मनको मैलो पोख्नै भएन !

भद्र छविका मेसी किन आवेशमा देखिन्छन् ? कोपा आयोजनामाथि नै प्रश्न उठाएर उनी किन झोक्किए ? र, सबै उनीमाथि किन खनिइरहेका छन् ?
हिमेश

साथी सधैं ठीक हुन्न, साथी भएकै कारणले मात्र ठीक हुन्छ भन्ने हुन्न,’ डानी एल्भेसले आफ्ना साथी खेलाडी लियोनल मेसीका लागि निकै चतुराइँपूर्वक खर्च गरेका शब्द हुन् यी  । बार्सिलोनाका लागि यी दुई खेलाडीले सँगसँगै बाक्लै सफलता चुमे  ।

अहिले यिनै दुई खेलाडी फरक कित्तामा छन् । ब्राजिली एल्भेस मान्छन्— अर्जेन्टिनी मेसीले आफ्नो देशलाई जुन सम्मान दिनुपर्ने हो, त्यो पटक्कै दिन सकेनन् । हुन पनि मेसीले दायाँ हेरेनन्, बायाँ हेरेनन् र भनिहाले, ‘कोपा अमेरिका आयोजना नै ब्राजिललाई जिताउन गरिएको हो ।’ उनी यत्तिकैमा रोकिएनन् । भने, ‘दक्षिण अमेरिकी फुटबल महासंघ भ्रष्ट छ ।’
भर्खरै टुंगिएको कोपा अमेरिकामा तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा मेसीले रातो कार्ड पनि खाए । हंगेरीविरुद्ध सुरुमै डेब्यु गर्दा पनि उनले रातो कार्ड खाएका थिए, लगभग १४ वर्षअगाडि । अहिले उनले आफ्नो खेल जीवनमै दोस्रोपल्ट मात्र रातो कार्ड पाएका हुन् । अधिकांश समय भलाद्मी रहने मेसीले आफूलाई रोक्नै सकेनन् । र, एक प्रकारले तमासा नै गरे ।
विश्व फुटबल मेसी एक जना खेलाडीलाई लिएर यति धेरै विभाजित यसअघि कहिल्यै भएको थिएन । सबै मान्छन्— उनी आधुनिक विश्व फुटबलका महान् खेलाडी हुन् । अब एकथरी के भन्न थालेका छन् भने, मेसीको व्यवहार त्यो महानतालाई सुहाउने खालको भएन । आफूले जिते सबै ठीक, अरूले जिते सबै बेठीक भन्ने पनि कसरी महान् खेलाडी हुन सक्छन् र ? यो तल्लो दर्जाको काम भयो । अर्कोथरी त्यस्ता पनि छन्, जसलाई लाग्छ— मेसीले जे गरे, ठीक गरे ।
बार्सिलोनामै मेसीका साथी खेलाडी हुन्, आरटुरो भिडाल । अर्जेन्टिनाले चिलीलाई नै हराएको हो, तेस्रो स्थानको खेलमा । तर पनि उनी भन्छन्, ‘जति बेला ब्राजिल र अर्जेन्टिनाबीच खेल हुने गर्छ, अर्जेन्टिनामाथि प्रायः अन्याय हुने गर्छ ।’ सेमिफाइनलमा ब्राजिलले नै अर्जेन्टिनालाई हराएको हो । भिडाल केसम्म मान्छन् भने मेसीले खासमा रातो कार्डसमेत पाउनुपर्ने थिएन । हो, यो तथ्यमा सबै सहमत छन् । चिलीविरुद्धको खेलमा मेसी दुर्भाग्यशाली नै रहे, रातो कार्ड खाएका कारण । रेफ्रीले कार्ड दिनुपर्ने गरेर झगडा भएकै थिएन ।
मेसी पदक थाप्न नगएको विषयलाई लिएर भने धेरैले असहमति व्यक्त गरेका छन् । मेसी आफ्नो खेलजीवनको अन्त्यतिर पुगिसके । बार्सिलोनाका लागि उनले क्लब फुटबलमा के मात्र जितेनन् ? सबै जिते । तर यस्तै सफलता भने उनले
आफ्नो देश अर्जेन्टिनाका लागि पाउन सकेनन् । अझ भनौं, बार्सिलोनाका लागि जितेजस्तो मेसीले आफ्नो देशका लागि केही पनि गर्न सकेनन् । यस्तो भनाइ कतिपल्ट दोहराएर भनिएको छ भने यो सुनेर मेसीको पनि कान पाकेको हुनुपर्छ ।
मेसीकै भाषामा पनि यो वास्तवमै पीडादायी छ । मेसीलाई अर्जेन्टिनी जर्सीमा खेल्दा पनि अचेल यस्तो लाग्दो हो, यदि कसैले उनलाई एकोहोरिएर हेर्छ भने पक्कै त्यो मान्छेको मनमा हुनुपर्छ— यो खेलाडीले अहिलेसम्म आफ्नो देशका लागि केही जित्न सकेको छैन ! आखिरमा यस्तै यस्तै, अर्जेन्टिनाका लागि खेल्नै नसकेको, जित्नै नसकेको सुन्दासुन्दा निराश भएर मेसी आफ्नो स्वभावविपरीत बोल्ने भएका पो हुन् कि ? हारमा कसैलाई आफ्नोभन्दा अरूको दोष देख्ने बानी हुन्छ, कतै मेसीलाई पनि यस्तै रोग लागेको हो कि ?
