दुइटा फूल इतिहासका

जगत नेपाल

मुलुक र समाजको उच्च तहमा बसेर लामो अनुभव सँगालेका (उमेरले असी नाघेका) झन्डै डेढ दर्जन लब्धप्रतिष्ठित व्यक्तिहरूसँग दुई महिनायता लामै कुरा गर्ने अवसर मलाई मिल्यो  । नेतृत्वपंक्तिमा निष्ठा र इमानदारीको खडेरी लागिरहँदा राजनेताको अभाव किन खड्किएको होला भनेर बुझ्ने चाहनाले यो अवसर जुटाएको हो ।

मैले भेटे जतिलाई सोधेको एउटा प्रश्न थियो— राणा, शाह, पञ्च, बहुदल हुँदै गणतन्त्रसम्मको शासन व्यवस्था हेर्नुभयो, देशले सम्झनैपर्ने पाँच जना नेताको नाम बताइदिनुस् न ?

लामो सास तानेर कनीकुथी धेरैले एक दुई नाम लिए । अधिकांशले पाँचै नाम उच्चारण गर्न चाहेनन् । प्रायःले पहिलो नम्बरमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठलाई सम्झिए । उनीहरूको अनुभवमा सम्झनलायक अन्य नेता हुन्– गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र सुशील कोइराला ।

हालका राजनीतिक खेलाडीमध्ये कोसँग आशावादी हुनुहुन्छ भन्ने अर्को जिज्ञासामा धेरैले प्रधानमन्त्री केपी ओलीसँग अलि बढी नै अपेक्षा गरिएको तर सत्तामा पुगेपछि उनी हल्ला बढी काम कम गर्ने नेता निस्किएको बताए । दुई तिहाई बहुमतको सरकार बनेर मुलुक प्रतिपक्षविहीनजस्तो देखिनु राम्रो संकेत नभएको धेरैको बुझाइ छ । आखिर राजनीतिकर्मीमाथि यतिबिघ्न अविश्वास र वितृष्णा आउनुको कारण के हुन सक्छ ? यो प्रश्नमा प्रायः सबैको समान धारणा पाइयो । त्यो के भने नेतृत्वपंक्तिबाट हुने गरेका सिद्धान्तविपरीत काम र आचरण, राजनीतिक अस्थिरता, विकास निर्माणमा देखिएको ढिलासुस्ती अनि अनियमितता र भ्रष्टाचार ।

किन सम्झने बीपी र पुष्पलाललाई छ दशकअघि कांग्रेस सभापति बीपी कोइरालाको नेतृत्वमा दुई तिहाई बहुमतको पहिलो जननिर्वाचित सरकार बनेको थियो । त्यसपछि दुई तिहाईको सरकार भएको अहिले नै हो । १२ वर्षअघि आफैंले स्थापना गरेको दललाई दुई तिहाईमा पुर्‍याएर बीपी मुलुकको कार्यकारी प्रमुख भएका थिए । पुष्पलालले सात दशकअघि स्थापना गरेको कम्युनिस्ट पार्टीबाट ओली शक्तिशाली प्रधानमन्त्री बनेको १५ महिना हुँदै छ ।

त्योबेला बीपी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय र मन्त्रीको तलब १५ सयबाट १ हजार बनाएर काम सुरु गरेको थियो । १ सय ९ सदस्यीय प्रतिनिधिसभामा १९ सिट जितेको राष्ट्रिय गोर्खा परिषद्का नेता भरतशमशेरलाई बीपीको जोड–बलले प्रमुख प्रतिपक्षी दलको नेता बनाइयो । हैसियत नपुगेको त्यसमा पनि प्रतिगामी राणाहरूकै दललाई प्रतिपक्षी बनाउनु हुँदैन भनेर त्यतिबेला चर्को विरोध नभएको पनि होइन । विपक्षीको अभावमा संसदीय व्यवस्था फस्टाउन सक्दैन भन्ने मान्यता स्थापित गर्न उनले आफ्नै सहकर्मीको विरोधका बाबजुद यो निर्णय लिएका थिए । त्यति मात्र होइन, चार सिटमा सीमित कम्युनिस्ट पार्टीका सदस्यलाई समेत उच्च प्राथमिकता दिने गरेका थिए । बिर्ता र राजा रजौटाको उन्मूलन, क्रान्तिकारी भूमिसुधार, वनको राष्ट्रियकरण, समाजवादी सिद्धान्तबमोजिम धनीलाई बढी कर लगाउने र गरिबका लागि लोकल्याणकारी योजना लागू गर्ने कामको सुरुआत गरे । नेपालको भूराजनीतिलाई बुझेर भारत र चीनसँग सन्तुलित परराष्ट्रनीति अवलम्बन गरे ।

समय बलवान छ । चार सिटमा सीमित वामपन्थीले अपार सफलता हासिल गरेको छ भने संसदीय सिटमा केही फरक भए पनि कांग्रेस त्यतिबेलाको कम्युनिस्टजस्तै खुम्चिन पुगेको छ । राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका नवराज सुवेदी र शाही चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले सुनाए— राजा महेन्द्र भन्ने गर्थे बीपीजस्तो दुनियाँलाई देखाउनलायक अर्को प्रधानमन्त्री सायद मैले मेरो जीवनकालमा देख्न पाउने छैन । जनताको अपार मत (दुई तिहाई बहुमत) बाट निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्ने राजा नै बीपीबारे किन यस्तो अभिव्यक्ति दिन्थे ? सुवेदी र डा.पाण्डेले सुनाएकै शैलीमा राजाले बारम्बार बीपीको तारिफ गरेको प्रसंग पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि लेखकसँगको भिडियो अन्तर्वार्तामा यो प्रसंग सुनाएका थिए ।

