कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विश्वकपको बढ्दो दूरी

विनोद पाण्डे

इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको फाइनल विश्वकप क्रिकेट इतिहासकै उत्कृष्ट खेल थियो  । समग्रमा भन्नुपर्दा यत्तिको तीव्र प्रतिस्पर्धा र उतारचढाव क्रिकेटमा कमै भएको थियो । निर्धारित ५० ओभरको खेलमा दुवै टोलीको समान स्कोर । निर्णयका लागि त्यसपश्चात् ल्याइएको सुपर ओभरमा पनि बराबरी स्कोर । विरलै हुन्छ यस्तो । अन्तमा बढी बाउन्ड्री प्रहार गरेको आधारमा इंग्ल्यान्ड विश्व च्याम्पियन बन्यो ।

विश्वकपको बढ्दो दूरी

न्युजिल्यान्डले भारतसँग खेलेको पहिलो सेमिफाइनलमा पनि यस्तै चर्को प्रतिस्पर्धा थियो । नतिजाको निर्णय हुनै दुई दिन लाग्यो । वर्षाले यस विश्वकपमा ठूलो प्रभाव पार्‍यो । त्यसैले खेललाई दुई दिन लम्बायो । न्युजिल्यान्डले पहिला ब्याटिङ गर्दै २ सय ३९ रन मात्र बनायो । भारतको ब्याटिङका क्रममा वर्षा हावी हुन पुग्यो । भोलिपल्ट खेल हुँदा भारत २ सय २१ रनमा समेटियो । विश्वकप सुरु हुनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक ५ सय रन छुने अनुमान गरिएको थियो । विशेषगरी घरेलु टोली इंग्ल्यान्डलाई ५ सय रन नघाउन सक्ने पहिलो टोलीको रूपमा हेरिएको थियो ।


न्युजिल्यान्डले खेलेका खेलहरू भने ठीक त्यसको उल्टोजस्तै थियो । सेमिफाइनल र फाइनलमै न्युजिल्यान्डले २ सय ५० रन आँकडा छुन सकेन । त्यही पनि टोली झन्डै विश्व विजेता बन्यो । फाइनलमा पनि न्युजिल्यान्डले २ सय ४१ रन मात्र बनाउन सकेको थियो । इंग्ल्यान्डले पहिला ब्याटिङ गरेको सबै खेलमा ३ सय रनमाथिको स्कोर बनायो । ५ सय रन कटाउने अपेक्षा गरिएको इंग्ल्यान्डले ती खेलमा ४ सय रन नघाउन सकेन । फाइनलमा भने त्यही २ सय ४१ रनले आच्छुआच्छु बनायो । निर्धारित ५० ओभरको खेलमा मुस्किलले स्कोर बराबरी गर्न सकेको इंग्ल्यान्डले सुपर ओभरबाट पनि नतिजा निकाल्न सकेको थिएन । अन्त्यमा न्युजिल्यान्ड ‘निर्दयी’ नतिजा स्विकार्न बाध्य बन्यो, जसले टोलीको पहिलो पटक विश्वकप विजेता हुने सम्भावनामा घात गरेको थियो । इंग्ल्यान्ड भने यही निर्णयका आधारमा पहिलोपटक विजेता बन्यो ।