यसैलाई पुष्टि गर्न अब पुराना इतिहासका पाना पल्टाउने काम पनि सुरु भएको छ । यसका लागि सबभन्दा बढी बार्सिलोनाकै उदाहरण पेस गर्न थालिएको छ ।

बार्सिलोना खेलेका केही महत्त्वपूर्ण खेलमा रेफ्रीको निर्णय विवादास्पद ढंगले उसको पक्षमा रहेका छन् । अझ भनौं, रेफ्रीको केही निर्णयले बार्सिलोनालाई असाध्यै फाइदा गरेका पनि छन् । सन् २००९ मा बार्सिलोना र चेल्सीबीचको खेलमा यस्तै भएको थियो । त्यति बेला सेमिफाइनल दोस्रो लेगमा चेल्सीले पाउनै पर्ने केही पेनाल्टी पाएको थिएन ।
त्यति बेला डिडिएर ड्रोग्बाले मुख छाडेरै रेफ्रीलाई गाली गरे । पछि बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई हराएर उपाधि नै जित्यो । सन् २०११ को च्याम्पियन्स लिग सेमिफाइनलकै पहिलो लेगमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दा पनि निर्णय एकपक्षीयजस्तै थियो । त्यति बेला रियलका प्रशिक्षक थिए, जोसे मोउरिन्हो । बार्सिलोनाको जिम्मेवारी भने पेप ग्वार्डिओलाको काँधमा थियो । त्यति बेला मोउरिन्होले भनेका थिए, ‘एक दिन मलाई बार्सिलोनाले झेल्ली नगरेर जितेको हेर्ने इच्छा छ ।’
त्यस सिजन पनि बार्सिलोनाले म्यानचेस्टरलाई नै फाइनलमा हराएर उपाधि जित्यो । अनि सन् २०१७ मा बार्सिलोना र पीएसजीबीच च्याम्पिपयन्स लिगका लागि भएको खेलमा पनि यस्तै भएको थियो । त्यसमा पीएसजीले पहिलो लेग ४–० जितेको थियो । भन्न पर्दैन क्लब मख्ख परेको थियो, यो जितमा । तर दोस्रो लेग उल्टै ६–१ ले पराजित भयो र जिल्ल पर्‍यो । नु क्याम्पमा भएको खेलमा बार्सिलोनाले दुई अवसरमा विवादास्पद पेनाल्टी पायो, तर पीएसजीले पाउनैपर्ने पेनाल्टी पाएन ।
ती दिन कि त ड्रोग्बा बोले, कि मोउरिन्हो बोले । तर कसैले पनि बार्सिलोनालाई नै जिताउन प्रतियोगिता भएको थियो भने न त कसैले कसैमाथि भ्रष्टाचारको आरोप लगाए । थिएगोले ब्राजिलका लागि पनि खेले, पीएसजीका लागि पनि खेले । भर्खरै उनले पनि मेसीको आलोचना गर्न छाडेनन् । भने, ‘खेलमा रेफ्रीको निर्णय यस्तै हुन्छ, कहिले फाइदा हुन्छ, कहिले घाटा । फाइदा हुँदा केही नभन्ने, घाटा हुँदा बोल्ने ठीक भएन । मेसीलाई यही समस्या छ र यो द्वैधचरित्रको राम्रो उहाहरण पनि हो ।’