चानचुन डेढ वर्ष प्रधानमन्त्री र आठ महिना गृहमन्त्री भएका बीपी सबैको रोजाइमा पर्नुको कारण के हुन सक्छ ?
२००८ सालतिरको कुरा हो मातृका प्रधानमन्त्री थिए । बीपी आत्मवृत्तान्त (पेज १८३) मा लेख्छन्, ‘ठूल्दाइ (मातृका) ले काठमाडौंको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनुभयो । म बोलिरहेको मञ्चमा वासु पासामाथि जान्छ । मलाई धकेल्छ र पिट्छ ।’

पुष्पलालका कान्छा भाइ विजयलाल श्रेष्ठले मलाई सुनाए, ‘म पनि त्यो सभामा पुगेको थिएँ, मानिसहरू मञ्चमा उक्लिँदै बीपीलाई हान्दै थिए । हिजोआज चोरको आरोपमा भीडले कसैलाई कुटेझैं गरी ।’ ‘ती दिन बीपी भारतीय दलाल हुन् भन्ने वामपन्थीहरूको बुझाइ थियो,’ विजयले सुनाए, ‘मलाई लाग्यो अभी नही तो कभी नही । मौका यही हो । सरासर मञ्चमा गएँ । एक लात हानें । ऐया भने बीपीले । छेउमा गणेशमान थिए, उनलाई देखेर डर लाग्यो । कुस्तीबाज । राणाको जेल तोडेर भागेका । भेटे भने सिध्याउँछन् भन्ठानेर भागें ।’

साढे सात दशकअघिको त्यो दिन सम्झिँदा उमेरले ८६ लागेका विजयले हाँसो रोक्नै सकेनन् । युवा जोस र त्यो बेलाको बुझाइ न हो । भन्दै थिए— बीपीको योगदान र महत्त्वलाई आजको दिनमा कसले पो नजरअन्दाज गर्न सक्छ र ?

कोइराला परिवारका सदस्य तथा वामपन्थी नेता कमल कोइरालाको बुझाइमा १८ महिनाको छोटो शासनकालमा भएका काम हेर्ने हो भने पनि बीपी एक नम्बर राजनेता हुन् । मदन भण्डारीको भनाइ स्मरण गर्दै उनले भने, ‘कुराकानीमा मात्र होइन, प्रकाशित अन्तर्वार्तामै समेत बीपी नै मदनले आफ्नो मन पर्ने नेता भन्नुभएको छ । जसरी चमेलीको फूल एक रातमै झर्छ । तर पनि त्यसको वासना मानिसले सधैं सम्झिन्छन् । त्यसको ठीकविपरित पलासको फूल ठूलो हुन्छ । लामो समयसम्म रहन्छ तर वासना नहुने भएकाले कसैले सम्झिँदैन ।’


राष्ट्रकवि माधवप्रसाद घिमिरे राष्ट्रियता र देशभक्ति भावका दृष्टिले पहिलो पुस्ताको तुलनामा अहिलेको नेतृत्व निरन्तर स्खलित हुँदै गएको अनुभव सुनाउँछन् । उमेरले शताब्दी टेकेका राष्ट्रकविको भनाइ छ, ‘हुन त कविको काम पार्टी र नेताको टीकाटिप्पणी गर्ने होइन तर नेतृत्व आफैं सिद्धान्त, नैतिकता र देशभक्तिबाट विचलित भयो भने कुनै मुलुकले प्रगति गर्न सक्दैन ।’ घिमिरेको यो भनाइमा नेपाली राजनीतिको तस्बिर देखिन्छ ।

घिमिरेले चन्द्रशमशेरको शासनकालयताका सबै राजनीतिक परिवर्तन आफ्नै आँखाअघि देखे । उनकै जीवनकालमा २००७ सालको क्रान्तिले एक सय चारवर्षे राणाशाहीको अन्त्य गर्‍यो । २०१७ साल पुस १ मा राजा महेन्द्रले सैन्य बलबाट प्रजातन्त्रमाथि ‘कु’ गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भयो । अनि, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सुरु गरेको निरंकुश शासन व्यवस्थाविरुद्ध २०६२/०६३ को जनआन्दोलनमा लाखौं जनता सडकमा ओर्लिए । फलस्वरूप संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते २ सय ३८ वर्ष लामो राजतन्त्रको अन्त्य मात्र भएन, मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फको यात्रा तय गर्‍यो ।

यसबीच २००५ सालयता, छ दशकको अवधिमा ४६ पटक सरकारको नेतृत्वमा फेरबदल भयो, २२ जना प्रधानमन्त्री बने । मुलुकको कार्यकारी प्रमुख हुनेमा आधाभन्दा बढी अर्थात् छ–छ जना कांग्रेस र कम्युनिस्टकै नेता छन् । सिद्धान्तअनुकूलको जीवनशैली, राष्ट्रियताबारेको अडान, तात्कालिक लाभभन्दा पनि देश र जनताको हितका पक्षमा लिएका निर्णयले बीपी सबैले सम्झिने राजनेतामा स्थापित भए ।

