१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुइटा फूल इतिहासका

जगत नेपाल

मुलुक र समाजको उच्च तहमा बसेर लामो अनुभव सँगालेका (उमेरले असी नाघेका) झन्डै डेढ दर्जन लब्धप्रतिष्ठित व्यक्तिहरूसँग दुई महिनायता लामै कुरा गर्ने अवसर मलाई मिल्यो  । नेतृत्वपंक्तिमा निष्ठा र इमानदारीको खडेरी लागिरहँदा राजनेताको अभाव किन खड्किएको होला भनेर बुझ्ने चाहनाले यो अवसर जुटाएको हो ।

दुइटा फूल इतिहासका

मैले भेटे जतिलाई सोधेको एउटा प्रश्न थियो— राणा, शाह, पञ्च, बहुदल हुँदै गणतन्त्रसम्मको शासन व्यवस्था हेर्नुभयो, देशले सम्झनैपर्ने पाँच जना नेताको नाम बताइदिनुस् न ?

लामो सास तानेर कनीकुथी धेरैले एक दुई नाम लिए । अधिकांशले पाँचै नाम उच्चारण गर्न चाहेनन् । प्रायःले पहिलो नम्बरमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठलाई सम्झिए । उनीहरूको अनुभवमा सम्झनलायक अन्य नेता हुन्– गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र सुशील कोइराला ।

हालका राजनीतिक खेलाडीमध्ये कोसँग आशावादी हुनुहुन्छ भन्ने अर्को जिज्ञासामा धेरैले प्रधानमन्त्री केपी ओलीसँग अलि बढी नै अपेक्षा गरिएको तर सत्तामा पुगेपछि उनी हल्ला बढी काम कम गर्ने नेता निस्किएको बताए । दुई तिहाई बहुमतको सरकार बनेर मुलुक प्रतिपक्षविहीनजस्तो देखिनु राम्रो संकेत नभएको धेरैको बुझाइ छ । आखिर राजनीतिकर्मीमाथि यतिबिघ्न अविश्वास र वितृष्णा आउनुको कारण के हुन सक्छ ? यो प्रश्नमा प्रायः सबैको समान धारणा पाइयो । त्यो के भने नेतृत्वपंक्तिबाट हुने गरेका सिद्धान्तविपरीत काम र आचरण, राजनीतिक अस्थिरता, विकास निर्माणमा देखिएको ढिलासुस्ती अनि अनियमितता र भ्रष्टाचार ।

किन सम्झने बीपी र पुष्पलाललाई छ दशकअघि कांग्रेस सभापति बीपी कोइरालाको नेतृत्वमा दुई तिहाई बहुमतको पहिलो जननिर्वाचित सरकार बनेको थियो । त्यसपछि दुई तिहाईको सरकार भएको अहिले नै हो । १२ वर्षअघि आफैंले स्थापना गरेको दललाई दुई तिहाईमा पुर्‍याएर बीपी मुलुकको कार्यकारी प्रमुख भएका थिए । पुष्पलालले सात दशकअघि स्थापना गरेको कम्युनिस्ट पार्टीबाट ओली शक्तिशाली प्रधानमन्त्री बनेको १५ महिना हुँदै छ ।

त्योबेला बीपी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय र मन्त्रीको तलब १५ सयबाट १ हजार बनाएर काम सुरु गरेको थियो । १ सय ९ सदस्यीय प्रतिनिधिसभामा १९ सिट जितेको राष्ट्रिय गोर्खा परिषद्का नेता भरतशमशेरलाई बीपीको जोड–बलले प्रमुख प्रतिपक्षी दलको नेता बनाइयो । हैसियत नपुगेको त्यसमा पनि प्रतिगामी राणाहरूकै दललाई प्रतिपक्षी बनाउनु हुँदैन भनेर त्यतिबेला चर्को विरोध नभएको पनि होइन । विपक्षीको अभावमा संसदीय व्यवस्था फस्टाउन सक्दैन भन्ने मान्यता स्थापित गर्न उनले आफ्नै सहकर्मीको विरोधका बाबजुद यो निर्णय लिएका थिए । त्यति मात्र होइन, चार सिटमा सीमित कम्युनिस्ट पार्टीका सदस्यलाई समेत उच्च प्राथमिकता दिने गरेका थिए । बिर्ता र राजा रजौटाको उन्मूलन, क्रान्तिकारी भूमिसुधार, वनको राष्ट्रियकरण, समाजवादी सिद्धान्तबमोजिम धनीलाई बढी कर लगाउने र गरिबका लागि लोकल्याणकारी योजना लागू गर्ने कामको सुरुआत गरे । नेपालको भूराजनीतिलाई बुझेर भारत र चीनसँग सन्तुलित परराष्ट्रनीति अवलम्बन गरे ।