क्रिकेटको सुरुआत १६ औं शताब्दीमा इंग्ल्यान्डबाटै भएको मानिँदै आएको छ । विश्वकप क्रिकेटको ४४ वर्षको इतिहासमा कहिल्यै इंग्ल्यान्डले जित्न सकेको थिएन । न्युजिल्यान्डसँगको दुर्लभ फाइनलपछि विश्वकप ट्रफी ‘क्रिकेटको घर’ पुगेको थियो । विश्वकपको रोमाञ्चकता बढाउने उद्देश्यका साथ यसमा सहभागी संख्या घटाएर १० टोली बनाइएको थियो । कम्तीमा न्युजिल्यान्ड र भारतबीचको सेमिफाइनल तथा फाइनल खेलको स्थितिलाई हेर्ने हो भने यो विश्वकप जति रमाइलो अरू कुनै नहुन सक्छ । यथार्थमा त्यसबाहेक धेरै खेल एकतर्फी थियो, जुन विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले बनाएको उद्देश्यविपरीत थियो । ‘टाइटन क्ल्यास’ भनिएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकामाथि १ सय ७ रनको विजय हात पारेको थियो । त्यसको अर्को दिन वेस्ट इन्डिजले पाकिस्तानलाई १ सय ५ रनमा अलआउट गर्दै ७ विकेटको लज्जास्पद पराजय चखाएको थियो । पाकिस्तान सेमिफाइनलमा नपुग्नुको प्रमुख कारण अन्त्यमा रन रेटले गर्दा यही ठूलो हार बन्यो । तेस्रो दिनमा न्युजिल्यान्डले श्रीलंकामाथि १० विकेटको विजय हात पार्‍यो ।


प्रतियोगिताभरि नै एकतर्फी खेलको निरन्तरता रह्यो । भारत–पाकिस्तानजस्तो बहुप्रतीक्षित खेलमै जित–हारको फरक ८७ रनको थियो । इंग्ल्यान्डले ३ सय ९७ रन बनाउँदै अफगानिस्तानलाई १ सय ५० रनले पराजित गरेको थियो । फाइनल पुगेको न्युजिल्यान्ड समूह चरणमा अस्ट्रेलियासँग ८६ रनले सजिलै हारेको थियो । यी खेलहरूमा कुनै रोमाञ्चकता थिएन । निरश थिए यी खेलहरू । विगतमा एसोसिएट राष्ट्रले टेस्ट खेल्नेलाई चुनौती दिन नसक्दा आईसीसीले टोली घटाउने निर्णय लिन पुगेको थियो । प्रश्न यो पनि उठ्छ विगतलाई नजिर बनाउने हो भने आउँदो विश्वकपमा सहभागी टोलीको संख्या अझै घटाउनुपर्छ । आईसीसी फेरि यो निर्णय लिन सक्दैन । क्रिकेट मात्र यस्तो खेल हो जहाँ विश्वकपमा खेल्नेको सहभागी हरेक संस्करणसँगै घटिरहेको छ ।


आईसीसीले विश्वकपमा सहभागी राष्ट्र घटाउने निर्णय गरिरहँदा १९८३ मा जिम्बावेले अस्ट्रेलियालाई १३ रनले र १९९२ मा इंग्ल्यान्डलाई ९ रनले पराजित गरी सनसनी मचाएको, केन्याले १९९६ मा वेस्ट इन्डिजलाई, बंगलादेशले १९९९ मा पाकिस्तानलाई, केन्याले २००३ मा श्रीलंका, जिम्बावे र बंगलादेशलाई तथा आयरल्यान्डले २००७ मा पाकिस्तानलाई पराजित गरेर विश्वकपमा ठूलो उथुलपुथल मचाएको विगतलाई बिर्सिरहेको थियो । एउटा संयोग के छ भने यी सबै नतिजामा केन्याबाहेक अन्यले टेस्ट राष्ट्रको हैसियत पाएका थिए । केन्या २००३ को विश्वकपको सेमिफाइनल पुगेको क्षण एसोसिएटको गर्विलो क्षण हो । चार वर्षपछिको विश्वकप पनि १० राष्ट्र नै खेलाउने निर्णय आईसीसीले गरिसकेको छ । गत वर्ष जनवरीको मात्र नतिजा हो, स्कटल्यान्डले एकदिवसीय क्रिकेटमा स्मरणीय ६ रनको विजय हात पार्दा इंग्ल्यान्डविरुद्ध ३ सय ७१ रन बनाएको थियो । इंग्ल्यान्डसँग स्कटल्यान्डले अब फेरि कहिले खेल्ने निश्चित छैन । निश्चित के हो भने अहिलेको स्थितिमा एकदिवसीय विश्वकपमा यी दुई टोलीको भेट असम्भव छ । स्कटल्यान्डलाई पनि छनोट चरण पार गरेर जानु फलामको चिउरा चपाउनुजस्तै छ ।


