हृषीकेश शाह - विवादमा रमाउने व्यक्तित्व

मदनकुमार भट्टराई

कसैले अति रुचाउने र केहीले पटक्कै नरुचाउने तर रुचाउने–नरुचाउने दुवैले विवादास्पद व्यक्ति भनेर मान्ने नाम हो— हृषीकेश शाह  । सत्ताबाहिर हुँदा होस् अथवा सत्तामा रहँदै किन नहोस्, हरेक विषयवस्तुमा संस्थापन पक्षको विरोधमा बस्ने उनको आजीवन विशेषता रह्यो ।

हृषीकेश शाह भीरकोटका अन्तिम राजा तारकबहादुर शाह र रानी मदनदिव्येश्वरी शाहका जेठा छोरा हुन् । मे १६, १९२५ मा पाल्पामा जन्मिएका हृषीकेशकेशरी शाहले पछि आफैंले नाम छोट्याए र हृषीकेशमात्र राखे । १३ वर्षको उमेरमै दार्जिलिङको सेन्ट रोबर्ट्स हाइस्कुलबाट म्याट्रिक पास गर्दा उनले दार्जिलिङ जिल्ला ‘टप’ गरेका थिए । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रमा ‘डबल एमए’ गर्नुअघि कोलकाताबाट संस्कृतमा प्रथमा र मध्यमा परीक्षा पनि उत्तीर्ण गरेका थिए ।


शाहले आफ्ना सहपाठीभन्दा छिट्छिटो पढाइ सकेका थिए । पटना विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एमए गरेर सन् १९४५ मा त्रिचन्द्र कलेजमा प्राध्यापन गर्न आउँदा उनको उमेर २० वर्ष पनि पुगेको थिएन । केही वर्षको प्राध्यापन र सरकारी सेवापछि शाहले पुनः इलाहावाद गई राजनीतिशास्त्रमा एमए गरे । पटनाबाट राम्रो अङ्क र श्रेणी ल्याउन नसकेका कारण एउटा स्नातकोत्तर उपाधिबाट चित्त नबुझी आफू फेरि अर्को डिग्री पढ्न गएको शाहले मलाई बताएका थिए । इलाहावाद विश्वविद्यालयमा अध्ययन गर्दा शाहका एक सहपाठी थिए— चन्द्रशेखर, जो पछि भारतका प्रधानमन्त्रीसमेत बने ।


त्रिचन्द्र कलेजमा आफूलाई पढाउने र पछि केही वर्ष सँगै अङ्ग्रेजी साहित्य प्राध्यापन गर्ने सरदार यदुनाथ खनाललाई शाह विशेष इज्जत गर्थे । संयोगको कुरा, शाह परराष्ट्रमन्त्री एवम् विशेषदूत हुँदा खनाल परराष्ट्र सचिव र भारतका लागि राजदूत थिए । शाहको झडंगी स्वभावका कारण उनीहरूबीच बेलाबेला तनावको अवस्था सिर्जना पनि हुन्थ्यो । पछिसम्म पनि वैदेशिक मामिलामा प्रा. खनालसँग छलफल गर्न र सल्लाह लिन शाह बानेश्वरस्थित निवासमै पुग्ने गरेको मलाई जानकारी छ ।


खनालले ‘तपाईले लेखेको पुस्तकको यो कुरा र लेखको यो भनाइ मिल्दैन, मलाई चित्त बुझेन शाहजी,’ भन्दा उनी गलल्ल हाँस्ने गर्थे । शालीन व्यक्तित्वका धनी शाहको बोली चर्को थियो । कहिलेकाहीँ अरूलाई बोल्न नदिने स्वभाव भए पनि आफ्ना कमीकमजोरी औंल्याउने व्यक्तिलाई उनी आदर गर्थे । प्रा. खनाललाई प्रकाशमा ल्याउन आफ्नो भूमिका महत्त्वपूर्ण रहेको शाहले दाबी गरेका छन् । प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले ‘तिम्रो साथी यदुनाथ खनाललाई मेरो निजी सचिव बन्न भनिदेऊ’ भनेको र आफूले सोहीअनुसार गरिदिएको उनको भनाइ थियो ।