समय बलवान छ । चार सिटमा सीमित वामपन्थीले अपार सफलता हासिल गरेको छ भने संसदीय सिटमा केही फरक भए पनि कांग्रेस त्यतिबेलाको कम्युनिस्टजस्तै खुम्चिन पुगेको छ । राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका नवराज सुवेदी र शाही चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले सुनाए— राजा महेन्द्र भन्ने गर्थे बीपीजस्तो दुनियाँलाई देखाउनलायक अर्को प्रधानमन्त्री सायद मैले मेरो जीवनकालमा देख्न पाउने छैन । जनताको अपार मत (दुई तिहाई बहुमत) बाट निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने राजा नै बीपीबारे किन यस्तो अभिव्यक्ति दिन्थे ? सुवेदी र डा.पाण्डेले सुनाएकै शैलीमा राजाले बारम्बार बीपीको तारिफ गरेको प्रसंग पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि लेखकसँगको भिडियो अन्तर्वार्तामा यो प्रसंग सुनाएका थिए ।

चानचुन डेढ वर्ष प्रधानमन्त्री र आठ महिना गृहमन्त्री भएका बीपी सबैको रोजाइमा पर्नुको कारण के हुन सक्छ ?
२००८ सालतिरको कुरा हो मातृका प्रधानमन्त्री थिए । बीपी आत्मवृत्तान्त (पेज १८३) मा लेख्छन्, ‘ठूल्दाइ (मातृका) ले काठमाडौंको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनुभयो । म बोलिरहेको मञ्चमा वासु पासामाथि जान्छ । मलाई धकेल्छ र पिट्छ ।’

पुष्पलालका कान्छा भाइ विजयलाल श्रेष्ठले मलाई सुनाए, ‘म पनि त्यो सभामा पुगेको थिएँ, मानिसहरू मञ्चमा उक्लिँदै बीपीलाई हान्दै थिए । हिजोआज चोरको आरोपमा भीडले कसैलाई कुटेझैं गरी ।’ ‘ती दिन बीपी भारतीय दलाल हुन् भन्ने वामपन्थीहरूको बुझाइ थियो,’ विजयले सुनाए, ‘मलाई लाग्यो अभी नही तो कभी नही । मौका यही हो । सरासर मञ्चमा गएँ । एक लात हानें । ऐया भने बीपीले । छेउमा गणेशमान थिए, उनलाई देखेर डर लाग्यो । कुस्तीबाज । राणाको जेल तोडेर भागेका । भेटे भने सिध्याउँछन् भन्ठानेर भागें ।’

साढे सात दशकअघिको त्यो दिन सम्झिँदा उमेरले ८६ लागेका विजयले हाँसो रोक्नै सकेनन् । युवा जोस र त्यो बेलाको बुझाइ न हो । भन्दै थिए— बीपीको योगदान र महत्त्वलाई आजको दिनमा कसले पो नजरअन्दाज गर्न सक्छ र ?