कम्युनिस्ट बीपी, कांग्रेस पुष्पलाल
राणाहरूको कोपभाजनमा परेर १४ वर्ष वनवासमा रहँदा बीपी आफैं कम्युनिस्ट थिए । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा जेल पर्दासमेत उनमा कम्युनिस्ट प्रभाव थियो । पछि जयप्रकाश नारायणको संगतले समाजवादी बने । पिताजी कृष्णप्रसादको प्रेरणाबाट राजनीतिमा लागेका बीपीले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । त्यही राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकीकरणपछि भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गर्‍यो ।

उता दाजु सहिद गंगालालको प्रेरणाबाट राजनीतिमा लागेका पुष्पलाल राष्ट्रिय कांग्रेसकै झन्डामा राणाविरोधी आन्दोलनमा होमिएर जेल परे । बीपी र डा. डिल्लीरमण रेग्मीबीचको कचिङ्गलबाट आजित उनले कांग्रेस छोडेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । मृत्युदण्ड दिनुभन्दा एक दिनअघि परिवारका सदस्यसँग गंगालाललाई भेट्न उनी भद्रगोल जेल पुगेका थिए । त्यही गंगालालले भनेका थिए, ‘भाइ (माइला) प्रजातन्त्रको दियोलाई कमजोर हुन नदिनू ।’ गंगालाल भन्ने गर्थे, ‘रुसमा कोही भोका नाङ्गा छैनन्, हामीले पनि त्यस्तै व्यवस्था ल्याउनुपर्छ ।’ दाजुको त्यही वचनले पुष्पलाललाई गरिब दुःखीको हितमा काम गर्ने कम्युनिस्ट पार्टी स्थापना गर्न प्रेरणा मिल्यो ।

बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रशिक्षण राणा शाहीको अत्याचार उत्कर्षमा रहँदा भएको हो । कोइराला र श्रेष्ठ परिवारको संस्कारमा पनि धेरै कुराको समानता पाइन्छ । ज्येष्ठ सदस्यको उपस्थितिमा भारतीय स्वतन्त्रता आन्दोलन, भारतीय पत्रपत्रिकामा प्रकाशित समाचार र विचारबारे दुवै परिवारमा दैनिक छलफल हुन्थ्यो । कोइराला परिवारका सदस्य एक बिहानै जम्मा भएर अनेकौं विषयमा छलफल गर्थे । जसमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ आदि विषय हुन्थे ।

उता श्रेष्ठ परिवारमा भने बेलुका यस्तो छलफल चल्थ्यो । पुष्पलालकी बहिनी पुष्पलताले भनिन्, ‘बेलुका बाको कोठामा परिवारका सबै सदस्य भेला हुन्थ्यौं । सुरुमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ जस्ता विषयमा कुरा हुन्थ्यो । त्यसपछि देश विदेशका घटनाक्रममा कुरा हुन्थ्यो ।’ दुवै परिवारका सदस्यहरूबीच आपसमा कुरा गर्दाचाहिँ राजनीतिक विषयले प्रायः प्रवेश पाउँदैनथ्यो ।

समानता अनेक, विमति एक
बीपी उमेरमा पुष्पलालभन्दा १० वर्ष जेठा । भिन्न राजनीतिक दर्शनको नेतृत्व गरे पनि यी दुईबीच कैयौं समानता छन् । बीपी कांग्रेसका संस्थापक तथा सिद्धान्तकार, पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका । दुवै परिवारका माइला छोरा । दुवैका बाबु राणाकालमा खरिदार । सारा जीवन निष्ठा र आदर्शको राजनीतिका निम्ति खर्चेका बीपीलाई लामो समयसम्म अराष्ट्रिय तत्त्व र भारतीय दलालको आरोप लाग्यो । खासगरी यस्तो आरोप लगाउनेमा पञ्च र कम्युनिस्ट थिए । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले भनेका छन्, ‘हामी नै कहिले राजासँग घाँटी जोडिएको त कहिले मित्रराष्ट्र भारतका लागि काम गर्ने नेताका रूपमा बीपीलाई हेर्ने गर्‍यौं । धेरै पछि मात्र बुझियो वास्तवमा बीपी न राजावादी थिए न त भारतपरस्त ।’

उता पुष्पलालको सन्दर्भमा पनि त्यस्तै संयोग परेको छ । २०१७ सालको ‘कु’ पछि संसदीय व्यवस्था पुनःस्थापनाको पक्षमा उभिएका पुष्पलाललाई सहयात्री कम्युनिस्टहरूले नै ‘गद्दार’ को संज्ञा दिए । त्यही घटनाबाट आहत भएर राजनीति छोडेका काठमाडौंका प्रथम निर्वाचित मेयर जनकमान श्रेष्ठले सुनाए, ‘राजासँग चोचो–मोचो मिलाउनेहरूले नै पुष्पलाललाई गद्धार भनेका थिए । केशरजंग रायमाझीसहित धेरै नेता दरबार पसे । तर राजाले बारम्बार बोलाउँदा पुष्पलाल भेट्नसमेत गएनन् ।’

