१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

हराएको साइकल

विनय शेखर

वैशाख १५ गते दिउसो १ बजेर ३० मिनेटको हाराहारीमा मैले अचानक त्यो साइकल सम्झिएँ  । अचानक किनभने उज्यालोकर्मी मेरा एमएए पढ्दाका सहपाठी मिलनले गर्दा मैले त्यो साइकल सम्झिएको थिएँ  ।

हराएको साइकल

त्यो साइकल किन भनिरहेको छु भने त्यो मेरो काठमाडौंको पहिलो साइकल थियो । जीवनको पहिलो माउन्टेन बाइक थियो । त्यो साइकल आजभन्दा २१ वर्षअगाडि गोस्वारा हुलाक कार्यालय परिसर सुन्धाराबाट निमेषभरमै हराएको थियो । साइकल हराउँदा म नराम्ररी प्रताडिएको थिएँ । डराएको थिएँ । मैले पहिलोपल्ट सबभन्दा ठूलो झूट बोलेको थिएँ । मैले बोलेको त्यो झूटले जितेको थियो ।


त्यो साइकलले मलाई सञ्चारकर्मी बनायो । जुन साइकल चढेर मैले टंकेश्वर कालीमाटीको एउटा मादलेको बारेमा रेडियो रिपोर्ट बनाएको थिएँ । मेरो जीवनको पहिलो रेडियो रिपोर्ट थियो, त्यो जुन दिन म रेडियोमा बोलेको थिएँ । मैले त्यो बेलाको चर्चित रेडियो कार्यक्रम खोजखबरका मार्फत रेडियो रिपोटिङका क–ख त्यही साइकलमा ओहोरदोहोर गर्दै सिकेको थिएँ ।


खोजखबर सुनेर धनकुटाकी ७२ वर्षीया आमा (जसको नाम बिर्सें अहिले) ले ‘खोजखबर सुनाउनुभएकोमा धन्यवाद’ भनेकी थिइन् । धनुषाको मधुवासा भन्ने गाउँका इन्द्रबहादुर क्याप्छाकीको कथा रेडियोमा सुनेपछि त्यो कथा ल्याउने मलाई रेडियो नेपालका सुदीप ठाकुरले सधैं क्याप्छाकी भन्न थाले । अर्घाखाँचीका चुरौटेहरूको कथा संकलन गरेर गुल्मी पुग्दा तत्कालीन जिल्ला सभापतिले ‘त्यो रातो किताबमा भएको बजेट रेडियोबाट नभन्दिनू न जनताले मार्नै लागे’ भनेर दुखेसो पोखेका थिएँ । त्यो साइकल हराएपछि मेरो मनमा यस्ता कैयौं घटना ताजा भएर आए जसले मलाई एकैचोटि गहिरो पीडामा पुर्‍याएका थिए । साइकल हराएकोमा कारबाही हुन सक्थ्यो । कारबाहीस्वरूप म रेडियो कार्यक्रम खोजखबरबाट बाहिरिन सक्थें । त्यसैले म डर र पीडाले निथ्रुक्क भिजेर सुन्धारादेखि बागबजार फर्किंदै थिएँ ।


खोजखबर त्यो बेलाको नौलो रेडियो कार्यक्रम थियो । नौलो यस अर्थमा रेडियो नेपालमा त्यसअघि खोजखबरजस्तो कुनै कार्यक्रम थिएन । रेडियो नेपालले शासकका कुरा मात्र सुनाउँथ्यो । खोजखबरमा भने मान्छेका कथा बज्थे । शासक र मान्छेमा अहिले त फरक छ भने २१ वर्षअगाडिको कुरा अर्कै थियो ।