कोइराला परिवारका सदस्य तथा वामपन्थी नेता कमल कोइरालाको बुझाइमा १८ महिनाको छोटो शासनकालमा भएका काम हेर्ने हो भने पनि बीपी एक नम्बर राजनेता हुन् । मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले भने, ‘कुराकानीमा मात्र होइन, प्रकाशित अन्तर्वार्तामै समेत बीपी नै मदनले आफ्नो मन पर्ने नेता भन्नुभएको छ । जसरी चमेलीको फूल एक रातमै झर्छ । तर पनि त्यसको वासना मानिसले सधैं सम्झिन्छन् । त्यसको ठीकविपरित पलासको फूल ठूलो हुन्छ । लामो समयसम्म रहन्छ तर वासना नहुने भएकाले कसैले सम्झिँदैन ।’


राष्ट्रकवि माधवप्रसाद घिमिरे राष्ट्रियता र देशभक्ति भावका दृष्टिले पहिलो पुस्ताको तुलनामा अहिलेको नेतृत्व निरन्तर स्खलित हुँदै गएको अनुभव सुनाउँछन् । उमेरले शताब्दी टेकेका राष्ट्रकविको भनाइ छ, ‘हुन त कविको काम पार्टी र नेताको टीकाटिप्पणी गर्ने होइन तर नेतृत्व आफैं सिद्धान्त, नैतिकता र देशभक्तिबाट विचलित भयो भने कुनै मुलुकले प्रगति गर्न सक्दैन ।’ घिमिरेको यो भनाइमा नेपाली राजनीतिको तस्बिर देखिन्छ ।

घिमिरेले चन्द्रशमशेरको शासनकालयताका सबै राजनीतिक परिवर्तन आफ्नै आँखाअघि देखे । उनकै जीवनकालमा २००७ सालको क्रान्तिले एक सय चारवर्षे राणाशाहीको अन्त्य गर्‍यो । २०१७ साल पुस १ मा राजा महेन्द्रले सैन्य बलबाट प्रजातन्त्रमाथि ‘कु’ गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भयो । अनि, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सुरु गरेको निरंकुश शासन व्यवस्थाविरुद्ध २०६२/०६३ को जनआन्दोलनमा लाखौं जनता सडकमा ओर्लिए । फलस्वरूप संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते २ सय ३८ वर्ष लामो राजतन्त्रको अन्त्य मात्र भएन, मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फको यात्रा तय गर्‍यो ।

यसबीच २००५ सालयता, छ दशकको अवधिमा ४६ पटक सरकारको नेतृत्वमा फेरबदल भयो, २२ जना प्रधानमन्त्री बने । मुलुकको कार्यकारी प्रमुख हुनेमा आधाभन्दा बढी अर्थात् छ–छ जना कांग्रेस र कम्युनिस्टकै नेता छन् । सिद्धान्तअनुकूलको जीवनशैली, राष्ट्रियताबारेको अडान, तात्कालिक लाभभन्दा पनि देश र जनताको हितका पक्षमा लिएका निर्णयले बीपी सबैले सम्झिने राजनेतामा स्थापित भए ।

कम्युनिस्ट बीपी, कांग्रेस पुष्पलाल
राणाहरूको कोपभाजनमा परेर १४ वर्ष वनवासमा रहँदा बीपी आफैं कम्युनिस्ट थिए । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा जेल पर्दासमेत उनमा कम्युनिस्ट प्रभाव थियो । पछि जयप्रकाश नारायणको संगतले समाजवादी बने । पिताजी कृष्णप्रसादको प्रेरणाबाट राजनीतिमा लागेका बीपीले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । त्यही राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकीकरणपछि भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गर्‍यो ।

उता दाजु सहिद गंगालालको प्रेरणाबाट राजनीतिमा लागेका पुष्पलाल राष्ट्रिय कांग्रेसकै झन्डामा राणाविरोधी आन्दोलनमा होमिएर जेल परे । बीपी र डा. डिल्लीरमण रेग्मीबीचको कचिङ्गलबाट आजित उनले कांग्रेस छोडेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । मृत्युदण्ड दिनुभन्दा एक दिनअघि परिवारका सदस्यसँग गंगालाललाई भेट्न उनी भद्रगोल जेल पुगेका थिए । त्यही गंगालालले भनेका थिए, ‘भाइ (माइला) प्रजातन्त्रको दियोलाई कमजोर हुन नदिनू ।’ गंगालाल भन्ने गर्थे, ‘रुसमा कोही भोका नाङ्गा छैनन्, हामीले पनि त्यस्तै व्यवस्था ल्याउनुपर्छ ।’ दाजुको त्यही वचनले पुष्पलाललाई गरिब दुःखीको हितमा काम गर्ने कम्युनिस्ट पार्टी स्थापना गर्न प्रेरणा मिल्यो ।

बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रशिक्षण राणा शाहीको अत्याचार उत्कर्षमा रहँदा भएको हो । कोइराला र श्रेष्ठ परिवारको संस्कारमा पनि धेरै कुराको समानता पाइन्छ । ज्येष्ठ सदस्यको उपस्थितिमा भारतीय स्वतन्त्रता आन्दोलन, भारतीय पत्रपत्रिकामा प्रकाशित समाचार र विचारबारे दुवै परिवारमा दैनिक छलफल हुन्थ्यो । कोइराला परिवारका सदस्य एक बिहानै जम्मा भएर अनेकौं विषयमा छलफल गर्थे । जसमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ आदि विषय हुन्थे ।

उता श्रेष्ठ परिवारमा भने बेलुका यस्तो छलफल चल्थ्यो । पुष्पलालकी बहिनी पुष्पलताले भनिन्, ‘बेलुका बाको कोठामा परिवारका सबै सदस्य भेला हुन्थ्यौं । सुरुमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ जस्ता विषयमा कुरा हुन्थ्यो । त्यसपछि देश विदेशका घटनाक्रममा कुरा हुन्थ्यो ।’ दुवै परिवारका सदस्यहरूबीच आपसमा कुरा गर्दाचाहिँ राजनीतिक विषयले प्रायः प्रवेश पाउँदैनथ्यो ।

समानता अनेक, विमति एक
बीपी उमेरमा पुष्पलालभन्दा १० वर्ष जेठा । भिन्न राजनीतिक दर्शनको नेतृत्व गरे पनि यी दुईबीच कैयौं समानता छन् । बीपी कांग्रेसका संस्थापक तथा सिद्धान्तकार, पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका । दुवै परिवारका माइला छोरा । दुवैका बाबु राणाकालमा खरिदार । सारा जीवन निष्ठा र आदर्शको राजनीतिका निम्ति खर्चेका बीपीलाई लामो समयसम्म अराष्ट्रिय तत्त्व र भारतीय दलालको आरोप लाग्यो । खासगरी यस्तो आरोप लगाउनेमा पञ्च र कम्युनिस्ट थिए । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले भनेका छन्, ‘हामी नै कहिले राजासँग घाँटी जोडिएको त कहिले मित्रराष्ट्र भारतका लागि काम गर्ने नेताका रूपमा बीपीलाई हेर्ने गर्‍यौं । धेरै पछि मात्र बुझियो वास्तवमा बीपी न राजावादी थिए न त भारतपरस्त ।’

उता पुष्पलालको सन्दर्भमा पनि त्यस्तै संयोग परेको छ । २०१७ सालको ‘कु’ पछि संसदीय व्यवस्था पुनःस्थापनाको पक्षमा उभिएका पुष्पलाललाई सहयात्री कम्युनिस्टहरूले नै ‘गद्दार’ को संज्ञा दिए । त्यही घटनाबाट आहत भएर राजनीति छोडेका काठमाडौंका प्रथम निर्वाचित मेयर जनकमान श्रेष्ठले सुनाए, ‘राजासँग चोचो–मोचो मिलाउनेहरूले नै पुष्पलाललाई गद्धार भनेका थिए । केशरजंग रायमाझीसहित धेरै नेता दरबार पसे । तर राजाले बारम्बार बोलाउँदा पुष्पलाल भेट्नसमेत गएनन् ।’