गंगालालका साथी गम्भीरमान मार्फत ‘भेट्न आउनू’ भन्ने सन्देश राजाले भारत प्रवासमै रहँदा पुष्पलाललाई पठाएका थिए । तर पुष्पलालले जवाफ फर्काइदिए मैले भेट्नुपर्ने कुनै कारण छैन । हदै भए प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानन्त्री चाहिँदैन । पुष्पलालका भाइ विजयलालले सम्झिए, ‘राजाले दिन सक्ने सबैभन्दा ठूलो पद त्यही प्रधानमन्त्री हो । सिद्धान्त बेचेर मलाई कुनै लाभ लिनु छैन भन्ने सन्देश दिएर भेट्न मान्नुभएन ।’

अर्कोतिर थापाथलीमा तरुण दलको सम्मेलनलाई सम्बोधन गरिरहँदा सैन्य कब्जामा परेका प्रधानमन्त्री बीपीलाई पनि राजा महेन्द्रले पञ्चायत स्वीकार गरे जीवनभर सत्ताको केन्द्रमा राखिरहने प्रलोभन देखाए । राजाले बेलायती राजदूतमार्फत सुन्दरीजल बन्दीगृहमै खबर पठाएका थिए, ‘नाम मात्र पञ्चायत राखे हुन्छ । त्यसबाहेक बीपीले बनाएको संविधान मान्न म तयार छु ।’ तर बीपीले सिद्धान्तमा सम्झौता गरेनन् ।

राजनीतिक सिद्धान्तमा कट्टर भए पनि बीपी र पुष्पलाल दुवैले एकअर्का प्रति सधैं श्रद्धा भाव राखिरहे । पञ्चायतको अन्त्यका लागि कांग्रेस कम्युनिस्ट एकतामा सधैं पुष्पलालले जोड दिए । तर, सोसलिस्ट इन्टरनेसनलका नेता बीपीले कम्युनिस्टमाथि विश्वास गर्न सकिँदैन भनेर जीवनभर सहकार्य गर्न मानेनन् । उनको निधनपछि मात्र कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा वामपन्थीसँग कांग्रेसको सहकार्य भयो । वामपन्थी पक्षबाट यसको नेतृत्व पुष्पलालकी श्रीमती सहाना प्रधानले गरिन् । अनि मात्र २०४६ को जनआन्दोलनले पञ्चायतको पतन भयो ।

पुष्पलालकै सैद्धान्तिक जगमा टेकेर मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट पार्टीलाई चुनावी प्रतिस्पर्धामा उतारे र तत्कालीन नेकपा एमाले ‘ब्यालेट’ बाटै सत्तामा पुग्यो । मनमोहन अधिकारी देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए भने माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी ओली गरी छ जना मुलुकको कार्यकारी प्रमुख बने ।

अर्कोतिर जीवनभर कम्युनिस्टमा भर नगर्ने बीपीकै कान्छा भाइ गिरिजाप्रसादले नेतृत्व गरेको आन्दोलनले कम्युनिस्ट पार्टीहरूसँगको सहकार्यमा २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र बहाली गराए । बीपी र पुष्पलाल दुवै नेताले निष्ठा, आदर्श र सिद्धान्तका लागि जीवनप्रयन्त त्याग गरे तर राजनीतिक उपलब्धिको प्रतिफल देख्न पाएनन् । बीपीले झन्डै १० वर्ष जेल र त्यति नै समय भारत प्रवासमा बिताए । बीपी त सत्तामा पनि पुगे । केही समय गृहमन्त्री र प्रधानमन्त्री भए ।

तर, २०१५ सालको चुनावमा गणेशमान सिंहसँग पराजित पुष्पलालले राजनीतिक लाभका पदमा रहने अवसर पाएनन् । धेरै समय जेल–नेल सजाय नभोगे पनि लामो समय उनले प्रवासमा अभाव र कष्टपूर्ण जीवनयापन गरे । राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्दा गर्दै २०३५ साउन ७ मा पुष्पलाल र २०३९ साउन ६ मा बीपीको निधन भयो ।

प्रकाशित : श्रावण ४, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्

बोन्पो थलोको यादमा

गनेस पौडेल

कुनै कुनै ठाउँमा पहिलोपटक पुग्दा मलाई यस्तो लाग्छ, म धेरै पहिल्यै यहाँ आइसकेको थिएँ  । बाटो, जंगल र चौरस्तामा समयको कथा रुँगेर बसेका बूढा रूखहरू देख्दा मलाई यस्तो लाग्छ, सयौँ वर्षपहिले मैले यसकै छहारीमा एक झमट दिवानिद्रा भोग गरेको थिएँ  ।