नेपाली र अङ्ग्रेजी भाषामा उत्तिकै दक्ष शाहले अङ्ग्रेजीमा धेरै पुस्तक लेखे । उनका अधिकांश पुस्तक नेपालको इतिहास र राणाकालदेखिको राजनीतिक विकास, परिवेश, घटनाक्रम र विदेश नीतिसँग सम्बन्धित छन् । शाहका अधिकांश रचना उत्कृष्ट छन् । यद्यपि पछिपछि केही पुस्तकमा पुराना कुरा अलि दोहोरिएको र साभार नगरी विभिन्न स्रोतबाट सामग्री बटुल्ने गरेको पाइएको थियो ।


शाहले सार्वजनिक जीवनमा सबैजसो दल, नेता, खेमा र धारसँग प्रत्यक्ष एवम् परोक्ष रूपमा सम्बन्ध राखे । शाह संयुक्त राज्य अमेरिकामा राजदूत तथा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि पनि भए । त्यति बेला शाह ३०–३१ वर्षका मात्र थिए । अमेरिकाबाट फर्केर परराष्ट्र एवम् अर्थमन्त्री हुँदा ३५ वर्षका थिए । शाह न्युयोर्कमा रहँदा निकै सक्रिय व्यक्तित्व मानिन्थे । संयुक्त राष्ट्रसङ्घको तेस्रो महासचिव बनेका बर्माका उ थान्तका समकक्षी शाहलाई त्यति बेला सम्भावित महासचिवका रूपमा समेत मूल्याङ्कन गरिएको थियो । उनले राष्ट्रसङ्घीय निःशस्त्रीकरण आयोगका लागि चार वर्षसम्म नेपालको मुख्य प्रतिनिधि रहेर काम गरे ।


२०१९ सालमा जारी भएको ‘नेपालको संविधान’ को मस्यौदा समितिको अध्यक्ष शाह नै थिए। उनले सम्हालेका अनगिन्ती जिम्मेवारीहरूमा धेरै चर्चामा नआएको एक प्रमुख दायित्व थियो— नवौं राणा प्रधानमन्त्री पद्मशमशेरलाई छापा सुनाउने काम । देशमा गोरखापत्रबाहेक केही सञ्चारमाध्यम थिएनन् । यस्तो अवस्थामा विदेशबाट आउने अखबार, रेडियोबाट प्रसारण हुने समाचार र अन्य घटनाक्रमको मजबुन तयार पारी प्रधानमन्त्रीलाई दैनिक प्रस्तुत गर्ने कामलाई निकै प्रतिष्ठापूर्ण मानिन्थ्यो । शाहअघि उक्त जिम्मेवारी पछि गृहमन्त्रीसमेत भएका सूर्यप्रसाद उपाध्यायले सम्हालेका थिए ।