हो, त्यतिबेला पटक्कै केही नबोल्ने एक जना थिए र ती थिए— मेसी । अब भने धेरैले के मान्न थालेका छन् भने त्यति बेला नबोल्नु र अहिले बोल्नुको एउटै कारण हो, निराशा । त्यो पनि रिस मिसिएको । आखिरमा ठूलो उपाधिको निकै नजिक पुगेर पनि जित्न नसकेपछि चोट त हुन्छ नै । खालि त्यो चोटबाट कसरी मुक्त हुने भन्ने न हो । कोपा अमेरिकाका दुई फाइनल र विश्वकपको एक फाइनलमा हारेपछि मेसीले आफैंलाई सम्हाल्न नसकेको हुनुपर्छ ।
त्यसैले अर्जेन्टिनाका लागि केही ठूलो उपाधि जित्न नसकेपछि मेसी केही न केही गरिहाल्छन् । अब त केसम्म भन्न सुरु भएको छ भने सन् २००५ मा हंगेरीविरुद्ध मेसीले के रातो कार्ड पाए, त्यति बेलादेखि टिम र उनलाई अलच्छिन लाग्न थालेको हो । सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले तुरुन्तै अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिएको घोषणा गरेका थिए ।
त्यो भनेको अबदेखि अर्जेन्टिनाको जर्सीमा खेल्दिन भनेको त थियो । त्यो धेरैलाई स्तब्ध बनाउने निर्णय थियो । धेरैले पत्याएनन् पनि । नभन्दै उनले पछि त्यो निर्णय फिर्ता लिए । फेरि अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा देखापरे । धेरैपल्ट लेखिएको छ र धेरैपल्ट भनिएको छ— खासमा मेसी अर्जेन्टिनी नै होइनन्, बरु हुन त क्याटलान । सानै उमेरमा उनले अर्जेन्टिना छाडे, स्पेनको बाटो लिए । बार्सिलोनाले सुरुमै उनलाई सहयोग नगरेको भए, मेसी खेलाडी नै नरहने सम्भावना पनि थियो । उनले आफ्नो पूरा खेल जीवन बार्सिलोनकै खेलेका छन् । बार्सिलोनासँग त्यस्तो टिम छ, जसले मेसीको खेललाई पूर्णतः सहयोग गर्छ । त्यसैले मेसी बार्सिलोनाका लागि असाध्यै सफल भए ।
यही स्थिति मेसीका लागि अर्जेन्टिनी टिममा रहेन । त्यसैले बारम्बार डिएगो म्याराडोना र मेसीका तुलना गरेर चर्चा पनि हुन्छ । खासमा म्याराडोना खेल्दाको अर्जेन्टिना धेरै राम्रो थियो । मेसीले त्यस्तै अर्जेन्टिनी टिम आफ्नो खेल जीवनमै पाएनन् । म्याराडोनाले आफ्नो समयमा एक्लै खेलेर मात्र जितेका थिएनन् । उनलाई बलियो टिमको साथ थियो । म्याराडोनाका लागि अधिकांश निर्णायक खेलमा जोर्गे बुराचागाको साथ हुन्थ्यो ।
सन् १९८६ को विश्वकप फाइनलमै सुरुमा अर्जेन्टिनाले दुई गोलको अग्रता लिएको थियो, पछि तत्कालीन पश्चिम जर्मनीले दुई गोल फर्कायो । त्यतिबेला खेलको नतिजाजस्तै पनि हुन सक्थ्यो । म्याराडोनाको पासमा बुराचागाले निर्णायक गोल गरे र विश्वकप जित्यो, अर्जेन्टिनाले । त्यही विश्वकपले म्याराडोनालाई सधैंका लागि महान् बनाइदियो । तर, मेसीले बुराचागा पाएनन् । पाए त– गोन्जालो हिगुइन । मेसीको पासमा हिगुइन खास–खास अवसरमा गोल गर्न चुकेका छन् ।