सिरानमा फोक्सुन्डो थापेर बसेको रिग्मो गाउँमा निदाएर उठेको पहिलो बिहान म निकै चंगा थिएँ । चंगा हुनु भनेको स्वतन्त्र हुनु होइन । अदृश्य धागोले खैँचेको परिधिमा हावा काटेर बस्नु हो । त्यस्तो अदृश्य कुन धागो थियो जसले मलाई ताल किनारको न्यानो होटलमा चंगा बनाएर उडाइराखेको थियो ?
त्यो बिहान हामीहरू फोक्सुन्डोको देब्रे गालामा अवस्थित थासुङछोलिङ गुम्बा जानेवाला थियौं । १२ औं शताब्दीमा निर्माण भएको भनिएको यो गुम्बा पुग्ने बाटोमा दुर्घटित घुँडाको ‘लिगामेन्ट’ खियाउँदै गर्दा अचानक मलाई यस्तो आभास भयो– ‘यो गुम्बाको कुनै गोप्य कक्षमा कैयौं हातहरू भएको एउटा कालो रङको मूर्ति हुनुपर्छ जसको काखमा निर्वस्त्र यौवना खप्टिएर बसेकी छे ।’ मेरो आभास एउटा देजाभू असरजस्तो गहिरो थियो ।
गुम्बाभित्र त्यस्तो केही देखिएन । मैले लामालाई सोधेँ, ‘यो भवन खासै पुरानोजस्तो लागेन । यहाँको पुरानो गुम्बा अर्कै होला है ? हामी जान मिल्दैन ?’ मेरो जिज्ञासाले प्रमुख लामा सेम्डुक ङिमाका अनुहारमा उज्याला रेखाका मुना–मुजुराहरू उम्रिए, निमेषभरमा हुर्किए, पात र हाँगा हाले, गमक्क फुले अनि लटरम्म फले । रसिलो फलको एउटा दानालाई कर्याम्म टोक्दा मुखमा भरिने पानीले बोल्न असजिलो भएझैँ ओठको एक कापबाट र्‍यालको लर्को चुहाउँदै बगलमा उभिएका अर्का लामा लोडोइ घोछालाई भने, ‘उताको पनि खोल्दिनुस् । उहाँहरूले दर्शन गरे राम्रै हुन्छ ।’
आगन्तुकका लागि लगभग अप्राप्य र दुर्लभ दर्शन हाम्रा लागि उपलब्ध हुने भयो । ध्वाँसोले खियाएको पुरानो भोटो ताल्चा खुलेपछि मोबाइलका बत्तीहरू सल्काउँदै अँध्यारो सुरुङजस्तो कोठामा हामी छिर्‍यौं । त्यो कोठाबाट होचो न होचो ढोका अर्को कोठाको लागि खुल्यो, त्यसपछि अर्को अर्थात् गुम्बाको मुल कक्ष । मेरा आँखाहरू सिसाको घरभित्र भुन्भुनिएको माहुरीजस्तो भएर चारै दिशा हानेर दौडिए । तर जता उडे पनि सिसामा मुन्टो बज्रियो अनि पछारियो । मैले खोजेको दृश्य कतै देखिएन । त्यसैबेला फोटोग्राफर गुरिल्लाले थिचेको क्यामेराको ‘फ्ल्यास’ ले अँध्यारो कक्षको एउटा छेउलाई भुलुर्क्क उज्यालो बनाइदियो । मेरो आभास सही निस्कियो । कालो मूर्ति मेरो अनुमानकै वय र बान्कीमा ध्यानस्थ थियो ।
कुनै कुनै ठाउँहरूमा पहिलोपटक पुग्दा मलाई यस्तो लाग्छ, म धेरै पहिल्यै यहाँ आइसकेको थिएँ । आएको मात्रै होइन, मैले एउटा पूरै जीवन यहीँ कतै काटिसकेको थिएँ । बाटो, जंगल र चौरस्तामा समयको कथा रुँगेर बसेका बूढा रूखहरू देख्दा मलाई यस्तो लाग्छ सयौँ वर्षपहिले मैले यसकै छहारीमा एक झमट दिवानिद्रा भोग गरेको थिएँ । पहाडी खोलाका किनार छलेर बसेका अजंगका पत्थरहरू देख्दा वा खोलामाथिका चट्टाने भीरमा प्रकृतिले खोपेका गहिरा गुफाहरूमा पस्ता मलाई लाग्छ, मैले यिनै अल्छी पहाड, भूत्याहा गुफा, अत्यासलाग्दा हिमाल र फुर्तिला नदीहरूको सम्पूर्ण सेरोफेरोलाई कालजमानामै नापिसकेको थिएँ । खोलामा पहिलो बखत हेलिएको कुकुरले कहिल्यै नसिकेको पौडी खेलेर जसरी किनार भेट्टाउँछ उसै गरी मलाई आफूले कहिल्यै नभोगेको यस्तो स्मृतिको हरक्क बास्ना हुबहु आउँछ । सायद मेरो ‘जिन’ भित्रको कुनै अम्लीय चोटाकोठामा त्यसका स्मृतिहरू बसेका होलान् । सायद मेरो मस्तिष्कको ‘केस’ भित्र कुनै ‘बायोटिक चिप्स’ सुषुप्त बसिरहेको छ जो स्थानविशेषको एक ‘क्लिक’ ले अचानक बौरिन्छ ः पुर्ख्यौली यादजस्तो भएर, पुस्तैनी ज्ञानजस्तो भएर ।