'बिग थ्री' को प्रभाव
भारत, अस्ट्रेलिया र इंग्ल्यान्डले २०१४ देखि आईसीसीलाई आफ्नो अधीनमा राखेर चलाउने निर्णय गरेका थिए । यी तीन राष्ट्रलाई विश्व क्रिकेटको ‘बिग थ्री’ भनिन्छ र उनीहरूकै सबै क्षेत्रमा हालिमुहाली छ । विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारणबाट हुने ५० करोड डलर आयको आधाभन्दा बढी रकम बिग थ्रीमा जानेछ । आर्थिक रूपमा भारत, अस्ट्रेलिया र इंग्ल्यान्ड बलियो हुनेछन् । ठीक उल्टो यसले दक्षिण अफ्रिका, वेस्ट इन्डिजजस्ता देशको क्रिकेटलाई धराशायी बनाउन सक्ने देखिएको छ । एक समय यी पनि विश्व क्रिकेटमा ठूला राष्ट्र थिए । वेस्ट इन्डिजले विश्वकपको पहिलो दुई संस्करण नै जितेको थियो । ठूला प्रतियोगिताहरूको महत्त्वपूर्ण खेलमा चुक्ने गरे पनि दक्षिण अफ्रिकाले सशक्त प्रदर्शन गर्दै आएको छ । आईसीसीबाट आउने प्रमुख आम्दानी ठूला भनिएका तीन राष्ट्रले बाँड्ने भएपछि दक्षिण अफ्रिका, वेस्ट इन्डिजलगायतका राष्ट्र खर्च अभावले पिरोलिनेछन् । त्यहाँको घरेलु क्रिकेट सुक्खा नै हुनेछ । यसै कारण यी देशका खेलाडी फ्रेन्चाइज लिगमा बढी केन्द्रित हुनेछन् । यी देशका खेलाडी राष्ट्रिय टोलीभन्दा ग्लोबल लिग खेल्न विभिन्न देशमा व्यस्त हुनेछन् ।


एक समय विश्व क्रिकेटमा आधिपत्य कायम गरेको वेस्ट इन्डिजले ९० को दशकपछि त्यो धार पूरै गुमाउँदै आएको छ । जबकि त्यहाँ अहिले पनि प्रतिभाको कुनै कमी छैन । यस पटक वेस्ट इन्डिजको टोली बाक्लो प्रतिभाले भरिएको थियो । झन्डै तीन दशकपछि वेस्ट इन्डिजलाई विश्वकपको दाबेदारको रूपमा हेरिएको थियो । फ्रेन्चाइज लिगमा व्यस्त रहेकाले विश्वकप अगाडि मात्र वेस्ट इन्डिजका खेलाडी एकजुट हुन सकेका थिए । ग्लोबल लिग खेलेर उनीहरू थकितजस्ता देखिएका थिए । आधा घाइते नै रहेका एन्ड्रयु रसेलले पूरै प्रतियोगिता नै खेल्न सकेनन् । रसेलसहित क्रिस गेल, सुनील नारिन, किइरन पोलार्डहरू वेस्ट इन्डिजले ठूलो प्रतियोगिता खेल्नु ठीकअघि मात्र राष्ट्रिय टोलीमा फर्किने गर्छन् । उनीहरू वर्षभरि फ्रेन्चाइज लिग खेलेर पैसा कमाउनै व्यस्त हुन्छन् । यही कारण नारिन र पोलार्डलाई वेस्ट इन्डिजले विश्वकप टोलीमै राखेन । वेस्ट इन्डिजले आफ्नो आक्रामक स्वरूप देखाउन नसक्नुलाई पनि यो एउटा कारण मानिन्छ ।


