कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पुस्तक समीक्षा : शाही शासनको बन्दी मन्थन

नरहरी आचार्यको ‘गणतन्त्रको यात्रा, बन्दी वृत्तान्त’
गंगा बीसी

२०६२/०६३ को आन्दोलनले मुलुकमा गणतन्त्रका लागि राजमार्ग तय गरेको थियो  । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरेपछि गणतान्त्रिक आन्दोलनको आगोमा घिउ थपिएको थियो । त्यही क्रममा सयौं नेता तथा कार्यकर्ता गिरफ्तार परे । ज्ञानेन्द्रले निरंकुश शासन चलाउनुअघि कमै मात्र नेताले गणतन्त्रको पक्षमा बोलेको पाइन्थ्यो ।

पुस्तक समीक्षा : शाही शासनको बन्दी मन्थन

त्यतिबेला कांग्रेस, एमालेका अधिकांश नेता संवैधानिक राजतन्त्रको पक्षमा थिए । त्यसैबेला गणतन्त्रको वकालत गर्नेमा एक थिए कांग्रेस नेता नरहरि आचार्य । माओवादीले २०५२ फागुन १ मा सशस्त्र युद्ध सुरु गरी गणतन्त्र ल्याउने उद्घोष गरेको थियो । जनआन्दोलनको पूर्वसन्ध्यामा भएको १२ बुँदे समझदारीले गणतन्त्रको बिहानीको संकेत गरेको थियो ।


रातजतन्त्रको दबदबा भएकै बेला उनले ‘गणराज्य’ शब्द प्रयोग गर्थे, त्यसको अर्थ गणतन्त्र हो । राजाले शासन आफ्नो हातमा लिएकै दिन २०६१ माघ १९ मा गिरफ्तार परेका आचार्यको जेलजीवनको दैनिक लेखनीलाई ‘गणतन्त्रको यात्रा, बन्दी वृत्तान्त’ नाम दिइएको छ । यो वृत्तान्त नेता आचार्यले ककनी, महाराजगन्ज, सूर्यविनायक र जावलाखेलमा बन्दी अवस्थामा लेखका हुन् । गणतन्त्र स्थापना भएपछि वृत्तान्तको रूपमा प्रकाशित यो पुस्तकले त्यतिबेलाको शासन व्यवस्थाको झलक देखाउँछ । पुस्तकका लेखक सक्रिय राजनीतिज्ञ भएकाले डायरीमा निजी कुराका साथै मुलुकको राजनीतिका पाटा उतारिएका छन् । जुन आचार्यले बन्दी अवस्थामा बस्दा देखेका, भोगेका र महसुस गरेका कुरा हुन् । यसले जीवनको मार्गनिर्देशन नगरे पनि दैनिक जीवन चलाउने केही सूत्र दिन सक्छ । गिरफ्तारीको पहिलो दिनको दैनिकीको एक अंश यस्तो छ, ‘हामीलाई कहाँ राखिन्छ वा कहाँ लगिन्छ भन्ने थाहा थिएन । एकै छिनअघि हलचोकको ग्राउन्डमा हेलिकप्टर ल्याएर रोकेको थियो । वास्तवमा हेलिकप्टर हाम्रा लागि ल्याएको रहेछ । करिब सात मिनेटको उडानमा हामी ककनी पुग्यौं ।’


उनी गिरफ्तारीमा परेको श्रीमती शारदा शर्मालाई केही दिनपछि मात्र थाहा भयो । उनी त्यतिबेला दिल्लीमा अन्तर्राष्ट्रिय संस्थामा काम गर्थिन् । उनलाई कहाँ राखिएको छ भन्ने परिवारलाई जानकारी थिएन । यसबारे शारदाले आफ्नो संस्मरण ‘त्यो समयमा’ लेखेकी छन्– ‘नेपालमा राजाले गरेको ‘कु’ लाई नेपाल बाहिरबाट अनुभव गर्नु सानो त्रासदी थिएन हाम्रा निम्ति । बाबालाई घरबाटै समातिएको थियो । उसको अज्ञात स्थितिले म र छोरीहरू किंकर्तव्यविमुढ थियौ । एउटा अशुभ कल्पनाले आक्रान्त गरेको थियो हामीलाई । म दिल्लीमा र छोरीहरू सिड्नीमा केही रात पूरै जाग्राम रहेर बितायौं । दिनभर कम्प्युटरमा नेटका झ्यालहरू खोल्थ्यौं ।’ ‘कु’ पछि टेलिफोन, इन्टरनेट बन्द गरिएको थियो । सञ्चार माध्यम पूरै सेन्सरमा परेको थियो । यस्तोमा बन्दी भएकाहरू एक हिसाबले बेपत्ताजस्तै थिए । बन्दीहरू परिवारको सम्पर्कमा थिएनन् । बन्दी जीवनका लागि पहिलो चाहना आफ्ना परिवारलाई भेट्ने हुनु स्वाभाविक हो ।