जब पहाडहरूमा हुन्छु, म आफूलाई झन्–झन् यस्तो अनुभवइतरको स्मृतिमा हराइरहेको पाउँछु । अभेद्य अतीतको अनकन्टार कुनामा एकलै सयर गरिरहेको पाउँछु । मैले आफूलाई जे ठान्दै आएको छु, खासमा म त्यो हुँदै होइन भनेजस्तो आफ्नै परिचय खिइँदै गएको पाउँछु । अहिलेसम्म मैले जे जति देखेँ, पढेँ, जानेँ, बुझेँ त्यो खासमा मेरो देखाइ, पढाइ, जानाइ वा बुझाइ होइन भन्ने अनुभूति झन्–झन् गाढा भएको पाउँछु । अरूले यात्रामा आफूलाई झन्–झन् आफ्नो नजिक भएको पाउँछु भन्छन्, तर मलाई भने यात्राले मैदेखि झन्–झन् टाढा–टाढा लग्दै गरेको पाउँछु । यात्राले हुत्याएदिएको बिरानो संसार र समयमा शनैशनै विलय भएको पाउँछु । तर पनि मलाई पहाडी पदयात्रा मन पर्छ । सायद म आफूलाई खोज्न होइन, आफूबाट हराउन यात्रा गर्छु ।
मलाई ईश्वरमा छेउकुनाको पनि विश्वास छैन त्यसैले पूर्वजन्मको अवधारणा नै बकम्फुसे लाग्छ । तर, मैलाई किन यस्तो आभास हुन्छ ? आफू पुग्दै नपुगेको ठाउँमा पहिल्यै पुगिसकेको अनुभूति किन हुन्छ मलाई ? मलाई लाग्छ, या त त्यो ठाउँको बारेमा ज्यादै नै पढे–सुनेको हुनाले मलाई त्यस्तो अभास हुन्छ या हुन सक्छ मेरा जैविक पुर्खाहरूले हजारौँ वर्ष पहिले भोगेका अनुभवहरू आनुवंशिक याद बनेर मेरा स्मरणग्रन्थिमा कैद छन् । कुकुरले जन्मजात पौडी खेल्न जानेजस्तै सायद केही स्मृति कुरबाट माछाका भुरा निस्केझैँ फुतुफुतु मेरो मस्तिष्कको अन्तरकुन्तरबाट बाहिर निस्कन्छन् । अथवा यो पनि हुन सक्छ कि संसारको कुनै व्यक्तिको ज्ञान, सीप वा भोगाइको केही अंश संसारको अर्को कुनाको कुनै व्यक्तिमा कुनै न कुनै रूपले आफैँ स्थान्तरण हुन्छ । जस्तो कि कोलम्बसले अमेरिकी भूभागमा टेक्दा कथित रेड इन्डियनहरूलाई डुंगा सयर गरिरहेको देखेका थिए । पहिलोपटक डुंगा बनाएको ‘पेटेन्ट’ दाबी गर्ने कुनै मनुवाले त्यो दृश्य देखेको भए मूर्च्छै पो पर्थ्यो कि ! मलाई थाहा छ, मेरो स्मृतिमा आउने किस्साहरू मेरा नभएर कुनै अनजान मनुष्यका भोगाइहरू हुन् । मान्छेको मस्तिष्क रहस्यका तहै तहले ढाकिएको समयको मौलो गाढिएको यस्तो पुरातन पोखरी हो जसको गहिराइ कति छ कसैलाई थाहा छैन । जस्तो कि सुन्नुस् न गुम्बाका लामा सेन्डुक ङिमाकै कुरा, जसलाई मैले पहिलोपटक त्यहीँ सुनेको थिएँ, तर जसको बारेमा मलाई पहिल्यै थाहा थियो :