इंग्ल्यान्ड र वेल्समा विश्वकप चलिरहँदा दक्षिण अफ्रिकाको कमजोर प्रदर्शनमा घाउमा नुन छर्किने काम टोलीका पूर्वकप्तान एबी डी भिलियर्सले नै गरे । विश्व क्रिकेटका उत्कृष्ट खेलाडी डी भिलियर्सले गत वर्ष नै दक्षिण अफ्रिकाबाट सबैखाले क्रिकेटदेखि संन्यासको घोषणा गरे । जबकि उनी वर्षभरि ग्लोबल क्लब क्रिकेटमा व्यस्त रहे, सानदार प्रदर्शन गर्दै । विश्वकपमा दक्षिण अफ्रिकाले एकपछि अर्को हार बेहोरिरहेको समयमा डी भिलियर्सको भनाइले सनसनी मचायो । उनले विश्वकपमा दक्षिण अफ्रिकाको टोली छनोट हुने दिन छनोटकर्ताहरूलाई आफू विश्वकप खेल्न छनोटका लागि उपलब्ध रहेको बताए । त्यो खुलासा विश्वकप दौरान उनै छनोटकर्ताहरूले गरेका थिए । छनोटकर्ताले डी भिलियर्सलाई लिएनन् । डी भिलियर्सलाई छनोट गरेको भए दक्षिण अफ्रिकाको क्रिकेट संरचनालाई नै भत्काउँथ्यो । डुएन ओलिभर दक्षिण अफ्रिकाका उदाउँदा खेलाडी थिए । उनले दक्षिण अफ्रिकाको क्रिकेटमा संकट देखेपछि सदाका लागि इंग्ल्यान्ड लाग्दै काउन्टी क्रिकेट रोजे । वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले फेब्रुअरीमा यसबारे जोडदार आवाज उठाए । यसको सबैभन्दा मारमा वेस्ट इन्डिज नै छ । आफ्नो देशको घरेलु क्रिकेट मात्र खेलेर टिक्ने अवस्था वेस्ट इन्डिजको छैन ।


‘बिग थ्री’ को प्रभावले बिस्तारै एसोसिएट राष्ट्र पनि थिचिने निश्चितजस्तै छ । ९३ एसोसिएट र ८ जुनियर क्रिकेट राष्ट्रले २०१९ देखि २०२३ को अवधिमा प्रसारण अधिकारबाट प्राप्त रकममध्ये १७ करोड ५० लाख मात्र पाउनेछन् । यो भनेको चार वर्षपछिको अर्को विश्वकपसम्मलाई हो । जबकि यही अवधिमा भारतले मात्र प्रसारण अधिकारबाट ३२ करोड पाउन्ड पाउनेछ । बिग थ्रीमा मात्र आईसीसीको बजेट केन्द्रित हुँदा एसोसिएटका योजनाहरू काटिएका छन् । एसोसिएट राष्ट्रले खेल्ने एक मात्र प्रथम श्रेणीको क्रिकट अन्तरमहादेशीय कप यसै वर्षदेखि हटाइएको छ । यसैमा पाइला टेकेर अफगानिस्तान र आयरल्यान्ड केहीअघि मात्र टेस्ट राष्ट्र बनेका थिए । एक किसिमले अब अरू देशका लागि टेस्ट राष्ट्र बन्ने ढोका बन्द भएजस्तै हो । विश्व क्रिकेट लिग च्याम्पियनसिपको संरचना फेरिएको छ । नेपालले यसैमा उभिएर गत वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।


