।


पुनः उसलाई पढ्न सुरु गर्छु । त्योभन्दा अघि झ्यालबाट छिरिरहेको उज्यालो एक्कासि गायब हुन्छ । के भयो ? बाहिर हेर्छु धुम्म अँध्यारो छ । बिहानै समाचारले देशैभर लगातार तीन दिन पानी पर्ने मौसम विभागको पूर्वानुमान सुनाएको थियो । बाढी प्रभावित डुबान क्षेत्र, ठूला नदी तथा खहरेहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाउन आग्रह पनि गरिएको थियो । र आजकल यस्ता अनुमान मिल्न थालेका छन् । भर्खरैको हनुमन्ते खोलाको बाढीले डुबाएको भक्तपुर, पोहोरको बाढीमा जलमग्न कोसीको पानीमा बगेको कमलु सदाको अनुहार आँखामा आउँछ । नांगिँदै गएको चुरे, साँघुरिँदै गएका नदीका किनार, भिरालो जमिन तथा नदी किनारमा बसेका बस्ती यो झरीमा सबैभन्दा बढी त्रासको सिरानी हालेर निदाउँछन् । बाढी र पहिरोको कहरले भित्रैदेखि हल्लाउँछ । त्यत्तिकै हल्लिएकी त म सोधाको इमेलले पनि छु ।


म फेरि उसकै इमेलमा फर्किन्छु । ऊ लेख्छे, ‘यो पढेर सकिस् भने प्लिज ओपन द अनादर एट्याच्मेन्ट ।’
ओहो ! अर्को पनि फाइल रहेछ । मैले हेरेकै रहेनछु । हतार हतार खोल्छु । फाइल असाध्य अल्छी गरेर खुलिरहेछ । अगाडि स्क्रिनमा एउटा फोटो उभिन्छ । मलाई ठम्याउन समयै लाग्दैन कि यो सोधाको हातको तस्बिर हो ! मैले अघिल्लोपटक भेट्दा उसको हातमा मेहेन्दी थियो । अहिले हातभरि मेहेन्दी छ । लागिरहेछ कि उसले मेहेन्दीको सिंगो ट्यांकीमा आफ्ना हात
चोबेकी छे ।


झ्यालबाट एक झोका चिसो हावा छिर्छ । मलाई थप चिस्याउन यो हावा काफी बनिदिन्छ । झ्यालतिर बढ्छु । दर्के झरीको आवाज कानसम्म ठोकिन्छ । हेर्छु परै रहेको झरी वरवर आइरहेछ । यस्तै झरीसँग लोभिने सोधा आँखा अघि उभिदिन्छे । झरी झ्यालसम्मै आइपुगेको छ । बाछिटाले अनुहारमा स्पर्श गरेपछि झ्याल बन्द गरेर फर्किन्छु । काखे कम्प्युटर भने पुनः रिस्टार्ट भइरहेछ !

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×