पटकपटक विवादमा पर्ने शाहले २००७ सालको परिवर्तनपछि तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईको नेपाली नागरिकताबारे प्रश्न उठाएका थिए । एक पटक मैले उनलाई ‘तपाईं किन यस्ता विवादमा बढी पर्नुहुन्छ ?’ भनी सोधेको थिएँ । प्रत्युत्तरमा उनले ‘फेरि यस्तै कुरा गर्नुभयो भने म तपाईंहरूलाई कुट्छु, तपाईंहरूमा राजनीतिक संस्कार नभएकाले मेरो कुरा बुझ्न सक्नुहुन्न,’ भनी हामीलाई रमाइलोसँग आफ्नो कुरा सुनाएका थिए । आफूले गरेको कुरालाई अरूले प्रतिवाद गर्दा धेरै जोडले बोली आफ्नो धारणा राख्ने र अरूलाई जित्ने उनको स्वाभाव थियो । बेलाबेलामा आफ्नो भनाइ, गराइ र सिद्धान्त अप्रत्याशित रूपमा बदल्न वा त्याग्न पनि सङ्कोच नमान्ने व्यक्ति थिए– शाह । संसद् कि संविधान परिषद्का निम्ति निर्वाचन भन्ने प्रश्न उठेकै दिन ‘संविधान परिषद्का निम्ति निर्वाचन गराउने हो भने राजाले देश त्याग गरेर गए हुन्छ’ भनी त्यो बहसलाई उनले गणतन्त्रसँग जोडिदिए । सन् १९६० को राजा महेन्द्रको कदमबारे आफूलाई पूर्वजानकारी भएको, राजाले आफूसँग सरसल्लाह मागेको र यस्तो कदम नचाल्न राय दिएको पनि बताए । सँगै राजाको सम्भावित कदमबारे आफूले नेताहरूलाई सजग गराएको दाबी पनि गरे ।


राजा महेन्द्रको अध्यक्षतामा डिसेम्बर २६, १९६० मा गठित मन्त्रिपरिषद्मा पाँच मन्त्री र चार सहायकमन्त्री थिए । त्यसमा हृषीकेश शाह पनि एक थिए । अर्थ, आर्थिक विषय र योजना मन्त्रालयको कार्यभार सम्हालेका उनलाई राजाकै अध्यक्षतामा फेब्रुअरी ६, १९६१ मा गठित राष्ट्रिय योजना परिषद्को उपाध्यक्ष पनि बनाइयो । जुलाई १, १९६२ मा भएको मन्त्रिपरिषद् पुनर्गठनमा उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाए । तर नेपाल–भारतबीचको सम्बन्धमा सुधार ल्याउन नसकेको, नेपालका सिमानामा हिंसात्मक गतिविधि नघटेको र भारतसँग कुरा मिलाउन दिल्ली गएका परराष्ट्रमन्त्रीले ल्याएको भारतीय सुझाव मन नपरेको आदि कारणले राजा महेन्द्रले शाहलाई परराष्ट्रमन्त्रीबाट मुक्त गरेको पूर्वप्रशासक एवम् भारतका लागि पूर्वराजदूत भीमबहादुर पाँडेको भनाइ छ ।


शाह अन्तर्राष्ट्रिय राजनीति एवं कानुनबारे राम्रो जानकारी राख्थे । यसैको कदरस्वरूप उनलाई नयाँ दिल्लीको इन्डियन स्कुल अफ इन्टरनेसनल स्टडिज (जुन पछि जवाहरलाल नेहरू विश्वविद्यालय भयो) ले आगन्तुक प्राध्यापकका रूपमा बोलायो । यस प्रकारको सम्मान पाउने नेपालीमा डिल्लीरमण रेग्मीपछि उनी दोस्रो व्यक्ति हुन् । सन् १९६१ कङ्गोको कटाङ्गामा विद्रोहीहरूको आक्रमणमा परेर विमान दुर्घटना हुँदा संयुक्त राष्ट्रसङ्घका महासचिव ड्याग ह्यामर्सोल्डको निधन भयो । उक्त दुर्घटनाको जाँचबुझ गर्न गठित अन्तर्राष्ट्रिय आयोगमा शाहलाई पनि चयन गरियो । यो उनको सबभन्दा प्रतिष्ठापूर्ण अन्तर्राष्ट्रिय नियुक्ति थियो । न्युयोर्कको सेन्ट्रल पार्कमा घुम्दा शाहलाई कसैले छुरा प्रहार गरेको घटना विश्वभर फैलिएको थियो । तत्कालीन अमेरिकी विदेशमन्त्री जोन फोस्टर डलेस उनलाई अस्पतालमा भेट्न मात्रै गएनन्, आफ्नो सरकारका तर्फबाट क्षमायाचनासमेत गरे । छुरा प्रहार भएको भनिएको उक्त घटनाको आफू स्वयम् प्रत्यक्षदर्शी रहेको उल्लेख गर्दै भारतीय कूटनीतिज्ञ मोहिन्दर सिंहले केही वर्षअघि दिल्लीमा मसँग कुराकानी गर्दा उक्त घटनालाई आश्चर्यजनक किसिमको एक प्रेम प्रसङ्गसँग जोडेका थिए ।