त्यसैले मेसीको अर्जेन्टिना कहिले पनि ठूलो अवसरमा विजेता रहेन र म्याराडोनाजस्तो मेसी महान् हुन सकेनन् । उनको तुलना म्याराडोनासँग होइन, पोर्चुगाली क्रिस्टियानो रोनाल्डोसँग पनि हुन्छ । यी त झन् समकालीन खेलाडी परे । पछिल्लो दुई वर्षमा रोनाल्डोले आफ्नो देशका लागि दुई ठूलो उपाधि जितिसकेका छन् । त्यसमा प्रमुख त युरो नै भयो । यस्तोमा रोनाल्डाले क्लबका लागि जिते, आफ्नो देशका लागि पनि जिते, मेसीले भने यस्तो गर्नै सकेका छैनन् । त्यसमाथि के पनि सबैले मान्न थालेका छन् भने रोनाल्डो एक्लै आफ्नै खेलले टिमलाई जिताउन सक्ने खेलाडी हुन् । रोनाल्डोको के गर्छन्, थाहा छैन, तर उनले टिमलाई जिताउने काम भने गर्छन् । मेसी यस्ता छैनन् । उनी टिममा बढी भर पर्ने खेलाडी हुन् । साथी खेलाडी राम्रा भए, उनी पनि राम्रा, नत्र मेसीको खेलबाट रङ उड्ने गर्छ । यसपल्टको कोपामा पनि कहाँ मेसी र अर्जेन्टिनाको प्रदर्शन राम्रो रह्यो र ? बल्ल तल्ल नाकले टेकेर सेमिफाइनल पुगेको त हो, जहाँ ब्राजिलको हातबाट चित खाइहाल्यो र पर्‍यो, उत्तानो ।
अब यो सबै चर्चाबीच दुई तथ्य मात्र बाँकी छ । पहिलो, दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई कति सजाय तोक्ने हो ? धेरैको अनुमान छ– यो सानोतिनो हुने छैन । मेसीले लगाएको भ्रष्ट भएको आरोप भुइँमा खस्न नपाउँदै महासंघले पनि प्रतिक्रिया दिन हतारो देखाइहाल्यो । महासंघ खासमा मान्छे होइन तर उसलाई पनि साह्रै चित्त दुखेको छ, मान्छेलाई जस्तै । त्यसैले हुन सक्छ, मेसी लामै समय अर्जेन्टिनी जर्सिमा नदेखिन सक्छन् ।
अब बाँकी रह्यो, उनको बोलीको । आवेशमा आएर उनले जे जति बोले, के ती सबै मेसीले फिर्ता लिनेछन् त ? यो कसरीभन्दा उनले जसरी आफ्नो संन्यासको निर्णय फिर्ता लिएका थिए । बेर छैन, यस्तो हुन सक्छ । साँच्चै मेसीले यसपल्ट नचिताएको तमासा गरेर देखाए । यो तामासाकै काराण भविष्यमा भनिनेछ— मेसी म्याराडोना जत्तिका खेलाडी होइनन् । र, अर्को पनि प्रश्न गरिनेछ— के मेसी रोनाल्डो जत्तिको पनि थिएनन् त ? थिए भने उनले किन अर्जेन्टिनाका लागि केही जिताउन सकेनन् ?
यसका उत्तर धेरै हुनेछन् । कतिले माथि भनिएजस्तै उनीसँग त्यो टिम थिएन भन्नेछन् । अलि बढी कठोर हुनेहरूले मेसीमै त्यो क्षमता थिएन भन्ने छन् !