खोजखबर रेडियो कार्यक्रम र मेरो त्यो साइकलबीचमा गाढा नाता थियो । संवाददाता हुनुअगाडि खोजखबर कार्यक्रम उत्पादन समूहको म सहयोगी थिएँ । सहयोगीको रूपमा मेरो मुख्य र दैनिक काम बागबजारबाट गोस्वारा हुलाक कार्यालय सुन्धारा पुग्नु, पोस्ट बक्स नम्बर खोल्नु र त्यहाँ भएको चिठी बोकेर फेरि बागबजार आउनु थियो । खोजखबरका लागि दैनिक सयौं चिठी आउँथे । ती चिठीमा आम मान्छेका विषय हुन्थे । रातो किताबमा कुन परियोजना पर्‍यो ? परियोजनाका लागि कति बजेट पर्‍यो ? र त्यो परियोजना कसलाई र कहाँ पर्‍यो भन्ने जानकारी खोजखबरमा सुन्नथालेपछि आफ्नो क्षेत्रको विकासका लागि कति बजेट पर्‍यो भन्नेमा आम मान्छेको बढी चासो पाइन्थ्यो । म त्यो साइकलमा तिनै आम मान्छेका चासो र सरोकार बोकेर, तिनको उचित जवाफ जिम्मेवार निकायबाट खोज्ने काम गर्थे जुन खोजखबर कार्यक्रमको नियमित स्तम्भ थियो । साइकलले मलाई त्यो काम गर्न सजिलो बनाएको थियो ।


साइकल त हराई नि हाल्यो । अब के गर्ने ? कसरी हरायो भन्ने ? साइकल नहराओस् भनेर भीमसेन दाइले साइकलसँगै गतिलो चाबी पनि किन्दिएका थिएँ । साइकल किन्न भनेर एक दिन भीमसेन राजवाहक दाइले मलाई असन लिएर गए । नयाँ साइकल पाउँदा को दंग हुँदैन । मेरो खुसीको सीमा थिएन । मैले त्यो साइकलमा बागबजार सुन्धारा मात्र हैन, बिजुलीबजारको डेराबाट अफिस आउजाउ गर्न पनि पाउने भएँ । बागबजारबाट साँझ रेडियो नेपालको स्टुडियो सिंहदरबार जाने । सिंहदरबारबाट बिजुलीबजारको डेरामा जाने र फेरि बागबजार फर्किने । साइकलले मेरो दैनिकी सहज बनाएको थियो । मेरो दैनिकी सहज हुँदा खोजखबरका अग्रजहरूलाई सजिलो हुने नै भयो । कार्यालय सहयोगीदेखि संवाददाताको काम गर्न म राजी थिएँ भने अग्रजहरू धेरै काम गराउन पाउँदा दंग नहुने कुरै भएन । मेरा लागि सबभन्दा महत्त्वपूर्ण कुरा त के थियो भने त्यो साइकल मेरो जीवनको पहिलो माउन्टेन बाइक थियो । जसलाई उबेला निकै सस्तोमा किनिएको थियो । बिजुलीबजारबाट मैतीदेवी डेरा सरेपछि पनि त्यो साइकल मेरो अभिन्न मित्र थियो ।


मेरो पहिलो साइकल अनुभव नमीठो छ । म भोजपुरको दुर्गम गाउँमा जन्मेको एक खाँटी पहाडे बाहुन । एसएलसीपछि इटहरीमा क्याम्पस पढ्ने पारिवारिक योजनाअनुसार म इटहरी आएँ । मेरो भोजपुरे छिमेकी र लगौटिया यार मभन्दा एक–दुई वर्षअगाडि नै इटहरी आएको थियो । ऊसँग साइकल थियो । एक दिन साइकल लिएर ऊ मेरो मामाको पसलमा आयो । म मामाघर बसेर पढ्न सुरु गरेको थिएँ । र, हामी इटहरीपारि मोरङको बाँसबारीमा घर बनाउँदै थियौं । त्यही यार र उसको हिरो साइकल चढेर बन्दै गरेको घर हेर्न बाँसबारी जाँदा बुढीखोलामा हामी गम्भीर दुर्घटनामा पर्‍यौं । होस आउँदा म वीर अस्पतालमा थिएँ । साथीको अत्तोपत्तो थिएन ।