आफ्नो लामो सार्वजनिक जीवनमा हृषीकेश शाह नेपाली काङ्ग्रेसका महासचिव, विपक्षी नेता, मन्त्री, राष्ट्रिय योजना परिषद्का उपाध्यक्ष, पञ्चायत व्यवस्थाका सर्वेसर्वा, राजसभा स्थायी समितिका सभापति, मानवअधिकार सङ्गठनका संस्थापक अध्यक्ष, राजदूत, प्राध्यापक, लेखकदेखि करिब सबै राजनीतिक समूहसँग निकट एवम् कार्यगत सम्बन्धमा रहे । यति धेरै आयामका राजनीतिक, कूटनीतिक र प्राज्ञिक जीवनका बाबजुद राजादेखि नेतासम्म कसैले पनि उनलाई गम्भीरतापूर्वक लिएको वा निकट विश्वासिलो ठानेको देखिएन ।


मैले शाहको नाम पहिलो पटक सन् १९६९ मा एसएलसी उत्तीर्ण गरी त्रिचन्द्र कलेजमा प्रवेश गर्दा अनिवार्य विषयमा समावेश एक पुस्तक ‘हिरोज एन्ड बिल्डर्स अफ नेपाल’ का लेखकका रूपमा सुनेको हुँ । त्यो पुस्तक इतिहासकार सूर्यविक्रम ज्ञवालीको रचना ‘नेपाली वीरहरू’ को अङ्ग्रेजी अनुवाद थियो । सानो तथा क्लिष्ट भाषामा लेखिएको यो पुस्तक अङ्ग्रेजी भाषामा नेपालीले लेखेको मलाई निकै मन पर्ने सीमित पुस्तकमध्ये एक हो ।


सन् १९७८ बाट म परराष्ट्र मन्त्रालयमा प्रवेश गरेपछि शाहसँगको सम्बन्धको अर्को परिवेश सुरु भयो । शाहकी भाइबुहारी बिन्देश्वरी मन्त्रालयको प्रशासन महाशाखाकी उपसचिव थिइन् । उनीभन्दा पनि उपसचिव विश्वेश्वरप्रसाद रिमालका कारण हृषीकेश शाहसँग मेरो बढी उठबस भयो । केही दिन बिराएर विभिन्न स्रोत सामग्री खोज्न, आफ्ना लेखरचना एवम् आफूले लेखेका पुस्तक वा सान्दर्भिक ग्रन्थ खोज्न शाह मन्त्रालय आउँथे । र, रिमाललाई ‘ए गुरु, यो पढ, राम्रो छ, तिमीलाई काम लाग्छ’ भन्दै त्यस्ता पुस्तक पनि दिन्थे । यसबाट मलाई पनि धेरथोर फाइदा भयो ।