‘नौ सय वर्षअगाडिको कुरा हो, रिग्मो गाउँको यो गुम्बा भएको कुनो सिकारीहरूको चुनिन्दा थलो थियो । फोक्सुन्डो खोलाको तिरैतिर खेदेर ल्याइएका नाउर, कस्तूरी वा अरू जनावरहरू जब यो तीनकुने ठाउँमा पुग्थे, तब रनभुल्लमा पर्थे । त्यो तीन कुना उनीहरूको लागि त्रिशूलझैँ मारक अवस्था भैदिन्थ्यो । अगाडि उभिएको अजंगको कुप्रे भीर चढ्न सक्ने कुरा थिएन, अर्को छेउमा गहिरो ताल थियो जसको चिसोमा पछारिएपछि ठाउँका ठाउँ ज्यानको पूरै रगत जम्थ्यो । पछाडितिर भाला र धनुषकाँड बोकेका सिकारीहरू हुन्थे । चेपुवामा परेका निरीह जनावरका आगाडि ती तीनैवटा विकल्प प्राणघातक थिए । मृत्युको यस्तो नजिक उभिँदा उनीहरूको डर र्‍याल, सिँगान र आँसुको भेल्कोमा मिसिएको भयानक आर्तनाद बनेर मुखबाट निस्कन्थ्यो । तर मान्छेले पशुको आवाज बुझ्ने भए पो ! बुझेकै भए पनि छोड्ने भए पो ! काँचो होस् या पाकेको, मासुको स्वादका अगाडि हाम्रो दया, करुणा, मानवता उहिल्यैदेखि हार्दै आएको हो ।
अनि विकल्पहीन बरा जनावरहरू भकाभक तालमा हामफाल्थे । गर्भिणीहरू खस्थे, भर्खरै जन्मेका नाबालक पाठापाठीहरू खस्थे, यौनवको प्रथम संसर्गको उत्सव मनाउन भर्खरै भेट भएका प्रेमातुर यौवनाहरू खस्थे, वयस्कहरू खस्थे । कति भीरका चुच्चा ढुंगामा घिच्रो बजारिएर हिक्क पनि गर्न नपाई मर्थे, कति सोझै तालमा हेलिएर प्राण विसर्जन गर्थे । जो खस्तैनथे उनीहरूको छातीमा तिखा भाला र बाण रोपिन्थे । मृत्युको यस्तो अवश्यंभावी कुनोबाट समस्त जनावरलाई जोगाउने कुनै जागरुक मनुष्य आउने समयसम्म पर्खिन उनीहरूलाई कैयन वर्ष लाग्यो । अनि आए लामा टेतन छेवाङ छुल्डिम जसले त्यही ठाउँ रोजेर बनाए बोन्पो गुम्बा र नाम राखिदिए थासुङछोलिङ । थासुङछोलिङ गुम्बा अर्थात् सिकारीहरूबाट जनावरलाई जोगाउन खोलिएको गुम्बा । त्यसउप्रान्त सिकारी कुनोमा जनावरको आर्तनाद सुनिएन । गाउँलेहरू विश्वास गर्छन्, जुन दिनदेखि थासुङछोलिङ गुम्बा स्थापना भयो, त्यसै दिनदेखि फोक्सुन्डो तालमा तालदेवी बस्छिन् । तालको पिँधमा भएको पत्थरमा उनका एकजोर पैतालाका छाप छन् ।’
मलाई थाहा छ, मेरो ‘सेपियन्स’ मस्तिष्कको आनुवंशिक कुनामा लुकेको स्मृतिको यो कथामा न म लामा थिएँ न ती निरीह जनावर । बरु म कुनै दयाहीन सिकारी थिएँ । आफूले सजिलो गरीकन जनावरलाई फँसाउन प्रयोग गरिरहेको तालछेउको ‘बर्मुडा त्रिकोण’ मा गुम्बा बनेपछि म सायद अहमको हड्डी फुत्किएको दुर्योधनसरह रन्थनिएको थिएँ । हुन सक्छ, लामाको हत्या नै गर्ने योजना पनि बुनेको पो थिएँ कि !
अघिल्लो दिन फोक्सुन्डो तालको छेउमा पुग्दा कवि साथीहरू छेउकुनामा एकान्त खोज्दै आ–आफ्ना कविताहरू वाचेको भिडियोलाई क्यामेरामा कैद गर्दै थिए । फोटोग्राफरहरू तालको कुन कुनोबाट, कुन कोणबाट खिज्दा अरूभन्दा फरक छाया उतार्न सकिन्छ भनेर कोसिस गर्दै थिए । आर्टिस्ट कृष्ण परियार फुस्रिएका पहाडको रङलाई कसरी क्यानभासमा मिलान गर्न सकिएला भनेर रङहरूलाई घोलघोल पार्दै थिए । सिनेमाबाजहरू एरिक भालीले खेदेको ‘क्याराभान’ को ‘ह्याङओभर’ बाट कतै कुनै ‘फुटेज’ छुटेको पो छ कि भनेर सोधखोज गर्दै थिए । पत्रकारहरू गोजी पुस्तिकामा मसिना अक्षरले कर्‍याङमर्‍याङ कोरेर कथा–किस्साहरू समेल्दै थिए । म भने तालको किनारैकिनार भौँतारिएर तालदेवीका पैतालाका छाप खोज्दै थिएँ ।