हाम्रो साइकललाई बालुवा बोकेको ट्रकले हानेको थियो । निको भएपछि गाउँघर पुग्दा दुर्घटना भएको देख्नेहरू भन्थे, ‘तँलाई त त्यो ट्रकले ब्याक गरेर मार्न लागेको थियो तर हामीले गर्दा बाँचिस् ।’ त्यो दुर्घटनामा मेरो टाउको फुट्यो । साथीको खुट्टा भाँचियो । र पनि हामी बाँच्यौं । यदि त्यस दिन नबाँचेको भए आज साइकलकै कथा यसरी लेखिन्नथ्यो ।


दुर्घटनापछि तङ्ग्रिन समय लाग्यो । म जनता क्याम्पस इटहरीमा आइकम पढ्न थालेको थिएँ । उपचारपछि फर्केर म बिस्तारै साइकलको पछाडि बसेर मामाको छोरासँगै क्याम्पस जान थाले । त्यो हिरो साइकल थियो । एक दिन मामाको छोराले साइकल सिकाउन मलाई बुढीखोला किनारमा लगे । सिक्नु त कता हो कता, त्यो दिन म लडेर घाइते भएँ । चेनले हो वा केले हो, खुट्टामा चोट लाग्यो । केही दिनमा अलिकति कुदाउन सक्ने भएँ । साँझको समय इटहरी यातायात कार्यालयअगाडिको मामाघर फर्किंदै थिएँ । एक जना महिला अगाडि परिन् । मैले साइकल रोक्न सकिनँ । महिला र साइकल ठोक्किए । महिला चिच्याउँदै लडिन् । धन्न मचाहिँ लडिनँ र कुटाइ खानबाट जोगिएँ । त्यसपछि केही दिन साइकल चलाउने आँट आएन ।


मेरो बस्ने अड्डा बदलियो । इटहरीबाट बुढीखोलापारि आफ्नै घरमा सरेपछि आफूसँग साइकल नहुँदाको अप्ठेरो खड्कियो । ङिच्च हाँस्दै याचना गरेपछि वरपरबाट कलेज जाने दाइ–दिदीले लिफ्ट दिन थाले । सबभन्दा धेरै पटक आफूभन्दा सिनियर दिदीको पछाडि बसेर कलेज गएँ । एक दिन दिदीका दाजुले देखेछन् । भोलिपल्टदेखि दिदीले लिफ्ट दिन छोडिन् । घर आसपास गाडी नरोक्ने हुनाले त्यसपछि पैदलयात्राबाटै घर–कलेज आवत–जावत भयो ।


एक दिन आमाले साइकल किन्न पैसा दिनुभयो । आमाले दिएको पन्ध्र सय रुपैयाँ बोकेर विराटनगर गएँ । विराटनगरबाट माइलो दाइ र म जोगबनी गयौं । पन्ध्र सयसम्ममा आउने साइकल खुबै खोज्यौं । महिलाले समेत सजिलै चलाउन मिल्ने डिजाइनको साइकलचाहिँ अलि सस्तो पाइने रहेछ । तर १६ सय चाहिने भयो । दाइले एक सय थपेर साइकल किन्ने निर्णयमा पुग्यौं ।
किन्न त किनियो । तर भन्सार कसरी कटाउने ? भन्सार तिर्ने पैसा थिएन । जोगबनीमा रेलस्टेसनको आसपास निकै फोहोर र हिलो थियो । दाइ साइकल कुदाउँदै रेल स्टेसनतिर गएपछि म लुरुलुरु फर्किएँ । १५ मिनेटपछि धूलाम्य र हिलाम्य साइकल लिएर दाइ सकुशल नेपाली भूमिमा प्रवेश गरेपछि एकाएक खुसीले मेरो अनुहार उज्यालियो । मभन्दा धेरै खुसी दाइको अनुहारमा देखियो । दाइले नयाँ साइकललाई पुरानोजस्तो बनाएर भन्सार कटाउँदा कसैले सोधेन । कतैबाट रोकावट भएन । हामीले भन्सार छलेर देशलाई घाटा पुर्‍याएका त थियौं तर त्यसो गर्दा ठूलै लडाइँ जितेर फर्केको सिपाहीको जस्तो छाती फुलेको थियो दुवैको ।