म परराष्ट्र मन्त्रालयमा रहँदा भारतीय अखबारहरूमा छापिने शाहका लेख पढ्न भूगोलपार्कमा जान्थ्यौं । त्यहाँ सन्देशगृहबाट पत्रपत्रिका किन्थ्यौं । थोरै पैसामा काम चलाउन र बढी सूचना बटुल्न हामी (म, मधुवनप्रसाद पौडेल र लीलाप्रसाद शर्मा) ले तीन अलगअलग भारतीय अङ्ग्रेजी दैनिक किन्थ्यौं र साटासाट गरी पीपलबोटमा उभिएर केही समय पढ्थ्यौं । अनि आफ्नोप्रति लिई घर लाग्थ्यौं । शाहले लेखेका लेख एवम् पुस्तकमा सामान्यतया विद्यमान सरकारविरोधी विषय समेटिएका हुन्थे । उनको दृष्टिकोणमा निरन्तरताको नितान्त अभाव भएको कुरा मलाई बराबर खट्कन्छ । उनले अन्तिम समयसम्म प्रशस्त पुस्तक, लेख र स्रोतसामग्रीको रचना एवम् सङ्कलन गरी भावी पुस्तालाई गुन लगाएका छन् । तर, उनी अत्यन्त चञ्चल, देशकाल परिस्थितिअनुसार चल्ने, आफ्नो मनमा जे आयो त्यही गर्ने र खासै कुनै सैद्धान्तिक धरातलमा नअडिने स्वभावका थिए ।


सन् १९९० तिरको कुरा हो, शाहले लेखेको ‘मोडर्न नेपाल ः अ पोलिटिकल हिस्ट्री’ मनोहर प्रकाशन गृहबाट प्रकाशित भयो । यो पुस्तक तयार पार्न र परिमार्जन गर्न पछि भारतका लागि राजदूत बनेका लोकराज बरालले सघाएका थिए । राजदूतावासका मिनिस्टर कुमारप्रसाद ज्ञवालीसँग शाहको पुरानो चिनाजानी थियो । उनकै सिफारिसमा शाहले मलाई उक्त पुस्तकको पाण्डुलिपि पढेर प्रतिक्रिया दिन भनेका थिए ।


उनले खासगरी राणा परिवारबीचको सम्बन्ध र अन्य तिथिमिति र नामनामेसीबारे मलाई जानकार सम्झी एक पटक राम्ररी हेरिदिन आग्रह गरेका थिए । उक्त पुस्तकको सर्सती अध्ययन र शाहसँग भएका अन्य बहुमूल्य सन्दर्भ सामग्री देख्दा उनको बौद्धिक क्षमता र प्रखरता स्पष्ट देखिन्थ्यो । उनको चण्डोलस्थित घरमा मैले प्रशस्त नोट, लेख र पुस्तकहरू देखेको थिएँ । ती सामग्री हाल के अवस्थामा कहाँ र कोसँग छन्, मलाई त्यति थाहा छैन ।


शाहले मलाई एक दिन सन् १९९०–९१ मा तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र त्यसबेलाका सर्वोच्च नेता गणेशमान सिंहसँग भएको रोचक कुराकानी सुनाएका थिए । उनले आफू काङ्ग्रेसमा प्रवेश गर्न इच्छुक रहेको कुरा राख्दा भट्टराईले ‘तपाईंजस्तो बौद्धिक, पुरानो कार्यकर्ता र परिपक्व राजनीतिज्ञलाई पार्टीले सदैव स्वागत गर्छ’ भनेछन् । शाहले यसबारे एक पटक सिंहसँग समेत कुरा गरी पार्टी प्रवेश गर्छु भनेछन् । शाह काङ्ग्रेस प्रवेश गर्ने प्रस्ताव लिई जब चाक्सीबारीस्थित निवास पुगे, सिंहले तुरुन्तै प्रतिक्रिया दिएछन्, ‘मैले चिनेको हाम्रो पार्टीमा संलग्न भीरकोटका राजाको छोरो हृषीकेश शाह मरिसकेको छ । तपाईं कुन हृषीकेश हो, बुढेसकालले गर्दा मैले राम्ररी ठम्याउन सकिनँ । तपाईं पार्टी प्रवेश पनि नगर्नुहोस्, अरू केही पनि नगर्नुहोस्, जहाँको तहीँ बस्नुहोस् ।’