गंगालालका साथी गम्भीरमान मार्फत ‘भेट्न आउनू’ भन्ने सन्देश राजाले भारत प्रवासमै रहँदा पुष्पलाललाई पठाएका थिए । तर पुष्पलालले जवाफ फर्काइदिए मैले भेट्नुपर्ने कुनै कारण छैन । हदै भए प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानन्त्री चाहिँदैन । पुष्पलालका भाइ विजयलालले सम्झिए, ‘राजाले दिन सक्ने सबैभन्दा ठूलो पद त्यही प्रधानमन्त्री हो । सिद्धान्त बेचेर मलाई कुनै लाभ लिनु छैन भन्ने सन्देश दिएर भेट्न मान्नुभएन ।’

अर्कोतिर थापाथलीमा तरुण दलको सम्मेलनलाई सम्बोधन गरिरहँदा सैन्य कब्जामा परेका प्रधानमन्त्री बीपीलाई पनि राजा महेन्द्रले पञ्चायत स्वीकार गरे जीवनभर सत्ताको केन्द्रमा राखिरहने प्रलोभन देखाए । राजाले बेलायती राजदूतमार्फत सुन्दरीजल बन्दीगृहमै खबर पठाएका थिए, ‘नाम मात्र पञ्चायत राखे हुन्छ । त्यसबाहेक बीपीले बनाएको संविधान मान्न म तयार छु ।’ तर बीपीले सिद्धान्तमा सम्झौता गरेनन् ।

राजनीतिक सिद्धान्तमा कट्टर भए पनि बीपी र पुष्पलाल दुवैले एकअर्का प्रति सधैं श्रद्धा भाव राखिरहे । पञ्चायतको अन्त्यका लागि कांग्रेस कम्युनिस्ट एकतामा सधैं पुष्पलालले जोड दिए । तर, सोसलिस्ट इन्टरनेसनलका नेता बीपीले कम्युनिस्टमाथि विश्वास गर्न सकिँदैन भनेर जीवनभर सहकार्य गर्न मानेनन् । उनको निधनपछि मात्र कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा वामपन्थीसँग कांग्रेसको सहकार्य भयो । वामपन्थी पक्षबाट यसको नेतृत्व पुष्पलालकी श्रीमती सहाना प्रधानले गरिन् । अनि मात्र २०४६ को जनआन्दोलनले पञ्चायतको पतन भयो ।

पुष्पलालकै सैद्धान्तिक जगमा टेकेर मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट पार्टीलाई चुनावी प्रतिस्पर्धामा उतारे र तत्कालीन नेकपा एमाले ‘ब्यालेट’ बाटै सत्तामा पुग्यो । मनमोहन अधिकारी देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए भने माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी ओली गरी छ जना मुलुकको कार्यकारी प्रमुख बने ।

अर्कोतिर जीवनभर कम्युनिस्टमा भर नगर्ने बीपीकै कान्छा भाइ गिरिजाप्रसादले नेतृत्व गरेको आन्दोलनले कम्युनिस्ट पार्टीहरूसँगको सहकार्यमा २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र बहाली गराए । बीपी र पुष्पलाल दुवै नेताले निष्ठा, आदर्श र सिद्धान्तका लागि जीवनप्रयन्त त्याग गरे तर राजनीतिक उपलब्धिको प्रतिफल देख्न पाएनन् । बीपीले झन्डै १० वर्ष जेल र त्यति नै समय भारत प्रवासमा बिताए । बीपी त सत्तामा पनि पुगे । केही समय गृहमन्त्री र प्रधानमन्त्री भए ।

तर, २०१५ सालको चुनावमा गणेशमान सिंहसँग पराजित पुष्पलालले राजनीतिक लाभका पदमा रहने अवसर पाएनन् । धेरै समय जेल–नेल सजाय नभोगे पनि लामो समय उनले प्रवासमा अभाव र कष्टपूर्ण जीवनयापन गरे । राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्दा गर्दै २०३५ साउन ७ मा पुष्पलाल र २०३९ साउन ६ मा बीपीको निधन भयो ।

प्रकाशित : श्रावण ४, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?