ककनीमा बन्दी अवस्थामा रहँदा उनले आफ्नो पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्र शाहलाई नबुझेको प्रसंग उल्लेख गरेका छन् । माओवादी, सेनालाई हुर्ने विषयमा कोइराला चुकेको उनको बुझाइ छ । राजाले शासनसत्ता आफ्नो हातमा लिइसकेपछि कोइरालाले बुझे अनि गणतन्त्रमा जाने विषयमा माओवादीभित्र सहमति गरेको तथ्यले पुष्टि गरिसकेको छ । यो त्यतिबेलाकै डायरी भएको हुनाले नौलो नलाग्नु स्वाभाविक हो ।बन्दी अवस्थामा रहँदासमेत उनले पार्टीका कमीकमजोरी डायरीमा उतारेका छन् । कांग्रेसमा लोकतान्त्रिक चरित्रमा ह्रास आएका कारण समस्या आएको उनको बुझाइ छ । ‘गणेशमानजीको पार्टी परित्याग र किसुनजीको निष्क्रियतापछि गिरिजाप्रसाद कोइराला केन्द्रित संगठनका रूपमा यसले आफूलाई अघि बढाइरहेकामा नेतृत्वका रूपमा शेरबहादुर देउवाको वैकल्पिक उदय हुँदै थियो । त्यसो त उनी कुनै ठोस विचार र कार्यक्रम नबोकीकनै गिरिजाप्रसाद कोइरालाको विकल्पमा उभिन खोज्दै थिए ।’


माओवादी आन्दोलनलाई समयमै बुझ्न नसकेको स्वीकारोक्ति आचार्यले महसुस गरेका छन् । त्यसबारे पार्टीलाई सचेत गराएको प्रसंग भने पुस्तकमा छैन । उनले २०६२ जेठ १२ गतेको डायरीमा लेखेका छन्, ‘नेकपा माओवादीको सशस्त्र द्वन्द्वले निश्चित मोडसहित विश्राम लिन खोजिरहेको छ भन्ने मलाई लागेको छ । हिजो सत्ता (अपूर्ण रूपले नै भए पनि) सञ्चालन गर्दा नेपाली कांग्रेसले यसलाई राम्रोसँग बुझन नसके पनि बेलाबखत आग्रहपूर्वक र सजिलाका लागि कहिले दरबारले सञ्चालन गरेको र कहिले भारतद्वारा उत्प्रेरित भनेर पन्छिने गर्दागर्दै अहिले आएर ती दुवै आक्षेपले आकार लिन खोजिरहेको छ ।’


दैनिकीमा उनले कांग्रेसभित्रको अन्तरसंघर्षलाई उजागर गरेका छन् । माओवादी शान्ति प्रक्रियामा आउनुपूर्वका दिल्लीमा कांग्रेस र माओवादी नेताको वार्तालाई बन्दीगृहबाट चियाएका छन् । कति सत्य छन्, कति अनुमानहरू छन् ।पहिलो चरणको बन्दी जीवन दुवाकोट सशस्त्र प्रहरी बलबाट पाँच महिना २ दिन, तीन महिना १५ दिनको बसाइपछि ब्रेक लाग्यो । उनी २०६२ असार २० गते छुटे । आन्दोलन चर्किंदै जान थालेपछि आचार्य २०६२ माघ ५ गते फेरि गिरफ्तार भए । त्यसपछि फेरि बन्दी वृत्तान्त २ सुरु भयो ।


उनले पुसको दोस्रो साता तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईलाई भूमिगतकालमा पहिलो पटक भारतमा भेटेको रोचक पक्ष सम्झिएका छन् । पहिलो पटक प्रचण्डलाई भेट्दा उत्सुकता भरिए पनि छलफल गर्दै जाँदा सहज लागेको उल्लेख गरेका छन् । त्यही बेला कांग्रेसको ११ औ महाधिवेशनमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध उम्मेदवारी दिएको प्रसंगमा प्रचण्डले भनेछन्, ‘त्यतिखेर पनि तपाईँसँग सम्पर्क गर्ने मन त धेरै थियो । तर गिरिजाप्रसादसँगै प्रतिस्पर्धा गरेर तपाईं सभापतिमा उठेको बेला कुरा थाहा पाए कोइराला रिसाउनुहोला भनेर हामीले सम्पर्क गरेनौं ।’

यसमा आचार्यले लेखेका छन्, ‘गिरिजाबाबुसँग यति सानो कुरामा समेत डराउने मान्छेले यत्रो जटिल विषयहरू ट्गों लगाउन सक्लान् ?’ पछि कोइराला, प्रचण्ड र बाबुराम भट्टराईको वार्ताले मुलुकलाई आचार्यले चाहेजस्तो गणतन्त्रमा प्रवेश गरायो । पार्टीभित्र वैचारिक बहस चलाउँदै आएका आचार्यलाई हाल कांग्रेस सभापति शेरबहादुर देउवाप्रति अविश्वास पहिलेदेखि नै रहेछ । देउवा र तत्कालीन अमेरिकी राजदुत मोरियार्टीले १२ बुँदे सम्झौता तुहाउन खोजेको प्रसंग कोट्याएका छन् ।


बन्दी अवस्थाको डायरीमा व्यक्तिगत चिन्तन आउनु स्वाभाविक हो । तर, आचार्यले नुहाएको, खाएको, व्यायाम गरेको सामान्य कुरा यति दोहोर्‍याएका छन् कि ‘गणतन्त्रको यात्रा’ पढ्नेलाई दिक्क बनाउन सक्छ । शाही शासनको बेला बन्दी अवस्थामा लेखिएको ६ सय ३६ पृष्ठ मोटो किताबमा धेरैजसो विषय व्यक्तिगत गन्थनमा अल्झिँदा पूरै पढ्न धेरै समय खर्चनुपर्ने अवस्था छ । दुई पटक गरी उनी ८ महिना केही दिन बन्दी अवस्थामा लेखिएको यो टिपोट हो । यसलाई चुस्त सम्पादन गरेको भए यो करिब साढे तीन सय पृष्ठमा झार्न सकिने ठाउँ छ ।


यात्रा जिन्दगीको
गणतन्त्रको यात्रा : बन्दी वृत्तान्त
लेखक : नरहरि आचार्य
प्रकाशक : साङ्ग्रिला बुक्स
मूल्य : रू. ९९५/–

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?