बीपी कोइराला प्रधानमन्त्री छँदा शाह संयुक्त राष्ट्रसंघमा नेपालका राजदूत थिए । बीपीको मूल्याङ्कनमा शाह भरपर्दो नभएको र मानिसअनुसार कुरा गर्ने व्यक्ति थिए । राष्ट्रसङ्घको बैठकमा आफू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुन जाँदा तत्कालीन सोभियत सङ्घका नेता निकिता ख्रुस्चेबले आफ्नै अघिल्तिर राजदूत शाहलाई ‘तिमी अमेरिकनहरूका निम्ति बोल्छौ’ भनी वाक्प्रहार गरेको प्रसङ्ग पनि बीपीले उल्लेख गरेका छन् । यसबाट शाहको आफ्नै प्रधानमन्त्री र सरकारसँगसमेत विश्वसनीय सम्बन्ध नरहेको प्रस्टिन्छ ।


म सन् १९९८ मा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुख भई दोस्रो पटक गएको थिएँ । तत्कालीन राजदूत भेषबहादुर थापासँग पनि शाहको राम्रो सम्बन्ध थियो । थापाले निकै इज्जत गर्ने भएकाले पनि शाहको राजदूतावासमा आउने क्रम निकै बढ्यो । एक दिन अधिराजकुमार बसुन्धरासँगको सम्बन्धका कारण चर्चित महिला बारबरा एडम्सबारे अनेक कुरा लिई शाह उत्तेजित मुद्रामा मकहाँ आए । मेरो प्रतिक्रियाबाट रुष्ट भई भोलिपल्टै जागिर खाइदिने धम्की दिँदै उनी दूतावासबाट बाहिरिए । भोलिपल्ट शान्त भई खबरै नगरी मेरो निवासमा आए र अघिल्लो दिनको व्यवहारप्रति खेद प्रकट गर्दै माफी मागे । मैले उनलाई ‘तपाईं मेरो बाबुको उमेरको विद्वान् व्यक्ति भएकाले माफी माग्नुपर्ने अवस्था छैन ! बरु तपाईंको काम गरिदिन नसकेकोमा क्षमाप्रार्थी छु,’ भनी जवाफ दिएँ । त्यसपछि उनले मलाई स्नेहपूर्वक अँगालो हाले । यस्ता स्वभावका थिए शाह ।


जीवनको उत्तरार्द्धमा शाह आफ्नो परम्परागत दैनिक जीवन एवम् पारिवारिक पृष्ठभूमिबाट निकै विचलित भइसकेको मलाई छाप परेको थियो । कुनै बेला देशकै अर्थमन्त्री बनेका उनी आम्दानी र खर्चमा सन्तुलन राख्न सधैं असमर्थ रहे । सञ्चित गर्ने परको कुरा, आफूसँग पैसा भए तुरुन्त बाँडिदिने उनको कमजोरी थियो । पछि त उनलाई आफ्नो पेट पाल्नसमेत धौधौ भइसकेको थियो । त्यसैले उनी प्रकाशनगृह एवम् विभिन्न व्यक्ति र संस्थासँग आफूले पाउने रकममध्ये पहिल्यै सापटी लिने गर्थे । उनको अन्तिम अवस्थामा भाइ डा. नारायणकेशरी शाहले औषधोपचारलगायत सम्पूर्ण खर्च बेहोरे । आफ्नो स्वार्थ पूर्ति गर्नुपरेका बेला सबैले उपयोग गरे पनि शाहको अन्तिम अवस्थामा अरू कसैले केही सहायता गरेको पाइएन ।


मेरो मूल्याकंनमा शाह ठूलो स्तरको विद्वान्, कूटनीतिज्ञ र अध्ययनशील व्यक्ति थिए । तर उनको निम्ति सायद राजनीति उचित क्षेत्र थिएन कि जस्तो लाग्छ । शाहले आफ्नो सम्पूर्ण विद्वता केवल लेखन र शोधकार्यमा मात्र लगाएको भए नेपाल र नेपाली अवश्य अझ धेरै लाभान्वित हुने थिए होलान् ।