वा हुन सक्छ सिकारी छँदा मैले गर्भिणी मृगको कोखमा रोपेको बिखालु भाला यतै कतै छुटेको छ कि भनेर खोज्दै थिएँ । वा खोज्दै थिएँ मैले लामा टेतन छेवाङ छुल्डिमले माने घुमाउँदै, मालाका दाना गन्दै पहिलोपटक मन्त्रोच्चारण गरेको ‘ओम मा ट्री मु ये सा ले दु’ को अवशेष । सायद कान्जिरोवा वा कानताकातुङ हिमालको कुनै गल्छेडाभित्र उनको मन्त्र पुरिएर बसेको हुनुपर्छ । त्यसलाई सुन्न वा बुझ्न भोटे भाषा जान्नुपर्छ । जो मलाई आउँदैन ।
भाषाको निर्माण, शब्द र ध्वनिको चयन पनि भूगोलको खेलो हो । नपत्याए भोटको भाषा नै सुन्नुस् । भोटको बोली पेटको जराबाट निस्कन्छ । फुस्रा पहाड, हिमाली खोँच, गड्गडाउँदो आँधी, तिखो चिसो बेतोड बतासको बीचमा कानमा माकल लगाएको मान्छेले पनि सुन्ने बुझ्ने किसिमका ध्वनि भएका शब्दहरूको संगठन भोटे भाषाको विशेषता हो । अरू भाषाका कतिपय शब्दहरू हिउँमा कप्कपाउँदा जिब्रोभित्रै छुट्छन्, कतिलाई बतासले उडाउँछ कतिलाई फुस्रो माटोले सोसिदिन्छ त कतिलाई पहाडले फर्कादिन्छ । कस्तै कठिन मौसममा पनि भोटेको बोली सित्तिमिति बिलाउँदैन । तर भनिहालेँ मलाई भोटे भाषा आउँदैन, त्यसैले हिउँमा पुरिएको लामाको आवाजलाई मैले रत्ति पनि सुन्न सकिनँ । सुन्दै नसुनेको हुनाले बुझ्ने कुरा पनि भएन ।
यसरी मैले छेकछन्द केही नबुझी, केही नदेखी फोक्सुन्डोबाट फर्केँ । ताल कस्तो थियो भनेर कसैले सोध्यो भने ‘गहिरो थियो, नीलो थियो, सफा थियो, वरपर फुस्रा पहाड र सेता हिमाल थिए’ भन्नु सिबाय अर्को उत्तर मसँग छैन । प्रकृतिलाई दिइने सुन्दरताको व्याख्या हाम्रा निजी धारणा मात्रै हुन्, मान्छेका अनुभूति मात्रै हुन् । बरा हिमाललाई त आफू हिमाल हुँ भन्ने पनि थाहा हुँदैन जसरी मन्दिरको मूर्तिलाई आफू ईश्वर हुँ भन्ने पनि थाहा हुँदैन । जसरी मलाई म को हुँ भन्ने थाहा हुँदैन । ज्ञान भनेको, परिचय भनेको मान्छेको चेतनाले जबर्जस्ती लादेको शब्दको मलखाद मात्रै हुन जसमा अहंकार सिबाय केही फस्टाउँदैन ।
मलाई ओरालोभन्दा उकालो मन पर्छ । उकालोमा गन्तव्य गौण हुन्छ, यात्रा केन्द्रमा हुन्छ । उकालोमा तपाईं कहिल्यै वरपर हेर्दै हिँड्न सक्नुहुन्न, खासगरी त्यो उकालोमा जो फोक्सुन्डो झरनाको काँधमा छ । आकाशमा उडिरहेको चरा, बेंसीमा बगिरहेको फोक्सुन्डो, हिमालमा रगडिँदै बाफिएको बादल केही हेर्न सक्नुहुन्न । हेर्नै परे सजिलो ठाउँ खोजेर रोकिनुपर्छ । जसरी जुकाले अर्को टेक्ने सुरक्षित ठाउँ नपाएसम्म मुन्टो ठड्याएर लिन्ठिङ लिन्ठिङ गरिरहन्छ उसैगरी अर्को पाइलो थमाउने ठाउँ खोज्दै धर्मराउँदो पाइला चालेर बढ्नुपर्छ उकालोमा । एउटा गलत चालले तपाईंलाई ५ सय मिटर मुन्तिरको गल्छीमा लगेर थेचारिदिन्छ । किनारमा उभिन जानेन भने मात्रै पनि तपाईंलाई थिन्ले लोन्डुपलाई झैँ खच्चडले धकेलिदिन्छ । त्यसैले उकालो चढ्दा तपाईंको आँखाको बास पैताला र त्यसले टेक्ने जमिनमा मात्रै केन्द्रित हुन्छ । सुने आफ्नै पैतालाको पदचाप, हेरे आफ्नै जुत्ताको डाम । सीमितताबीचको संघर्ष उकालोको उपहार हो । तर ओरालोको यात्रा अलिक फराकिलो हुन्छ । खुट्टाहरू फुक्काफाल हुन्छन् । चाल वेगवान हुन्छ । यात्राभन्दा पियारो गन्तव्य लाग्छ । आफू मुन्तिरको आकाशमा उडेको चरा पनि देखिन्छ, खोला देखिन्छ, बस्ती देखिन्छ । संसार देखिन्छ । तर हिजो उक्लेको उकालोभन्दा आज ओर्लने ओरालोमा मैले धेरै संघर्ष गरेँ । च्यातिएको घुँडाको ‘लिगामेन्ट’ ले घरीघरी रनाहा पारेर रोक्थ्यो । म दुखाइ मार्ने मल्हम दलेर उसलाई थुम्थुम्याउँथे । बरु उक्लँदा यार्चागुम्बु टिपेर फर्केका मान्छे र तिनका खच्चडको क्याराभान थियो, अहिले ओर्लंदा त बाटो सुनसान थियो । तैपनि मेरो नियति फरक थियो । मैले यसअघि बनाएका उकालो र ओरालोको अवधारणा भत्केको थियो । सजिलो र अफ्टेरोको मूल्यांकन फेल खाएको थियो । सोचेँ, सबै अनुकूलता सधैँभरि अनुकूल भै राख्दैनन् । सबै प्रतिकूलता सधैँ असजिला हुँदैनन् ।
फर्किँदा सुम्दुवाबाट दाहिने हानिएर पुग्मो गाउँको लाम्ग्याल लाखाङ गुम्बा पुग्ने धोको थियो, तर खुट्टाले धोका दियो । त्यसो त खुट्टा सद्दे हुने साथीहरूलाई पनि त्यो अवसर मिलेन । जाने ३ जनामध्येका मित्र अमृत भादगाउँलेलाई भनेँ, ‘कृपा गरेर मेरा आँखाहरू सापटी लैजानोस् र हेरेर आइदिनोस् ।’ उनले त्यसै गरे तर सापटी लगेका आँखा अझै फिर्ता दिएका छैनन् । उनले आँखा फिर्ता गरे भने एकबार फेरि पुग्मो उक्लेर त्यहाँभन्दा ५ घण्टा माथिको कान्जिरोवा हिमालको फेदीसम्म पुग्ने इच्छा छ । त्यहाँका छो–ङोन्पो, छो–कारपो, छो–नाक्पो र छो–लुगाल तालमा सुन्निएका गोडा पैताला चोबलेर आराम गर्न मन छ । जीवनका नीला, सेता, काला र हरिया अनुभूतिलाई उतै विसर्जन गरेर फर्किन मन छ ।

प्रकाशित : असार २८, २०७६ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्