२०११ को विश्वकप १६ राष्ट्रले खेलेकामा अहिले छोट्याएर १० मा झारिएको छ । टेस्ट खेल्नेबाहेकका ६ राष्ट्र एसोसिएटकै हुन्थे । २०१५ को विश्वकपमा यो घटाएर १४ मा झारियो । यसपटक त केवल १० राष्ट्रले मात्र विश्वकप खेल्दा जिम्बावे र आयरल्यान्डले यसको मुख्य सजाय भोग्नुपर्‍यो । यी दुईसहित एसोसिएटका प्रमुख राष्ट्रका लागि विश्वकपमा पुग्ने बाटो बन्द भयो । १९७९ यता पहिलो पटक जिम्बावे विश्वकपमा थिएन । यस बीचमा जिम्बावेले लगातार ९ विश्वकप खेलेको थियो, त्यसमा चार पटक छनोट यात्रा गरेर पुगेको थियो । अघिल्लो वर्ष आफ्नै भूमिमा भएको छनोटबाट उक्लिन नसकेपछि जिम्बावे यस पटकको विश्वकपमा पुग्न असफल रह्यो । विश्वकप छनोटमा म्यान अफ द सिरिजको पुरस्कार लिँदै सिकन्दर राजाले भावविह्वल भएर नेपालका कप्तान पारस खड्कासहित छनोट हुन नसकेका अन्य प्रमुख खेलाडीको नाम लिएका थिए । १० राष्ट्र मात्र खेलिरहे नेपालसहित एसोसिएटका अन्य केही राष्ट्रको एकदिवसीय विश्वकप खेल्ने सम्भावना तत्काललाई देखिँदैन भन्ने भाव राजाको आँसुमा थियो । ‘बिग थ्री’ ले आफ्नै देशका घरेलु क्रिकेटलाई व्यस्त पार्नेछन् । जस्तो इन्डियन प्रिमियर लिग भएको समयमा अन्तर्राष्ट्रिय क्रिकेट हुने सम्भावना नै कम हुन्छ । उनीहरूले संरचना नै त्यहीअनुरूप बनाएका हुन्छन् । अन्य देशका सबै खेलाडी ‘बिग थ्री’ को घरेलु क्रिकेटमा व्यस्त बन्नेछन् ।


‘बिग थ्री’ का पालैपालो आईसीसी प्रमुख बन्ने परम्परा सुरु भएसँगै उनीहरूको आधिपत्यको प्रभाव मुख्य प्रतियोगिताको नतिजामा देखिँदै आएको छ । १९७५ बाट सुरु भएको विश्वकपको २००७ सम्म गरी ९ संस्करण आयोजना भए । कसैले आयोजक भएर प्रतियोगिता जित्न सकेनन् । फाइनलमा पुग्ने एक मात्र राष्ट्र इंग्ल्यान्ड नै थियो । १९७९ को फाइनलमा टोली वेस्ट इन्डिजसँग पराजित भएको थियो । १९९६ को विश्वकप एसियाली महाद्वीपमा भएको थियो र श्रीलंका नयाँ च्याम्पियनको रूपमा आयो । श्रीलंकाले समूह चरणमा भारतविरुद्ध बाहकेका खेल आफ्नै भूमिमा खेलेको थियो । नकआउट चरणका तीन खेल श्रीलंकाले पाकिस्तान र भारतमा खेलेको थियो । अर्थात् त्यो विश्वकपमा श्रीलंका मुख्य आयोजक थिएन । आयोजकलाई विश्वकपको फाइनलमा पुग्नु मुख्य चुनौती हुँदै आएको समयमा पछिल्लो तीन संस्करण घरेलु टोलीले जितेका छन् । यी तीन अरू कोही नभएर ‘बिग थ्री’ नै हुन् । भारत २०११, अस्ट्रेलिया २०१५ र इंग्ल्यान्ड यस पटक विश्वकप आयोजना गर्दै विश्व विजेता बने । २०२३ को विश्वकप भारतले आयोजना गर्दै छ ।
Twitter : @dearbinod

प्रकाशित : श्रावण ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?