(पूर्व परराष्ट्रसचिव भट्टराईको पुस्तक ‘परराष्ट्रका पात्र’ बाट सम्पादनसहित ।)

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

‘रोल–मोडल’

मदनकुमार भट्टराई

काठमाडौँ — मैले आजभन्दा ४५ वर्षअघि केशवराज झालाई चिनेको हुँ, परोक्ष रूपमा । प्रत्यक्ष भने २०३४ सालमा म लोकसेवा आयोगबाट परराष्ट्र छिर्नासाथै एउटै कूटनीतिक सञ्जालमा हामी काम गर्ने भयौं । त्यसबेला झा शाखा अधिकृत हुनुहुन्थ्यो, तत्कालीन परराष्ट्र मन्त्री कृष्णराज अर्यालको पीए हुनुहुन्थ्यो ।

परराष्ट्रमा १०/१२ वर्षको अनुभव भैसकेका अधिकृत भए पनि अग्रजभन्दा अनुजसँग हेलमेल र कुराकानी गर्न रुचाउने स्वभाव थियो, उहाँको । सहयोगी र हक्की स्वभावसमेत थियो । त्यो बेला शाखा अधिकृतमा आफ्नै गाडी चढेर आउनेहरू एकदमै सीमित थिए । त्यसमा केशवराज पर्नुहुन्थ्यो । प्रबल शमशेर, नारायण शमशेर थापा, इन्द्रबहादुर सिंह पनि ‘गाडी चढ्ने अधिकृत’ हुनुहुन्थ्यो । हामी अरुहरू भने साइकल–मार्का थियौं । केशवराजले जर्मनीको ४ वर्षे पोष्टिङ पनि पूरा गरेर आइसक्नुभएको थियो । उपसचिवमा बढुवा भएपछि भने केशवराज झाको वासिङटन पोष्टिङ भयो । त्यहाँ केही महिनामात्रै रहेर फेरि न्युयोर्क तानिनुभयो ।

संयोगले तत्कालीन परराष्ट्र मन्त्री केबी शाहीको न्युयोर्क भ्रमण (२०३७) का बेला म मन्त्रीको सहयोगी भएर पहिलोपटक अमेरिका भ्रमणमा जाने भएँ । झन्डै एक महिना लामो भ्रमणमा केही दिन केशवराजकै क्वार्टरमा म आश्रित रहेंँ, संगत र साहचर्य बढाउन त्यो बसाइ निकै अर्थपूर्ण रह्यो । न्युयोर्कबाट काठमाडौं फिरेको केही समयमा मेरो पोष्टिङ कोलकाता भयो । म कोलकाता रहेकै बेला केशवराजको छोरा किरणराजले कोलकाताबाट एमबीबीएस गर्ने भएपछि झा परिवारसँग मेरो पारिवारिकझैं घनिष्ठ साइनो जोडियो, एकअर्कालाई हेरविचार गर्ने तहको । कोलकातापछि म दिल्ली पोष्टिङमा गएको थिएँ ।

कूटनीतिज्ञ झालाई स्मरण गर्नुपर्दा आज उहाँको जनसम्पर्क क्षमता (पब्लिक रिलेसन्स) लाई साह्रै विशिष्ट तवरले सम्झन्छु । आज परराष्ट्रका धेरै साथीभाइमा खट्कने कुरै यही हो, पब्लिक रिलेसन्स नभएको अवस्था । देश बाहिर सबैलाई चिन्ने, नेपालभित्र कसैलाई नचिन्ने अवस्था छ । अनि मिडिया भन्नासाथ भागेर हिंँड्ने बानी छ, धेरैको । केशवराज झा मिडिया र पत्रकार भनेपछि सधैं उपलब्ध र सहज रहनुभयो ।