मलाई त्यो साइकलले हिउँद र बर्खा नभनीकन वर्षौंसम्म खुसीसाथ बोक्यो । आईकमको नतिजा आउने बेलामा त्यो साइकल छोडेर म काठमाडौं आएपछि ऊ र म सदाका लागि विछडियौं । अनि मेरो जीवनमा आयो त्यही साइकल जुन माथि पनि भनिसकेको छु, २१ वर्षअगाडि सुन्धाराबाट हरायो ।


त्यो साइकल हराएको पीडाले रन्थनिदै अफिस पुग्दा सबै जना आइसक्नुभएको थियो । कसै गर्दा पनि साइकल हरायो भन्ने हिम्मत जुटाउन सकिनँ । दिन ढल्कियो । त्यो दिन रेडियो नेपाल जानुपर्ने थिएन । घर जाने बेला भयो । म सदाझै घर जान भनेर एकतला ओर्लिए जहाँ साइकल राखिन्थ्यो । साइकल राखेको ठाउँ हेरें । केही नदेख्दा झन् बैराग लाग्यो । एकातिर दुःख अर्कोतिर डर । हराएको कुरा कहिलेसम्म लुकाउने ?


खै के सम्झें कुन्नि, म कुद्दै माथि चढें । भर्‍याङमा दौडँदा चर्कै स्याँस्याँ भयो । आत्तिँदै फर्केको देखेर त्यहाँ भएका जति अग्रजहरू चकित भए । भीमसेन दाइले सोधे, ‘के भयो ?’ मैले सास अड्किँदै भने, ‘साइकल त तल छैन राखेको ठाउँमा ।’ अनि दाइ र म दौडँदै साइकल राख्ने ठाउँमा आयौं । हुलाकबाट आएपछि यही राखेको हो, अघि खाजा खाने बेलासम्म पनि थियो भनेर मैले बेलिविस्तार लगाएँ । मैले यो सबै कुरा यति विश्वासका साथ भनें कि दाइले थोरै शंकासमेत गर्न सकेनन् । मैले नराम्ररी ढाँटें । मेरो ढँटाइ सत्य ठहरियो । सुन्धाराबाट हराएको साइकल बागबजारबाट हरायो भन्ने प्रमाणित गरेपछि मन नहाँसे पनि अनुहार हल्का उजालियो । म आफ्नै नजरमा ढँटुवा भएँ । त्यो मेरो मनको डरले खडा गरेको अनौठो बाध्यता थियो ।


मिलनले खोजखबर प्रसारणताकाका अनुभव सुनाउन वैशाख १५ गते नबोलाएको भए मैले साइकल सम्झिन्न थिएँ । साइकल नसम्झेको भए मैले ढाँटको कुरा अझै लुक्थ्यो । जुन कुरा खोजखबरका सञ्चालकहरूले कहिल्यै थाहा पाउन्नथे होला । साइकल किनिदिने दाजु भीमसेन राजवाहकले त अहिले बल्ल थाहा पाउँदै हुनुहुन्छ ।

र, अन्त्यमा, मिलनलाई त्यो साइकल हराएको कथा भनिसकेपछि म जमल गएँ । जमलमा त्यो साइकल किनिएको थियो । त्यहाँ अहिले सातवटा साइकल पसल रहेछन् । मैले कुन पसलबाट साइकल किनेको थिएँ ठम्याउन सकिनँ । सडक फराकिलो पार्दा साइकल पसल साना भएछन् । जमलमा तिनै साइकल पसल आसपास एक छिन टहलिएँ । त्यो साइकलसँग जोडिएका कैयौं यादहरू ताजा भएर आए ।

आइकमको रिजल्ट हेर्न जमल गएको, उकालोमा साइकल चलाउन नसक्दा एक–दुईपटक बेहोस भएको, अगाडिको डन्डीमा साथीलाई राखेर कुदाएको आदि इत्यादि कुरा सम्झेर मुस्कुराएँ । सबभन्दा बढी भीमसेन दाइलाई सम्झिएँ । भीमसेन दाइ यो लेख पढ्नुभयो भने मलाई माफ गर्नुहोला । हराएको त्यो साइकलसम्बन्धी सत्य कुरा बोल्न मैले २१ वर्ष लगाएँ ।


प्रकाशित : असार २८, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?