प्रकाशित : असार २८, २०७६ १२:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मौनको भाषा

यज्ञश

भनिन्छ, सबभन्दा ठूलो स्वर मौनताको हुन्छ  । एकदमै गहिरो चोट लाग्दा मानिसको मनबाट कुनै आवाज निस्किँदैन  ।

एकदमै ठूलो खुसी मिल्दा पनि मानिस मौन रहन्छ । मौन केवल उदासीको मात्र भाषा होइन । सिनेमाको भाषामा त झन् मौन (साइलेन्स) को निकै ठूलो महत्त्व छ । ब्याकग्राउन्ड म्युजिकको झ्याङ झ्याङले भरिएका बलिउड र नेपाली फिल्मको कुरा अलग, नत्र संसारभरि नै उत्कृष्ट निर्देशकहरूले सिनेमामा मौनताको कलात्मक उपयोग गरेका छन् । पात्रको मनोदशा दर्साउन मात्र होइन, दर्शकलाई आफ्नो दुनियाँमा तान्नका लागि पनि निर्देशकहरूले मौनतालाई एउटा ‘टुल’ का रूपमा प्रयोग गर्छन् । कथाको उतारचढाव र अभिव्यक्तिमा पनि मौनताको प्रयोग गरिन्छ ।
एकनास चलिरहेको हावा, एउटै वेगमा बगिरहेको नदी वा कुनै चौतारोमा सुस्ताइरहेका वृद्ध आँखाहरू ! यी सबैले एउटा सघन विस्मय तथा मौनताको भाषा बोल्छन् । एउटा परिवार यही वेगमा चलिरहेको छ । वृद्ध हजुरआमा, अधेड बन्दै गरेको पिता, जवान आमा र सानो छोरा । सहरको करिब करिब परित्यक्त गल्लीमा सानो झुपडी टाइपको घर छ । साँघुरो कोठामा परिवार कोचिएर बसेको छ । गरिबी यस्तो चीज हो, जो धेरैजसो आवरणबाटै प्रकट हुन्छ । यो परिवार पनि आवरणदेखि नै गरिब छ । फिल्मको सुरुमै एउटा दृश्य छ । सहरको भव्य सुपरस्टोरमा पिता–पुत्र सामान किन्न गएका छन् । पिताले पसलवालालाई केहीमा अल्झाउँछ, पुत्रले चाहिने जति सामान झोलामा भरिसक्छ । सीसीटीभीजस्ता अवरोधलाई कसरी पार लगाउने भन्नेमा बाबुछोरा पारंगत छन् । दृश्यको अन्त्यसम्ममा थाहा भइसक्छ कि यिनको मुख्य काम पसलबाट सामान चोरी गर्नु हो ।
मानिसको मन र त्यसभित्र लुकेका कथाहरूको अनुमान आवरणबाटै लगाउन सकिँदैन । यो त्यस्तै कथा हो । ‘सपलिफ्टर्स’ मनको भित्रसम्म पस्ने कथा हो । अति सामान्य परिवारको सामान्य कथाजस्तो लाग्ने कथाका पत्रहरू समुद्रका अनगिन्ती छालजसरी एक–एक गर्दै खुल्दै जान्छन् । सानो छाललाई पछ्याएर झन् ठूलो छाल आएजस्तो पात्रका कथाहरू आउँदै गर्छन् । र, दर्शकलाई रुझाउँछन् ।
महानगरको चकाचौंधका बीच बत्तीमुनिको अँध्यारोजसरी, सहरको कोल्टोमा बस्ने मानिसहरूको कथा हो– सपलिफ्टर्स । बन्दाबन्दै भत्किएका र भत्किँदा भत्किँदै बनेका परिवारको गाथा हो ‘सपलिफ्टर्स’ । संरचनाको हिसाबले यो कथ्यलाई जोड्दै जाने नभई, टुक्राउँदै जाने कथा हो । सामान्ययता कथाहरू चुम्बकले फलामका टुक्राहरू तान्दै, जोड्दै लगेर एकै ठाउँमा थुप््य्राउने शैलीका हुन्छन् । पात्र र तिनका छिरलिएका भावनाहरूलाई समेट्दै एउटा पोकोमा गाँठो पारेपछि फिल्म सकिन्छन् । ‘सपलिफ्टर्स’ भने यसको उल्टो छ । सुरुमा ठोस देखिएका सम्बन्ध र भावनाहरूलाई फिल्मले आगोले फलामलाई जसरी पगाल्छ लैजान्छ । र, तरल अवस्थामा पुर्‍याएर छोडिदिन्छ ।
एउटा परिवारको कथाका रूपमा सुरु हुने यसले समाजका धेरै पत्रहरू खोल्दै जान्छ । यसै क्रममा जब आफ्नै परिवारबाट दुर्व्यवहार भोगेकी ५–६ वर्षकी बालिकाको यो संसारमा प्रवेश हुन्छ, फिल्म पूरै मोडिन्छ । नयाँ भेटिएकी ‘बहिनी’लाई पनि दाइले सामान चोरीको प्रशिक्षण दिन थालेपछि के हुन्छ ? यो बालिका खासमा को हो ? यसमाथि दुर्व्यवाहार किन भयो ? यो बालिकाको लहरोले समाजका के–के पहरो घर्काउँछ ? फिल्मका मुख्य घटनावली यसकै वरिपरि घुमेको छ ।