यस अर्थमा केशवराज झा मेरालागि ‘रोल मोडल’ हुनुहुन्थ्यो, जो पब्लिक रिलेसन्स राख्नमा एकदमै अब्बल र मिडियासँग पनि सहज हुनुहुन्थ्यो । विशेषगरी पब्लिक रिलेसन्सकै कारण जेजस्ता कामहरू पनि सहजै सम्पन्न हुन्थ्यो । पदीय बढुवा क्रममा केही बाधा–कठिनाइ बेहोर्दै उहाँ सहसचिव हुनुभयो । अनि चिफ अफ प्रोटोकल र त्यसपछि फ्रान्सको राजदूत हुनुभयो— २०४९ सालमा । नेपाललाई युनेस्को बोर्डमा लैजाने अवसरदेखि नेपाल–फ्रान्स विशिष्ट सम्बन्धको पाटो तय गर्नेसम्मका काम राजदूत केशवराजकै पालामा भए ।

उहाँ ३४ वर्षसम्म परराष्ट्र सेवामा रहेर बहुपक्षीय, द्वैपक्षीय सम्बन्धका आयाम केलाउने योग्य कूटनीतिक हुनुहुन्थ्यो । फ्रान्समा राजदूत छँदै केशवराजले सन् १९९६ मा युनेस्कोमा ‘बुद्ध वाज बोर्न इन नेपाल’ भन्ने प्रस्ताव लगेर पारित गराएको सन्दर्भ पनि मैले सुनेको छु । विश्व सम्बन्ध परिषद्का माधवजी श्रेष्ठसँग त्यस बारेको आधिकारिक कागजात ‘रेकर्ड’ छ भन्ने थाहा पाएको छु ।

केशवराज विश्व सम्बन्ध परिषद्को अध्यक्ष हुनुभयो, पूर्व राजदूतको संगठन (अफगान) मा अध्यक्ष रहनुभयो । केशवराज फ्रान्सको राजदूत भएर फर्केको ७ वर्षपछि होला, संयोगले म एउटा कूटनीतिक वृत्तको जमघटमा पुगेको थिएँ । भर्खरै मलाई जर्मनका लागि राजदूत सिफारिस गरिएको थियो । त्यो जमघटमा त्यसबेलाका काठमाडौंस्थित फ्रेन्च राजदूत पनि भेटिनुभयो ।

फ्रान्समा नेपाली राजदूत पद लामो समयदेखि रिक्त राखिएकोमा एकातर्फ चर्को गुनासो त थियो नै, एकैसाथ फ्रेन्च राजदूतले ‘पेरिसमा केशवराज झा भन्ने साँच्चिकै सक्रिय र स्मरणीय नेपाली राजदूत हुनुहुन्थ्यो’ भन्दै सम्झनु भएको थियो । आज अग्रज राजदूत केशवराज झा यो धर्तीमा नरहेका बखत नेपाल–फ्रान्स सम्बन्धको त्यो बेलाको उचाइ र सम्बन्धमा देखिएको ‘इङ्गेजमेन्ट’लाई पनि एकैसाथ सम्झनैपर्छ ।

नेपालको पुरानो र हितैषी मित्र फ्रान्सले आज काठमाडौंमा रहेको आफ्नो सम्पत्ति बेचबिखन गरिसकेको छ, द्वैपक्षीय सम्बन्धमा यो ‘अर्थपूर्ण’ कुरा हो । आफ्नो छोरा डा.किरणराज र छोरी डा.राजश्रीको कार्य उपलब्धि र सफलताबाट झा निकै प्रसन्न हुनुहुन्थ्यो । अघिल्लो शुक्रबार रातिमात्रै पनि त्यो प्रसन्नता उहाँले फोनमा सुनाउनुभएको थियो । म केही महिनाको अन्तर पारेर चिया गफमा थापाथलीस्थित झा निवास पुगिरहेको हुन्थेंँ । अग्रज झाको हार्दिकता, सकारात्मकता र अपनत्व भुल्न मुस्किल छ । हार्दिक श्रद्धासुमन ।

भट्टराई पूर्वपरराष्ट्रसचिव हुन् ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्