‘सपलिफ्टर्स’ का निर्देशक हुन् हिरोकाजु कोरेइदा । कुनै एक लामो यात्रामा मैले हवाइजहाजमा यिनको फिल्म हेरेको थिएँ– ‘लाइक फादर, लाइक सन ।’ यो पनि परिवारकै कथा । फिल्ममा दुई बाबु छन्, दुई छोरा । एउटा निकै धनी, सम्पन्न बाबु र ऊजस्तै छोरा । अर्को गरिब र मस्तमौला बाबु र उसको छोरा । छोरा ८–१० वर्षको भएपछि अस्पतालको गल्तीले गर्दा जन्मिँदै छोरा साटिएको थाहा भयो भने यी दुई परिवारमा कति रेक्टरको भूकम्प आउला ? ‘लाइक फादर लाइक सन’ त्यसको कथा थियो । आधुनिक समयका मानिसहरूको सम्बन्धको नाडी यो फिल्मले छामेको थियो ।
यसमा त्योभन्दा पनि जटिल सम्बन्धका पत्र छन् । पितालाई प्रश्न गरिन्छ— तिमीले छोरालाई किन चोर्न सिकायौ ? तब उसले उत्तर दिन्छ, ‘उसलाई सिकाउन मैले अरू केही जानेकै थिइनँ ।’ यो एउटा बाबुको इमानदारी हो कि बेइमानीको पराकाष्ठा ? के एउटा बाबुले आफ्ना सन्तान प्रयोग गरेर चोरीको धन्दा चलाउन सक्छ/मिल्छ ? यस्ता प्रश्नको जवाफ कुरेइदा आफैं दिँदैनन् । दर्शकका लागि छोडिदिन्छन् । यो फिल्मको सबभन्दा ठूलो सुन्दरता नै यसले सबै प्रश्नको जवाफ दिँदैन । फिल्मको काम उत्तरहरू घोकाउनु होइन, दर्शकलाई प्रश्न गर्ने लत लगाउनु हो । चाहे ती प्रश्न सरकार र व्यवस्थालाई गरिने हुन् या समाजको बुद्धि विवेक र आफ्नै चेतनालाई ।

‘सपलिफ्टर्स’ गत वर्ष संसारकै सबभन्दा प्रतिष्ठित कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको पुरस्कार जित्ने फिल्म हो । कानले नेटफिल्क्सका फिल्म देखाउन अस्वीकार गरेका कारण मेक्सिकन अल्फान्सों कुरोंको ‘रोमा’ सँग यसको प्रतिस्पर्धा टरेको थियो । ‘रोमा’ अर्को ठूलो फेस्टिभल भेनिसमा प्रतिस्पर्धामा गयो । र, त्यहाँ उत्कृष्ट फिल्मको अवार्ड जित्यो । कानमा ‘सपलिफ्टर्स’ ले पाम’डिअर हात पार्‍यो । तर, यो प्रतिस्पर्धा ओस्करमा भइछाड्यो । दुवै फिल्म आ–आफ्ना देशबाट विदेशी भाषाको प्रतिस्पर्धामा छनोट भए । अन्तिम ५ मा यिनै दुईको प्रतिस्पर्धा थियो, जसमा ‘सपलिफ्टर्स’ लाई ‘रोमा’ ले उछिन्यो । एक हिसाबले हेर्ने हो भने यी दुवै फिल्म अवसादका कथा हुन् । दुइटैमा गहिरो उदासी छ । दुवैले मनलाई चिसो बनाउँछन् । तपाईंलाई सबभन्दा राम्रो काम गरेको छु भन्ठानेर सबैभन्दा गएगुज्रेको काम गरिरहेको रहेछु भन्ने बोध भयो भने कस्तो होला ? कुरेइदा दर्शकलाई त्यस्तो भावसँग साक्षात्कार गराइदिन्छन् ।
नेपालका फिल्महलमा यस्ता फिल्म विरलै आउँछन् । तर, खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं, राम्रो फिल्म हेर्न खोज्ने दर्शकलाई पनि हलले छेक्दैन । इन्टरनेटको संजालमा जेलिएको यो दुनियाँमा थुप्रै त्यस्ता छिद्र छन्, जहाँबाट घामको प्रकाश धर्तीमा आइपुगे जसरी राम्रा फिल्महरू हाम्रा कम्प्युटर, ट्याब र मोबाइलमा आइपुग्छन् । आगे तपाईंको मर्जी !

प्रकाशित : असार २८, २०७६ १२:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×